Friday, December 29, 2006

गजल : तिर्दा तिर्दै बित्यो ।

पैंचो पो हो कि जिन्दगी त तिर्दा तिर्दै बित्यो ।
आफ्नै नजरबाट आफैं गिर्दा गिर्दै बित्यो । १

तेर्सिनु सम्म तेर्सिएछ समस्याको मुढा ,
एउटा जुनी त्यहि मुढा चिर्दा चिर्दै बित्यो । २

माया पनि आज भयो कहिं न'भाको घाणो ,
करै लाग्ने भिर्न , जीवन भिर्दा भिर्दै बित्यो । ३

स्वभिमान नि बेच्नु पर्ने लोकलाज राख्न ,
त्यै ठेसले आफ्नै जीवन पिर्दा पिर्दै बित्यो । ४

कैले देख्नु जिन्दगीमा यौटा मिठो सपना ,
रात आज पनि त कोल्टे फिर्दा फिर्दै बित्यो । ५

केहि गर्न जिन्दगीमा कम्मर निकै कसें ,
आँखिर जीवन मद्दशाला छिर्दा छिर्दै बित्यो । ६

Wednesday, December 27, 2006

गीत : आउ हामी देश उचालौं ।

देश माथी उठ्छ भने तिमी पनि काँध राख
आउ हामी देश उचालौं प्रयत्नले लाख लाख ।

मुठ्ठीमा उठाईहेर यो देशको माटोलाई
पिंडा ब्याथा सोधीहेर तिमी हिंड्ने बाटोलाई
यही देशले दिएको छ हामीलाई न्यानो काख
आउ हामी देश उचालौं प्रयत्नले लाख लाख ।

नमाग केहि देशसंग देशलाई केहि देउ बरु
अर्पण गर देशको निंती तिम्रा बौद्धिक शक्तीहरु
देशको निंती स्विकार गर बाधा अनि सारा हाँक
आउ हामी देश उचालौं प्रयत्नले लाख लाख ।

Monday, December 25, 2006

छानिएका तीन राष्ट्रिय गानहरू र छानिएका दश रचयिताहरु ।

ब्याकुल माईला (पहिला)

सयौँ थुँगा फूलका हामी, एउटै माला नेपाली
सार्वभौम भई फैलिएका, मेची-महाकाली
प्रकृतिका कोटी-कोटी सम्पदाको आँचल
वीरहरूका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल ।

हरिरह तिमिल्सिना (दोस्रा)

नेपाली हौ आमा तिमी, हामी छोराछोरी
रङ्गरुप, जात, धर्म, भाषा थरीथरी
कोही बस्छौँ फेदीतिर, कोही टाकुरामा
श्रमशक्ती फुलिदिन्छ हाम्रा पाखुरामा
वुद्ध हाम्रो मुटु बनोस् सगरमाथा शिर
चन्द्रसूर्य ध्वजा बोकी बढ्छौँ लक्षतिर
दु:खसुख साझा हाम्रा बाँच्ने साझा धर्ती
एक अर्को नेपालीमा गाँसी माया प्रीति
हातमाथि हात दिन्छौँ, मुठ्ठीमाथि मुठ्ठी
एकताको सुगन्धमै फुल्छ हाम्रो मट्टी ।

रामप्रसाद ज्ञवाली (तेस्रो)

मेची-काली झंकरत पारी, गुञ्जिरहेको जागृत गान
जनजनको मन मर्दछ नुतन, छर्दछ जीवन भर्दछ सान
स्वतन्त्रताले राष्ट्टरियताले, सम्प्रभुताले गर्वित भाल
जय होस् मेरो जीवनमाली, गौरवशाली देश नेपाल
हिमगिरिदेखि पर्वतवेंसीसम्म तराई पौरख गान
धर्म र जाति संस्कृतिमाथि दृष्टि भएको एक समान
प्रकृतताले उच्च कलाले शोभित सुन्दर शान्त विशाल
जय होस् मेरो जीवनमाली गौरवशाली देश नेपाल ।

उत्कृष्ठ दसमा परेका गीतकारहरू -

१. प्रदीपकुमार राई ‘व्याकुल माइला’
२. हरिहर तिमिल्सिना
३. रामप्रसाद ज्ञावाली
४. गंगाप्रसाद लुइँटेल
५. सूर्यप्रसाद भुसाल
६. अञ्जुल
७. कृष्णहरि बराल
८. प्रेमविनोद नन्दन
९. सुधन पौडेल
१०. गणेश ज्ञवाली
------------------------------------------------------------
नेपाली कविता डट कममा राखिएको तिनवटा छानिएका राष्ट्रिय गानहरू र छानिएका दशजना रचयिताहरु कपि पेष्ट गरेर राख्न मनलाग्यो र राखेको छु । पहिलो उत्कृष्ट गान नै विवादमा परिसकेको भएपनि र पहिलोको बारेमा मैले पहिले नै लेखिसकेको भएपनि फेरी राखेको छु । मलाई दशवटै गीतका शब्दहरु हेर्ने उत्कट ईच्छा छ तर थाहा छैन कसरी पाउन सक्छु ।

Sunday, December 24, 2006

गजल : हौ फूल तिमी ।

जून हेरेर आकाशको नफूल तिमी ।
आफुले टेकेको धर्ती नभुल तिमी । १

हुन्छन कती लुक्ने ठाउं लुकेर बस ,
बिना खाम चिठ्ठी भएर नखुल तिमी । २

तिम्रो पनि रहर होला आकाश छुने ,
रहर संगै बहकिंदै नडुल तिमी । ३

प्यास बोकेर अधरमा नहिंड अब ,
सधैं रसाउने मायाको हौ मुल तिमी । ४

फक्री हेर भावना संगै चमेली भ ई ,
प्रकृतीमा सौंदर्य छर्ने हौ फूल तिमी । ५

Wednesday, December 20, 2006

कैंयाको विरोध हुनु पर्छ ।

नेपाली पोष्ट डट कममा १९ डिसम्बरको दिन चौतारी स्तम्भ अन्तर्गत रामकुमार एलनले हीरा बेच्न ज्ञानेन्द्र हेटौडा जाने शिर्शकमा यौटा लेख लेख्नु भएको छ ।

यतीखेर मुलुकभर ज्ञानेन्द्रको सम्पतीमाथी सामान्य नागरिक सहर कर लगाउने कुरा अनि कतिपय सम्पतीलाई राष्ट्रियकरणगर्ने कुरा उठीरहेको छ तर कार्यान्वयनमा आउनको लागी ज्ञानेन्द्र संग कूल सम्पती कहाँ कहाँ र कति छ भन्ने कुराकै निधो अहिले सम्म भै सकेको छ जस्तो मलाई लाग्दैन । आँखामै छारो हाल्नको लागी भने यती रोपनी जमिन भूपतीको नाउंमा भनेर दुई चार पत्रीकामा पढ्न पाईयो अनि भियनातिरबाट पारसको नाउंमा आएको पार्सल भन्सार तिरेर कथित दरबारले लगेको समाचार पनि पढ्न पाईयो । ज्ञानेन्द्रले ब्यापारी ( कैंया ) को रुपमै भोगचलन गरिरहेको सम्पती ( उद्दोग धन्दा ) मात्रै पनि औसत नेपालीले गर्न सक्ने कल्पना भन्दा बाहिर छ त्यसमाथी भूपती भएर ओगटेको सम्पती र उसैले स-परिवार हत्या गराएको उसैको दाजुको सम्पतीको त कुरै नगरौं । त्यो सब सम्पती राष्ट्रियकरण गर्छौं भनेर कुर्लनेहरु आजपनि आपसी कलहमै अल्झिरहेछन । तिनीहरुले आजसम्म यो यो ठाउंको यती यती सम्पती राष्ट्रियकरण भयो भन्न सकेका छैनन । खै कुन शुक्रवार कुरेर बसेका हुन तिनीहरु ? ल्याकत भए तथ्य पत्ता लागीसकेको सम्पतीहरु अहिले सम्म राष्ट्रियकरण भैसकेको घोषणा गर्नु पर्ने हो ।
रामकुमार एलनले उक्त समाचारमुलक लेखमा सत्तापलट हुने बेला तिर वीर शमशेरले कलकत्ता लगेर ४ क्विन्टल ४ किलो सुन बिक्री गरेका थिए र ज्ञानेन्द्रले पनि त्यसरीनै हीरा , मोती लगायतका जवाहरतहरु बिक्री गर्ने सोच बनाएको हुन सक्ने उल्लेख गरेका छन त्यसैले ज्ञानेन्द्र सँग हाल भएको सम्पुर्ण चल अचल सम्पती मध्येमा कति सम्पतीमा उन्ले आफ्नो हिसाबले चलखेल गर्न पाउने अनि कति सम्पती राष्ट्रको हुनुपर्ने जस्ता कुराहरुको निर्क्यौल नभई ज्ञानेन्द्रलाई हेटौडा गएर कुनै पनि चल अचल सम्पती बिक्री वितरण गर्न नेपाल सरकारले रोक लगाउनु पर्छ र सम्पुर्ण नेपालीहरुले पनि एकजुट भएर यस्को विरोध गर्नुपर्छ ता कि भोली को दिनमा गद्दी खोसिने बेलामा ज्ञानेन्द्रले नेपालको १० बर्षको बजेट बराबरको हीरा मात्रै देश भित्रै बसेर बेच्यो भनेर पढ्नु नपरोस ।

बनाऔं कानुन यस्तो कि कसैले त्यो नाघ्न नपाओस ।
उखेलौं आज जरै फेरी राजतन्त्र जाग्न नपाओस । १

उठोस् नेपाल एकजुट भई छेकोस् गल्ली अनि गौंडा ,
कुम्ल्याएर राष्ट्रको सम्पती त्यो कैंया भाग्न नपाओस । २

कटाउनै पर्दैन सात भञ्झ्याङ्ग बसोस हामी माझमै ,
काटीदिउं बरु हात सबै कि फेरी माग्न नपाओस । ३

हाम्रो छातीलाई युद्ध अभ्यासको तारो मान्नेहरुले ,
उन्मत्त भएर शक्तीले फेरी गोली दाग्न नपाओस । ४

कात्रो फुकाई मुर्दा ब्युँझाउने नरपिशाचको लाममा ,
लोभमा परेर फेरी कुनै मानिस लाग्न नपाओस । ५

Monday, December 18, 2006

गजल : ल हेर यस्तो भएं ।

हेर्छु म पनि भन्थ्यौ हैन ? ल हेर यस्तो भएं ।
तिम्रो आशिर्वादले आज म हेर यस्तो भएं । १

श्रेय यो सफलताको तिमीलाई दिएको छु ,
जल्छौ ईर्श्याले भने तर नहेर , यस्तो भएं । २

भए साहस मुटुमा यो पल सामना गर्ने ,
तिम्रै सामु उभिएको छु त हेर यस्तो भएं । ३

काँढा रोप्यौ कतै बाटोमा कतै तघारो हाल्यौ ,
तिमीले छेकेकै बाटोमा गएर यस्तो भएं । ४

मान्छेहरु भन्ने गर्थे सहि सिद्द हुन्छ भनि ,
बिश्वास भयो अब भने सहेर यस्तो भएं । ५

काँप्दै थिएं किनारामा नदि तर्नु भन्दा अघि ,
धकेलदियौ भँगालोमा बहेर यस्तो भएं । ६

आँधि हुरी वैरिएर झरीपानी परे पनि ,
आशाको 'दीपक' जला'को भएर यस्तो भएं । ७

Sunday, December 17, 2006

कविता : आजका हामी युवाहरु ।

एक झुण्ड युवाहरु
यता सडकमा
अवागमन अवरुद्द गराएर
उधुम मचाईरहेछौं
सवारी साधन जलाएर
ढुँगा मुढा वर्षाउंदै
तोडफोडको
ताण्डव देखाईरहेछौं
बेमतलब हामीहरुलाई
अगाडी कस्लाई चोट लाग्दैछ
को मर्दैछ
पर्वाह छैन ।
अर्को झुण्ड
उता गल्लीको बिचैबिच
निमोठेर मानवताको घाँटी
मान्छेको रगतले
प्यास मेटीरहेछौं
निर्घृणी हामीहरुलाई
थाहा छैन
भुईंमा ढलेको शरिर
कस्को हो ?
हाम्रो हातको
टाउको कस्को ?
मान्छे भन्दा माथी
उठ्न नसक्ने प्राणीहरु माझ
आज मान्छे भन्दा तल
कुन प्राणी झरेको छ ?
थरी थरी हामी युवाहरु
फेरी अर्को झुण्ड भएर
मन्दिरको हाताभित्र
प्रविष्ट भई
हातमा आधुनिक हतियार बोकी
भगवान लखेटीरहेछौं
खाँचो छैन हामीलाई
भगवान जहाँ जावोस
हेक्का छैन हामीलाई
भोली आफु दुख्दा
त्यही भगवान सम्झनु पर्छ ।
हामीलाई त भत्काउनु छ
चाहे जे होस अगाडी
हामी किन आफ्नो विवेकले
भत्काउनै पर्ने
कुरीती र
कु-सँस्कार भत्काउन
सकिरहेका छैनौं ?
हामीलाई त लखेट्नु छ
चाहे जो होस अगाडी
हामी किन भगवानको भेषमा
स्वयं पूजित
राक्षस लखेट्न
सकिरहेका छैनौं ?
चेतनाले खारिएका
हामी युवाहरु
बौदिकताले निखारिएका
हामी युवाहरु
किन निर्माणको बाटोमा हिंड्न
सकिरहेका छैनौ ?
बिनास र बिध्वँसमा तल्लिन
आजका हामी युवाहरु
सोचौं त एकपटक
हाम्रो आजको विचारमा
तालाबन्दी गराएर
हाम्रै काँधमाथी टेक्दै
उता तिनीहरु
शान्तीको ढोँग रच्दैछन
हामीहरुलाई
बलिको बोका बनाएर ।

Saturday, December 16, 2006

कथा : नयाँ साथीको पुरानो कुरा ।

" अनि ब्रदरको नेपालमा घर चैं कहाँ नि ? " सामान्यतया हामी नेपालीको बोल्ने शैलीनै यस्तै हुन्छ । झट्ट सुन्दा अलि ठाडो लागे पनि प्रसस्तै आत्मियता भएको । हामीले आ-आफ्नो नाम एक अर्कालाई बताईसकेपछि निक्कै गहकिलो गरी न्यानो हात मिलाउदै रमेशले सोध्यो । रमेश मैले आजै भेटेको साथी । म भर्खर डी भी परेर अमेरिका आएको । आउनासाथ कामधन्दा नमिलुञ्जेलको लागी रमेशकै कोठामा बस्ने निधो भएको थियो । रमेश पनि झण्डै तिन बर्ष अगाडी डी भी परेरै अमेरिका आएको रहेछ । कस्तो सँजोग मेरो नाम पनि रमेश नै हो ।

" म त पुर्वको हुँ । सुनसरी । " छोटो जवाफ मैले दिन नभ्याउदै उस्ले भन्यो- " म पनि त सुनसरीकै हुँ नि ब्रदर । हाम्रो नाम मात्रै एउटै हैन ठाउँ पनि एउटै रहेछ । सुनसरी कहाँ ? " पुछारमा फेरी उस्ले प्रश्न राख्यो ।
" तरहरा हो । ब्रदरको कहाँ नि ? " जवाफ दिएर मैले पनि सोधें । सोधाईम मैले पनि उस्ले झैं ब्रदर शब्दले सम्बोधन गरें । मैले आजसम्म कसैलाई ब्रदर भनेर सम्बोधन गरेको थिईनं र मलाई पनि कसैले ब्रदर भनेर सम्बोधन गरेको हेक्का छैन । पहिलोचोटी मलाई उस्ले ब्रदर भन्दा त्याहां आत्मियता पाएको थिएं र मलाई पनि ब्रदर भन्न अप्ठ्यारो महसुस भएन ।

" तरहराको यौटा केटी हामी संगै पढ्थी - सञ्जना , चिन्नुहुन्छ उस्लाई ? चिन्नुहुन्न होला । त्यसको उमेर हामी सँगैको हो । तपाईं भन्दा जुनियर । " मेरो प्रश्नको जवाफ नदिएर उस्ले फेरी प्रश्न गर्यो र जवाफको आशा पनि राखेन ।
" यौटा सञ्जना त चिन्छु म । अरु पनि होलान त्यस्ता , तपाईंले कुन सञ्जनाको कुरा गर्नु भएको ? " मैले चिनेकै सञ्जना हुन सक्ने अनुमानमा उस्ले मलाई गरेको आदरकै समान आदरार्थी भावमा सोधें यद्दपी उ उमेरमा म भन्दा त्यस्तै पाँच वर्ष जती सानो लाग्थ्यो ।
" सञ्जना पौडेल हो उस्को नाम । महेन्द्र मोरङ्गमा हामी संगै पढेको । साह्रै राम्री थिई । पढाईमा पनि त्यस्तै तगडा । " उस्ले कुन सञ्जनाको कुरा गर्दैछ भन्ने बुझ्न मलाई गाह्रो भएन । साह्रै राम्री थिई भन्दै गर्दा मैले उस्को मनोभाव पढिसकेको थिएं । उ सञ्जनाको बारेमा निक्कै कुरा गर्न चाहन्थ्यो ।" तपाईँ के थरी नि ब्रदर ? " झट्टै उस्ले मलाई मेरो थर सोध्यो , कतै सञ्जना मेरो नातेदार हो कि भन्ने चिसो उस्को मनमा पसे जस्तो गरेर ।
" म त थापा हुँ । म चिन्छु त्यो सञ्जनालाई । " छोटो जवाफ मैले दिईनसक्दै उस्ले ढुक्क भएको भावमा ए! भन्यो र फेरी सोध्यो "अनि ब्रदरले पढाई चैं कता गर्नुभएको ? "
"स्कुल धरानमा । त्यसपछि धनकुटा तिर । ब्रदरको घर कता हो नि ? " उत्तर दिएर फेरी मैले उस्को घर सोधें पहिले नै सोधेको भएपनि उस्ले जवाफ दिन भने बाँकी नै थियो ।

" मेरो घर त इटहरीबाट अलि तल हो । खनार भन्छ । थाहा होला नि ब्रदरलाई ? " लगभग हामी दुईजना को घर एकै तिर भएकोले मलाई उस्ले बिस्तृत रुपमा भन्ने आवश्यकता ठानेन क्यारे । त्यसो त मैले पनि आफ्नो घर भएको ठाउँ यहिंनेर हो भनेर खुलाएको थिईनं ।
" अँ थाहा छ .... " निक्कै बोलक्कड जस्तो लाग्ने उस्ले मलाई बोल्नै नदिएर फेरी भन्यो । " म पनि तरहरा तिर निक्कै घुमेको छु । सञ्जनाको घर भएको तिर । " लाग्थ्यो उ पुन सञ्जनामै केन्द्रीत भएर कुरा गर्न चाहन्छ ।
" ए ! " , उ सञ्जनाको नातेदारमा पर्दैन भन्ने थाहा भएर पनि मैले उस्लाई सोधें , " सञ्जना तपाईंको नातेदार हो? "
"हैन हैन " , मेरो सोधाईले कतै उस्लाई सञ्जना संग नातानै गाँसीदिन्छ कि झैं गरेर उस्ले हत्तार भन्यो , " संगै पढेर चिनेको मात्र हो । "
" ए! उसोभए सञ्जना तपाईंको निक्कै राम्रो साथी थिई ? कि चक्कर सक्कर थियो ? " अब सोध्ने पालो मेरो नै आएझै भएको थियो । मनपराएको केटीको पछि लाग्ने या प्रेम पत्र लेख्ने ईत्यादी कृयाकलापलाई आजभोली चक्कर भनिन्छ भन्ने ज्ञान मलाई पनि थोरबहुत थियो ।
" खै , थियो भन्ने कि थिएन भन्ने ? " , थोरै लजाउंदै अनि थोरै गम्भिर भएर उस्ले भन्यो , " म चाहिँ निक्कै कप्थें उस्लाई तर उ अलि अर्कै खालकी थिई । " उस्ले पनि कप्थें भनेर बिशुद्द आधुनिक नेपाली शब्द प्रयोग गर्यो तर मलाई बुझ्न कठिनाई भएन मनपराउंथें भन्न खोजेको थियो उस्ले ।

" अर्कै खालकी भन्नाले कस्ती नि ? मैले त एक नम्बरकी छुच्ची थिई भन्ने सुनेको थिएं । " फेरी सोधें मैले । निक्कै रमाईलो हुंदैथियो हाम्रो वार्तालाप ।
" अँ अली छुच्ची छुच्ची नै थिई । मैले लास्टै ट्राई गरें तर सकिनं । लास्ट मनपर्थ्यो मलाई । अली बि टी पनि थिई छनत र पनि पाए देखी अझै पनि उस्लाई नै बिहे गर्थें ब्रदर । " मनपरेको माया नपाउनुको पिंडा ओकल्यो उस्ले । उसंग अत्याधुनिक नेपाली शब्दावलीहरु यथेष्ट रहेछ र त्यसको प्रयोग पनि रोचक ढंगले गर्दो रहेछ - जस्तो कि अत्याधिक वा अत्यन्तै भन्नु पर्दा लास्टै भनेर अनि ठुलाठुला कुरा गर्ने घमण्डी भन्नु पर्दा बि टी भनेर । यो बि टी चाहिँ बिग टक भनेको हो उस्ले भन्ने ज्ञान त मलाई पनि थियो नै तर म उस्लेझैं प्रयोगमा ल्याउन अलि कमजोर नै छु ।

" अनि ब्रदर , ट्राई मार्दा चप्पल सप्पल त खाईएन ? " निक्कै रुचि लिएर म नयाँ साथीको पुरानो कुरा खोतल्न पट्टी लागें त्यसो त उ नै इच्छुक थियो सुनाउनलाई र म पनि उत्सुक थिएं सुन्न ।
" छ्या!!! के भन्नु भएको ब्रदर ? जे भने पनि हामी केटा हो नि यार । काँ केटीको चप्पल खाईन्छ ? " निक्कै केटीको पछि लागे पनि चप्पल कहिल्यै खाईएनको फुर्ती साथ उस्ले भन्यो ।
" ए ! अनि आजभोली पनि सञ्जना संग फोनसोन ,च्याटस्याटमा सम्पर्क हुन्छ त ? " मैले सोधें ," आजभोली कहाँ छे ? के गर्दैछे ? खोजखबर छ ? "

" छैन ब्रदर , पढ्दा पढ्दै यता आईयो डी भी परेर । म यता आकै साल उस्को बिहे भयो रे भन्ने सम्म सुनेको थिएं , त्यती हो । कस्तो केटा संग बिहे गरी होला? अझै माया लाग्छ ब्रदर मलाई त । ब्रदरलाई थाहा छ कहाँ छे अहिले ? अब त बच्चा बच्ची पनि भयो होला । " एक प्रकारको गुनासो सहित सञ्जना प्रतिको चाहना पोख्दै उस्ले मलाई सोध्यो कतै मैले सञ्जनाको खबर दिन सक्छु कि भनेर । "अँ थाहा छ नि ब्रदर । मैले त बिहे गरेको छु सञ्जनालाई । यौटा छोरा पनि भएको छ । सञ्जना पनि दुई तिन महिना पछि आउछिन । म चाहिँयसो बस्ने ओर्नेको चाँजो पाँजो मिलाउन अगाडी नै आएको । " मैले यती मत्रै के भनेको थिएं , मैले कोट्याउन खोज्दा पनि फुर्तीसाथ उस्ले अर्कै कुरा गर्दै टार्न खोजेको चप्पल काण्डको यथार्थको पोल म संग पहिले नै खुलीसकेको छ भन्ने ज्ञात भएझैं उस्को अनुहार सडेर निलो कालो भयो । उ केहि नै बोल्न सकेको थिएन । स्थितीलाई सामान्य बनाउन आखिरमा मैले नै " टेक ईट ईजी ब्रदर । यस्तै हुन्छ सबैको जीवनमा एकपल्ट ।" भन्नु पर्यो ।

Thursday, December 14, 2006

गजल : घाटा सहेको छु ।

घाउ सुक्यो , अझै तर खाटा सहेको छु ।
हार भयो पिरतीमा घाटा सहेको छु । १

आफ्नो कुरा राख्ने मौका नै कहाँ पाएं र ?
बोल्नै नदिई बनायौ लाटा , सहेको छु । २

कति सहें मैले हिसाब कहाँ राखें र ?
धेरै चोटी वचनकै भाटा सहेको छु । ३

झिलीमिली,कोलाहल सबै तिम्रै भयो ,
अँध्यारो माथी मैले सन्नाटा सहेको छु । ४

सुख,खुशी,हाँसो सबै लग्यौ तिमिलेनै ,
दुखी जीवनको सबै पाटा सहेको छु । ५

मलजल,गोड्मेल तिम्ले राम्रै पाएछौ ,
मैले सबै आँतरमा राँटा सहेको छु । ६

Wednesday, December 13, 2006

गीत : पिरतीले हामी दुईको ।

मेरो गीतलाई संधै तिम्रो मुस्कानले साथ दिन्थ्यो
पिरतीले हामी दुईको दुनियालाई मात दिन्थ्यो ।

तिमी हिंड्ने गोरेटोमा पाईतालाको चिनोहरु
खोज्दैछु म अझै पनि त्यही गीतको धूनहरु
नजर लाग्ला हाम्रो माया जोगाएर राख्छु भन्थ्यौ
पिरतीले हामी दुईको दुनियालाई मात दिन्थ्यो ।

ईश्वरलाई डाहा भई खोसीदियो हाम्रो माया
तर संधै मेरै साथ रहेकै छ तिम्रो छायाँ
अजम्बरी हाम्रो माया जुनी जुनी बाँच्छ भन्थ्यौ
पिरतीले हामी दुईको दुनियालाई मात दिन्थ्यो ।

Tuesday, December 12, 2006

गजल : मायाकै तापले झनझन ।

माया सुक्यो लौ न मायाकै रापले झनझन ।
मुटुमा बल्ने त्यो आगोको तापले झनझन । १

तिर्थ कति धायौ , ब्रत बस्यौ कति हँ तिमीले ?
मैलै छ मन त मनैको पापले झनझन । २

चढ्न उकालो खोजेर पनि सकिनं मैले त ,
झरें अझै ओरालो तिम्रै श्रापले झनझन । ३

पाथी , मुरी , मानो आँखिर जे ले नै नापेपनि ,
तलै पर्छु म जाली तिम्रै नापले झनझन । ४

उल्टै बधाई मलाई दियौ , मैले दिनु पर्थ्यो ,
ढल्दैछु भुईंमा तिम्रो त्यै धापले झनझन । ५

बिना कसुर सबको आँखामा नराम्रो भएं ,
दोषी भएं तिम्ले लाएको छापले झनझन । ६

जबर्जस्ती देखावटी ईज्जत त राखिदिएं ,
घृणा बढ्यो मनमा , करकापले झनझन । ७

Monday, December 11, 2006

कविता : खै कुन्नि , के हो यो माया ?

माया हुन्छ
हुन्छ भनेर नै माया हुन्छ
माया हुन्न
जब हुन्न भनिन्छ
त माया हुदैन
छ भन्दा हुने माया
छैन भन्दा नहुने
माया
कहाँ हुन्छ ?
कस्तो हुन्छ ??
कसरी हुन्छ ???
एकछिन कसैलाई थाहा हुन्न
जब थाहा नहुनुको छटपटी हुन्छ
तब थाहा हुन्छ
माया
जहाँ हुन्छ
जस्तो हुन्छ
र जसरी हुन्छ ।
बिहानको पारीजात फूल
माया हो बोट संगको
जब सम्म थप्पड खाँदैन
पातले चिसो बतासको
भुँईमा झरेपछि
तिम्रो नाँगो पाईतालामा
आफ्नो आकृतीको छाप
बनाउछ त्यस्ले
अनि कसरी मान्नु
माया हुन्छ भनेर ?
तिमी मेरो माया हौ
बेहोसीमै म
उचाल्छु तिमीलाई
माथी माथी
अझै अग्लो पारेर
जब होस खुल्छ
आफ्नै माया म हैन
तिमी हौ आफ्नो माया
अनि छोडीदिन्छु
गगनको त्यो
उचाईबाट तिमीलाई
र बजारिन्छु
म आफु भुँईमा
बैंसमै झरेको
पारीजात फूल भएर
तर सक्दिन कसैगरे
आफ्नो आकृतीको छाप
तिम्रो नाँगो पाईतालामा छोड्न
फेरी लाग्छ
तिमी मेरो माया हौ
र अल्मलिन्छु
माया कसरी हुँ म ?
मायाकै नाम हो माया
माया न तिमी हौ
न म हुँ माया
नशाले धताएको आँखामा
मायाको पर्खाई हो माया
माया नआउञ्जेलको माया
माया आईसके पछि
माया नहुन सक्ने
अझ माया नआईपुग्दै
माया नहुन सक्ने
हुनु र नहुनुको प्रतिती जस्तो
माया नआई नै आएझैं
माया आएपनि नआएझैं
बिट मर्दै नमर्ने
मायाकै बुनाई हो माया
र बुन्न नथाल्दै
बिट मर्ने
खै कुन्नि , के हो यो माया ?

Sunday, December 10, 2006

गजल : मेरो दिलको हार भयो ।

तिम्रो र मेरो आँखा जहाँ चार भयो ।
त्यहींनेर मेरो दिलको हार भयो । १

गुलाबझैं सुन्दर कोमल माया तिम्रो ,
जिन्दगी जिउने मेरो आधार भयो । २

आकाशझैं स्वच्छ सफा दिलमा मेरो ,
तिम्रो प्रेमको रङ्गको बहार भयो । ३

चन्द्रीकाझैं चम्कने आँखाको नानी त्यो ,
म आफै नै हराउने संसार भयो । ४

हिमालझैं ललाट चुमें जब तिम्रो ,
'दीपक'को त सपना साकार भयो । ५

पहिलेनै लेखेको यो गजल नेपालीपोष्ट डट कममा प्रकाशित भै सकेको हो । यस्लाई मैले अहिले थोरै सम्पादन गरेको छु । मैले आफैले लेखेको रचनाहरु यदि त्यो यस ब्लगमा राखेको समयमा लेखेको हुँ भने आफ्नो रचना : नयाँ कलम र यदि त्यो पहिले नै लेखेको हो भने आफ्नो रचना : पुरानो कलम भनेर बर्गिकरण गर्ने गरेको छु र अरु प्रकारका लेखाईहरुलाई पनि बर्गिकृत गर्ने बिचार गरेको छु ।

Saturday, December 09, 2006

कविता : तारा खसेको रातमा ।

सानै छंदा मैले देखेको छु
आकाशबाट तारा खसेको
आमाको न्यानो काखमा बसेर
आकाशमा हिंडीरहेका ताराहरुलाई
साना औंलाहरुले देखाएर
आमालाई धेरै पटक सोधेको छु
आकाशमा तारा किन हिंड्छ भनेर
आकाशका देवता हुन ताराहरु
धर्तीका प्राणीको पापधर्म
लेखा लगाउन हिंड्ने गर्छन
कुनै कुनै ताराहरु
आमाको सरल सत्य जवाफले
चित्त बुझ्दै गरेको बेला
अकस्मात खस्यो अर्को तारा
आकाशबाट ढुन्मुनिएर
आमाले फेरी बुझाउनु भयो
धर्म सकिएर ताराहरु
यसरी पृथ्वीमा खस्ने गर्छन
आज फेरी त्यसरीनै
आकाशबाट तारा झर्दा
भन्न मन लाग्छ आमालाई
ताराहरु देवता हैनन
जो धर्म सकिएर पृथ्वीमा झरुन
त्यो त केवल उल्का हो
तारा झर्नुको भ्रान्ती मात्र
आकाशले कहिल्यै पनि
आफ्ना ताराहरु खर्च गर्दैन
बरु पृथ्वीबाटै धर्म छाडेर
खसाईन्छ ताराहरुलाई
जसरी हाम्रो माटोबाट
धर्म नसकिई खसाईएको छ
भर्खरै एकहुल ताराहरु ।

२८ जेष्ठ २०५८ झापा , गौरादह ।

विरेन्द्रको स-परिवार हत्या भएको समयमा मैले यो कविता लेखेको रहेछु । आज समयले कोल्टो फेरेर राजतन्त्रकै अवशान हुन लागेको बेलामा कतीहरु आफुलाई गणतन्त्रवादी देखाउने कसरतमा जुटेका छन र बिगतमा राजपरिवारको सम्बन्धमा आफुले गरेको कुनैपनि कामहरु भरसक लुकाउने चेष्टामा होलान । त्यस्ता प्रवृतीका मानिसहरु सायद भोलीको समयमा पनि आफ्नो दुनो सोझो नै बनाउन चाहन्छन । अर्कोतिर एक प्रकारले सबैतिर गणतन्त्रवादी देखिने फेसन नै छाएको छ तर मेरो भने कुरा अर्कै छ । म राजतन्त्रको बिरोधी हुँ तथापी मैले विरेन्द्रको बंशबिनास भएको समयमा लेखेको कविताहरु तपाईंहरु सामु राखेको छु र अरु पनि भएका राख्दै जानेछु अब मलाई पनि राजावादी रहेछ या मण्डले हो भन्नुहुन्छ भने मेरो भन्नु केहि छैन तर चाकरीको भाषा मैले प्रयोग गरेको छैन ।

Friday, December 08, 2006

कविता : आगो , मान्छे र म ।

पत् पत् धुवाँएर
चट् चट् आवाज गर्दै
एक्कासी सुकेका पतिङ्गरमा
आगो सल्कियो
वरिपरीका सबै त्यतै दगुरे
कोहि यता कोहि उता छरिएर
कसैले पानी
कसैले सेउला हरियो
कसैले माटो हालेर
आगो निभाएर गए ।
त्यहीं नजिकै
भित्र भित्रै ह्वारह्वारी सल्किएर
चुपचाप उभिएको मलाई
सबैले देखेर पनि नदेखे झैं
बाटो काटेर गए
सोचें केवल सोचें
पतिङ्गरमा सल्किएको आगोले
तिनिहरुलाई सायद
पोल्न सक्थ्यो
जलाउन सक्थ्यो
त्यसैले तत्काल त्यसको
निदानको उपाय रचियो
तर यहाँ
यौटा मान्छे भित्र
सल्किएको आगोले
अबदेखि सायदै
अर्को मान्छेलाई छुन सक्दैन
त्यसैले म
अझै पनि
छाती भित्र दन्किएको
आगो बोकेर
करोडौं मान्छेको भिंडमा
आफैं मात्र जलेर
ठिँग उभिएको छु
एक्लै अनि एक्लै ।

१३ माघ २०५७ रानी , बिराटनगर ।

Monday, December 04, 2006

गजल : छोडेपछि तिमीले ।

छोडेपछि तिमीले म रल्लिएर हिडें ।
दुनियादारी भुलेर हल्लिएर हिडें । १

शान्तै थिएं नि म पनि हिजो अस्ती सम्म ,
अचानक लौ आजै खल्बल्लिएर हिडें । २

तिमीले नै नबुझे'सी मन् भित्रको ब्याथा ,
त्यै ब्याथाले भित्रभित्रै थल्लिएर हिडें । ३

पहिलो चोटी पिएको धेरै नै पिएछु ,
मात्तिएर गल्ली गल्ली झल्लिएर हिडें । ४

त्यस्तै बेला तिमी सँग जम्काभेट भयो
लौ न , म त शरमले डल्लिएर हिडें । ५

रक्सी भन्दा कडा र'छ अझै तिम्रो नशा ,
त्यै भएर सकेसम्म छल्लिएर हिडें । ६

Sunday, December 03, 2006

दुई गजलहरु ।

१. यस्तै हुँदो रै'छ हजुर ।
__________________

लाज शरम पचेपछि यस्तै हुँदो रै'छ हजुर ।
गोहीको आँशु झार्दै मान्छे त्यसै रुँदो रै'छ हजुर । १

मपाईँ बन्न मान्छेलाई सिकाउनु नै पर्ने हैन ,
फलै बिना पनि रुखको हाँगा नुँ'दो रै'छ हजुर । २

आफन्तको साईनो गाँसी कसैलाई विश्वास गर्दा ,
मक्किएर त्यहि साईनो पनि चुँ'दो रै'छ हजुर । ३

रीत नै यस्तो बस्या हो कि मलाई मात्रै खट्कीएको ,
मौका पाउंदा मान्छेले नै मान्छे दुँ'दो रै'छ हजुर । ४

समय नै उल्टो भए दीपकको भन्नु केही छैन ,
तर तल गिर्नेले नै शिखर छुँदो रै'छ हजुर । ५

(तन्नेरी डट कममा प्रकाशित ।)

२ बोल्नु पर्ने रै'छ बोल्दा ।
__________________

बोल्नु पर्ने रै'छ बोल्दा छाती ठोक्दै कराएर ।
नत्र नबोल्नु नै रै'छ सबै सँग डराएर । १

भन्नु पर्ने थियो मैले साँचो कुरा सबै सामु ,
मुखै फोरीएन आफ्नो त्यसै त्यसै सर्माएर । २

यात्रा थाल्दा हतारोमा होसै कता थियो कुन्नि ,
अलपत्रै परें ऐले ठाम् ठेगानै हराएर । ३

अरु अरुकै घाउमा मलम् पट्टी गर्दैगर्दा ,
खप्नै गार्हो भो मलाई आफ्नै घाउ चर्याएर । ४

बाटै भरी हल्ला थियो कोही लुटीएछ भन्ने ,
आफैं लुटीएको रै'छु थाहा पाएं घर् आएर । ५

मनै थे'न तिमीलाई टाढा भ'को हेर्ने तर ,
आफैं पर भयौ उल्टै लेखापढी गराएर । ६

Saturday, December 02, 2006

मैले लेखेको राष्ट्रिय गीत ।

जन आन्दोलन - २ भै रहेको थियो नेपालमा । लाखौं करोढौं नरनारीहरु एकजुट भएर शाही शासन बिरुद्ध छाती खोलेर सडकमा ओर्लिएका थिए । समस्त विश्वलाई नै चकित तुल्याउंदै मानब सागर सडकमा उत्रीरहेको बेला म चाहिं यता अमेरिकामा बसेर आन्दोलनरत नागरिकको समर्थनमा अनि फासिस्ट शाही सत्ताको बिरोधमा आफ्नो बर्कतले भ्याए सम्म कविता , गीत , गजल ईत्यादी लेख्दैथिएं । आन्दोलनको त्यती छोटो अवधिमा विश्वमै सबै भन्दा धेरै जनताहरु सडकमा उत्रीएको भन्ने जस्ता समाचारहरुले अन्तर्राष्ट्रिय जगतमा सनसनी मचिईरहेको थियो । यहाँका मेरा केहि अमेरिकन साथीहरु जो पर्यटकिय आनन्द लिन पटक पटक नेपाल पुगेका थिए अब भने नेपालीले नेपालमा सहि परिवर्तन ल्याउछन भन्ने जस्ता टिप्पणी गर्दथे भने केहि भने विश्वको नक्सामा नेपाल कहाँ छ ? कस्तो छ ? भनेर हेर्ने गर्थे । त्यसबेला मैले यौटा यस्तो गजल लेखेको थिएं -

विश्व सारा मानचित्रमा नेपाल हेर्दैछन ।
भन्छन अब नेपालीले नेपाल फेर्दैछन ।

त्यसबेला मैले लेखेका केहि कविता र गजलहरु नेपाली कविता डट कमले र केहि नेपाली पोष्टले प्रकाशित गरिदिएको थियो । " ए ! राजन , तिमी त मरीसक्यौ ।" भन्ने शिर्शकमा मैले लेखेको यौटा कविता भने कतै पनि प्रकाशित नहुंदा सार्है खिन्न भएको थिएं । बलिदान मार्ग भन्ने शिर्षक पनि दिएको सोही कविताको अन्त्य भाग यस्तो थियो ।

हे ! राजन ,
कि त फुकाल श्रीपेच
र राखिदेउ सङ्राहलयमा
कि त निस्क बाहिर
म तिम्रै घर अगाडीको मुल बाटोमा
छाती खोलेर तिमीलाई मुर्दाबाद भन्दैछु
मेरो आवाज दबाउन सक्छौ भने
ठोक गोली मेरो छातीमा
म राजा मुर्दाबाद भन्दै
तिम्रै घर अगाडीको मुलबाटोमा
आफुलाई बलिदान दिएर
तथाकथित दरबारमार्ग भनिने
तिम्रो घर अगाडीको मूल बाटोलाई
बलिदान मार्ग बनाउन तैयार छु ।

यो कवितालाई मैले यहि ब्लगमा July 04 , 2006 का दिन राखेको छु । यसरी लेख्दै जाँदा मैले खडेरीको खेती भन्ने गणतान्त्रीक गीत , गजल र कविताहरुको संग्रह बनाएको छु जसमध्येको यौटा गीत बाल गायिका दीन्जुश्रीको स्वरमा स्वराङ्कन भै सकेको छ । त्यस्तै कुनै कुनै गजल , कविताहरु मैले उमेश जीको माईसन्सार डटकममा प्रतिकृयाको स्थानमा लेखेको पनि छु ।

नेपालमा जनाअन्दोलन - २ ले शाही सत्तालाई झुकाई छाड्यो र त्यसैले बर्खास्त गरेको प्रतिनिधी सभा पुनर्स्थापना भयो । प्रतिनिधी सभाले धेरै कुराहरु परिवर्तन गर्दै गयो र विविध अप्ठ्यारोहरुको बावजुध अझै परिवर्तन गर्दैरहेको छ । त्यस्तै मध्ये परिवर्तन गर्न अपरिहार्य रहेको नेपालको राष्ट्रियगान भनिने राजाको स्तुती गीत पनि थियो जस्लाई खारेज गरियो र नयाँ राष्ट्रियगान को खोजीकार्यको थालनी भयो । समाचारमा मैले यो कुरा थाहा पाउंदै गर्दा मलाई मेरो दाजु डेगेन्द्रले ईमेल लेखेर तँ पनि लेख न यौटा राष्ट्रियगान भनेर सल्लाह दिनुभयो । दाजुकै प्रेरणाले म पनि लेख्न कस्सिएं । लगभग ४ घण्टाको परिश्रम पछि मैले यौटा राष्ट्रिय गीत तयार पारें । लेखुञ्जेल सम्म त मलाई मेरो गीत राष्ट्रियगान को लागी पठाउंछु भन्ने थियो तर लेखीसकेपछि भने पठाउन मन लागेन । नयाँ नेपाल निर्माण गर्नको लागी नेपालमा लाखौं करोढौं जनताहरु आफ्नो ज्यानको पर्वाह नगरी सडकमा उत्रीरहेका छन । सयौंहरु छातीमा तातो गोली थापेर सडकमै ढल्दैछन यता म भने डिभी भिषा पाएर मख्ख परेर ३ बर्ष अगाडी देखि अ मेरिकामा आनन्दले बसेको छु । अमेरिकामा बसे पनि म पनि यौटा नेपाली नै हुँ र ति नै नेपाल आमाको छोरो हुँ त्यसैले मलाई नेपाली नागरिक भएको हैसियतले राष्ट्रियगीत लेख्ने अधिकार त छ तर बिदेश पलायन भएको हुंदा राष्ट्रियगान को निम्ती पठाउने अधिकार छैन जस्तो लाग्यो । मलाई मेरो नैतिकताले नै सायद आफ्नो रचना राष्ट्रियगान को निम्ती पठाउन दिएन र नपठाउने निर्णय गरें । उता दाजुलाई पनि ईमेलमै मैले राष्ट्रियगीत त लेखें तर पठाउन मन लागेन । एक त मेरो गीत १०० औं नम्बरमा पनि नपर्न सक्छ अर्को म आफु बिदेशमा बसेर कुन मुखले राष्ट्रियगान लेखुं भनेर जवाफ लेखें पछि फोनमा कुरा हुँदा " पठाउनु नपठाउनु तेरो बिचार हो तर १००औं नम्बरमा पर्यो भने पनि पछि पुस्तकाकार भएर निस्कंदा तेरो पनि निस्कन्थ्यो भनेर मात्र लेख भनेको हुं । त्यसो त भोली राजावादीहरुकै रचना राष्ट्रियगान हुन पनि के बेर? यो नेपालमा जे पनि हुन्छ । " भन्नुभएको थियो । नभन्दै प्रस्तावित राष्ट्रियगानका रचयिता ब्याकुल माहिला अहिले विवादमा परेका छन । उनको रचना सरल , सहज अनि सबै पक्षलाई समेटिएको भएता पनि मलाई पहिलो हरफमै चित्त बुझेको थिएन । सयौं थुङ्गा फूलाका हामी यौटै माला नेपाली..... यहाँ निश्चित रुपमा ब्याकुलजीले सयौं थुङ्गा फूललाई नेपाल भित्रका विविध जात जाती भाषा भाषी को प्रतिक बनाउनु भएको हो तर सयौं थुङ्गा फूल भन्दा यौटै जात/प्रकारको सयौं थुङ्गा बुझिन आउछ ( मैले मात्र त्यसरी बुझेको पनि हुन सक्छु )। त्यसैले विविध जात जाती भाषा भाषीकै प्रतिक लेख्दा सयौं फूलका थुङ्गा हामी... लेख्नु पर्थ्यो अथवा सयौं थरी फूलका.... भनेर लेख्नु पर्थ्यो कि ? मलाई लगेको कुरा हो यो जुन कुरामा म नै गलत पनि हुन सक्छु । अन्यत्र भने ब्याकुल जीको रचनामा मैले कतै खोट भेटिनं बरु ब्याकुलको रचना र मैले लेखेको राष्ट्रिय गीत कता कता मिल्दो जुल्दो रहेछ । यसो भनेर मैले आफ्नो रचना पनि राष्ट्रियगानको निम्ती योग्य छ भन्न खोजेको हैन । मैले त आफैले आफुलाई राष्ट्रियगान लेख्ने अधिकार बाट बञ्चित गराएको छु । जती बेला मलाई म आफु राष्ट्रियगानको लागी आफ्नो रचना पठाउन अयोग्य छु भन्ने बोध भयो अर्थात मलाई नैतिकताले राष्ट्रियगान को निम्ती आफ्नो रचना पठाउन रोक्यो त्यतीबेला मलाई आफु भित्र सार्है नमिठो पिंडा भएको थियो र त्यो पिंडा पोख्न मैले यौटा गीत लेखेको थिएं जुन यस्तो छ -

मेरो देशले रगत मागेको थियो तर म बलि भईनं
मेरी आमा रोईरहेकी थिईन म आँशु पुछ्न गईनं।

तातो रगत मेरो नशाहरुमा पनि त उम्लिरहेको थियो
क्रान्तीको आगो बाल्न सकिनं जलाउदैछु शान्तीको आशामा दियो
मलाई छोरा नभन ए ! आमा , म तिम्रो सपूत हुन सकिनं
शहिद भएर मैले आफ्नो रगतले तिम्रो पाउ धुन सकिनं ।

मेरो धर्तीले मलाई सरापेछ क्यार मैले फर्किने बाटो पाईनं
मुठ्ठीमा उठाई टिका लगाउन मैले आफ्नै माटो पाईनं
मैले आफ्नो पसिना बगाई आफ्नै माटो भिजाउन सकिनं
माफीदेउ मलाई ए ! आमा , मैले तिमीलाई रिझाउन सकिनं ।

सायद यही गीत लेखेर मैले राष्ट्रियगान को लागी आफ्नो रचना नपठाउनुको पिंडा भुलें । राम्रो छ भनेर हैन मैले पनि राष्ट्रियगान को लागी भनेर यस्तो रचना लेखेको थिएं भनेर आज उपयुक्त संदर्भ निस्किएकोले गर्दा यहाँ राख्दैछु ।

नेपाली हौं सयौं थरी फूलका माला एक
बिभुषित छौ भाषा , जाती , धर्मले अनेक ।

विविध संस्कृतीको एकै संगम थलो विशाल
पृथ्वीकै स्वर्ग - शान्त , अनुपम नेपाल ।

मेची काली , हिमाल तराई संगै उठीरहोस
उन्नतीपथमा नेपाली हात संधै जुटीरहोस ।

उभिएको पहाड भै एकतामा अटल
शहिदको रगतले धोईएको नेपाल ।

विश्व सामु उच्च सदा शिर सगरमाथा
गाईरहुँ जय ! जय ! जय ! नेपाल गाथा ।

Thursday, November 30, 2006

हाम्रो राष्ट्रिय गीत ।

अब त ईन्टरनेटमा बस्यो कि सबैभन्दा पहिले उमेशजी को माई संसार खोल्न पुगिहालिन्छ । नखोलियोस पनि किन तरोताजा समाचार हेर्न पाईने भएपछि । त्यस्तै ताजा मध्येमा आज नेपालको राष्ट्रिय गीत राखिएको रहेछ । यस राष्ट्रिय गीतका रचयिता ब्याकुल माईला रहेछन । राष्ट्रिय गीत भएपछि त्यो सबैको साझा सम्पतीमा गनिने हुँदा मैले पनि अधिकार जमाएर उक्त गीत यहाँ राखेको छु । भाग्यमानी रहेछन माईला जस्को कलमले आज देशको राष्ट्रिय गीत रचना गर्ने सौभाग्य पाएको छ ।

----------
----------

सयौं थुङ्गा फूलका हामी यौटै माला नेपाली ,
सार्भभौम भई फैलीएका मेची महाकाली
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल ,
वीरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल ,
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
वहूल जाति भाषा धर्म संस्कृति छन् विशाल ,
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।
___________________________
___________________________

Tuesday, November 28, 2006

कविता को जवाफमा कविता ।

मैले गत नोभेम्बर २५ मा भन्दैछ रे नेपाल शिर्षकमा यौटा गजल लेखेको थिएं जुन आफ्नो ब्लगमा राख्नुको साथै चहल सयपत्रीजीको सयपत्री ब्लगमा पनि पठाएको थिएं । आज त्यहाँ मेरो उक्त गजलले स्थान पाएछ कि पाएनछ भनेर हेरेको थिएं । मेरो गजलले स्थान पाएनछ - सायद योग्य ठहरीएन क्यार तर त्याहाँ विजयसिंह थापा ज्यु ले लेख्नु भएको सहु सहु कविता देखेर भने मलाई नमज्जा लाग्यो । समको आवाज सहु सहु सहु बाबु सहनै नसके पनि लाई अहिले त्यसरी अर्थलगाएर कविता लेख्नु कती उचित हो कती अनुचित थापाजी लाई नै थाहा होला तर मलाई भने त्यसरी अर्थ लगाएर अहिलेको घडीमा त्यो कविता लेखेको अलि चित्त बुझेन त्यसैले के गर्छौ बाबु ......सहनै नसके पछि ? भन्ने शिर्शकमा तुरुन्त जवाफ कविता लेखेर चहल जी लाई ईमेल गरिदिएको छु र अनुरोध गरेको छु राखिदिनुहुन । सायद राखिदिनुहुन्छ होला । तपाईंको लागी भने अहिल्यै हेर्नको लागी उक्त दुबै कविता यहाँ राख्दैछु ।

पहिले विजयसिँह थापा जी को कविता हेर्नुहोस ----

सहु सहु ....

तिमी
तुरुन्त भीरबाट
हामफालेर मर
घर नजिकको गिजेरी रूखमा
झुन्डिएर मर
तर
चिन्ता लिएर नबाँच
प्लिज् ।
तिनीहरू
राष्ट्र लुछ्न नै जन्मिएका हुन्
त्यसै किन रिसाउँछौ ?
हामीलाई सताउन नै जन्मिएका हुन्
व्यर्थ किन विरोध गर्र्छौ ?
सहु
सहु
सहु बाबु सहनै नसके पनि ।


जवाफमा मैले लेखेको कविता यस्तो छ ---

के गर्छौ बाबु ?...... सहनै नसके पछि ।

म पनि सहन सक्छु
थाहा छ तिमीपनि सहन सक्छौ
तर सहनुको पनि हद हुन्छ
कती सहने अझै
सहेरै हामीले
दुईसय सैंतिस बर्ष बित्यो ।
सहेरै प्रत्येक बर्ष
म हरु गिजेरी रुखमा
झुण्डिएर मरिरहयौं
सहेरै प्रत्येक बर्ष
तिमीहरु भिरबाट
हामफालेर मरिरहयौ
अब झुण्डिनु नपरोस
म हरु गिजेरी रुखमा फेरी
अब हामफाल्नु नपरोस
तिमीहरु भिरबाट फेरी
त्यसैले सोच एकपटक
के गर्छौ बाबु ?...... सहनै नसके पछि ।

Monday, November 27, 2006

गजल : फेरी पनि ढाँट्न सक्छन ।

ढाँटेकै हुन पहिले पनि फेरी पनि ढाँट्न सक्छन ।
आज मिले झैं गर्नेहरु भोली फेरी फाट्न सक्छन । १

आफ्नो टाउको जोगाउन परेवा उडाई हिंड्नेले ,
के भर छ र ? भोली फेरी हाम्रो घाँटी काट्न सक्छन । २

आफ्नो शालिग घोडामाथी चढाई यिनीहरुले नि ,
शहिद गेट्मा शहिदको फेरी हात छाँट्न सक्छन । ३

आज जस्लाई नङ्ग्याएर तह लाउने किर्या खा'छन् ,
भोली फेरी यिन्ले उस्कै तलुवा धरी चाट्न सक्छन । ४

झुप्रै पिच्छे पुगी यिन्ले यो त्यो गर्ने वचन त दिए ,
दर्बार भित्र कुर्शी देखी त्यो वचन् नि साट्न सक्छन । ५

दाशताको साङ्लो खोल्ने नाटक रचेर यिन्ले भोली ,
फेरी हाम्लाई झुण्ड्याउने लठारो नि बाट्न सक्छन । ६

यो गजल मैले नेपाली पोष्ट डटकमलाई र नेपाली कविता डट कमलाई पठाएको थिएं सायद त्यहाँ योग्य ठहरिएन क्यार - अथवा कुनै ठाँउमा प्रकाशित भै सकेको गजललाई आफ्नो पत्रीकामा नराख्ने मानसिकताले राखिएन होला , तर हाम्रोदेश ब्लग चलाउनुहुने मित्र संकल्प जी ले बडो स्नेह पुर्बक हाम्रो ब्लगमा राखिदिनु भएको छ । संकल्प जी प्रति आभारी छु ।

Sunday, November 26, 2006

गीत : मनमा राखे मनका कुरा ।

मनमा राखे मनका कुरा मनै हजुर कुपित हुन्छ
ओठमा ल्याई बोलीदिए त्यही मिठो प्रीत बन्छ ।

मनमा सबको घाउ हुन्छ
सबैलाई दुख्छ पोल्छ
त्यही हाँस्न सक्छ जस्ले
मनका सबै कुरा खोल्छ
मिठो बचन बोल्ने को त बोली हजुर गीत हुन्छ
मनमा राखे मनका कुरा मनै हजुर कुपित हुन्छ ।


आँखा सबको रसाउंछ
आँशु पनि झर्न सक्छ
आँशु झेल्न सक्छ जस्ले
मनको दुख तर्न सक्छ
मनको मैलो धुन सके आँशु हजुर मित हुन्छ
मनमा राखे मनका कुरा मनै हजुर कुपित हुन्छ ।

Saturday, November 25, 2006

गजल : बन्दैछ रे नेपाल ।

बल्ल ब्युँझिएं मुर्छाबाट भन्दैछ रे नेपाल ।
अब आफ्नै हातले स्वर्ग बन्दैछ रे नेपाल । १

विकट गाउँ , वस्ती , सहर , बजार चारैतिर ,
सबै हिंड्ने उस्तै बाटो खन्दैछ रे नेपाल । २

बर्षौं सम्म उठ्नै नदिई कुल्चिनेहरुलाई ,
छानी छानी सबको टाउको गन्दैछ रे नेपाल । ३

हिंजो सम्म लुकी भागी हिंड्नेहरुलाई पनि ,
हाँस्दै खेल्दै हिंड्न सक्ने आनन्दै छ रे नेपाल । ४

पटक पटक ब्युँझिंदा नि उठ्न नसकेको ,
अब उठ्ने अठोटमा बुलन्दै छ रे नेपाल । ५

नेपालीपोष्ट डट कममा प्रकाशित ।

Friday, November 24, 2006

प्रश्नहरु अझै अनुत्तरित छन ।

ब्यस्तताको कारण तिनचार दिनसम्म ईन्टरनेटमा बस्न नपाएको मलाई आफु निक्कै पछि परेछु जस्तो लागीरहेछ । नेपालमा शान्ती सम्झौता भै सकेर पनि दीपावली मनाउने , शान्तीको ड्रम बजाउने ईत्यादी काम भै सकिसकेछ , राजाले समेत शान्ती सम्झौता भएकोमा आफु प्रसन्न भएको बक्तब्य निकालीसकेछन । कस्तो अचम्म !!! ति नै राजालाई हटाउनको लागी शान्ती सम्झौता गरेर सम्बिधान सभाको चुनाब गर्ने भन्दैछन राजाचाहिँ त्यसैमा प्रसन्न भए रे । कतै गड्बडी त हुन लागेको छैन ? शान्ती सम्झौताको ३.३ (बुँदा नै त होला नि) मा भनिए अनुशार राजसँस्था कायम राख्ने या नराख्ने भन्नेबारेमा संबिधान सभाको पहिलो बैठकद्वारा साधारण बहुमतले टुंगो लगाउने रे । भनेपछि सम्बिधान सभाको पहिलो बैठकमा राजा राख्ने भन्नेहरु २ जना बढि निस्किए भनेपनि राजालाई राख्ने हो त ?? अनि राजा हटाउनु पर्छ भन्नेहरु २ जना बढि हुंदै राजा हटाईदिने त ? खै यो राजा राख्ने र हटाउने पनि केटाकेटीको खेल हो कि क्या हो ? यदि जन आन्दोलन - २ को मर्मलाई आत्मसात गरेर नेपाली जनताको चाहना र ईच्छा बमोजिम देशलाई अगाडी लैजाने हो भने - यति भै सके पछि त संबिधान सभाको पहिलो बैठकले बिना शर्त राजसँस्थाको खारेजी गर्नु पर्ने हैन र ? जन आन्दोलन - २ का सहिदहरुको सम्मान पनि त त्यसैमा हुन्थ्यो होला नि तर खै त यहाँ अझै पनि जनताको इच्छा र चाहना बमोजिम काम गर्ने नेताहरु छन होला र ? म त शँकामा पो छु । यदि त्यसरी बिना शर्त राजतन्त्रको खारेजी गर्न मिल्दैन भने , ( हुनत नेपालमा नमिल्ने कुरा नै के छ र ? राजा र काँग्रेस मिल्न सक्छन , काँग्रेस र एमाले मिल्न सक्छन , राजा र एमाले मिल्न सक्छन , हुंदा हुंदा भोलि राजा र माओवादी पनि मिल्न सक्लान - झण्डै मिलेका पनि थिए तर दुखको कुरा राजा हटाउने सवालमा एक स्वरमा एक भएर हाम्रा नेताहरु मिल्न सक्दैनन । ) राजतन्त्रलाई बोक्नै पर्छ भने किन लोकतन्त्रको डिँग हाँकी हिंड्ने हो हाम्रा नेताहरुले ? आफ्नो आफ्नो स्वार्थ सिद्ध गर्न बाहेक देश र जनताको निँती काम गर्ने नेता हामीले कहिले पाउने होला ?

बर्तमानमा देशको मुल समस्या राजतन्त्र हो र मुल आवश्यकता शान्ती हो भनेर सबै नेताहरुलाई ज्ञात नै छ तर पनि खै त मुल समस्याको मुल जरो उखेल्न किन यस्तरी हिच्किचाएका हुन ? राजालाई स्पेस दिनु पर्छ भन्ने प्रधानमंत्रीको पछाडी र राजा राख्ने नेपाली काँग्रेसका सभापतीका पछाडी (दुबै यौटै भए पनि ) थोरै सहयोगी नहोलान भन्न सकिन्न जस्ले बिभिन्न प्रभोलनमा परेर राजा राख्नु पर्छ भन्न सक्छन । राजतन्त्र राख्ने र हटाउने भन्ने प्रश्नमा आमजनताले आफ्नो धारणा राख्न पाउने कि नपाउने ? पाउने हो भने कसरी पाउने ? नपाउने हो भने किन नपाउने ? कि सम्बिधानसभामा बस्ने सदस्यहरुले मात्रै त्यस्को छिनोफानो गर्ने ? सम्बिधान सभामा सहभागी हुनेहरुले भोली राजतन्त्रको बिषयमा गरेको फैसला मान्यनहुनेले मुद्दा हाल्न पाउने कि नपाउने ( मेरो भन्नुको आसय फेरी त्यसै बिषयमा अर्को पटक बहस गरेर अर्को फैसला निकाल्न पाउने कि नपाउने ? ) कि फेरी चित्त नबुझ्नेले भोली बन्दुक बोकेर जँगल तिर जाने ? आउदै गरेको शान्ती साँच्चिकै हो कि भ्रम मात्रै हो ? प्रश्नहरु अझै अनुत्तरित छन ।

Friday, November 17, 2006

गीत : तिम्रो माया बल्छि रैछ ।

तिम्रो माया बल्छि रैछ मुस्कानको चारो थाप्यौ
लोभिएर उनिएछु म
जालहारीको जाल जस्तो तिम्रो त्यो जाली मायामा
थाहै नपाई थुनिएछु म ।

दुनियां भरको सुखहरु तिमी भनी लत्याई दिएं
आफ्नै मनको केही खुशीहरु पनि हुत्याईदिएं
सबै छोडें तिम्रो निम्ती आंखिरी म रित्तो भएं
भित्र भित्रै धमीराले मक्काएको भित्तो भएं ।

दुखिरन्छ मुटु , आँशु आँखाबाट बर्षिरन्छ
बुझाउं कसरी यो मन झस्किरन्छ तर्सिरन्छ
बिहान पनि मेरो निंती सुर्य अस्ताएझैं भयो
मैले खाँदा कसम पनि हरिताल खाएझैं भयो ।

Thursday, November 16, 2006

श्रदाञ्जली सम्झनाको ।

शाको यौटा दिप जलायौ
श्वर भाकी दिलमा आई
हर दिलको सागरमा उठायौ
रेर पिरतीको गीत गाई
न्मा तिमिले घर बसायौ
जुनी जुनी सम्मलाई ।

यहि नै थियो मेरो प्रेमको पहिलो सम्बोधन । प्रत्येक हरफको पहिलो अक्षर लिएर ठाडो लहर मार्फत आफ्नो अभिब्यक्ती पोख्ने प्रयास । किशोरावस्थाको यौटा लहड जुन पछि गएर वाष्तविक प्रेममा परिणत भयो र अझै पछि गएर यौटा मिठो पिंडा बन्यो । यसरी -

मायाको सिङ्गै आकाश दिएथें
मायालुलाई त्यहि थोरै भयो
नसकेर दिन जून ताराहरु
यो अभागीको जीवन उजाड भयो

आज नोभेम्बर १६ तारिख सन २००६ तदअनुशार २०६३ साल मंशीर ०१ गते (नेपालमा) , बिर्षन्छु भन्दा पनि नसकेको आफ्नो ब्याथा फेरी एकपटक सम्झंदैछु । कैयौं पटक मैले प्रण गरें भयो अब म यो विषयलाई सम्झन्न भनेर तर यो विषय नै यौटा घाउ रहेछ । घाउ जती पुरानो भयो त्यतीनै डरलाग्दो हुंदो रहेछ जबसम्म त्यो घाउ रहन्छ ; निको भैसक्ने हो यदि भने त घाउ नै भनिंदैन । मंशीर १ गतेलाई मैले मेरो जीवनको कालो दिन घोषणा गरेको छु किनकी यो मेरो प्रेमको अवशान भएको दिन हो । मेरो मन खाली भएको दिन हो । मेरो मनको सँघारबाट मायालुको पाईला हटेको दिन हो । घोषणा गर्दै गर्दा सायद म यो दिनलाई कहिल्यै नसम्झने प्रण गर्दै थिएं होला तर आज आएर लाग्दैछ त्यही कालो दिनको पनि मेरो जीवनमा महत्व रहिरहने रहेछ । त्यसैले त आज फेरी म सम्झीरहेछु त्यो दिनलाई अनि मेरी मायालुलाई । हुनत अब केवल सम्झनु मात्रै नै हो तर मैले गरीरहेको यो सम्झना उस्लाई श्रदाञ्जली बनोस । जती हार्नु मैले हारी सकेको छु कुनै खुशी सायद अब फेरी जित्न सक्दिन म जिन्दगीमा त्यसैले त भनेकै छु -

खुशी त कहाँ जित्न सकिन्छ जिन्दगी हारेर
मनको सँघार नाघेर गयौ मन रित्तै पारेर ..... अनि बसेको छु रित्तो मनको घर कुरेर । यो बाँच्ने जीजिविषा हो जिन्दगीको त्यसैले हार स्विकारेरै बाँचेको छु म । यो ब्यंग जो जिन्दगीको त्यसैले आफुलाई भन्दा धेरै माया गर्छु भनेर पनि उ बिना नै हाँसेको छु म । त्यसो त परिवार संग समाज संग आबद्द यौटा मान्छे झ्याङ्ग भित्रको वाँस हो जस्को फेद छिनेर पनि झ्याङ्ग बाट आफै अलग हुन सक्दैन अलग गर्नको लागी झ्याङ्ग भित्रका अरु वाँसहरुको पनि हाँगा बिंगा काट्नु पर्ने हुन्छ त्यसैले त होला भए जती आफ्नाहरु लाई दुखाउन नसकेर फेदै छिनेर , सिङ्गै सुकेर पनि मान्छेले समाजको झ्याङ्ग भित्रै रहनु पर्छ । म सानै छंदादेखि गाउंघरमा मान्छेहेरुले कुनै काम सोचेको भन्दा बिपरित भै दिंदा या कुनै काममा असफलता हात लाग्दा मरेकै दिन भयो भन्ने गरेको सुन्थें यहाँ सम्म कि बिस्कुन सुकाउनु पर्दा घाम लागिदिएन भने अथवा कतै हिंड्ने दिनमा झरी परिदियो भने पनि मरेकै दिन भयो भनेको सुन्थें । त्यसबेला त्यहि भनिएको दिन नै मरेको हो कि जस्तो लाग्थ्यो । पछि बुझ्दै जान थालें घाम लाग्ने , हावाहुरी चल्ने , झरी पर्ने ईत्यादी त दिनको कर्म नै हो रहेछ त्यसैले दिनलाई मरेको त भन्न सकिन्न । आफु (भन्ने ब्याक्ती) मरेको दिन त झन हुनै सक्दैन । मरेको दिन कस्लाई थाहा हुन्छ र ? मरेपछी त सकिईगयो । त्यसैले मरेको दिन भयो भन्नु त आफ्नो कोही पृयजन मरेको दिन पो हो रहेछ । सुन्दै खेरि बुझे जस्तो लाग्ने यस्ता साना कुराहरु फेरी जीवनमा स्पस्ट रुपमा बुझ्ने दिन पनि आउदो रहेछ । भोगाईमा मरेको दिनको अर्थ मैले पनि त्यसदिन मात्र बुझें जुनदिन मैले आफ्नो सबभन्दा नजिकको मान्छे गुमाएं र त्यसको तिक्तता महसुस गरें । जती बिर्षन्छु भन्थें उती धेरै सम्झंदो रहेछु म उस्लाई । मैले उस्को स्मृतीमा धेरै कुराहरु लेखेको रहेछु । सयौं गीतहरु , अनेकन कविताहरु र अन्य धेरै गन्थनहरु पनि । गन्थनहरु लेख्ने क्रममा बादल पारीकी मायालुलाई मेरो चिठ्ठी शिर्षक दिएर शोक पत्रहरुको संकलन भन्दै मैले लगातार १९० वटा चिठ्ठीहरु लेखेको रहेछु । त्यही पत्र यदी कुनै जिउंदै भएकि प्रेमिकालाई लेखेको भए प्रेम पत्र हुन्थ्यो तर मैले त मरीसकेकी प्रेमिकालाई लेखेको हुनाले शोक पत्र भनिदिएं । त्यस मध्येका कुनै कुनै पत्रहरु त बिसौं पृष्ठ लामो पनि लेखेको रहेछु । उसकै सम्झनामा लेखेका गीतहरु बाट १० वटा गीतहरुको संगालो एक अञ्जुली माया क्यासेट र सिडीमा हालसालै बजारमा पनि निकालेको छु । यसरी उस्ले मलाई जती रुवाएकी छे त्यतीनै बाँच्ने साहस पनि दिएकी छे । जब म उस्लाई बिर्षन नै नसक्ने रहेछु भने अब भन्दिन म उस्लाई बिर्षन्छु भनेर त्यसैले मैले समयलाई पनि अनुरोध गरेको छु -

.....नमेटी देउ ए ! समय उनलाई मेरी मायालु कहानीमा छिन
सुनौलो सपना सजिएको मेरै आँखाको नानीमा छिन .........। र आज पनि फेरी उसैको सम्झनामा श्रदाञ्जली स्वरुप यौटा अर्को गीत थप्दैछु ।
___
______
_________
तिमी त बाँच्यौ मेरै गीतमा
म त मरीसकेछु तिम्रै प्रीतमा
सागरमा छौ तिमी अनन्त अथाह
म त सुकें थोपा थोपा शीतमा ।


जित्नेहरु भन्छन यो हार हो मेरो
म भन्छु यहि त प्यार हो मेरो
मैले जित्नै पर्ने यो कुनै खेल हैन
चोखो माया हो यो जाल झेल हैन ।


जब लाग्छ आफु भित्र तिमी बाँचे जस्तै
खुशी फूल्छ पहरामा फूल हाँसे जस्तै
एक्लो यदि छु भने दुनियाँ म भुल्छु
कसैले नटिप्ने म पलाँसमा फुल्छु ।
----------

Wednesday, November 15, 2006

गीत : बटुवा दाई ।

सुन ए ! बटुवा दाई ,
एकैछिन त बिसाएर जाउ
मेरो गीतमा तिम्रो दुख
अनि खुशी मिसाएर जाउ ।


हिंड्दै जाँदा बाटोभरी घाउ धेरै भेटिनेछ
आजका यि खुशीहरु भोली सबै मेटिनेछ
सुन ए ! बटुवा दाई ,
यौटा गीत गाएर जाउ
मेरो गीतले च्यातिएको
तिम्रो मन सिलाएर जाउ ।


लामो बाटो जिन्दगीको हाँसी हाँसी काट्नु पर्छ
केहि खुशी केहि दुख सबै सँग साट्नु पर्छ
सुन ए ! बटुवा दाई ,
थोरै प्रीत लाएर जाउ
मेरो गीतको अधुरो सुर
तिमी पुरा बनाएर जाउ ।

Tuesday, November 14, 2006

कविता : निश्प्राण वैलाएछ यौटा कोपिला र अर्को ।

सँगै सँगै हिउंदको चिसो शीत खपेर
एकै साथ बसन्तमा ओठ खोल्दै गरेका
एक जोडा कोपिलाहरु
फूल बनेर फक्रीने रहर गर्दै गर्दा
निर्दोश भँवराले चुसिदिएर त्यही रहर
निश्प्राण वैलाएछ यौटा कोपिला र अर्को
आफुलाई एक्लिनुको पिंडाले
कति नछुवाई मस्त संसारमा
सुगन्ध छरेर फक्रीरहेको छ
निर्दोश भवँराहरु घुम्दै
आउनेछन कुनै दिन तिमी सम्म
चुस्नसक्छन तिम्रा पनि रहरहरु
भवँराहरु निर्दोश हुँदाहुँदै
पापी पनि हुन सक्छन
होसियार तिमी फूल हौ
भवँरा सामु तिमी कहिल्यै
आत्मसमर्पण गरी झुक्नु हुँदैन
सौंन्दर्य फक्रीनु तिम्रो अस्तित्व
निस्पाप भवँराको स्पर्शबाट बच्न
काँढे झ्याङ्गहरु बिच लुक्नु हुदैन
फूलको कोमल मुटुभित्र तिमिसँग
भवँराहरु झेल्न सक्ने साहस हुनै पर्छ ।

२० असार २०५८

Wednesday, November 08, 2006

गीत : बेहिसाब नै बितिसक्यो ।

बेहिसाब नै बितिसक्यो अब जीवनको हिसाब नखोज
जति दुख्नु दुखीसकें म , कती दुख्छौ? भनेर नसोध ।

सुनबुट्टे रहरहरु आँखैमा फुटेर रगतको आँशु झारीरहें
पाईला पाईलामा टेकेर आफैंले फूलाएको सपना मारीरहें
खाली खाली भै रित्तिसकें , कती बाँकी छु ? अब नखोज
जति दुख्नु दुखीसकें म , कती दुख्छौ ? भनेर नसोध ।

आफ्नै नियतीको भुमरीमा परेर बालुवाको अक्षर झैं मेटिईगएं
कण कण भै उडेर धुलो संगै आफ्नै भाग्य संगै रेटिईरहें
टुक्रा टुक्रा भै बांडिईसकें , कहाँ सिङ्गो छु ? भै गो नखोज
जति दुख्नु दुखीसकें म , कती दुख्छौ ? भनेर नसोध ।

Monday, November 06, 2006

A short write up about "Ek Anjuli Maya" by fursad.com

Ek Anjuli Maya
An album 'Ek Anjuli Maya' was formally released a month back by Dhaulagiri Cassette Centre but the album has not hit the music stores yet. According to Ganesh Gauli, the producer of this album, 'Ek Anjuli Maya' will be available in the market within this week.
The entire songs in the album has been composed by Tika Bhandari and written by Deepak Jadit who is currently living in the United States.
The highlight of the album are singers like Ruby Joshi, Deep Shrestha, Rabin Sharma, Pradeep Raj Pandey, Kunti Moktan, Ram Krishna Dhakal, Yam Baral, Karna Das, Ananda Karki and Samal Jagdis. As of now, one of the music videos "Kushi Ta Kaha Jitna" from the album has already been premiered. The track is sung by Deep Shrestha.
Ganesh shares, "The songs in the album have a flavor of semi-classical and sentimental patterns. The numbers in the album may not be very popular at the moment but in the years to come they are going to do wonders." An amount of three Lakhs has been invested in the making of this album.

This short write up has been written by http://fursad.com and now we can request and listen some of the songs of Ek Anjuli Maya online at Radio Jhatka , live from Nepal .

Friday, November 03, 2006

आफ्नै गीतको म्युजिक भिडियो हेर्दा ।

" गीती अल्बम तयार पारेर मात्र कहाँ हुन्छ र ? गीत चलाउनलाई त म्युजिक भिडियो पनि बनाउनु पर्यो नि ? " संगीतकार टिका भण्डारी जी को अनुरोधात्मक दबाव थियो यो । हो पनि आज भोली गीतहरुको भिडियो बनाउने प्रचलन नै छ नत्र भने गीतहरु राम्रो भएपनि ओझेल पर्न सक्छ । एक अन्जुली माया गीती अल्बम तयार हुने बेलातिर कुन गीतको भिडियो बनाउने भन्ने द्विविदा भयो । गणेश गौली जी ले - " दीप दाईको गीतलाई गर्नु पर्छ । दीप दाईको क्रेज युवामाझ पनि छ फेरी दीप श्रेष्ठ भनेको नेपाली गीत संगीत क्षेत्रको ऐतिहासिक धरोहर हो । " भन्नु भयो । गौली जी को कुरामा संगीतकार टिका भण्डारी जी र म सहमत भयौ र काम सुरु भयो । ईमेज च्यानलका दीपक श्रीको निर्देशनमा दीप दाई स्वयं पनि छायाँकित हुनु भएको भिडियो केही अगाडी नै तयार भै सकेको थियो तर मैले भने अझै सम्म हेर्न भ्याएको थिइनं । मैले नेपालबाट सम्पर्कमा भएकाहरु र भिडियो हेरीसकेकाहरु सबैलाई सोधेको थिएं कस्तो भएको छ भनेर सबैले औसतमा राम्रो भएको छ भनेका थिए । आज बल्ल फुर्सद डट कममा उक्त भिडियो लाई राख्न लगाएर हेरें । मलाई भने औधी नै मन पर्यो । आफ्नो शब्दहरुको गीत त्यसमा दीप दाईको स्वर अनि टिका दाईको संगीत , मनपर्ने त भै हाल्यो अझ त्यसमाथी दीपक श्रीले राम्रो प्रस्तुती दिनु भएको छ । भिडियो बनाईदिनुहुने दीपक श्री जी लाई साथै अभिनय गरिदिनुहुने दुबै मोडेलहरुलाई मेरो धन्यवाद । मलाई मनपर्नुको अर्को मुख्य कारण पनि भनुँ है - उक्त भिडियोमा बनाईएको पेण्टिङ्ग मेरी स्व. पत्नि मन्जुको हो । मैले गीती अल्बम नै उसैको नाममा समर्पण गरेको छु र म्युजिक भिडियोमा पनि उक्त कुरा दर्शाईएको रहेछ । भिडियो अपलोड गरेर साईटमा राखिदिएकोमा फुर्सद डट कमलाई मेरो हृदयदेखी नै धन्यवाद । तपाईलाई पनि एक पटक http://fursad.com मा गएर हेरिदिनुहुन अनुरोध गर्दछु । प्रतिकृया दिनैपर्छ भन्ने त छैन तर यदि प्रतिकृया लेख्ने मन भयो भने हेरेर मलाई यहिं प्रतिकृया दिन सक्नुहुनेछ नत्र deepakjadit@gmail.com मा लेख्नुहोला ।

खुशी त कहाँ जित्न सकिन्छ जिन्दगी हारेर
मनको सँघार नाघेर गयौ मन रित्तै पारेर ..........................।

Thursday, November 02, 2006

गीत : कस्लाई नजिक सार्यौ ।

कस्लाई नजिक सार्यौ भन मलाई टाढा पार्यौ
फुल्दै गर्दा मायाको फूल हाँगाबाट झार्यौ ।

बगरको ढुङ्गालाई देवता सम्झिएछु
चोखो मनले पुजागर्दै मुटु नै दिएछु
त्यै मुटु निचार्यौ भन किन माया मार्यौ
सिमा कोरी पिरतीमा काँढे तारले बार्यौ ।

सँगै थियौ हिजो सम्म मेरै वरपर
बनाउछु भन्दै थियौ मेरो मनमा घर
खै त किन टार्यौ भन किन माया मार्यौ
मेरो चोखो पिरतीलाई भुईंमा लछार्यौ ।

Wednesday, November 01, 2006

गीत : आज जिउँदै डढ्दैछु म ।

विश्वास गरी तिमीलाई
मैले त धोका खाएं
दुखाई नै रहयौ मलाई
रै पनि माया लाएं ।


म त थिएं माया गर्ने
मायाकै निम्ती मर्ने
तिमी त रैछौ खुशी सोर्ने
मायामा मुटु फोर्ने ।


अँध्यारोमै सड्दैछु म
पाईलै पिच्छे लड्दैछु म
सुताईदियौ चितामाथी
आज जिउँदै डढ्दैछु म ।

Tuesday, October 31, 2006

कविता : कुन्नि कता गई ।

सपनाको मेरो जिन्दगीमा
एकदिन त्यो आई
साथमा समस्त सुख र खुशीहरु
समेटेर ल्याई
निरर्थक म भित्र
नयाँ अन्दाज भरेर
धुमधामले सजाई
निर्मल पबित्र औंलाहरुको
मिठो स्पर्सले
मेरो मनको सारँगी रेटेर
यौटा अपुर्व धून बजाई
अकल्पनिय आनन्दले
मेरो आकाश मुस्कुराईरहेको बेला
अफसोस !!
मनका सारा तारहरु छिनालेर
मेरो बेसुरो जिन्दगीलाई
धून रहित त्यसै छाडेर
आज फेरी उ
कुन्नि कता गई ।

१५ पौष २०५७

Monday, October 30, 2006

हार्दिक धन्यवाद ।

मेरो ब्लग ( मेरो साहित्य संसार र विविध ) मा भएका मेरा रचनाहरु प्रति सर्बप्रथम लिखित रुपमा प्रतिकृया जनाउनुहुने संकल्प पोख्रेल ज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु साथै संकल्प जी को सकारात्मक प्रतिकृया मलाई आगामी दिनहरुमा गहकिला रचनाहरु सृजना गर्नको निम्ती उर्जा बन्ने छ भन्ने कुरामा म बिश्वस्त छु ।

Sunday, October 29, 2006

गीत : मुटु घोच्ने काँढा ।

दैब तिम्ले साथ छाड्यौ सारा संसार टाढा भयो
फूल पनि छातीमा राख्दा मुटु घोच्ने काँढा भयो ।


राखेको थें संसार नै मुटु भित्र अटाएर
एक्लै पारी छोडे सबले मलाई मात्रै हटाएर
पुराना ति घाउहरु झनै आज गाढा भयो
फूल पनि छातीमा राख्दा मुटु घोच्ने काँढा भयो ।


खुशीहरु खोजीरहें कतै पनि भेटिएन
मेटाउन खोजें तर जिन्दगी यो मेटिएन
बल्झिएका घाउहरु झनै अग्लो डाँडा भयो
फूल पनि छातीमा राख्दा मुटु घोच्ने काँढा भयो ।

Saturday, October 28, 2006

कविता : म मृत्युको गीत गाउँदै थिएं ।

अन्धकार थियो त्यो रात
जूनकिरिको टिलपिले प्रकाशमा
धुईंधुईंती तिमिलाई खोजिरहें
तर खै तिमी त
साँच्चै नै मलाई छाडेर गईछौ
म भित्र अथाह ब्याथाहरु
अनि खुर्किखार्की बचेका खुशीहरु
कति कति तिमिलाई सुनाउनु थियो
त्यसैले ठिहिर्याउने बिहानीमा पनि
कान्लै कान्ला शीतहरु सहँदै
तिमीलाई भेट्न दौडीरहें
तर खै तिमी त
मेरा खुशी अनि ब्याथाहरु
सुन्नै नसक्ने गरी टाढा भईछौ
यसैगरी कयौं पटक
तिमीलाई छुने प्रयत्नमा
मैले न्यानो स्पर्सको महसुस
गुमाईसकेर बाँचेको छु
यसैगरी धेरैचोटी
तिमीलाई देख्ने प्रयत्नमा
मैले प्यारो दृष्टीको आभाष
हराईसकेर बाँचेको छु
मेरा पछिल्ला दिनहरुमा
मैले तिमीलाइ बिर्षिएर
फेरी नयां सपनाहरु पाल्दै
तिमीलाई गुमाउनुको पिँडा हाँसेर
नयां दिनहरु सँग
बाँच्न थालेको छु म
तर अचानक
आज फेरी
तिमी मेरो सपनामा
मलाई बिथोल्न आईदियौ
मैले मेटाईसकें
तिमीलाई छुने मेरा रहर
मैले छाडीसकें
तिमीलाई देख्ने त्यो गाउँ सहर
अब त
तिमीलाई सुनाउने
म सँग केही बाँकी छैन
फेरी पनि
तिमीले सुन्यौ कि सुनिनौ
म मृत्युको गीत गाउदै थिएं
गाँस्ता गाँस्तै अधुरो रहेको पिरती
पुरा गर्न माया लाउँदै थिएं ।

३ भाद्र २०६०

Saturday, October 21, 2006

लक्ष्मीपूजा र महाकवि देबकोटा ।

शुभ-दिपावली २०६३ को शुभकामना ।


आज लक्ष्मी पूजा , धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा आरधना गरेर लक्ष्मीलाई खुशी गरेर धन सम्पती र सुख समृद्दी प्राप्त गर्ने दिन । मैले आज सम्म लक्ष्मीपूजा गरेको छैन । घरमा हुँदा देउशी नाचमा हिँड्दै फुर्सद हुंदैनथ्यो । यता आएपछि त झन कामले नै फुर्सद हुंदैन । हुनत महाकवि लक्ष्मीप्रसाद देबकोटाले भनेकै छन , ......चुम्दछ ईश्वर काम सुनौलो गरिरहेका हात
छुन्छ तिलस्मी करले उसले सेवकहरुको माथ........ वास्तबमै यो सहि कुरा हो पूजा अर्चना गरेर भन्दा काम गरेर नै लक्ष्मी खुशी हुन्छिन तर पनि म नेपालमा हुँदा त्यसरी सोचेर काम गर्दिनथें । यहाँ भने चाहिँ काम नगरी बस्न र खानलाई बाउको सम्पती छैन । म र म जस्ता बिदेशबाट आउनेहरुलाई त बाउको सम्पती छैन र काम गर्नु पर्छ तर यहिँनै हुर्केकाहरु पनि बाउआमाको सम्पतीमा मोज गर्ने चान्स छैन धेरैजसो त १८ बर्षनै नपुगी बाउआमाको घर छाडेर अलग्गै बस्छन र आफैं कमाउन थाल्छन , बाउआमा सँगै बस्नेहरु पनि आफ्नो खर्चको लागी आफैं काम गर्छन । सायद त्यसैले पनि होला यो देश अमेरिका (सम्पन्न) भएको र हाम्रो देश नेपाल (बिपन्न) भएको । यो देशमा लक्ष्मीपूजा हुँदैन , धनसम्पती प्राप्तीको लागी कर्मलाई नै जोड दिइन्छ यो देशमा । यसो भनेर मैले हाम्रो सँस्कृती र परम्पराको खिल्लि उडाउन खोजेको हैन । मलाई हाम्रो चाडपर्बहरु मध्धेमा तिहारनै रमाईलो लाग्छ ।

यस्पाली न तिहारको कुनै कार्यक्रम बन्न सक्यो न देबकोटा जयन्तीको अवसरमा कुनै कार्यक्रममा सरिक हुन नै सकियो । केहिनै गर्न नसके पछि मैले गर्न सक्ने काम , देबकोटा जयन्तीको अवसरमा कविता लेखेर , गर्दैछु । यो कविता महाकविको बिषयमा नभएको भए पनि महाकवि प्रति स-श्रदाञ्जली यहाँ राख्दैछु ।

__फेरी यादमा रोएको छु ।

ईच्छाहरु धेरै थिए
संधै संधै संगै हाँस्ने
मृत्यु आए संगै मर्ने
जीवन भरी सँगै बांच्ने । १

खुशीहरु बाँडीचुंडी
दुख पिंडा संगै खप्ने
पिरतीको ईतिहासमा
यौटा अलग आयाम थप्ने । २

बसन्तमा उनि फूल्दा
म त हुन्थें उन्कै सुवास
शिशिरमा मुर्झाएको
कहाँ थ्यो र हाम्लाई आभाष ? ३

जीन्दगीको सावन भदौ
आँखाबाट संगै झार्यौं
चैते हुरी छेल्नलाई
मनको भित्ता संगै बार्यौं । ४

बिहानीको घाम जस्तै
न्यानो उन्को माया थियो
अकस्मात कुन दैबले
आज ग्रहण लाईदियो । ५

एकै बचन नसोधेर
उनी धेरै टाढा गईन
कस्लाई सोधुँ मैले हरे !
कसरी निष्ठुरी भईन ? ६

आज एक्लै बाँचेको छु
मृत्यु मेरो निश्चय छ
पर्खी बस्नु कतै भए
तिमीलाई भेट्ने ईच्छा जो छ । ७

पुकार कती गरुं यहाँ
सुनिदिने तिमी छैनौ
आँशु कती झारुँ यहाँ
पुछिदिने तिमि छैनौ । ८

तिमी नै त एक थियौ
सहारा भन्नु यो जीवनमा
बस्यौ केवल यो जीवनमा
याद बनि दुखी मनमा । ९

तिम्रो यादमै बाँचेको छु
बाँच्ने मनै कहाँ छ र ?
उखेलिएको बृक्षझैं छु
लिनु अब कस्को भर ? १०

अझै तिमी बाँचेकै छौ
चिच्याएर भन्छु तर
सत्य स्विकार गरेको छु
देखिकन रित्तो घर । ११

अश्रुधार यो बेदनाको
कठिन हुन्छ पिउँनलाई
अवशान भो यो मनको
कठिन भै गो जिउनलाई । १२

एक्लै बसी धेरै चोटी
मनलाई धोएको छु
आँखिर आज पनि तिम्रै
फेरी यादमा रोएको छु । १३

Sunday, October 15, 2006

देउसीनाच र तिहारको रमझम ।

" ए ! दीपक , यस्पाली तिहारमा हामी देउसी नाच हिंडाउदैछौ यौटा आषिश गीत लेखेर इमेल गरिदेन है । "

च्याटमा कुरा गर्दा गर्दै एकजना गाउँले साथीले यो अनुरोध गर्दा म खुशीले गदगद भएं । मलाई देउसी नाचको तयारी गर्न तुरुन्तै गाउँ पुगुँ जस्तो भयो तर अब समय कहाँ मेरो बसमा छ र ? म जिन्दगी भोग्दै जाने क्रममा काँधमाथी धेरै जिम्मेवारीहरु बोकेर आफ्नो घर परिवार र गाँउ समाजबाट धेरै टाढा परदेशमा समय र नियतीको कैदी भएर निरिह जीवन बाँचिरहेको छु ।

मादल बजाउदै साथमा गिटार , हार्मोनियम ईत्यादी बाजागाजा सहित देउसी नाच कागतिहार कै दिन देखि सुरु हुन्थ्यो र भाईटिकाको भोलिपल्ट सम्म हामीलाई तिहारले छाड्दैनथ्यो । मैले गाँउ छाडेको चार बर्ष मात्र हुंदैछ तर नाच हिंडाउने वातावरण भने त्यो भन्दा पहिले देखिनै हराईसकेको थियो । देशमा भएको माओवादी स-सस्त्र आन्दोलनले गर्दा यस्ता रमाईला पर्वहरु खल्लो भएको थियो तर अहिले आएर देशमा शान्तीको नयाँ लहर देखापरेको छ । बिद्रोहीहरु युद्ध छाडेर वार्ताबाट समस्याको निकास निकाल्न लागिपरेका छन । वार्ताबाटै समस्याको हल निस्कियोस र देशमा स्थाई शान्ती छावोस मेरो शुभकामना छ मेरो देशलाई । देशमा अझैपनि माओवादीलाई समस्याको रुपमा लिईन्छ माओवादीहरु स्वयँ पनि धेरै अर्थमा समस्याकै रुपमा देखापरेका छन तर माओवादीहरु समस्याको रुपमा हैन सुधारको रुपमा स्थापित हुन सकुन र राज्यले पनि सुधारकै रुपमा ग्रहण गर्न सकोस माओवादीहरुलाई मेरो कामना यति हो र यसो भएको खण्डमा देशमा स्थाई शान्ती हुनेछ भन्ने मेरो मान्यता पनि छ ।

म अमेरिकाको कोलोराडोबाट तिहार सम्झंदैछु र देउसी नाचको लागी आषिशगीत लेख्ने प्रयासमा छु । पहिले पहिले पनि तिहारमा देउसी नाच हिंडाउनु पर्दा म आषिशगीतहरु आफैं लेख्ने गर्थें । यौटा देउसी गीत हुन्थ्यो कुनै घरमा पुगेर नाच सुरु गर्दा गाउनलाई त्यो पनि म आफै बनाउने गर्थें । त्यो बाहेकका अरु गीतहरु पनि कुनै कुनै म आफैं बनाउने गर्थें ।

रिङ रिङ रिङ जाडो लाग्यो झापाली वेदरले
झण्डै ढाड त खुस्कायो कान्छीको फादरले --- ।
भनेर २०४९ सालको तिहारमा बनाएको प्यारोडी गीतले त निक्कै हँगामा मचाएको थियो जस्को घरमा पुग्दा पनि त्यो गीत कम्तीमा २ पटक गाएर नचाउनै पर्थ्यो ।

त्यो बेला हाम्रो यौटा क्लब थियो । युवादय क्लब भनेर सन्चालन गरिएको त्यो क्लबले सामाजिक हितको काम गर्ने अठोट गरेको भएपनि केहि साथीहरुको लापर्वाहीले गर्दा त्यसलाई धेरै समय सम्म टिकाउन सकिएन । अहिले सम्झंदा लाग्छ त्यो समयमा सायद हामीहरु मध्धे धेरैलाई क्लबको महत्व थाहा थिएन यदि सबैलाई क्लबको महत्व बोध हुँदो हो त अहिले सम्म समाजले अर्कै रुप लिईसक्ने थियो । त्यसपछिका बर्षहरुमा पनि हामीले देउसी नाच सँचालन गर्यौं । कुनै क्लबको सकृयता बिना सँचालन गरिएको देउसीनाचबाट सँकलित रकमलाई पनि हामीले सामाजिक कार्यमै खर्च गर्ने गर्थ्यौं ।

यसपाली गाँउमा नव ज्योती समुहले देउशीनाच हिंडाउने तयारी गर्दै रहेछ । म गाँउमा हुंदै देखि गाँउ विकाश समितिको पहलमा हरेक गाँउमा सँचालन हुँदै आएका यस्ता समुहहरुले समाजमा एकता जुटाउने र एकताले समाजको उन्नती हुने कुरामा शँकै नगरे हुन्छ । नव ज्योती समुहले साप्ताहिक रुपमा अत्यन्तै न्युनतम रकम सँकलन गर्ने गरेको थियो जस्ले गर्दा समाज भित्रका अति बिपन्न परिवारहरु पनि समेटिन सक्थे । यो प्रकृया अझै जारीनै होला , जारी रहोस र नव ज्योती समुहले हाम्रो समाजलाई प्रगतीको शिखरमा टेकाएर छाडोस मेरो शुभ कामना साथै यस्पाली तिहारमा नव ज्योती समुहले हिंडाउन लगेको देउसी नाच सफलता पुर्वक सम्पन्न होस ।

म आफु सहभागी हुन नसके पनि उक्त देउसी नाचको लागी उक्त समुह भित्रकै केहि श्रजनशील साथीहरुको अनुरोधमा मैले यौटा आषिश गीत लेखेको छु । आषिश दिईंदा रामचन्द्र जस्ता छोरा होउन , सिता जस्ती छोरी होउन , लक्ष्मीले बास गरुन भन्ने परम्परागत प्रकृयालाई छाडेर देशभरीका हरेक आँगनमा हत्या हिँसा र रक्तपात को शट्टामा शान्ती स्थापना होस भन्ने कामना गर्दै शान्तीकै आषिश गीत लेखेको छु भलै यती बेला देशमा माओवादीहरु शान्तीबार्ताबाट बिथोलिन खोजेको र राजावादीहरुले ससस्त्र आन्दोलनको घोषणा गरेको समाचारहरु आईरहेको छ र राजनीतिक बजारमा तिहार पछिनै रक्तपात हुन सक्ने हल्ला मचिन थालिसकेको छ । जे होस शान्ती होस भन्ने हाम्रो कामना हो । मेरो शान्तीको आषिश गीत लाई पनि यहाँ राख्दैछु ।

--------------------
--------------------

यस्पाली त नाच्दै र गाउदै आयौं हजुरको घरैमा
अब बिताउनु नपरोस चाड हामीले कसैको डरैमा
शान्ती छावोस सँधैलाई हजुरको घरैमा
आशिष हाम्रो यहि छ हजुर
यो सालको तिहारैमा ।

यो घरको आँगनैमा गौतम बुद्धको बास होस
अशान्ती र झगडाहरु आजै देखी नास होस
शान्ती छावोस सँधैलाई हजुरको घरैमा
आशिष हाम्रो यहि छ हजुर
यो सालको तिहारैमा ।


शान्तीले नै यो आँगनमा सुख पनि आउनेछ
धन धान्य र प्रगती पनि शान्तीलेनै ल्याउनेछ
शान्ती छावोस सँधैलाई हजुरको घरैमा
आशिष हाम्रो यहि छ हजुर
यो सालको तिहारैमा ।

Monday, October 09, 2006

गीत ।

चर्किएको ऐना हेर्दा आफ्नै हजार छाँया देखें ।
ऐना दिलको फेर्न खोज्दा त्याँहा तिम्रो माया देखें ।

बर्षौं पछि सम्झिँदा नि तिम्रो रूप सग्लो थियो
तिम्रै माया छातीभित्र अर्थोक भन्दा अग्लो थियो
आज फेरी तिमीलाई आफ्नै दाँया बाँया देखें
ऐना दिलको फेर्न खोज्दा त्याँहा तिम्रो माया देखें ।

झुल्के घामले सँधै मलाई उज्यालोको आश दियो
तर मुटु भित्र अझै अध्याँरोकै बास थियो
हरेक दिन सँगै मैले आशा नयाँ नयाँ देखें
ऐना दिलको फेर्न खोज्दा त्याँहा तिम्रै माया देखें ।

मैले यो गीतको स्थाईका दुई हरफ कैले लेखेको थिएँ म आफैंलाई थाहा छैन कति सम्झन खोजें कुन बेला कस्तो मूडमा लेखें होला भनेर तर सकिंन , यस्को स्थाईको स्वरूप हेर्दा मैले गजल लेख्न खोजेको थिएँ कि जस्तो लाग्यो र गजलनै बनाएर पुरा गर्न खोजिहेरें , बनाएं पनि तर आफैंलाई चित्त बुझेन र अन्त्यमा गीतकै स्वरूपमा आज पुरा गरेर ब्लगमा राख्दैछु ।

Saturday, October 07, 2006

गीत ?? --- कविता ????

२०५७ साल को पौष १७ गते शिक्षात्मक जागरण गीत भनेर मैले यो सानो कविता जस्तो देखिने गीत ( अन्यौलमा छु म यो गीत भन्न सुहाउछ कि कविता भन्न ) लेखेको रहेछु । आज पुरानो डायरीको पन्नामा यस्लाई भेटेर यहाँ राख्दैछु ।

---------------

घामको उज्यालो पुग्दैन जहाँ
शिक्षाको उज्यालो सक्दछ पुग्न
शिक्षाले सिँगारे सब जनलाई
पर्दैन कहिं कतै नि झुक्न ।

भुलिईरहेका भाईबैनीहरु
भेंडा र बाख्रासँग बन जँगल डुल्दै
ज्ञानको नयाँ विहानी दिउँ
गाँउबस्ती सारा पाठशाला खोल्दै ।

ढिकी र जाँतो दाउरा घाँस सँगै
अल्मलिएका दिदीबैनीलाई
उज्यालो बाटोमा पाईला टेकाउँ
चौतर्फी नयाँ जागरण ल्याई ।

जीवनको हिसाब किताब भुलेर
ठगीईरहेका आमा बाहरु
सक्दछन बुझ्न जीवनको अर्थ
केहि त नयाँ उद्दोग गरुँ ।

Thursday, October 05, 2006

कविता : अनन्त गुनासो ।

ओहोर दोहोर
दोहोरीलत्त
मेरो मनको मुलसडकमा
सजिएर अलौकिक श्रीँगारले
अझै पनि त हिंड्दछौ तिमी ।

तिम्रो पदको
पहिलो आहट सुनेर
मनको सडक किनाराभरी
रोपिदिएथें मैले
अनेकन मौसमी फूलहरु
र चाहेको थिएं
भुलाउन तिमीलाई
त्यतै कतै
मेरो मनको बिसौनीमा ।

मग मग
मनमोहक
सुवासहरु छरेर
अझै पनि त फूलेकै छन
थरी थरीका फूलहरु
सोचेको थिएं
कुनै दिन त तिमी
हिंड्दा हिंड्दै थाकेर
एक निश्वास छाड्दै
सुकाउन थकित पसिनाहरु
बिसाउने छौ
मेरो मनको फलैंचामा ।

अल्झिएर आशामा
बर्षौं त्यसै बितीसक्यो
हरेक आउने बर्ष सँगै
प्रतिकुलता बढ्दै जाँदा
मौसममा
लोपोन्मुख भै रहेछन
एक एक आशाका
मौसमी फूलहरु
मक्किएर दिनदिनै
कलेजीका तख्ताहरु
भत्किँदो छ
मेरो मनको फलैंचा ।

अब त लाग्छ
लोभ्याउने छैन
तिमीलाई
मेरो मनको फूलबारीले
जस्ले एक दिर्घ
खडेरीको मारमा
आफ्नो सौँदर्य गुमाईसक्यो
न त बहन नै गर्नेछ
तिम्रो वजनलाई
मेरो मनको फलैंचाले
जस्ले एक दुष्ट
धमीराको सारमा
आफ्नो अस्तित्व मेटाईसक्यो ।

बस्
बाँकी छ अब
छताछुल्ल पोखिएको
गुनासो अनन्त
मेरो मनको अवयव भरी ।

Tuesday, October 03, 2006

गीत : आज फेरी पिएर आएं ।


आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा
अपबित्र भएं त के भयो यस्तै लेखिदिईस तगदिरमा ।

निहुराउंदिन यो शिर मेरो भगवान तेरो त्यो पाउमा
आएको हैन म तेरो आश्थाको हंस्सी उडाउने दाउमा
हिंजोको मेरो विश्वासको ईश्वर बदलियो आज पत्थरमा
आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा ।


पुजेर सँधै पत्थरको मुर्ती भएछु मान्छे म ढुँगाको
कृपाले तेरो यात्री भएं म डुब्नै लागेको डुँगाको
मरौं कि बाँचौ भएर आज बेरिएको छु म जंजीरमा
आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा ।

मैले पहिलो पटक पशुपतीनाथको मन्दिर गएको बेलामा लेखेको यो गीत नाष्तिक भएपनि म भने नाष्तिक हैन । धर्ममा अन्धभक्ती राख्दिन तर पनि भगवानको अस्तित्वलाई मान्ने गर्छु म ।

Saturday, September 30, 2006

यसपालीको दशैंमा ।

फोटो कान्तिपुर अनलाईनबाट लिएको हुं ।
बिछोडको पिंडा नसकि खप्न दशैंको बेलामा
तिमिलाई भेट्न आउदैछु फर्की रमाईलो गाँवैमा ।

स्वर सम्राट नारायण गोपालले गाउनु भएको यो गीत यतीबेला घरघरमा रेडियो नेपालबाट अनि बिभिन्न एफ एमहरु बाट बजीरहेको होला । यो गीतको रचनाकार को हुन सँगीत कस्ले गरेको हो त्यो मलाई थाहा भएन । मैले सुनेसम्मकै मलाई मनपर्ने दशैंगीत हो यो । यो गीतको शब्द , सँगीत र स्वर तिनै कुराहरुले नेपाली ग्रामिण जनजीवनको सग्लो चित्र बोकेको छ र बर्षौं परदेशिएको एउटा प्रेमीले आफ्नी प्रेमिका प्रति या भनौं एउटा लोग्नेले आफ्नी श्रीमती प्रति पोखेको लछेप्रै मायाको चित्रण छ यो गीतमा । सम्भवत दशैं गीतहरु मध्येकै सबैभन्दा लोकप्रीय गीत यहि हुन सक्छ । मैले भन्नु पर्दा भने यो सर्बोत्कृष्ट दशैं गीत हो ।

बर्ष दिनको खुशीसँगै मेरो बाटो हेर
यसपालीको दशैंमा आउंछु प्रीय घर ।

जगदिश समालले गाउनु भएको यो अर्को मलाई मनपर्ने दशैंगीत हो । यस गीतका रचनाकार ज्ञानेन्द्र गदाल र सँगीतकार टिका भण्डारी हुनुहुन्छ । शब्द , स्वर र सँगीत तिनै हिसाबमा उत्कृष्ट यो गीतले पनि नेपाली समाजको आधुनिकताको झल्को दिलाउंछ । यो गीतले प्रेमिका प्रतिकै मायालाई प्रमुखता दिएको भएपनि दशैंको सम्पुर्ण पक्षलाई पनि उत्तिकै समेटेको छ ।

माथीका दुबै गीतहरु उस्तै प्रकृतीका भएपनि नारायण गोपालको गीतले मलाई दशैं सम्झाएर रोमाञ्चित बनाउने गर्छ भने जगदिश समालको गीतले गंभिर बनाउने गर्छ सायद संगीतको प्रकारले त्यसो भएको हुन सक्छ र त्यो मलाई मात्र पनि भएको हुन सक्छ ।

यसपालीको दशैंमा मैले नारायण गोपालको गीतलाई निक्कै मिस गरिरहेको छु । म सँग त्यो गीत छैन तर जगदिश समालको गीत म आफैं सँग भएकोले दशैंगीतको तृषना ( तृष्णा )मेटीरहेछु । धन्यबाद ती सर्जकहरुलाई जस्ले यस्तो मिठो गीत हामीलाई उपहार दिएर यो दशैंको घडिमा सम्झनामै मात्र भएपनि गाँउघर सम्म पुर्याईदिएका छन ।

तपाईंले यसपाली दशैं गीत सुन्न पाउनु भएको छैन भने अहिल्यै मुर्चुङ्गा डट कममा जानुहोस त्यहां गीतकार ज्ञानेन्द्र गदालको शब्द रचना , सँगीतकार टिका भण्डारीको सँगीत र गायक जगदिश समालको स्वरमा दशैंगीत सुन्न पाउनुहुनेछ ।

दशैंगीतहरुकै लिष्टमा पर्न सक्ने अर्को एउटा गीत म आफैले पनि लेखेको छु । गीत लेख्दा मैले एउटा परदेशी बाबु र छोरी बिचको ममतालाई प्रमुखता दिएको छु ।

म किन रोउँ बाबाको माया आलै छ छातीमा
दशैंमा आषिस दिनलाई बाबा आए फूलपातीमा ।

यसरी दशैंमा सबै परिवार सँगै भेलाहुने चाहना समेटिएको यो गीतमा टिका भण्डारी र मेरी ७ बर्षकि छोरी दीञ्जुश्रीको स्वर रहेको छ भने सँगीत टिका भण्डारीकै रहेको छ । बिभिन्न कारणहरुले गर्दा यसपालीको दशैंमा यो गीत बजारमा आउन नसक्ने भएपनि दशैं पछि सायद आउन सक्छ ।


बिगत चार बर्षदेखि परिवार सँग बसेर दशैं नमनाएको भएपनि यो दशैंको बेलामा दशैं गीतहरुले गाँउघरको रमझम , साथीसँगी , लिँगे पिँग , जात्रामात्रा सबैकुराहरुको मिठो सम्झना दिलाईरहेछ । आमा बाबाको हातको टिका आषिस र जमरा सम्झंदै दशैंगीतहरु सुन्दै अर्को साल घरजाने मिठो कल्पनामा यसपालीको दशैं कोलोराडो राज्यकै डुराङ्गोमा मनाउंदैछु ।

गजल ।

म झरेर हाँगाबाट भुईंमा सुकेको पात भएं ।
मुटुनै टुक्राउने छातीमा दुखेको आघात भएं । १

कति कति कुरा पिरतीका तिमीसँग गर्नै बाँकी ,
भन्दा भन्दै नसकेर गलामा अडेको बात भएं । २

प्रतिक्षामा म जुनेलीको अझै पनि त बसेकै छु ,
जून बिना म चुक जस्तै कालो अँध्यारो रात भएं । ३

मन्दिर भित्र पाईला राखी भगवान भेट्नुथियो ,
अटाउंदिन ढोकामा म पानी अचल जात भएं । ४

समयलाई मुठ्ठीभित्र राख्न खोज्ने दीपक आज ,
दुनिँया सँग हारेर सँधै तल पर्ने हात भएं । ५

नेपाली पोष्ट डट कममा प्रकाशित ।

Tuesday, September 26, 2006

शुभकामना ।

नव दुर्गा भवानीले नेपाल र सम्पुर्ण हामी नेपालीहरुको कल्याण गरुन ।



बडा दशैं तथा शुभ दीपावली-२०६३ को शुभ उपलक्ष्यमा देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुको सु- स्वास्थ्य , दीर्घायु एवं उत्तरोतर प्रगतीको हार्दिक मंगलमय शुभकामना ।




-- दीपक जडित ।

Friday, September 22, 2006

गीत : अबोध परेलीहरु ।

मलाई सपनाहरु नदेउ मेरा अबोध परेलीहरुमा
चाहनाको अँश नै छैन हृदयको तरेलीहरुमा ।


मेरो आकाश ताराहरु सबै झरेर रित्तो भएको छ
मेरो धर्तीपनि खडेरी परेर उजाड भएको छ
मलाई बसन्त फेरी नदेउ म त रम्छु खडेरीहरुमा
चाहनाको अँश नै छैन हृदयको तरेलीहरुमा ।


मेरो साईनो खुशीहरु सँग धेरै पहिले टुटीसकेको छ
मन भित्र रहरको आईना पनि पहिलेनै फुटीसकेको छ
मलाई उज्यालो फेरी नदेउ म त रम्छु अँधेरीहरुमा
चाहनाको अँश नै छैन हृदयको तरेलीहरुमा ।


शब्द रचना : दीपक जडित
सँगीत : टिका भण्डारी र
स्वर : सुधा शर्माको रहेको यो गीत अबोध परेलीहरु नामको गीती अल्बममा छिट्टैनै सार्बजनिक हुनेछ ।

Thursday, September 21, 2006

The Generation of Men

........."I can see we are going to be good friends."

"I like your 'giong to be.' You said just now
It's going to rain."

"I know, and it was raining.

I let you say all that . But I must go now."

"You let me say it ? on consideration ?
How shall we say good-bye in such a case?"

"How shall we ?"

"will you leave the way to me?"

"No , I don't trust your eyes. You've said enough.
Now give me your hand up. __ Pick me that flower."

"Where shall we meet again?"

"Nowhere but here

Once more before we meet elsewhere."

"In rain?"

" It ought to be in rain . Sometime in rain.
In rain to-morrow , shall we , if it rains?
But if we must , in sunshine ." So she went.

This poem has been taken from Robert Frost's North of Boston. Titled The Generation of Men , and is only later part of a long form . This poem , I would like to dedicate to my only best friend who doesn't want to mention her name in here.

Monday, September 18, 2006

कविता : रीत जीन्दगीको ।

रीत जीन्दगीको ।

यो रीत हो साथी जीन्दगीको
सुर्य त एकैछिनमा अस्ताउने छ
ताराहरु हुनेछन तिम्रो साथी
चन्द्रमाले उज्यालो दिनेछ
त्यसैले उज्यालो दिनलाई मात्र आफ्नो नभन
अँध्यारो रात्री पनि तिमिले नै भोग्नुपर्छ
उसरी नै जसरी तिमिले
हरेक मुस्कान पछि एकथोपा आँशु भोगेका छौ ।

मन्द मन्द बतासले सँधै
तिम्रो ओठबाट मुस्कान चोरिरहेछ
हर्षले पुलकित तिमी
हरेक क्षण अर्को एक मुस्कान लुटाईरहेछौ
जो थियो तिमीसँग र तिम्रै थियो
अब लुटिईसक्यो , जानदेउ , नरोउ
यस्लाई बटुल्न सक्दैनौ कहिल्यै
यो पनि रीत नै हो जीन्दगीको ।

तिम्रो अन्तरको जागरुक कारिगरले
अझै निर्माण गरिरहेछ अगम्य महल सुन्दर
तिम्रै एक एक विश्वासहरु समेटेर
परिश्रमी छ उ , तर तिमिनै
महत्वदिने छैनौ उस्को कारिगरीलाई
त्यसैले त ढल्नेछन विश्वासका हरेक महलहरु
अब ढलि त सक्यो , जो ढल्नु नै थियो ,
नरोउ , यो पनि रीतनै हो जीन्दगीको ।

नेपालीपोष्ट डटकममा प्रकाशित ।

कविता : आज फेरि जिन्दगी ।

आज फेरी जिन्दगी ।

पुष्प गुच्छा सम्झेर
जिन्दगीलाई
फूलदानमा सिसाको
सजाईदिएँ
तर भ्रम रहेछ
के थाहा र ?
जिन्दगी कठोर
पत्थर रहेछ
थाहै नपाई
फुलदान टुट्यो
टुक्रा टुक्रा भएर
झर्यामझुरुम ।

फेरी सम्हालेर
जिन्दगीलाई
टाँगीदिएँ भित्तामा
तस्विर सम्झेर
उफ् !! अर्को भ्रम
भित्र भित्र यहाँ
जिन्दगी त
धमिराको गोलो रहेछ
तस्बिर बाँकि रहयो
जिन्दगीमा
पोचिएर भित्ता ढल्यो
गर्ल्यामगुर्लुम ।

आज फेरी जिन्दगी
काँचको चुरा
चुक्यो बेकाम भो
त के भो ?
नाडी खाली नराख्न
भिरीरहेको छु
कतै पुर्व जन्मको
अभिशप्त पैंचो
सम्झेर
यो जिन्दगी
तिरीरहेको छु ।

कस्ले भन्यो
यस्लाई जिन्दगी ?
जिन्दगी नै ठानेर
म पनि
एक भ्रमबाट क्रमश:
अर्को भ्रमको प्वालमा
छिरिरहेको छु ।

यो कविता नेपाली पोष्ट डट कममा प्रकाशित भै सकेको छ ।

Sunday, September 17, 2006

दो गजलें ।

होता कैसे ये गजलें किसिने मुझे सिखाया नहिं ।
लिखते कैसे ईसको किसिने राहें दिखाया नहिं ।

फिर भि लिख रहा हुं मैँ अपने दिल बहलाने ,
अच्छे है या नहिं मेरे गजलें किसिने बताया नहिं ।

हिन्दि मेरे भाषा नहिं जहाँ मैँ काबिल बनुं ,
मगर सुन्दर ईतना है कि मैने समझा पराया नहिं ।

ईसलिए मैने हिन्दिमें लिखाहुवा दो गजलें ईस ब्लगमें रखरहा हुं । क्या ये गजलें कहलानेके काबिल है? आपको कैसा लगा? कमेण्ट छोडिएगा ।


जिस दिन आपसे मेरे बातें हुवा था ।
आपके बातों ने मेरे दिलको छुवा था । १

सोचा हि नहिं था आपसे फिर मुलाकात होगा ,
हो गई आज हि ये जो खुदाका दुवा था । २

दीपक जलाया था मैने रोशनी पाने के लिए ,
मगर चारोंओर मेरा सिर्फ धुँवा धुँवा था । ३

तडप रहा था मैं कबसे प्यास बुझानेके लिए ,
पता हि नहिं था मेरे दिलके पास हि कुवाँ था । ४



ये दिलकी बातें अगर तुमने सुना होता ।
काश तुमने हमसफर मुझको चुना होता । १

तेरे दिलकि कैदखानेमें बन्द रहने के लिए ,
काश मैने किया कोहि गुना होता । २

आजाद पञ्छी कि तरह आसमाँमें उडती ,
काश तुझे फसाने कोहि जाल बुना होता । ३

ईतना तन्हाँ होकर मैं बैठे नहिं रहता ,
काश मेरे जिन्दगी में तुम्हारा आना होता । ४

बुझा बुझा दीपकसा हाल मेरा हो जाता नहिं ,
काश मैने गाया दिलकी कोहि तराना होता । ५

Saturday, September 16, 2006

गीत ।

म त यसै ओईलीसकें हाँगाबाट झरेर
तिमी फूल बसन्तमा सुवास छरेर ।

बिर्षिदेउ अब मलाई म त झुठो सपना हुँ
ईश्वरलाई मैले संधै तिम्रै खुशी मागेकी छु
म त डुबेँ सागरमा तिमी जाउ तरेर
तिमी फूल बसन्तमा सुवास छरेर ।

तिम्रो भागमा दुख भए सबैनै म छेकिदिन्छु
मेरो सारा खुशीहरु तिम्रै नाउँमा लेखिदिन्छु
दिन्छु मेरो आयु पनि बरु आफु मरेर
तिमी फूल बसन्तमा सुवास छरेर ।

Tuesday, September 12, 2006

गजल ।

गजल ।

-दीपक जडित

त्यती धेरै बाचाबन्धन खै त कहाँ कामलाग्यो ।
तिम्रो मेरो सम्बन्धमा आँखिर पुर्णबिराम लाग्यो । १

बगिरहने आँशुमेरो तिमीबाट लुकाउन ,
सधैँ बर्षात रोजी हिँड्थें तर आजै घामलाग्यो । २

काटिदियौ प्वाँख मेरो म त भुईंमै लडिरहें ,
आकाशमा उड्ने मेरो ईच्छा सबै जामलाग्यो । ३

भएजति भाग्यहारी अभिषाप म बाँचेको छु ,
खुशी तिमी छौ कि छैनौ चिठ्ठा त तिम्रै नामलाग्यो । ४

रित्तिएको एक्लो जीवन रित्याउंदैछु एक्लै म त ,
सायद तिम्रो जिन्दगीमा मेला धूमधाम लाग्यो । ५

बसन्तको सँघारमा तिम्ले पाईला टेक्दै गर्दा ,
कठ्याङ्ग्रीने हुस्सु सँगै यहाँ शिशिर यामलाग्यो । ६

Sunday, September 10, 2006

मायाका केहि कुराहरु ।

कैलेकाहीं मेरो मन त्यसै त्यसै उच्चाटिएर आउने गर्छ । भौतिकरुपमा कुनै दुखाई नभएर पनि यो मन भित्र भित्रै पोलेझैं कता कता दुखेझैं महशुस हुन्छ । यसरी मन बिरक्तिने र बिथोलिने क्रम त्यतिबेला हुन्छ जतिबेला कुनै खास काम नभएर समय कटाउने कुनै माध्यम पनि फेलापार्न सकिएको हुन्न अथवा कुनै बिषयबिषेशले मेरो मनभित्र कटेरोहालेर रासोबासो बसाउन थाल्छ । दिनभरी प्रायजसो म सँग कुनै पनि बिषयमाथी मनन गर्ने समय हुन्न त्यसैले पनि होला जब राती सुत्नेबेला हुन्छ मेरो मनभरी नानाथरी तर्कबितर्क उठने गर्छ । यसरीनै मनमा कुरा खेलाउंदा खेलाउदै म हरेक रात कि त कुनै गीत या गजल कि त कविता या कथालेख्ने गर्छु । यसरी मनभित्रको छटपटीले साहित्य श्र् जना हुँदा खुशी त म स्वभाविकरुपमा हुन्छु नै तर सुत्नुपर्ने समयमा मन भित्र बिचारहरुको आँधी चल्दा कता कता डरपनि लाग्छ कतै यो प्रकृया कुनै रोगभएर निस्कने त हैन? मैले ठुला ठुला साहित्यकारहरुले कुनै खास समयमा लेख्ने मूड आउंछ भनेको धेरैपटक सुनेको छु त्यसरी भन्नेहरु प्राय सबै जना उमेरले म भन्दा धेरै परिपक्व र जिवनमा धेरै गरीसकेर अवकाशको जीवन बाँचिरहेका हुन्छन र तिनिहरुलाई एकान्त र एकाग्र हुनको लागि प्रसस्तै समय हुन्छ । मलाई भने सायद समय नभएर नै होला जब सुत्ने समय हुन्छ तबनै मनभित्र अनेकन लहरहरु उठ्न थाल्छ । साथीहरु मलाई कैलेकाहीं निशाचर भनेर सँज्ञा दिने गर्छन हुनपनि हो म दिनभरी साथीभाई सँगै कामगरेर पनि रात अबेर सम्म कि त केहि लेखिरहेको हुन्छु कि त केहि अध्ययन गरीरहेको हुन्छु । यसरी बिचारको सागरमा गोतामार्न पनि रमाईलो नै लाग्छ ।

भन्नेहरु भन्छन मनलाई जसरी जता लगायो त्यतै लाग्न सक्छ तर म मा यो लागु हुदैन किन हो मेरो मन बहकिन थाल्यो भने यस्लाई मैले नियन्त्रण म राख्नुको सट्टा यस्ले मलाई नियन्त्रण गरेर मलाई सारा रात जाग्रम बसाएर छाड्छ । जस्तो कि गए राती नै मेरो मनमा मायाका कुराहरुको सुनामी चल्यो । माया भन्नासाथै मेरो मनले मेरो आँखा अगाडी यौटा बिछट्टै सुन्दर नारी आकृती ल्याएर उभ्याईदिने गर्छ । बलीउडकी सुप्रसिद्द नायिका दिया मिर्जा - जो मलाई हिन्दि चलचित्रमा हेर्दा सुन्दरी लाग्छ , को जस्तै मुहारको मोहडा भएकि मेरी एक असल साथी , जस्लाई मैले भेटेको छैन , जस्को नाम अर्कै भएपनि म माया भनेर चिन्छु । उसैको मुहार मेरो आँखा अगाडी माया भन्ने शब्द निस्कँदा आउने गर्छ । मैले केहि समय अगाडी मायालाई नै बिषय बनाएर भगवान हराएपछि भन्ने कथा पनि लेखेको थिएँ भलै त्यो कथा मेरो मनको लहड पोख्ने प्रकृया भन्दा पर केहि थिएन । न कथाको स्वरुपमा थियो न कथा हुनलाई त्याहाँ कुनै कथा नै थियो ।

वास्तबमा माया मेरो यौटा असल साथी मात्रै हो त्यो पनि इन्टरनेटमा भेट भएको तर पनि सायद धेरै लामो समय सम्म कुरा गरेकोले होला मेरो मनले मायालाई साथी भन्दा पनि अझै नजिक राखेको थियो क्यार । मैले मायालाई साथी भन्दा पर अर्को नजरले हेरेको थिईनँ । बातचितको क्रममा मैले मायालाई आफ्नो बारेमा सबै कुरा भनिसकेको छु । म यौटा बिवाहित पुरुष हुँ र म सँग यौटी प्यारी सानि छोरी छे भन्ने कुरा सुनाईसकेको छु । यो कुरा मैले दुईकारणले सुनाएको थिएँ एक त म झूटो कसैसँग कहिले पनि बोल्न चाहन्न र अर्को मेरो बारेमा मायालाई कुनै भ्रम नहोस भन्ने चाहन्थें । यहिकुरा सुनाउने क्रममा मायाले मलाई छोरी छे तर छोरी कि आमा छैन भन्ने सुनाउंदा तिमिलाई अरुले मनपराउछन नि भनेकि थिईन् , त्यो मायाको बिचार थियो मैले त्यसरी सोचेको थिईनँ । म आफ्नो अतितलाई भजाएर कसैको माया या दया पाउने हिम्मत गर्न सक्दिन । मेरो अतितलाई मैले साह्रै नै सम्हालेर राखेको छु । मायाको हिसाबकिताबमा आज म शुन्य छु । साथको लेखामा आज म एक्लो छु यसकारण सायद मैले कतै कसैको सहारा खोजिरहेको हुन सक्छु । कसैको साथबिनाको जीवन अधुरो हुन्छ अपुरो हुन्छ भन्ने पनि मैले सुनेको छु तर मलाई लाग्दैनकि जीवनलाई पुरा बनाउन कसैको साथनै चाहियोस । जीवन एक्लै बाँचेर पनि पुरा हुन सक्छ भन्ने मत राख्छु म । यस्को मतलब फेरि यो हैन कि गृहस्थीको महत्वलाई नै मैले नकारेको छु । गोरेटोमा फेरि कतै कसैको साथ पाए म सँगै सँगै हिंड्छु निश्चयनै तर पहिले स्पस्ट तवरले त्यो साथ कस्को हो कस्तो छ भन्ने बुझेर मात्र ।

लामो अन्तराल पछि पहिले झैँ हिजोपनि फेरि मायासँग इन्टरनेटमा भेट भयो कुराकानीको शिलशिलामा मायाले हिजो आफुले अमेरिकाको लागी फियान्सी भिसाको अन्तर्बार्ताको डेट पाएको बताईन । पहिलेपहिले पनि फियान्सी भिसाको बारेमा मायाले मलाई सोधखोज गरेकि थिइन् । त्यसबेला कस्को लागी भनेर मैले सोध्दा मेरो साथीको लागी भनेकि थिइन् तर आज भने आफ्नोलागी हो र आफ्नो ब्वाईफ्रेण्डले प्रोसेस गरिदिएको भनिन् । मायाको यो खुशीको कुराले मलाई पनि निक्कै खुशी बनायो । अझैपनि मायाले मलाई यस्कोबारेमा बुझ्न भनेकि छन मैले जानकारहरु सँग सल्लाह गरेर उन्लाई बताईदिने बिचार गरेको छु । लगभग यस्तै कुराहरु गरेर माया म सँग बिदा भईन् र म पनि रात निक्कै ढलिसकेकोले सुत्ने उपक्रममा लागें । स्वभाविकरुपमा मायाको बारेमा मनमा कुराहरु खेल्न थाल्यो । मायाको खुशीको कुरा सुन्न पाएर म हर्षित भएको थिएँ तर मनमा कुराहरु खेल्ने क्रममा मायाले पहिले पहिले मलाई मेरो ब्वाईफ्रेण्ड छैन भनेको सम्झेँ अनि त्यतीकुराले पोल्न थाल्यो मेरो मन ; किन पहिले मलाई झूट बोल्नु पर्थ्यो र मायाले? मैले मायालाई जिस्केर तिमि बनिदेउ न त मेरो गर्लफ्रेण्ड भनेको त थिएँ तर यो बिषयलाई मैले गम्भिर भएर भनेको थिइनँ । यदी मैले गम्भिर भएर भनेकै भएपनि मायाले त्यहिबेलानै मलाई आफ्नो ब्वाईफ्रेण्ड छ भनेको भए के हुन्थ्यो र? मैले असल सम्झेको साथीले मलाई यतीका दिनसम्म झूट बोलिरहंदा र आज आएर यो सत्य हो भन्दा मैले कुनकुराको बिश्वास गर्ने?

मेरो असल साथीले पहिले झूट बोलेको हो कि अहिले झूट बोलेको भन्ने कुरानै निर्क्योल गर्न नसकेर मलाई रातभर निद्रा परेन । म त मायाले अहिले भनेको कुरानै सत्य होस र मायाको अमेरिकाको लागी भिसा लागोस भन्ने कामना गर्छु । तर झूट??? मैले सोधेको पनि थिएँ पहिले किन झूट बोलेको त म सँग भनेर जवाफमा मायाले भन्न मनलागेन र नभनेको भनिन । यदी पहिले भन्न मननलागेको नै हो भने आज आएर किन भन्न मनलाग्यो त?? निश्चयनै त्यसो हैन होला तर फेरी किन झूट बोल्नु पर्यो मायाले म सँग?? अनुत्तरित प्रश्नहरु अझै छन म सँग । जस्लाई पनि मैले आफैले हल् गर्न खोजिहेरेँ । मैले केहि समय अगाडी मायालाई यौटा सानो गणेशजी को मुर्ती उपहार स्वरुप पठाएको थिएँ - कुनै खुशीको उपलक्ष बिनानै मैले गणेशजी को मुर्ती उपहार स्वरुप पठाउनुलाई मायाले उनिप्रतिको मेरो आशक्ती हो भन्ने ठानिन कि? त्यस्तै गरी केहि सिडीहरुमा नेपाली गीतहरु कपि गरेर पनि पठाएको थिएँ उन्लाई मैले र प्रत्येक सिडीहरुमा विथ लव दीपक लेखेको थिएँ कतै त्यसैलाई पो मेरो आशक्ती बुझिन कि? अनि मलाई टाढा रहोस भन्ने मनसायले अहिले झूट बोलेकि हुन कि? पहिले झूट बोलेकि भएपनि अहिले झूट बोलेकि भएपनि मायाले म सँग झूट बोल्दिरहिछन । मैले असल साथी मानेको भएपनि उन्ले मलाई असल साथी मानेकि रहिनछन । म प्रति मायालाई साथीको रुपमा बिश्वास रहेनछ । यस्तै यस्तै बुझेँ मैले । मेरो बुझाई गलत होला तर यस्तै बुझेँ । यो बिषयलाई मनबाट हटाएर निदाउने अनेक चेष्टा गर्दागर्दै बिहान भैसकेको थियो । अनि उठेर कफि पिउँदै यौटा गीत लेखें जो यस्तो छ ------------------

किन हुन्छ भेटघाट गोरेटोमा कसैसँग
हिंड्दाहिंड्दै माया किन बस्छ
किन आउछ दोबाटो छुटाउन साथ फेरी
सारा खुशी आँशु सँगै खस्छ ।

कसैसँग बरु कतै भेटै नभईदिए हुन्थ्यो
न त छुटिनुनै पर्थ्यो न त फेरी मुटु रुन्थ्यो
किन लाग्छ माया मिठो एकैछिनको चिनारीमा
कोहि किन मुटुभित्र पस्छ
किन आउछ दोबाटो छुटाउन साथ फेरी
सारा खुशी आँशु सँगै खस्छ ।

बुझाउदा बुझ्ने हैन मन त एकोहोरो हुन्छ
नचिनेको माया कल्पि मुटु त्यसै त्यसै रुन्छ
किन भाग्छ निदरी नि आँखाबाट पर पर
आशँकाले मुटु किन डस्छ
किन आउछ दोबाटो छुटाउन साथ फेरी
सारा खुशी आँशु सँगै खस्छ ।

Monday, September 04, 2006

एक अञ्जुली माया : एक मन्तब्य ।

एक अञ्जुली माया , दशवटा आधुनिक गीतहरु सँग्रहित मेरो पहिलो गीती अल्बम जस्मा सँगीतकार टिका भण्डारीको एकल सँगीत रहेकोछ , को लोकार्पण यहि सेप्टेम्बर २३ का दिन नेपाल पर्यटन बोर्डको हलमा हुन गै रहेको छ । उक्त अवसरमा म आफु उपस्थित हुन नसक्ने भएकोले मैले ईमेल मार्फत पठाएको एक सानो मन्तब्य एक अञ्जुली मायाको सिडी कभरको साथ राखेको छु ।
सर्बप्रथम सँगीतकार टिका भण्डारीको एकल सँगीत रहेको मेरो गीती अल्बम एक अञ्जुली मायाको यस बिमोचन समरोहमा उपस्थित हुनुभई बिषेश अतिथीको आशन ग्रहण गरिदिनुहुने श्रदेय ----- ,------, -----मा म दीपक जडितको नमस्कार । साथै उपस्थित सम्पुर्ण श्रदेय महानुभावहरुमा स-धन्यवाद नमस्कार ।

मेरो जीवनको ड्रीम प्रोजेक्टकै रुपमा रहेको मेरो पहिलो कृती गीतीअल्बम एक अञ्जुली मायाको यस बिमोचन समरोहमा म आफु उपस्थित हुन नसक्नुको पिंडालाई छातीभित्रै राखेर सात समुद्रपारीबाट यो सानो संदेश ईमेल मार्फत पठाएको छु । यतीखेर मेरो जिन्दगीको मिठो सपना एक अञ्जुली माया गीतीअल्बम सार्बजनिक भैरहंदा म हर्षले बिभोर भएको छु ।

म आफु उपस्थित हुन नसकेपनि यतिबेला तपाई बिद्वानबर्ग सामु दुईचार शब्द बोल्न सक्ने सम्म उमेर नभए पनि मेरो प्रतिनिधित्व गर्ने मेरी सात बर्षिय अबोध छोरी तपाईहरु सामु उपस्थित भएकि छन जो मेरो जीवनको सपना पुरागर्नको निँती गीती रेकर्डिङकै सिलसिलामा हाल काठमाण्डौ आएकी हुन । आज एक अञ्जुली माया गीती अल्बम तपाईहरु सामु आउन सक्नुको पहिलो श्रेय म मेरी छोरीलाई नै दिन चाहन्छु किनकी उन्कै निम्तीनै म आज सम्म यस धर्तीमा जिउंदो रहन सकेको छु ।

सुन्दा परिमाण थोरै लाग्न सक्ला एक अञ्जुली माया तर यो माया म भित्रको त्यो अपरिमेय माया हो जस्को तुलना म केवल त्यो अनन्त ब्रम्हण्डसँग मात्र गर्नसक्छु । यो माया मैले जीवनयात्रामा जीवनसँगीनीको साथ गुमाईसकेर पनि पाईरहेको चोखो माया हो जस्लाई म परिमाणमा ब्यक्त गर्न सक्दिन । यस अल्बमलाई मैले मेरी स्वर्गीय पत्नि मञ्जु प्रति समर्पण गरेको छु ।

यस अल्बम भित्रका धेरैजसो गीतका शब्दहरु मैले झण्डै ५ बर्ष अगाडी आफ्नी प्रीय जीवनसंगीनीलाई गुमाउनुको पिँडा आलैहुंदा लेखेको हुँ । यसर्थ यि सबै गीतहरु मैले आफ्नो आँशुले लेखेको हुँ भन्न सक्छु म सबै गीतहरु मैले एकान्तमा छाती पिटेर छाडेको डाँकोहरु हुन । त्यतीबेला मैले सोचेको पनि थिईनं कि कुनैदिन मेरा रुवाईहरुले पनि जीवन पाएर गीतको रुपमा पुर्णता पाउनेछन भनेर तर समयक्रम सँगै मेरो भेट नेपाली गीत सँगीतको आकाशमा चम्किलो नक्षत्र बनेर स्थापित भैसक्नु भएका सँगीतकार टिका भण्डारी सँग हुनगयो र वहाँकै हौसलाले आज मेरो छातीभित्रका ब्याथा र छटपटीहरु गीत बनेर तपाईहरु सामु एक अञ्जुली मायाको रुपमा सार्बजनिक भैरहेछ ।

झण्डै डेढ दशक अगाडी देखिनै गीतीलेखनमा पाईलो हालेको भएपनि मैले बल्ल आज आएर एउटा पाईला टेकेको छु भन्नु पर्छ । म अझै शिकारुनै छु । तपाई बिद्वान साहित्यकारहरु र अग्रज गीतकारहरुले पहिल्याउनु भएको बाटोमा तपाईहरुकै शुभेच्छा बोकेर पच्छ्याउदै आउने छु म ।

एक अञ्जुली माया भित्रका दशवटै गीतहरुलाई आफ्नो एकल सँगीतको माधुर्यले सिँगारीदिनुहुने लोकप्रीय सँगीतकार टिका भण्डारी ज्यू प्रति म अत्यन्तै आभारी र कृतज्ञ छु । त्यस्तैगरी यस अल्बम भित्रका गीतहरुमा आ-आफ्नो कर्णप्रीय तथा ओजपुर्ण स्वर दिनुहुने आदरणिय गायक गायिकाहरु रुवि जोशी , दीप श्रेष्ट , रविन शर्मा , प्रदीपराज पाण्डे , कुन्ती मोक्तान , आनन्द कार्की , रामकृष्ण ढकाल , एम बराल , कर्ण दाश , जगदिश समाल सबैमा म हार्दिक कृतज्ञता ब्यक्त गर्दछु । त्यस्तैगरी यस अल्बमलाई आफ्नो अमुल्य कलाले सजाईदिनुहुने भर्टेक्स डिजाईनलाई र भर्टेक्स डिजाईनमा रहनुहुने रञ्जीता शर्मालाई मेरो मुरी मुरी धन्यबाद साथै यस अल्बमलाई बजारमा पुर्याईदिनुहुने धउलागिरी क्यासेट सेण्टरलाई पनि मेरो मुरी धन्यबाद । यस अल्बमका गीतहरुमा सँगीत सँयोजन गर्नुहुने फडिन्द्र राई , अमुल कार्कीढली र किरण कँडेललाई अनि रेकर्डिष्ट शम्भु ताण्डुकारलाई म हार्दिक धन्यबाद दिन चाहन्छु त्यस्तै प्रज्ञा स्टुडियो प्रतिपनि म आभारी छु । त्यस्तैगरी एक अञ्जुली माया भित्रको यौटा गीतलाई छायाँङ्कन गरिदिनुहुने ईमेज च्यानलका दीपक श्री र उक्त छायाँङ्कित गीतमा अभिनय गरिदिनुहुने मोडलहरु प्रशान्त र गीता शाहि प्रतिपनि म धन्यबाद दिन चाहन्छु । यस अल्बमको निँती आफ्नो अमुल्य समय दिनुहुने यस अल्बमका निर्माता गणेश गौली जो मेरो स-हृदयी साथी पनि हुनुहुन्छ , लाई पनि मेरो सहस्र धन्यबाद ।

अन्त्यमा आजको यस लोकार्पण समारोहमा उपस्थित हुनुहुने सम्पुर्ण आदरणिय महानुभावहरुमा पुन धन्यबाद दिंदै बिदा हुन चाहन्छु । नमस्कार ।

Sunday, September 03, 2006

गीत

गीत

भन्थ्यौ तिमी फूल हो जीवन बल्ल आज मैले मानें
पारीजात रैछ जीवन बिहान त झरीजाने ।

दुई दिनको जिन्दगीलाई ब्यर्थै नष्ट गरिगयौ
मुटुभित्र झुसी पारी बिरह त भरीगयौ
आँखिरी त दुईदिनको चोला हो यो मरीजाने
पारीजात रैछ जीवन बिहान त झरीजाने ।

पिरहरु भोलि रुँला भन्थ्यौ आज हाँस्नुपर्छ
के थाहा र भोली कस्तो कर्म खेपी बाँच्नुपर्छ
किन यती हतार भयो सारा खुशी तरी जाने
पारीजात रैछ जीवन बिहान त झरीजाने ।

हिउँ जस्तै रैछ जीवन घाम लागे पग्लिजाने
सम्झना नै सँधै सँधै हिमालझैं अग्लीजाने
घाउ दियौ सम्झँदैमा आँखाहरु भरीजाने
पारीजात रैछ जीवन बिहान त झरीजाने ।

२०५७ सालको पौष २ गते मैले लेखेको यो गीत कम्पोज गर्न भनेर सँगीतकार टिका भण्डारीलाई दिंदा म सँग यसको प्रति थिएन । मैले सम्झन सके जति लेखेर टिका भण्डारीलाई दिएको थिएँ र त्यस अनुसारनै रामकृष्ण ढकालको स्वरमा यो गीत बजारमा आउदैछ । आज बल्ल मैले यो गीतको पुर्णपाठ भेट्नसकें र यहाँ राख्दैछु ।

-दीपक जडित

Sunday, August 13, 2006

कामरुप कामक्षदेवी : एक परिचय ।

भारतको आसाम राज्यको गुवाहटी स्थित प्रसिद्द कामक्ष मन्दिर निलाञ्चल पर्बतमा अवस्थित छ । सहरदेखि झण्डै ८ किलोमिटर टाढा रहेको यो मन्दिर माता सतीदेवीको अँगभाग योनीबाट उत्पती भएको हो । यस्लाई दुर्गाको १००८ शक्तीपिठहरु मध्धेको एक मानिन्छ ।

(फोटोहरु सबै वेभदुनिया डट कमको फोटो ग्यालरीबाट लिएको हो ।)

गुफाभित्र रहेको यो मन्दिरमा देवीको मुर्तिभने छैन । गुफाको भित्तामा भित्तिचित्रको शैलिमा मण्डलाकार चित्र अंकित छ । उक्त चित्रमा मानिएको योनिभागबाट पानीको थोपा झरिरहने गर्छ । हरेक महिनाको ३ दिन बन्द रहने यस मन्दिरमा बन्द रहेको ३ दिनलाई रजस्वला भएको मानिन्छ र आसामका स्थानिय किसानहरु उक्त अवधीमा बालिनाली लगाउने काम गर्दैनन। उनिहरुको बिश्वास अनुसार उक्त समयमा लगाएको बालिनालीबाट राम्रो उत्पादन हुदैन । चौथोदिन मन्दिर खोल्दा धुमधामले उत्सब मनाईन्छ जस्लाई अंबुवकी अर्थात अमीती भनिन्छ ।

श्री स्वस्थानी माहात्म्य कथामा उल्लेख भए अनुसार राजा दक्षप्रजापतीले आफ्नो घरमा आयोजना गरेको भब्य महायज्ञमा ३३ कोटी देवीदेवताहरुलाई निमन्त्रणा गरेका थिए तर आफ्नी छोरी सतीदेवी र ज्वाँई शिबलाई निमन्त्रणा गरेका थिएनन । यो कुरा जब नारदमुनीले थाहा पाए तब तत्काल कैलाश पर्बत पुगेर मनोरञ्जनको लागी जुवा खेलीरहेका शिब सतीदेवी समक्ष जानकारी गराए । नारदको मुखबाट यस्तो खबर सुनेकि सतीदेवीले हामीलाई डाक्न भुलेका होलान तर हमि जाउँ न भन्दै शिवसामु बिन्ती गरिन । शिवले छोडिदेउ तिमी नरुचाएकि छोरी म मननपरेको ज्वाँई हामी किन जाने? आउ बरु जुवा खेलौं भनेर सम्झाउने कोसिस गरे तर सतीदेवीको हठ अगाडी केहि शिप नलागेर नारदमुनी सँग गएर आउ न त म जान्न भन्दै सतीदेवीलाई जाने अनुमती दिए र आफु भाँग धतुरोको नशामा लठ्ठीएर बसे । नारद सँग माईती पुगेकि सतीदेवीलाई देखेर उन्का पिता दक्षप्रजापतीले तिमि आईछौ ठिकैभयो , तिमिलाई बोलाउदा तिम्रो त्यो बौलाहा लोग्ने पनि तिम्रो पछी लागेर आउछ भनेर नबोलाएको हो भन्दै भगवान शिवको अपमान गर्न थाले । सारा दुनियाँसामु आफ्नो स्वामीको अपमान सहन नसकेर सतीदेवीले त्यसैबेला यज्ञकुण्डमा फालहालेर देहत्याग गरीन तर शिवको डरले गर्दा अग्नीले उन्को शरीर जलाउन सकेनन ।

जसै शिवले आफ्नी प्राणप्यारीले देहत्याग गरेको थाहापाए दक्षको यज्ञमा आएर दक्षको शिर छेदन गरीदिए तर दक्षकी स्त्री बिरणीले आफ्नो श्रीमान पशुभएर त्यस्तो कार्य गरेको भनेर माफी माग्दै उन्को प्राणदानको भिख मागिन । शिवले पनि बिरणीको बिलाप देखेर दक्षको शरीरमा यज्ञमा बलिचढाएको बोकाको टाउको जोडिदिएर बिउंझाईदिए अनि प्राणहिन आफ्नी पत्नि सतीदेवीलाई बोकेर बौलाहा झैं सन्सार घुम्न थाले । यसरी घुम्दै जाँदा सतीदेवीको शरीरको अँगहरु गलेर झर्दै गयो र शक्तीपिठहरुको उत्पतीहुंदै गयो । यसैक्रममा निलाञ्चल पर्बतमा सतीदेवीको योनि झरेको र कामरुप कामक्ष देवीको उत्पती भएको बिश्वास गरिन्छ ।

Friday, August 11, 2006

राजा , गिरिजा र साहाजको रुख ।

- दीपक जडित

बर्तमान राजनीतिका शिखर पुरुष भनेर कहलिएका नेपाली काँग्रेशका अध्यक्ष्य तथा बर्तमान नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री जस्तो सम्माननिय पदमा रहेपनि आम जनताले सम्मानको शट्टा शँकाको नजरले हेर्ने गरेका छन । त्यसो त प्रधानमन्त्री कोइरालालाई आम जनताले शँकाको नजरले हेर्नु भन्दा पर्तिर अरु के गर्नु पनि? कोइराला कसैको सुन्दै सुन्दैनन , हत्पती बोल्दैनन तर जब बोल्छन एउटा भु कम्प नै ल्याउंछन भन्ने चर्चा जताततै भैरहेको छ । हालसालै उन्ले प्रजातन्त्रमा राजालाई पनि स्थान दिनु पर्छ भन्ने अभिब्यक्ती दिंदा नेपालको राजनीतिक बृतमा एउटा भु कम्प नै गएको थियो । हुनपनि कत्रो मायामोह हो त प्रधानमन्त्री कोइराला र राजाको बिचमा । सारा नेपाल र नेपाली जनताले छि छि र दुर दुर गरिरहेको बेलामा पनि नरसँहारकारी , बँशबिनासी एवं हत्याराको अलँकारले बिभुषित राजालाई स्थान दिनु पर्छ भन्ने प्रधानमन्त्रीको राजा , राजदरबार र राजतन्त्र प्रेम अलौकिक नै मान्नु पर्छ नत्र भने अहिलेको स्थितिमा मै हुँ भन्ने कट्टर राजावादिहरुले पनि राजालाई स्थान दिनु पर्छ भन्ने खालको सार्बजनिक अभिब्यक्ति दिने हिम्मत गर्न सकेका छैनन । यसबाट स्पस्ट हुन्छ कि जनता चाहे भड्खालोमा जाउन , सातदल र आफ्नो पार्टी जे सुकै होस , माओवादिहरु जँगल गएनि एत्रै सिती, गिरिजाले राजतन्त्रलाई शिरोपर गर्दा मात्र अनि जन आन्दोलनको मर्म र भावनालाई राजाको गोडामा दाम राखे झैं राखेर ढोग्दा मात्र आफ्नो भलो देखेका छन । त्यसैले गिरिजा र गिरिजाहरु सँग सधैं चनाखो रहनु आवश्यक छ ।

प्रधानमन्त्री कोइरालाको चर्तिकला देखेर अनि हामिहरुले नै उन्लाई सतिसाल भनिदिंदा आज मलाई मेरो खेतबारीमा भएको एउटा अजँगको ठुलो साहाजको रुखको सम्झना आईरहेछ । वरपर गाँउघरमा भए मध्धेमा सबै भन्दा ठुलो उक्त रुख वास्तबमा मेरो र मेरो छिमेकिको खेतको साँधभन्दा थोरै भित्र मेरो खेत पट्टी थियो । त्यो रुख हामिले रोपेका थिएनौं उहिल्यै झोडी जँगल हुंदै देखिको त्यो रुख हाम्रो खेतमा उभिएको भएपनि छिमेकिको खेतलाई समेत बालिनालिमा सेप पारेर बराबर असर गर्थ्यो तर त्यो रुखबाट फाईदा भने हामीमात्र लिन्थ्यौं । हाम्रो समाजमा धेरै यस्ता बिकृत मुद्दाहरु छन यौटाले साँधसिमाना नजिक भएका रुखबिरुवाहरुबाट फाईदामात्र लिईरहने र अर्कोले नोक्सानमात्र बेहोरिरहने । कतिपयको त सिमाना नजिकको रुखबिरुवाहरुकै कारण बोलचाल बन्द हुने देखि लिएर पानी बाराबार ( काटाकाट , मारामार ) सम्म हुने गर्छ । यसरी साँधसिमाना नजिक भएको रुखबिरुवाले यदि दुबै पट्टीको खेतबारीलाई असर गर्छ भने त्यो रुख बिरुवामा दुबै सँधियारको बराबर हक लाग्नु पर्ने हो तर त्यसो हुन नदिन हाम्रो समाजमा भएको हेपाहा मिचाहा प्रबृतीले काम गरेको छ । जे होस आउदै गरेको समयले हाम्रो समाजमा बिद्दमान यस्ता अनेकौं झिना मसिना बिकृत समस्याहरुको पनि निराकरण गरोस भन्ने आशा गरौं ।

मैले उल्लेख गर्दैरहेको उक्त ठुलो साहाजको रुख आफ्नो खेतमा भएकोमा म निक्कै घमण्ड गर्थें । हुनत त्यो उमेर मेरो केटाकेटी उमेरनै थियो तर अहिले सम्झंदा लाज लागेर आउंछ । त्यसबेला म सँगैका दौंतरीहरुलाई आफ्नो खेतमा भएको रुख सबैको भन्दा ठुलो भएको धाक दिन्थें।

समयक्रम सँगै एकाएक त्यो ठुलो रुखको टुप्पोको निक्कै भाग सुकेर गयो । यहाँ सम्मकि ठुलो हुरी बतास आउंदा त्यो रुखको टुप्पो (सुकेको भाग) भाँचिएर मान्छे या गाइबस्तु मार्ला भन्ने त्राहि त्राहि हुन थाल्यो । धेरै मान्छेहरुले हामिलाई त्यो रुख चैत्र महिना तिरै खेतबारी खाली भएको बेलामा ढाल्ने सल्लाह पनि दिए तर हामीसँग खै कस्तो मोह थियो कुन्नि त्यो रुख सँग हामीले त्यो रुख ढाल्न चाहेनौं बरु त्यसको टुप्पोमा सुकेको भाग जति मात्र काट्ने निधो गर्यौं । त्यो यसकारणले पनि हुन सक्थ्यो कि हामी त्यो अजँगको रुख ढालिसकेपछि त्यसलाई खेतबाट हटाउने झण्झट उठाउन चाहदैनथ्यौं । त्यतीबेला टोल छिमेकमा अलि मुर्ख तरिकाको मुढे काम गर्न प्रख्यात सुपारीलाल नामगरेका एक जना छिमेकि जस्लाई हामी मामा भन्थ्यौं लाई त्यो रुखको टुप्पो सुकेको भाग काट्ने जिम्मा दिईयो । त्यत्रो बडेमानको रुखको टुप्पो भन्दा अलि तल चढेर हाँगाको आडमा बसेर सुपारीलाल मामाले उक्त रुखको सुकेको टुप्पो ढाल्न बिँड छोटो पारिएको प्रहार गर्न थाले । सुकेको काठमा बन्चरोको चोटपर्दा आउने ठ्वाक ठ्वाक आवाज पर पर सम्म तरँगित हुंदै गएछ क्यार छरछिमेकी देखि वल्लो पल्लो गाँउका सम्म धेरै मान्छेहरु त्याँहा जम्मा भएका थिए । मानौं त्याहा ठुलै जात्रा भै रहेको छ । उपस्थित मध्धे कोहि मर्छ होला आज यो सुपारीलाल भन्दै थिए तर सुपारीलाल निक्कै खप्पिस थिए यस्तो कामको लागी । ढलाई छाडे उन्ले त्यो अजँगको रुखको सुकेको भाग । जसै त्यो रुखको अग्लाई घट्यो मलाई म आफु पनि होचो भएझैं महशुस भएको थियो । घरमा भने सबैजना हुरी बतासले भाँच्न सक्ने त्यो रुखको सुकेको टुप्पो काटेर ढुक्क थिए ।

समय बित्दै थियो । त्यहीसाल असौज महिनाको एक राती झम झम झरी परिरहेको बेला त्यो अजँगको रुख त हाम्रै खेत पट्टी पसाउंदै गरेको धानबालीको सर्बनाश गर्दै ढलेछ । झरी परेको ले गर्दा अनि राती सबै निदाएकोले गर्दा त्यत्रो ठुलो रुख ढलेको आवाज सम्मपनि कसैले थाहा पाएनौं । मेरो त्यो धाकधक्कु लगाउने रुख ढल्नाले मलाई पर्नु चोट परेको थियो । घरका अरु म भन्दा ठुला सदस्यहरु चैत्रतिरै फेदै ढालेको भए हुने रहेछ , त्यत्रो धानबालीको सर्बनास भयो भन्दैथिए । म भने कसरी ढल्यो होला भनेर आफ्नै हिसाबले अनुसन्धानमा खटिएं । मेरै अनुसन्धानबाट पत्ता लाग्यो त्यो रुखको टुप्पो सुकेझैं जराहरुपनि कुहिएर मक्किसकेको रहेछ ।

आज आएर हाम्रा सम्माननिय प्रधानमन्त्री कोइरालाले राजालाई पनि स्थान दिनु पर्छ भन्दै राजतन्त्रको पक्षमा वकालत गरेको देख्दा लाग्छ त्यो साहाजको रुखको टुप्पो सुके झैं कोइरालाको पनि टुप्पोबाट बुद्धि सुक्दै गै रहेछ । उक्त साहाजको रुख ढाल्न छरछिमेकीले चैत्र बैसाख तिरै सल्लाह दिएझैं चैत्र बैसाख तिरै जन आन्दोलन्को उत्कर्स देख्न पाइयो । छिमेकीको त्यत्रो सल्लाह सुझाबको बावजुध पनि हामिले त्यो साहाजको रुखको टुप्पो मात्र काटेका थियौं जुन मलाई राजाको अधिकार मात्र कटौती गरेर राजा राख्ने कोइरालाको कुरा जस्तै लाग्छ । त्यो रुखको जराहरु धमिरा लागेर या बुढो भएर मक्किएझैं गिरिजा प्रसादको पनि आफ्नो पार्टीभित्रको अनि सारा जनताहरु सँगको पकड खुस्कंदो स्थितिमा छ । उमेरले पनि साथ छोडदै छ उन्को त्यस्तै राजाको पनि सारा पकडहरु खुस्किईसकेको छ र राजा र गिरिजा दुबैको ढल्ने समय नजिकिंदै छ । असौजमा त्यो साहाजको रुख ढले झैं राजा र गिरिजाको पनि तेस्तै समयतिर ढल्ने सम्भावना बढेर गएको छ । उक्त रुख ढल्दा धानबाली नष्ट गरे झैं राजा र गिरिजाको अवसान हुने समयमा फेरी रक्तपात हुन सक्छ किनभने आफु आफु बिचमा सहमती नभै गिरिजा र प्रचण्डले राष्ट्रसँघ लाई दिईएको पत्रमा हस्ताक्षर गरेका छन र हतियार ब्यावस्थापन जस्तो मुख्य मुद्दालाई पछि मिलाउने भनेर टारेकाछन जुनकुरा अहिले सम्म दुई पक्ष ( सरकार र माओवादि ) को अडान हेर्दा असम्भब देखिन्छ । त्यस्तैगरि उक्त रुख ढलेकै महिनातिर राजा र गिरिजाको पतन हुने सँकेत माओवादिहरुले भन्ने गरेको अक्टोबर क्रान्ती पनि हो । अक्टोबर क्रान्ती नहोस भन्ने कमना गरौं तर के थाहा सरकार र माओवादि दुबै पक्ष आ आफ्नो अडानमा ठोस बस्दै पग्लिन चाहेनन भने त्यसो नहोला भन्न पनि सकिन्न ।

यो सबै मैले भविश्यबाणी गर्न खोजेको हैन । बर्तमान राजनीतिको हकमा संभावित कुराहरु अनि मेरो त्यो साहाजको रुखको हकमा घटित कुराहरु मात्र गर्न खोजेको हुँ । मेरो ब्याक्तिगत बिचारमा पनि सरकारले तुरुन्त सातदल , नागरिक समाज र माओवादिहरु पनि समेटिएको अन्तरिम सरकार गठन गरेर उक्त सरकार मार्फत नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्नु पर्थ्यो । त्यसो गर्दा माओवादिहरुले पनि हतियार छाड्ने भनिरहेका थिए । तर सरकारले त्यसो गरेन र गर्ने छाँट पनि देखाईरहेको छैन । सरकारको ध्याउन्न हेर्दा माओवादिहरुलाई कुनै पनि युक्तीले हतियार बाट अलग गरेर सम्बिधानसभाको हैन सँसदको चुनाबमा लाने कसरत गरिरहेको देखिन्छ भने माओवादिहरुपनि झुक्दा झुक्दा नसकिने भो भन्ने भित्री मनसायमा अझ झुक्दै जांदा आफ्नो पार्टी भित्र नै फुट उत्पन्न होला भन्ने आशँकामा अगाडी बड्ने हो कि पछाडी हट्ने हो भन्ने दोधारमा छन । उनिहरु त यसै पनि बिद्रोहीहरु पछि हटेर फेरि जँगल नै गए भने पनि सरकारलाई दोष थुपार्ने छन तर सरकार??? सरकार ले पछि हटेर कहाँ जाने हो?? अझ गिरिजाप्रसाद कोइराला त छिमेकिको घरमा आउने चोर रुङ्न आफ्नो घर खुल्लै छाडेर हिंडेका छन चोरले उन्कै घर मा लट्टी पट्टी पार्न के बेर ?

Wednesday, August 09, 2006

कविता : अलबमको पानाभित्र एकदिन ।

अलबमको पानाभित्र एकदिन ।

दीपक जडित
एकदिन
हातभरी गुलाफको फूल बोकेर
पानी छोएर कसम खाँदै
तस्वीरबाट उस्ले मलाई हेरी
र भनि - " म मरेकी छैन
तिम्रो छाती भित्र मैले रोपेका
प्रत्येक गुलाफहरु
जब जब फुल्नेछ
र त्यसको सुबासले तिम्रो परिवेश
सुवासित हुनेछ
छामी हेर्नु त्यसबेला म
तिम्रो स्पन्दन बनेर
स्पन्दित भएकि हुनेछु । "

बिश्वास नभएर मैले
निर्मिमेश उस्लाई हेरें
हेरिरहें घण्टौं
निर्भिक उस्ले झिम्म नगरि
म सँग आँखा जुधाईरही
ठिक त्यसबेला
अलिकति पिंडाले मेरो अन्तरमा
घोचिदियो चस्सै !!
म उस्को पछ्यौरीमा
घोप्टिएर खोज्न थालें
आफु भित्र
उस्ले रोपेका गुलाफहरु ।

नियाँल्दै जाँदा
सौंदर्यहिन
प्रसस्तै गुलाफहरु
सुवासरहित भएर
मुर्झाउन लागेको पाएँ
अन्तत दुखित मलाई लाग्यो
सौंदर्य गुलाफमा नभएर
दृष्टीमा हुँदो रहेछ
र सुवास घ्राणशक्तिमा
जस्लाई गुमाएर मैले
यौटा रहस्य फेला पारें कि
गुलाफको सौंदर्य त भ्रम रहेछ
अनि तत्कालै पल्टाई दिएँ
अलबमको पानालाई ।

यो कविता उ अझै मरेकी छैन भन्ने आफ्नै अप्रकाशित कविता सँगालो बाट लिएको हुँ ।

Monday, August 07, 2006

गजल / जस्ताको तस्तै

उमेशजीको माई सन्सार डट कममा कमेण्ट लेख्ने क्रममा लेखेको यौटा गजल जस्ताको तस्तै - copy paste - राखेको हुँ ।

दीपक जडित
-----------------------
धन्यवाद उमेश जी , नगरिकसभाको समर्थन गर्दै मैले मेरो ठाउँबाट गर्न सक्ने काम - सबै स्वदेश तथा बिदेशमा बस्नुहुने गणतन्त्र तथा लोकतन्त्र प्रेमी साथिहरु को लागि __यौटा गजल------------------------------

गजल

राजनीतिको हिसाबमा कि त जोड कि त घटाउ ।
भएजति बिनासकारी नेताहरुलाई हटाउ । १

नेताहरुको लिँढेढिपिमा मुलुक किन अड्काउने? ,
राजनीतिको गाँठो खोल्न नागरिक समाजलाई पठाउ । २

आफ्नै मात्र स्वार्थ हेरि राजा राख्छु भन्नेहरुलाई ,
हत्यारा त्यो राजा सँगै चाँडैगरी नौ डाँडा कटाउ । ३

बस्ती बस्ती गाँउ गाँउ जागृतीको शँखघोष गर्दै ,
देशभरी मडारीएको अन्यौलको बादल फटाउ । ४

बल्ल बल्ल हिँसा त्यागी आएका बिद्रोहीहरुलाई ,
फेरी जँगल पस्न सक्छन , मुलधारमा ल्याई अटाउ । ५

कविता (गफ कविता)

दीपक जडित

यो माग हो : तपाईं कहाँ हुनुहुन्छ?

मलाई मेरो मर्यादा देउ
संसार सामु मलाई नँग्याएर
के पाउनेछौ तिमी?
मलाई मेरो मानसम्मान देउ
म यो देशको राजा हुँ ।

मलाई मेरो राजा देउ
राष्टिय एकताको प्रतिकलाई हटाएर
देश के जोगाउछौ तिमी?
मलाई मेरो राजा राख्न देउ
म यो देशको बर्तमान सरकार हुँ ।

मलाई मेरो भगवान देउ
मेरो शिरबाट ईश्वरको हात हटाएर
म कसरी बहादुर सिपाही हुन सक्छु ?
मलाई मेरो देउता / राजाको छत्रछाँया देउ
म यो देशको सेना हुँ ।

मलाई मेरो भाग देउ
बखतमा तिमिलाई सघाएर
ठुलै बलिदान गरेको छु मैले
मलाई सत्ताको साझेदारी देउ
म यो देशको माओवादी शक्ति हुँ ।

मलाई नयाँ सरकार देउ
आठ बुँदे कार्यान्वयन गर्ने
सम्बिधान सभा गराउन सक्ने
मलाई सर्बपक्षिय अन्तरिम सरकार देउ
म यो देशको नागरिक समाज हुँ ।

मलाई मेरो कमिशन देउ
बर्षौं देखि खाँदै आएको
गैह्र कानुनि / अनैतिक भए पनि
मलाई घुस खाने छुट देउ
म यो देशको कर्मचारी हुँ ।

मलाई लोकतन्त्र / गणतन्त्र देउ
राजतन्त्र अहिलेनै उखेलेर फ्याँकि
दाईने बाँया कुरै नगरी
मलाई सिधै लोकतन्त्र / गणतन्त्र देउ
म यो देशको राजनैतिक चेतना भएको जनता हुँ ।

मलाई मेरो जीवन चल्न देउ
थोरै तिनै भए पनि आफ्नो सम्पतिमा
आफ्नो हिसाबले खान , खर्चिन र रमाउन
मलाई मेरो जिन्दगी देउ
म यो देशको राजनैतिक चेतना नभएको जनता हुँ ।

मलाई मेरो परिचय देउ
यहि माटोमा बर्षौं देखि बस्दै आए पनि
यता न उताको बनाईएको छु म
मलाई नागरिकको दर्जा देउ
म यो देशको नागरिकता बिहिन जनता हुँ ।

मलाई घर फर्कन देउ
आफ्नै आँगनमा आफ्नो सँग
नबसेको धेरै भैसक्यो
मलाई आफ्नो घर फर्कन देउ
म यो देशको द्वन्द्व / जनयुद्धले बिस्थापित जनता हुँ ।

मलाई टाउको लुकाउने झुप्रो देउ
बर्षौं अरुको निम्ति काम गर्दै आएको
आफु मुर्दा भएर अरुको निम्ति बाँचेको
मलाई आफ्नो निम्ति बाँच्न र बस्न देउ
म यो देशको घरबार बिहिन जनता / कमैया हुँ ।

यो माग हो बर्तमानको
नेपालको , नेपालीको
मेरो , तिम्रो , उस्को , त्यस्को
हामि सबैको माग हो यो
खोज्नुहोस तपाईं माग गर्ने क्रममा
आज कहाँ हुनुहुन्छ?

Sunday, August 06, 2006

गजल

गजल

दीपक जडित

नेताहरुको राजतन्त्र थाम्ने मात्रै एउटा काम भयो ।
आन्दोलनको मर्म राजाको गोडामा चढाउने दाम भयो । १

हिजो सम्म गणतन्त्रको भाषण भुक्ने नेताहरुको ,
भित्रभित्रै राजा रिझाउन दरबार छिर्ने लाम भयो । २

जनता सामु जनतानै भगवान हुन भन्नेहरुको ,
नारायणहिटी दरबार नै आज चारधाम भयो । ३

छारो बनाई संबिधानसभा हाम्रो आँखामा हाल्दिए ,
होला कि त भन्दै हाम्रो त अँध्यारोमा छामाछाम भयो । ४

रक्तपात र हिँसा छाडी आएका माओवादिलाई ,
फेरी जँगल पठाउने कसरत खुलेआम भयो । ५

यो गजल नेपालीकविता डट कममा प्रकाशित भएको छ र उमेश श्रेष्ठको माई सन्सार डट कममा पनि कमेण्टको रुपमा लेखिएको छ ।

Tuesday, August 01, 2006

कथा : भगवान हराएपछि ।

कथा : भगवान हराएपछि ।

- दीपक जडित

के तपाईंको पनि नजिकको साथी छ ? यो प्रश्न यसकारण कि साथी सबैको धेरै हुने भए पनि नजिकको साथी थोरैको कम हुने गर्छ । .........ठिकैछ , तपाईको नजिकको साथी नभए बनाउनु होला किनकि महाभारतमा पनि मान्छेको जीवनमा यौटै मात्र भएपनि यस्तो साथी होस् जो साथीको निम्ती ज्यान दिन तयार हुन्छ भने त्यो जतीसुकै अधर्मी , पापी भएपनि त्यसको जीवन सार्थक हुन्छ भनिएको छ । महाभारत त पढ्नु भएको छ तपाईले ? यो प्रश्न पनि यसकारण कि आजभोलिका पुस्ता धेरै थोरैले मात्र महाभारत पढेका हुन्छन । हुनत आजको समयमा महाभारतको त्यो बडेमानको ठेली पढ्नै पर्छ भन्ने पनि छैन , हेर्न पनि सकिन्छ महाभारत । जे होस् महाभारत बुझ्नु पर्ने कथा हो ।

हेर्नुस् मेरो ईरादा तपाईंलाई उपदेश दिने हैन । कसैलाई उपदेश दिन लायक म कहाँ छु र ? मैले त तपाईंलाई एउटा कथा सुनाउन मात्र खोजेको हुँ । मेरो कथा - मेरो मतलब म सँग भएको कथा तपाईंलाई दिक्क लाग्दो पनि हुन सक्ला , त्यसो त म कर पनि गर्दिंन नि तपाईंको खुशी हो पढ्नुहोस् या नपढ्नुहोस् । मेरो कथा मेरो हैन । मेरो आफ्नै नभएर मेरो छेउको कथा हो यो । म सँग थोरै समयमा धेरै घनिष्ठ सम्बन्ध स्थापना भएको मेरो साथीको कथा हो यो ।

पख्नुहोस् है , पहिले मलाई मेरो कथाको पात्रको नाम जुराउन दिनुहोस् । साथी हो सिधा उसैको नाम रा खेर उसैको कथा लेख्दा रिसाउन सक्छ । म साथी गुमाउन चाहन्न । के राख्ने हो त उस्को नाम ? तपाईं दिनुहोस् न एउटा प्रचलित नाम ? सक्नु हुन्छ ??........ केहिछैन , तपाईंसँग मेरो पात्रको लागि नाम छैन भने म आफ्नै नाम दिन्छु नि त उस्लाई । बहु प्रचलित छ मेरो नाम पनि - दीपक । हो दीपक नाम नै उपयुक्त हुन्छ उस्को लागी किनभने रातको अँध्यारोमा पनि बत्ती झैँ बल्न चाहन्छ उ ।

एउटा पात्र (मेरो साथी) लाई त नाम दिएँ मैले आफ्नै अझै एउटा नाम चाहिएकोछ अर्को पात्रलाई । अर्को पात्र को हो ? मलाई थाहा छैन , मैले देखेको पनि छैन , भेट्ने त सबालनै आएन , कुरा पनि गरेको छैन । दीपकको मुखबाट भने उस्को बारेमा धेरै सुनेको छु मैले । यहाँ सम्मकि सुन्दा सुन्दा मेरो मानसपटमा उस्को सजीब प्राय: तस्वीर बसिसकेको छ । मेरो कथाको त्यो महिला पात्र जस्लाई दीपकले आँफैलाई भन्दा धेरै माया................ ए!!!!!! माया , माया पनि त एक प्रचलित नाम हो नि , यही नामनै मेरो कथाकी महिला पात्रलाई सुहाउछ पनि ।

झट्ट हेर्दा चन्चल प्रकृतीको झैं देखिने दीपक एक गम्भिर , भाबुक मुटु भएको , कल्पनाशिल ब्याक्ती हो फेरी पनि यथार्थ संसारमा चल्नको लागि जस्तोसुकै सत्य स्विकार्न सक्ने र जुनसुकै झुठको पनि प्रतीकार गर्न पछी नहट्ने ब्यक्तित्व छ उ भित्र । मान्छेहरुले हम्मेसी उस्लाई बुझ्न सक्दैनन - मलाई पनि शुरु-शुरुमा उ सँग अभ्यस्त हुन ठुलै सकस भएको थियो , कस्तो जर्कट मान्छेको फेला परेछु भन्ने लागेको थियो तर जब चिन्दै गएँ मेरा सारा अड्कलहरु बेकार हुँदै गए । ज्यादै कम बोल्ने दीपक एउटा असल र सही साथीमा परिणत हुँदै गयो । उस्को ब्यावहार र बिचारबाट म प्रभावित हुँदै गएँ ।

आज उ दुखी छ , म देखिरहेछु तर म उस्लाई सहयोग गर्न सकिरहेको छैन । यो बिषय नै यस्तै पर्‍यो कि म चाहेर पनि सहयोग गर्न सक्दिन । ईन्टरनेटबाट भिन्न भिन्न भूगोलका भिन्न भिन्न र धेरै साथीहरु बनाउने रुचि भएको दीपकले एकदिन म सँग भन्यो- " हैन यार , साथी धेरै बनाउनु पनि ठीक हैन रहेछ । जब साथी भएर साथीको भूमिका नै निर्बाह गर्न सकिन्न भने साथी भएको के काम? " त्यसबेला मलाई लागेको थियो उस्ले ईन्टरनेटबाट बनाइने साथीमा साथित्व र साथित्वप्रति स्थाइत्व हुन सक्दैन भन्ने बुझेछ क्यार तर कहाँ र उस्ले त त्यसदिन देखि उ सँग भएका ईन्टरनेटका साथीहरु मद्धेबाट साथित्व प्रति स्थाइत्वको सम्भावना भएकाहरु मात्र छनौट गरेर राख्ने र बाँकी सबैलाई हटाउने बिचार पो गरेको रहेछ ।

प्राय: सँधै सँगै हुने भए पनि मैले उस्का ब्याक्तिगत कुराहरुमा चासो राखेको थिईनं तर त्यसदिन उसैले मलाई उस्का ईन्टरनेटका असल साथीहरु देखायो । उ सँग झण्डै २०० को हाराहारीमा भएका साथीहरु बाट आज चुनिएका असल साथीहरु केवल ३ जना मात्र थिए । जस मध्धे २ जना केटा साथी र १ जना केटी साथी । उ सँग पहिले केटी साथीहरुको सँख्या अधिक भएको मलाई राम्ररी थाहा थियो त्यसैले सोधें , " तिमीसँग भएका तेत्रा केटीसाथीहरुबाट एउटा मात्रै असल पायौ ? " उस्ले तुरुन्तै जवाफ दियो , " हो नि , पहिलो कुरा त केटी साथी बनाउन नै गार्हो हुन्छ अझ त्यसमाथि पनि असल पाउन त झन मुस्किल । " उस्को जवाफको आशय केटीहरु खराब हुन्छन भन्ने थियो । मैले प्रतिबाद गरें , " त्यसो भए के , तिमी केटीहरु सबै खराब हुन्छन भन्ठान्छौ हैन ? " " हो । " उस्ले सहजै स्विकारेर भन्यो , " धेरै केटीहरु हुन्छन , तिमी जती असल सम्बन्ध राख्न खोज तिमीलाई तिनिहरुले गलत नजरले हेरेका हुन्छन । त्यस्ता केटीहरु जहिले पनि तिमीभित्रको कमजोर पक्षको खोजिमा हुन्छन ता कि तिमीलाई बद्नाम गर्न सकुन , बेईजती गर्न सकुन तर मैले सबै केटीलाई त्यस्ता हुन्छन भनेको छैन । त्यसो भन्दो हुँ त अझै पनि म सँग एउटा केटी साथी हुने नै थिएन नि ।"

मलाई तर्क गर्न आवस्यक लागेन । जस्को जस्तो भोगाई छ उस्ले तेस्तै बुझेको हुनुपर्छ भनेर म चुप लागें । उ भन्दै गयो , " तर यो केटी मेरो लागी धेरै महत्वपूर्ण छे ।" स्पस्टै थियो कि उ त्यो केटीको बारेमा अझै धेरै बताउन चाहन्छ । मलाई पनि के थियो र ? म सुन्नलाई तयार थिएँ । उ थप्दै गयो , " म उस्लाई मेरो मनको सबै कुरा भन्न चाहन्छु तर सकेको छैन यार । कसरी भन्ने होला ? " उ बोल्दै गर्दा मैले उस्को अनुहार नियालें । मलाई मामला गम्भिर लाग्यो । उस्को अनुहारमा पिंडाका भावहरु सल्बलाएको महशुस गरें मैले र पनि यो त सजिलै हो नि भन्ने भाबमा उस्लाई भनें ," के भो त ? फोन गरेर अहिले नै भनिदेउ न ।" निक्कै बेर उ चुपचाप बस्यो । समस्या त त्यहाँ पो रहेछ , उ सँग त मायाको फोन नम्बर नै रहेनछ । म छक्क परें । फोन नम्बर सम्म नभएको साथी कसरी उस्को अ सल साथीमा पर्‍यो होला ? त्यसबेला मलाई साच्चै खस् खस् लाग्यो, मैले "फोन नम्बर किन नमागेको त ? कि छैन उ सँग फोन ?" भन्दा थाहा पाएँ मागेको त रहेछ फोन नम्बर तर उस्ले आफुलाई भन्दा धेरै माया गर्ने उस्की मायाले उस्लाई फोन नम्बर सम्म दिएकी रहिनछ । यो मामलामा उस्लाई निरास नपार्ने हेतुले मैले उस्लाई आफ्नो अनुभब सहितको सुझाब पेश गर्दै भनें , " त्यसो भए अनलाईनमा कुरा गर्दा नै भन न त । अनलाईनमा भन्न त फोनमा या भेट्दा भन्दा सजिलो पनि हुन्छ । " उ फेरी मौन बस्यो । उस्को मौनता बुझ्दै जाँदा थाहा पाएं कि आज भोली माया सँग अन लाईनमा पनि भेट हुन छाडेछ । म असमन्जसमा परें । के सुझाब दिनु , सुझाब दिने ठाँउनै भेटिनं । मैले कस्ती छे नि तिम्री माया ? खै फोटो देखाउ त हेरुं ? भन्दा उस्ले फोटो पनि छैन मागेको थिएं तर दिइन भन्यो ।

उस्लाई लिएर मेरो लागी यो भन्दा ठुलो हैरानी अरु के हुन सक्थ्यो ; मैले कल्पनानै गर्न नसक्ने गरी उ मायाको प्रेममा पग्लिएको थियो । उस्लाई उस्को यो तरल अवस्थाबाट पुन: जमाएर ठोस् स्वरुपमा लानु पर्ने आवस्यकता देखें तर म सँग कुनै उपायनै पनि त थिएन । "किन यसरी, को हो ? के हो ? बुझ्दै नबुझी तिमी एकोहोरो अनि यती गहिरो प्रेम गर्छु भन्छौ ? " यसरी नै मैले सोद्दा- " खै किन किन मलाई नै थाहा छैन म किन यस्तो हुँदैछु । उ सँग अनलाईनमा कुरा गर्दा गर्दै म भित्र यस्तो अनौठो भावना स्वत उब्जियो कि म उस्लाई साँच्चै माया गर्न थालेछु ।" यस्तै थियो उस्को जवाफ ।


त्यो समयमा एक क्षणको लागी म अवाक भएँ । के भन्नु के नभन्नु , फेरि पनि मैले उस्लाई ढाडस दिदै भनें, " यसरी अन्जानको लागि तिमि किन आफ्नो उर्जाशक्ति नै सेलाउने गरेर दुखि बनिरहन्छौ ? आज , अहिले नै ईमैल लेख र पोखिदेउ तिमि भित्रका सारा उकुशमुकुशहरु कमसेकम तिमि हलुका त हुन्छौ । हैन यदि सक्दैनौ भने खै मलाई भन तिम्री मायाको ईमैल ठेगाना म भनिदिन्छु सबै कुरा स्पस्ट शब्दमा ।" यहाँनेर मैले दीपकलाई अति आग्रह मात्र हैन अति जोड नै गरेको थिएँ तर उ अझै पनि शिथिलनै थियो । उस्ले एक छोटो सुस्केराका साथ भन्यो , " हैन , ठिकै छ , छाडिदेउ यो बिषयलाई । मैले वास्तवमा भगवानको हातमा पहिले नै मेरो सन्देश पठाएको थिएँ तर भगवान नै सायद बाटो भुलेर हराए । अब मेरो नियतिमा नै छैन भने जोड गरेर मात्र त केहि हुन्न नि? " दीपकको प्रतिप्रश्नको पनि म सङ्ग कुनै जवाफ थिएन । यो कस्तो प्रेम हो ? म सोच्न थालें । किन मान्छेहरु यसरी अन्जान प्रेमको पासोमा घाईते भएर अल्झिन्छन ? दीपकको सन्देश बोकेर जाने भगवान हराउनुको तात्पर्य मैले बुझिनं । म अवाक उस्को भगवान हराएपछीको अनुहार हेर्न थालें जहाँ पल प्रतीपल उदाशी र बेचैनी को भावरेखा थपिंदो थियो ।