Monday, November 27, 2006

गजल : फेरी पनि ढाँट्न सक्छन ।

ढाँटेकै हुन पहिले पनि फेरी पनि ढाँट्न सक्छन ।
आज मिले झैं गर्नेहरु भोली फेरी फाट्न सक्छन । १

आफ्नो टाउको जोगाउन परेवा उडाई हिंड्नेले ,
के भर छ र ? भोली फेरी हाम्रो घाँटी काट्न सक्छन । २

आफ्नो शालिग घोडामाथी चढाई यिनीहरुले नि ,
शहिद गेट्मा शहिदको फेरी हात छाँट्न सक्छन । ३

आज जस्लाई नङ्ग्याएर तह लाउने किर्या खा'छन् ,
भोली फेरी यिन्ले उस्कै तलुवा धरी चाट्न सक्छन । ४

झुप्रै पिच्छे पुगी यिन्ले यो त्यो गर्ने वचन त दिए ,
दर्बार भित्र कुर्शी देखी त्यो वचन् नि साट्न सक्छन । ५

दाशताको साङ्लो खोल्ने नाटक रचेर यिन्ले भोली ,
फेरी हाम्लाई झुण्ड्याउने लठारो नि बाट्न सक्छन । ६

यो गजल मैले नेपाली पोष्ट डटकमलाई र नेपाली कविता डट कमलाई पठाएको थिएं सायद त्यहाँ योग्य ठहरिएन क्यार - अथवा कुनै ठाँउमा प्रकाशित भै सकेको गजललाई आफ्नो पत्रीकामा नराख्ने मानसिकताले राखिएन होला , तर हाम्रोदेश ब्लग चलाउनुहुने मित्र संकल्प जी ले बडो स्नेह पुर्बक हाम्रो ब्लगमा राखिदिनु भएको छ । संकल्प जी प्रति आभारी छु ।

No comments: