Sunday, July 27, 2008

अबोध परेलीहरुको बारेमा

केहिदिन अगाडी देखि नै मैले ब्लगमा अबोध परेलीहरु नामको यौटा कसैले नसुनेको गिती एल्बम सुन्न उपलब्ध गराएको थिएँ तर त्यसको बारेमा केहि लेखेको थिईनँ । कसरी लेखौं के लेखौं भनेर सोच्दै त थिएँ तर लेख्ने ताक कहिल्यै परेनछ त्यसैले आज जे त परोस यसरी नै लेखिदिन्छु भन्दै लेख्दैछु ।

झण्डै वर्ष दुईवर्ष अगाडी देखि मेरो ब्लग नियमित पढ्नेलाई त अबोध परेलीहरुको बारेमा थाहा छ होला तर शुरुवात देखि मेरो ब्लग पढ्ने शुभेच्छुक ज्यादै थोरै छन र लिखित कमेण्ट गर्दैनन । जे होस अबोध परेलीहरु नामको यो अल्बम पनि बजारमा निकाल्ने सोच थियो मेरो तर एक अञ्जुली मायाको हविगत देखेर त्यो मन मारें । मैले एक अञ्जुली मायाका दश गीतहरु शुरुमा रेकर्ड गराउँदा त्याँहा रुवि जोशीको स्वरको र प्रदिपराज पाण्डेको स्वरको गीतहरु थिएनन , शट्टामा त्याँहा सुधा शर्मा र टिका भण्डारी / दीन्जु कार्कीको स्वरको गीतहरु थिए जो अहिले अबोध परेलीहरु नामको एल्बममा क्रमश नम्बर ७ र ८ ट्र्याकमा छन ।

एक अञ्जुली मायाका दश गीतहरु नेपालमा रेकर्ड भएर मलाई पठाईएको बेला थियो , मेरो एक जना घनिष्ट मित्र (महिला) ले मलाई सुधा शर्मा र दीन्जु कार्की तथा टिका भण्डारीको स्वरमा भएको गीतले एल्बमको वजन घटाउंछ अत अरु दुई वजनदार गीतहरु तिन्को शट्टामा बनाउनुहोस भन्ने सल्लाह दिनुभयो । वहाँको तर्क ' तपाईंलाई कसैले चिन्दैनन , पहिलो पल्ट एल्बम निकाल्दैहुनुहुन्छ र त्यसैमा तपाईँकि छोरी र भान्जी ( क्रमश दीन्जु कार्की मेरी छोरी र सुधा शर्मा मेरी भान्जी ) को गीतहरु राख्नुभयो भने मान्छेले राम्रो मान्दैनन ' भन्ने थियो ।

अलिक त म रनभुल्लमा परेको थिएँ । किन मान्छेहरुले त्यस्तो सोच्छन र ? कसैलाई नयाँ प्रस्तुत गर्नुपर्दा त्यसरी नै गर्न उपयुक्त हुन्छ भन्ने मेरो ठम्याईले पनि ठाउँ छाड्यो । होला पनि भन्ने लाग्यो र टाउको दुखाउन तिर नलागेर थप दुई गीतहरु रेकर्ड गर्न पठाएँ जुन रुवि जोशी र प्रदिपराज पाण्डेले गाउनुभएको छ । एक अञ्जुली मायाको लागी गीतहरु पुग्यो तर दुई गीतहरु अलपत्र हुनेभए ।

अब समस्या ति दुई गीतहरुलाई के गर्ने भन्ने भयो । टिका दाईसंग सल्लाह गरेर अलि कम लगानीमा अर्को यौटा एल्बम बनाउने , सुधा र दीन्जुलाई मात्र निकाल्ने , ति उब्रिएका ( पहिले नै रेकर्ड भै सकेका ) दुई गीतहरुमा अरु ६ वटा गीतहरु थपेर आठवटाको अर्को एल्बम तयार गर्नेजस्ता सल्लाह भए । मैले बाँकी ६ वटै गीतहरु अरु अरु गीतकारहरुको गरौं र अलग अलग संगितकारहरु राखौं भन्ने कुरा राखें । टिका दाईले हैन सबैमा संगीत मै गर्छु बरु थप दुई गीतहरु तपाईंको राखौं बाँकी चारवटा म खोज्छु भन्नुभयो र त्यसै गरियो । त्यसो गर्दा मैले लेखेका थप दुई गीतहरु अहिले ट्र्याक दुईमा रहेको दिन्जुले गाएको 'मेरा साना हातहरुमा' भन्ने र ट्र्याक ३ मा रहेको सुधाले गाएको 'मलाई सपना नदेउ' भन्ने , एल्बमको शिर्ष गीत मानिएको परेका छन । अर्थात मेरो ब्लगमा राखिएको अबोध परेलीहरुको प्लेयरमा ट्र्याक २ , ३ , ७ र ८ मा भएका गीतहरु मेरा शब्दहरु हुन भने ट्र्याक १ को शब्द गीतकार ज्ञानेन्द्र गदाल दाईको र ट्र्याक ४ , ५ र ७ का शब्द सरुभक्तको रहेका छन र आठैवटा गीतको संगीत संयोजन टिका दाईले ( संगितकार टिका भण्डारी ) गर्नुभएको छ । यसरी यो एल्बम तयार भै सक्दा उता एक अञ्जुली माया को विमोचन गरिसकिएको थियो तर बजार लिन सकिरहेको थिएन ।

यसरी आठ वटा गीतहरुको यो एल्बम तयार पारेर पनि विभिन्न कारणहरुले अहिले सम्म बजारमा लान सकेको छैन । केहिदिन अगाडी देखि ब्लगमा राखेको त थिएँ तर यस्को परिचय सम्म दिएको थिईंन । त्यसैले आज यति लेखेँ । आउनुहोस् आज तपाईँलाई म मेरी छोरी दीन्जु कार्की संगपनि परिचय गराउँछु । २०५६ साल जन्मिएकि मेरी छोरी हाल भारतको पश्चिम बंगालमा पर्ने सिलिगुरी / सिलिगुडी ( हामी गाउँले जिब्रोले सिलगढि पनि भन्छौं ) मा मेरी दिदीको घरमा बसेर पढ्दैछिन् र पछिल्ला ३ वर्ष देखि संगीत पनि सिक्दैछिन् ।

उनको यो तस्विर काठमाण्डौमा गीत रेकर्ड गराउन गएको समयमा खिचिएको हो ।

Saturday, July 26, 2008

गजल : मौका उछिटे ठुलाले

साना जुर्मुराए परिवर्तन ल्याए मौका उछिटे ठुलाले ।
न रंग छ न छ कुनै ढंग भनि सानालाई सिटे ठुलाले ।

साना झुकेनन् निहुरिएनन् शिर ठाडो गरेर उठिरहे ,
पख्लास ए ! तलाईँ भनेर कड्कीएर दाह्रा किटे ठुलाले ।

शुरु भो खेल सुकिला मैला बिच , खुल्लमखुल्ला बजारमा ,
रेखा विभाजनको मेटिनेछ भन्थे , दलित पिटे ठुलाले ।

नयाँ आकासमा स्वतन्त्र श्वास फेर्ने सानाको चाहनालाई ,
बन्द , हड्ताल र जुलुस् बनाई सडकमा घसिटे ठुलाले ।

भागबण्डा कुर्शीको लगाए उनैले र माथी बस्ने को भन्दै ,
म्यारिज बनाई परिवर्तनलाई तासमा फिटे ठुलाले ।

भन्दैथिए जलाउंछौं शान्तीको 'दीपक' घरघर सर्बत्र ,
सल्काएर राँको निर्धा झोपडी ति आगोमा अँचिटे ठुलाले ।

केहि अगाडी लेखेको यो गजल पनि ड्राफ्टमा बसेको थियो आज राख्दैछु ब्लगमा ।

Friday, July 25, 2008

उपराष्ट्रपति Jhaa चाहिँदैन

अपडेट गरिएको : समाचारमा फेरी चरेसानन्द ले दौरा सुरुवाल र ढाका टोपी लगाएको देख्न / सुन्नमा आयो । हगिसक्यो दौलो देख्यो भन्ने हाम्रो उखानै छ तर त्यो चरेसानन्दले दौरा सुरुवाल लगाएकोलाई त त्यो उखान अनुशार हेर्न पनि मिल्दैन किनकि उसले त हग्नेबेलामा दैलो नै खोजेन भन्दा हुन्छ ।

( सुन्दा अलि फोहोरी लाग्ने उखान प्रयोग गरेर लेखेकोमा कसैलाई मनपरेन भने अहिले नै माफ माग्छु तर कमेन्टमा भने ढुक्क भएर लागेको लेख्न सक्नुहुन्छ । )

यो चरेसानन्दले नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई अपहेलना गर्दै नेपालको राष्ट्रभाषाको पनि अपमान गरेको छ र संविधान विपरित बिदेशी भाषामा उपराष्ट्रपति जस्तो पदको सपथ लिएको छ तसर्थ यस्लाई तुरुन्त बर्खास्त गरियोस र अर्को सुयोग्य र राष्ट्रप्रेमी नेपालीलाई उपराष्ट्रपति चयन गरियोस । यो गद्दार Jhaa पट्टक्कै चाहिंदैन ।


( मेरो धारणा यस्तो हो हेरौं हाम्रा राष्ट्रप्रेमी दल र नेताहरुले के गर्दा गराउंदा रहेछन । )

______________________

मलाई उपराष्ट्रपतिको नाम पनि नेपालीमा लेख्न मन लागेन । जव उस्ले नेपालको उपराष्ट्रपति जस्तो गरिमामय पदको सपथ पनि संविधान विपरित हिंदी भाषामा लिछ भने म उसको नाम किन नेपालीमा लेखुँ ?

काकताली परेर उप राष्ट्रपति भएका , बिगतमा चरेस काण्डमा मुछिएर अझै सम्म ह्वास्सै गन्हाएका Paramananda भनाउंदा , स्वाभिमानी नेपालीको नाकलाई सात समुन्द्र पारीको देशमा पनि ठ्वांस्सै गन्हाउंदा , Jha ले उप राष्ट्रपति (राष्ट्रकै शिर) जस्तो गरिमामय पदको सपथ लिँदा नेपालको राष्ट्र भाषामा नलिएर हिंदी भाषामा सपथ लिएको बारेमा देशभर विरोध भै रहेको छ । म पनि आफ्नो ब्लगमा ति पाखण्डी उपराष्ट्रपतिको घोर विरोध गर्न चाहन्छु । त्यस्ता उपराष्ट्रपति चाहिंदैन हामीलाई । उनको विरोध तवसम्म नरोकियोस जवसम्म उनको राजिनामा आउंदैन । मलाई ठिक लागिरहेको थिएन यो उप राष्ट्रपति चुनिएकोबारेमा , पछिल्ला राजनीतिक घट्नाक्रमहरु देखेर मेरो नयाँ नेपालको हौसला त्यसै सेलाउंदै थियो त्यस्तैमा यो देख्नुसुन्नु पर्दा ति कागताली पारेर कुर्शी हत्याउने चरेसानन्द संगै हालका प्रधान मंत्री कोईराला र जेठो दल बनेर नाक मात्र ठड्याउने तर यौटा माखो मार्न नसक्ने माखोवादी ( माओवादी ) लाई पनि सराप्न मनलाग्छ तर मेरो श्राप तिन्लाई लागे पो त ? न तिन्लाई श्राप लाग्छ कसैको न सुझाव लाग्छ , त्यसैले त यसरी बन्दीछाडा भएर गति देखाउंदैछन त Jhaa जस्ता गद्दारहरुले ।

मैले ब्लगमा असल नागरिक हुनुको कर्तव्य पुरा गर्न सकेको थिईनं , यो भाते Jha र राष्ट्रपति यादवलाई शुभकामना लेखेर तर अहिले लाग्दैछ मैले ठिकै गरेछु , यादवलाई पनि राष्ट्रपति भएकोमा त्यसबेला शुभकामना लेखुँला जतिबेला उनले ईमान्दारी पुर्वक आफ्नो कार्यकाल सक्नेछन , अहिलेलाई बाँकि नै रहोस तर यो Jhaa लाई तुरुन्त कारबाही होस ।

Monday, July 21, 2008

गजल : तिम्रो ख्याल आयो

एक्कासी अहो ! आज तिम्रो ख्याल आयो ।
यादमा तिमी सिँगारिने झ्याल आयो ।

लुक्यो कि अजंग सिँह म भित्रबाट ,
सामुन्नेमा फटाहा लोभि स्याल आयो ।

कटाक्ष जो देखें तिम्रो ऐना अगाडी ,
हरे ! मेरो त लौ मुखैमा र्‍याल आयो ।

तड्पीयौ कि त तिमी पनि विरहले ,
र तिम्रो याद यस्तरी छ्याल्ब्याल आयो ।

एक्लिएर 'दीपक' पग्लिँदा तापमा ,
शितल तिम्रो प्रेमको सिँयाल आयो ।

त्यसो त नेपाली गजल ग्रुपमा मैले राखे मध्ये धेरै गजलहरु दोषपुर्ण देखिएका छन् तरपनि मैले लेख्न छाडेको छैन र त्यही क्रमलाई जोड्दै यो यौटा गजल भर्खरै तयार भएको राखेको छु ।

Sunday, July 20, 2008

लघुकथा : बुझाई

संधैझैं सुब्बिनी भाउजु आठबजेतिरै खर्दारको मिलमा पुगिन् । उनको काम धानमिलको गोदाम , धान सुकाउन आँगनमा सिमेण्टले बनाएको ठुलो चट्टान र मिल राखेको घर सफागर्नु हुन्थ्यो साथै फाटेका बोराहरु सिलाउनु , छरिए पोखिएका धानचामल भेलागरेर केलाई कुलाई गरी जम्मा गर्नु जस्ता अतिरिक्त काम पनि आईपर्थ्यो उनलाई ।

मिलको आँगनमा खर्दार अरु एकदुईजना मान्छेहरुसंग कुरा गर्दैथिए । संधै त यसबेलासम्म मिल चल्न थालिसकेको हुन्थ्यो । आज के भएछ भन्दै उनि त्यतै गईन । उनिहरु भन्दैथिए , ' हैन यो ईन्धनको मुल्य पनि असाध्यै बढ्यो । यो सबै ईराक वारको परिणाम हो । '

मनमनै सोचिन् उनले 'यो ईन्धन भनेको चैं के र'छ ? मुल्ले बडो भन्छन ।'

उनिहरुको कुरा बुझ्ने प्रयत्न गर्दैथिईन् सुब्बिनि भाउजु , खर्दारले भने , 'ए भाउजु आज काम नहुने भो तिम्रो । दुख मात्रै पाईछौ यहाँसम्म आउन । अब मिल चलाई नसक्नु भै'गो । घर गए हुन्छ ।' उनले फर्कने आदेश पाईन् र लुरुलुरु फर्किन् ।

उनको मनबाट ईन्धन हटेन । कस्तो खालको धन होला यो ईन्धन भन्ने ? जिज्ञाशा भै रह्यो उनलाई । घर पुगेर छोरालाई सोधिन् , ' ए कान्छा ? हैन यो ईन्धन भनेको के रै'च हँ ? '

' किन चाहियो तिम्लाई ईन्धन र सिन्धन ? खै मलाई स्कुल जान ढिलो भै सको २० रुपियाँ देउ , डटपेन छैन । कतिदिन अर्काको मागेर लेख्नु ? ' सात कक्षामा पढ्ने कान्छाले उल्टै उन्को सातो खायो ।

' हैन ई छोराछोरी पढार पनि सुख छैन नपढार पनि सुख छैन ' पोल्टाबाट सुर्काने थैली झिक्दै भनिन् उन्ले , ' के राम्रै पात्तिएको ? नबुझेको त सोध्नै नहुने । ई ला बिस छैन दश लैजा , आफ्नो त दुमो पनि रहेन भएजति सबै तँलाई नै ठिक्क छ । '

उनको हातबाट चिलले चल्ला झम्टिएझैं दशको नोट थुत्दै कान्छाले भन्यो , ' चाहिएको पनि दश नै थियो तर दश भनेको भए पाँच देखाउंथ्यौ । मलाई था'छैन र ? ईन्धन भनेको मोटर गाडी चलाउने , मिल चलाउने र ठुला ठुला कार्खाना चलाउने तेल हो , भयो अब त ? ' कान्छा हान्नियो स्कुल तिर ।

' ए तेई भ'र पो मिल बन्द भएछ । तेत्रा खर्दारले पनि किन्न नसक्ने गरेर बढेछ है ईन्धनको मुल्ले त । धन्न हामी गरिबलाई त्यो ईन्धन नभए नि हुने नत्र हामी गरिबले के किन्न सक्थ्यौं होला र ? ' मनमनै गमिन् सुब्बिनी भाउजुले र प्रकट मै भनिन् , ' अब बुझें ईन्धन भनेको पनि । आँखिर कान्छालाई पढाको काम त लाग्यो । '

बिहानै घाम लाग्ला जस्तो भएपनि अहिले बाहिर पानी पर्न शुरु भैसकेको थियो । सुब्बिनी भाउजुको दिनभर काम केहि नै थिएन त्यसैले कान्छाले पकाएको भात खाएर घर बन्द गरेर गाउँतिर लागिन् । दिनभरी गाउँमै बिताईन् उनले न उनको बस्तुभाउ हेर्नु स्याहार्नु थियो न अरु कुनै काम । साह्रै फुर्सदिली थिईन् सुब्बिनी ।

साँझ घर आएर भात पकाउन अगेँनोमा आगो जोर्न के खोजेकी थिईन् उनिसँग घरमा मट्टितेल रहेनछ । लौ खा परेन अब फसाद ? सण्ठी , स्याउला सबै झरीले ओसिएको मात्र छ । थोरै मट्टितेल नचुहाए आगो सल्किनै मान्दैन । अब के गर्ने ? पकाएर खानु त पर्यो ; भएन राती सुतुञ्जेल कुप्पि पनि बाल्नै पर्यो । साँझ हस्याङफस्याङ गर्दै खर्दारको घर पुगिन् उनि । उनको लागी काम , दाम , माम सबै कुरामा हेरदेख गर्ने खर्दार नै त थिए । आँगनमै खर्दारकि श्रीमती भेटिईन् , ' ए दुलई लौ मेरो त अगेँनोमा आगै सल्केन अलिकति मट्टितेल पैंचो दिन्थेउकि भनेर आ'की , भोलीपर्सी किनेर दिम्ला........ ' सुब्बिनीले कुरा सक्नै पाएकी थिईनन् खर्दारले भने , ' हैन ए भाउजु त्यही तेल नपाएर आज देखि मिल बन्द भो , कतिदिन भैसक्यो किन्नलाई पैसा ले'र जाँदा पनि पाईएको
छैन , कहाँबाट ल्याउने हो मट्टितेल ? धन्न ग्याँसले थेगेको छ हाम्रो त्यो पनि भरैभोली देखि सकिन्छ ।'

कुन्ताको अँध्यारो त्यसमाथी अँध्यारै मुख लाएर फर्किनुको बिकल्प थिएन सुब्बिनीसँग । फर्किंदा बाटोमा सोच्दै थिईन् उनि , ' थुक्क ! यो ईन्धन भनेको त हामी गरिबले बाल्ने मट्टितेल पनि पो रहेछ । बल्ल अब चैं बुझें ईन्धन भनेको , गरिबसँग नहुने भएपछि धन नै त भयो नि ईन्धन भने नि जुन् धन भने नि , थुक्क ! ईन्धन । ' अँध्यारोमा सुमुसुमु घर फर्किन् सुब्बिनी भाउजु ।

नेपालमा पछिल्लो पटक ईन्धनको मुल्य बढेकोमा विरोध गरिएको खबर सुनेको बेला लेखेको यो न नयाँ न पुरानो लघुकथाले यतिबेला गर्जो टार्दैछु ब्लगमा ।

Thursday, July 17, 2008

गजल : एक एक 'अक्षेर'मा रुवायौ

मर्म लेखेर गजलमा पियारी शेर शेरमा रुवायौ ।
मतला देखि मक्तासम्मै एक एक 'अक्षेर'मा रुवायौ ।


हिसाब दुरुस्त निकाली देखायौ माया कति गरेका थ्यौं ,
रुवायौ मलाई आँखिर पियारी थोरधेरमा रुवायौ ।


चर्चा बटुल्यो तिम्रो गजलले सुन्छु बजेको जहिंतहीँ ,
पूजाआजा , बिहेबटुलो अनि भोजभतेरमा रुवायौ ।


आत्मग्लानिले गलेर फत्तक्कै हररात आँखैमा बित्छ ,
सक्दिनं म श्वास फेर्न दिनमा , साँझसबेरमा रुवायौ ।


दुरी भुगोलको टाढा हुँदा नि गजलले आएर छोई ,
आँखिर पियारी 'दिपे'लाई घोप्ट्याई 'पएर'मा रुवायौ ।

म जिउँदै छु - मरिगा'को छैन भनेर त कम् से कम् साथीभाईलाई जानकारी दिनैपर्ने भयो भनेर यो पुरानो ( धेरै पुरानो पनि हैन ) गजल राख्दैछु । अझैपनि मलाई ब्लगमा नियमित देखापर्न गोडा दुई एक दिन लाग्न सक्ला । यो बिचमा मलाई खै गर्नुभएकोमा दिलीपजीलाई पुन एक पटक धन्यवाद भन्दैछु ।

Saturday, July 05, 2008

विदाई हवाईलाई

म आज साँझ ५ . ५५ मा माउईबाट हवाईयन एयरलाईन्स चढेर अधाघण्टा पछि ओहावो ( होनोलुलु ) झर्दैछु र त्याँहाबाट रात ९ . १५ मा अलास्का एयरलाईन्स चढेर अलास्का ( एँकरेज ) को लागी उड्दैछु । भोली बिहान ५ . १५ मा म त्याँहा पुग्नेछु । हवाईसंगको निकटतालाई अब म सम्झनामा लपेटेर लाँदैछु भने अलास्कासंग नयाँ सम्बन्ध जोड्न गै रहेछु ।

यतिखेर मलाई 'समय नै ईश्वर हो समयले हिँडाउंछ' भन्ने गीत याद आईरहेछ भलै म समयले हिंडाएर हैन आफ्नै रहरले ( अलास्का हेर्ने ) त्याँहा जाँदैछु । हवाईको विदाईमा निकै लामो गरेर लेख लेखुँला भन्ने थियो मनमा तर यतिखेर म धेरै केहि लेख्न सकिरहेको छैन । अलास्का पुग्ने उत्तेजना र हवाई छोड्ने खल्लोपनाको संमिश्रणले न्युट्रलमा बसेझैं महसुस भैरहेछ । हवाई छाडेपछि सबैभन्दा धेरै म यहि सुन्दर समुन्द्र किनारलाई सम्झनेछु । यहि किनारसंग मेरो गहिरो आत्मियता गाँसिएको थियो ।


Wednesday, July 02, 2008

गजल : भाँची राख

धेरै दिन भैसक्यो केहि नलेखेको आज त लेख्छु भनेको लेख्न लागेको कुरा अधुरै छ । त्यसैले केहि अगाडी ड्राफ्टमा राखेको यो गजललाई नै यहाँ राख्दैछु ।

उमेर औंलासंगै पितृको भाँची राख ।
हाईसञ्चो हुनेभो भनेर नाची राख ।
बाँचुञ्जेल पितृसेवा नगर्दा नि भयो ,
काजक्रियामा त गरें भन्न साक्षीराख ।
दुखसागरमै रहे छउञ्जेल जिउ ,
तराउ बैतरणी गाईको बाछी राख ।
खाली खुट्टा , आधाजिउले जुनी बिताए ,
वस्त्रदानमा सृजन्तैसंग काछी राख ।
बनाउ एक चौतारो दोबाटो खोजेर ,
सम्झनामा वरपिपलको गाछी राख ।
रहिनन लौ बुहारी अब प्रिय तिम्री ,
फेरेर नाउँ मन्दाकिनी , मिनाक्षी राख ।

रहेन बुहार्तन् अब तिम्री प्रियलाई ,
फेरेर नाउँ मन्दाकिनी , मिनाक्षी राख ।

मैले मक्तालाई सक्दो सच्याएको छु , अब हुन्छ कि ?