Saturday, July 26, 2008

गजल : मौका उछिटे ठुलाले

साना जुर्मुराए परिवर्तन ल्याए मौका उछिटे ठुलाले ।
न रंग छ न छ कुनै ढंग भनि सानालाई सिटे ठुलाले ।

साना झुकेनन् निहुरिएनन् शिर ठाडो गरेर उठिरहे ,
पख्लास ए ! तलाईँ भनेर कड्कीएर दाह्रा किटे ठुलाले ।

शुरु भो खेल सुकिला मैला बिच , खुल्लमखुल्ला बजारमा ,
रेखा विभाजनको मेटिनेछ भन्थे , दलित पिटे ठुलाले ।

नयाँ आकासमा स्वतन्त्र श्वास फेर्ने सानाको चाहनालाई ,
बन्द , हड्ताल र जुलुस् बनाई सडकमा घसिटे ठुलाले ।

भागबण्डा कुर्शीको लगाए उनैले र माथी बस्ने को भन्दै ,
म्यारिज बनाई परिवर्तनलाई तासमा फिटे ठुलाले ।

भन्दैथिए जलाउंछौं शान्तीको 'दीपक' घरघर सर्बत्र ,
सल्काएर राँको निर्धा झोपडी ति आगोमा अँचिटे ठुलाले ।

केहि अगाडी लेखेको यो गजल पनि ड्राफ्टमा बसेको थियो आज राख्दैछु ब्लगमा ।

No comments: