Wednesday, June 25, 2008

गजल : सुन्दर यौटा फोटो होस्

यो भन्दा अघिल्लो पोष्टमा राखेको कविता ' बाग्मतीको नियति ; गति नेपालको ' मा कमेण्ट गर्दा मैले ब्लगमा राखेको फोटोमाथी पनि जोडदार कमेण्ट ठोकिदिनुभएको थियो कसैले Anonymous भएर । मलाई फोटोले साँच्चै सोचमा डुबायो र फोटो फेर्न नै बाध्य तुल्यायो । फेरेर अर्को राम्रो फोटो राख्ने ईच्छा भयो तर राम्रो फोटो पाईनं । फोटो राखेजति सबै फाईलहरु खोजें र बल्ल यौटामा चित्त बुझाएर ब्लगमा राखें । त्यसबेलासम्म मलाई फोटो शब्दले झोंक चलाईसकेको थियो । के को राम्रो चाहियो नि फोटो सोटो भन्दैथें फोटो शब्दमै यौटा गजलको काफिया बन्ने सम्भावना देखें तब त के चाहियो लागें कस्सिएर फोटोलाई काफिया बनाएर यौटा गजल लेख्न । र लेखें यस्तो -

रुप यो कुरुप संधैको छ सुन्दर यौटा फोटो होस् ।
गाँसोस् साईनो त्यै फोटोले त्यो लामोहोस् न कि छोटो होस् ।

शुशिल हुन उनि अझ सुन्दर हुन विचारमा ,
के नै नाप्छ र रुपले भलै शरिर थोरै मोटो होस् ।

सिंगारिनु किन ? मेरो ज्यान सधैं धुलोमाटो मै छ ,
उनको मुखेञ्जी पर्दा तर सुकिलो यौटा भोटो होस् ।

ईज्जत र प्रेम दिई उनलाई सुखी राख्न सकुँ ,
बस्ने कुटी , लाउने सुती अनि खाने आटोरोटो होस् ।

जुनै किन छुनुपर्यो र हाँस्न सकुँ भुईँमै तर ,
चाहंदैन 'दीपक' फेरी नि भाग्य उसकै खोटो होस् ।

धन्यवाद अज्ञातजीलाई , यो गजल भेंट तपाईंलाई । फेरी आउनुभयो भने तपाईंले पनि भनिदिनुहोला है त कस्तो भयो ?

Tuesday, June 24, 2008

कविता : वाग्मतीको नियति ; गति नेपालको

कठैबरा ! वाग्मती
कहिल्यै बग्न सकिनन्
स्वतन्त्र भएर सलल
खोसे मान्छेहरुले
स्वतन्त्रता उनको
खुल्न नसकेर कहिल्यै
पर्यावरणको तन्तु
मान्छेहरुको चेतमा
मात्रै सडकहरु बगिरहे
जुलुश भएर सलल
न रोक्यो कहिल्यै
पेटीमा थुपारिएको डंगुर फोहोरले
डण्डीफोर निचोरेको अनुहार जस्तो
काठ्माण्डौ खित्का छाड्छ
खुट्टा उचालेर अधुरो खुशीमा
नयाँ बजार
यौटा विचार भड्काउंछ
वालुवाटार
यौटा विचार अड्काउंछ
बल्खु ट्वाल्ल परिरहँदा
नयाँ बानेश्वर
लाजले टाउको झुकाउंछ
र भन्छ
काठ्माण्डौ बाहिर
खै नेपाल कहाँ छ ?
कर्णालीको आवाज
आवाजहरुकै भिडमा बिलायो
अब त रोल्पापनि
काठ्माण्डौ मै हरायो
निमुखो रत्नपार्क बरा !
अझै विचार बगाउंछ
उरालेर मान्छेहरु सडकमा
लहर - लहर
तरंग - तरंग
जुलुशहरुमा सलल
स्थिरप्राय: वाग्मती
पुलुक्क हेर्छिन काठ्माण्डौलाई
र भन्छिन
कठैबरा ! गति नेपालको
उन्को र मेरो नियति उस्तै
संधै रोकिनुपर्ने आफ्नो गति
स्वतन्त्रता गुमाएर
अरुअरुले नै बनाएको फोहोरमा ।

Monday, June 23, 2008

दुई गफहरु

गफ एक -

केहिदिन अगाडी मैले ब्लगर साथी आकारको ब्लग http://aakarpost.blogspot.com/ मा डा . कृष्णहरी बराल सरको गीतहरु सुनेको थिएं त्यसबेला मलाई आफ्नो ब्लगमा पनि किन आफ्नो गीत नबजाउने भन्ने लाग्यो । आकारजीसंग ईमेलमा सम्पर्क गरेर कसरी गर्ने भन्ने सोधिखोजी गरेर आज आफ्नो गीतहरु आफ्नै ब्लगमा सुन्नलाई उपलब्ध गराउन सकेको छु र यसमा मलाई खुशी लागेको छ । आकारजीलाई सहस्र धन्यवाद दिन चाहन्छु यसको निंती ।

मैले एक अञ्जुली माया नामको गिती एल्बम गतवर्ष नै तयार पारेको हुँ । आफैंले सबै खर्च बेहोरेर तयार पारेको यस एल्बमलाई बजारमा निकाल्ने जिम्मा लिएको धौलागिरी क्यासेट सेण्टरलाई मैले विज्ञापनको जिम्मा समेत दिएको भएपनि न आवश्यक विज्ञापन गर्यो न बजारमा नै कसैले देख्यो मेरो एल्बम । एक त आधुनिक गीतहरुको बजार कम भैरहेको अवस्था त्यसमाथी मलाई यसबारेमा धेरै थाहा नभएको र म यता अमेरिकामा भएको ; के चाहियो र धौलागिरीलाई झण्डै ३०० सिडीहरु र १०० / २०० क्यासेटहरु मलाई नै बेचेपछि धौलागिरीले मेरो एल्बम बजारमा पनि किन लानुपर्थ्यो र ? मसंग धौलागिरी प्रति असंतुष्टी भएपनि उसलाई केहि गर्न सक्ने अवस्थानै थिएन । यस्ता कुराहरुमा नियत नै ठग्ने भएपछि कस्को के लाग्छ ? न गीत संगितको क्षेत्रमै गतिलो कानुन छ (कुनै क्षेत्रमा नभएको) । खै बजारमा मेरो एल्बम किन देखिंदैन भन्दा विज्ञापनमा खर्च गर्नुपर्यो नि भन्ने जवाफ पाईने । आफ्नो तर्फबाट पनि विज्ञापनको निंती केहि नै नगरेको हैन तर स्थिती यस्तरी देखापर्दै आयो की विज्ञापनको लागी जतिनै गरेपनि हातलागी शुन्यको शुन्यनै हुने तसर्थ मैले बरु चुपचाप बस्नु नै निको ठानें । बरु मलाई अहिले खुशी लागेको छ ब्लगमा आफ्नो गीत सुनाउने उपाय फेला पारेर । मैले एक अञ्जुली माया नाम दिएर बनाएको अनलाईन गिती संग्रह ( http://ekanjulimaya.blogspot.com/ ) मा पनि मेरा गीतहरु सुन्ने ब्यावस्था गरेको छु ।


गफ दुई -

अहिले ईन्टरनेटको माध्ययमले हामी आफुले लेखेको गीत , कथा , कविता , गजल जेसुकै पनि तुरुन्तै सबैलाई बांड्न सक्छौं । ब्लग चलाउनेहरुले आफ्नो ब्लगमार्फत , ब्लग नचलाउनेहरुले पनि ईमेल मार्फत कुनै अन्तरजाल पत्रिकाका पठाएर आफ्ना रचनाहरु सबैलाई पुर्याउन सहज भएको छ । मेहनत गरेर कागजको पन्नामा सफासंग लेखि त्यसलाई खामबन्दी गरि हुलाक घर पुगेर पैसा खर्च गरिगरि रजिस्ट्री गरेर कुनै पत्रिकाको ठेगानामा पठायो र आफ्नो रचनाले स्थान पाउंछ कि भनि हरेक अंक किन्यो तर कहिल्यै स्थान नपाउंदा म लेख्न जान्दिनं कि के हो भन्ने भ्रम पाल्यो अनि अरुको रचनाहरु हेरेर हैन यो भन्दा त मेरो राम्रो थियो भन्दै भित्रभित्रै कुंढियो गर्नुपर्ने स्थिती अहिले रहेन ।
साहित्यकै कुरा गर्दा कसैकसैले अहिलेको समयलाई साईबर साहित्यको समय भनेर लेखेको पनि देखेको छु । वास्तवमै म पनि मान्छु यो साईबर साहित्यकै युग हो । आफ्नै कोठाभित्र बसेर हामी आफ्ना रचनाहरु अरुलाई विश्वको हरेक कुनामा सुनाउन सक्छौं । त्यसमाथी क्रिया प्रतिक्रिया गर्न सक्छौं । ईन्टरनेटमा देखापरेका भिभिन्न पत्रिकामा निकाल्न सक्छौं । यहाँ सम्म कि यौटै रचना २/३ वटा ईन्टरनेट पत्रिकामा छपाउन सक्छौं । म आफैंले पनि त्यसो गर्ने गरेको छु । कसैले कतै हेर्लान कसैले कतै , त्यसैले उपलब्ध सञ्जालमा सबैतिर छर्नसके धेरैले हेर्न पाउंथे भन्ने लाग्छ मलाई पनि । तर यो ठिक हो वा हैन भन्ने कुरामा चैं म अन्जान छु । मैले पठाउने गरेको धेरैजसो ईन्टरनेट पत्रिकामा यहाँ प्रकाशित रचनाहरु अन्यत्र प्रकाशित गर्दा स्रोत खुलाउन पर्ने वा मनाहि नै छ भनेर लेखेको देखेको छैन ; बरु कहिँ यहाँ प्रकाशित रचनालाई पारिश्रमिक उपलब्ध गराउंन असमर्थ छौं भन्ने लेखेको देखेको छु तर केहि हिंदी साहित्यिक पत्रिकाहरुले भने त्यस्तो प्रावधान राखेको देखें । जस्तै - http://srijangatha.com/ तव मनमा जिज्ञासा उठ्यो के उनिहरुले रचना संप्रेषण गरेबापत पारिश्रमिक दिने गर्छन र त्यसो गरेका हुन ? के नेपाली भाषाका ईन्टरनेट पत्रिकाले पारिश्रमिक नदिने भएर नगरेका हुन ? पारिश्रमिक दिईने रचनालाई अन्यत्र प्रकाशन गर्दा कि त स्रोत खुलाउनु पर्ने कि त निश्चित अवधीभर अन्यत्र प्रकाशन गर्न नपाउने भन्ने कुरासम्म ठिकै होला तर सित्तैमा रचना लिएर यो रचना अन्यत्र प्रकाशित गर्नुपर्दा स्रोत खुलाईदिनु या अन्यत्र नपठाउनु भन्नु कतिको उचित होला ? के रचनाकारले आफ्नो रचना कतै राख्दा या पठाउंदा जबर्जस्ती कसैको पत्रिकाको स्रोत खुलाएर विज्ञापन गरिदिनुपर्छ र ? अनि आफ्नो रचना प्रकाशनार्थ कुनै पत्रिकालाई दिएको अवस्थामा उक्त पत्रिकाले सित्तैमा रचना लिएर यो रचना अन्यत्र प्रकाशन नगर्नुहोला भन्न उचित हुन्छ ? मैले झैं सानोतिनो रचना लेख्ने कसैले पनि आफ्नो रचनाबाट पारिश्रमिक पाउने आशा गर्दैनन भन्ने मलाई लाग्छ । कुनै पत्रिकामा आफ्नो रचना पठाउंदा प्रकाशित हुनुलाई नै पारिश्रमिक सम्झन्छु म त अझ त्यसमा प्रतिक्रिया पाउंदा पुरस्कार पाए जस्तो महसुस हुन्छ त्यसैले होला सित्तैमा रचना उपलब्ध गराउंदा पनि यो रचना अन्यत्र प्रकाशित नगर्नुहोला भन्ने सुन्नुपर्दा कानलाई अप्ठ्यारो हुंदो रहेछ । (यो मेरो विचार है ; यस सम्बन्धमा नियम चैं के छ मलाई थाहा छैन ।)

Sunday, June 22, 2008

गजल : आधा बाँचें

फेरी गजलकै पालो पर्यो । यस्लाई रोक्नै सकिनं । म हाँसेको कुरा लेख्दैछु तर अझै धेरै घटनाहरु सम्झना आईहाल्छ कि भनेर अलि पर्खन मनलाग्यो र गजल नै राख्दैछु फेरी । मैले वसन्तजीको ब्लगमा शिर्षक विहिन कवितामा कमेण्ट लेख्दा आफ्नो तर्फबाट उक्त कवितालाई शिर्षक दिएको थिएं - 'आफ्नै खल्तिभित्र आधा म' भन्ने । त्यसले मलाई छाड्दैछाडेन र यो गजल लेखें ।

आफ्नै खल्तीभित्र म पनि आधा बाँचे ।
आफ्नै खल्तीभित्र पनि म आधा बाँचे ।
भएर आफ्नै नियतीको प्यादा , बाँचें

हर-हिसाब नमिल्दा हुण्डीमुण्डीमा ,
जिन्दगी कैले कम कैले ज्यादा बाँचें ।

वाँसुरी बजाउंदै आफैं कृष्ण बनि ,
नाम आफ्नै जपेर म राधा बाँचें ।

हत्यारा भनौं कि या भनौ अपराधी ,
शिकार गरेर ईच्छाको , ब्याधा बाँचें ।

कैले बाँधें बाचा कसम कैले तोडें ,
पटक् पटक् तर यौटै ईरादा बाँचें ।

विचारमा बाँच्न जीवन नसके नि ,
रुँदा , हाँस्दा र खेल्दा अनि खाँदा बाँचें ।

भन्नलाई ह्रदयमा 'दीपक' बाली ,
माहात्माको जस्तै जीवन सादा बाँचें ।

Thursday, June 19, 2008

गजल : लाखमा

शिर अडाई तिम्रो काखमा
मायाका कुरा गरुँ लाखमा
टल्के बिन्दुली झल्के त्यो फुली
तिम्रो माथमा तिम्रो नाकमा
वृक्षखोपीमा लुकेर चरी
नाचदै हेर शाखशाखमा
गीत गाएर हाम्रो मायाको
संधै सुनाउंछिन चाखमा
झनै देखिने म नै देखिने
हेरीरहुँ झैं तिम्रो आँखमा
हाम्रो मिलन माथी जलन
गर्ने दुनियाँ जलोस् राखमा ।

वसन्त सरलाई धन्यवाद ! मैले केहि फेरबदल गरेको छु ।

Tuesday, June 17, 2008

म आफैंलाई केलाउंदैथिएं

म आफैंलाई केलाउंदैथिएं । लाग्यो मैले यो हत्ते गर्नु हुंदैन । यो मरिहत्ते पट्टक्कै गर्नुहुंदैन । त्यसैले लाग्यो अब केहिदिन म सोच्दिनं ( नसोचि बस्न सक्ने कुरै भएन ) । हुनपनि उत्पातै गर्दैथिएं म । खै किन यस्तो गर्दैछु म ? कुरा लेखाईको हो । खै के को फुर्ती आएको हो मलाई ? ब्लगमा दिन नबिराई यौटा यौटा कुरा (कहिले गीत , कहिले गजल कहिले के , कहिले के ) राख्न लागेको छु । मेरो ब्लगमा पस्नेहरुलाई पनि दिक्क लाग्छहोला । पछिल्लो पटक यौटा गीत राखेको छु । त्यो लेखाई त्यस्तै परेर जुर्यो । त्यहि कुरा नै मैले पहिले गीतमै लेखिसकेको छु सायद । त्यसैले लेखेर ब्लगमा राखिसकेपछि मलाई स्थाईमा बाहेक अरुकतै मनपरेन त्यो गीत तै पनि मैले त्यो गीत हटाईनं बरु कुनैदिन फुर्सदमा त्यसलाई काँटछाँट गरुँला भन्ने मनमा आयो । त्यसपछि अर्को एउटा गजल केहिदिन अघि मात्र लेखेको राखेको छु । के मसंग ब्लगमा लेख्न अरुकुराहरु छैन ? खाली मैले मेरो ब्लगमा गीत , गजल , कविताहरु मात्र राख्नु ? यो प्रश्न गंभिर भएर मेरो सामु खडा भएको छ आजभोली । त्यसैले म ब्लगमा दिनहुँ पोष्ट थप्न छाडेको छु । त्यसैले मसंग केहि ड्राफ्टहरु थपिएका छन ब्लगमा । थपिउन म धैर्यले राख्दै जानेछु ।

मैले लेखनीमा गुणात्मक वृद्धि गर्दै जानेबेला हो अब संख्यात्मक वृद्धितिर लागें भने लेख्नु र नलेख्नुमा फरक नआउला । यो कुरा मैले लेख्न शुरु गर्दैतिर सिकेको हुँ आफ्नै दाजुबाट । प्रसंग उठेको बेला अलिकति कुरा जोडीहालौं - सानैदेखि मलाई लेखाईमा रुचि बढ्यो तर लेख्नलाई प्रेरणा मिल्ने खालको ठुलो संगत कहिल्यै पाईनं बरु अहिलेलाई मैले निक्कै ठुलो संगत पाएको छु ब्लगर साथीहरुको । सानो छँदा म र मेरो दाजुको होड चल्थ्यो कस्ले किताबमा पढेको कविताहरु रिट्ठो नबिराई कण्ठस्थ पार्ने भनेर , म उसलाई कहिल्यै जित्न सक्दिनथें । उसको दिमाग साह्रै चतुर थियो साथै साह्रै धारिलो पनि म अलि कमजोर नै थिएं तर पनि कविता घोक्ने कुरामा म पनि कम हुन्नथें । म आफुले कक्षामा दुई वर्षपछि पढ्नुपर्ने दाजुको किताबको कविता पनि सर्लक्कै कण्ठ पार्थें । म पाँचमा हुँदा हो बेलुका पढ्न हामी तिनजना भेला हुन्थ्यौं म मेरो दाजु र अर्को पनि मेरै दाजु , फुपुको छोरा । उनिहरु दुबै सातमा थिए । एक बेलुका मैले उनिहरुलाई धमास दिएं ' तिमरको किताबको कोपिला कविता मलाई कण्ठ छ ' भनेर । उनिहरुलाई कक्षामा नपढाएको पाठ भएकोले उनिहरुले पढेका भएपनि घोकेका रहेनछन तर मलाई कण्ठै थियो । उनिहरुले पत्याएनन र मैले कविता भन्नथालें उनिहरु किताबमा हेर्नथाले । मैले नबिराई कविता भनेर जितेको उनिहरुलाई मनपरेन क्यार मेरो दाजुले कविता लेख्ने प्रस्ताव निकाल्यो । सबै मञ्जुर भयौं र कविता लेख्न थाल्यौं । लेखेर सुनाएको कवितामा मेरो दाजुले नै राम्रो लेखेको थियो । मलाई अहिले न दाजुले लेखेको कविता याद छ न मैले त्यतिबेला के लेखेको थिएं याद छ तर मेरो फुपुको छोरा , दाजुले त्यतिबेला लेखेको कविता भने मलाई राम्रै याद छ । उनले यस्तो लेखेका थिए -

त्यो रुखमा बटर पाकेको
मेरो डरले त्यो केटा भागेको ।

हामीले ६/७ हरफ कविता लेख्दा उनले दुई लाईन मात्र लेखेका थिए । त्यसबेला हामीले उनलाई खुब जिस्काएका थियौ । 'बडहर' लाई बटर लेखेको भनेर र उनले नै भनेका थिए लेख्न खोज्दा नजिकैको बडहरको रुख सम्झना आएर लेखेको भनेर । यसरी नै लेख्ने बानीको बिकाश हुंदै गएर पछि ९ /१० कक्षामा पुग्दा मैले कविताहरुले यौटा सिंगै कापी भरेको थिएं । संख्याको हिसाबमा मसंग मेरो दाजुको भन्दा धेरै कविता थिए । त्यो पनि उसलाई मननपरेर हुनुपर्छ दाजुले मलाई भनेको थियो तँ संख्या बढाएर हजारवटा कविता लेख तर मैले गुण बढाएर लेखेको १० वटा कविताले जित्छ । मलाई साह्रै घत लागेको थियो उसको कुरा । यहि कुरा पछि अन्त पनि सिकें मैले तर पहिले दाजुले नै सिकाएको थियो ।

मलाई दाजुले नेपालका कविहरुको बारेमा पनि कतिकुरा बनाएरै भएपनि सुनाउंथ्यो । विचरा ! उसले पनि सिक्न कहाँ पाउंथ्यो र ? हामीदुबैले किताबहरु पढ्न पाउने अवसर उस्तै त थियो आँखिर । जे होस उसले मलाई सुनाएको उसको बनावटी कुरा भएपनि यौटा यस्तो थियो - लक्ष्मीप्रसाद देवकोटा , लेखनाथ पौड्याल र बालकृष्ण सम ( उसले यि नै तिनजनाको नाम लिनु चाँही मलाई गफदिंदा तुरुन्तै सम्झनामा आएका नामहरु हुन सक्छन , अहिले मैले अनुमान गर्दा ) का कविताहरुमा लक्ष्मीप्रसाद देवकोटाका कविताहरु जंगलका फूलहरु हुन त्याँहा सुन्दर लालीगुराँस देखि बनमारा सम्म फुलेका हुन्छन । लेखनाथ पौड्यालका कविताहरु यौटा फूलबारीका कविताहरु हुन त्याँहा छानीछानी रोपिएका सुन्दर फूलहरु सयपत्री , मखमली ईत्यादी हुन्छन तर लालीगुराँस हुंदैन र बालकृष्ण समका कविता गमलाको फूल हो त्याँहा विशेष गरेर फुलाएको गुलाफ जस्ता फूलहरु हुन्छन । यो उसले सिकेको , सुनेको , पढेको आधारमा थपेर मलाई दिएको गफबाहेक केहि नभए पनि केहि हदसम्म मलाई चित्त बुझेको थियो उ बेला । अहिले सम्झंदा लाग्छ हामी फराकिलो आकाश खोज्थ्यौं त्यो बेला , साहित्यमा ज्ञानको सागरमा पौडन चाहन्थ्यौं त्यो बेला तर हाम्रो शिरमाथी न आकाश थियो फराकिलो न पौडनलाई सागर नै कहिँ । अहिले मेरो दाजुले लेख्न छाडीसक्यो लेखिरहेको भए उ म भन्दा धेरै राम्रो लेख्न सक्थ्यो । म चाहीँ लेख्दै नै छु जे पायो तेहि भए पनि निरन्तरता दिईरहेछु लेखनीलाई तर यहि निरन्तरता केहिदिन यता मलाई बिझाउन थालेको भान भैरहेछ ।

अब लेख्दा मैले लेखाईमा आफ्नो वजनको हेक्का राख्नुपर्छ कि पर्दैन भन्ने प्रश्न दिमागमा उठ्न थालेको छ । खासगरी पछिल्ला केहिदिन मैले दिन नबिराई ब्लगमा पोष्ट राख्न थालें । हरेक पोष्टमा कि कविता , कि गीत , कि गजल आदि हुनथाले र अझै नभएर ड्राफ्टको रुपमा पनि बस्न थाले । अन्य मैले नियमित हेर्ने साथीहरुको ब्लगमा कति शान्त र सौम्य तवरले विस्तारै पोष्ट थपेको पाएं त्यसैले मलाई लाग्यो अब मैले अलिकति फरक ढंगले प्रस्तुत हुनुपर्छ बरु ड्राफ्टनै राखेर पनि यस्तै गन्थन मन्थन लेखेर पोष्ट गर्नुपर्छ बरु तर ब्लगमा पस्नेलाई नै दिक्क लाग्ने गरेर एकोहोरो रचना थुपार्नु हुंदैन भन्ने सोच आयो । यहि सोचले लेखनीमा संख्यात्मक हैन गुणात्मक वृद्धि गर्नुपर्छ भन्ने सोचपनि ल्यायो । त्यसो त म सक्दिनं नलेखि । केहि न केहि दिमागमा गुजुल्टिन शुरु भैहाल्छ र त्यसलाई फुकाउन खोज्दा कि त गजल कि त कविता आदिको जन्म भैहाल्छ र अर्कोकुरा के पनि हो भने गुणात्मक वृद्धि गर्नको लागी कम लेख्न थाल्यो भने झन अभ्यासमा कमि हुन गएर गुणमा अझ ह्रास पनि त आउला । एकातिर यो गुण र संख्यालाई ध्यानमा राखेर कम लेख्ने हो कि अझ धेरै लेख्दै जाने हो साँच्चै द्विविधामा परेको छु म भने अर्कोतिर लेख्ने क्रमको गति अझै उस्तै छ खालि ब्लगमा राख्ने क्रममा न्युनिकरण गर्ने सोच बनाएको छु त्यसो गर्नलाई पनि मन थाम्न सक्छु कि सक्दिनं त्यो चैं आफैंले पनि हेर्नैपर्छ ।

Monday, June 16, 2008

गजल : सकेन रोक्न मलाई ।

लर्बराए खुट्टा आफ्नै मानेनन बोक्न मलाई ।
भट्टी पुगें तर मनले सकेन रोक्न मलाई ।
भन्दछन लौ साह्रै बिग्रिस् तँ त बद्री भन्दापनि ,
आफुले चैं कहिले पनि सकिनं जोख्न मलाई ।
धेरै नै भनें कसैसंग कुनै अधिकार छैन ,
पियो भनेर जँड्याहामा हलुकै तोक्न मलाई ।
कैले अबेर घर आईंनं धम्कि पनि दिईनं ,
छाडिनन् कसै गरेपनि प्रियाले टोक्न मलाई ।
होस आफ्नो कहिल्यै गुमाईंन जति पिएपनि ,
जित्न त कसैले सक्दैन कहिल्यै धोक्न मलाई ।
भाटे कार्बाही गर्ने हो भन्दै केटाकेटीले घेरे ,
सम्झाउंदा नि राखेनन् बाँकी तिन्ले ठोक्न मलाई ।
तिम्रा मनको 'दीपक' आँखिर बालिदियौं हाम्ले ,
भन्दै संधै भेटमा तिन्ले छाडेनन् खोक्न मलाई ।

Friday, June 13, 2008

गीत : आज यो के दुख्दैछ नि ?

मसंग नि घाउ छैन , छैन घाउ तिमीसंग नि
भन फेरी हामी बिचमा आज यो के दुख्दैछ नि ?


पाईला जहाँ टेकें मैले त्यहीँ तिम्रो मुटु थियो कि ?
लाग्यो कि कतै त्यो मुटु जानीजानी कुल्चिदियो कि ?
मायाको शिखर आज किनहोला झुक्दैछ नि
भन फेरी हामी बिचमा आज यो के दुख्दैछ नि ?


सक्दिन कि मेरो मायाले यौटा सानो संसार थेग्न
किन सक्दिनं म आफु भित्रको कमजोरी देख्न ?
किन आफ्नै मनको आँखा आफैंबाट लुक्दैछ नि ?
भन फेरी हामी बिचमा आज यो के दुख्दैछ नि ?


कति गाह्रो दुखेरै पनि आज आँखा रुन सक्दैन
दुखेको यो मनले फेरी तिमीलाई छुन सक्दैन
छातीभित्र मायाको मूल किन आज सुक्दैछ नि ?
भन फेरी हामी बिचमा आज यो के दुख्दैछ नि ?

Thursday, June 12, 2008

गजल : कागका हुल छन

बकुल्लो एउटै परें म त यहाँ कागका हुल छन ।
सिध्याउन के बेर मलाई यहाँ बाघका हुल छन ।

जताततै हेर विषालु ति गोमन र करेत जस्तै ,
कर्कट , कुलिर , तक्षकझैं यहाँ नागका हुल छन ।

देखिंन मैले खै के पाएं यहाँ सधैं खाली रित्तो म छु ,
अरुका हेर लौ आफ्ना आफ्ना यहाँ भागका हुल छन ।

झट्ट हेर्दा सबको टाउको मान्छेकै हो झैं देखिन्छ ,
संगत गर्दाकन था'हुन्छ यहाँ छागका हुल छन ।

अंगारको पनि बरु मुल्य होला मेरो तर छैन क्यै ,
बहुमुल्य देखिन्छन सबै यहाँ खागका हुल छन ।

एक्लो यस्तरी भईछस् ए ! 'दीपक' तँ त सडक जस्तै ,
त्यहीं टेकीहिंड्ने अनेकौं यहाँ सुहागका हुल छन ।

Wednesday, June 11, 2008

लघुकथा : भित्रभित्रै

दक्षिण एसियाली मानब अधिकारकर्मीको अन्तरक्रिया अमेरिकामा , साँझको पत्रिकामा समाचार छापियो । दैनिक पत्रिकाले यो समाचार लेखिसक्नै भ्याएको थिएन । सुन्दरमानको सेलफोन घन्किन थाल्यो । अनेक प्रकारका कलहरु आउन थाले । यात्राको शुभकामना दिने र कार्यक्रमको सफलताको शुभकामना दिनेहरु पनि कम थिएनन तर धेरैजसोले सुन्दरमानलाई मानब अधिकारकर्मीको टोलीमा सामेल गराएर एकजनालाई अमेरिका सम्म पुर्याउन सकिन्न भनेर सोधेका थिए । सुन्दरमानले मान्छे हेरीहेरी जवाफ दिए । कसैलाई त्यो त सरासर मानब तस्करी भै हाल्यो नि भने । कसैलाई होईन हजुर मानब अधिकारको निम्ती डटेर लागेको छु म यस्तो काम कसरी गरुं भने । धेरैलाई टाल्दै गएपनि यस्तै कलहरु आउने क्रम जारी नै थियो । अन्तत: कल गर्नेमध्येको यौटालाई उनले प्रश्न गरे , ' हामी यो कुरालाई कतिको गोप्य राख्न सक्छौं त ? ' उताबाट जवाफ आयो , ' त्यसको धन्दा नमान्नुस् न । म समाजमा तपाईंको ईज्जतमाथि आँच आउन दिउंला त ? ' सुन्दरमान एकछिन घोरिए र भने , ' हुन्छ नि त त्यसो हो भने । टोलीमा मिलाउंला तर हामीहामीको कुरा हो हजुर अहिले त यसकामको दरभाउ १२ भन्दा माथि पुगेको छ नि , तर म हजुरको लागि १२ मै गरुँला नि । '

दुबैतर्फ सहमती भयो । भोलीपल्ट सुन्दरमानले अधिकारकर्मीको टोलीमा थपघट गरे । भित्रभित्रै दरभाउ बुझ्ने बुझाउने काम भयो । सुन्दरमानको टोली अमेरिका पुगेर यौटा मानब उतै थन्को लगाई उद्धार गरेर फर्कियो । भित्रभित्रै भएको यो खबर पत्रिकाले सुईंको पनि पाएन । त्यसैदिन सुन्दरमानले पत्रकार सम्मेलनमा खाडी मुलुकमा बेचिए सरी ठगिएका नेपालीहरुको हकका लागी एकहप्ताभित्रै फेरी यौटा टोली खाडी मुलुक जाने जानकारी गराए ।


केहि दिन अगाडी लेखेको यो छोटो कथालाई समकालिन साहित्य डटकममा पठाएर प्रकाशित भै सकेपनि आफ्नै रचनाहरुको ट्राफिक धेरै भएकोले बल्ल आफ्नो ब्लगमा राख्दैछु । नयाँ रचनाहरुमा अझैपनि २ वटा गजल र यौटा कविता आफ्नै ब्लगमा देखापर्न पालो कुरेर ड्राफ्ट भएर बसेका छन । म सकेसम्म यौटा मितीमा यौटा भन्दा धेरै पोष्ट नपरोस भन्ने चाहन्छु , यतिखेर लेख्न अलि फुर्सद मिलेर पनि होला रचनाहरुको ट्राफिक जाम भएको ।

Tuesday, June 10, 2008

गजल : तामझाम् चढाए

पाउमा राखेर दाम चढाए ।
जुनाफमा फेरी नाम चढाए ।

अधिकार काटेको ध्वाँस दिए ,
भित्रभित्रै जुन घाम चढाए ।

भने दरबार खाली गरायौं ,
नागार्जुनको तामझाम् चढाए ।

रोजगार खोज्ने जनतालाई ,
सेवा - सुरक्षाको काम चढाए ।

चढाउन केहि नपाउनेले ,
परैबाट लालसलाम् चढाए ।

गोप्य सम्झौता लेखेर आँखिर ,
सुवर्ण 'जडित' खाम चढाए ।

Monday, June 09, 2008

कविता : उचाई

सानै देखि हल्लक्कै बढेको
उसको शारिरिक उचाई
उसैको आफ्नालाई बिझायो
आफ्नैले उसलाई होच्याउन
सानो दर्जा दिए
आफन्तले दिएको सानो दर्जा
उसलाई बिझायो
बिझेको मनले गमेर उसले
आफ्नाहरुलाई अवलोकन गर्यो
देख्यो उसलाई होच्याउने आफ्नाहरु
सबै फल लाग्ने रुख भए
सबै निहुरिने , सँधै निहुरिने
उसलाई त्यो पनि बिझायो
सोच्यो म निहुरिनु हुँदैन
सानैदेखि उ बेग्लै भयो
आफ्नाहरुलाई जित्ने अठोट गरेर
उ फल नलाग्ने रुख भयो
निहुरिनु परेन उस्लाई कहिल्यै
आफ्नाको अगाडी निहुरिएन उ
परायाको अगाडी निहुरिएन
केवल अग्लिन जान्यो
उस्ले कहिँ नझुकि
कसैसंग ननिहुरिई
आफ्नो उचाई कायम राख्यो
अग्लिएरै सर्वोच्चता पायो उसले
अग्लिएरै सगरमाथा भयो
आज आफ्नाहरुले भने
अब अग्लिने ठाउँ छैन
आज परायहरुले भने
अब छुनलाई कुनै उचाई छैन
तर उसले
आफ्नाहरुलाई सुनेन
परायाहरुलाई गनेन
र अग्लिंदैछ अझै
आफ्नो उचाईको हद नाघेर ।

Sunday, June 08, 2008

म रोएको कुरा

जन्मना साथै सबै रुन्छन पहिलो पटक । म पनि रोएंहोला । त्यसैले मेरो रुने क्रम पनि सबैको जस्तै जन्मिने बित्तिकै शुरु भएको हो । होस नसम्हालुञ्जेल म कति रोएं होला त्यसको त लेखो छैन म संग तर होस सम्हालेपछि धेरै पटक रोएको र रुनुपरेको कारणहरु सम्झनामा अझै छ । म रोएको र रुनु परेको हिसाब पाई पाई गरेर त बुझाउन ( आफैंलाई ) सक्दिन म - सायदै कसैले सक्लान तर अहिले म भर्खरै फेरी रोएको हुनाले जीवनमा रोएका र रुनुपरेका क्षणहरुलाई सम्झन मन लागेको छ । अहिले यतिखेर रोईसकेर हलुंगो भएको स्थितीमा छु म त्यसैले मैले रोएका क्षणहरु सम्झंदै हाँस्दै पनि छु तर त्यसबेला म साँच्चै रोएको थिएं । आँशु झारेको थिएं । आँशुको नुनिलो स्वाद जिब्रोले थाहा पाएको थिएं । हिक्क हिक्क भएको थिएं । र्‍याल सिंगान काढेको थिएं । डाँको छोडेको थिएं । भक्कानो फुटाएको थिएं । सायद त्यसैले पनि होला मैले लेखेका धेरै गीतहरुमा आँशु र रुवाईले धेरै स्थान पाएका छन । कैलेकाँहि लाग्छ यि दुई शब्दहरु साथै पिंडा , दुख , घाउ जस्ता धेरै शब्दहरु जस्लाई म मेरा गीतहरुमा प्रमुखताका साथ स्थान दिएर लेखिरहेको हुन्छु , ले मलाई आशिष पनि दिंदा हुन त्यसैले म सधैं रोएको होला ।

हैन यो साँच्चै रुन्चे पो रहेछ ; म त त्यसरी रुन्न । तपाईंलाई यतिखेर यस्तै लाग्योहोला । मलाईपनि लाग्छ । कोही मान्छे रोएको देख्दा किन रोएको होला त्यो ? त्यसरी रोएर पनि हुन्छ र ? भन्ठान्छु म पनि । अझ कुनै लोग्नेमान्छे रोएको देख्दा कस्तो हुतिहारा रहेछ लोग्नेमान्छे भएर रुने भनिन्छ तर रुनु प्राकृतिक नियम हो भनेर त्यसबेला हामी भुल्छौं अथवा समस्याको समाधान रोएर हुंदैन भन्ने अर्ती दिन थाल्छौं । ति अर्कै कुरा हुन मैले यहाँ चर्चा गर्न लागेको कुरा अर्कै हो । मैले आफुलाई रुन्छु , रुन्चे छु भनेपनि यो प्रक्रिया कुनैपनि कुराले भित्र मन छोएर भाबुक बनेर आँखा रसाउंदाको हो । त्यस्तै प्रकारका पनि कतिपय क्षणहरुले बरर आँशु झार्छन ।

म निक्कै सानो छँदाको कुरा हाम्रो घरमा मधुपर्क झैं आकार प्रकारको यौटा हिंदी भाषाको रंगिन पत्रिका थियो । त्यसको नाम के थियो र त्यसभित्र कस्ता कुरा लेखिएका थिए भन्ने मलाई थाहा छैन तर त्याँहाभित्र निक्कै रंगिन तस्विरहरु थिए । ति नै तस्विरहरु मध्ये यौटा तस्विरमा यौटा सानो घर थियो । घरको पछाडीपट्टी आकाशमा ईन्द्रेणी देखिन्थ्यो भने आँगनमा यौटा लोग्नेमान्छे , यौटी आईमाई , यौटी अलि ठुलीकेटी , अर्की अलि सानीकेटी र यौटा ति दुई बिचको जस्तो देखिने केटा उभिएका थिए । त्यो तस्विरले कुनै यौटा परिवार देखाउंथ्यो । एकदिन बेलुका दिदी र दाजुले त्यो तस्विर देखाउंदै यो हाम्रो बुबा यो हाम्री आमा यो म (दिदी) , यो म (दाजु) र यो बैनि हामीले अस्ति फोटो खिचेको । तँ थिईनस भन्नथाले । त्यसबेला सम्म मलाई त्यसरी फोटो खिचाउने अवसरबाट बञ्चित भएछु भनेर दुख लागिसकेको थियो । मैले 'म त्यसबेला कहाँ ग'को थिएं ? ' सोधें । दिदीदाजुले ' तँ त हग्न ग'को थि'स । ' मलाई जवाफदिए । त्यसरात म धेरैबेरसम्म फोटो खिच्न मलाई कसैले पर्खेनन भनेर रोएको थिएं ।

धेरै पटक म दन्त्य कथाहरु सुनेर रोएको छु । मलाई दिदीले सुनकेशरी रानीको कथा सुनाउंथी । ( म दिदीलाई प्रतक्ष्यमा पनि तँ भनेर सम्बोधन गर्छु त्यसैले यहाँ ढर्रा पारिरहनु उचित ठानिनं ) सबैभन्दा धेरै म सुनकेशरी रानीको कथा सुनेर रुन्थें । त्यसबेला मलाई सुनकेशरी रानीको कपालका केशहरु सबै सुनैसुनका थिएहोलान भन्ने लाग्थ्यो । आजभोली लाग्छ त्यो कथा रच्ने कथाकारले युरोप अमेरिकातिरको सुनझैं कपाल हुने सुन्दरीलाई पो सुनकेशरी रानी भन्ने पात्र बनाएको थियो कि ? ति दन्त्य कथाहरुमा सहरको बयान गर्दा अति सुन्दर तर कोही मान्छे नदेखिने सुनसान भनेर गरिएको हुन्छ । जस्तै राजकुमार दिक्पाल भन्ने कथामा पनि त्यस्तै चकमन्न सहरको बयान छ त्यो पनि मलाई युरोप अमेरिकातिरकै स्थान कथामा चित्रण गरेको हो कि जस्तो लाग्छ किनकि यहाँ पनि बसोबास गरिने क्षेत्रहरु चकमन्नै सुनसान हुन्छन । सबै मानिसहरु घरभित्रै बस्छन । दिदीले सुनाउने धेरै दन्त्यकथाहरुले मलाई रुवाउथे । अब त दिदीले कुनकुन कथा सुनाउनुहुन्थ्यो भन्ने पनि धेरैजसो बिर्षिसकें । नहल राजा दमयन्ती रानी ( यस्तै होला जस्तो लाग्छ ) को कथाले पनि मलाई रुवाएको कताकता थाहा छ । त्यसबेला सुन्ने गरेका ति कथाका घट्ना , पात्र र स्थानहरु चलचित्रमा देखे झैं भान हुन्थ्यो त्यसबेला तर अब त भुलिसकें ।

उ बेला म सानो सानो कुराहरुमा पनि रुन्थें । एकपटक हाम्रो घरको शंख छिमेकीकोमा लगेको रहेछ पुजामा चलाउन , पुजा सकिएको केहिदिन सम्म पनि ल्याइनदिएको हुनाले मलाई लिन पठाईयो । म लिन गएं तर त्याँहाबाट फेरी पुजाकै प्रयोजनको लागी अर्कै घरमा शंख पुर्याईएको रहेछ । त्यो थाहा पाउने बित्तिकै म रुनरुन लागेको थिएं तर कसोकसो सम्हालिएर अर्को ठाउंमा पुगें शंख लिनलाई । त्याँहा म पुग्नुभन्दा अगाडीनै दिदीले शंख लिएर घर गैसकेकि रहिछे त्यसपछि त म थामिनै सकिनं । रुन थालीहालें । छिमेकी घरकाले किन रोएको भनेर सोध्दा शंख मैले घर लान पाईनं भन्ने जवाफ दिएं । म रोएको रोएकै घर आईपुगें । मलाई त्यो शंख आफुले बोकेर घर ल्याउंदा बाटोमा बजाउने ठुलो ईच्छा थियो जो पुरा हुन नसक्दा म रोएको थिएँ । पछिपछि गाउँमा पुजाआजामा बजाउन सिकेर म निक्कै राम्रो गरी शंख बजाउने भएको थिएं ।

त्यस्तै एकपटक म एक कक्षामा पढ्दाको कुरा - भोलीपल्ट स्कुलमा हाजिरी जवाफ प्रतियोगिता हुनेथियो र यौटा टोलीमा मेरो नामपनि थियो । त्यसबेला म पढ्ने अमर प्राथमिक बिद्यालय ३ कक्षा सम्म मात्र पढाई हुन्थ्यो । म एकमा हुँदा मेरो दाजु ३ मा थियो । सँधै प्रथम हुने त्यही दाजुको भाई भएकोले नै मलाई देवेन्द्र बराल सरले हाजिरी जवाफ टोलीमा सामेल गराउनुभएको थियो । त्यो थाहा पाएर हजुरबाले मलाई बेलुका खाना खाँदा खाँदै प्रतियोगितामा भोली आउन सक्ने केहि कुराहरु सिकाउन थाल्नुभयो । बाघको बच्चालाई डमरु , हात्तिको बच्चालाई छावा , घोडाको बच्चालाई बछेडु , ईत्यादी कुराहरु सिकाउनुभयो । भोलीपल्ट स्कुलमा प्रतियोगिता शुरुभयो । हरेक टोलीमा पाँच पाँच जना थियौं । सबै टोलीका पाँचजना मिलेर संगै बसेका थिए भने मेरो टोलीमा चैं चारजना मात्र मिलेका थिए , मलाई अलग्गै एक्लै पारेका थिए । उनिहरु मलाई छेउमा टाँसिएर बस्नै दिईरहेका थिएनन । मेरो टोलीको टोलीनेता ३ कक्षाको एकजना एकहातमात्र भएको केटा थियो । उसैले मलाई पर पर पारेको थियो । प्रतियोगिता चालुथियो । मैले सिकेका जानेका पश्नहरु कमै आईरहेका थिए अकस्मात हाम्रै टोलीले प्रश्न रोजेको बेला घोडाको बच्चालाई के भनिन्छ भन्ने प्रश्न आयो । मैले तत्काल उठेर ठुलो स्वरले "बच्छेडु" भन्दै जवाफ दिएं । जवाफ सहि थियो तर टोलिनेताले जवाफदिनुपर्ने ठाउँमा मैले जवाफ दिएकोमा झण्डै बदर गरेका थिए त्यसबेला पनि देवेन्द्र सरले उसलाई हेपेर एक्लै राखेका छन त्यसैले उसले भन्यो अथवा यस्तै केहि भनेर वकालत गर्दै त्यो सहि जवाफलाई खेर जान दिएनन । अन्त्यमा मेरो दाजुको टोली प्रथम भयो , अर्को टोली दोश्रो , अर्कै तेस्रो । हाम्रो टोली त हरुवा भयो । हाम्रो टोलीले हारेको घोषणा हुनासाथ म रुन थालें । मैले जस्तै सबैले एक एक प्रश्नको सहि जवाफ दिएको भए हामी दोश्रो हुन्थ्यौं भन्ने लागेर म रोएको थिएं ।

स्कुलका किताबका कथाहरुले पनि मलाई रुवाएको सम्झना छ । म भन्दा मेरो दाजु स्कुलमा दुई वर्ष अगाडी थियो उमेरमा पनि दुई वर्ष नै अगाडी छ । म उसको किताब मौका पाउनासाथ खुसुक्क चोरेर पढ्थें । तिन कक्षामै थियो जस्तो लाग्छ न्याउरी मारी पछुतो भन्ने कथा त्यो कथाले पनि रुवाएको थियो मलाई । त्यस्तै पाँच कक्षाको यौटा कविता शिर्षक बिर्षें अहिले , ले पनि रुवाएको थियो , कवितामा केहि यस्ता हरफहरु थिए ".... ......वर्षायाम एक दिन ठुलो पानी पर्यो......... बतासले हाँगो लाछ्यो गुँड पुग्यो तल......... '' त्यस्तै सात कक्षामा भएको कविता चरीको विलाप होला जस्तो लाग्छ , ले पनि रुवाएको सम्झना छ

न सक्छौ यो आँशु टपटप टिपी चप्प पिउन
न सक्छौ यो भुत्ला लिईकन कुनै वस्त्र सिउन ।

यस्ता प्रकारका मार्मिक पाठहरुले म संधैं रुन्थें । नौ कक्षाको दुई मितको कथाले पनि रुवाएको छ मलाई । सबै अहिले सम्झना आउदैन । स्कुलका पाठ्यपुस्तक बाहेक अन्य पुस्तकहरु पढेर पनि म रोएको छु । प्रकाश कोविदको उपन्यास पढेर रोएको छु । युधिर थापाको उपन्यास पढेर रोएको छु । बेदप्रकाश शर्माको हिंदी उपन्यास पढेर पनि रोएको छु । अलिपछि साहित्यिक पुस्तकहरु पढ्न थालेपछि पनि रोएको छु । मैले पहिलो चोटी पढेको साहित्यिक उपन्यास जस्को बाहिरी आवरण ( म संग भएकोमा ) थिएन । नाम ईन्साफ हो जस्तो लाग्छ र लेखक भिमनीधि तिवारी हुन जस्तो लाग्छ , ले मलाई धेरै रुवायो पनि धेरै सिकायो पनि , म सानै थिएं त्यो ईन्साफ उपन्यास पढ्दा । त्यस उपन्यासका पात्रहरु वीरबहादुर , उसको छोरो आईते , उसकी श्रीमती सेती , आईतेको साथी बुधे , शैलराज , महन्तकाजी , उनकि पत्नि नर्मदा , हाकिम सानुमान , हाफिज अलि सबै सबै सजिव छन मेरो मानसमा । त्यही उपन्यासले मैले काठमाण्डौको तस्विर मनमा बनाएको थिएं पछि काठ्माण्डौ जाँदा मलाई त्यो बेलाको काठ्माण्डौ देख्न पाए नि हुन्थ्यो जस्तो लागेको थियो । उक्त उपन्यासमा वीरबहादुरको भैंसी मर्दा साह्रै दुखित भएको थिएं म । त्यस्तै शैलराजले जुवामा लागेर सम्पती सक्दा रिस उठेपनि पछि नासपतीको छिल्का खाँदा आँशु आएको थियो । त्यस्तै पारीजातको अनिदो पहाडसंगै , शिरिषको फूलहरुले पनि रुवाएको छ । अर्को मैले सानैमा पढेको साहित्यिक उपन्यास धच गोतामेको घामका पाईलाहरु हो त्यसले पनि रुवाएको छ मलाई । त्यसो त मैले नेपाली साहित्य धोको फुकाएर पढ्न कहाँ पाएको छु र ?

चलचित्र हेर्दा पनि म पहिले निक्कै भक्कानिएर रुन्थें आजभोली पनि आँशु झर्छ चलचित्र हेर्दा । पहिलो पटक मैले बागडोग्रामा बरसात कि एकरात भन्ने हिंदी सिनेमा हेरेर रोएको थाहा छ । तुलसी घिमिरेका नेपाली चलचित्रले पनि मलाई रुवाएको छ धेरैले ।

त्यसबाहेक चोट परेर आघात परेर रुने त छँदैछ , २०७५ सालको मंशिर १ गते मेरी प्रिय पत्निको अवशान हुँदा म सबैभन्दा लामो रोएको छु । त्यसबेला मैले बादलपारीकी मायालुलाई मेरो चिठ्ठी भनेर यौटा निक्कै लामो शोक पत्र लेखेको थिएं । झण्डै सानो किताब जस्तै लाग्ने त्यो चिठ्ठी अब नेपाल जाँदा भेटाएं भने ब्लगमा राख्छु ।

अन्त्यमा म रोएको कुरा ( भर्खरै रोएको ) खोलुँ - यसपटक भने म ब्लगर साथी वसन्त गौतमको ब्लगमा ' आमा ' शिर्षकको टाँसो पढेर रोएको हुँ । यहि कुरा पढ्दा कसैलाई रुन नआउला तर म रोएं । वसन्तजीको लेखाईले गहिरो गरेर मन छोयो । लेखाई होस त त्यस्तो - क्या लेखाई छ । मैले आरती लोहारुङ्ग राईको ब्लगमा उक्त टाँसोको जिकिर पढेको थिएं र त्यहाँ पसेको थिएँ । धन्यवाद आरतीजीलाई पनि । यो भयो म रोएको कुरा , कुनैदिन म हाँसेको कुरा पनि लेख्नेछु म ।

Saturday, June 07, 2008

गजल : क्लिष्टता नआवोस / (कहिल्यै)

जति लेखुँ सँधै सरल लेखुँ म क्लिष्टता नआवोस ।
देखेको लेख्दा मर्यादा हुन्नभने शिष्टता नआवोस ।

छोपेर सत्य औ माथीबाट पोतेर झुटको रंगले ,
भ्रम फैलाउन कुनै कलममा धृष्टता नआवोस ।

स्वस्थ प्रतिस्पर्धा बनोस पाओस सुयोग्य अघि बढ्न ,
धोकाधडी , चाकरी , छल्छामको उत्कृष्टता नआवोस ।

मान्छेको त के कुरा म भित्र छ भने ईश्वरकै पनि ,
भक्तिमा स्वार्थ मिसाउनुपर्ने त्यो निष्ठता नआवोस ।

मनुवा प्राणी 'दीपक' पनि ठान्दछ सब बराबरी ,
नउ'म्रोस जिलोबुटो अहँको विशिष्ठता नआवोस ।

अहो ! अहिले आफैंलाई सुन्दर लाग्यो । दिलिप जीलाई धन्यवाद पुन एकपटक । मैले पहिलेको र अहिलेको दुबै स्वरुप यहाँ राखेको छु ता कि संधै मलाई प्रस्तुती कसरी सुन्दर बनाउने भन्ने हेक्का रहोस ।
________________________________
जति लेखुँ सँधै सरल लेखुँ म क्लिष्टता कहिल्यै नआवोस ।
देखेको लेख्दा मर्यादा हुन्नभने शिष्टता कहिल्यै नआवोस ।

सत्यतथ्य छोपछाप पारी रंगरोगन झुटको लगाएर ,
भ्रम फैलाउन कुनै कलममा धृष्टता कहिल्यै नआवोस ।

'दीपक' पनि त एक मनुवा प्राणी ठान्दछ सबै बराबरी ,
नउ'म्रोस जिलोबुटो अहँको विशिष्ठता कहिल्यै नआवोस ।

स्वस्थ प्रतिस्पर्धा बनोस पाओस योग्यमात्रै सँधै अघि बढ्न ,
धोकाधडी चाकरी छल्छामको उत्कृष्टता कहिल्यै नआवोस ।

मान्छेहरुको त के कुरा भो म भित्र छ भने ईश्वरकै पनि ,
भक्तिमा स्वार्थ मिसाउनुपर्ने त्यो निष्ठता कहिल्यै नआवोस ।

यस अघिको गजलमा दिलिपजी ले गर्नुभएको प्रतिक्रियाले यो गजलको मेसो निस्किएको हो । दिलिपजीलाई धन्यवाद ! दिलिपजीले नै यहाँ मलाई 'धृष्टता ' शब्द लेख्न सिकाएर गुनपनि लगाउनु भएको छ ।

Friday, June 06, 2008

कविता : टाउको

ईतिहासमा कुनैबेला
टाउको थिए तिनिहरु
भित्र खोपडीमा गिदी भरिएको
बाहिर घना केशले ढाकिएको
आँखाले हेर्न सक्ने
कानले सुन्न सक्ने
मुखले आवाज निकाल्न सक्ने
जिउंदो जाग्दो टाउको थिए
लाग्थ्यो कुनैदिन त
शरिर बन्नेछन तिनीहरु
हिंडाउनेछन समग्र युगलाई
एकै चालमा छरितोसंग
उचालेर सगरमाथा
देखाउनेछन संसारलाई
सुन्दर समुन्नत नेपाल ।
ईतिहासमा कुनैदिन
हेर्न सक्ने आँखाले
निदाएको बहाना गर्यो
सुन्न सक्ने कानले
बहिरो छु भन्यो
बोल्न सक्ने मुखले
आफ्नै गिदी चपाईदियो
छेक्न सकेनन घना केशहरुले
टाउको कुहिंदै गयो
टाउको सड्दै गयो
टाउको बचाउन तिनीहरुले
ऐँजेरुको सहारा लिए
टाउको सुक्दै गयो
ऐँजेरु झाँगिदै गयो
केशहरु झर्दै गए
टाउकोको अस्तित्व झनै
खतरामा पर्दै गयो
केश बचाउन तिनीहरुले
साबुन फेरी फेरी
टाउको धुन थाले
दुर्गन्ध हटाउन तिनीहरुले
सैम्फो दली दली
टाउको पखाल्न थाले
कालान्तरमा टाउको
खल्वाट प्राय भयो
आँखा छोप्यो ऐँजेरुले
कानहरुमा पिप भरिए ।
ईतिहासमा भर्खरै
आफैंले गिदी चपाएको
टाउकोको अस्तित्व रक्षा गर्न
पर्दा पछाडीबाट मुख बोल्यो
यो हतियार उठाउने बेला हो
बिस्थापित गरेर टाउकोलाई
झाँगिएको ऐँजेरु
हो हो गरेर हल्लियो
र गिदी चपाईएको टाउकोले
ठम्याएको समयमा
हतियार उठाउने हात
खोज्न थाले तिनीहरु
कहिल्यै पुर्ण बन्न नसकेको
आफ्नै शरिरमा ।

Thursday, June 05, 2008

निम्तो मान्न जाँदा गजल

जुन ३ तारिख यौटा ईमेल पाएं । लेखिएको थियो - ' मैले एउटा नेपाली गजल ग्रुप बनाउन खोजेको निम्तो छ है । ' पठाउने हुनुहुन्थ्यो ई-परिचित मबि सिँ । अचाक्ली खुशी लाग्यो । खुशी लाग्ने नै भयो नि गीत , गजलहरु लेख्न रहर गर्ने म जस्तोलाई । हतार हतार निम्तो स्विकारें । त्याँहा यौटा गजल मण्डल तयार हुँदैथियो ।

म पुग्दा त्याँहा म बाहेक अरु तिनजना भए जस्तो लाग्छ ठ्याक्कै त भन्न सक्दिनं । म बाहेकका अरु दुईजनामा एकजना मबि सिं स्वयं हुनुहुन्थ्यो भने अर्को एकजना दीपक खड्का हुनुहुन्थ्यो । अर्को एकजना याद गरिनछु । मलाई त्यस गजल मण्डलीमा छलफलको लागी कुरा उठ्न शुरु भैहाले हुन्थ्यो जस्तो लाग्दैथियो त्यसैले पस्दै निस्कंदै पस्दै निस्कंदै गर्दैथिएं । मण्डलीमा सदस्यहरु न्युन गतीमा भएपनि थपिंदै हुनुहुन्थ्यो ।

जुन ४ तारिख भै सकेको थियो र मण्डलीमा हामी ७ जना जम्मा भएका थियौं तर त्यसबेला सम्म एक अर्कामा कुरागर्ने हिसाबले कसैले केहि कुरा राख्नु भएको थिएन । मलाई ज्यादै खस्खस लाग्यो र मैले यौटा गजल लेखें त्याँहा राख्नको लागी । त्यसपछि त म निम्तारु पनि रहिंन । बस् यतिकुरा भन्न र त्यो निम्तो मान्न जाँदा लेखेको गजल सुनाउनको लागी यत्रो भुमिका बाँधेको है मैले । गजल यस्तो थियो -

गजल ग्रुप भनियो यो भेला के को लागी ?
वहस कुनै हुन्न भने मेला के को लागी ?
अहिलेसम्म सप्तऋषी जम्मा भएका छौं ,
वहस के ले छेक्यो यो अबेला के को लागी ?
पहिले जस्तै एक्लै एक्लै सबै हिंड्ने भए ,
पाङ्ग्रा हाली हाली बना'को ठेला के को लागी ?
मबि सिं गुरु बोल्नुपर्ने अझै चुप हुँदा ,
प्रश्न गर्दैछु म भन्नुस खेला के को लागी ?
कहाँबाट आयो 'जडित' बाठो भन्नुहोला ,
नबोलेपछि गुरु हामी चेला के को लागी ?

तपाईंलाई कस्तो लाग्यो त गजल ? लागेको लेख्नुहोला । ए साँच्चि उक्त मण्डलीमा हामी अहिलेसम्म जम्मा १० जना भेला भएका छौं । तपाईंपनि आउनुहुन्छ ? आउनुहुने हो भने यसमा ईमेल गर्न सकिन्छ भन्ने मलाई लागेको छ - nepalighazal@googlegroups.com /

Wednesday, June 04, 2008

गजल : जीत जनताको

यस्पाली नि तिन्ले भने जीत जनताको
होला ता' नि भनि लेखें गीत जनताको
फेरीएर आ'का सबै नयाँ मुहारले
भने हामी मात्रै साँचो मित जनताको
जनताकै नाम अझै लिएपनि तर
छाँट देखिएन गर्ने हित जनताको
जुन , तारा , आकाश नि रोजे तिनैले नै
भाग पर्नेभयो चिसो शीत जनताको
नेपाली ओठ् अझैपनि हाँस्न नपाउंदा
अर्को युद्ध थाल्नु पर्ला कि त जनताको ।

Tuesday, June 03, 2008

कविता : खै मेरो घर ?

आज पनि एउटा दिन गलेर गयो
बिहानको उमंग
दिन छिप्पिन नपाउंदै शिथिल भएको
मैले आफ्नै आँखाले देखें
बेलुकी सम्ममा थाकेर
लत्र्याकलुत्रुक म
आफ्नै मनको आँगनमा निस्किएं
मनकै आँगनको डिलमा थचक्क बसें
पछाडी फर्केर हम्केरा हाल्दै
बलेंसी हेरें
अझै छन त्याँहा
बलेंसीमा बगेका रगतका टाटाहरु
कैले यो मन खुर्कीखार्की पारेर
फाल्नु रगतका ति टाटाहरु
र सफा पार्नु यो मनको घर आँगन ?
खुईय ! सुस्केरा काढेर
घर हेरें
अहँ छैन मेरो घर
अझै नियाँलेर हेरें
देखिनं कतै
मेरो मनको घर
यो रातको निश्पट्ट अंधकारले
घ्वाप्पै छोपेको हो कि
साँच्चै हराएको हो मेरो मनको घर ?
भाउन्न छुट्यो मलाई
अहो ! मेरो घर साँच्चै हरायो
जुरुक्क उठें
आँखा अगाडी तिर्मिर तिर्मिर
ताराहरु झिल्किए
के ले के ले मलाई
फन्फनी घुमायो
हैन म ढल्दिनं
ढल्नु हुंदैन मैले
आँखै सामु हेर्दाहेर्दै हराएको
मेरो घर खोज्नु छ मैले
खै मेरो घर ?

Sunday, June 01, 2008

मैले के गरें ?

गत २/३ दिनदेखि लागीपरेर एक अञ्जुली माया नामको आफ्नै एक सय एघार वटा गीतहरु समेटिएको अनलाईन गिती संग्रह तयार गरें । ब्लगस्पट डट कमको उपयोग गर्दै ब्लगको एकै पोष्टमा मैले सबै गीतहरु अटाएको छु र त्याँहा अरु थप कुनै पोष्ट राख्नेछैन । मेरो अनलाईन गिती संग्रहमा पस्ने लिंक http://ekanjulimaya.blogspot.com/ हो। मैले यसै ब्लगको अन्य सम्पर्कहरु राखेको ठाउँमा पनि उक्त लिंक राखेको छु । त्यसैगरी नेपाली ब्लगरहरुको मुलघर ( ब्लग डाईरेक्ट्री ) मा पनि एक अञ्जुली मायाको लिंक राखेको छु । आशा गर्छु यस ब्लगमा आईपुगेपछि तपाईं अवश्य एकपटक एक अञ्जुली माया भित्र पस्नुहुने छ र एक अञ्जुली मायाको लागी अमुल्य प्रतिक्रिया पनि छोडिदिनुहुनेछ । अहिलेलाई आउनुहोस मैले २०५१ सालको तिहारको बेला लेखेको यौटा गीत /गजल एक अञ्जुली माया भित्रैबाट यहाँ राख्दैछु ।

---
बर्वाद म भएको तिमी हेर्न आउ
लेखिदिन्छु यौटा गजल
तिमी त्यसलाई गाउ ।

रमिता कतिलाई कतिलाई तमाशा
बनेछु म त एक ब्यंगचित्र
कोरिदिन्छु म यौटा प्रति
त्यसलाई कोठामा सजाउ
बर्वाद म भएको तिमी हेर्न आउ ।

कतिताल म छोपुँ कतिताल लुकाउँ
भएछु म त एक बाद्ययंत्र
दिईदिन्छु म तिमीलाई
लगेर तिमी बजाउ
बर्वाद म भएको तिमी हेर्न आउ ।