आज अठोट लिएको थिएँ ब्लगमा केहि त लेख्छु लेख्छु भनेर । कम्प्युटरमा बसेको २ घण्टा बित्दा पनि लेख्ने कुरा केहि नभेटेपछि लाग्यो । ब्लगमा मलाई ब्युँझन अझै समय लाग्ने रहेछ । खै किन हो, लेख्ने कुरा सोच्यो भने मनमश्तिष्क भरी डम्म कुहिरोले ढाकेझैं हुनथालेको छ त्यसैले त हेर्नुस् न मेरो ब्लग घाम नलागेर ओसिएको विस्कुन भएको । लेखेर हैन लेखिसकेको कुरा राखेर भएपनि ब्लगमा लेखें भन्ने यौटा मिती अँकित गरेर ब्लग जगतबाट हराईगा'को चैं छैन है भन्नलाई यो गजल राख्दैछु -
पत्र-पत्र ति मोतिदानाझैं शीत झारेर प्यारी ।
सक्दिनं टिप्न म गुलाफको यौवन मारेर प्यारी ।
नसम्झ रित्तै छु उभिएको तिम्रो सामुन्ने आज,
हेर त फूलै हाँसेको होला मन उघारेर प्यारी ।
यो फूल बरु वैलाईजाला टाँसेपनि छातिमा,
वैलन्न प्रिती टाँस मुटुमा गाढा पारेर प्यारी ।
प्रेम मिलनको दिनमा हामी हाँसीरँ'दा ईत्रेर,
नरोओस् गुलाफ हाम्रो सामुन्ने बैंश हारेर प्यारी ।
गुलाफ हाँस्ने बगैंचामाझ म बस्छु पर्खिएर,
आउनु तिमी नलिई फूल त्यो मन खारेर प्यारी ।
यो गजल गत भ्यालेण्टाईन डेको बेला खसखस डटकमको निमित्त लेखेको थिएं ।