Wednesday, January 12, 2011

गजल : के होस भन्ने चाहन्छौ

बुझ्न सकिंन तिमी के होस भन्ने चाहन्छौ ।
कि नबुझ्दै जिन्दगी बितोस भन्ने चाहन्छौ ।

खसालेर काँच जस्तै यो मन हातबाट,
मैले कुन चैं मन राखोस भन्ने चाहन्छौ ।

घटाई आफ्नै उचाई झुकाउने क्या कला,
कति घटि मलाई झुकोस भन्ने चाहन्छौ ।

किनारामा मन छोडी मान्छौ बाढिको डर,
कि भेलमा त्यो मनै बगोस भन्ने चाहन्छौ ।

प्रहार लगातार देख्दा लाग्छ यहि तिमी,
दीपक सँधै आँसु पुछोस भन्ने चाहन्छौ ।

ब्लग लेखनको आफ्नो गतिसँग आफैं आजित भएको कुरापनि कति लेख्ने हो ब्लगमा । आजित माथि आजित भएपछि खास केहि नबोल्नु नै ठिक होला । तसर्थ यसपटक थपक्क यो गजल आफ्नो ब्लगको धुकधुकी चलेकै छ भन्ना खातिर ।

Monday, January 03, 2011

कविता : गाइने किरा र म


गाइने किराहरु
कदाचित्
खडेरीको संकेत गर्दैनन्
तर
मनपराउंछन्
बादल नलागेको आकाश
झरी नपरेको दिन
त्यसैले प्रेम मलाई
गाइने किराहरुसंग

यौटा सिँगो मान्छे
छरिएर सयौं गाइने किरामा
उड्न चाहन्छु
सानो आकाशमा वरपर
उसैले जस्तै
खेतमा जमेको पानी छुँदै
कि
रमाउन सकुँ
असारे वर्षातको संगीतमा
साउने हिलोको सुगन्धमा
भदौरे घामको चर्को रागमा

समाउन सकुँ आफैंलाई
पाटाबारीको
हुप्प उकुशमुकुशमा
रंगीन गाइने किरालाईझैं
बुझुन्जेल
आफ्नै जिन्दगीको चक्र

यो कविता पनि निरन्तरताको नाम भयो ब्लगलाई । एकदिन त्यसै गाइने किरा उड्यो मनमा र उडायो मलाई गाउँको खेतबारी सम्म । र गाइने किरालाई सम्बोधन गरेर केहि लेख्ने निश्चय भएर लेखें यो कविता ।