Wednesday, January 12, 2011

गजल : के होस भन्ने चाहन्छौ

बुझ्न सकिंन तिमी के होस भन्ने चाहन्छौ ।
कि नबुझ्दै जिन्दगी बितोस भन्ने चाहन्छौ ।

खसालेर काँच जस्तै यो मन हातबाट,
मैले कुन चैं मन राखोस भन्ने चाहन्छौ ।

घटाई आफ्नै उचाई झुकाउने क्या कला,
कति घटि मलाई झुकोस भन्ने चाहन्छौ ।

किनारामा मन छोडी मान्छौ बाढिको डर,
कि भेलमा त्यो मनै बगोस भन्ने चाहन्छौ ।

प्रहार लगातार देख्दा लाग्छ यहि तिमी,
दीपक सँधै आँसु पुछोस भन्ने चाहन्छौ ।

ब्लग लेखनको आफ्नो गतिसँग आफैं आजित भएको कुरापनि कति लेख्ने हो ब्लगमा । आजित माथि आजित भएपछि खास केहि नबोल्नु नै ठिक होला । तसर्थ यसपटक थपक्क यो गजल आफ्नो ब्लगको धुकधुकी चलेकै छ भन्ना खातिर ।

6 comments:

Chaitanya said...

किनारामा मन छोडी मान्छौ बाढिको डर,
कि भेलमा त्यो मनै बगोस भन्ने चाहन्छौ ।

वाह, वाह ! सुन्दर शैलीमा लेखिएको भाबुक गजल !

नआत्तिनुस, धुकधुकी यहाँको राम्रै चलेको देख्छु म त !

Dilip Acharya said...

ब्लग लेखनको गति मन्द भएकै हो तर....वाह ! क्या गजल छ । यस्तै वजोड गजल आउने हो भने समयको यो अन्तराल जायज छ ।

RRijal said...

दिलिप सर सँग सहमत, तपाँइ आँफुलाइ पर छु जस्तै लाग्दो हो, यी रचना सँधै हामी सँगै छन् ।

खसालेर काँच जस्तै यो मन हातबाट,
मैले कुन चैं मन राखोस भन्ने चाहन्छौ ।

वाह!

वेदनाथ पुलामी (उमेश ) said...

दिपक दाइ ! ब्लगमा पोस्ट पातलिदै गए पनि लेखाइ को भाव पातलिएन भने भै गो नि !
... यस्तै मिठास र पाठकको मन खिच्ने खुराक भए पुग्छ हामीलाई !
.........

Jotare Dhaiba said...

समयको अन्तराल र ब्लगको सुस्त गतिभित्र लुकेको बाध्यता र बोझिलो रुखोपन आफ्नै ठाउँमा पीडादायक हुन्छ, तर यस्तो कोमल गजलले त्यो पीडा धेरै हदसम्म भुलाउँदो हो सर्जकलाई र हामी पाठकलाई भने अन्तरालको खाडल पनि पुरेको लाग्छ ।

"घटाई आफ्नै उचाइ झुकाउने क्या कला,
कति घटी मलाई झुकोस् भन्ने चाहन्छौ ।"
तपाईँले पुछारमा उल्लेख गर्नुभएको आत्मस्वीकृतिले माथिको सेर जस्तै हामीलाई झुकाउनुभएको छ ।

दीपक जडित said...

चैतन्यजी, दिलीपजी, आर रिजालजी र धाइबाजी यहाँहरुसबैलाई हार्दिक धन्यवाद ।

ब्लग टोलहरुमा पसेर समय निकाली प्रतिक्रिया लेख्न नभ्याईरहेको र आफ्नै ब्लगको पनि प्राण धान्न नसकेको बेला तपाईंहरुको प्रतिक्रिया उर्जामय बनेका छन् ।