Sunday, August 13, 2006

कामरुप कामक्षदेवी : एक परिचय ।

भारतको आसाम राज्यको गुवाहटी स्थित प्रसिद्द कामक्ष मन्दिर निलाञ्चल पर्बतमा अवस्थित छ । सहरदेखि झण्डै ८ किलोमिटर टाढा रहेको यो मन्दिर माता सतीदेवीको अँगभाग योनीबाट उत्पती भएको हो । यस्लाई दुर्गाको १००८ शक्तीपिठहरु मध्धेको एक मानिन्छ ।

(फोटोहरु सबै वेभदुनिया डट कमको फोटो ग्यालरीबाट लिएको हो ।)

गुफाभित्र रहेको यो मन्दिरमा देवीको मुर्तिभने छैन । गुफाको भित्तामा भित्तिचित्रको शैलिमा मण्डलाकार चित्र अंकित छ । उक्त चित्रमा मानिएको योनिभागबाट पानीको थोपा झरिरहने गर्छ । हरेक महिनाको ३ दिन बन्द रहने यस मन्दिरमा बन्द रहेको ३ दिनलाई रजस्वला भएको मानिन्छ र आसामका स्थानिय किसानहरु उक्त अवधीमा बालिनाली लगाउने काम गर्दैनन। उनिहरुको बिश्वास अनुसार उक्त समयमा लगाएको बालिनालीबाट राम्रो उत्पादन हुदैन । चौथोदिन मन्दिर खोल्दा धुमधामले उत्सब मनाईन्छ जस्लाई अंबुवकी अर्थात अमीती भनिन्छ ।

श्री स्वस्थानी माहात्म्य कथामा उल्लेख भए अनुसार राजा दक्षप्रजापतीले आफ्नो घरमा आयोजना गरेको भब्य महायज्ञमा ३३ कोटी देवीदेवताहरुलाई निमन्त्रणा गरेका थिए तर आफ्नी छोरी सतीदेवी र ज्वाँई शिबलाई निमन्त्रणा गरेका थिएनन । यो कुरा जब नारदमुनीले थाहा पाए तब तत्काल कैलाश पर्बत पुगेर मनोरञ्जनको लागी जुवा खेलीरहेका शिब सतीदेवी समक्ष जानकारी गराए । नारदको मुखबाट यस्तो खबर सुनेकि सतीदेवीले हामीलाई डाक्न भुलेका होलान तर हमि जाउँ न भन्दै शिवसामु बिन्ती गरिन । शिवले छोडिदेउ तिमी नरुचाएकि छोरी म मननपरेको ज्वाँई हामी किन जाने? आउ बरु जुवा खेलौं भनेर सम्झाउने कोसिस गरे तर सतीदेवीको हठ अगाडी केहि शिप नलागेर नारदमुनी सँग गएर आउ न त म जान्न भन्दै सतीदेवीलाई जाने अनुमती दिए र आफु भाँग धतुरोको नशामा लठ्ठीएर बसे । नारद सँग माईती पुगेकि सतीदेवीलाई देखेर उन्का पिता दक्षप्रजापतीले तिमि आईछौ ठिकैभयो , तिमिलाई बोलाउदा तिम्रो त्यो बौलाहा लोग्ने पनि तिम्रो पछी लागेर आउछ भनेर नबोलाएको हो भन्दै भगवान शिवको अपमान गर्न थाले । सारा दुनियाँसामु आफ्नो स्वामीको अपमान सहन नसकेर सतीदेवीले त्यसैबेला यज्ञकुण्डमा फालहालेर देहत्याग गरीन तर शिवको डरले गर्दा अग्नीले उन्को शरीर जलाउन सकेनन ।

जसै शिवले आफ्नी प्राणप्यारीले देहत्याग गरेको थाहापाए दक्षको यज्ञमा आएर दक्षको शिर छेदन गरीदिए तर दक्षकी स्त्री बिरणीले आफ्नो श्रीमान पशुभएर त्यस्तो कार्य गरेको भनेर माफी माग्दै उन्को प्राणदानको भिख मागिन । शिवले पनि बिरणीको बिलाप देखेर दक्षको शरीरमा यज्ञमा बलिचढाएको बोकाको टाउको जोडिदिएर बिउंझाईदिए अनि प्राणहिन आफ्नी पत्नि सतीदेवीलाई बोकेर बौलाहा झैं सन्सार घुम्न थाले । यसरी घुम्दै जाँदा सतीदेवीको शरीरको अँगहरु गलेर झर्दै गयो र शक्तीपिठहरुको उत्पतीहुंदै गयो । यसैक्रममा निलाञ्चल पर्बतमा सतीदेवीको योनि झरेको र कामरुप कामक्ष देवीको उत्पती भएको बिश्वास गरिन्छ ।

Friday, August 11, 2006

राजा , गिरिजा र साहाजको रुख ।

- दीपक जडित

बर्तमान राजनीतिका शिखर पुरुष भनेर कहलिएका नेपाली काँग्रेशका अध्यक्ष्य तथा बर्तमान नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री जस्तो सम्माननिय पदमा रहेपनि आम जनताले सम्मानको शट्टा शँकाको नजरले हेर्ने गरेका छन । त्यसो त प्रधानमन्त्री कोइरालालाई आम जनताले शँकाको नजरले हेर्नु भन्दा पर्तिर अरु के गर्नु पनि? कोइराला कसैको सुन्दै सुन्दैनन , हत्पती बोल्दैनन तर जब बोल्छन एउटा भु कम्प नै ल्याउंछन भन्ने चर्चा जताततै भैरहेको छ । हालसालै उन्ले प्रजातन्त्रमा राजालाई पनि स्थान दिनु पर्छ भन्ने अभिब्यक्ती दिंदा नेपालको राजनीतिक बृतमा एउटा भु कम्प नै गएको थियो । हुनपनि कत्रो मायामोह हो त प्रधानमन्त्री कोइराला र राजाको बिचमा । सारा नेपाल र नेपाली जनताले छि छि र दुर दुर गरिरहेको बेलामा पनि नरसँहारकारी , बँशबिनासी एवं हत्याराको अलँकारले बिभुषित राजालाई स्थान दिनु पर्छ भन्ने प्रधानमन्त्रीको राजा , राजदरबार र राजतन्त्र प्रेम अलौकिक नै मान्नु पर्छ नत्र भने अहिलेको स्थितिमा मै हुँ भन्ने कट्टर राजावादिहरुले पनि राजालाई स्थान दिनु पर्छ भन्ने खालको सार्बजनिक अभिब्यक्ति दिने हिम्मत गर्न सकेका छैनन । यसबाट स्पस्ट हुन्छ कि जनता चाहे भड्खालोमा जाउन , सातदल र आफ्नो पार्टी जे सुकै होस , माओवादिहरु जँगल गएनि एत्रै सिती, गिरिजाले राजतन्त्रलाई शिरोपर गर्दा मात्र अनि जन आन्दोलनको मर्म र भावनालाई राजाको गोडामा दाम राखे झैं राखेर ढोग्दा मात्र आफ्नो भलो देखेका छन । त्यसैले गिरिजा र गिरिजाहरु सँग सधैं चनाखो रहनु आवश्यक छ ।

प्रधानमन्त्री कोइरालाको चर्तिकला देखेर अनि हामिहरुले नै उन्लाई सतिसाल भनिदिंदा आज मलाई मेरो खेतबारीमा भएको एउटा अजँगको ठुलो साहाजको रुखको सम्झना आईरहेछ । वरपर गाँउघरमा भए मध्धेमा सबै भन्दा ठुलो उक्त रुख वास्तबमा मेरो र मेरो छिमेकिको खेतको साँधभन्दा थोरै भित्र मेरो खेत पट्टी थियो । त्यो रुख हामिले रोपेका थिएनौं उहिल्यै झोडी जँगल हुंदै देखिको त्यो रुख हाम्रो खेतमा उभिएको भएपनि छिमेकिको खेतलाई समेत बालिनालिमा सेप पारेर बराबर असर गर्थ्यो तर त्यो रुखबाट फाईदा भने हामीमात्र लिन्थ्यौं । हाम्रो समाजमा धेरै यस्ता बिकृत मुद्दाहरु छन यौटाले साँधसिमाना नजिक भएका रुखबिरुवाहरुबाट फाईदामात्र लिईरहने र अर्कोले नोक्सानमात्र बेहोरिरहने । कतिपयको त सिमाना नजिकको रुखबिरुवाहरुकै कारण बोलचाल बन्द हुने देखि लिएर पानी बाराबार ( काटाकाट , मारामार ) सम्म हुने गर्छ । यसरी साँधसिमाना नजिक भएको रुखबिरुवाले यदि दुबै पट्टीको खेतबारीलाई असर गर्छ भने त्यो रुख बिरुवामा दुबै सँधियारको बराबर हक लाग्नु पर्ने हो तर त्यसो हुन नदिन हाम्रो समाजमा भएको हेपाहा मिचाहा प्रबृतीले काम गरेको छ । जे होस आउदै गरेको समयले हाम्रो समाजमा बिद्दमान यस्ता अनेकौं झिना मसिना बिकृत समस्याहरुको पनि निराकरण गरोस भन्ने आशा गरौं ।

मैले उल्लेख गर्दैरहेको उक्त ठुलो साहाजको रुख आफ्नो खेतमा भएकोमा म निक्कै घमण्ड गर्थें । हुनत त्यो उमेर मेरो केटाकेटी उमेरनै थियो तर अहिले सम्झंदा लाज लागेर आउंछ । त्यसबेला म सँगैका दौंतरीहरुलाई आफ्नो खेतमा भएको रुख सबैको भन्दा ठुलो भएको धाक दिन्थें।

समयक्रम सँगै एकाएक त्यो ठुलो रुखको टुप्पोको निक्कै भाग सुकेर गयो । यहाँ सम्मकि ठुलो हुरी बतास आउंदा त्यो रुखको टुप्पो (सुकेको भाग) भाँचिएर मान्छे या गाइबस्तु मार्ला भन्ने त्राहि त्राहि हुन थाल्यो । धेरै मान्छेहरुले हामिलाई त्यो रुख चैत्र महिना तिरै खेतबारी खाली भएको बेलामा ढाल्ने सल्लाह पनि दिए तर हामीसँग खै कस्तो मोह थियो कुन्नि त्यो रुख सँग हामीले त्यो रुख ढाल्न चाहेनौं बरु त्यसको टुप्पोमा सुकेको भाग जति मात्र काट्ने निधो गर्यौं । त्यो यसकारणले पनि हुन सक्थ्यो कि हामी त्यो अजँगको रुख ढालिसकेपछि त्यसलाई खेतबाट हटाउने झण्झट उठाउन चाहदैनथ्यौं । त्यतीबेला टोल छिमेकमा अलि मुर्ख तरिकाको मुढे काम गर्न प्रख्यात सुपारीलाल नामगरेका एक जना छिमेकि जस्लाई हामी मामा भन्थ्यौं लाई त्यो रुखको टुप्पो सुकेको भाग काट्ने जिम्मा दिईयो । त्यत्रो बडेमानको रुखको टुप्पो भन्दा अलि तल चढेर हाँगाको आडमा बसेर सुपारीलाल मामाले उक्त रुखको सुकेको टुप्पो ढाल्न बिँड छोटो पारिएको प्रहार गर्न थाले । सुकेको काठमा बन्चरोको चोटपर्दा आउने ठ्वाक ठ्वाक आवाज पर पर सम्म तरँगित हुंदै गएछ क्यार छरछिमेकी देखि वल्लो पल्लो गाँउका सम्म धेरै मान्छेहरु त्याँहा जम्मा भएका थिए । मानौं त्याहा ठुलै जात्रा भै रहेको छ । उपस्थित मध्धे कोहि मर्छ होला आज यो सुपारीलाल भन्दै थिए तर सुपारीलाल निक्कै खप्पिस थिए यस्तो कामको लागी । ढलाई छाडे उन्ले त्यो अजँगको रुखको सुकेको भाग । जसै त्यो रुखको अग्लाई घट्यो मलाई म आफु पनि होचो भएझैं महशुस भएको थियो । घरमा भने सबैजना हुरी बतासले भाँच्न सक्ने त्यो रुखको सुकेको टुप्पो काटेर ढुक्क थिए ।

समय बित्दै थियो । त्यहीसाल असौज महिनाको एक राती झम झम झरी परिरहेको बेला त्यो अजँगको रुख त हाम्रै खेत पट्टी पसाउंदै गरेको धानबालीको सर्बनाश गर्दै ढलेछ । झरी परेको ले गर्दा अनि राती सबै निदाएकोले गर्दा त्यत्रो ठुलो रुख ढलेको आवाज सम्मपनि कसैले थाहा पाएनौं । मेरो त्यो धाकधक्कु लगाउने रुख ढल्नाले मलाई पर्नु चोट परेको थियो । घरका अरु म भन्दा ठुला सदस्यहरु चैत्रतिरै फेदै ढालेको भए हुने रहेछ , त्यत्रो धानबालीको सर्बनास भयो भन्दैथिए । म भने कसरी ढल्यो होला भनेर आफ्नै हिसाबले अनुसन्धानमा खटिएं । मेरै अनुसन्धानबाट पत्ता लाग्यो त्यो रुखको टुप्पो सुकेझैं जराहरुपनि कुहिएर मक्किसकेको रहेछ ।

आज आएर हाम्रा सम्माननिय प्रधानमन्त्री कोइरालाले राजालाई पनि स्थान दिनु पर्छ भन्दै राजतन्त्रको पक्षमा वकालत गरेको देख्दा लाग्छ त्यो साहाजको रुखको टुप्पो सुके झैं कोइरालाको पनि टुप्पोबाट बुद्धि सुक्दै गै रहेछ । उक्त साहाजको रुख ढाल्न छरछिमेकीले चैत्र बैसाख तिरै सल्लाह दिएझैं चैत्र बैसाख तिरै जन आन्दोलन्को उत्कर्स देख्न पाइयो । छिमेकीको त्यत्रो सल्लाह सुझाबको बावजुध पनि हामिले त्यो साहाजको रुखको टुप्पो मात्र काटेका थियौं जुन मलाई राजाको अधिकार मात्र कटौती गरेर राजा राख्ने कोइरालाको कुरा जस्तै लाग्छ । त्यो रुखको जराहरु धमिरा लागेर या बुढो भएर मक्किएझैं गिरिजा प्रसादको पनि आफ्नो पार्टीभित्रको अनि सारा जनताहरु सँगको पकड खुस्कंदो स्थितिमा छ । उमेरले पनि साथ छोडदै छ उन्को त्यस्तै राजाको पनि सारा पकडहरु खुस्किईसकेको छ र राजा र गिरिजा दुबैको ढल्ने समय नजिकिंदै छ । असौजमा त्यो साहाजको रुख ढले झैं राजा र गिरिजाको पनि तेस्तै समयतिर ढल्ने सम्भावना बढेर गएको छ । उक्त रुख ढल्दा धानबाली नष्ट गरे झैं राजा र गिरिजाको अवसान हुने समयमा फेरी रक्तपात हुन सक्छ किनभने आफु आफु बिचमा सहमती नभै गिरिजा र प्रचण्डले राष्ट्रसँघ लाई दिईएको पत्रमा हस्ताक्षर गरेका छन र हतियार ब्यावस्थापन जस्तो मुख्य मुद्दालाई पछि मिलाउने भनेर टारेकाछन जुनकुरा अहिले सम्म दुई पक्ष ( सरकार र माओवादि ) को अडान हेर्दा असम्भब देखिन्छ । त्यस्तैगरि उक्त रुख ढलेकै महिनातिर राजा र गिरिजाको पतन हुने सँकेत माओवादिहरुले भन्ने गरेको अक्टोबर क्रान्ती पनि हो । अक्टोबर क्रान्ती नहोस भन्ने कमना गरौं तर के थाहा सरकार र माओवादि दुबै पक्ष आ आफ्नो अडानमा ठोस बस्दै पग्लिन चाहेनन भने त्यसो नहोला भन्न पनि सकिन्न ।

यो सबै मैले भविश्यबाणी गर्न खोजेको हैन । बर्तमान राजनीतिको हकमा संभावित कुराहरु अनि मेरो त्यो साहाजको रुखको हकमा घटित कुराहरु मात्र गर्न खोजेको हुँ । मेरो ब्याक्तिगत बिचारमा पनि सरकारले तुरुन्त सातदल , नागरिक समाज र माओवादिहरु पनि समेटिएको अन्तरिम सरकार गठन गरेर उक्त सरकार मार्फत नेपालमा राजतन्त्र अन्त्य भएको घोषणा गर्नु पर्थ्यो । त्यसो गर्दा माओवादिहरुले पनि हतियार छाड्ने भनिरहेका थिए । तर सरकारले त्यसो गरेन र गर्ने छाँट पनि देखाईरहेको छैन । सरकारको ध्याउन्न हेर्दा माओवादिहरुलाई कुनै पनि युक्तीले हतियार बाट अलग गरेर सम्बिधानसभाको हैन सँसदको चुनाबमा लाने कसरत गरिरहेको देखिन्छ भने माओवादिहरुपनि झुक्दा झुक्दा नसकिने भो भन्ने भित्री मनसायमा अझ झुक्दै जांदा आफ्नो पार्टी भित्र नै फुट उत्पन्न होला भन्ने आशँकामा अगाडी बड्ने हो कि पछाडी हट्ने हो भन्ने दोधारमा छन । उनिहरु त यसै पनि बिद्रोहीहरु पछि हटेर फेरि जँगल नै गए भने पनि सरकारलाई दोष थुपार्ने छन तर सरकार??? सरकार ले पछि हटेर कहाँ जाने हो?? अझ गिरिजाप्रसाद कोइराला त छिमेकिको घरमा आउने चोर रुङ्न आफ्नो घर खुल्लै छाडेर हिंडेका छन चोरले उन्कै घर मा लट्टी पट्टी पार्न के बेर ?

Wednesday, August 09, 2006

कविता : अलबमको पानाभित्र एकदिन ।

अलबमको पानाभित्र एकदिन ।

दीपक जडित
एकदिन
हातभरी गुलाफको फूल बोकेर
पानी छोएर कसम खाँदै
तस्वीरबाट उस्ले मलाई हेरी
र भनि - " म मरेकी छैन
तिम्रो छाती भित्र मैले रोपेका
प्रत्येक गुलाफहरु
जब जब फुल्नेछ
र त्यसको सुबासले तिम्रो परिवेश
सुवासित हुनेछ
छामी हेर्नु त्यसबेला म
तिम्रो स्पन्दन बनेर
स्पन्दित भएकि हुनेछु । "

बिश्वास नभएर मैले
निर्मिमेश उस्लाई हेरें
हेरिरहें घण्टौं
निर्भिक उस्ले झिम्म नगरि
म सँग आँखा जुधाईरही
ठिक त्यसबेला
अलिकति पिंडाले मेरो अन्तरमा
घोचिदियो चस्सै !!
म उस्को पछ्यौरीमा
घोप्टिएर खोज्न थालें
आफु भित्र
उस्ले रोपेका गुलाफहरु ।

नियाँल्दै जाँदा
सौंदर्यहिन
प्रसस्तै गुलाफहरु
सुवासरहित भएर
मुर्झाउन लागेको पाएँ
अन्तत दुखित मलाई लाग्यो
सौंदर्य गुलाफमा नभएर
दृष्टीमा हुँदो रहेछ
र सुवास घ्राणशक्तिमा
जस्लाई गुमाएर मैले
यौटा रहस्य फेला पारें कि
गुलाफको सौंदर्य त भ्रम रहेछ
अनि तत्कालै पल्टाई दिएँ
अलबमको पानालाई ।

यो कविता उ अझै मरेकी छैन भन्ने आफ्नै अप्रकाशित कविता सँगालो बाट लिएको हुँ ।

Monday, August 07, 2006

गजल / जस्ताको तस्तै

उमेशजीको माई सन्सार डट कममा कमेण्ट लेख्ने क्रममा लेखेको यौटा गजल जस्ताको तस्तै - copy paste - राखेको हुँ ।

दीपक जडित
-----------------------
धन्यवाद उमेश जी , नगरिकसभाको समर्थन गर्दै मैले मेरो ठाउँबाट गर्न सक्ने काम - सबै स्वदेश तथा बिदेशमा बस्नुहुने गणतन्त्र तथा लोकतन्त्र प्रेमी साथिहरु को लागि __यौटा गजल------------------------------

गजल

राजनीतिको हिसाबमा कि त जोड कि त घटाउ ।
भएजति बिनासकारी नेताहरुलाई हटाउ । १

नेताहरुको लिँढेढिपिमा मुलुक किन अड्काउने? ,
राजनीतिको गाँठो खोल्न नागरिक समाजलाई पठाउ । २

आफ्नै मात्र स्वार्थ हेरि राजा राख्छु भन्नेहरुलाई ,
हत्यारा त्यो राजा सँगै चाँडैगरी नौ डाँडा कटाउ । ३

बस्ती बस्ती गाँउ गाँउ जागृतीको शँखघोष गर्दै ,
देशभरी मडारीएको अन्यौलको बादल फटाउ । ४

बल्ल बल्ल हिँसा त्यागी आएका बिद्रोहीहरुलाई ,
फेरी जँगल पस्न सक्छन , मुलधारमा ल्याई अटाउ । ५

कविता (गफ कविता)

दीपक जडित

यो माग हो : तपाईं कहाँ हुनुहुन्छ?

मलाई मेरो मर्यादा देउ
संसार सामु मलाई नँग्याएर
के पाउनेछौ तिमी?
मलाई मेरो मानसम्मान देउ
म यो देशको राजा हुँ ।

मलाई मेरो राजा देउ
राष्टिय एकताको प्रतिकलाई हटाएर
देश के जोगाउछौ तिमी?
मलाई मेरो राजा राख्न देउ
म यो देशको बर्तमान सरकार हुँ ।

मलाई मेरो भगवान देउ
मेरो शिरबाट ईश्वरको हात हटाएर
म कसरी बहादुर सिपाही हुन सक्छु ?
मलाई मेरो देउता / राजाको छत्रछाँया देउ
म यो देशको सेना हुँ ।

मलाई मेरो भाग देउ
बखतमा तिमिलाई सघाएर
ठुलै बलिदान गरेको छु मैले
मलाई सत्ताको साझेदारी देउ
म यो देशको माओवादी शक्ति हुँ ।

मलाई नयाँ सरकार देउ
आठ बुँदे कार्यान्वयन गर्ने
सम्बिधान सभा गराउन सक्ने
मलाई सर्बपक्षिय अन्तरिम सरकार देउ
म यो देशको नागरिक समाज हुँ ।

मलाई मेरो कमिशन देउ
बर्षौं देखि खाँदै आएको
गैह्र कानुनि / अनैतिक भए पनि
मलाई घुस खाने छुट देउ
म यो देशको कर्मचारी हुँ ।

मलाई लोकतन्त्र / गणतन्त्र देउ
राजतन्त्र अहिलेनै उखेलेर फ्याँकि
दाईने बाँया कुरै नगरी
मलाई सिधै लोकतन्त्र / गणतन्त्र देउ
म यो देशको राजनैतिक चेतना भएको जनता हुँ ।

मलाई मेरो जीवन चल्न देउ
थोरै तिनै भए पनि आफ्नो सम्पतिमा
आफ्नो हिसाबले खान , खर्चिन र रमाउन
मलाई मेरो जिन्दगी देउ
म यो देशको राजनैतिक चेतना नभएको जनता हुँ ।

मलाई मेरो परिचय देउ
यहि माटोमा बर्षौं देखि बस्दै आए पनि
यता न उताको बनाईएको छु म
मलाई नागरिकको दर्जा देउ
म यो देशको नागरिकता बिहिन जनता हुँ ।

मलाई घर फर्कन देउ
आफ्नै आँगनमा आफ्नो सँग
नबसेको धेरै भैसक्यो
मलाई आफ्नो घर फर्कन देउ
म यो देशको द्वन्द्व / जनयुद्धले बिस्थापित जनता हुँ ।

मलाई टाउको लुकाउने झुप्रो देउ
बर्षौं अरुको निम्ति काम गर्दै आएको
आफु मुर्दा भएर अरुको निम्ति बाँचेको
मलाई आफ्नो निम्ति बाँच्न र बस्न देउ
म यो देशको घरबार बिहिन जनता / कमैया हुँ ।

यो माग हो बर्तमानको
नेपालको , नेपालीको
मेरो , तिम्रो , उस्को , त्यस्को
हामि सबैको माग हो यो
खोज्नुहोस तपाईं माग गर्ने क्रममा
आज कहाँ हुनुहुन्छ?

Sunday, August 06, 2006

गजल

गजल

दीपक जडित

नेताहरुको राजतन्त्र थाम्ने मात्रै एउटा काम भयो ।
आन्दोलनको मर्म राजाको गोडामा चढाउने दाम भयो । १

हिजो सम्म गणतन्त्रको भाषण भुक्ने नेताहरुको ,
भित्रभित्रै राजा रिझाउन दरबार छिर्ने लाम भयो । २

जनता सामु जनतानै भगवान हुन भन्नेहरुको ,
नारायणहिटी दरबार नै आज चारधाम भयो । ३

छारो बनाई संबिधानसभा हाम्रो आँखामा हाल्दिए ,
होला कि त भन्दै हाम्रो त अँध्यारोमा छामाछाम भयो । ४

रक्तपात र हिँसा छाडी आएका माओवादिलाई ,
फेरी जँगल पठाउने कसरत खुलेआम भयो । ५

यो गजल नेपालीकविता डट कममा प्रकाशित भएको छ र उमेश श्रेष्ठको माई सन्सार डट कममा पनि कमेण्टको रुपमा लेखिएको छ ।

Tuesday, August 01, 2006

कथा : भगवान हराएपछि ।

कथा : भगवान हराएपछि ।

- दीपक जडित

के तपाईंको पनि नजिकको साथी छ ? यो प्रश्न यसकारण कि साथी सबैको धेरै हुने भए पनि नजिकको साथी थोरैको कम हुने गर्छ । .........ठिकैछ , तपाईको नजिकको साथी नभए बनाउनु होला किनकि महाभारतमा पनि मान्छेको जीवनमा यौटै मात्र भएपनि यस्तो साथी होस् जो साथीको निम्ती ज्यान दिन तयार हुन्छ भने त्यो जतीसुकै अधर्मी , पापी भएपनि त्यसको जीवन सार्थक हुन्छ भनिएको छ । महाभारत त पढ्नु भएको छ तपाईले ? यो प्रश्न पनि यसकारण कि आजभोलिका पुस्ता धेरै थोरैले मात्र महाभारत पढेका हुन्छन । हुनत आजको समयमा महाभारतको त्यो बडेमानको ठेली पढ्नै पर्छ भन्ने पनि छैन , हेर्न पनि सकिन्छ महाभारत । जे होस् महाभारत बुझ्नु पर्ने कथा हो ।

हेर्नुस् मेरो ईरादा तपाईंलाई उपदेश दिने हैन । कसैलाई उपदेश दिन लायक म कहाँ छु र ? मैले त तपाईंलाई एउटा कथा सुनाउन मात्र खोजेको हुँ । मेरो कथा - मेरो मतलब म सँग भएको कथा तपाईंलाई दिक्क लाग्दो पनि हुन सक्ला , त्यसो त म कर पनि गर्दिंन नि तपाईंको खुशी हो पढ्नुहोस् या नपढ्नुहोस् । मेरो कथा मेरो हैन । मेरो आफ्नै नभएर मेरो छेउको कथा हो यो । म सँग थोरै समयमा धेरै घनिष्ठ सम्बन्ध स्थापना भएको मेरो साथीको कथा हो यो ।

पख्नुहोस् है , पहिले मलाई मेरो कथाको पात्रको नाम जुराउन दिनुहोस् । साथी हो सिधा उसैको नाम रा खेर उसैको कथा लेख्दा रिसाउन सक्छ । म साथी गुमाउन चाहन्न । के राख्ने हो त उस्को नाम ? तपाईं दिनुहोस् न एउटा प्रचलित नाम ? सक्नु हुन्छ ??........ केहिछैन , तपाईंसँग मेरो पात्रको लागि नाम छैन भने म आफ्नै नाम दिन्छु नि त उस्लाई । बहु प्रचलित छ मेरो नाम पनि - दीपक । हो दीपक नाम नै उपयुक्त हुन्छ उस्को लागी किनभने रातको अँध्यारोमा पनि बत्ती झैँ बल्न चाहन्छ उ ।

एउटा पात्र (मेरो साथी) लाई त नाम दिएँ मैले आफ्नै अझै एउटा नाम चाहिएकोछ अर्को पात्रलाई । अर्को पात्र को हो ? मलाई थाहा छैन , मैले देखेको पनि छैन , भेट्ने त सबालनै आएन , कुरा पनि गरेको छैन । दीपकको मुखबाट भने उस्को बारेमा धेरै सुनेको छु मैले । यहाँ सम्मकि सुन्दा सुन्दा मेरो मानसपटमा उस्को सजीब प्राय: तस्वीर बसिसकेको छ । मेरो कथाको त्यो महिला पात्र जस्लाई दीपकले आँफैलाई भन्दा धेरै माया................ ए!!!!!! माया , माया पनि त एक प्रचलित नाम हो नि , यही नामनै मेरो कथाकी महिला पात्रलाई सुहाउछ पनि ।

झट्ट हेर्दा चन्चल प्रकृतीको झैं देखिने दीपक एक गम्भिर , भाबुक मुटु भएको , कल्पनाशिल ब्याक्ती हो फेरी पनि यथार्थ संसारमा चल्नको लागि जस्तोसुकै सत्य स्विकार्न सक्ने र जुनसुकै झुठको पनि प्रतीकार गर्न पछी नहट्ने ब्यक्तित्व छ उ भित्र । मान्छेहरुले हम्मेसी उस्लाई बुझ्न सक्दैनन - मलाई पनि शुरु-शुरुमा उ सँग अभ्यस्त हुन ठुलै सकस भएको थियो , कस्तो जर्कट मान्छेको फेला परेछु भन्ने लागेको थियो तर जब चिन्दै गएँ मेरा सारा अड्कलहरु बेकार हुँदै गए । ज्यादै कम बोल्ने दीपक एउटा असल र सही साथीमा परिणत हुँदै गयो । उस्को ब्यावहार र बिचारबाट म प्रभावित हुँदै गएँ ।

आज उ दुखी छ , म देखिरहेछु तर म उस्लाई सहयोग गर्न सकिरहेको छैन । यो बिषय नै यस्तै पर्‍यो कि म चाहेर पनि सहयोग गर्न सक्दिन । ईन्टरनेटबाट भिन्न भिन्न भूगोलका भिन्न भिन्न र धेरै साथीहरु बनाउने रुचि भएको दीपकले एकदिन म सँग भन्यो- " हैन यार , साथी धेरै बनाउनु पनि ठीक हैन रहेछ । जब साथी भएर साथीको भूमिका नै निर्बाह गर्न सकिन्न भने साथी भएको के काम? " त्यसबेला मलाई लागेको थियो उस्ले ईन्टरनेटबाट बनाइने साथीमा साथित्व र साथित्वप्रति स्थाइत्व हुन सक्दैन भन्ने बुझेछ क्यार तर कहाँ र उस्ले त त्यसदिन देखि उ सँग भएका ईन्टरनेटका साथीहरु मद्धेबाट साथित्व प्रति स्थाइत्वको सम्भावना भएकाहरु मात्र छनौट गरेर राख्ने र बाँकी सबैलाई हटाउने बिचार पो गरेको रहेछ ।

प्राय: सँधै सँगै हुने भए पनि मैले उस्का ब्याक्तिगत कुराहरुमा चासो राखेको थिईनं तर त्यसदिन उसैले मलाई उस्का ईन्टरनेटका असल साथीहरु देखायो । उ सँग झण्डै २०० को हाराहारीमा भएका साथीहरु बाट आज चुनिएका असल साथीहरु केवल ३ जना मात्र थिए । जस मध्धे २ जना केटा साथी र १ जना केटी साथी । उ सँग पहिले केटी साथीहरुको सँख्या अधिक भएको मलाई राम्ररी थाहा थियो त्यसैले सोधें , " तिमीसँग भएका तेत्रा केटीसाथीहरुबाट एउटा मात्रै असल पायौ ? " उस्ले तुरुन्तै जवाफ दियो , " हो नि , पहिलो कुरा त केटी साथी बनाउन नै गार्हो हुन्छ अझ त्यसमाथि पनि असल पाउन त झन मुस्किल । " उस्को जवाफको आशय केटीहरु खराब हुन्छन भन्ने थियो । मैले प्रतिबाद गरें , " त्यसो भए के , तिमी केटीहरु सबै खराब हुन्छन भन्ठान्छौ हैन ? " " हो । " उस्ले सहजै स्विकारेर भन्यो , " धेरै केटीहरु हुन्छन , तिमी जती असल सम्बन्ध राख्न खोज तिमीलाई तिनिहरुले गलत नजरले हेरेका हुन्छन । त्यस्ता केटीहरु जहिले पनि तिमीभित्रको कमजोर पक्षको खोजिमा हुन्छन ता कि तिमीलाई बद्नाम गर्न सकुन , बेईजती गर्न सकुन तर मैले सबै केटीलाई त्यस्ता हुन्छन भनेको छैन । त्यसो भन्दो हुँ त अझै पनि म सँग एउटा केटी साथी हुने नै थिएन नि ।"

मलाई तर्क गर्न आवस्यक लागेन । जस्को जस्तो भोगाई छ उस्ले तेस्तै बुझेको हुनुपर्छ भनेर म चुप लागें । उ भन्दै गयो , " तर यो केटी मेरो लागी धेरै महत्वपूर्ण छे ।" स्पस्टै थियो कि उ त्यो केटीको बारेमा अझै धेरै बताउन चाहन्छ । मलाई पनि के थियो र ? म सुन्नलाई तयार थिएँ । उ थप्दै गयो , " म उस्लाई मेरो मनको सबै कुरा भन्न चाहन्छु तर सकेको छैन यार । कसरी भन्ने होला ? " उ बोल्दै गर्दा मैले उस्को अनुहार नियालें । मलाई मामला गम्भिर लाग्यो । उस्को अनुहारमा पिंडाका भावहरु सल्बलाएको महशुस गरें मैले र पनि यो त सजिलै हो नि भन्ने भाबमा उस्लाई भनें ," के भो त ? फोन गरेर अहिले नै भनिदेउ न ।" निक्कै बेर उ चुपचाप बस्यो । समस्या त त्यहाँ पो रहेछ , उ सँग त मायाको फोन नम्बर नै रहेनछ । म छक्क परें । फोन नम्बर सम्म नभएको साथी कसरी उस्को अ सल साथीमा पर्‍यो होला ? त्यसबेला मलाई साच्चै खस् खस् लाग्यो, मैले "फोन नम्बर किन नमागेको त ? कि छैन उ सँग फोन ?" भन्दा थाहा पाएँ मागेको त रहेछ फोन नम्बर तर उस्ले आफुलाई भन्दा धेरै माया गर्ने उस्की मायाले उस्लाई फोन नम्बर सम्म दिएकी रहिनछ । यो मामलामा उस्लाई निरास नपार्ने हेतुले मैले उस्लाई आफ्नो अनुभब सहितको सुझाब पेश गर्दै भनें , " त्यसो भए अनलाईनमा कुरा गर्दा नै भन न त । अनलाईनमा भन्न त फोनमा या भेट्दा भन्दा सजिलो पनि हुन्छ । " उ फेरी मौन बस्यो । उस्को मौनता बुझ्दै जाँदा थाहा पाएं कि आज भोली माया सँग अन लाईनमा पनि भेट हुन छाडेछ । म असमन्जसमा परें । के सुझाब दिनु , सुझाब दिने ठाँउनै भेटिनं । मैले कस्ती छे नि तिम्री माया ? खै फोटो देखाउ त हेरुं ? भन्दा उस्ले फोटो पनि छैन मागेको थिएं तर दिइन भन्यो ।

उस्लाई लिएर मेरो लागी यो भन्दा ठुलो हैरानी अरु के हुन सक्थ्यो ; मैले कल्पनानै गर्न नसक्ने गरी उ मायाको प्रेममा पग्लिएको थियो । उस्लाई उस्को यो तरल अवस्थाबाट पुन: जमाएर ठोस् स्वरुपमा लानु पर्ने आवस्यकता देखें तर म सँग कुनै उपायनै पनि त थिएन । "किन यसरी, को हो ? के हो ? बुझ्दै नबुझी तिमी एकोहोरो अनि यती गहिरो प्रेम गर्छु भन्छौ ? " यसरी नै मैले सोद्दा- " खै किन किन मलाई नै थाहा छैन म किन यस्तो हुँदैछु । उ सँग अनलाईनमा कुरा गर्दा गर्दै म भित्र यस्तो अनौठो भावना स्वत उब्जियो कि म उस्लाई साँच्चै माया गर्न थालेछु ।" यस्तै थियो उस्को जवाफ ।


त्यो समयमा एक क्षणको लागी म अवाक भएँ । के भन्नु के नभन्नु , फेरि पनि मैले उस्लाई ढाडस दिदै भनें, " यसरी अन्जानको लागि तिमि किन आफ्नो उर्जाशक्ति नै सेलाउने गरेर दुखि बनिरहन्छौ ? आज , अहिले नै ईमैल लेख र पोखिदेउ तिमि भित्रका सारा उकुशमुकुशहरु कमसेकम तिमि हलुका त हुन्छौ । हैन यदि सक्दैनौ भने खै मलाई भन तिम्री मायाको ईमैल ठेगाना म भनिदिन्छु सबै कुरा स्पस्ट शब्दमा ।" यहाँनेर मैले दीपकलाई अति आग्रह मात्र हैन अति जोड नै गरेको थिएँ तर उ अझै पनि शिथिलनै थियो । उस्ले एक छोटो सुस्केराका साथ भन्यो , " हैन , ठिकै छ , छाडिदेउ यो बिषयलाई । मैले वास्तवमा भगवानको हातमा पहिले नै मेरो सन्देश पठाएको थिएँ तर भगवान नै सायद बाटो भुलेर हराए । अब मेरो नियतिमा नै छैन भने जोड गरेर मात्र त केहि हुन्न नि? " दीपकको प्रतिप्रश्नको पनि म सङ्ग कुनै जवाफ थिएन । यो कस्तो प्रेम हो ? म सोच्न थालें । किन मान्छेहरु यसरी अन्जान प्रेमको पासोमा घाईते भएर अल्झिन्छन ? दीपकको सन्देश बोकेर जाने भगवान हराउनुको तात्पर्य मैले बुझिनं । म अवाक उस्को भगवान हराएपछीको अनुहार हेर्न थालें जहाँ पल प्रतीपल उदाशी र बेचैनी को भावरेखा थपिंदो थियो ।