Friday, February 27, 2009

गजल : पुतली भएन दीपक


आफैं जल्दैछ जल्न जाने पुतली भएन दीपक ।
फूल्ने , क्षणमै वैलिने फूल अलि भएन दीपक ।

फेरियो निश्चय पनि बदलेर नयाँ समयले ,
मान्यता केहि अटल ; पूर्ण कलि भएन दीपक ।

तेलै जीवनको सक्ला बरु जलेर नै यसै गरी ,
निचोरेर हातले नै मुटु बलि भएन दीपक ।

भएर पार्वती आजकी गुहारेथ्यौ त्रासले तर ,
विष्णु जस्तै योगि स्वरुपमा छलि भएन दीपक ।

हो जलेको छ अझै जलिनै रहेको छ निरन्तर ,
अफसोस् जलिरहे पनि झल्झली भएन दीपक ।

Thursday, February 26, 2009

कविता : समयको शुभकामना


अझै अफसोसहरु
गुम्स्याएर छातीभित्र
वस्तीहरु ढाकेको यो कुहिरो
पन्साउन नसकेर भोली पनि
गहिरो सुस्केरासँग
उच्छवास छोड्नु नपरोस्
शुभ दिनको शुभ घडीमा
उभिएका छौ तिमी
यही बिहानीमा सुरु गरोस्
तिम्रा हातहरुले
शुभ चिन्तन सहित
नयाँ युगको क्षितिज उघार्न
यो तयारीको निमित्त
तिम्रै साथमा छ
समयको शुभकामना ।
माई संसार डटकमको शनिबार साहित्य अन्तर्गतको फोटो हेर्नुस् कविता लेख्नुस् भन्ने ब्लगमा गत शनिबार लेखेको कविता

Saturday, February 21, 2009

फेरि गन्थन

अस्त ब्यस्त छु केहिदिन देखि । ब्यवस्थित कहिल्यै भईँन म पहिले नै स्विकारी सकेको कुरा हो यो र सायद ब्यवस्थित हुन जान्दिंन पनि होला यो जुनी तर म जस्तो छु त्यस्तै खुशी छु । जसरी बाँचेको छु त्यसरी नै खुशी छु । त्यसो त खुशी छु भनेर खुशी भईने कुरा होईन यो त खुशी हुँदा सिधै हुने कुरा हो तर मन सँधै खुशी हुन्छ नै भन्ने ठोकुवा कहाँ हुन्छ र ? मन न हो छिन मै दुखि पनि हुन सक्छ । समग्रमा म निश्चिन्तित बाँचेको छु । कहाँ , कुन प्रसँगमा हो थाहा छैन तर मैले एकपल्ट लेखेको थिएँ ' सँधै चिन्तित बन तब मात्र तिमीलाई चिन्ताले सताउँदैन । ' म मा लागुहुन्छ यो कुरा त्यसैले बेला बेला सोच्न भ्याउने हरेक विषयलाई लिएर चिन्तित हुन्छु म - सबै नै हुन्छन् भन्ठान्छु पनि ।

*******************************************

केहि दिन देखि लेख्ने कुरामा म हराईरहेको छु । लेख्दै गरेका निक्कै कुराहरु छन् तर केहि पुरा गर्न सकेको छैन । छोटा रचनाहरु विशेष गरेर गजल लेख्न बडो आनन्द लाग्छ मलाई तर निक्कै पो भएछ गजललाई नसुम्सुम्याएको । पछिल्लो पटक खसखसका सञ्चालक दाजु बासु श्रेष्ठसँग कुरा हुँदा लेख्ने मूड आएको बेला जे सुकै काफिया बनाएर पनि गजल लेख्न सक्छु जस्तो लाग्छ तर प्रभावशाली नहुन सक्छन भनेको थिएँ । त्यसपछी लेखेकै रहेनछु अझै लेखेको छैन सायद म प्रभावशाली शेरहरुको खोजीमा छु ।

***********************************************

केहि अगाडी हवाई टापूमा रहँदाका पलहरु समेटेर चार सौ बीस उत्सव भन्ने कथा लेखेको थिएँ । अहिले ति नै पात्रहरु लिएर अर्को कथा लेख्दैछु कहिले सक्छु थाहा छैन । तर त्यस कथामा भएका पात्रहरु मध्ये यौटी मिलिसा अलास्का घुम्न आएकि रहिछे मलाई भेट्न आएकि थिई । उ भन्दैथिई , ' डी मेरो काम गतिलो छैन । मलाई तिमीसँग नेपाल जानलाई प्रयाप्त पैसा हुँदैन होला । भएछ भने म सम्पर्क गर्छु है ? कहिले हो तिमी जाने ?'

' आउने अगस्टमा योजना बनाएको छु मैले । हुन्छ सम्पर्कमा बस्दै गरन सक्यौ भने जाउँला रमाईलो लाग्ला तिमीलाई मेरो देश । ' यस्तै जवाफ दिएँ उसलाई । म जहिले गए पनि म सँगै नेपाल जान चाहने अर्को साथी प्याट कहाँ छ अत्तोपत्तो छैन । उसले मेरो खोजखबर गरेको छैन मैले नि उसको गरिंन ।

हिँजो हवाईको एरिया कोड ८०८ भएको नयाँ नम्बरबाट यौटा कल आयो । को हुन सक्ला ? कौतुहलता साथ मैले फोन उठाएँ , ' डी , कस्तो छौ तिमी ? अलास्का रमाईलो लाग्दैहोला तिमीलाई हैन ? ' हवाईमा छँदाकि अर्की साथी डेजा थिई । उ पनि भन्दैथिई , ' मेरो त काम पनि खोसियो । अहिले अपार्टमेण्टको बाल तिर्न नसकेर साथीहरुसँग बसेकी छु । मलाई अलास्का आउन मन लागेको छ , मलाई त्याँहा काम खोजुञ्जेल हेल्प गर्न सक्छौ ? '

म अन्यौलमा परेँ उसलाई के भन्ने ? नआईज भन्न पनि अलास्का मेरो बाउको सम्पति हैन , आईज भन्न पनि मैले उसलाई कसरी के हेल्प गर्ने ? आ ! जे पर्छ त्यही टर्छ भन्ने ठानेर , ' ठिकै छ आयौ भने म मैले सकेको हेल्प गरुँला न । ' उ फुरुङ्ग भई । नेपाल गएर सडकका कुकुरहरुको स्याहार केन्द्र खोल्ने सपना देखेकी मेरी साथी डेजा उ आफैं सडकमा रहिछे यतिबेला । सपना देखेर मात्र कहाँ हुन्छ र ? सपना पुरा गर्ने अठोट अनुशार लागिपर्नु पनि पर्यो नि ।

' तिमी कथा कविताहरु लेख्दैछौ ?' सोधी उसले - उसलाई म ब्लग लेख्छु भन्ने पनि थाहा छ । ' तिम्रो ब्लग कत्तिको पपुलर भयो ? थुप्रै कमेण्टहरु पाउँछौ होला हैन ? मलाई त कथा कविता लेख्न कहिल्यै आएन । पढ्न चैं राम्रो लाग्छ । तिमीले लेखेको सबै कुरा मैले पढ्न सक्ने भए कति राम्रो हुन्थ्यो है ? अँग्रेजीमा लेखन भनेको तिमी कहिल्यै टेर्दैनौ ? ' एकदमै धेरै बोल्नुपर्छ उसलाई के के के के भन्दै रही ।

मैले सोधेँ , ' फोन नम्बर कहिले फेर्यौ ?'

' कहाँ फेर्नु ? पैसा तिर्न नसकेर लाईन काटियो । यो प्रिपेड फोन चलाउँदैछु अहिले । पैसा भएपछि फेरी त्यो नम्बर जोड्छु , नफाल है मेरो नम्बर पछि त्यही हुन्छ । ' साँच्चै नराम्ररी आर्थिक मन्दीको मारमा परेका छन् अमेरिकनहरु भन्ने बुझ्न उसको यति कुरा काफी छ ।

**************************************************

आज पनि म सपनामा नेपालमा थिएँ । सपना देखेर सम्झिए सम्म म धेरै जसो नेपालमै भएको हुन्छु । आज तराईको कुनै अपरिचित गाउँमा हिंड्दैथिएँ म । साँझको बेला पश्चिम आकाश रातो देखिन्थ्यो । लहर लहर चराहरु उड्दैथिए । स्वच्छ हावा र हरियो खेतहरुको बाटो हिंड्दा म मा कस्तो कस्तो डर थियो । मलाई भन्ने कोही थिएन तर अन्जान ठाउँमा एक्लै दुक्लै हिंड्न डरसरी छ भनिएको थियो मलाई । बाटोमा हतियार धारी दुईचारजनाले मलाई बाटो छेकेर सोधीखोजी गरे । म झनै आत्तिएको थिएँ यिनिहरुले मलाई मार्छन् भनेर तर केहिबेर केरकार गरेर उनिहरुले मलाई जान दिए । उनिहरुलाई पछिल्तिर छोडेर अघि बढ्दै जाँदा मलाई पछिल्तिरबाट उनिहरुले म माथी गोली चलाउँछन् कि भनेर डर लागी नै रहेको थियो । अहिले तराईको अवस्थालाई लिएर पनि मैले अर्को यौटा कथा लेख्न सुरु गरेको छु सायद त्यसैको असर हुनुपर्छ आजको सपना । मेरो देशमा यो डर र त्रासको अवस्था कहिले अन्त्य होला ? म यति टाढा बसेर पनि सपनामा त्यत्रो डर देख्छु झन त्याँहा बस्ने मान्छेहरुमा कस्तो असर होला यो भयावह वातावरणको ?

***********************************************

बिहान उठेर ( आज बेलुका ५ देखि ९ बजे सम्म मात्र काम भएकोले बिहान पनि १२ बजे मात्र भयो मेरो ) सबैभन्दा पहिले कम्प्युटर नै अन गरेँ । अनि नुहाई धुवाई सकेर एक कप चिया लिएर कम्प्युटरमा बसेँ । ब्लगर साथी आकारको आकारपोष्टमा पल्पसा क्याफे आयो होला भन्ने धून थियो मनमा । त्यतै लागेँ आएछ । अच्युत घिमिरेको आवाजमा पल्पसा पढेँ कानले । मैले पढ्न नपाएको पल्पसा उपलब्ध हुँदा ज्यादै हर्षित छु म । पल्पसामा बब मार्लीको गीतहरु उल्लेख रहेछ - मैले पनि चार सौ बीस उत्सव (कथा) मा उल्लेख गरेको थिएँ । अहिले लेख्दै गरेको ति नै पात्रहरु दोहोरिएको 'यु टर्न' मा पनि टुक्रा टाक्री जोडेको छु बब मार्लीको गीतहरु तर फरक अर्थका । साह्रै छाप पारेको छ मलाई पनि बब मार्लीका गीतहरुले । एम्बुस ईन द नाईट भन्ने गीतमा त म ठ्याक्कै हाम्रै देशको वातावरणको चित्र देख्छु । पल्पसा क्याफेमा बब मार्लीको गीतहरु उल्लेख भएको ठाउँमा पुग्दा झनै आनन्द महसुस भयो मलाई । आज सुनेको भाग जति साह्रै सरल र सजिब सम्बादहरु रहेको पाएँ । अगाडी पनि यत्तिकै रोचक छ पक्कै पनि । वाचक अच्युत घिमिरेलाई र उपलब्ध गराउनुहुने अनिल आकारलाई साधुबाद ।

***************************************************

ब्लगमा अनुपस्थित भएको यो पल्ट पनि हफ्ता दिन नै भएछ । त्यसैले उपस्थिती जनाउन यो गन्थन लिएर आएँ । म अल्छि नहुनु भन्छु तर जाँगरिलो हुन कहिल्यै सक्दिँन - के गर्ने होला ? समयले हामी सबैको भलो गरोस् ! अस्तु !!

Saturday, February 14, 2009

प्रेम दिवसको शुभकामना !!

प्रिय ,

सम्बोधनमा तिमीलाई उल्लेख गर्ने अधिकारमा अझै छु या बञ्चित भएँ यहि अन्यौल चिर्न नसकेर छटपटिईरहेको भएपनि तिमीलाई प्रिय सम्बोधन गर्ने सम्म अधिकार म रहुञ्जेल म मा निहित रहने ठान्दै आज प्रेम दिवशको मौका छोपेको छु ।

भन्नु पर्ने केही बाँकी नरहेको तर भन्न निक्कै बाँकी नै रहेको अवस्थामा पनि पुग्दो रहेछ मान्छे । म ठ्याक्कै त्यही अवस्थामा छु भन्दा कम्तीमा मलाई फरक पर्दैन मलाई नजान्नेहरुको निम्ती त यसको मात्र हैन केहीको पनि अर्थ हुँदैन । ब्याक्तिगत रुपमा नचिनुञ्जेल अथवा चर्चा परिचर्चाको विषय घेरामा नपरुञ्जेल सम्म जो सुकै मान्छे अर्को मान्छेको निमित्त बारीको असंख्य डल्ला समान हुन्छ जस्को अस्तित्व अलग्गै भएपनि समग्रमा डल्लै डल्लाले भरिएको बारीमा कसैले डल्लेठो लिएर डल्ला फुटाउन नजाउञ्जेल बराबर हुन्छ । जब कोही डल्लेठो लिएर डल्ला ठोक्दै अघि बढ्छ तब थाहा हुन्छ कुन डल्लामा ज्यादा जोर पर्यो , कुन डल्ला फुटाईरहनु परेन अथवा कुन डल्ला फुट्दै फुटेन भन्ने हैन भने बारीमा डल्लाहरुको उबडखाबड रहुञ्जेल विशेष डल्ला पनि सामान्य डल्ला नै रहन्छ बारीमा पानी पटेर सबै नगलुञ्जेल ।

हो म तिम्रो मनको बारीमा भएको विशेष डल्ला थिएँ त्यो जान्दछु तर अझै म विशेष डल्लाकै स्थानमा तिम्रो मनको बारीमा छु कि तिमीले मनको खेतमा पानी पटाएर गलिसकेँ कुरो यहिँ बुझ्न सकेको छैन । जम्माजम्मी मैले गर्न सक्ने भनेको अनुमान हो त्यसैले अनुमानमा तिमीले तिम्रो मनको बारीमा अविश्वासको कुलो हुल्यौ होला र म भ्यात्तै गलेर तर डल्लाकै आकारमा छु होला अहिलेसम्म र अर्को मैले गर्न सक्ने कुरा भनेको कामना हो त्यसैले यतिखेर म कामना गर्दैछु तिम्रो मनको बारीमा पसेको पानी कसैले पाईला टेकेर डल्लाहरुको गलेको स्वरुप भत्किन नपाई सुकोस र डल्लाहरु पुन अस्तित्वमा आओस ता कि म आफुलाई त्याँहा भेट्न सकुँ ।

त्यसो त मान्छेहरु मलाई कस्तो स्वार्थी रहेछ भन्दा हुन् तर यो विषय नै नाम मात्र प्रेमको हो बाँकी त स्वार्थ नै मात्र हो । सबैले यहि स्वार्थलाई प्रेम स्विकारेर बाँचेका हुन्छन् भने यहाँ मैले स्वार्थी बन्न हुन्न भन्ने ठ्याम्मै सोच्दिंन म । हो यो स्वार्थको निश्चित सीमा भने अवश्य हुन्छ । एकतर्फी नभएर यो स्वार्थ दुईतर्फी नै हुन्छ तर तब मात्र जब यसले पूर्णता पाउँछ अन्यथा सुर्यको तापमा परेर शीतका थोपा बिलाए जस्तै आशँकामा सम्बन्ध नै बिलाएर जान सक्छ अनि त न स्वार्थ न प्रेम यो कहिँको रहँदैन ।

प्रेम दिवसको यो मौकामा मैले कुरा प्रेमको मात्र गर्न खोजेको हैन हाम्रो प्रेमको पनि गर्न खोजेको हुँ र हाम्रै प्रेमको मात्र चर्चामा रमाउन नसक्ने हुँदा प्रेमको पनि कुरा झिक्दैछु । लेखाईबाट सुरु भएको हाम्रो प्रेम आज लेखाईकै धरापमा पर्न पर्न लाग्दा मैले हाम्रो प्रेमको कोठेबारी खनिखोस्री गर्नैपर्ने महसुस गरेको हुँ । सम्भवत: कुनै गीतको निमित्त भनेर लेखेका केहि हरफ शब्दहरु थिए तिमीलाई लोभ्याउने , यो हुनु नै थियो सायद त्यसैले सयौंले पढ्दा म मा नटाँसेको मन तिमीले टाँस्यौ । समयान्तरमा आएर यतिखेर मन टाँस्ने लिसो नक्कली पो थियो कि झैं लाग्ने गरी कुनै गीतकै निमित्त केही हरफहरु कोरीरहँदा टाँसिएको मन उप्केला उप्केला झैं महसुस भयो । भावावेशमा आएर तिमीले उप्कायौ नै भनें भनेपनि अपराध ठहर्दैन । त्यसो हुनुको रहस्य ति दुई अवस्थामा लेखिएका गीतहरुको भावले बोकेको छ । पहिलोमा प्रेम भनेर पहिलो बुझाई बुझिने गरेको प्रेम विषयलाई लेखेको थिएँ भने पछिल्लोमा प्रेम नै तर सामान्य परिभाषाबाट माथी उठेर माटो माथीको प्रेम , राष्ट्र र समाज अनि मान्छे मान्छे माझको प्रेम विषयलाई लेखेको थिएँ । पछिल्लो अवस्थाको प्रेम सम्बन्धमा मैले एकोहोरो लेखिरहँदा तिमीलाई आफु बाहिर परेझैं महसुस भयो क्यार त्यसैले त सजिलै भनिदियौ तिम्रो देश प्रेम र साहित्य प्रेमको अघिल्तिर मेरो न स्थान छ न मुल्य त्यसैले यो सम्बन्धको हाँसीखुसी अन्त्य गर्नेतर्फ सोच्नु नै बुद्धिमानी ठहर्ला । साथमा जोडीएर सपनाका कुरा उठे , रहरका कुरा उठे । सपनाका कुरा उठ्दा दुबै थरी सपनाका कुराले स्थान पाए । अझै अग्लो हुनलाई ननिदाई देखिने सपनाका र मस्त निन्द्रामा डुबेर अवचेतन मनले देख्ने सपनाका । अवचेतन मनले देख्ने सपनामा पनि हामी सबै स्वभाविक रुपमा ति नै प्रिय पात्रहरुलाई देख्न चाहन्छौं जस्लाई कुनैदिन देख्ने सपना पालिएको होस् तर नियन्त्रणमा नरहने त्यो सपनामा मा तिमीले मलाई कहिल्यै नदेखेको स्पस्ट पार्यौ । मलाई त्यो खासै महत्वको कुरा भएन तर तिमीले महत्वका साथ उठाएर मैले तिमीलाई जीवनमा महत्व नदिएकोले सपनामा नदेखेको भन्ने सम्म दोष लगाउन पनि भ्यायौ ।

हामी मनको सम्बन्धलाई पनि किन यति ख्याल ख्याल ठान्छौं होला ? कुनै स्वार्थले बशीभूत भएर सुरु होला मान्छेको सम्बन्ध तर प्रगाढ बनिसकेको सम्बन्ध ख्यालख्याल गर्दैमा बालुवा थुपारेर बनाएको घर भत्काएझैं भत्किने हुँदैन । नियतवश भत्काईयो भने पनि त्यो आजन्म दुखिरहने भग्नावशेश भएर रहने हुन्छ त्यसैले म त भन्छु आजका हामीले प्रेमलाई प्रेमको सामान्य बुझाई भन्दा मास्तिर उठाएर बुझ्नुपर्छ , सामान्य परिभाषा भन्दा माथी राखेर परिभाषित गर्नुपर्छ । रोमियो जुलियट , हीर राँझा , लैला मजनु तथा हाम्रै मुना मदनको प्रेम पुस्तकमा पढ्दा आनन्द लाग्न सक्छ तर त्यही प्रेम भोग्न वास्तविकतामा कठिन हुन्छ त्यसैले आजको प्रेम वास्तविकतालाई अँगालेर समय अनुशार कदम चाल्न सक्ने प्रेम बनोस् । जीवनमा प्रेम गर्नुपर्छ भन्ने मान्यतामा टेकेर प्रेमी प्रेमिकाको धुईँपताल खोजी छोडेर प्रेममा जीवन हिँडाउनु पर्छ । प्रेममा दुई मुटुमात्र सारा दुनियाँलाई पन्साएर हिँडाईरहँदा हामी अनुमान लगाउनै सक्दैनौं जीवनमा हामीले अरु के के गुमायौं किनकी यौटै प्रेम त्यो अवस्थामा सर्वोपरि बनेको हुन्छ । प्रेममा जीवन हिँडाएपछि जीवनमा समाज , समाजमा राष्ट्र , राष्ट्रमा विश्व र विश्वमा प्रेमका भोका समग्र मान्छेहरु क्रमैले जोडिएर आउँछन् त्यसैले प्रेमलाई फराकिलो पारेर हामीले मुटुमा माटोको प्रेम , मानवताको प्रेम जोड्न सक्नुपर्छ । यति बुझ्यौ भने मैले मेरो मुटुमा कति महत्वको साथ तिमीलाई टाँसेको छु भनेर अर्थ्याईरहनु नपर्ला ।

आज प्रेम दिवसको दिन अनन्त मनहरुमा प्रेमको दीपक बलिरहेको होला । सारा जगत उल्लासपूर्ण वातावरण पाएर जगमगाईरहेको होला । साँच्चै नापी नसक्नुको पो हुन्छ त यो प्रेमको खुशी त । भन्छन् पत्थर पनि पगाल्न सक्छ प्रेमले भलै प्रेमले छातिमा टाँसेर पत्थर पगालेको नहोस् कसैले । यस्तो शक्तिशाली तत्व मानिएको यो प्रेम हातमा खुकुलो हुँदै गै रहेको महसुस हुँदैगर्दा मैले आँखाभरी टिलपिल आँसु लिएर तिमीलाई सम्झँदै अँध्यारो कोठाबाट झ्यालबाहिर चिहाएँ । मलाई रात्रीको खुल्ला आकाशमा केहि बेर जून देख्ने ईच्छा जागेको थियो तर मेरो आकाशमा त्यसबखत मलाई दर्शन दिनलाई जून उपस्थित थिएन । धेरै कुराहरु जीवनमा भनेकै बखत भनेकै जसरी कहाँ उपलब्ध हुन्छ र ? खुल्ला आकाशमा केहिबेर टोलाएँ । कुनैदिन तिमीले मलाई निदाउने उपाय सुझाउँदै आँखा चिम्लिएर खुल्ला आकास सम्झनु भनेको स्मरण भयो । नभन्दै मैले प्रयास गरेको थिएँ कुनैदिन आँखा चिम्लिएर कतै केहि नभएको खुल्ला आकास सम्झेर निदाउन तर कल्पना गरेको त्यो बेलाको आकास कहाँ खुल्ला हुनु र ? त्याँहा त लाखौं सिताराहरु झिल्मिलाएका थिए , पूर्ण चन्द्र ज्योतिर्मय भैरहेको थियो र निदाउन छोडेर त्यो जगमगाउने आकासको कविता लेखेको थिएँ ताराजूनको बर्णन गरेर तर यतिखेर देख्न चाहेर पनि जून देख्न नसक्दा सँधै हुने ताराहरु पनि लुकिदिँदा आकास हेर्न छोडेर सामुन्नेमा बिश्राममा छु तर निदाएको छैन भन्दै कुनै चम्किला , कुनै मधुरा बत्तिहरुले झकिझकाउ सहर हेरेँ । नजिकैको सडक बत्ति देखि पर पर सम्म देखिएको सबै बत्तिहरु रोईरहेझैं धर्साकारमा देख्दा सम्झेँ रोईरहेको त म पो छु यो सहर हैन । हत्तार आँखाको आँसु पुछेर सहरका बत्तिहरु ठिकठाक पारेँ । त्यसबेला अर्को कुनैदिन निराश मनले तिमीले मलाई छुँदा तिमीलाई 'हरेक ठाउँमा उज्यालो र अँध्यारो छ हामीले हिंड्दा सँधै उज्यालोलाई सामुन्ने पारेर हिँड्नु पर्छ अनिमात्र अँध्यारो हाम्रो पछिल्तिर पर्छ नत्र सँधै अँध्यारो हाम्रो अगाडी फैलिरहन्छ' भनेको सम्झें । यसैगरी भनेको थिएँ तिमीलाई , 'पहिलो खुसी हामीले हाम्रो मनमा उमार्न सक्नुपर्छ तबमात्र हामी हाम्रो जीवनमा खुसी भेट्नेछौं र अरुलाई खुसी बाँड्न सक्ने छौं । हामीसँग स्वयँ मनमा खुसी छैन भने हामीले अरुलाई कसरी खुसी दिन सक्छौं र अरुबाट खुसीको कसरी अपेक्षा गर्न सक्छौ ? तिमीलाई त्यसो भन्दाको म र यतिबेलाको म उहि हुँ तर अवस्था अलि भिन्न त्यसैले मैले म दुखि छैन , म कहिल्यै दुखि हुन्न , मैले दुखि हुनै हुँदैन भनेर संकल्प गरेँ । साँच्चै म स्वयँ दुखि भएँ भने मैले अरुलाई कसरी खुसी दिनसक्छु र ? त्यही भएर आज प्रेम दिवसको यो घडीमा म आफ्नो मनको दीपक झ्याप्प ननिभोस् भनेर तेल थपिरहेछु । मैले त तेल थपेको छु त्यही प्रेमको दीपक मेरो मनमा ननिभोस् भनेर तिमीले पनि तेल थप्ने कि प्रेमको अखण्ड ज्योति जलाईरहनलाई ?

सबैले आफ्नो आफ्नो मनमा प्रेमको अखण्ड ज्योति जलाईरहनलाई तेल थप्ने , बाति/सलेदो फेर्ने तथा सलेदोमा ज्योति नै मधुरो पार्दै देखापरेका काला पोकाहरु झार्ने कि ? हामी सबैको मनको दीपक अखण्ड ज्योति फैलाउँदै जलोस् , जलिरहोस् अनन्त अनन्त हरेक प्रेमीहरुको मनाकास उज्यालो बनाउँदै । यतिखेर सर्वत्र हामीलाई प्रेमकै खाँचो छ । द्वेष र तिरस्कारले हामी थाकिसकेका छौं अबको बिश्राम पनि प्रेममा हुनुपर्छ हिँडाई पनि प्रेममै हुनुपर्छ । त्यो प्रेम तिमीमा म मा र हामी सबैमा हुनुपर्छ । प्रेम दिवसको शुभकामना तिमीलाई साथै प्रत्येक प्रेमी ह्रदयहरुलाई ।टाँसिएका दुबै तस्विरहरु गूगलमा गएर झिकेको हुँ भने यो लेखलाई उता खसखस डटकमको प्रेम दिवस विशेषमा पनि टाँसिएको छ ।

Monday, February 09, 2009

कविता : पढ अझै डोको पढ

ख्वाउ हरियो घाँस काटेर
निम्ठो भर या छाँद हाली झुसी पार
डोको ईमान्दार छ
उ पशु हुँदैन
ल्याउ डोकोमा घाँस बोकेर
खटाएर देउ या एकैफेर हाल
पशु घाँस खान्छ
उ बेईमान हुँदैन
तर नखाएरै घाँस
मान्छे पशु हुन्छ
नभएरै पशु
मान्छे बेईमान हुन्छ
डोको पढेर मान्छेले कहिल्यै जानेन
घाँसै खाए नि पशु नहुने काईदा
त्यसैले
मान्छेले घाँस खाँदै खाएन
पशु पढेर मान्छेले कहिल्यै सिकेन
पशु भए नि बेईमान नहुने कला
त्यसैले
मान्छे ईमान्दार हुँदै भएन
उ हेर बरु
हरियो चउरमा दिनभरी घोप्टिएर
यौटा कवि डोको बनेको छ
पारदर्शी
अन्तरमा केहि राख्नै नसक्ने
हरेक प्वालबाट चिहाएर
तिमी भन्छौ
आजको कवि भोको रहेछ
आजको कवि नाङ्गै रहेछ
पढ अझै डोको पढ
र हेर असंख्य प्वालहरुबाट
डोको , भोक , नग्नता र पशुमाझ
केलाउ मान्छेको सम्बन्ध
किन घाँस खाएर डोको पशु हुँदैन ?
किन मान्छे पशुझैं ईमान्दार हुँदैन ?
डोको पढ्न सके
छिद्र छिद्र प्वालका
सयौं आँखाहरुबाट
डोकै पाउँनेछौ तिमी आफुलाई
रहरका दुई कानहरुमा
आयुको बरियो छिराएर
थाप्लोमा जिन्दगी नामको नाम्लो लगाई
कर्तब्यको नाममा स्वार्थको भारी हालेर
प्रेमको नाममा भ्रमको छाँद कसेर
यौटा यौटा डोको बोकी
समय हिँडिरहेको ।

Friday, February 06, 2009

गीत : मन फाटेको कहानी

लेख्नै सकिँन मसीले मेरो मन फाटेको कहानी
नलेखेकै अक्षर रोईरहेको देखिरहेछु जहाँ नि ।


बतास पनि त रुँदैछ आज हेर पातहरु झरेको छ
थपिँदा चोट छातीमा मेरो आघात अरु परेको छ
लेख्नै सकिंन देख्नै सकिंन जीवनमा कुनै सपनी
नलेखेकै अक्षर रोईरहेको देखिरहेछु जहाँ नि ।


जित्न चाहनेको माझमा म त हारिदिन तयार छु
के हुन्छ अर्थ जीवनको कस्तो म त यसै निसार छु
सँधै आँसुसँगै सुरु हुन्छ मेरो जीवनको बिहानी
नलेखेकै अक्षर रोईरहेको देखिरहेछु जहाँ नि ।

Wednesday, February 04, 2009

अहा !! बाँसुरी बजाउँदा

खुत्रुक्कै ६ वर्ष पछि धोको फुकाएर बाँसुरी बजाएँ आईतबार दिनभरी र राती पनि अबेर सम्म । कतैबाट उज्यालो छेकिएझैं , त्यसै कालो बादलले ढाकेझैं मनभरी कस्तो कस्तो नरमाईलो जस्तो वैराग उठिरहेको बेला यो बाँसुरीसँग यतिका वर्षपछि भेट हुँदा पत्यार लाग्यो "कसैप्रति या कुनै वस्तुप्रति हामीले हाम्रो मुटुमा प्रेम मेटाएका छैनौं भने उ सँगको भेटले चाहे सिँगै युग पछि किन नहोस् हर्ष र उल्लास नै लिएर आउँदोरहेछ ।" बाँसुरी बादनमा म निपुण त होईन तर बजाउन सक्छु टाँ टाँ टुँ टुँ भन्दा अलि मास्तिर । नेपाली लोक गीतका धूनहरु , केही आधुनिक गीतका धूनहरु तथा केहि अन्य आफैंले बनाईने धूनहरु ( बजाउन सकेसम्म ) बजाउँदा यसपटक प्राप्त आनन्दलाई म शब्दमा उल्लेख नै गर्न सक्दिँन ।

धेरै अन्तरालमा बाँसुरी भेट्दा पहिले पहिले बजाउन जानेका केहि धूनहरु पनि भसक्कै बिर्षिएछ जस्तो पनि भा'थ्यो एकछिन् तर बिस्तारै बिस्तारै अलि अलि गर्दै पारा आउँदै गयो । हरेक कुरामा अभ्यासको निरन्तरता नभए कौशल कम हुँदै जाने त भई नै गयो र पनि थोरै नै होस् एकपल्ट सिकेको कुरा ठ्याप्पै भने भुलिँदैन रहेछ । अर्कोतिर बाँसुरी फुकुञ्जेल समाउँदा हत्केलो बाउँडिएर हैरान् ।

यही बाँसुरीले नै हुत्याएर मलाई बाँसुरीसँग पहिलो नाता जोड्दाका दिनहरुमा पुर्यायो । सानै हुँदा घरमा टने नामको यौटा डल्लो डल्लो कदको सतार युवकलाई खनजोत गर्न , बस्तुभाउ हेर्न लगायतका धेरै कामहरुको जिम्मा दिएर काम गर्न राखिएको थियो । टनेसँग खालपरीका बाँसुरी हुन्थ्यो , उसले आफैं बनाएर छालाले टमक्क छेउ टुप्पा बाँधेको ता कि उसले त्यही बाँसुरी बस्तुभाउ कुट्न पनि प्रयोग गर्न सक्थ्यो । हाम्रै खेतमा भएको माली बाँसको टुप्पो काटेर सुकाएर मेरै अगाडी उ आफैं पनि बनाउंथ्यो बाँसुरी । आमाले सतारको बाँसुरी बजाउन हुँदैन नबजाउनु है भन्नुहुन्थ्यो त्यो बेला । म आमाको अगाडी ठिक्क पारेर हुन्छ बजाउँदिन भन्थेँ तर खेतमा वा अन्यत्र कतै गोठालातिर भने उसका बाँसुरी पालैपालो रोजीछाडी बजाउँथें । नेपाली लोकगीतको धूनहरु मलाई टनेले नै बजाउन सिकाएको थियो । त्यसबेला रेडियोमा समाचार आउनेबेला बजाईने धून पनि सिकाएको थियो उसले मलाई बजाउन । पछी अलि हुर्केपछि म आफैं बनाउँथे बिभिन्न साईजका बाँसुरीहरु । कोठामा बाँसुरीको संग्राहलय नै हो कि जस्तै पारेर भित्तामा काँटी ठोकेर झुण्ड्याएर राख्थेँ दर्जन बेसी बाँसुरीहरु । स्कूल जाँदा बाहेक अन्य बेला हर्दम बाँसुरी हुन्थ्यो मसँग साथमा । कतिलाई बाँसुरी बजाएर झर्को लगाउँथेँ म खासगरी बर्खामास पानीझरी परेको बेला बाहिर खेतमा काम छैन भने घरकै सदस्य पिडीत हुन्थे मेरो बाँसुरीले । शुरुशुरुमा मैले बाँसुरी बजाउँदा हजुर आमाले ' हैन कति फुक्छस् ए तेरो नलि खुट्टा ? जा उ पर पल्ला खेतमा गएर फुक । ' भन्नुहुन्थ्यो अलि पछि गीतको भाका मिलाउन थालेपछि भने हजुरआमाले बोलाएर 'तिरिरि मुरली बज्यो बनैमा भन्ने गीत बजा बजा' भन्नुहुन्थ्यो । कतिपयले त मलाई बाँसुरी सहीत देख्दा उ आयो जादुवाल भनेर जिस्क्याउँथे । मैले हाटबजारतिर जादु देखाउने चटकेले झैं बजाउँथें रे उनिहरुको टिप्पणी हुन्थ्यो । त्यसबेला मलाई जादुवाल भनिँदिँदा अलिअलि चित्त दुख्थ्यो अहिले सम्झँदा भने आनन्द लाग्दो रहेछ ।
हाम्रोमा चित्त नपरेको कुरा प्याच्चै पुच्चै भन्ने चलन छ यहाँ भने सोचेर आफुले भनिएको कुराले अरुलाई सिधै असर नगरोस् भनेर मोलाकाज हेरेर भन्ने गरिन्छ त्यसैले रातभरी बाँसुरी बजाएर भोलीपल्ट काममा हिंड्नलाई बाहिर निस्कँदा छिमेकी 'आज रातभरी कस्तो अनौठो चरा कराएर सुत्नैदिएन' भन्दैथियो । ' ए !' भन्दै म बाटो लागेँ र सोचिरहेँ पक्कै उसले मलाई चेतावनी दिएको हो अब बाँसुरी त्यसरी राती अबेरसम्म नबजा भनेर । हुनपनि यो मुलुकमा डराउनु पर्छ नत्र बाँसुरी बजाएकै कारणले ढोकामा पुलिस नआउला भन्न सकिन्न । शान्त बस्ने पाउने अरुको अधिकार मैले बाँसुरी भेटेँ भन्दैमा हनन् गरिदिनु नि भएन । त्यसैले अब छुट्टीको बेला भने खाजा सामल माया मारेरै बाँसुरी बजाउनु पर्ला भनेर सोचेको छु अनि अलिदिन त उत्पातै जाँगर चल्दो हो पनि भन्छु ।

Tuesday, February 03, 2009

गीत : हे ! युवा देशका

हे ! युवा देशका तिमी कहाँ हिंड्दैछौ ?
कस्को लागी आफ्नैसँग आज लड्दैछौ ??

जस्ले आज तिम्रो हातमा थमायो हतियार
तिम्लाई आफु माथी पुग्न बनायो मतियार
साझा हाम्रो माटो माथी को आयो अँशियार
आजै चिन युवा उसलाई बनेर होसियार ।

उठ जाग हे ! युवा अब माटोको लागी
आफु हिंड्ने देश हिंडाउने बाटोको लागी
पहिलो बाजी जिन्दगीको माटो भनेर
लड बरु शान्ती हिंड्ने बाटो खनेर ।

Monday, February 02, 2009

'बाबुरामजी'का कुरा गर्दा

अनलाईन घुम्दा घुम्दै म नेकपा माओवादी हाल एकिकृत पनि का नेता तथा बर्तमान सरकारका अर्थमन्त्रि डा बाबुराम भट्टराईको ब्याक्तिगत वेब साईट तथा ब्लग, A gateway to interact with baburamपुगेँ । अँग्रेजी र नेपाली दुबै भाषामा बनाईएको यो वेब साईट , ब्याक्तिगत हुनाले दुबै नै ब्लग हुन भन्ने धारणा राख्छु म तथापि त्याँहा ब्लग भनेर अलग छुट्याईएको छ , यो वेब साईट भित्र छिर्दा धेरै कुराहरु आँखामा बिझाउने लाग्यो । जस्तो कि वेबसाईटको हेडरमा रहेको मुठ्ठी उठाईरहेको फोटो । यो वेब साईट सन २००९ लागेपछि बनाईएको भन्ने जानकारी पाएको हुनाले मलाई हेडरमा त्यो फोटोको शट्टामा अन्य भावकै शालीन फोटो भए जाती हुन्थ्यो जस्तो लागेको हो किनभने यो अवस्था सशस्त्र युद्धको हैन काँधमा जिम्मेवारी लिएको अवस्था हो यो । त्यसो त उनको मुहारको सौम्यता लाल सलामको भावमा उठाईएको मुठ्ठीले छोपेको छैन ।

हेडरमै अझ मेरो आँखाले नेपालको राष्ट्रिय झण्डाको खोजी गर्यो जो छैन या त नेपालको नक्सा भए नि हुन्थ्यो जस्तो लाग्यो त्यो पनि छैन । त्यो पनि आ आफ्नै विचार हो , त्यसो त राष्ट्रिय झण्डा या नेपालको नक्सा राख्दै मात्र राष्ट्रवादी नत्र अराष्ट्रिय भन्ने कुरा त हुँदैन तर राष्ट्रियता दूर्बल हुँदै गै रहेको बखतमा पार्टीगत वाद भन्दा बाहिरका जो कोही पनि उनको यो साईटमा पस्दा पहिले नै चन्द्र सुर्य अँकित झण्डा देख्दा एकपटक आफुभित्र राष्ट्रियता छाम्न बाध्य हुन्छन् । कुनैपनि दलका नेताहरुले अहिलेसम्म पार्टीको झण्डा बाहेक चन्द्र सुर्य अँकित झण्डा ओढेको त देखेको पनि छैन त्यसैको निरन्तरता होला मैले बाबुरामको साईटमा नदेख्नु पनि ।

त्याँहा हाम्रो मत बुझ्नलाई मत सर्वेक्षण गरिने ब्यावस्था पनि रहेछ र यसपटकलाई सरकारले हालसालै ल्याएको स्वयँ कर घोषणा कार्यक्रम कस्तो लाग्यो ? भन्ने प्रश्न रहेछ । भन्ने नै हो भने मलाई त्यो मत सर्वेक्षण त्यसरी राखिनु नै अलि ढोँग लाग्यो तरपनि मैले जवाफ दिन पाईने अप्सनहरु पहिलो अत्यन्तै राम्रो दोश्रो ठिकै र तेस्रो कठीन कार्वान्वयन मध्ये दोश्रो ठिकैमा मत दिएर परिणाम हेर्न गएँ । परिणाममा अत्यन्तै राम्रो भन्नेहरु ३०९ जना देखिए , ठिकै भन्नेहरु ३१ जना (म सहित) भएछौं भने कठीन कार्यान्वयन भन्नेहरु ७० जना रहेछन् । अचम्म त तब लाग्यो जब उता अनलाईन खबरमा स्वयं कर घोषणा कार्यक्रम फिर्तालिन अर्थमन्त्रीलाई भेटीवरी उजुरबाजुर गरिसकेछन् । हैन यो अत्यन्तै राम्रो भन्ने चैं को परेछन् ? यिन्ले त्यतिकै हावादारी मत दिए कि ? तिन्ले हावातालमा फिर्ता लिन भने ? मलाई चैं यस सम्बन्धमा के लाग्यो भने यो हरेक कुरामा विषेश कार्यक्रम नै किन चाहिने हामीलाई ? राज्यलाई कर तिर्नुपर्छ हरेकले । हरेक नागरिकको कर्तब्य हो , नागरिक मात्र हैन बाहिरबाट आएर पनि कुनै तवरले पूँजी चलखेल कसैले गराउंछ भने कानुन सम्मत कर तिर्नै पर्छ तब उक्त कानुनको कढाईका साथ पालना गर्ने तर्फ किन पहल नगरिएको हो ? अर्को कुरा कुनैपनि कार्यक्रम ल्याउनु अगाडी नै हामीसँग छलफल गराउने र हाम्रो मत बुझ्ने पद्दतीको बिकाश गरे अझ प्रभावकारी हुन्थ्यो होला । बाबुराम भट्टराईले अर्थ मंत्रालयका कार्यक्रमहरुबारेमा छलफल गराउन ब्लग किन उपयोग गर्दैनन् ? बाबुरामले मात्र हैन हरेक मन्त्रालयले ब्लग मार्फत मंत्रालयको आउने कार्यक्रमहरुबारे छलफल गराउने परिपाटी बसाए धेरैले अखबारमा छापिएको भ्रामक समाचारको पछि लाग्न छाडेर सरकारले के गर्दैछ र कसरी गर्दैछ भन्ने जानकारी पाउने थिए र त्यसमा के कसरी गर्दा अझ बढी उपयोगि हुन्छ भन्ने कुरामा आफ्नो विचार सराकारमा बसेर कार्यक्रम तयार पार्ने सम्म पुर्याउन सक्थे । यहि कुरा मैले निक्कै अगाडी माई सँसारमा कमेण्टमा पनि लेखेको थिएँ कैले हो भन्ने त बिर्षें तर भारतिय राजदुत राकेश शुदले हाम्रो देशको मामलामा ठाडो हस्तक्षेप गरेको बेला हो झैं लाग्छ ।

खैर छाडौं यि कुरा हाम्रा कुनै नेताले जनताको मतको यतिबिघ्न कदर गर्ने भए हाम्रो सँस्कार अर्कै भै सक्ने थियो र यसो भन्दा पनि अपबादमा बाबुराम देखिएका छन् । कम से कम उनि हामीसँग छलफल गर्न चाहन्छन् त्यसैले उनले ब्लग तथा वेबसाईट सञ्चालनमा ल्याएका हुन पक्कै तर के कुनै कुराको निर्णय भै सकेपछि त्यसमाथी हाम्रो मत खोज्नुको केहि औचित्य छ ? मलाई त सबैले अत्यन्तै राम्रो भनुन् भन्ने हिसाबले मात्र त्यसो गरिएको जस्तो लाग्यो हैन भने त्यो कार्यक्रम ल्याउनु भन्दा अगाडी नै हाम्रो यस्तो योजना छ यसलाई कार्यान्वयन गरे के हुन सक्छ परिणाम भनेर सोध्नुपर्ने हो । तन्त्र जुनसुकै होस् चुनाबमा एक छाप स्वास्तिकको मसी भन्दा पर्तिर हाम्रो अरु मतको कदर भए जस्तो मलाई लागेन ।

आजपनि कम्युनिष्ट भन्दा उहिले उहिले कोर उब्जेको मान्छेलाई झैं परपर गर्ने मान्छेहरु धेरै छन् । अझ कम्युनिष्ट भएर अर्को खेमाको कम्युनिष्टलाई नै दुर् दुर् गरेको पनि हामी देख्न सक्छौं । कतिपय छरछिमेकमा पानी बाराबारको स्थिती देखिन्थ्यो अझै देखिन्छ । कतिपय घरभित्रै राजनैतिक आश्थाको कारण एक आपसमा बोलचाल नगर्ने तथा काटाकाट मारामारसम्म गर्ने पनि हुन्छन् । आँखिर किन यस्तो गरे या गर्छन त मान्छेहरु ? भन्ने प्रश्न उठाएर जवाफ खोज्न जाने हो भने हाम्रै नेताहरु निस्कन्छन् कारणमा । प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र आदिको निमित्त लड्ने नेताहरुले जहिल्यै आफ्ना पक्षमा भएका जनताहरुलाई प्रजातन्त्र के हो भनेर सिकाएनन् , लोकतन्त्रमा कस्तो संस्कार देखाउनु पर्छ भनेर सिकाएनन् , गणतन्त्र कस्तो हुनुपर्छ भनेर बुझाएनन् । बुझाए त केवल हामीले जित्यौं भने हामी यसो गर्नेछौं , फलाना पार्टीका मान्छेको कुरा नसुन्नुस् तिनिहरु त डाँकाहरु हुन् , फटाहाहरु हुन् भनेर मात्र सिकाए । सात सालमै प्रजातन्त्र ल्याईएको देश भन्दा पनि अब त लाज मान्नुपर्ने स्थिती आईपरेको छ । सात , सत्र , छत्तिसतिरको कुरा म त्यती धेरै जान्दिंन तर ४६ देखिको कुरा भने थोर बहुत हेक्का रहेको छ । सातका कुरा छाडौं छयालिस देखिकै हिसाब गर्ने हो भने पनि आज करिब २० वर्ष बितिसकेको छ । उतिबेला जन्मेको बच्चा नै बच्चाको बाउ भै सके कति तर हाम्रा नेताहरुमा अझैसम्म असल संस्कारको विकाश हुन सकेको छैन । उनिहरु आफैं चोबलिएका छन् हिलोमा र भन्दैछन् हामी समाजलाई सुकिलो बनाउनेछौं । त्यसैको परिणाम अझै हामी देखिरहेछौं उनिहरु एक आपसमा हिलो छ्याप्न ब्यस्त छन् र हामी ? हाम्रो त कुरै छाडौं न , हाम्रो रगतमा आज आफन्त , दाजुभाई , बन्धुबान्धवको हैन एमाले , माओवादी , काँग्रेस् , तमलोपा , राप्रपा , राबा ईत्यादीको रक्त कोशिकाहरु बगिरहेछ ।

नेताहरुले पहिले आफुभित्र प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र त्यो भन्दा पर्तिर अर्को तन्त्र छ भने त्यो तन्त्र पनि को संस्कार विकाश नगरुञ्जेलसम्म हामीले कुनैपनि तन्त्र ल्याउंदैमा केहि हुनेवाला छैन । यो सत्य हो - नेपालमा सबै भन्दा पहिले सम्पुर्ण दलका नेताहरुले आफुभित्र असल संस्कारको निर्माण गर्नुपर्छ अनि आफ्ना पक्षका तथा विपक्षका जनताहरुबाट सकारात्मकताको अपेक्षा गर्नुपर्छ ।

सन्दर्भ बाबुरामको ब्लगबाट उठाएको थिएं त्यसैले टुंग्याउन पनि त्यहीँ जाँदैछु - बर्तमानमा नेपालमा भरोसा गर्न लायक कुनै नेता छ भने त्यो बाबुराम भट्टराई हो भन्दा कमरेडको चाप्लुसी गरेको कसैलाई लाग्छ भने मेरो भन्नु केही छैन तर मैले कमरेडहरुले नमस्ते छाडेर सलाम नै भन्नु छ भने किन लाल भनेर रंग्याउने श्वेत सलाम भन्नुपर्छ जहाँ कुनै रँग मिसिएको नहोस् ; न कसैको रगतको न कसैको स्वार्थको सम्म भनेको हुँ कसैले कहिल्यै सुनेको भए । बाबुरामको ब्लगमा पस्दा खुशी थिएँ म त्यसैले यौटा प्रतिक्रिया लेखेँ सहीद सप्ताह र आमाको निधनको खबर भन्ने लेखमा । विषय भावनात्मक भएकोले मैले न विरोधमा कुर्लेको थिएँ त्याँहा न प्रसँसाको शब्द लेखेको थिएँ तर मैले लेखेको कमेण्ट प्रकाशित भएर पनि हटाईएको पाएँ । कारण के होला बुझ्न सकेको छैन तर मलाई जहाँसम्म लाग्छ मैले गेरेको सम्बोधनको कारणले हटाईएको हो । मैले बाबुरामजी भनेर लेखेको थिएँ तर तपाईं भन्दा तल झरेको थिईँन । कारण जे सुकै होस् तर संस्कार त्यो गलत हो - ब्लग खोलेर ब्लगमा आफ्नो चाहना बिपरित कसैले मर्यादामै रहेर प्रतिक्रिया लेख्दा पनि हटाउनु ब्लगरको धर्म होईन । यदी बाबुरामलाई मैले बाबुरामजी लेखेकैले मर्यादा भँग भएको हो भने प्रश्न उठेको छ उनि के बन्न खोज्दैछन् ? हाम्रो सेवक कि शासक ? त्यसो त उनको वेबसाईटमा गंभीर प्रकारका प्रश्नहरु मात्र सोध्नुहोला भनिएको छ त्यस्तै ब्लगमा पनि गंभिर प्रकारका कमेण्टकै अपेक्षा गरिन्छ होला र मेरो कमेण्ट गंभिर भएन पनि होला भनेर अन्य साथीहरुको कमेण्टहरु पनि हेरीहेरेँ । मध्येमा यौटामा - "आफ्नो क्षमतालाइ अन्य क्षेत्रमा लगानी गर्न छोडेर राजनीतिमा होमिनु भएका क.बाबुराम भट्टराइ नेपालका कम्युनिष्ट नेताहरुले क्रान्ती बिर्सेकाले नेपालमा कम्युनिजम फेल हुने बेला हुन लाग्यो । क्रान्ती नबिसर्न आग्रह गर्दछु ।" लेखिएको थियो । बुझिनसक्नु , के भनेको हो ? अर्थोक नबुझे नि क्रान्ति बिर्षेर कम्युनिजम फेल हुन लाग्यो भनेको चैं बुझेँ । तिन्लाई पनि मेरो प्रश्न छ , ' ए ! मित्र के को फेल र पासको कुरा गर्छौ ? हाम्रो देशको कम्युनिजम नै उत्तारितको अवस्थामा छ भनेर अझै बुझेका छैनौ ? एकदिन बसेर हिसाब गरेर हेर त हाम्रो कम्युनिजमलाई कतिवटा विषयमा दाग लागेको छ ?