Saturday, February 21, 2009

फेरि गन्थन

अस्त ब्यस्त छु केहिदिन देखि । ब्यवस्थित कहिल्यै भईँन म पहिले नै स्विकारी सकेको कुरा हो यो र सायद ब्यवस्थित हुन जान्दिंन पनि होला यो जुनी तर म जस्तो छु त्यस्तै खुशी छु । जसरी बाँचेको छु त्यसरी नै खुशी छु । त्यसो त खुशी छु भनेर खुशी भईने कुरा होईन यो त खुशी हुँदा सिधै हुने कुरा हो तर मन सँधै खुशी हुन्छ नै भन्ने ठोकुवा कहाँ हुन्छ र ? मन न हो छिन मै दुखि पनि हुन सक्छ । समग्रमा म निश्चिन्तित बाँचेको छु । कहाँ , कुन प्रसँगमा हो थाहा छैन तर मैले एकपल्ट लेखेको थिएँ ' सँधै चिन्तित बन तब मात्र तिमीलाई चिन्ताले सताउँदैन । ' म मा लागुहुन्छ यो कुरा त्यसैले बेला बेला सोच्न भ्याउने हरेक विषयलाई लिएर चिन्तित हुन्छु म - सबै नै हुन्छन् भन्ठान्छु पनि ।

*******************************************

केहि दिन देखि लेख्ने कुरामा म हराईरहेको छु । लेख्दै गरेका निक्कै कुराहरु छन् तर केहि पुरा गर्न सकेको छैन । छोटा रचनाहरु विशेष गरेर गजल लेख्न बडो आनन्द लाग्छ मलाई तर निक्कै पो भएछ गजललाई नसुम्सुम्याएको । पछिल्लो पटक खसखसका सञ्चालक दाजु बासु श्रेष्ठसँग कुरा हुँदा लेख्ने मूड आएको बेला जे सुकै काफिया बनाएर पनि गजल लेख्न सक्छु जस्तो लाग्छ तर प्रभावशाली नहुन सक्छन भनेको थिएँ । त्यसपछी लेखेकै रहेनछु अझै लेखेको छैन सायद म प्रभावशाली शेरहरुको खोजीमा छु ।

***********************************************

केहि अगाडी हवाई टापूमा रहँदाका पलहरु समेटेर चार सौ बीस उत्सव भन्ने कथा लेखेको थिएँ । अहिले ति नै पात्रहरु लिएर अर्को कथा लेख्दैछु कहिले सक्छु थाहा छैन । तर त्यस कथामा भएका पात्रहरु मध्ये यौटी मिलिसा अलास्का घुम्न आएकि रहिछे मलाई भेट्न आएकि थिई । उ भन्दैथिई , ' डी मेरो काम गतिलो छैन । मलाई तिमीसँग नेपाल जानलाई प्रयाप्त पैसा हुँदैन होला । भएछ भने म सम्पर्क गर्छु है ? कहिले हो तिमी जाने ?'

' आउने अगस्टमा योजना बनाएको छु मैले । हुन्छ सम्पर्कमा बस्दै गरन सक्यौ भने जाउँला रमाईलो लाग्ला तिमीलाई मेरो देश । ' यस्तै जवाफ दिएँ उसलाई । म जहिले गए पनि म सँगै नेपाल जान चाहने अर्को साथी प्याट कहाँ छ अत्तोपत्तो छैन । उसले मेरो खोजखबर गरेको छैन मैले नि उसको गरिंन ।

हिँजो हवाईको एरिया कोड ८०८ भएको नयाँ नम्बरबाट यौटा कल आयो । को हुन सक्ला ? कौतुहलता साथ मैले फोन उठाएँ , ' डी , कस्तो छौ तिमी ? अलास्का रमाईलो लाग्दैहोला तिमीलाई हैन ? ' हवाईमा छँदाकि अर्की साथी डेजा थिई । उ पनि भन्दैथिई , ' मेरो त काम पनि खोसियो । अहिले अपार्टमेण्टको बाल तिर्न नसकेर साथीहरुसँग बसेकी छु । मलाई अलास्का आउन मन लागेको छ , मलाई त्याँहा काम खोजुञ्जेल हेल्प गर्न सक्छौ ? '

म अन्यौलमा परेँ उसलाई के भन्ने ? नआईज भन्न पनि अलास्का मेरो बाउको सम्पति हैन , आईज भन्न पनि मैले उसलाई कसरी के हेल्प गर्ने ? आ ! जे पर्छ त्यही टर्छ भन्ने ठानेर , ' ठिकै छ आयौ भने म मैले सकेको हेल्प गरुँला न । ' उ फुरुङ्ग भई । नेपाल गएर सडकका कुकुरहरुको स्याहार केन्द्र खोल्ने सपना देखेकी मेरी साथी डेजा उ आफैं सडकमा रहिछे यतिबेला । सपना देखेर मात्र कहाँ हुन्छ र ? सपना पुरा गर्ने अठोट अनुशार लागिपर्नु पनि पर्यो नि ।

' तिमी कथा कविताहरु लेख्दैछौ ?' सोधी उसले - उसलाई म ब्लग लेख्छु भन्ने पनि थाहा छ । ' तिम्रो ब्लग कत्तिको पपुलर भयो ? थुप्रै कमेण्टहरु पाउँछौ होला हैन ? मलाई त कथा कविता लेख्न कहिल्यै आएन । पढ्न चैं राम्रो लाग्छ । तिमीले लेखेको सबै कुरा मैले पढ्न सक्ने भए कति राम्रो हुन्थ्यो है ? अँग्रेजीमा लेखन भनेको तिमी कहिल्यै टेर्दैनौ ? ' एकदमै धेरै बोल्नुपर्छ उसलाई के के के के भन्दै रही ।

मैले सोधेँ , ' फोन नम्बर कहिले फेर्यौ ?'

' कहाँ फेर्नु ? पैसा तिर्न नसकेर लाईन काटियो । यो प्रिपेड फोन चलाउँदैछु अहिले । पैसा भएपछि फेरी त्यो नम्बर जोड्छु , नफाल है मेरो नम्बर पछि त्यही हुन्छ । ' साँच्चै नराम्ररी आर्थिक मन्दीको मारमा परेका छन् अमेरिकनहरु भन्ने बुझ्न उसको यति कुरा काफी छ ।

**************************************************

आज पनि म सपनामा नेपालमा थिएँ । सपना देखेर सम्झिए सम्म म धेरै जसो नेपालमै भएको हुन्छु । आज तराईको कुनै अपरिचित गाउँमा हिंड्दैथिएँ म । साँझको बेला पश्चिम आकाश रातो देखिन्थ्यो । लहर लहर चराहरु उड्दैथिए । स्वच्छ हावा र हरियो खेतहरुको बाटो हिंड्दा म मा कस्तो कस्तो डर थियो । मलाई भन्ने कोही थिएन तर अन्जान ठाउँमा एक्लै दुक्लै हिंड्न डरसरी छ भनिएको थियो मलाई । बाटोमा हतियार धारी दुईचारजनाले मलाई बाटो छेकेर सोधीखोजी गरे । म झनै आत्तिएको थिएँ यिनिहरुले मलाई मार्छन् भनेर तर केहिबेर केरकार गरेर उनिहरुले मलाई जान दिए । उनिहरुलाई पछिल्तिर छोडेर अघि बढ्दै जाँदा मलाई पछिल्तिरबाट उनिहरुले म माथी गोली चलाउँछन् कि भनेर डर लागी नै रहेको थियो । अहिले तराईको अवस्थालाई लिएर पनि मैले अर्को यौटा कथा लेख्न सुरु गरेको छु सायद त्यसैको असर हुनुपर्छ आजको सपना । मेरो देशमा यो डर र त्रासको अवस्था कहिले अन्त्य होला ? म यति टाढा बसेर पनि सपनामा त्यत्रो डर देख्छु झन त्याँहा बस्ने मान्छेहरुमा कस्तो असर होला यो भयावह वातावरणको ?

***********************************************

बिहान उठेर ( आज बेलुका ५ देखि ९ बजे सम्म मात्र काम भएकोले बिहान पनि १२ बजे मात्र भयो मेरो ) सबैभन्दा पहिले कम्प्युटर नै अन गरेँ । अनि नुहाई धुवाई सकेर एक कप चिया लिएर कम्प्युटरमा बसेँ । ब्लगर साथी आकारको आकारपोष्टमा पल्पसा क्याफे आयो होला भन्ने धून थियो मनमा । त्यतै लागेँ आएछ । अच्युत घिमिरेको आवाजमा पल्पसा पढेँ कानले । मैले पढ्न नपाएको पल्पसा उपलब्ध हुँदा ज्यादै हर्षित छु म । पल्पसामा बब मार्लीको गीतहरु उल्लेख रहेछ - मैले पनि चार सौ बीस उत्सव (कथा) मा उल्लेख गरेको थिएँ । अहिले लेख्दै गरेको ति नै पात्रहरु दोहोरिएको 'यु टर्न' मा पनि टुक्रा टाक्री जोडेको छु बब मार्लीको गीतहरु तर फरक अर्थका । साह्रै छाप पारेको छ मलाई पनि बब मार्लीका गीतहरुले । एम्बुस ईन द नाईट भन्ने गीतमा त म ठ्याक्कै हाम्रै देशको वातावरणको चित्र देख्छु । पल्पसा क्याफेमा बब मार्लीको गीतहरु उल्लेख भएको ठाउँमा पुग्दा झनै आनन्द महसुस भयो मलाई । आज सुनेको भाग जति साह्रै सरल र सजिब सम्बादहरु रहेको पाएँ । अगाडी पनि यत्तिकै रोचक छ पक्कै पनि । वाचक अच्युत घिमिरेलाई र उपलब्ध गराउनुहुने अनिल आकारलाई साधुबाद ।

***************************************************

ब्लगमा अनुपस्थित भएको यो पल्ट पनि हफ्ता दिन नै भएछ । त्यसैले उपस्थिती जनाउन यो गन्थन लिएर आएँ । म अल्छि नहुनु भन्छु तर जाँगरिलो हुन कहिल्यै सक्दिँन - के गर्ने होला ? समयले हामी सबैको भलो गरोस् ! अस्तु !!

7 comments:

Anonymous said...

कहिले घाम
कहिले छाया
उकाली ओराली
देउराली भञ्ज्याङग
कहिले फूल सँग मुस्कुराउदै
कहिले काडा बाट कोतरिदै
पलपल धड्कन सँगइ बित्ने
समय रुपी कोश दुरी पार गर्दै
डोको भरी
शब्द बोकेर ल्याउछौ तिमी
मन न हो
थाक्दो पनि हो कहिले त
माया लाग्छ
ओहो ! माया !
मायालाई हेर्ने आँखाहरु !
धेरै थरी देखेकी छु मैले
पिर लाग्छ
छ्ड्के सोच्ने देखी
तर म पर्बाह गर्दिन पिर को
किनकी
कहिले काही यस्तो लाग्छ ,
यो पिर भन्दा ठुलो त्यो पिर हुन सक्छ
पिर एउटा घाऊ हो
मल्हम लगाए निको हुन्छ
माया एउटा शब्द हो
भाबना हो
बिछ्याउदै मा के फरक पर्छ ? !
यही माया बिछ्याएकी छु हिर्दय देखी नै
तिमी अघी बढ !
शब्द हरु बोक्दै
तिमी भानु भक्त को घासी है साहित्य रुपी
जो घास बेचेर चौतारो - धारो बनाउने सपना देख्छ
तिमी शब्द मार्फत
सन्देश दिने सपना देख्छौ
भाब त उही हो सेबा को नै
उसो त म पनि देख्छु
त्यसैले त हाम्रो भाबना मिल्छ कही
पिर बुझ्छु - पिर लाग्छ
तिमी नथाक है !
मेरो बिन्ती !

Aakar said...

प्रसंग फरक फरक, तर एकदमै रमाइलो गन्थन । यस्तोलाई पनि गन्थन भन्ने र ???

यसो पढ्न, सुन्न झ्याउ लाग्ने, अल्छि लाग्ने लाई पो गन्थन भन्लान् हैन र ???

Yumesh Pulami said...

दीपक जी आफ्नो गन्थन लेख्न यती सिपालु हुनुहुन्छ अनि त्यसमा पनी यातिका जागर लगाएर ..... यो त पहिला कैलाश जी ले अल्छि लागेका कुरा को आफ्नो ब्लगमा यस्ते तरिकाले लेख्नु भा'थियो नि ! त्यस्तै भई गो नि !
................. यस्तो रमाइलो कुरा हरु गर्न कटी मज्जा छ है .... एक दम स्वतन्त्र ... हामीलाई ब्लग ले कति नजिक्याएको मानौ हामी एकै ठाउमा छौ अनि हामी एक अर्काका कुराहरु एस्तो भो उस्तो भो भनेर ....सुनाई रहेका हुन्छौ ... सम्झदा नै रमाइलो लाग्छ मलाई त ! मिलिसा र डेजा को कुरा सहित आफ्नो सपनाको कुरा .... यो डिजिटल डायरिमा ... मज्जाले गास्दै जानू भएको रहेछ ! पल्पसा र BOB मार्लीको गीतहरु (आकर जी को कुरो पनी उठाउनु भएको रहेछ )
अनि मलाई लाग्दैन तपाईको पोस्ट ... मा टासोहरु अपलोडमा ढिलाई भएको छ भनेर .... यसो हामी जस्ता शुभ चिन्तक ले स्टडी गर्न त भ्याउनु पर्यो नि ? हैन र? न त्र त .... हाम्लाई न्याय हुदैं हुदैन नि नि ?

Dilip Acharya said...

गन्थन भने पनि यौटै टाँसोमा अहिलेको आर्थिक मन्दी, देस प्रेम देखि लिएर धेरै रमाईला प्रसंगहरु पनि रहेछन। मलाई त निकै रमाईलो लाग्यो है ।

Jotare Dhaiba said...

लेख्‍न नसकेको बेला, अल्छी लागेको पृष्ठभूमिमा पनि देश, आधुनिक भनिँदो समयमा मान्छेको भावदशा, आफ्नै वैयक्तिक पाटोबारे यति संवेदनशील कुरा उठान गर्नुभएको छ । साँच्चै, विश्वलाई आर्थिक मन्दीले लखेटिरहेको समयमा हाम्रो देशमा भने शान्तिमन्दीले वर्षौँदेखि हैरानी बोकाइरहेछ । सपनाको के कुरा, धारिलो विपनालाई टेकेर जसोतसो जिन्दगी बाटिरहेका नेपालीहरू आसैआसामा बूढो बनिरहेछन् ।
अनि तपाईँको गजल लेखनको कुरा पनि मनपर्‍यो है । केही लेख्‍नु र लेख्‍न सक्नुभन्दा महत्त्वपूर्ण कुरा हो- प्रभावशाली लेख्‍नु । तपाईँलाई त्यसको निम्ति मङ्गल कामना ! कथाले पनि चाँडै सफलतम बिट मार्न पाओस् ।

डीआर न्यौपाने'सूर्य' said...

dipik jee ati raamraa ganthanharu le updae garnu bhaechha bloga lai .ani ma pani tapaiko gajal ko pratikhsya ma chhu la .

Unknown said...

मेरो गन्थनमा समय दिन आउनुहुने सबैलाई हार्दिक धन्यवाद । दिलीपजीको off topic note ले मलाई सहयोग गर्यो कि ? मैले भने अनुशार गरेको छु ।