Monday, December 19, 2011

गजल : आँखिरमा निकम्मा यै प्यार रहेछ

म गजल पनि लेख्छु त्यसैले सायद यसो पनि भन्न सक्छु -  

म घाउ गनि गनि गजल लेख्छु । 
त्यो घाउ दुख्दा पनि गजल लेख्छु ।

गजल लेखिने सवालमा धेरै वहसहरु भएका छन्, हुँदैछन् र अझ हुँदैजानेछन् । गजललाई अनुभुत गर्न सक्ने, थोरै धेरै लेख्ने गरेता पनि गजल के हो? कसरी लेखिनु पर्छ? भन्ने सवालमा वहस गर्नु मलाई मेरो रुचिको विषय लाग्दैन । मेरो हकमा गजल जसरी पनि लेखिन सकिन्छ भन्ने मान्यता राख्छु म । हरेक पटक फरक तरिकाले पनि मेरो गजलको सुरु र अन्त्य हुनसक्छ ।

 पहिल्यै काफियाहरु जोड्जाम गरेर गजल लेख्न बस्दा गजल राम्रो बन्दैन भन्ने धेरै पहिले सुनेर जानेको हुँ । तर सबै जानेसुनेको र सिकेबुझेको कुराले सँधै काम गर्दैन र काम गर्नैपर्छ भन्ने पनि छैन होला । काफिया भेला गरेर गजल लेख्दिंन म भन्नेहरुले त्यसो गर्लान् तर त्यसले सँधै राम्रो गजल नै जन्माउँछ भन्ने विश्वास म गर्दिंन र काफिया भेला गरेर गजल लेख्दा पनि त्यसले सँधै नराम्रो गजल नै जन्माउँछ भन्ने पत्याउँदिंन । तर यसको आसय यो पनि हैन कि हरेक पटक नै काफियाहरु जोड्जाम गरेर गजल लेख्न बस्छु म । भनेकै छु हरेक पटक फरक तरिकाले सुरु हुनसक्छ, फरक तरिकाले अन्त्य हुनसक्छ मेरो गजल । र अर्कोतिर सबभन्दा महत्वको कुरा त यो छ कि म आफुलाई गजलकार देख्नै सक्दिंन । केवल लेख्छु मात्र र गजल हुन्छन् कि हुँदैनन् मैले लेखेका भन्नेतिर उत्तिसारो जान्न ।


मैले पछिल्लो पटक पुरा गरेको गजल त्यसरि नै केहि अगाडी काफियाहरु भेला गरेर राखेको रहेछु । राखेको मात्र हैन राखेर विर्षेको पनि रहेछु । सेलफोनको नोटस् खोतल्दै जाँदा भेट्टाएँ; त्यो त तीनसय एकचालिस दिन अगाडि सेभ गरेर राखेको रहेछु । र आज फेसबुकमा सेयर गरिसकेको त्यहि गजल सेलफोनको नोटमा सेभ गरेको फोटोसहित ब्लगमा पस्किन मनभयो -

आँखिर निकम्मा त यै प्यार रहेछ । 
त्यै र त आँखामा असार रहेछ । 

रोएर उस्लाई खसाउन खोज्ने, 
ईरादा त आफ्नै खुँखार रहेछ । 

कहिल्यै मानिंन उ त भन्ने गर्थ्यो, 
तिमी छिर्ने अर्कै सँघार रहेछ । 

चर्काउँदा देवल म हाँसेको थिएँ, 
तर फुट्ने मेरै निधार रहेछ । 

आज छाँयाले हालखबर सोध्यो, 
छाँयामा उस्कै अनुहार रहेछ । 

निभाएथें दियो सूर्य देखेपछि, 
दीपक नहुँदा अन्धकार रहेछ ।
***

Thursday, December 15, 2011

कथा : महायात्राको आधाबाटो


दन्त्यकथाका राजकुमारहरु जस्तै दुई जवान पौराणिक पुरुषहरुले समातेर मलाई माथि माथि लग्दैथिए । जब बादलको मादक सुगन्ध कपुर जस्तै मेरो नाकमा ठोक्कियो मैले तिनिहरुलाई सोधें, 'के म स्वर्गतिर लगिंदैछु?'

मेरो दाहिनेपट्टिको सुकुमारले भन्यो, 'स्वर्ग कुन ठाउँ हो? त्यो कहाँ छ?'

सामान्य आश्चर्यका साथ मैले सोधें, 'अहो! स्वर्गको बारेमा तिमीलाई थाहा छैन? स्वर्ग भनेको त्यहाँ हो जहाँ दुखको पहुँच हुँदैन । जहाँ ईश्वरहरु रहन्छन् । मानिसहरु पनि यदि असल छन् भने मरेपछि त्याँहा लगिन्छन् ।'

'ए त्यसो हो?' उसले पनि स-आश्चर्य नै भन्यो, 'तिम्रो थोरै बयानमा धेरै कुरा लुकेको छ । छलफल गरौंला बिस्तारै तर पहिले यो भन कि स्वर्ग यहि बाटो जान्छ भनेर तिमीलाई कसरी लाग्यो ?'

म निश्चित थिइँन र भनें, 'मलाई बादलको वस्ती कटाएर लगिंदैछ र स्वर्ग माथि नै हुन्छ होइन त?'

मेरो देब्रे पाखुरा समाउने अर्को सुकुमारले भन्यो, 'स्वर्ग कुन ठाउँ हो? त्यो कहाँ छ? हामी त जान्दैनौं । तर याद राख, जब तिमी यौटा लोक छोडेर हिंड्छौ, तिम्रो निम्ती कुनै तल हुँदैन; कुनै माथि पनि हुँदैन । तलमाथि, कोणहरु र दिशाहरु तिमीहरुले आफ्नो सजिलोलाई बनाएको कुरा मात्र हो जुन तिम्रो लोकमा मात्र चल्ने गर्छ । अब तिमी अनन्तमा छौ । जहाँ समय बाहेक अर्थोक केहिको नाप हुँदैन ।'

बेपर्वाह थिएँ म जे सुकै होस् या केहि नहोस् । बादलको वस्ती नाघिसकेर निक्कैबेर हिँडेपछि चिच्याउँदै म उत्साह बोलें, 'अब ताराहरुको गाउँघरमा पुगिनेछ । चन्द्रमालाई छोएर अघि बढिनेछ । अहा! स्वर्ग कस्तो सुन्दर होला? के चित्रगुप्त बुढा भैसके होलान्? ईन्द्रको हाउभाउ अझै हिजडाकै छ कि?...........।'

डराउनु केहि थिएन म देखि तर उनिहरु हच्किएझैं गरे, 'तिमी कस्को कुरा गर्दैछौ? तिनीहरु कसैलाई हामी चिन्दैनौं र हामी तिमीलाई कुनै स्वर्गतिर पनि लग्दैछैनौं । तिमीलाई त हामी आत्माहरुको रिसाईकल सेन्टरतिर लगिरहेछौं । जहाँ ठुला ठुला ज्योर्तिमय पुञ्जहरुको कन्टेनरमा तिम्रो आत्मालाई राखिनेछ र तिम्रो आत्मा उपर अध्ययन पश्चात तिमीलाई उपर्युक्त जीवनमा प्रवेश गराउन फेरि तिम्रै लोकमा फिर्ता लगिनेछ ।'

उनिहरुको यो कुराले भने म बेपर्वाह रहन सकिंन । निश्चितता प्राप्त गर्न सोधें, 'तिमीहरु मसँग दिल्लगी गरिरहेको होलाउ, हैन? किनभने मलाई थाहा छ तिमीहरु चित्रगुप्तको कारिन्दा हौ । मलाई तिमीहरुले चित्रगुप्तको सम्मुख लग्नेछौ र चित्रगुप्त मेरो पाप पूण्यको.......।'

'फेरि को चित्रगुप्त?' ठुलो उँचो स्वरमा साँच्चै रिसाएर एउटाले भन्यो, 'को चित्रगुप्त भनेको? हामी चिन्दैनौं चित्रगुप्त सित्रगुप्त ।'

मैलेपनि उसले जत्तिकै रीस देखाएर आफ्ना आँखा ठुल्ठुला पार्दै र अझ नाकका पोरा फुलाउँदै भनें, 'चित्रगुप्त भनेको यमराजको बैदार हो । मैले त तिमीहरु त्यहि बैदारको पनि चपरासी सपरासी होलाउ भन्ठानेको । तर तिमीहरु चित्रगुप्तलाई पनि चिन्दैनौ भने के को आधारमा मलाई जबर्जस्ती मेरो पाखुरा समातेर लग्दैछौ? ......तेरिमा झ्याँक्ने हो, तिमीहरु त यता माथितिरका अपहरणकारी जस्तो पो छौ । अब मलाई तिमीहरुको आइडीकार्ड देखाउ । हैन भने मलाई यसरी पाखुरा समातेर अपहरणको शैलीमा कहिँ लैजान पाउँदैनौ ।'

बादलको वस्तीहरु काटेर निक्कैबेर हिडीसक्दा पनि म ताराहरुको गाउँघर नजिक नपुग्दा अर्कोतिर क्रोधित हुँदैथिएँ । म सोच्दैथिएँ कि ताराहरुको गाउँ नजिकबाट हिंडीरहँदा पृथ्वीलाई तल सानो सानो डल्लो जस्तो देख्नेछु तर जहाँबाट मलाई हिँडाईदैथियो त्याँहा नजिकमा न ताराहरु थिए न चन्द्रमा न पृथ्वीनै ।

'हामीले तिम्रो पाखुरा समातेका छैनौं । तिमीलाई छोएका पनि छैनौं । पाखुरा साखुरा तिम्रै लोकमा छोडेर केवल आत्माको रुपमा यहाँ आएका छौ तिमी...', अर्को अलि विनित बनेर बोल्यो, 'हेर हामीले स्वर्गफ्वर्ग पनि केहि देखेका छैनौं । चित्रगुप्त, यमराज स्यमराजहरु पनि चिनेका छैनौ । कल्पकल्पान्त भैसक्यो हामीले यहि कार्य गर्दै आएको । आजसम्म हामीलाई कसैले परिचयपत्र पनि मागेको थिएन । हामीलाई परिचयपत्र दिने निकाय नै छैन त्यसैले हामी परिचयपत्र देखाउन समर्थ छैनौं । त्यसउसले तिमीले यो व्यर्थको विवाद र वहस झिक्नु कत्तिपनि उचित छैन ।'

'...तर म तिमीहरुलाई को भन्ठानेर तिमीहरुको पछि लागेर जानु? तिमीहरुलाई मेरो आत्मालाई ज्योर्तिमय पुञ्जको कन्टेनरमा राखेर अध्ययन गर्ने अधिकार दिने को हो? सर्वोच्व बेगरको कुनैकुराहरु हुँदैन कहिँपनि भन्ने कुरा थाहा छैन तिमीहरुलाई? तिमीहरुको सर्वोच्व को हो, के हो? गैह्रकानुनी हिसाबले त्यसै तिमीहरु मेरो आत्मालाई ल्याएर त्यसमाथि शोध गर्न खोजिरहेका छौ कि? या त यमराज ईत्यादिहरुसँग फिरौती रकम असुल्नलाई मलाई बन्धक बनाउन खोजिरहेछौ?'

अहँ मेरो रीस पट्टक्कै शान्त भएन । बरु मेरो त झन् भन्दा झन् रीसको पारो चढ्दै गयो । हुनपनि मेरो देह अहिले नै फेर्नुपर्ने गरि पुरानो भैसकेको थिएन । जवानी मै छँदैथिएँ म । तर आफ्नो प्रेमको समाप्तीको पीडा सहन नसकेर आफैंले त्याग गर्न चाहेको थिएँ आफ्नो देहलाई । बाचुञ्जेल आफुले कसैको पनि कुभलो बन्दै नगरेको हुँदा जुनसुकै कारणले भएपनि शरिर छाडेर गैसकेपछि मलाई स्वर्गमै जाने ईच्छा थियो र स्वर्गमा स्थान पाउँन योग्य उम्मेद्वार भन्ठान्थें म आफुलाई तर ईच्छित महायात्राको विचमै मेरो ईच्छामाथि कुठाराघात हुने ठहर्यो । महायात्रामा जस्को साथ म हिंड्दैथिएँ तिनीहरु स्वर्ग देखेसुनेकै छैन भन्ने किसिमका निस्किए । हेर्दा पौराणिक पुरुषझैं दिव्य देखिने यी दुई को हुन त? र मलाई कहाँ लाँदैछन्? केहि खुट्याउन नसकेपछि म अड्डी कस्न थालेको थिएँ ।

'म स्वर्ग प्राप्त गर्छु भनेर ढुक्क भएर हिंड्दैथिएँ तिमीहरुसँग । तर स्वर्गसँग तिमीहरुको केहि सरोकार छैन भने म तिमीहरुको प्रयोगशाला हो कि प्रशोधनशाला हो त्याँहा जान्न । बन्दै जाँदिन । हेरौं कसरी जबर्जस्ती गर्दारहेछौ?' मेरो घुर्कि थियो ।

'हामीले तिमीलाई जबर्जस्ती गरेकै छैन । जबर्जस्ती ल्याएको पनि होइन तिमीलाई । तिमी स्वयँ हाजिर भएका हौ र अहिले स्वर्ग स्वर्ग भनेर हुँदै नभएको स्वर्गको रट लगाईरहेछौ । आफुले कर्म गर्नुपर्ने ठाउँलाई नै पो स्वर्ग भन्छौ होला तिमीहरु भन्ने लाग्थ्यो हामीलाई त । हामी तिमीलाई तिमीले भनेको जस्तो स्वर्ग पुर्याउन पनि सक्दैनौं ।' उनिहरुमा अब त रीसको नामोनिशान थिएन । दैबीरस युक्त वाणीले सम्झाईरहेथे उनिहरु मलाई । म पनि नरम हुन बाध्य भएँ र नरम स्वरमा सोधें, 'उसोभए मलाई किन ब्यर्थ त्यो कन्टेनरमा राखेर अध्ययन गरिरहने? आँखीर उहि लोकमा फेरि कुनै जीवनमै फिर्ता पठाउने हो भने ब्यर्थ किन म त्यो कन्टेनरमा मेरो समय वर्वाद गरुँ? मलाई यहिँबाट मेरो साविककै जीवनमा फर्काउन मिल्दैन?'

दुबैले मुखामुख गरे र एकैस्वरमा भने, 'अवस्य मिल्छ । अहिले सम्म त तिम्रो देह नष्ट भैसकेको छैन तर ढिलो गर्यो भने तिम्रा प्रियजनहरुले नै तिम्रो देह नष्ट गर्नेछन् । अत छिट्टो गर्न तिमीलाई हामीले यो बाटो पठाउनु पर्ने हुन्छ ।'

उनिहरुले मलाई कालो अँध्यारो सुरुङ्गजस्तो गहिरो न गहिरो बाटो देखाए र खसाउन तयार भए ।

'यो गहिरो त निक्कै तलसम्म छ जस्तो छ । म कहाँ पुग्छु नि यो बाटो?' मेरो डर तिनीहरुले बुझे क्यार भने, 'हेर्दा मात्र हो यो डरलाग्दो देखिने । यो तल हैन तिमीलाई तल जस्तो लागेको मात्र हो । जानलाई यहि बाटो सजिलो र छिट्टो हुन्छ । वान वे हो यो यहाँ पसिसकेपछि फेरि फर्कन मिल्दैन । तयार छौ?'

'छु ।' मेरो मुखबाट शब्द खस्न नभ्याई उनिहरुले मलाई त्यहि कालो अँध्यारो गहिरो ईनारजस्तो बाटोमा खम्र्याङ्ग खुम्रुङ्ग खँदारिदिए । उनिहरु भन्दैथिए 'कस्ता कस्ता मान्छेहरु पनि देख्नुपर्छ...'

त्यहि शब्द 'कस्ता कस्ता मान्छेहरु पनि देख्नु पर्छ...' मेरो कानमा यता पनि पर्यो जब मैले चल्मलाएर हस्पिटलमा पिर्लिक्क आँखा खोलेँ । मलाई हेर्न वरिपरी झुम्मिका अनेकौं मध्ये कुनै अपरिचित मान्छेको आवाज थियो त्यो । व्हिल चेयरमा बसेको उ अझै भन्दैथियो, '...म जन्मिंदै अपाङ्ग जन्मिएको मान्छे त आज रोगसँग लड्न उपचार गराउन आएको छु । यो नौजवान लाठेको बुद्धि हेर? यौटी केटिको निम्ती बिष खाने ।' मैले मुण्टो फर्काएर उसलाई हेर्दा उ अर्कोपट्टी फर्केर गुड्दै भीडमा ओझेल भयो ।

'दीपकको होस आयो ।' कसैले घोषणा गर्यो । अझ धेरै मान्छेहरु मेरो वरिपरी झुम्मिए । कोहि रुँदैथिए मेरो निम्ती; कोहि गाली गर्दैथिए मलाई । म हस्पिटलको बेडबाट उठ्नु भन्दा अगाडिनै सबैको नजरमा गिरिसकेछु भन्ने हेक्का भैसकेको थियो मलाई ।

एकैछिन् आफुलाई सम्झिएँ, 'थुक्क! मैले के गरेको होला?' मनमनै भनें, 'अब सबैको अगाडी लाजकै मर्नु हुने भो । किशोर वयको प्रेम साँच्चै अन्धो हुँदोरहेछ । जीवन नचिनेर होला किशोर वयमा प्रेमलाई जीवन भन्दा महत्वपूर्ण ठानिएको । जीवन नरहे प्रेम के का लागी होला? प्रेम जीवनमा उज्यालोको लागी हो, जीवन प्रेममा बलि चढाउन हुँदै होइन ।' त्यस घट्ना पछि म जीवन बुझेको अनि प्रेम चिनेको दार्शनिकझैं भएको छु कि जस्तै लाग्थ्यो आफुलाई । तर मैले बुझेको कुरा अरुलाई बुझाउन त के सुनाउन समेत अयोग्य घोषित भएको थिएँ सर-संगतमा म । कायर, बुद्धिले हीन, पशु....... यस्तै यस्तै अनेक विशेषणहरु बनेका थिए मेरो परिचयमा ।

'थुक्क! तेरो बुद्धि?.....' पछिसम्म पनि दौंतरी तथा आफन्तहरुले यसैगरी मेरो मनोवललाई उठ्न दिएनन् त्यसैले माहायात्रामा आधाबाटोसम्म हिँडेको यो रोमांचक कथा समेत म भित्र वर्षौंसम्म गुम्सिरहेको थियो । मैले कसैलाई सुनाउने सम्म पनि आँट गर्नैसकेको थिइनं ।

आजको दिनलाई सलाम जस्ले मेरो महायात्रामा आधाबाटो हिँडेको कथालाई ह्रदयको गुम्फनबाट उकासेर प्रकाशमा ल्याएको छ ।

***
(खसखसडटकममा प्रकाशित)

Sunday, December 11, 2011

गीत : तिमीलाई मेरो प्यारमा

भन के के हुनुपर्थ्यो तिमीलाई मेरो प्यारमा
म त नबुझ्न पनि सक्छु बुझाउनु विस्तारमा
भन के के हुनुपर्थ्यो तिमीलाई मेरो प्यारमा ।


सँधै देख्ने मायालु संसार तिमीलाई
उज्यालो डुबेझैं धमिलो भयो
आफैंसँग भागेर हिंड्न तिमीलाई
किन आँखाकै बाटो सजिलो भयो
हैन जे जे तिम्रो आफ्नो त्यहि खोज्दैछौ संसारमा
चाहिने तर एउटा साथ मात्रै हो जिन्दगीको आधारमा
भन के के हुनुपर्थ्यो तिमीलाई मेरो प्यारमा ।


म दिउँ तिमीलाई या तिमी देउ मलाई
त्यो खुसी अधरमा समेट्न सकिन्न
जति होस् उज्यालो र खुसी जगतमा
मन र आँखा नभै भेट्न सकिन्न
थिए जे जे तिम्रो गुनासो पोखिएका चित्कारमा
सोधिहेर्नु राखेर तिमी देवतालाइ ह्रदयको द्वारमा
भन के के हुनुपर्थ्यो तिमीलाइ मेरो प्यारमा ।

Monday, December 05, 2011

गजल : रात आज पनि पर्छ

तिन्लाई के छ जस्को सदा कौसीमा चाँदनी पर्छ ।
घर नहुने तैयार बस रात आज पनि पर्छ ।

शुभ मुहूर्त पर्नलाई जुर्नुपर्छ घडी लग्न,
विपत्ति यो पर्नु पर्दा कसैलाई नभनि पर्छ ।

बाढी आउँछ पैह्रो जान्छ छानो हूरी संगै उड्छ,
गरीवकै वस्तीमा अझ वर्षेनी आगजनी पर्छ ।

कहाँ छैन के मा छैन आरक्षण राखेको आज,
ढुक्क बस ए गरीव हो त्यहाँ पक्का धनि पर्छ ।

तित्रा जुनि भोग्नु पर्छ 'दीपक' तेरो मुखै वैरी,
नबोलेकै जाती बरु बोल्यो कि दुश्मनी पर्छ ।
***

केहि अघि नै लेखेको यो गजल प्रति म आभारी छु कि यसले आज मेरो ब्लगमा यौटा मिती अंकित गरेको छ । अचेल के लेखिन्छ खै? सधैं केहि न केहि त लेखि नै रहिएको छ भन्ने हुन्छ आफुलाई तर ब्लगको निमित्त भनेर केहि नै तयार हुँदैन रहेछ । ब्लगर भैखाएको यतिका पछि लाग्दैछ ब्लगर हुनुपनि ख्यालख्याल त होइन रहेछ ।