Sunday, December 27, 2009

गजल : बार बार जस्लाई ढोगीरहेछु

यतिबेला मसँग केहि छैन, मेरो मतलब ब्लगमा लेख्नको लागी केहि छैन । छ त केवल केहि गजलहरु जो कुनै निक्कै अगाडी नै त कुनै हालसालै लेखिएका छन् । बाँकीकुराहरु लेख्नको लागी दिमाग शुन्य छ भन्दा फरक पर्दैन । दैनिकीका धेरै कुराहरुसँग जुध्ने तयारीमा सायद ब्लगमा राख्ने कुराहरु लेख्न एकप्रकारले विश्राममा छ दिमाग भन्दा फरक नपर्ला । त्यसैले यसपटक केहिदिन अगाडीको यौटा गजललाई नै प्रस्तुत गर्दैछु । यसको बारेमा पछिल्लो पटकको गजल लेख्दा नै अस्पस्ट थोरै कुरा उल्लेख गरेको थिएँ । त्यो बेलापनि यस्तै केहि नभएको अवस्थामा यौटा गजल टाँस्नको लागी भूमिका लेख्दैथिएँ तर जब भूमिका भन्न सक्ने टिप्पणीको पहिलो वाक्य लेखेँ तब मैले त्यहीँ अर्को गजल देखेको थिएँ र सबैकुरा छोडेर त्यो गजल पुरा गरेर मात्र त्यसपटकको गजल ब्लगमा टाँसेको थिएँ । आउनुस् आज त्यहि गजल पढौं । आफ्नै जोखाई अनुशार औसतमा दरिने यो लगायत मसँग अरुपनि ६ वटा गजलहरु तयार छन् जस्लाई म क्रमश भाँती मिलाउँदै राख्दै जानेछु ।


अनियमित दैनिकी भोगीरहेछु ।
लाग्छ म कस्तो मनोरोगी रहेछु ।

संगालेर राखुँ त म छरपस्ट,
नबटुलिने घोगाघोगी रहेछु ।

कोहि चिमोट यो चाम्रिएको छाला,
लौ घसें खरानी, म जोगी रहेछु ।

किन हुँदैछ टाढा मनको हरी,
बार बार जस्लाई ढोगीरहेछु ।

बुझेर पनि यो संसारको लिला,
म मन रुवाउने सोगी रहेछु ।

कि म जिन्दगीको यो कारखानामा,
निरन्तर सोच्ने उद्योगी रहेछु ।

Monday, December 21, 2009

प्रसङ्ग - अन्तरालका कुराहरुको

एक त के अनेक भूमिकाले पनि बाँध्न सक्दैन रहेछ बिथोलिएको अवस्थितीलाई चाहे त्यो मनको होस् या अर्थोकै केहिको ।

प्रसङ्ग - अन्तरालका कुराहरुको
समय - मैले हिसाब गर्न जाने देखि आजसम्म र यो तन्कँदै जानेछ म रहुञ्जेल
स्थान - मैले देखेजति आकाश र टेकेजति धर्ती


यो अन्तरालका कुराहरुको प्रसङ्गलाई अब थियो भन्ने कि छ भन्ने ? दोधारमा छु । यो दोधार छँदै थिएन जब मनमा लेख्ने तानाबाना बुन्दैथिएं तर लेख्दै जाँदा नितान्त ब्याक्तिगत कुराहरुलाई म यति महत्व दिएर किन लेखिरहेछु ? यो सब कुराहरुको अर्थ म स्वयंलाई बाहेक कति महत्वको छ र ? भन्ने जस्ता तर्कनाहरु उब्जँदै गए, कुनै बाली लगाईएको खेतमा झार पलाएझैं पलाएका तर्कनाहरु यस्तरी बलिया बनिदिए कि एक पटक हैन अनेक पटक मैले यौटा सानो अन्तरालका कुराहरु लेख्दै मेट्दै गरें र त्यसैले अर्को अन्तराल बनाउँदै गयो । हो रहेछ, अन्तराल यसरी नै बन्दो रहेछ । हामी निरन्तर प्रयासरत हुन्छौं जीवनका कुनै पक्षमा अन्तराल नबनोस् र त्यसको अप्ठ्याराहरु सामना गर्नु नपरोस् भनेर तर त्यहि प्रयासले अर्को अन्तराल निर्माण गरिरहँदो रहेछ र हामी जीवनमा आफैंले बनाउन पुगेका अन्तरालका गहिरा गहिरा खाडलहरुमा पुरिइरहँदा रहेछौं । ति खाडलहरु घातक नै हुन्छन् भन्ने पनि छैन । निस्कन्छौं, उम्कन्छौं ति खाडलहरुबाट तर उम्कनलाई गरेको प्रयासले या भनौं प्रयासरत रहेको समयावधीले फेरी अर्को खाडल निर्माण गरिसक्दोरहेछ र धकेल्दोरहेछ हामीलाई फेरी अन्तरालकै खाडलमा ।

प्रक्रिया उहि उस्तै चलिरहने निरन्तर जिन्दगीको र त्यसमा प्रत्येक पल भए/गरेको नयाँ देख्न नसक्ने हामी मुर्ख मनुवाहरु ।

यौटा निश्चित समयावधीको अन्तरालका कुराहरु उप्काउन खोज्दै जाँदा क्रमश आजसम्मकै जीवनका अन्तरालहरु उपस्थित हुँदै गए र म अन्यौलमा फँस्दै गएं कि कुन कुरालाई लेखुँ ? लेखिसकेका धेरै कुराहरु त मेटिसकेको छु । के अब सबै सुरुवातबाट लेखुँ ? अहँ यो यति सजिलै लेखिने कुरा होईन । यस्तै मात्र लागिरहयो, त्यसो त यहाँनेर पनि अन्यौलमा छु म, यो यस्तै लागेको नै हो कि अथवा मैले यस्तो लाग्नुलाई जोड दिएको हो ? लेख्दै जाँदा थपिँदै गएका कुराहरुले कि त मेरो लेखलाई भद्दा बनाउने छ या त जति लेखेर पनि यो अधुरो नै रहने छ । निचोड यस्तै बन्यो ।

लेख्न खोजिएको अन्तरालको कुरा लेख्ने नै हो भने दुई वाक्यांसमा लेखिएला तर अन्तरालका कुराको सीमा वृहद बन्दै गयो । थपिंदै गए अन्तरालहरु र म केवल गोडा पाँचेक हरफमा आफ्ना कुरा लेख्ने ब्लगर(लेखक नै भनुँ न) रहिनं । म स्वयं यौटा यस्तो पात्र बनें जस्ले भोगाईको हकमा जीवनका सबै यामहरु भोगेको छ र अन्तरालका कुराहरुमा ति सबै यामहरुको उपस्थिती आवश्यक छ । जो नफुल्नु खुशी फुलेको छ, नदुख्नु पीडा दुखेको छ र ति खुसी र पीडाका क्षणहरुले पनि अन्तरालका कुराहरुमा आफ्नो वर्चस्वको हकदाबी गर्दछन् । जब थोरै कुराहरु भन्न खोज्दा अर्थात लेख्न खोज्दा आफुलाई यस्तो अवस्थामा पाईंदोरहेछ तब लाग्दोरहेछ कि त यो लेख्नुको औचित्य छैन या फेरी लेख्ने समय नै भएको छैन ।

त्यसो त एक ब्लगर भएर मैले आफुलाई एक खुल्ला किताब भनेको छु । यो मलाई लाग्छ - म मात्र हैन हामी सम्पुर्ण ब्लगरहरु नै यौटा खुल्ला किताब सरह हौं जो आफ्ना मनका अक्षरहरु, ति जतिसुकै नितान्त ब्याक्तिगत किन नहुन ब्लगका पानामा कुनै न कुनै माध्ययमले छाप्ने गर्छौं र अलिकति राहतको स्वास फेर्छौं । यस्तो सोच्दासोच्दै, अनायस कति कुराहरुमा हामी मनका अक्षरहरुलाई ब्लगका पेजहरुमा हुबहु फोटोकपिझैं उतार्न सक्दैनौ पनि । भनौं न ब्लग मनको ऐना हो भने मनको अक्षर त्यसमा देखाउनलाई प्रतिविम्बित मात्रै गरेर पुग्दैन, त्यसो गर्दा त्यो उल्टो देखिन जान्छ यसर्थ हामी मनका अक्षरहरुलाई अरुले बुझ्ने गरेर र धेरैजसो चैं आफुले अरुलाई बुझाउन चाहे अनुशार आकार/प्रकारमा फेरबदल गर्ने गर्छौं । ब्याक्तिगत कुराहरुको लेखाईमा यो प्रयास प्रायस सबै ब्लगरहरुमा लागू हुन्छ । जस्तै मलाई नै भै रहेछ ।

अन्तरालका कुराहरु लेख्ने जमर्कोमा म ति नै अन्तरालका गहिरा खाडलहरुमा यसरी खसुँला भन्ने कहाँ थियो र ? लेख्दैथिएँ सरर सरर मानौं कि ममा उस जूगका महान लेखन्दास गणेशकै जस्तो बिद्युतिय लेखन शक्ति छ तर लेख्दै जाँदा महसुस हुँदै गयो लेखन्दास बन्ने शक्ति हुनु र लेखक बन्ने शक्ति हुनु दुई पृथक कुराहरु हुन् । प्रसंग उप्किंदा अलिकति गणेशको बारेमा बोलीहालुँ - त्यत्रो विद्युतिय गतिमा लेखन शक्ति भएका गणेशले किन यौटा पनि आफ्नो कृति लेखेनन् होला ? आफ्नो यौटा पनि कृति नलेख्ने गणेशको कस्तो बिद्युतिय गति थियो होला त लेख्ने ? के गणेशसँग कम्प्युटर थियो छिट्टो लेख्नलाई जस्तो अहिले मैले प्रयोग गरिरहेछु ? त्यसो हो भने गणेशसँग द्रुत गतिमा लेख्ने बिद्युतिय शक्ति हैन साधन थियो भन्न पर्छ होला सायद र साधन प्रयाप्त भएर मात्र निर्माण हुन्छ भन्ने जरुरी छैन । कृति तयार गर्नु एक प्रकारले निर्माण न हो जहाँ यथेष्ट परिकल्पनाको खाँचो पर्छ । त्यसैले गणेशले आफ्नो कृति लेखेनन् होला । आँखिर उनि परिकल्पना प्रेमी भन्दा पनि परिक्रमा प्रेमी त दरिएकै हुन् । लगभग त्यस्तै नै अवस्था होला मेरो यो अन्तरालका कुराहरु लेख्नु जो म साधन भएर मात्र लेख्न सकिरहेको छैन । सायद ब्यापक परिकल्पनाको खोजीमा छु ।

अन्तरालका कुराहरु लेख्ला यो ज्यानले । म आशावादी छु आफैंसँग । त्यसले समय लेला । त्यसको स्वरुप अहिले मैले कल्पना गरेको भन्दा अलग होला तर अन्तरालका कुराहरुले मनमा एक प्रकारको जुन घर बनाउँदैछन् तिनले पूर्णता पाएपछि त्यो अवश्य लेखिएला कुनै न कुनै उपायले । अहिलेलाई अन्तरालका कुराहरु मध्येको यौटा कथा एक हरफमा लेख्दैछु साथमा यौटा तस्विर राखेर । यो लेख्दिंन, लेख्नेबेला भएको छैन ईत्यादी ईत्यादी प्रतिको अन्तरविरोध हो अर्थात बनाउँदैछु । कथा भनिसकेपछि यौटा शिर्षक पनि चाहियो भनेर यो कथालाई 'जीवन साथी' शिर्षक दिएको छु ।

'जन्मेदेखि आज पर्यन्त कहिल्यै नछोडी सँगै लिएर हिँडीरहेको जीवनले थाहै नपाई बनाएका अन्तरालका गहिरा गहिरा खाडलहरु माझको कतै पुगेर साथी भेटाएको छ - जीवन साथी ।' यो फोटो कथा यति नै ।

फोटोको सम्बन्धमा: यो मेरो दोश्रो विवाहको तस्विर हो र उपज जीवन-अन्तरालकै ।

क्रमश...........(भलै यसको अत्तोपत्तो छैन ।).................

Tuesday, December 08, 2009

गजल : ब्यर्थै तिम्रो ईश्वरलाई

अनियमित दैनिकी भोगीरहेछु । .........'यो वाक्य लेखिसक्ने बित्तिकै म रोकिएँ । एकैछिनलाई हैन धेरैबेरलाई । के गरेँ त रोकिएर ? यसको कथा पछि फेरी अर्को ब्लगमा भनुँला ।...........' त्यसैले ब्लगमा सोचे जसरी प्रस्तुत हुन सकिरहेको छैन । लामो अन्तराल पछि ब्लगमा भोलीको भूमिका भनेर लेखेको थिएँ । जस्को प्रतिक्रियाले मुख्य भन्न खोजेको कुरा अझै सशक्त ढँगले भन्नुपर्ने दवाव दिएको छ । त्यसलाई निरन्तर लेखिरहेको छु तर पुरा गर्न सकेको छैन । त्यहि लेख्दालेख्दै 'सुर्काउने गाँठो जिन्दगीको' भन्ने कविता लेखेँ र ब्लगको एक पेज थपें । यसपल्ट पनि म अन्तरालका कुरा लेख्न बसेको थिएँ तर लाग्यो त्यो म एकैछिनमा एक टुक्रा कविता लेखे जसरी वा यौटा गजल जबर्जस्ती पुरा गरे जसरी पुरा गर्न सक्दिंन । त्यसैले ब्लगमा अर्को पेज थप्नको लागी निक्कै पहिले लेखेको तर फुर्सद नपाएर ब्लगमा चढाउन नभ्याएको यौटा गजल लिएर आएको छु । यसको पहिलो शेर(मतला)लाई निक्कै पहिले फेसबुकमा लेखेको पनि थिएँ ।

गलत् भनिंन तिमीले पूजिरँ'दा पत्थरलाई ।
नलगाउ मेरो कुरा ब्यर्थै तिम्रो ईश्वरलाई ।

नटेक्दैमा मठ्-मन्दिर हुन्न म अनिश्वरवादी,
सकेको छु मैले मान्न मन्दिर आफ्नै घरलाई ।

के हिसाबले भन्छौ तिमी द्यौता आफ्नै मात्र पेवा,
उसले आफ्नै ठान्छ भने जगत् चराचरलाई ।

मन्दिर धाई फिर्दा अरु मान्छे होचो देखेसम्म,
खेद ! रहनेछ द्यौता ढोग्ने ति दुई करलाई ।

तिम्रो पूज्य ईश्वरमात्र हैन मान्छे पनि हुन्छ,
सक्यौ हटाउन भने यदि मनको 'तर'लाई ।

ईश्वरत्व त्यसमा पो छ जस्ले सक्छ अहँ त्यागी,
स्विकार्न 'यो धर्तीका सब जीव बराबर'लाई ।

Friday, December 04, 2009

कविता : सुर्काउने केहि गाँठोहरु जिन्दगीका


सुर्काउने केहि गाँठोहरु
फुस्कँदै गए जिन्दगीका
मानौं सबै सबै नै थिए ति
यसैगरी फुस्कनलाई सहजै
जालान कतिहरु त अझै
फुस्कँदै झनै हेलैसँग
क्रमै अनुशार सुरुरु सुरुरु
जस्तो कि,
बाँधिएकै थिएनन् कतैपनि गाँठोहरु
जिन्दगीको डोरीमा
कुनै साईनोहरुको ।

साईनोहरु
अर्थात साईनोहरु जिन्दगीका
अप्रत्यासित बदलिएर
बाटिँदै पोया पोया डोरीझैं
सुर्काउने केहि गाँठोहरु
कसिँदै गए जिन्दगीका
भनौं यि पनि हुन सबै सबै
यसैगरी कसिनलाई सजिलै
जालान कतिहरु त अझै
कसिंदै झनै मेलैसँग
क्रमै अनुशार टिमिक्क टिमिक्क
जस्तो कि,
फुक्नै पर्दैन कहिल्यै पनि गाँठोहरु
जिन्दगीको डोरीमा
कुनै साईनोहरुको ।

हो साईनोहरु
अर्थात साईनोहरु जिन्दगीका
फगत सुर्काउने गाँठोहरु हुनभने
म मान्छे
किन रुन्छु बेस्सरी
फुस्कँदा जिन्दगीको
यौटा सुर्काउने गाँठो
किन फुर्किन्छु बेस्सरी
कसिंदा जिन्दगीको
यौटा सुर्काउने गाँठो ।

Tuesday, December 01, 2009

यो केवल भूमिका हो भोलीको


हिसाब कैले पो गरिएको थियो र जिन्दगीलाई ? बेहिसाब यो जिन्दगीको पनि तर हिसाब खोज्न लागिंदोरहेछ कैलेकाँही । भनौं न जिन्दगीलाई हिसाब नगरी त राखिएकै थिएन । यहिँनेर जिन्दगीको केरमेट सुरु हुन्छ र पत्तै लाग्दैन कहाँ कैले के लेखियो र मेटियो । गर्दै नगरेका कामकुराहरुको पनि हिसाब निस्कन्छ कैले जिन्दगीमा त कैले एक एक हिसाब संगालेको जिन्दगी पनि बेपत्ता हुन्छ जिन्दगीबाट । कैलेदेखि आफुलाई हराएं ? कैले आफुलाई भेटाएँ ? कस्तो अवस्थामा जिन्दगीलाई छोडेको थिएँ ? र भेटाउँदा जिन्दगी कस्तो भयो ? नढल्नु अर्कै कुरा हो तर रिँगटा छुटट्छ जिन्दगीको हिसाब मिलानमा तब भनिंदो रहेछ - हिसाब कैले पो गरिएको थियो र जिन्दगीलाई । सायद जिन्दगीको भाउन्नबाट छुटकरा पाउन यसो भनिन्छ तर के पाईन्छ त छुटकरा जिन्दगीको भाउन्नबाट ? अहँ मलाई त पट्टक्कै लाग्दैन जबसम्म कोसिस गरिन्छ मिलाउन तबसम्म जिन्दगीको हिसाब किताबको झमेला कायम रहन्छ जब कोसिस गर्न बन्द हुन्छ तब झमेला पनि समाप्त हुन्छ ।

यसको गहिराईमा नगएकै राम्रो अहिले । अथाह गहिराई भएर पनि जिन्दगी आँखिर सतहमै समाप्त हुन जान्छ । हामी सतहबाट न माथी उठ्न सक्छौं न तल तल गहिराईमा पुग्न सक्छौं । जति पुगेका छौं भन्छौं त्यो केवल भ्रम हो भन्छु म । प्रकाश सायमिको शब्द सापटी लिएर भन्दा जिन्दगीको गोबर झ्याउलोमा लुट्पुटिएर म कतिखेर गोब्रेकिरो भएर जिन्दगी देखि हराएँ र आज जिन्दगीको धागो समाएर आएँ ? यत्तिकुराले फेरी ब्लगमा जोडिने कोसिस गर्दैछु वास्तवमा म । त्यसभन्दा पर जिन्दगीको कुरा त कुरै मात्र न हो ।

लामो भएको हो यो अन्तराल । समयको यो लामो अन्तराल यतिखेर एकै गुजुल्टो भएर डल्लिएको धागो जस्तै हत्केलामै खेलाउन सक्ने भएको छ । यो कस्तो भने भनौं न सर्सर्ती सम्झिएको यो अन्तराल भरीको समय चैं डल्लिएको धागो र अलि बिस्तारमा त्यही समयलाई सम्झिंदा चैं त्यही धागो फुकाएर बिस्तारमा तन्काईएको जस्तो ।

यस अन्तरालभित्रका कुराहरु कहाँबाट सुरु गर्ने ? खोतल्ने मेसो नै हराईसकेको झैं भएको छ । हुनपनि यस अन्तरालमा धेरै उथलपुथल र फेरबदल भयो जिन्दगीमा । तिहार थियो त्यो बेला जब मैले पछिल्लो टाँसो तिहारकै बारेमा लेखेको थिएँ । तिहारको टाँसो चढाईसकेपछि अनेक पल्ट अनेकथरी कुराहरु लेखें तर ब्लगमा राखिँन फलत समयले त्यसमध्ये कतिलाई पुरानो बनाईदियो कतिलाई तर्साएर सातो लियो ओभरडोज हुन्छ भनेर । कठै ! ओभरडोज हुने डरले सातो उडेका मेरा ति रचना सामाग्रीहरु पछि कालोनीलो भएर तर्साउने समयले नै ओभरडोज खाएको ट्वाल्ल परेर हेर्न बाध्य भए । अब म क्रम मिलाउने छु ताजगी भरेर तिन्लाई ओकल्ने । अहिले त म मात्र भूमिका लेख्न बसेको रहेछु हो यो केवल भूमिका हो भोलीको ।

हे समय
केहि सम्हालिन त देउ मलाई
दुरुस्तै बुझाउंन नसकुँला
तर लगभग हिसाब राखेको छु तिम्रो
भाचुँला औंलाहरु, नसके
गनेर आँख्ला आँख्ला औंलाहरुको
तिम्रै गन्ती गरीगरी
निकाल्नेछु हिसाब आफ्नै जिन्दगीको ।