Monday, July 23, 2007

गीत : म के हुँ ?

म के हुँ , को हुँ , कहाँ छु ?
भनिदेउ मलाई ए मान्छेहरु हो
म मान्छे नै हुँ कि के हुँ ?

किन भुल्छ मलाई संधै दुनियाँले
हाँगैमा सुकेको पात जस्तै
अँध्यारो फैलेर बाटै नपाउंदा
ह्रदयमै दुखेको रात जस्तै ।

घाउ मात्रै दिएर छाड्यो समयले
बिर्षिएको पुरानो याद जस्तै
जति फैलाए नि केहि नपाउने
बेसाहाराको रित्तो हात जस्तै ।

Wednesday, July 11, 2007

लास भेगास : मृगतृष्णा र वास्तविकता ।

त अप्रिल ५ तिर डुराङ्गो छोड्दा मैले एक महिना जति घुमेर फेरी डुराङ्गोमै फर्कने योजना बनाएको थिएं तर समयले के गराउन चाहेको छ मलाई कहाँ थाहा थियो र ? त्यसबेला भेटघाटको क्रममा म म डेन्भर गएको थिएं । डुराङ्गो जानुभन्दा पहिले म झण्डै ३ बर्ष जति डेन्भरमै बसेको हुनाले मलाई अन्यत्रै घुम्न जाने रहर थियो त्यसैले डेन्भरबाट फर्किएर म घुम्नकै लागी म नेभाडा राज्यको लास भेगास गएं । त्यहाँ रहनुहुने केहि साथीहरु संग बस्ने प्रबन्ध भएकोले पनि म लास भेगास गएको थिएं । लास भेगासमा जाने र फर्किने क्रम लगातार ३ पटक भयो यो पाली । यो भन्दा पहिले म २००५ तिर एक पटक गएको थिएं । त्यसबेला लास भेगासमा त्यहाँको प्रसिद्द पाँचतारे होटल भिनिसियनमा बसेर लास भेगास घुम्दा देवताका राजा ईन्द्र बस्ने सहर अमरावतीनै पुगेको भान भएको थियो । बत्ति नै बत्तिको सहर भनेर संसारमा प्रसिद्द सहर लास भेगास लाई चन्द्रमाबाट पनि देखिन्छ भनिन्छ तर यो कुरामा कति सत्यता छ भन्न सकिन्न । मैले कुनै प्रकारको प्रमाणिक आधार भेटेको पनि छैन ।

साँझदेखि रात अबेर सम्म देवताका राजा ईन्द्रकै अफ्सरा उर्वशी , रम्भा , तिलोत्तमाहरु झैं अनेक हाव भाव र कटाक्षले युक्त सुन्दरीहरु हातमा मदिरा लिएर अर्धनग्न बस्त्र पहिरिएर चहलपहल गरिरहेको देख्दा भानुभक्तले कान्तिपुर नगरलाई अमरावतीको संज्ञा दिंदै

चपला अवलाहरु एक सुरमा
गुनकेशरीको फूल ली शिरमा
हिंड्न्या सखीलिकन वरिपरी
अमरावती कान्तिपुरी नगरी ।
भनेर श्लोक रचना गरे समान भावमा द्रबिभुत भएको थिएं म तर तत्काल मैले कुनै कविता रचना भने गरिंन । भानुभक्त यदि मेरो ठाउँमा हुन्थे भने यसरी अर्को श्लोक रचना गर्थे होलान र गुनकेशरीको ठाउँमा मदिराको बयान हुन्थ्यो होला ।

झिकेछन शिरबाट कठै ! गुनकेशरी
लिई हातमा मदिरा अहो ! सुनकेशरी
हिंडन्याछन जोडीलीकन उचालेर उर
भेगास हो धर्तीकै अमरावती पुर ।


लास भेगास बस्ने क्रममा म क्यालिफोर्निया राज्यको लस एञ्जलस पनि पुगें । ए एन ए अर्थात एसोसिएशन अफ नेपलीज इन अमेरिकाको २५ औं बार्षिक भेलाको अवशर पारेर त्यहाँ गएको बेला नेपालबाट आउनुहुने कलाकारहरु न्यु बज्राचार्य , दीपक बज्राचार्य , सञ्जय श्रेष्ठ लगाएत चर्चित गीतकार तथा कवि नवराज लम्साल समेतलाई भेट्ने अवसर मिल्यो । लास भेगास रहंदाका रमाईला पक्षहरु निक्कै भएपनि त्यहाँ बस्न खोज्ने मेरो ईच्छा अन्तत मृग मारिचिका साबित भयो । बत्तिको रमझम जतिनै भएपनि एक सय सत्र डिग्री फरेनहाईट सम्म तापक्रम पुग्ने यो सहरमा म जति बस्दै गएं यो सहर प्रतिको मेरो मोह उति नै भंग हुँदै गयो । बिहान आठबजेको तापक्रम मैले झापामा अनुभव गरेको प्रचण्ड गर्मी बराबर हुन्छ भने रात २ बजे सम्म वातावरण सेलाईसकेको हुंदैन । यति बिघ्न गर्मी हुँदा पनि यो सहरमा मान्छे थपिने क्रम बढ्दो छ । पर्यटकिय उध्येश्यले मात्र नभएर यहाँ बस्नको लागी पनि बिगत केहि बर्षदेखि मान्छेहरु थपिने क्रम दोब्बर तेब्बर हुंदै गै रहेको छ । मेरो हकमा भने उपयुक्त काम नपाएकोले साथै अत्याधिक गर्मी भएकोले पनि यो सहर उपयुक्त भएन ।

आदीकाल देखि नै मानिसले बसोबास गर्दा कुनै नदी ताल आदीको किनारमा वा बातावरणिय हिसाबमा अनुकुल रहुञ्जेल सम्मको स्थानमा गएर मात्र बसोबास गर्ने तथ्यलाई चुनौती दिंदै सम्पन्नताकै धाकमा अमेरिकाले विकराल मरुभुमीमा जबर्जस्ती बसाएको सहर हो लास भेगास । यहाँ मानिसहरुको अथक मेहनतले नपाले / नहुर्काए सम्म मानिसहरु बाहेक अन्य कुनै बनस्पती या जीव जन्तु बस्न हुर्कन सक्दैन त्यसो त मानिसहरुको आडमा केहि पंक्षीहरु र जीब जनावारहरु नभएको त हैन । आधुनिक सुबिधा युक्त मोटरमा बसेर एयर कन्डिसन खोलेर यो सहर घुम्दा पट्टकै लाग्दैन कि यो कुनै मरुभुमी हो तर यथार्थ के हो भने पुर्वकालमा पुर्वीसमुन्द्र किनारा नजिक बस्ने मानिसहरुको लागी यो सहर भएकै स्थानमा फैलिएको अत्यन्तै बिकराल मायबु मरुभुमी पार गर्न कल्पना बाहिरको कुरा थियो । त्यो समय अमेरिकामा आजको जस्तो मोटरबाटो ईत्यादीको संजाल बिकशित भैसकेको थिएन त्यसैले भनिन्छ अमेरिकाको पश्चिमी समुन्द्र तटमा मानिसहरु निक्कै पछिमात्र पुगेका थिए र क्यालिफोर्निया राज्यमा निक्कै पछि मात्र बसोबास शुरु भएको थियो ।

हरेक क्षेत्रमा प्रक्रितीलाई मानिसले चुनौती दिईरहेको आजको परिप्रेक्ष्यमा लास भेगास सहर बसाउनु त्यसो त ठुलो कुरा पनि रहेन । यो सहरले प्रत्येक दिन लाखौं मानिसहरुलाई आफुतिर बत्तिले पुतलीलाई आकर्षित गरिरहे झैं तानिरहेको हुन्छ । जुवा , मदिरा र वेश्याको लागी यो सहर प्रसिद्द भए पनि वेश्याव्रित्ती यहाँ गैह्रकानुनी मानिन्छ । जुवाको हकमा पनि यो सहर मकाउ पछि विश्वकै ठुलो अखडा मानिन्छ र विश्वास गरिन्छ कि आउंदा केहि बर्षमै यो सहरले जुवामा मकाउलाई पनि उछिन्ने छ । बाहिरी मुलुकबाट घुम्न आउनेहरुको लागी साथै अमेरिकाकै अन्य भागहरुबाट घुम्न आउनेहरुको लागी पनि यो यौटा घुम्नै पर्ने हेर्नै पर्ने स्वप्नलोक हुन सक्छ । मैले चाहिँ यो सहरमा बस्ने संभावनाको खोजीक्रममा अनुभव गरेको मृगतृष्णा र वास्तविकतालाई मनन गरेर यो सानो अनुभव साट्ने प्रयास गरेको हुँ । अन्तत यो पंत्तीहरु लेखिरहंदा म बत्तीहरुको सहर लास भेगास छाडेर कोलोराडोको माईल हाई या नि की समुन्द्री सतह भन्दा एक माईल उचाईमा अवस्थित डेन्भर सहरमा आईपुगेको छु ।

नोट : यो ब्लग लेखिरहंदा मैले युनिकोडमा केहि शब्दहरु शुद्ध लेख्न कठिनाई महशुस गरेको छु । अनेक प्रयास गर्दा पनि मैले शुद्ध गरेर प्रक्रिती , क्रिपा , प्रिथ्वी , प्रक्रिया ईत्यादी शब्दहरु लेख्न सकिंन । तपाईँलाई यदि उपरोक्त शब्दहरु शुद्ध लेख्न आउंछ भने क्रिपा ( फेरी अशुद्ध ) गरेर मलाई सिकाईदिनु होला ।

Tuesday, July 10, 2007

कविता : खहरे बाँधे पनि ।

सागरमै मिल्न जान्छ पानी खहरे बाँधेपनि
आँखिर नासिजान्छ देह रिसईवि साँधेपनि ।
तिमी फूल भएर फूल्दा काँढा पनि मित्र हुन्छ
असल र खराब दुबैथरी नै तिमी भित्र हुन्छ ।
घाउ अरुलाई लगाए पनि मुटु त तिम्रो दुख्छ
अहँकारले उठेको शिर एकदिन अवश्य झुक्छ ।
लेखिदेउ दुइ अक्षर मुटुमा माया फैलन सक्छ
मेटाउंदा माया मनको मानवता वैलन सक्छ ।
हटाएर मनको कालो तिमी शुद्ध बन्न सक्छौ
माया रोप मनमुटुमा तिमी बुद्ध बन्न सक्छौ ।

Monday, July 09, 2007

नवराज लम्साल दाईलाई चिठ्ठी ।

चिनारी त पुरानै थ्यो मात्रै भेट नयाँ हाम्रो
छुटिजानु पर्यो तर नहुर्कंदै माया हाम्रो ।
बाँकी रहे धेरै कुरा सुनाउन अनि सुन्न
कस्ले सक्या छ र बग्दो समयको बेग थुन्न ।


माथीका यि नै चार हरफहरु सुनाउंदै नवराज दाईलाई प्रणाम ।

संसारकै सबैभन्दा ब्यस्त मुलुकको पनि सबै भन्दा ब्यस्त मानिने सहर अमेरिकाको लस एञ्जलसमा भएको हाम्रो आकस्मिक भेटले मलाई जीवनभरीको लागी पुग्ने मिठो सम्झना दिएको छ । झण्डै तिनदिन हामी एकै स्थलमा रहंदा पनि बिभिन्न कारणहरुले गर्दा रहुञ्जेलको समय त तपाईँसंग बिताउन नसकेकोमा न्यास्रो त लागेकै छ तर तपाईँसंग रहेजति समयको मिठासले त्यसलाई ढपक्कै ढाकिदिएको पनि छ । मैले तपाईंलाई दिनुपर्ने जति समय दिन सकिंन भनेर यहाँ याचनाका शब्दहरु लेख्न थालें भने त्यो बनावटी देखिएला त्यसैले सारा अफसोचहरु आफैंभित्र पचाएर म लेख्न चाहन्न । दु:ख भने अवस्य लागेको छ कि मैले तपाईंको लागी केहि गर्न सकिंन । तपाईंसंग छुटिएपछि म नेभाडा राज्यको लास भेगास सहर फर्कें । यो सहर मेरो लागी पनि नौलो भएको हुनाले यहाँ बस्ने सम्भवनाको खोजीमा थिएं तर समयले मलाई पुन हुत्याएर कोलोराडोकै डेन्भर पुर्याउने संकेत देखाईसकेको छ । केहि दिनमै म कोलोराडो जान्छु सायद । मलाई ईमेलको जवाफमा म संग छुटिएपछि अहिले सम्मको यात्रा विवरण ( संक्षिप्त नै सहि ) लेख्नुहोला ।

एक आधा घण्टा मात्रै भएपनि समय निकालेर मेरो अल्बम एक अञ्जुली माया मा केन्द्रित भई गफगर्ने योजना बनाएर पनि मौका हातबाट गुम्यो तर केहि छैन दाई लाख मानिसहरुले मलाई तेरो गीतमा शब्द राम्रो छ भनिदिए भन्दा धेरै हुने गरेर तपाईंले उ त ज्यानमारा गीतकार हो भनिदिनुहुंदा म् खुशीले गदगद छु । रह्यो कुरा मेरो गितीअल्बमको प्रचार प्रसार नभएको सम्बन्धमा - त्यसलाई त म यसैगरी पनि मन बुझाउन सक्छु ।

भै गो समयले नचिनोस मलाई
मैले त समयलाई चिनेको छु
निर्दयि दुनियाँमा स्वार्थीहरु माझ
म बिधवाको पोते भै छिनेको छु ।


त्यसो त एल ए मा केहि सि डी हरु बिक्री गर्नसक्ने सम्भावना देखेर पहिले देखि नै स्टल रिजर्भ गरेर केहि सि डी हरु लिएर गएको पनि थिएँ तर जसै त्यहाँको माहौल देखें मेरो मनबाट सि डी फिँजाएर ब्यापारी बन्ने लालसा त्यसै हराएर गयो । पहिलो कुरा त मलाई आफ्नो दुख पैसा लिएर अरुसंग ब्याक्तीगत अनुरोध गर्दै बाँड्नु नै उचित लागेन , दोश्रोकुरा नेपालबाट आउनु हुने गायक कलाकारहरुको सि डी बिक्री गर्ने भाग ओगटनेछु जस्तो पनि लाग्यो । जे होस , म ब्यापारी बन्न सक्दिनथें र सकिंन पनि । गिती अल्बमले मलाई लगाएको आर्थिक घाटा त मेरो पोहोर सालकै घाटा हो । जो पुरा हुन सक्दैन । यहाँनेर मलाई पहिले आफैंले कतै लेखेको गजल सम्झना भै रहेछ -

घाउ सुक्यो , अझै तर खाटा सहेको छु ।
हार भयो पिरतीमा घाटा सहेको छु । १

आफ्नो कुरा राख्ने मौका नै कहाँ पाएं र ?
बोल्नै नदिई बनायौ लाटा , सहेको छु । २

कति सहें मैले हिसाब कहाँ राखें र ?
धेरै चोटी वचनकै भाटा सहेको छु । ३

झिलीमिली,कोलाहल सबै तिम्रै भयो ,
अँध्यारो माथी मैले सन्नाटा सहेको छु । ४

सुख,खुशी,हाँसो सबै लग्यौ तिमिलेनै ,
दुखी जीवनको सबै पाटा सहेको छु । ५

मलजल,गोड्मेल तिम्ले राम्रै पाएछौ ,
मैले सबै आँतरमा राँटा सहेको छु । ६
( सन्दर्भ मिल्ला नमिल्ला तै पनि राखिदिएँ है दाई )

मैले तपाईंलाई झिंझो त लगाईंन ? लगाएछु भने क्षमाप्राथी छु । अब म तपाईंको धेरै समय लिन चाहन्न । म बेलाबेलामा ईमेल मार्फत तपाईंलाई सम्पर्क गरिरहनेछु र आवश्यक सल्लाह मागिरहनेछु । समय मिलेको बेला मेरो ब्लगमा पसेर मेरा रचना सामाग्रीहरु प्रति प्रतिक्रिया गरिदिनुहोला । अहिलेलाई बिदा चाहन्छु ।

तपाईंको भाई
दीपक जडित

Saturday, July 07, 2007

गीत : बुझ्नेले बुझिहाल्छन

बुझ्नेले बुझिहाल्छन प्रेमको भाषा नबुझ्नेलाई बुझाउन सकिन्न
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।


धेरै छाल छन एकै प्रेमका छाल संगै म बगेर गएं कि
कतै छालैले हुत्याईदिंदा फेरी प्यासी म बगरै भएं कि
अझै जलेर प्रेम अग्निमा प्यासी मन कुनै बुझाउन सकिन्न
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।


भूल जीवनमा गरिनै रहें त्यही भूलले संधै रुवाईरहयो
आफ्नै आँशुले भिजीरहे पनि छाती मेरो अझै धुँवाईरहयो
आफैं अल्झेर प्रेम पासोमा फुत्कने उपाय सुझाउन सकिन्न
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।

Tuesday, July 03, 2007

ब्लगिङ्गको एकबर्ष ।

'ब्लगर बन्ने रहर कसरी पलायो मनमा ?'

'खै थाहा छैन मैले पहिले नै कतै भने जस्तो लाग्छ आफ्ना रचनाहरुलाई एकत्र गर्ने उध्येश्यले ब्लगर बनें सायद ।'

हैन यो समय किन यस्तरी छिट्टो बित्छ ? अस्तिकोदिन देखि ब्लग शुरुगरे जस्तो लाग्छ आज एक बर्ष भै सकेछ । मैले एकबर्षको ब्लगिङ्गको अनुभव उत्पातै लेख्ने गरी केहि बटुलेको छैन । मेरो ब्लगमा पाठकको कमि भएर पनि त्यसो भयो होला सायद । यो कुरा पनि मैले पहिले नै कतै ब्लगमै स्विकारेको छु कि म आफ्नै सन्तुष्टीको लागी बनेको ब्लगर हुं र धेरै पाठकको अपेक्षा पनि गरेको थिईनं त्यसो त म मा धेरै पाठकलाई लोभ्याउने क्षमता नै पनि के छ र ?
ब्लगर बनेर बनाएका दुई चारसाथीहरु भने यति प्रगाढ भएका छन कि मानौं हामीले साथी बन्ने आजिवनको सक्रिय सदस्यता लिएका छौं त्यसपछि आफ्नो सन्तुष्टी त छंदैछ समग्रमा ब्लगले मलाई केहि क्षति पुर्याएको छैन बल्कि थोरै नै भएपनि फाईदा दिएको छ ।

रहर जहाँबाट पलाएको होस - मैले ब्लगर भएर ब्लगरको धर्म पुरा गरेको छु त ? आफैंले आफैलाई सोध्दा म संग यो प्रश्नको जवाफ छैन । समय पाउञ्जेल सम्म मैले केहि न केहि लेख्ने कोसिस गरेको छु । हुन सक्छ कतिपय अवस्थाहरुमा म असफल ब्लगर भएंहोला तर म आफुलाई त्यसो भन्दिनं । ब्लगलाई ब्यावशाय नै बनाउने मेरो पाईंन छैन । केवल मन बिसाउने देउराली भएको छ मेरो ब्लग मेरो लागी । म थाकेको बेला सुस्केरा फेर्छु , खुसी भएको बेला गीत गाउंछु ईत्यादी ईत्यादी जे होस समयलाई सदुपयोग गरेको बहानामा म आयु घटाएको लेखो राख्छु ।

हिजोआज म संग समयको अवाभ छ । लेख्न मनलागेका कुराहरु पनि लेख्न सकिरहेको छैन । बसाईं सराईको कारणले गर्दा समय निकाल्न सकिरहेको छैन । नयाँ ठाउंमा स्थान जमाउने र जीवन यापनको नियमित क्रम शुरु गर्ने अल्झोमा फंसेर त्यसै अल्मलिईरहेको छु । आशा छ अब एकाध साता भित्र नयाँ क्रमले जीवन चल्नेछ र आफ्नो ब्यक्तिगत कुराहरुको लागी थप समय निकाल्न सक्ने छु ।

बर्षदिन पार गर्दा अहिले यो समेत गरेर मैले १८४ वटा पोष्टहरु राखेको रहेछु । म आफैंलाई यो क्रमलाई निरन्तरता दिईनै रहने बचन दिन चाहन्छु ।