Monday, July 09, 2007

नवराज लम्साल दाईलाई चिठ्ठी ।

चिनारी त पुरानै थ्यो मात्रै भेट नयाँ हाम्रो
छुटिजानु पर्यो तर नहुर्कंदै माया हाम्रो ।
बाँकी रहे धेरै कुरा सुनाउन अनि सुन्न
कस्ले सक्या छ र बग्दो समयको बेग थुन्न ।


माथीका यि नै चार हरफहरु सुनाउंदै नवराज दाईलाई प्रणाम ।

संसारकै सबैभन्दा ब्यस्त मुलुकको पनि सबै भन्दा ब्यस्त मानिने सहर अमेरिकाको लस एञ्जलसमा भएको हाम्रो आकस्मिक भेटले मलाई जीवनभरीको लागी पुग्ने मिठो सम्झना दिएको छ । झण्डै तिनदिन हामी एकै स्थलमा रहंदा पनि बिभिन्न कारणहरुले गर्दा रहुञ्जेलको समय त तपाईँसंग बिताउन नसकेकोमा न्यास्रो त लागेकै छ तर तपाईँसंग रहेजति समयको मिठासले त्यसलाई ढपक्कै ढाकिदिएको पनि छ । मैले तपाईंलाई दिनुपर्ने जति समय दिन सकिंन भनेर यहाँ याचनाका शब्दहरु लेख्न थालें भने त्यो बनावटी देखिएला त्यसैले सारा अफसोचहरु आफैंभित्र पचाएर म लेख्न चाहन्न । दु:ख भने अवस्य लागेको छ कि मैले तपाईंको लागी केहि गर्न सकिंन । तपाईंसंग छुटिएपछि म नेभाडा राज्यको लास भेगास सहर फर्कें । यो सहर मेरो लागी पनि नौलो भएको हुनाले यहाँ बस्ने सम्भवनाको खोजीमा थिएं तर समयले मलाई पुन हुत्याएर कोलोराडोकै डेन्भर पुर्याउने संकेत देखाईसकेको छ । केहि दिनमै म कोलोराडो जान्छु सायद । मलाई ईमेलको जवाफमा म संग छुटिएपछि अहिले सम्मको यात्रा विवरण ( संक्षिप्त नै सहि ) लेख्नुहोला ।

एक आधा घण्टा मात्रै भएपनि समय निकालेर मेरो अल्बम एक अञ्जुली माया मा केन्द्रित भई गफगर्ने योजना बनाएर पनि मौका हातबाट गुम्यो तर केहि छैन दाई लाख मानिसहरुले मलाई तेरो गीतमा शब्द राम्रो छ भनिदिए भन्दा धेरै हुने गरेर तपाईंले उ त ज्यानमारा गीतकार हो भनिदिनुहुंदा म् खुशीले गदगद छु । रह्यो कुरा मेरो गितीअल्बमको प्रचार प्रसार नभएको सम्बन्धमा - त्यसलाई त म यसैगरी पनि मन बुझाउन सक्छु ।

भै गो समयले नचिनोस मलाई
मैले त समयलाई चिनेको छु
निर्दयि दुनियाँमा स्वार्थीहरु माझ
म बिधवाको पोते भै छिनेको छु ।


त्यसो त एल ए मा केहि सि डी हरु बिक्री गर्नसक्ने सम्भावना देखेर पहिले देखि नै स्टल रिजर्भ गरेर केहि सि डी हरु लिएर गएको पनि थिएँ तर जसै त्यहाँको माहौल देखें मेरो मनबाट सि डी फिँजाएर ब्यापारी बन्ने लालसा त्यसै हराएर गयो । पहिलो कुरा त मलाई आफ्नो दुख पैसा लिएर अरुसंग ब्याक्तीगत अनुरोध गर्दै बाँड्नु नै उचित लागेन , दोश्रोकुरा नेपालबाट आउनु हुने गायक कलाकारहरुको सि डी बिक्री गर्ने भाग ओगटनेछु जस्तो पनि लाग्यो । जे होस , म ब्यापारी बन्न सक्दिनथें र सकिंन पनि । गिती अल्बमले मलाई लगाएको आर्थिक घाटा त मेरो पोहोर सालकै घाटा हो । जो पुरा हुन सक्दैन । यहाँनेर मलाई पहिले आफैंले कतै लेखेको गजल सम्झना भै रहेछ -

घाउ सुक्यो , अझै तर खाटा सहेको छु ।
हार भयो पिरतीमा घाटा सहेको छु । १

आफ्नो कुरा राख्ने मौका नै कहाँ पाएं र ?
बोल्नै नदिई बनायौ लाटा , सहेको छु । २

कति सहें मैले हिसाब कहाँ राखें र ?
धेरै चोटी वचनकै भाटा सहेको छु । ३

झिलीमिली,कोलाहल सबै तिम्रै भयो ,
अँध्यारो माथी मैले सन्नाटा सहेको छु । ४

सुख,खुशी,हाँसो सबै लग्यौ तिमिलेनै ,
दुखी जीवनको सबै पाटा सहेको छु । ५

मलजल,गोड्मेल तिम्ले राम्रै पाएछौ ,
मैले सबै आँतरमा राँटा सहेको छु । ६
( सन्दर्भ मिल्ला नमिल्ला तै पनि राखिदिएँ है दाई )

मैले तपाईंलाई झिंझो त लगाईंन ? लगाएछु भने क्षमाप्राथी छु । अब म तपाईंको धेरै समय लिन चाहन्न । म बेलाबेलामा ईमेल मार्फत तपाईंलाई सम्पर्क गरिरहनेछु र आवश्यक सल्लाह मागिरहनेछु । समय मिलेको बेला मेरो ब्लगमा पसेर मेरा रचना सामाग्रीहरु प्रति प्रतिक्रिया गरिदिनुहोला । अहिलेलाई बिदा चाहन्छु ।

तपाईंको भाई
दीपक जडित

No comments: