Saturday, January 31, 2009

आमा सरस्वतीको जय !!

खै महत्व नै घट्दै गएको हो कि हामीले सरस्वतीको पूजाले हाम्रो ज्ञानमा थपघट हुँदैन भनेर बुझेर हो कुन्नि सरस्वती पूजाको चालचुल देखिन छोडियो । केही वर्ष देखि मैले याद गर्दै आएको छु नेपालका पत्रपत्रिकामा हदै भए यौटा लेख र पूजाका भोलीपल्ट एकाध पूजाका तस्विरहरु बाहेक सरस्वती पूजाको रौनक देख्न पाईन्न । ब्लगरमित्रहरुले पनि सरस्वतीको पूजा मनाएको बारेमा लेखेको देख्दिँन । यौटा उदाहरणिय काम भने अनलाईन साहित्य घरले गरेको रहेछ । सरस्वती पूजाको अवसरमा विश्वब्यापी वेब क्याम कविता प्रतियोगिता गराएर तर मैले चैं भाग लिईँन है , मैले कुनै कुरामा कसैको प्रतिद्वन्दी नबन्ने विचार राखेको छु त्यसैले । बाँकी त हामी यो मौसममा बरु प्रेम दिवस मनाउन आतुरीका साथ प्रतिक्षामा हुन्छौं क्यार । सरस्वती पूजाको टाँसो नदेखिने ब्लगमा पनि प्रेम दिवसको टाँसो देखिएला ।
त्यसो त मैले पनि यसपालीलाई टाँसोमा खास केहि जुगाड गर्न सकिनँ । कसरी लेख्ने , के लेख्ने भन्ने चिन्तन गर्दै हिँजो त समय फुत्कियो नत्र हिँजै यो टाँसो झुण्ड्याउने विचार थियो । बरु २००७ को सरस्वती पूजामा लेखेको टाँसो को लिँक यहाँ जोड्दैछु ।

अन्त्यमा वसन्त पञ्चमीको शुभकामना सम्पुर्ण ब्लगर मित्रहरुलाई । आमा सरस्वतीको जय होस् !!

Tuesday, January 27, 2009

कविता : साँढेको सोमत कहिल्यै आउँदैन

अन्तिम सर्को ब्लग चहार्ने क्रममा वसन्तजीको ब्लगमा हग्नेलाई भन्दा देख्नेलाई लाज शिर्षकको लेख र त्यसैसँग सम्बन्धित कान्तिपुरको लेख पढेर तिलमिलाउँदै वसन्तजीको ब्लगमा कमेण्ट लेखेर सुत्ने उपक्रममा लागेको थिएँ । आजलाई ब्लगमा केहि नलेख्ने विचार थियो तर निन्द्रा परेन । हाम्रा नेताहरु किन सोमत नभएको साँढे बनिरहेछन् ? यिन्लाई आफ्नो ईज्जतको त ख्याल छैन जे गरुन् तर कम्तिमा देशको ईज्जत प्रतिष्ठाको सवालमा त एकजुट हुनु नि ? तर अँह यि साँच्चै साँढे भएछन् त्यसैले यिन्को सोमत कहिल्यै देख्न नपाईने भयो । यहि कुरा कविताको रुपमा नलेखि सकिनँ र ओच्छ्यानबाट उठेर लेखेँ यो कविता साँढेको सोमत कहिल्यै आउँदैन भन्ने ।

----------------

उहिले उहिले टुँडिखेलमा
त्रिशूलले डामेका साँढेहरु डुक्रिन्थे
यमानको जुरो हल्लाउँदै
नाकको पोरा फुलाउँदै
पाटीबास परेको वीरबहादुरको बास अगाडी
निरिह आईते माथी फुँकार छोड्थे
नपत्याए सोध्नुस्
भीमनीधि साक्षि छन् अझै
त्रिशूलले डामेका साँढेदेखि
सेती सँधै आतँकित हुन्थी
अरु त त्यसै नरभक्षी सिँह नै थिए - गर्जिन्थे
बिस्तारै सिँहहरु पाखा लगायौं हामीले
उबेलाका त्रिशूलले डामेका
साँढेहरु लोप भए
आजभोली खुल्लामञ्चमा
स्वास्तिकले डामेका साँढेहरु
बग्रेल्ती डुक्रिन थालेका छन्
उसैगरी फुँकार छाड्दै
त्रसित बनाईरहेछन् हामीलाई
कैलेसम्म झेल्ने हामीले
यो साँढे आतँक ?
कैलेसम्म बाँच्ने हामीले
वीरबहादुर , सेती र आईते नियति?
भर्खरै सुनियो लैनचौरमा
यौटा स्वास्तिकले धरी डाम्न नभ्याएको साँढेले
अर्को डामिएको साँढेसँग जुध्ने निहुँमा
फेरी हामीमाथी नै साँढे आतँक छरेको छ
अब त बुझिराखौं -
चाहे डामेको होस् या नडामेको
साँढे सँधै साँढे नै हुन्छ
साँढेको सोमत कहिल्यै आउँदैन ।

Monday, January 26, 2009

कविता : एक भै उठेको नेपाल देखियोस

हाम्रो देश आज बोलीरहेछ
दुखेका घाउहरु खोलीरहेछ
हामीले पोतेको युद्धको रँग
हाम्रै आँखामा घोलीरहेछ ।


सोधीरहेछ माटो हामीलाई
उसँगै हामी कति दुखेका छौं
सगरमाथा शिरमा हुँदा नि
किन हामी यसरी झुकेका छौं ?


आफन्तकै खुशी लुटेर हामी
एक्लै कुन खुसी हाँस्न चाहन्छौं
चुँडाएर सम्बन्ध आफ्नैसँग
कोसँग के नाता गाँस्न चाहन्छौं ?



सन्ततीलाई डोहोर्याई कता
तिन्को भविश्य के लेखिरहेछौं
बारुदले भरेको सिह्रानी हालेर
हामी कुन सपना देखिरहेछौं ?


उठौं न हामी लौ हात समाती
नेपाली भएर सब एकै सजाती
हसाऔं यो माटोलाई खुशी उमारी
नभोगोस देशले फेरी केहि नजाती ।


आँखामा सिँगै नेपाल नदेख्ने
मनमा कहिले एकता नलेख्ने
नेपाली भएर उभिएको छ त्यो
सँधै नै बाटो शान्तिको छेक्ने ।


हिमालमाथी जस्ले गर्व गर्दैन
तराईको दुखमा आँसु झार्दैन
नेपाली होइन त्यो आफैं हार्नेछ
उसको सामु हाम्रो देश हार्दैन ।


देश दुखेको सब मनहरुमा
चन्द्र सुर्यको गीत लेखियोस
मेटिएर मन र मन बिच दुरी
एक भै उठेको नेपाल देखियोस ।

पालोमा गीतले मन भरेको थियो
मनले ओठमा भाखा (गीतको) छरेको थियो
औंला गीत नै लेख्न अघि सरेको थियो
मैले गीत नै लेखेँ
मलाई नि केहि त लेख्नु परेको थियो ।
लेख्दै जाँदा गीतकै भाखामा मैले सामान्यतया गीत भनेर लेख्दा लेख्ने गरेको आकारको हदबन्दि नाघेपछि म अप्ठ्यारोमा परेँ - के भन्ने यस्लाई ? त्यसैले कविता भनेर पेश गरेको हुँ । यो के हो खासमा , छुट्याउने जिम्मा तपाईंहरुकै है ।

Saturday, January 24, 2009

गीत : केहि छुटेछन मनका कुरा

केहि छुटेछन मनका कुरा
केहि फुटेछन मनका कुरा
बिगबिगी थियो मन चोरनेकै
केहि लुटेछन मनका कुरा ।

मन छेक्ने आली नहुँदो रहेछ
मन यो खाली नहुँदो रहेछ
भर्खरै मन यो लुटिएर पनि
केहि उठेछन मनका कुरा ।

बटुलेर सबै छुटेका ति कुरा
सँगालेर राखें रहर अधुरा
जोडेर त्यसैलाई भनिरहेछु
केही जुटेछन मनका कुरा ।

Wednesday, January 21, 2009

गजल : ठुटो मनमा

अझै पलाएन विश्वासको बुटो मनमा ।
सपना जलेर हेर बाँकी ठुटो मनमा ।

बहाना जे सुकै होस तर खाल्डो नै पार्ने ,
झनै चलिरहेछ निठुरी कुटो मनमा ।

कति छल्नु कति ढाँटेर हिड्नु आफैंलाई ,
आश्वासन कति दि'रहनु झुटो मनमा ।

रहर कठै ! बिना जाँतो पिसिईरहयो ,
हरेक घानमा भेटिरहेँ ढुटो मनमा ।

न देख्यो कसैले मेघ न वर्षा म भित्रको ,
रुझाउँदै मनकै झरीले चु'टो मनमा ।

Monday, January 19, 2009

कथा : माथ्लो घरको ढिकी

' साबित्रा ? '

'.............'

' ए , साबित्रा ?

'......................'

' हैन चालचुल छैन गाँठे , कहाँ मर्न गईछे ? आज पनि ब्रत हो कि क्या हो यस्को ? हैन यि आईमाईले कति ब्रत बस्न सकेका होलान ? काम धन्दा केही गर्नुपरेन ब्रत छ भन्यो , मिठो मिठो खान खोज्यो , कति सजिलो हो ईन्लाई ? ' शिबरामले फत्फताउँदै आँगनको एक कुनामा भएको कुखुराको खोरमाथी जुवा मिल्कायो । बिहानभरी खेत जोतेर लखतरान परेर आएको शिबरामलाई जोतेर आईपुग्दा घरमा स्वस्नीले जोतेर थाकेका गोरुलाई भुसपानी ठिक पारिदिओस , आफुले मेलो सकेर आउनेबित्तिकै हातगोडा धोएर एकछिन आराम गर्न पाईयोस भन्ने लाग्थ्यो तर उसकि स्वास्नी साबित्रा कहिल्यै उसले चाहेको जस्ती भईन ।

' वर्षभरी खाने अन्न उब्जाउने खेत जोत्ने गोरुलाई भूसपानी ठिक पार्नु त कहाँ हो कहाँ बिहानभरी जोतेर आएको लोग्नेलाई समेत भात खुवाउन घर छैन ' , भुत्भुताउन नछोडी उसले बस्तुभाउलाई पानी खुवाउन बनाएको मुढाको डुँड पल्टायो र सफा गरेर भुसपानी ठिक पार्यो ।

'ओहो ! थुक्क ! गोरु त बाँधेकै थिएन मैले ।' उसले झट्ट सम्झ्यो र गोठतिर नजर दौडायो । गोरु त अघि नै सिमाना काटेर माथ्लो पट्टी गँगे कार्कीको खेतमा पुगिसकेछन । छिस्रिक्क यौटा कुखुरा उसको खेतमा पस्यो भने त खाँडो जगाउँछ त्यो गँगे , हल गोरु नै उसको खेतमा पसेको देख्यो भने त के गर्ला बाबै ? उसले हतार हतार गँगेको खेतबाट गोरु निकाल्यो र थलामा हुलेर पगा लगायो ।

' धन्न मुखमा महला थियो नत्र आज गँगेको चार पाते मकै खत्तम पार्ने । ' उसले मनमनै भन्यो र गोरुको मलाहा खोलेर तान्दै डुँडतिर ल्यायो ।

उसका पहिलेका गाजले र पुँडे गोरु साह्रै सुबानी थिए । यसैपाली बेच्यो उसले बुढा भएर र यि हल मिलेका खराने रँगका बहर गोरु किनेर ल्याएको । पहिलेका गोरु मेलोबाट फुकाएर छोडेपछि थपक्क गोठमा आफ्नै थलोमा आईपुग्थे यि भने पछि लागेर गोठसम्म ल्याईपुर्याउँदा पनि आँखा झिमिक्क गर्न नपाई कहाँ बिगार गर्न पुगिसक्छन ।

' खराने रँगका गोरु त सुबानी नै हुन्छन् भन्थे यि डिँगा चैं किन यस्ता भ'का होलान् ' मनमनै असन्तोस जनायो उसले आफ्ना हल गोरु माथी ।

' ए ! आज किन छिट्टै गोरु खोल्यौ ? अघि आईसकेछौ त भर्खर दुई बज्दैछ । ' साबित्रा हातमा यौटा पोको बोकेर आँगनमा झुल्किई शिबराम माथी मालिक्नी पारा देखाउँदै । शिबरामको रिसको पारो चढेर टुप्पीबाट धुँवा भै पुत्पुताउँदै बाहिरियो ।

' कतिबेर सम्म जोत्नुपर्ने त मैले ? बेल्का पाँचबजि सम्म ? ' साबित्री तर्फ पुलुक्क एक दृष्टि फ्याँकेर उसले भन्यो । उसलाई आज धुमधाम गाली गर्न मनलागेको थियो स्वास्नीलाई । भित्रभित्रै काँप्तै थियो उ तर रिस थाम्यो उसले । नथामेर पनि के गरोस विचरा ! उसले एक बचन बोल्दा साबित्राले दश बचन फर्काईसक्थी । धेरैपटक उसले ऐँच्याएर राख्न खोजेको हो स्वास्नीलाई तर जति पटक प्रयास गर्यो उति पटक नै घरमा भाँड भैलो उठ्यो । छरछिमेकी आएर साबित्रीकै पक्ष लिए । नारीलाई हेप्ने , नारीलाई दमन गर्ने नामर्द पुरुष भनेर सँज्ञा भिराए ।

गाउँघरका महिलालाई प्रौढ कक्षा पढाउने र केटाकेटीलाई ट्युशन पढाउने साबित्री मुखले वरपर साखुल्ले बन्न सिपालु थिई । तर उसले कहिल्यै शिबरामलाई थोरै ईज्जत दिने कष्ट गरिन त्यसैले उसले आफ्नी स्वास्नीमाथी गर्व गरेर पनि प्रकट गर्न कहिल्यै सकेन ।

बिहे भएर आएको एकाध महिनासम्म तपाईँ हजुर गरेर बोल्ने साबित्रीले उसको सोझो चालाढाला पत्तो पाएदेखि तिमीमा झरेकी थिई । शिबरामले आफुले पनि तिमीनै सम्बोधन गर्छु के फरक पर्छ र भन्दै प्रतिवाद गरेन । ईज्जत राखिदिए तिमी भन्दैमा र तपाईँ हजुर भन्दैमा के पो फरक पर्ला र ? भन्ने सोच्यो उसले तर साबित्राले त्यसको पनि फाईदा उठाएर हरेकपटक अलिकति कुरा बाझ्यो कि तँ तँ र म म नै गर्न थालेकी थिई त्यसैले पनि शिबराम बेईज्जत हुनुभन्दा बोल्दै नबोल्नु निको ठान्थ्यो ।

' मैले त आज भात पनि पकाईंन । मेरो ब्रत थ्यो पिठो कुट्न माथ्लो घरको ढिकीमा ग'कि उतै रोटी बनाएर खाएँ कर्कीनी दिदीसँग । तिमीलाई पनि त्यही ल्याईदिएकी छु । आलुको अचार पनि छ सिदे नुन हालेर बनाको । ' घरभित्र पस्दै साबित्रीले भन्न भ्याई । शिबरामले चुपै लागेर सुनिरहयो र मनमनै भन्यो , ' किन पकाउँथिस त आफुलाई खान नपरेपछि ? म को हुँ र पकाएर ख्वाउने ? '

फेरी उसले झट्ट सम्झ्यो गँगे कार्कीकी श्रीमती त उसले जोतुञ्जेल धेरैबेर सम्म उनैको खेतमा घाँस काट्दैथिईन् । सिमाना जोडिएको माथ्लो पट्टीको खेतबाट उनले ' ए शिबराम कैले सक्छौ मकै छर्न हाम्रा गोड्नेबेला हुन लागीसके ? ' भनेकी थिइन् । उ भाउजु भन्थ्यो गँगेकी श्रीमतीलाई , ' ख्वै भाउजु , कैले सक्नु हो , हाम्री घरकीलाई सिँगार पेटार र ब्रत लिँदै फुर्सद छैन , त्यस्को पनि मन अलि चट्पटाए पो छिट्टो हुन्थ्यो ? आफ्नो त सँधै कामीको पालो कात्तिक भने झैं हो । ' उसले यसरी जवाफ पनि फर्काएथ्यो ।

' ढाँट्न पनि कति सकेकी ? बिहानभरी कुनकुन मुलुक अन्मरिएर आईर'छे ! ' , मनमनै बोल्यो उ र प्रकटमै भन्यो , ' ए त्यै भएर पो कर्कीनी भाउजुले डोकाभरी घाँस काट्न भ्याएकि रछिन् बिहान भरी । '

' जान्यौ जान्यौ तिमीले नै ? मलाई पिठो कुट्न सघाई ओरी ग'कि हुन घाँस काट्न मैले रोटी बनाईसक्दा आईसकेकी थि'न् । हेमकलाकि आमा पनि आ'कि थि'न् । उनेरको पनि ब्रत हो आज । ' आफुलाई माथी पार्न साबित्रीले दलिल पेश गरी । शिबराम चुपचाप गोरु खुटाउन खेततिर लाग्यो ।

त्यसदिन निक्कै अबेरसम्म उसले साबित्रीले ल्याएको रोटी खाएन । आ ! खान्न है एक छाक नखाएर मलाई केहि पनि हुँदैन भन्दै पकाएर खान पनि निच मारेर यताउता बस्तुभाउको सुसुल्को गर्दै बस्यो । साबित्रा घर बस्ने कुरै थिएन । बिहान केटाकेटीलाई ट्युशन , दिउँसो प्रौढ कक्षा पढाउन जानुपर्ने उसलाई अरुबेला पनि घरको सिन्को भाँच्ने फुर्सद हुने हैन । साँझ पर्न पर्न लागेपछि उसको पेटको क्षुधाग्नी यस्तरी बल्न थाल्यो कि जलाएर उसलाई भष्मै पार्ला जस्तो बनायो तब भने उसले ' स्वास्नी पो वैरी परी यो रोटी त वैरी होइन नि ' भनेर आलुको अचारसँग साबित्रीले ल्याईदिएको रोटी सुम्ल्यायो र फेरी घरधन्दा मै लाग्यो । बस्तुभाउ , कुखुरा , बाख्रा सबैको थान्कोमुन्को लगाएर बेलुकीको खाना पकाउनु पनि उसको नित्य कर्म नै थियो । त्यसैले उ सास नफेरी काममा जुटीरहयो ।

यौटा चुल्हामा दाल बसालेर अर्कोमा भात टेकाउन आगो जोर्दैथियो उ । एकहुल केटाकेटीहरु आँगनमा खैलाबैला गर्दै आए । उनिहरु उसैलाई डाक्दैथिए , ' शिबेदाइ ? ए ! शिबेदाइ ?? '

' हैन के भयो हँ भाइ हो ? ' शिबराम आँगनमा निस्कियो ।

' के हुनु नि शिबेदाइ हामी त चन्दा माग्दै हिँडेका , हामीले क्लब खोलेका छौं क्या ? अब चन्दा उठाएर क्लबको नाममा फुटबल , भलिबल , नेट के के किन्ने । खेलकुदमा हाम्रो गाउँ पछि पर्यो क्या शिबेदाइ । पोहोर पनि हामीले वार्ड स्तरिय फुटबलमा शिल्ड जितेनौं , अब यसपाली चैं जितेर छाड्ने । ' हुल मध्येको यौटाले एकै सासमा बेलीबिस्तार लगायो ।

' ए ! म त के के न भएछ भनेको ? पैसो सैसोको कुरो चैं भाउजुलाई भन उ सँगै हुन्छ रकम खाता । म त आफैं जोगी हुँ भाई हो । ' शिबरामले जवाफ फर्काउँदा केटाहरु गलल हाँसे । यौटाले थप्यो , ' हो यार बिचरा शिबेदाइ आफ्नै घरको हली हुन् बरा ! कहाँबाट दिउन ? भाउजुसँगै माग्नु पर्छ । भाउजुले दिन्छिन पनि साह्रै मनकारी पो छिन् । ' उसको बचन शिबरामले कष्टले पचायो , ' हुनपनि हो म आफ्नै घरको हली नै हुँ ।' शिबराम भित्र पस्यो ।

' कस्तो नामर्द हो यो शिबेदाइ त छि ! म भए त त्यस्ती स्वास्नी उहिले लेखेटिसक्थेँ । '

' सप्पैले राम्रो भन्छन् तर मलाई त त्यो साबित्री भाउजु मनै पर्दैन , सोझो लोग्ने पाएर साह्रै पात्तिएकि , गंगे कार्कीसँग लसपस छ भनेको सुनेथेँ मैले त्यस्को । ' , आँगन कट्दै गर्दा अल्लारेकेटाहरुको मुटु छेड्ने तिखो बचन सुनेर भित्रभिरै मुर्मुरियो उ ।

त्यसरात उसलाई रातभरी निन्द्रा लागेन् । छट्पटाई रहयो । ओल्टे कोल्टे फेरी रहयो । ' अब त गाउँमा यस्तो हल्ला पनि चल्न थालेछ । कहाँबाट यो सत्र अलच्छिनी मेरै फन्दामा परिछे भगवान ? हे ! भगवान ! यो कुरा झुटो होस् है । ' , रातभरी उसले भगवान सम्झिरहयो ।

' हैन त्यो गँगेको स्वास्नी छे , हुर्केका छोराछोरी छन , त्यसले किन मेरी स्वास्नीलाई आँखा लगाउँथ्यो होला र ? गाउँमा त्यसै भनेका होलान नि मान्छेले ।' , घरी उ आफैंलाई ढाडस दिन्थ्यो ।

' गँगे मान्छे त अलि बेसारे नै हो हुनत । फेरी दोष यै फुँडीको पनि त हुन सक्छ । मेरा बालबच्चा भ'का छैनन् , त्यही निहुँमा पो फकायो कि ? यो अलच्छिनी फेरी मलाई दोष दिन्छे बच्चा भएनन् भनेर , के थाहा सल्केकि पो छे कि त्यै गँगेसँग ? ' फेरी शँका पनि गर्थ्यो उ ।

छट्पटिंदै उसले नाडीको घडी हेर्यो बिहानको तिन बज्नै लागेछ । ' कुखुरा बास्ने बेला भै सकेछ किन निन्द्रा नलाग्या होला ? निन्द्रा लागे त यो टेन्शन कम् से कम् अहिलेलाई त हुँदैनथ्यो ' , मनमनै बर्बराउँदै उसले अलिकति टाउको उठाएर पल्लो खाटमा सुतेकि साबित्रीलाई हेर्यो । उ मस्तले निदाईरहेकी थिई तर उसलाई भने पट्टक्कै निन्द्रा आएन । सोच्न थाल्यो , ' हावा नचली पात हल्लिंदैन भन्छन । नचल्नु गाउँमा कुरा चलिसकेछ अब यो कुरा अगाडी नफैलियोस् भनेर त मैले सोच्नै पर्छ । के गर्ने होला ? ' चिन्ताको भुमरीमा रुमलियो उ , ' यो ढिकीकै बाहाना बनाएर दिनदिनै माथ्लो घर जान्छे । यस्लाई ब्रत न लि पनि कसरी भन्नु ? भने पनि मान्ने होइन बरु एउटा ढिकी घरमै हाल्न पाए आनन्दै हुन्थ्यो कि ? ' उसले रात छर्लङ्गै काटेर घरैमा ढिकी हाल्ने निधो गरीछाड्यो । रातीनै उसले करेसामा तेर्स्याएर राखेका मुढाहरु मध्ये ढिकीको लागी कुन उपयुक्त छ भनेर छान्यो । ढिकीको टेको , मुसल , आग्लो सबै उसले राती नै छान्यो आफुसँग भएका कुनै बारेका , कुनै करेसामा तेर्स्याएका मुढाहरु मध्ये तर ओखलको निमित्त उपयुक्त काठ फेला परेन ।
भोलीपल्ट बिहान कुनै सुरतमा पनि ढिकी बनाएरै छाड्छु चाहे ओखलको लागी काठ किन्नै किन नपरोस भन्ने ठान्दै उठेर उ भर्याङ्ग ओर्लँदा उसले बर्षातले भर्याङ्ग जमिनमा नधसियोस भनेर भर्याङ्गको फेदमा ओच्छाएको राम्रै लम्बाई चौडाई भएको काठ ओखलको निमित्त उपयुक्त हुने देख्यो ।

' के खोज्छस् कानो आँखो ' बिहानै चियासिया पिएर उ भर्याङमुन्तिर खन्न थाल्यो ।

' हैन ब्यान् ब्यानै कल्लाई पुर्न आँङ्नामा खाल्डो खन्न थाल्यौ ? ' साबित्रीले निधीखोजी गरी ।

' याँ अर्कै काठ हाल्नुपरो यो काठ अन्त काम आउँछ कि भनेर । ' उसले यतिमात्रै भन्यो ।

' लौ जे जे मन लाग्छ तेई तेई गरेर बस । सबैका मकै उहिल्यै छरीसके , तिमीलाई चैं जोत्न जानु नि पर्दैन । आङ्नामा खाल्डो पारेर मलाई पुर्ने हो कि आफैं पुरिने हो ? म त हिँडे पढाउन । ' साबित्री हिंड्ने तरखरमा लागी ।

' चिया खाएर जाउ , गिलासमा हाल्देको छु । ' उसले अनुरोध गर्यो ।

' भो म उतै खान्छु । ' उ हिँडी ।

यस्लाई केटाकेटी पनि त्यही गँगेकै घरमा पढाउनु पर्ने ? बुढी आईमाईहरु पनि त्यै गंगेकै घरमा पढाउनु पर्ने ? आफ्नै घरमा पनि त पढाउँदा हुन्थ्यो । ' फत्फताउँदै उसले भर्याङ्गमुनि राखेको ठुलो मुढा झिक्यो र त्यसको ठाउँमा यौटा बाकली हालेर पुरपार पारेर गोरु लिएर जोत्न हिंड्यो ।

त्यहीदिन दिउँसो देखि शिबराम दत्तचित्त भै ढिकी बनाउन लाग्यो । हलो , जुवा , कोदालो , फरुवा ईत्यादी मर्मत गर्नलाई उसँग बसिला , राँबो , छिनु , हथौडा ईत्यादी सामाग्री मौजुदा छँदैथियो । उसले जिन्दगीकै ठुलो योजना ठानेर ढिक्की निर्माण थाल्यो । हुनपनि त उसको जिन्दगी कै सवाल थियो त्याँहा । उसको घरमा ढिकी हुँदो हो त उसकी स्वास्नी गँगेको घरमा ढिकीमा जाने निहुँ बनाएर नजाँदी हो अनि गाउँका मान्छेले उसकी स्वास्नी गँगेसँग लहसिएकी छे भनेर कुरा नगर्दा हुन । प्रमाणित रुपमा कसैले कुरा नगरे पनि गाईँगुईँमै उसले सचेत हुनु नै बुद्धिमानी ठानेको ठिकै हो ।

लगातारको परिश्रमले तिनचार दिनभित्रै उसले घरमै ढिकी तयार पारीछाड्यो । उसले ढिकी बनाएको थाहा पाउने गाउँलेले ' अहा ! कति मजाको ढिक्के बनायो यो शिबेले ' भनेर तारिफ गरे । उ एक प्रकारले ढुक्क भयो अब त कम्तीमा ढिकीको निहुँ गरेर उसकी स्वास्नी गँगेको घर नजाली भनेर । तर लागेको बानी कहाँ छुट्ने ? साबित्रीले ढिकीको निहुँ लिएर गँगेको घरजाने क्रम रोकिनँ । उसले सोध्यो पनि , ' मैले तिम्रै लागी घरमै ढिकी बनाएको छु तिमी किन खाली माथ्लो घरको ढिकीमै जान्छ्यौ ? ' भनेर ।

उसले सहज जवाफ दिई , ' तिमीले बनाएको यो गह्रौँ न गह्रौँ ढिकी कस्ले कुट्न सक्छ ? मेरो तेत्रो तागत छैन फेरी तिम्रो ढिकी तिमी जस्तै ढिकीच्याउँ छ , सिधा लाग्छ र ? आफुजस्तै बना'का छौ ढिकी अनि के गर्नु ? '

' ख्वै तिमीलाई नै बाउँठे भएछ तेसोभए सबैले राम्रो , सजिलो छ भन्छन् यो ढिकी । ' ह्रदयभित्रै एकप्रकारको ठेस महसुस गरेर शिबरामले भन्यो ।

साबित्रीलाई पुगीहाल्यो , ' तिमी आफैं कुट तिम्रो ढिकी तेसोभए ? कसैको नभ'को ढिकी हालेछौ ? के के न गरेँ भन्ठानेका होलाउ हैन ? यो गह्रौं ढिकी म कुट्न सक्छु ? माथ्लो घरमा त कैले कर्कीनी दिदीले सघाईदिन्छिन् , कैले गँगेदाइले सघाईदिन्छन् र पो सजिलो हुन्छ । यहाँ कस्ले सघाईदिन्छ ? तिम्रो फुर्सद हुन्छ मलाई सघाउन कहिल्यै ? ' आगोको रापले भेट्दा प्लास्टिकको भाँडा खुम्चिएझैं निधार खुम्च्याएर चर्किंन थाली उ ।

शिबरामलाई पनि औडाहा छुटेर आयो । केटाहरुले साबित्री भाउजुको गंगे कार्कीसँग लसपस छ रे भनेको कहाँ कसरी मनबाट पोखुँ भैरहेको थियो उसलाई । थाम्न नसकेर साबित्रीलाई नै भन्दियो , ' तिम्रो गँगेदाइले त सघाईहाल्छ नि तिमीलाई ? गाउँभरी गन्हाईसकेको थाहा छैन । अझै गँगेदाइ रे त्यो बेसारेलाई ? मेरो त कहिल्यै ईज्जत गरिनौ गरिनौ , कम्तिमा आफ्नो त ईज्जतको ख्याल राख ? '

' के रे ? के भन्यौ रे ? त्यो बुढो भ'को मान्छेलाई ? तेत्रा हुर्केका छोराछोरी छन । श्रीमती छिन् , तिमीले कसरी यस्तो असत सोच्न सक्यौ ? त्यै पनि आफ्नै श्रीमती माथी ? गाउँलेले के भन्छन् के भन्दैनन् ? गाउँलेको कुराको पछि लाग्छौ तिमी ? तिमीलाई तिहारमा गँगेदाइको हातको फूलटिका लगाएर देखाउनु पर्यो कि तामा तुल्सी छुनुपर्यो मैले भन ए असती ? तिम्रा मुखमा त भोली नै स्याउँ स्याउँती किरा उब्जिन्छन् । हेरीमात्रै राखन किरा परेर मरेनछौ भने तेतीखेर मलाई भन्नु । कहीँ नभा'को जान्ने अक्कडो । क कस्को के के कुरा सुन्छ र मलाई नानाथरी भन्छ । ' रुँदै साबित्रीले उसलाई सरापी र कोठामा पसी । त्यो दिन दिनभरी नै रोईरही उ ।

जतिसुकै बैगुनी भए नि आँखिर स्वास्नी नै हो । अन्तत उसलाई माया लागेर आयो । हतार मुख फोरेर प्रमाण बिनाको कुरा ओकलेकोमा पश्चताप पनि लाग्यो उसलाई । राती उसले माफी माग्यो र करले भात खुवायो ।

भोलीपल्ट देखि नै केटाकेटीहरु पढाउन र प्रौढ महिलाहरुलाई पढाउन उसले गँगे कार्कीकै घर जानु नै पर्थ्यो गई । उसको काम नै हो , शिबरामले आपत्ती जनाएन तर फेरी पनि ब्रत छ भन्दै ढिकीमा जाने निहुँले उसले गँगे कार्कीको घरजान छोडिन । उसलाई यत्ति नै मन पर्दैनथ्यो । ' गाउँका मान्छेहरु एकोहोरो खनिए भने नखाएकै विष पनि लाग्न के बेर भोली उसकी साबित्री गाउँ समाजको अगाडी बद्नाम भै भने उसले पनि कसरी मुख देखाउने ? उसले भनेजस्ती छैन तर स्वास्नी त उसैकि हो । बेईजत उसैको हुन्छ । अब के गर्ने ? ' उ सोच मै डुब्न थाल्यो र अन्तत गँगे कार्कीको ढिकी भत्काएर काम नलाग्ने नै बनाएर छाड्ने अठोटमा पुग्यो उ ।
एकसाँझ भात खाँदैगर्दा उसले साबित्रीलाई भन्यो , ' आज मलाई तल्ला गाउँ जानु छ , गोठ छाउनलाई निरेको बाउलाई भन्नुपर्यो म अहिले नै जान्छु है । ' उसले स्विकृती मागेको देखेर साबित्रीले साबिकझैं चढिएरै भनी , ' राती हुँदो किन जानु पर्यो ? तिमीलाई भोली बिहान हुँदैन र ? बिहान गए पनि त हुन्छ । '

बोली चढिएको भएपनि आज उसले त्याँहा प्रेम मिसिएको देख्यो र मनमनै दँगहुँदै भन्यो , ' हुन्छ नि बिहान त तर बिहान भएदेखि रात हुन्जेल सम्म मेरो फुर्सद कैले को दिनमा हुन्छ र ? फेरी भएन बिहान गएर निरेका बाउलाई पनि त भेटिँदैन उनि पनि त काममा निस्कन्छन् त्यसैले मैले त अहिले नै जानु पर्छ । '

' हुन्छ जाउ तेसो भए तर अलि ख्याल गरेर हिंड्नु , रातीको माम्ला काल जमाना ठिक छैन । कतिबेला आ उँछौ ? ' यो पल्ट साँच्चै नरम भएर साबित्री बोली मानौं उनिहरुबिच कहिल्यै मनमुटाब भएको थिएन ।

' ख्वै , लाग्ला नि डेढ दुई घण्टा पुगेपछि यसो कुराकानी गरिहालिन्छ । ' भात खाईसकेर चुठ्न उठ्दै उसले भन्यो ।

' ल ल आएर मलाई बोलाउनु नि , म भित्रबाट चुकुल लगाएर बस्छु । ' साबित्रीले सत्य साबित्रीकै छाँटले भनी । हात चुठेर 'ल म गएँ ' भनेर शिबराम हिंड्यो । खासमा उसलाई निरेका बाउकोमा हैन गँगे कार्कीकोमा जानुथियो । आज उसले गँगे कार्कीको ढिकी भत्काएरै छाड्ने विचार लिएको थियो त्यसैले अलि चकमन्न होस भनेर उ खेतमा गएर निक्कैबेर धुम्धुम्ती बसिरहयो र अब चैं गँगे कार्कीको घरमा सबै सुतिसके भन्ने भएपछि उ सरासर त्यतै लाग्यो ।

गँगे कार्कीको ठुलो घरको पछिल्तिर बारबेर गरेर चट्ट पारेर हालेको हालिएको थियो ढिकी । घरका सबै मान्छे माथ्लो तलामा सुतिसकेपछि तलबाट आएर ढिकी भत्काएको कसैले पत्तो पाउँदैनन् भन्ने उसको ठम्याई थियो । सुमुसुमु अँध्यारोमा गँगे कार्कीको ढिकीनेर पुग्दा उसले कोही गुनुगुनु बोलेको सुन्यो र अँध्यारैमा बेराको आड लागेर कान थापेर सुन्यो ।

ढिकीनेर बाट उसकै स्वास्नी साबित्री मसिनो स्वरमा भन्दैथिई , ' अब त मेरो बुढोले पनि पत्तो पाईसक्यो हाम्रो कुरा । गाउँभरी गन्हाईसकिस् भन्दैथियो मलाई । त्यो नामर्दसँग त म मरे नि बस्दिनँ अब कि त मलाई भगाएर लैजानुस् कि चैं कान्छी स्वास्नी बनाएर हुल्नुस् घरमा जे पर्ला देखा जाएगा । '

' अलि ठण्डा दिमागले सोचन मेरी साबि , आवेशमा आएर केहि पनि काम बन्दैन । कि चैं यो बच्चा पनि गिराउ पहिले कै जस्तै नत्रभने घरमै पाउ न त्यै शिबेको भन्नु क्या कस्ले थाहा पाउँछ ? अब यो उमेरमा कहाँ तिमीलाई भगाएर हिंड्नु म ? घरमा हुल्न पनि भनेको जस्तो सजिलो कहाँ हुन्छ ? ' गँगे कार्कीले पनि उसैगरी मसिनो आवाजमा बोलेको सुन्यो शिबरामले । उसलाई अगाडी सुन्नु नै के बाँकी थियो र ? उसको ओठतालु खक्रक्कै भएर सुक्यो । अँध्यारैमा उसले चारैतिर झिल्झिल सितारा देख्यो । हिँजोसम्म तामा तुल्सी छुने , तिहारमा फूलटिका लाउने कुरा गर्ने स्वास्नीलाई त्यहीँ गएर भकुर्न मन लाग्यो । ठाउँको ठाउँ एक्कै ताल हानेर गँगेको ज्यान लिन मन लाग्यो तर उसले केही गरेन ।

सम्हालिएर उ लुरुलुरु घर फर्क्यो । ' हे भगवान ! मैले किन यस्ती स्वास्नी पाएँ ? यो कि त मरे हुन्थ्यो कि त आजै राती त्यै गँगेसँग पोईला गए हुन्थ्यो । भोली मैले यो गाउँ समाजमा कसरी मुख देखाउंने ? म मर्नु कि बौलाउनु प्रभु ? ' भगवान पुकार्दै घर फर्केको शिबराम रनाहामा परेर अँध्यारोमा कता लाग्यो घर आईपुगेन ।

Sunday, January 18, 2009

कविता : ओई ! ईश्वर , अब तैँले उठ्नै पर्छ

मन मार्दा मार्दै निक्कै दिन त्यसै पचाईएछ । खास गरेर पछिल्ला समयमा देशको राजनैतिक गिजोलोले मन साह्रै बिरक्तिएको थियो , छ , के थाहा कतिञ्जेल रहने हो ? हामी रन्थनिईरहेछौं , केहि अर्थ राख्ला नराख्ला हाम्रो रन्थनाईले तर यसबाट आफुलाई नछुवाई रहन पनि सकिँदैन । कैलेकाँही सम्झन्छु यहि परिस्थितीमा पनि यो राजनैतिक भुमरी एकदिन अवश्य सेटल भएर जानेछ भन्दै निरन्तर आफ्नो मिसनमा खटिने बर्तमानका राष्ट्रका एक नायक महाबिर पुनलाई र आफैंलाई प्रश्न गर्छु म यौटा पात पतिङ्गर किन यो भुमरीको हावामा उडिरहेको छु ? जवाफ पनि त्यहीँ छ भुमरीमा परेर उड्ने पातपतिङ्गरहरु नै हुन , रुखहरु त आँधीमा पनि अटल उभिने सामर्थ्य राख्छन नि । मैले आफुसँग भएको अल्पज्ञानी यो टाउकोले गर्न सक्ने कुरा गर्न पनि देशको त्यही राजनैतिक भुमरीले त्यसैले दिक्क लागेको छ भन्ने बहाना बनाउँदै चुपचाप बसेको रहेछु - नजाने जस्तो के गर्नु ? चुपचाप बसेको छु भनौं । अर्को हिसाबले नजानेकै पनि हो आज जानेँ फेरी भनुँ न , संसारमा अनेक उथलपुथल हुँदै जान्छ तर संसार चल्दै जान्छ , चल्दै जानै पर्छ , चलाउँदै पनि जानु पर्छ तबसम्म जबसम्म संसार आयुमा रहन्छ ।

हरेक पल केहि नयाँ सोच्न , केहि नयाँ सोचाईलाई अक्षरमा कपेर कुनै आकार दिन रुचि राख्ने म निक्कै बोधो भएकै हुँ पछिल्लो केहि समय कारण राजनैतिक अन्यौलता भैदियो । आफु परदेशमा बसिएको छ त्यो अर्कै कुरा हो तर देश जिम्मा लगाएका नेताहरुबाट केहि आशा गर्ने ठाउँ नरहेको , भरोषा गर्न नसकिएको अवस्था दिनदिनै बढ्दै जाँदा यो स्वभाविक हो त्यसको विपरित मैले भनिसकेको छु ।

जे होस् धेरैपछि मैले यौटा कविता लेखेको छु - आजभोली कविता लेख्दा पनि मलाई लेख्न आउनै छाडेछ क्या हो ? को महसुस हुन्छ । किन हो थाहा छैन तर यो पटक आज दिउँसो लेखेको कविता ल्याउँदैछु लामो अन्तराल पछि । माई संसारको शनिबार साहित्य अन्तर्गत फोटो हेर्नुस् कविता लेख्नुस् भन्ने फोटो माथी फेरी ईश्वरलाई तँ तँ र म म गर्दै लेखेछु यो कविता -



ओई ! ईश्वर ?
किन चुपचाप छस् तँ ?
लुकेर मान्छेहरुले बनाईदिएको चार पर्खाल भित्र
'आउन मान्छेहरु
सुतेको तँलाई जगाउन घण्टी बजाएर
छर्किउन पानी गँगाजलको अभिषेकम् भन्दै '
के यहि भ्रम पालेर अझै बसेको होस् तँ ?
सुन , ओई ! ईश्वर ?
मान्छेहरुले घोषणा गरिसके
तँ मरिसकिस् भनेर
फालीसके आफ्नो आत्माबाट तँलाई झिकेर
त्यसैले त देखिनस् तैंले ?
आज तेरो द्वारमा घण्टी बजाएर
तँलाई जगाउने हातहरु
कतै एकान्त जँगलमा कसैको घाँटी रेट्न ब्यस्त छन्
आज तेरो द्वारमा शिर टेकाएर
पवित्र बन्ने माथहरु
कतै अँध्यारोमा तैं विरुद्ध योजना बनाउन ब्यस्त छन्
सर्वोत्कृष्ट प्राणी 'मान्छे' बनाएर
तैंले गर्व गरेको त्यो दिन सम्झि त ?
आज मान्छेहरु कसरी यति निकृष्ट भए ?
ओई ! ईश्वर ?
कि तँ त्यही शरमले झुकेर
लुकिरहेको छस् चार पर्खालभित्र
मान्छेले दिएको एक टुक्रा नैवेदले चित्त बुझाएर ?
मान्छेहरुले तेरो द्वारमा घण्टी बजाईसके
अब तैँले उठ्नु पर्छ
र मान्छेहरुको मनको द्वारमा
पाञ्चायन शँख बजाउनु पर्छ
कौमोदकी गदा उठाउनु पर्छ
भन् तँ ईश्वर नै लाछी भईस् भने
ति निम्छरो मान्छेले के गर्लान् ?
जो अझै पनि कतै तँ लुकेको छस्
कुनै दिन त आउँछस् भन्दै बसेका छन्
सुन् , ओई ! ईश्वर
मैले पनि तँलाई
गाली गरेको छु पटक पटक
कोसेको छु लगातार
किनकि अझैसम्म तँलाई मैले
मारेर फालेको छैन मबाट
हार्न नदे ति मान्छेलाई
जो तेरो पर्खाईमा बसेका छन्
उठ् अहिल्यै र निस्कि चार पर्खाल बाहिर
देख्ने छस् त्याँहा
बर्कोभित्र लुकाएर सँकटकालिन् प्रेम
यौटा जिउँदो प्रतिनिधी आत्मा अझै तेरै पर्खाईमा छ
ओई ! ईश्वर , अब तैँले उठ्नै पर्छ ।

Friday, January 16, 2009

श्रद्धाञ्जली बाबुराम दाइलाई

यो तस्विर उनि अगष्ट २००७ मा वासिङटन डि सी आएको बेलाको गुगल सर्च गरेर लिएको हुँ तस्विरमा कालो कोटमा छन उनि ।

सँधैं झैं कम्प्युटर खोलेर माई संसारमा पहिलो पाईला हालेँ आजपनि । कामको बिचमा ३ घण्टे ब्रेकको समयमा हुनाले सरर एक सर्को नेपालका खबरहरुमा आँखा दौडाउने बिचारमा थिएँ । आँखा पर्यो - श्रद्धाञ्जली ईन्द्र लोहनीलाई - जय होस् भन्ने टाउको भएको माई संसारको पोष्टमा । ह्रदय घातको कारणले अधिवक्ता ईन्द्र लोहनी , वहस कार्यक्रमका हक्की प्रस्तोता ईन्द्र लोहनीको अवशान भएछ । पत्याउनै गाह्रो भयो । भित्रै देखि मुटु काँपेर आयो । मृत्यु हरेकको निश्चित छ तर असामयिक मृत्युले धेरैलाई दुखि बनाउँदो रहेछ । ईन्द्र लोहनी गाउँले दाइ भएर पनि म त्यतिधेरै नजिक थिईनँ तर म सानो फुच्चे हुँदा सत्य हरिश्चन्द्रको कथा सुनाएको स्थल कृष्णे खोलाको पुरानो भत्किएको कल्भर्ट याद आयो । गोठालाको कुरा हो यो - हामी फुच्चा फाच्चेहरुलाई गोठालामै पनि फट्याँई गर्नुहुन्न भन्थे उनि नत्र गोठालामा उपद्रो सिकाउने बाहेक कहाँ हुन्छ र ?

उनि पारीपट्टी तोपगाछी गाबिसका र म वारीपट्टी गौरादह गाबिसको भएपनि गाउँ एकै जस्तो भएकोले होला साथै शारिरिक उचाई जस्तै उनि प्रतिको श्रद्दा चुलिएको भएर होला यो दुखद समाचार सुनेर पनि अझै विश्वास हुन सकिरहेको छैन तर सत्य यहि नै हो कि ईन्द्र लोहनी अब रहेनन । हामी उनलाई बाबे दाइ भन्थ्यौं , घरमा उनलाई बाबुराम भनेर बोलाईन्थ्यो । गाउँले गर्व गर्न लायक ब्याक्तित्व बाबुराम दाइको आत्माले परलोकमा चीर शान्ती प्राप्त गर्न सकोस् साथै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्न सक्ने बल दिउन । हार्दिक समवेदना सम्पुर्ण परिवारमा एवँ हार्दिक श्रद्धाञ्जली बाबुराम दाइलाई ।

Tuesday, January 13, 2009

रेकर्ड तोडिएको कुराकन्थो

बल्ल आजदेखि अलि न्यानो दिनको अनुभुत भयो , कतिदिनलाई हो थाहा छैन तर पिलीली घाम लाग्ने क्रम पनि अलि लामो चल्यो । यस्पाली एँकरेजमा जाडो लगातार लामो समयसम्म भएर २० वर्षको रेकर्ड तोडियो रे । गत दुई तिन साता लगातार चिसो भएको थियो । माईनस ४ , ६ देखि माईनस १८ , २० सम्म दुईतिन साता निरन्तर रहँदा मान्छेहरु आत्तिंदा रहेछन । मलाई भने यो अलास्का समरकै बेलामा पनि समुन्द्र फ्रोजन हुन्छ होला जस्तो लाग्या भएर खासै जाडोको डर लागेन तर अन्यत्र बसेर बाफ रे बाफ ! अलास्का ! त्यो हिममय ठाउँ ! भनेजस्तो त कहाँ रहेछ र ? समरमा त यो ठाउँ पनि अरु सामान्य ठाउँहरु जस्तै नै लागेको थियो । विन्टर लाग्दा चैं भने अन्यत्र भन्दा यहाँ छिटो हिउँ पर्नेरहेछ । जाडो पनि अलि बढि नै हो क्यार । यो साल हाम्रो दशैं लाग्नुभन्दा अगाडी नै यहाँ हिउँ परिसकेको थियो । कोलोराडोतिरको बसाईमा त्यती चाँडै हिउँ परेको हुँदैनथ्यो ।

यसपाली यहाँ लामो समयसम्म तापमान मुन्तिर झरेर ( जाडो रहेर ) २० वर्षको रेकर्ड तोडियो , पोहोर साल हवाईयन आईल्याण्डको माउई टापुमा बस्दा तिनचार दिनसम्म लगातार सामुद्रिक आँधि आएको थियो । बाटोघाटो सबैतिर भेलबाढी उर्लेर दुईदिन सम्म बिजुलीबत्ति नै नभएर भएको थियो त्यतीबेला पनि त्याँहाको स्थानियहरु जन्मेर यत्रो भएं आजसम्म यति ठुलो आँधी र भेलबाढी आएको थाहा थिएन, यो त रेकर्ड नै भयो मेरो जिन्दगीमा यत्रो ठुलो आँधी आएको भन्थे त्यसो भन्नुको मतलब त्याँहा पनि निक्कै लामो समयको रेकर्ड तोडिएकै थियो होला । हैन यो रेकर्ड तोडिने भन्ने चैं म जहाँ जहाँ बस्न गयो त्याँहा त्याँहा हुनुपर्ने भन्या ? हुनत रेकर्डहरु भनेकै तोडिनलाई बन्ने हुन । नेपालबाट आएको साल २००३ मा कोलोराडोमा चार फीट जति ( पाँच थियो कि ? ) हिउँ परेको थियो त्यसबेला पनि मान्छेहरु यो साल कोलोराडोमा ९० वर्षको रेकर्ड तोडियो भन्थे । मलाई भने जीवनमै पहिलो पल्ट हिउँ देख्दा पनि त्यतिबेलाको हिउँ अझै कम्ती भएको थियो अझै धेरै परेर स साना बुटाहरु छोपिने गरी भए झन कति मज्जा हुन्थ्यो होला जस्तो लाग्थ्यो । यतिखेर मलाई भने उदेक लाग्दैछ म जहाँ गएपनि यसरी रेकर्ड तोडियो भन्छन । हो कि हैन पत्ता लगाउन अझै अन्त अन्त नबसेको ठाउँ तिर पो गएर हेर्नु पर्छ कि क्या हो ?

लेख्न मनलागेका थुप्रै विषयहरु असरल्ल छरिएका छन तर मैले तिनलाई आजभोली टिपेर उन्न सकिरहेको छैन । कोसिस भने जारी छ तर केहिमा पनि आफ्नो चित्त बुझाउने गरेर लेख्न सकेको छैन त्यसैले आफ्नै मन बुझाउन भनेपनि , ब्लगमा केहि त लेख्दैछु भनेजस्तो पार्न भनेपनि यो कुरा टिपेँ । त्यसो त लामो समयपछि न्यानो दिन पाएको हर्षमा अनि रेकर्ड तोडियो भनिएको यो संयोगको कुरामा यो कन्थो लेख्न मन त लागेकै थियो ।

Sunday, January 11, 2009

गजल : लुकेर उभिएँ

सँधै उनको बाटो ढुकेर उभिएँ ।
देख्लिन् भनेर तर लुकेर उभिएँ ।

एक झल्को हेर्ने त्यो सुन्दर अधर,
रहरले पाईला रुकेर उभिएँ ।

नदेख्दा उनलाई कैले दोबाटोमा,
लुछिएको हाँगाझैं सुकेर उभिएँ ।

जति यो मनलाई ओठसम्म ल्याएँ,
उति यो मन खोल्नै चुकेर उभिएँ ।

मुस्कुराई उनले आँखा जुधाउँदा,
साहस हराएर झुकेर उभिएँ ।

प्रिय पाठक जी , तपाईंलाई लेख्नेबित्तिकै यो गजल सुनाउँदा छैठौं शेरमाथी टिप्पणी गर्दै मनपरेन भन्नुभएको थियो नभन्दै अलिपछि मलाई पनि छैठौं शेरमा भनिएको कुरा पाँचौं शेरमै भनिएको जस्तो लाग्यो र हटाईदिएँ । यहाँ के थियो त हटाईेको त्यो छैठौं शेर भन्ने जानकारीको निमित्त मात्र राखेको हुँ ।

परित्यक्त शेर -

उनि गईन जब नफर्किने गरी ,
धिक्कारेँ आफुलाई थुकेर उभिएँ ।

Friday, January 09, 2009

यस्को पनि शिर्षक छैन त्यसैले गन्थन भनुँ क्यार

खै के भ'को हो ? केहि बोल्नै मन छैन , केहि लेख्नै मन छैन । त्यसै निच मार्दा मार्दै नयाँ वर्षको पहिलो साता त सुलुत्तै चिप्लिसकेछ । नयाँ वर्षको उल्लास किन छाएन खै ? पहिलो दिन यस्तो र उस्तो बन्ने हो कि भन्दै सल्लाह गजल लेखेको थिएँ तर खै त साता बितुञ्जेल सल्लाह अनुरुप त केहि नै गरिएनछ । यतिखेर लाज पचाएर अल्छि गर्दागर्दै नयाँ वर्षको पहिलो साता त्यसै बितेछ , बितेछ पनि के भन्नु हौ , समय हो कसैलाई पर्खेर किन बस्थ्यो ? , बिताएँ भन्दैछु म ।

हरेक पल्ट अब केहि नयाँ नौलो केहि हुन्छ कि भन्ने आशा राख्यो नयाँ केहि हुनेको शट्टामा बरु नहुने नहुने अनेक ओली भएको देख्नु सुन्नु पर्छ - खै अबको नयाँ भन्नु नै यस्तै यस्तै उटपट्याँङ हो कि क्या हो ? निक्कै वर्ष अगाडी यस्तै महसुस गरेको बेला यौटा गीत लेखेको थिएँ , त्यो बेलाको माहौल पनि नयाँ वर्षकै थियो भलै त्यो हाम्रो आफ्नै बैसाखे नयाँ वर्ष थियो , त्यो बेला लेखेको गीत पनि सम्झन मन लाग्यो ( सम्झना आयो ) -

नयाँ दिन आयो कसरी म भनुँ
छैन कतै नि उज्यालो
हावाको एक झोंकासंगै
निभेछ दियालो ।

बेफुर्सदी मान्छे सबै संधैं नै हतारो
भ्याई नभ्याई दौडादौडी फेरी नि पसारो
उहि कर्म गर्नै पर्ने बाध्यता के साह्रो
नयाँ दिन आयो कसरी म भनुँ
छैन कतै नि अनौठो
साँझ बिहान निल्नैपर्ने
भए नि नमिठो ।

सबै खोज्छन जिन्दगीमा केहि बेग्लै गरुँ
भेटे सम्म नयाँ नौलो आफु एक्लै गरुँ
सके देखि आफुं मात्रै बैतरणी तरुँ
नयाँ दिन आयो कसरी म भनुँ
छैन कहिँ नयाँनौलो
भोग्नै पर्ने जिन्दगीमा
सधैं यै पुरानो ।

नयाँ केहि कहिल्यै नदेख्ने कहिले त यो एक प्रकारको रोग हो कि जस्तो पनि लाग्छ । नयाँ हुँदा पनि त्यसलाई आत्मसात गर्न नसक्नु , बल्लबल्ल प्राप्त भएको नयाँमा पनि नानाभाँति भाँजो आईलाग्नु नै हाम्रो सामुहिक नियति हो क्यारे । 'भाग्यले दिएको कर्मले ठेलेको' भन्थे बुढापाकाहरु सोईपरी । यौटा सुवर्ण अवशर जुराउँछ भाग्यले केहि नयाँ गर्ने तर हाम्रा कर्म पुरुषहरुको बदनियतपूर्ण कर्मले ठेलेर छाड्छ र दुनियाँ सामु लज्जित हुनुपर्छ सामुहिक हामीले । तिनै कर्म पुरुषहरु पनि पर्छन समुहमा तर लाज घिन मान्दैनन तिनिहरु । सन्दर्भमा पशुपतिका पूजारी काण्ड अगाडी आएको छ नयाँ वर्षको बेला । भन्ने नै हो भने यो नयाँ वर्ष अर्काको थियो तर यहि पूजारी काण्ड तेर्सिदिँदा नयाँ वर्षले हामीलाई गरम बनाएर छोड्यो । यस विषयमा अपरिपक्व र हतारमा निर्णय गर्न सिपालु भै सकेको सरकारको विरोध गर्दा पनि लज्जित हुनुपर्ने र समर्थन गर्नपनि नसकिने अवस्थाको सिर्जना भयो । जव ईमान्दारहरुको खडेरी पर्छ तव कुनै न कुनै एक बेईमान माथी नै ईमान्दारीको आशा राख्नुपर्छ भन्ने नसिहत समयले केहि अघि नै दिएको थियो यतिखेर भने समयले अन्तरमै बेईमानीको कालो ध्वाँसो भएपछि जति ईमान्दारीताको आशा राखे पनि बेईमान बेईमान नै रहन्छ भन्ने प्रष्ट पारेको छ । यो कुरा यतिबेला पशुपति पूजारी प्रकरण उब्जाउंने सरकारमा मात्र नभएर उसको विरोध गर्ने सबै दल र त्यसबाट फाइदा उठाउन खोज्ने छिमेकी भारतमा पनि देखिएको छ । त्यसमा पानीको हाहाकार भयो भनेर आगो निभाउन बनस्पति घ्यु हाल्ने हामी पनि पर्छौं त्यसैले त हामीले फेरी एकपटक सामुहिक हार खेपेका छौं र पनि आफैं झुकेर मख्ख छौं , आफैंलाई झुकाएर दंग छौं ।

पत्रपत्रिका , ब्लग चारैतिर तात्तातै यस विषयमा धेरै लेखिए । लेखिए जतिमा धेरै यो काण्डको विरोधमै लेखिए - नलेखियोस पनि किन ? सरकारको हरेक कार्य शैली परिवर्तनको नाउँमा जनता भड्काउने मात्र भएपछि तर पनि कतिबेला मौका पाईन्छ र यो सरकारको झाँको झार्नु भनेर कुरेकै बेला मौका पाए जस्तो हत्तार गरेर लेख्न मलाई अलि मन लागेन । हामीकहाँ परिवर्तन नहोस , यथास्थिती नै कायम रहोस भन्ने अभिप्रायले छिमेकी देश भारतमा जोगीहरुको समुह झोली तुम्बा भिरेर हातमा कमण्डलु र चिम्टा लिएर जुलुस निस्केको भर्खरै मात्र हो । त्यतीबेला धर्मकै आड लिएर उनिहरु हाम्रो राजनीतिक गति रोक्न तम्तयार थिए भने यतिखेर धर्ममा राजनीति मिसाउन पाईंदैन भनेर विरोधको चार अक्षर लेख्दा त्यही जोगीको हूल सञ्चालन गर्ने छिमेकी मुलुकको राजनीतिक मण्डलीलाई तत्कालै किन बल थप्ने भन्ने लाग्यो मलाई त । धर्ममा राजनीति हुनुहुँदैन भन्नु पनि ब्यर्थ हो । पौराणिक काल देखि नै धर्म र राजनीति सँगै गाँसिएर आएको छ । हामीले राजनीतिका अनेक दाउपेच धर्मकै ठेली पल्टाउँदा पनि सिक्न सक्छौं तर धर्मसँग जोडिन आउने राजनीतिको यौटा सँस्कार हुनुपर्छ त्यो हामीकहाँ छैन । कतै हुँदैन क्यार त्यसैले त धर्म र राजनीतिकै उपजले कुरुक्षेत्र देखि नै संग्राम हुँदै आएको ।

यतिखेर मलाई यो विषय उठाएर मात्रै पशुपतिनाथको मन्दिरसँगको आफ्नो सम्बन्ध लेख्न मन लागेको थियो तर कुरा धर्म र राजनीतिमै केन्द्रित भएछ । हुनत कुरा उठाउन मन लागेको पनि त्यसैकारण नै हो । पशुपतिको पूजारी काण्डको हल्लीखल्लीले मलाई आफु पशुपति गएको स्मरण भयो । चानचुन ६ महिना काठमाण्डौ खाल्डोमा बस्दा म मुश्किलले ३ पल्ट पशुपति मन्दिर क्षेत्र पुगेँ होला तर आरध्य देव श्री पशुपतिनाथको दर्शन गर्ने अभिलाषा म मा कुनै पटक पनि आएन क्यार त्यसैले कहिल्यै म जुत्ता खोलेर पस्नुपर्ने ठाउँ तर्फ गईनं । मन्दिर क्षेत्रमा पुग्दा नै म शुन्य भै सकेको हुन्छु । भगवानको अगाडी उभिएर न माग्नलाई केहि हुन्छ न भगवानलाई सुनाउनलाई केहि ( सुन्दा पढ्दा यो बनिबनाउ डाईलग कतैबाट कपि गरेजस्तो भएपनि मलाई यस्तै हुन्छ - धेरैलाई हुन्छ क्यार त्यसैले अरुले भनेको पनि सुनेको छु । ) , त्यसैले मैले अन्यत्र पनि मन्दिर भित्र भगवानको अगाडी उभिएर कहिल्यै केहि मागेको छैन । यतिबेला मलाई खल्लो लाग्यो पशुपतिनाथको मन्दिर भित्र पशुपतिनाथसंग माग्नलाई केहि नभएपनि पसेको भए के हुन्थ्यो ? भन्ने लागेको छ ।

पहिलो पल्ट पशुपति मन्दिर क्षेत्र जाँदा मन्दिरको पारीपट्टी बसेर मुर्दा जलाउँदै गरेको हेर्दैगर्दा एकजना जड्याहा पनि मातेर बर्बराउँदै गरेको देखेको थिएँ । त्यो बेला एक मनले यस्ता जँड्याहाहरु मन्दिर तिर किन आउँछन ? भन्ने लागेको थियो भने अर्को मनले बिचरासँग जँड्याहा हुनुको पनि छुट्टै कथा होला , त्यसै ईज्जत फालेर हिँड्न कस्लाई मन लाग्दोहोला र भन्ने लागेको थियो । त्यसबेला पनि मैले यौटा गीत लेखेको थिएँ । सम्झिउँ है -

आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा
अपबित्र भएं त के भयो यस्तै लेखिदिईस तगदिरमा ।


निहुराउंदिन यो शिर मेरो भगवान तेरो त्यो पाउमा
आएको हैन म तेरो आश्थाको हंस्सी उडाउने दाउमा
हिंजोको मेरो विश्वासको ईश्वर बदलियो आज पत्थरमा
आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा ।


पुजेर सँधै पत्थरको मुर्ती भएछु मान्छे म ढुँगाको
कृपाले तेरो यात्री भएं म डुब्नै लागेको डुँगाको
मरौं कि बाँचौ भएर आज बेरिएको छु म जंजीरमा
आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा ।

मन्दिर भित्र पसेर भगवानसँग गुनासो नगरेपनि मन्दिर बाहिरै भने यसरी गुनासो पनि गर्दोरहेछु म । आजभने भगवान पशुपतिनाथसँग टाढैबाट भएपनि केहि माग्न मन लागेको छ ।

हाम्रो देशमा मान्छेहरु राजनीतिमा लाग्छन , मान्छे भएरै चुनाव लड्छन , मान्छे भएरै चुनाव जित्छन तर जव तिनीहरु सरकार बनाउँछन तब छुट्याउन गाह्रो हुन्छ ति मान्छे नै रहेका छन कि पशु भैसके भनेर त्यसैले हे भगवान ! पशुपतिनाथ , सरकार बनाउने नेताहरु मात्र हैन राजनीतिमा सक्रिय लागीपरेका सबै नेताहरुलाई यदि तिनीहरु पशु नै भै सकेका छन भनेपनि गाई जस्तै साधु(सरल) बनाईदेउ साँढे जस्तो उन्मत्ता हैन । मान्छे नै रहेका छन भनेपनि अर्को मान्छेलाई मान्छे हो भनेर ठम्याउन सक्ने खालको मान्छे बनाईदेउ अरुलाई मान्छे नै नगन्ने मान्छे हैन । कहिल्यै तिमीसँग केहि नमागेको मैले यति मागेको छु - अरु केहि चाहिएको छैन र माग्दिंन पनि ।

[खै लेखेको ? भन्दै आजै चिमोट्नुहुने कैलाशजी र केहि अघि कति निदाएको भन्दै पानी खन्याउनुहुने ( नाम खुलाउन मनाईं छ ब्यारे ) प्रिय पाठकजी ( मलाई प्रिय लेखक भन्नुहुन्छ र नाईं ) लाई मुरी धन्यवाद सहित उपस्थित छु है ।]

Thursday, January 01, 2009

सल्लाह गजल : यो साल बन्ने हो कि ! ( नयाँ वर्षको अवसरमा )

सबै भन्दा पहिले त सबैलाई नयाँ वर्षको मंगलमय शुभकामना । त्यसो त हरेक दिन नयाँ आउने गर्छ , हरेक पलले नयाँपनको आभाष दिने गर्छ तर पनि पल पल नयाँ केलाएर बस्ने कस्को फुर्सद ? एकमुष्ट वर्षमा एकदिन नयाँ भनेर दँग पर्छौं हामी मान्छे अझ त्यसमा पनि हामी त झन भाग्यमानी तिनचार पटक नयाँ वर्षको शुभकामना आदान प्रदान गर्न पाउँछौं । आँखिर यौटा अवसर हो यो जिन्दगीमा खुशी पहिल्याउन खोज्ने । किन छोड्ने यो मौका ? त्यसैले मैले चैं नयाँ वर्षको सल्लाह गर्ने निधो गरेँ त्यो पनि गजल मार्फत । के गर्ने हो कसो गर्ने हो आउनुस है सल्लाह गरुँ -


बितेकै वर्षमा जस्तै जीवन् बेहाल बन्ने हो कि !
के के बन्न बाँकी थियो अब यो साल बन्ने हो कि !

बाँकी दुनियाँ कहाँ पुग्यो छोडियौं कि हामी कतै ,
संसारलाई चिहाउने आँखिझ्याल बन्ने हो कि !

दुखाई हाम्रो साझा तर रोयौं एक्लाएक्लै क्यारे ,
दुखाउनेलाई बाहेक् पार्दै पर्खाल बन्ने हो कि !

जिन्दगीको दाँईबाट रहरको माच उठाई ,
छिरोलेर धुस्नु जति मुठे पराल बन्ने हो कि !

गल्ति कति दोहोरिए जानाजानी हेल्चेक्र्याँईले ,
जवाफ् खोज्न आफैंसँग आजै सवाल बन्ने हो कि !

बोनस शेर : ( काफिया अक्षर पनि दोहोरिएको र भाव पनि उहि रहेको हुँदा यो तेश्रो शेरको भाइ शेर हो । )


लगातार नै हारीरह्यौं च्याँखे दाउ थाप्ने कति ,
आउ मिलेर बाजी जित्ने ठुलै खाल बन्ने हो कि !