Wednesday, November 26, 2008

गजल : फिर्ता दिनु थियो

म सँग तिम्रो सम्झनाको यही नै एउटा 'चिनु' थियो ।
नासो सम्झेर त्यहीपनि तिमीलाई फिर्ता दिनु थियो ।

एकोहोरो मेरो यो मोह तिमीमाथीको यस्तो लाग्दछ ,
धस्नु छुरी आफुमा हैन आफैं छुरीमा धसिनु थियो ।

यतिञ्जेल ठानेँ तिम्रै भक्ति प्राप्ति हो मेरो जिन्दगीको ,
सोचिरा'छु आज के त्यो मृगतृष्णामा बरालिनु थियो ।

सुन्दै सुनिँन कसैको मैले धोका होला तँलाई भन्थे ,
तिम्रो त साथैमा मुटु ताछ्ने बसिला अनि 'छिनु' थियो ।

राम्रै भएछ भन्ठानुँला भैदियो बेलैमा मोहभङ्ग ,
नत्र माटोमा गाडिएको फलाम जस्तै खिईनु थियो ।

गजल लेख्ने मूड आफैं नआई लेख्दिँन भनेको 'गजललाई त मेरो मूडको खाँचै नपर्ने रहेछ , आफैंले गजल कोर्ने मूड नबनाए सम्म' भनेर पनि बुझियो । हिँजो मबिजीले गजल सुस्तायो नि भनुञ्जेल सम्म अझै केहिदिन लेख्दिँन भन्दैथिएँ र आफुलाई अन्यत्रै ब्यस्त बनाउँदै थिएँ तर राती सुत्दा 'गजल सुस्तायो नि' भन्ने कुराले हिर्काईरहयो गिदीमा र निन्द्रा पर्नै दिएन त्यसैले हिँजै राती खेस्रा कोरेर अहिले अलि ताछतुछ गरेर ल्याएको छु ( उता गजल ग्रुपमा पनि लगेको छु । ) यौटा गजल - अभ्यासको कमि भएर हो वा लेख्न जान्न छाडेको हो , गाह्रो लाग्यो यस्लाई पुरा गर्न । मबिजीलाई हार्दिक धन्यवाद !

Monday, November 24, 2008

लघुकथा : एकभारी दाउरा

सँधै झिस्मिसेमै उठेर दाउरा काट्न जँगल जान्थ्यो उ । धेरै अगाडीदेखि यहि गर्दै आएको उस्लाई आजभोली बेलामा जँगल पुग्न पनि गाह्रो हुन्छ , दाउराको भारी तयार पार्न पनि गाह्रो हुन्छ र बेलुका बजारमा बेच्न ल्याईपुर्याउन पनि गाह्रो हुन्छ । उमेरले गल्दै गएपछि उसको दाउराको भारी पनि सानो आईपुग्न थालेको थियो बजारमा । अरु अरु दाउरेहरुको ठुलो ठुलो र हेर्दै दन्दनी बल्ने चिर्पट जस्ता दाउराको अगाडी उसको दाउराले कहिले भनेजस्तो त के पसिना बगाए जतिको पनि दाम पाउंदैन थियो । सँधै उसको एकभारी दाउरा किन्न बजारमै दुईचार वटा घर र पसलहरु भएका भिमसिन काजी आउँथे र उसले साठीको मोल राखेको दाउराको भारी दलाली गर्दागर्दा तीस रुपिँया दाम दिएर लैजान्थे । साँझ ढलुञ्जेलसम्म पनि अरु कसैले नकिने पछि उ सँग ति लोभि भिमसिन काजीलाई बीसै रुपिँयामा भए नि दिनुको बिकल्प हुन्नथ्यो तर भिमसिन काजी जहिले नि म भित्र नि हरी छन् तेरो एकभारी दाउरा बीसै रुपिँयामा कहाँ लिन सक्छु र भन्दै तीस रुपिँया फालेर जान्थे ।

तीस रुपिँया हात परेपछि उ भोली बिहानलाई चिया र पाउरोटी खाने दश रुपियाँ छुट्याएर बाँकी दश रुपिँयाको चना चिउरा र दश रुपिँयाको रक्सी खाएर पल्टन्थ्यो त्यतै एउटा कुनामा । आफन्त नातागोता कोही थिएनन् उसका । कसैसँग उसको नाता सम्बन्ध थियो त भिमसिन काजीसँगै थियो यौटा दाउरे र ग्राहकको ।

आजपनि उसले एकभारी दाउरा ल्याएर बजारको एक छेउमा पछारेको मात्र के थियो कहिल्यै उसको दाउरा सोध्न नआउने मान्छेहरु आएर दाउराको दाम सोध्न लागे । उसले साबिककै दाम बतायो साठी रुपिँया । उनिहरुले सय रुपिँयाको नोट फाल्दै दाउरा उठाउन खोजे । एकछिन उ अलमल्ल पर्यो । यि मान्छेहरु आज बौलाएछन् क्यार भन्ने लाग्यो र तुरुन्तै उसले भन्यो , ' हुँदैन हुँदैन । म यो दाउरा भिमसिन काजीलाई मात्र बेच्छु सँधै उनले तीस रुपिँया दिन्छन् । त्यती भए पुग्छ मलाई । तपाईंहरुलाई त दुई सयमा नि दिन्न ।'

दाउरा उठाउँदै यौटाले भन्यो , ' अब भिमसिन काजी आउँदैनन् तिम्रो दाउरा किन्न , उनैलाई जलाउन किन्न लागेको तिम्रो दाउरा । ल खुरुक्क त्यो पैसा राख । '

उनिहरु दाउरा उठाएर हिँडे । उसलाई आज यौटा आफन्त गुमाएझैं लाग्यो । सोच्यो - भिमसिन बुढाले बाँचुञ्जेल लोभ गरेर उसलाई तीस रुपिँया मारेको सायद मरेपछि पनि पैसा चाहिन्छ भनेरै हो क्यार । उसले पनि जिन्दगी भरी तीस रुपिँयामा एक भारी दाउरा बेचेर आधापेट खाने त हो । आज एकदिन यो सय रुपिँया समातेर के गर्नु भोली देखि उसको दाउरा पनि कसैले किन्ला कि नकिन्ला बरु आजको आधापेट चना चिउरा त भिमसिन बुढाको मलामी गएपनि खान पाउँछु नि , भयो लिन्न म यो भिमसिन बुढाको मरिसकेपछिको पैसा । यस्तै सोचेर उ पनि उतै दगुर्यो र पैसा फिर्ता गरेर मलामीको हुलमा मिसियो ।

Sunday, November 23, 2008

कविता : कामना सुख र शान्तीको गर्छु


आयु भन या जुनि अब चैं नश्वर देह यो खस्कँदो छ
आँखिर समयकै त हो खेल स्वप्न अझ यो पस्कँदो छ ।
लाग्छ आफैंलाई यो ईहलीला भएको छ अब बिसाउने बेला
छाडेर चेतना मुढो यो शरिर परब्रम्हमा मिसाउने बेला । । १

ज्यान रहुञ्जेल जवानी हुञ्जेल देखिएन कतै नि हरी
आज सर्वत्र देख्छु उनैलाई हो कि उनैको शरण परी ।
कपट , छल , जाल र *जुद्दे जे गर्नु लावण्य रहुञ्जेल हो
आँखिर खाली दुई हत्केला जोडी हुने त हरीसँगकै मेल हो ।। २

बन्द झनझन हुँदैछ दृष्टि जाँदैछन् सुकेर आँखाका पानी
गुन्छु मनमन हिँजो र आज लेखायो समयले के के कहानी ।
भोगियो डर र त्रासका माझ पोखिएझैं चुक अँध्यारो कालो
देखियो मेघमा बिजुली परेझैं छिनभरको झिलिक्क उज्यालो ।। ३

बलोस् भन्दछु उज्यालो अनन्त देखुन् लोकले हिंड्ने बाटो
गरुन् सबले प्राणझैं प्रेम नरोओस् एक्लिएर यो माटो ।
टेकेर माटो धानुञ्जेल ज्यान हुँदैन केहि माटो भन्दा माथी
देहले माटो छोडेर गए नि आँखिर यहि माटै हुन्छ साथी ।। ४

सपना फूलेको देख्ने छ रहर बस्ती बस्ती यि पाखाहरुमा
भय हटेर हर्ष नाचेको मेरा सन्ततीका आँखाहरुमा ।
निभ्नेछ तेल बिनाको दीप छिट्टै मेरो यो आँखाको कान्ति
कामना तर गर्दछु यौटै फैलियोस सर्वत्र सुख र शान्ती । । ५

* जुद्दे - युद्ध ( तस्विरका हजुरबाहरुले 'य' लाई 'ज' उच्चारण गर्नुहुने भएकोले )त्यसो त खुलाईरहनु नपर्ला मैले यो फोटो कहाँ भेटेर कविता लेखेँ भनेर तर सँधैं अलि ढिलो राख्थें भने यो पल्ट छिट्टै राखेँ ।

Friday, November 21, 2008

त्यसै बित्दैछ दिनहरु

निक्कैदिन भयो म यौटा कथामा अल्मलीइरहेको छु । लेख्नलाई कथाको पुरै प्लट तयार छ र पनि लेखेर सिध्याउन सकेको छैन । केहि अगाडी लेखेको 'चार सौ बीस उत्सव' झैं शैलीमा लेख्ने विचार छ - हेरौं यो विचारले मुर्त रुप कहिले पाउने हो ? गर्छु भनेर हुने कुरा हैन लेखाई मेरो निंती । कैले मूड आउँदैन त कैले समय पाईंदैन । खै यस्तै अल्झोमा छु आजभोली । खै के साह्रो ब्यस्त भईयो यो जिन्दगीमा ? ठोस केहि गर्न नि सकिँदैन खित्रिङमित्रिङ गर्नलाई पनि समय जुटाउन सकिँदैन । समय त्यसै बितिरहेको छ । बिना कुनै उपलब्धि ।

आज काम सकेर घर आएर नेपाल , ईन्डिया फोन गर्नलाई फोन कार्ड किन्न अमन टेल डट कम खोलेँ र केहि फोन कार्ड किनेँ । सँधै फोन कार्ड किनेपछि तुरुन्तै फोन गर्न ब्यस्त हुन्थेँ म । आज फोन कार्ड किनेर ईन्डिया फोन लगाएँ ( म सबै भन्दा धेरै फोन ईन्डिया नै गर्छु किनभने मेरी छोरी ईन्डियामै छिन् - पश्चिम बँगालको सिलिगुरीमा ) लाग्दै लागेन । दिमागमा किन फोन लागेन भनेर कुरा खेल्दै थियो त हात कम्प्युटरमा त्यसै जतासुकै क्लिक गर्न ब्यस्त । अर्कोतिर कम्प्युटर मै म खसखस डटकममा नेपाल भाषाका जन कवि दुर्गालाल श्रेष्टसँग बासुदाइ ( बासु श्रेष्ट - म बासु दाइ भन्छु ) ले राख्नु भएको खसखस पनि सुन्दैथिएँ । आज दिउँसै दाइले दुर्गालालको अन्तर्वार्ता ल्याएको छु भनेर सुनाउनुभएको थियो । त्यसैले पनि आज रातीको मेरो मुख्य काम त्यही सुन्नु थियो ।

जथाभावी क्लिक गर्ने क्रममा मेरो हातले अमन टेलको होम पेजमा पुर्यायो मलाई । त्याँहा मैले भारत , श्रीलँका , बँगलादेश , पाकिस्तानका राष्ट्रिय झण्डाहरु अगाडीनै राखेको देखेँ । त्याँहा सबैको झण्डा छ उनिहरु सँगै छुट्टै भौगलिक अस्तित्व राखेर उभिएको हाम्रो नेपालको झण्डा छैन । मलाई साह्रै नमिठो लाग्यो । पहिले मैले यो कुरा याद नै गरेको थिइनँ सायद तर आज अमन टेलको 'कन्ट्याक अस' भन्नेमा गएर आफ्नो रिस पोख्दै यौटा ईमेल लेखेँ ।

झण्डै ४ वर्ष देखि म अमन टेलको ग्राहक भएको छु र यहाँबाट फोन कार्ड किनेर नेपाल फोन गर्ने गरेको छु , मेरा धेरै साथीहरु पनि अमनटेलका ग्राहक छन । मैले आज अमन टेलको होमपेजमा भारत , श्रीलँका , बँगलादेश र पाकिस्तानका झण्डाहरु देखेँ तर नेपालको देखिनँ ? नेपालको झण्डा नराखिनुको कारण के होला ? नेपाललाई हेपेको हो कि ? नेपालको महत्व नै नदेखेको हो ? नेपाल फोन गर्नलाई यहाँ फोन कार्ड किन्ने धेरै म जस्तै ग्राहकहरु होलान तपाईंहरुलाई म जस्तै ग्राहक माथी अन्याय गरेका छौं भन्ने लागेको छैन ?

यस्तै लेखेँ । किन किन मनभित्रै नमिठो लागेको थियो त्याँहा हाम्रो झण्डा नदेख्दा । त्यती लेखेर केहिबेर यताउति गरेपछि फेरी म जीमेल खोल्न पुगेँ र नयाँ ईमेल देखेँ (जम्मा ४२ मिनेटमै रेस्पोन्स गर्ने अमनटेलको कस्टमर सर्भिस देख्दा पनि खुशी लाग्यो ।)त्याँहा लेखिएको छ -

info@amantel.com to me
show details 11:52 PM (42 minutes ago) Reply


Hello,
We have gone through your mail and we will surely put the NEPAL
FLAG on home page.
C.S.

यति देख्दा पनि मन अलिकति खुसी भएको छ आज । हेरौ अब पक्कै राख्छन त होला नि उनिहरुले त्याँहा नेपालको झण्डा , मेरो देशको मेरो प्राण भन्दा प्यारो झण्डा ।

हामी नेपालीहरु भने साधारण स्कुलकै मात्र शिक्षा पुरा गरेका छौं भने पनि विश्वका एक एक मुलुकका नाम र कहाँ अवस्थित छ भनेर जान्ने बुझ्ने भएका हुन्छौ तर बाँकी दुनियाँ हामी प्रति किन यसरी बेखबर भएको हो ? अरु त अरु भारतकै मान्छेहरु पनि नेपाल कहाँ छ ? भनेर सोध्छन् कति त नेपाल भन्ने देश पनि छ भनेर त मैले आजै सुनेको भन्छन् । त्यस्ता मान्छेहरु देख्दा साह्रै रिस उठ्छ मलाई तर के गर्नु र हगी रिसाएर ? आँखिर मैले नै मेरो देशलाई विश्व सामु चिनाउन नसकेर त हो नि त्यसो भएको । ठुलो काम गर्न त म समर्थ छैन त्यसैले सानै काम गरेर मेरो देशको झण्डा त्याँहा लगाउ भनेको नि ।

तपाईंलाई कस्तो लाग्यो कुन्नि मेरो कुरा ?

Tuesday, November 18, 2008

कविता : यो खुशीको कुरा हैन र ?

छुट्टीएर रहरको सयपत्रीबाट
केहि पत्रहरु
बिचल्नी परेर कतै
तिम्रो कविताका अक्षरहरुमा
खक्रक्क सुकेर टाँसीएको पाउँछु आफुलाई
लाग्छ
यौटा पत्र छुट्टिँदा सयपत्रीबाट
सँगै बीज पनि आएको हुँदा
उमारेँ कि बेमौसमी सयपत्री
कोथा लागेँ कि शिशिरमा
हाँस्नलाई
हो हाँस्नलाई कविताका अक्षरहरुमा
तुसारो सहेर
लौ भन अब तिमी नै
के यो खुशीको कुरा हैन र ?

Monday, November 17, 2008

गजल : तिम्रो नायक हुन नसक्दा

पछुतो थोर बहुत् बाँकी छ तिम्रो नायक हुन नसक्दा ।
प्रेमको के कुरा भो र नजरमै लायक हुन नसक्दा ।

नलेखेको हैन सयौं गीतमा तिमीलाई रचेर मैले ,
पाएनन् अर्थ मेरा शब्दहरुले गायक हुन नसक्दा ।

दुरी भुगोलको हिसाब नगरी भ्रम सँधै बाँचिएछ ,
सकेन मौलाउन हाम्रो प्रेमले पायक हुन नसक्दा ।

न हात नै मिल्यो समाउन खोज्दा साथ पनि टाढा टाढा ,
भयो कि यो सब एक अर्काको सहायक हुन नसक्दा ।

आफ्नो निमित्त त के कुरा भो र आज तिम्रै निमित्त पनि ,
सकिनछु आवाज उठाउन विधायक हुन नसक्दा ।

जलाएर मात्रै कहाँ हुँदोरहेछ र 'दीपक' मनमा ,
छरेर उज्यालो त्यो 'दीपक' सुखदायक हुन नसक्दा ।

मिती याद गरेको छैन मैले तर निक्कै भयो मैले गजल लेखेको छैन । पछिल्लो पटक मैले ' नियम बनाउँ भन्छन ' भन्ने गजल लेखेको थिएँ । आज पुराना ड्राफ्टहरु हेर्दै जाँदा ( ब्लगका ) मैले निक्कै अगाडी लेखेको गजल भेटेँ जुन चार शेर पहिले नै तयारी अवस्थामा थियो भने दुई थप शेरहरु आज पुरा गरेर तपाईँहरु समक्ष ल्याएको छु । म गजल नलेखि रहेको अवस्थामै हुँदा यो गजललाई पुरा गरेको हुँ तर आज यस्तो महसुस भै रहेछ कि म आजैबाट गजल नलेखिरहेको अवस्थालाई तोड्दैछु । वास्तवमै मैले केहि समयलाई गजलबाट टाढै रहने विचार गरेको थिएँ तर आज एक्कासी पुरानो गजललाई पुरा गर्ने निहुँ बनाएर लेखीछाडें । हेरौ अगाडी म गजलमा फर्कन पनि सक्छु ।

Sunday, November 16, 2008

कविता : सुन्दा छौं कर्णालीले डाँको छाड्यो रे !



सुन्दा छौं
ठुलै डाँको छाड्यो रे
कर्णालीले
काठ्माण्डुमा
आजकल त
काठ्माण्डौका मान्छेले
खोजी खोजी नक्सामा कर्णाली हेर्दाछन् रे
ए हजुर !
हाम्ले कैले देखम्ला
नेपाल देश नक्सामा कस्तो देखिँदो हो ?
अझ भाउन्न छुटुञ्जेल देखेको
यो कर्णाली
नक्सामा कस्तो देखिँदो हो ?
कठै ! भेँडी गोठ गा'कि मेरी छोरीले
किताबमा हाम्लाई
कर्णालीको नक्सा देखाउँदि हो त
हो हजुर यो जुनी हामी
पसिनानै डङ्डङ्ती गन्हाएपनि
गुनासो गर्ने थिनम
कर्णाली दख्खिनै
बग्यो भनेर
सुन्दा छौं
काठ्माण्डौका
चिया पसलमा आजकल
कर्णालीकै बात मार्दाछन् रे
ए ! हजुर
चिया पसलको बातले
बग्ने कर्णालीलाई छेक्न कहाँ सक्लाउ र
अफसोस् यति हो कि
कर्णालीले हाम्रो तिर्खा धरी मेट्न सकेन
त्यसैले हजुर
कर्म बादुरको लास हिँजो
छोरीचेलीले उठाउनु पर्यो
काठ्माण्डुमा आएर
आँसु खसाएर कर्णालीले
'के तपाईँसँग कर्णालीको नक्सा छ ?' भनि सोध्दा
नढाँटी भन्नुस् त हजुर
क कस्ले छातीभित्र
कर्णालीको नक्सा खोज्नुभयो ?

Sunday, November 09, 2008

म हाँसेको कुरा - भाग २

केहि अघि मैले म हाँसेको कुरा भाग १भनेर गन्थन लेखेको थिएँ र आज त्यसैको भाग २ ल्याएको छु । पहिलेझैं यो पल्ट पनि यो गन्थन पढ्दा तपाईंको समय नष्ट गर्ने रहेछु भने क्षमा दिनुहोला भन्छु है ।


मलाई त याद छैन तर आमाले भन्नुहुन्थ्यो म सानो छँदा बारीमा रोपेको काँक्रा , फर्सी टुसाएर दुईपातको भएको देखें भने पुरुक्क उखेलेर घरमा ल्याएर आमालाई देखाउँदै ' आमा ई हेल्नु त हाम्लो फल्सी फलेछ । ' भन्थेँ रे । पछि यो कुरा सुन्दा मलाई अनौठो लाग्थ्यो । सायद मलाई सेतो , पहेँलो र हलुका हरियो मिसिएको टुसाले र त्यसमाथी टप्पक्क परेको दुईपातले लोभ्याउँथ्यो त्यो बेलामा र अन्जानमै बिगार गर्न पुग्थेँ म तर अलि ठुलो भएर म साँच्चै किसान भएको थिएँ । मलाई लसुन , प्याज , खुर्सानी ईत्यादी रोप्न र फलाउन ज्यादै जाँगर चल्थ्यो भलै त्यति राम्रो कृषि उत्पादक बनिनँ म र पनि अन्नबाली , नगदे बाली लगाउने देखि लिएर हाँस , कुखुरा पाल्ने , खरायो पाल्ने जस्ता कामहरु गर्नु मेरो बाध्यता र रहर दुबै थियो ।

छेउ छेउमा हाल् बिचमा गन्धैले मर्छ

एकदिन म किसान नै छँदा ( भन्नाले खेती किसानी गरेर घरमा बसेको बेला ) दशैंको बेलातिर पसाएर फूल खेल्दै गरेको धानलाई पतेरा ( धानमा लाग्ने किरा खासमा हामी पँधेरा भन्थ्यौं ) बाट जोगाउनको लागी एक प्रकारको धुलो औषधी ( विषादी ) यौटा थाङ्नोमा बाँधेर बिहानको शीत छँदै धानबारी भित्रसम्म पसेर सानो लौरोको ट्याक ट्याक कुट्दै छर्दैथिएँ । त्यसैबेला छिमेकमा एकजना भेना ( भेना भन्थें म ) आईपुगे र सोधे , ' ओ ए दीपके के गडेको ? ' उनको बोली लट्याङ्ग्रो परेको थियो । मैले निक्कै याद गरेको थिएँ उनले बोल्दा यौटै अक्षरलाई पनि एक ठाउँमा एक तरिकाले र अर्को ठाउँमा अर्को तरिकाले उच्चारण गर्थे ।

' धानमा दबाई हालेको हौ भेना ।' जवाफ दिएं मैले ।

' ठुक्क ! मडा , टैले त ढान सबै बिगाडिस् नि , टेस्टो शीतमा पनि ढानबाडीमा पस्नुहुन्छ ? ' उनले मलाई गाली गरे ।
आफुभन्दा जेठापाका मान्छे , कुरा सुन्यो भने केहि त सिक्न सकिन्छ भन्ने लाग्थ्यो मलाई त्यसैले सोधेँ , ' हो र भेना ? कसरी हाल्ने त दबाई ?'

' भिट्र पस्नै पर्डैन नि , ठेउ ठेउमा हान् न , बिटमा कन्डैले मड्छ । ' उनले ' छेउ छेउमा हाल् न बिचमा गन्धैले मर्छ भनेका थिए । ' उनको अगाडी त म हाँस्न सकिँन जिस्क्याए जस्तो हुने तर यो कुरा सम्झँदा भने अझैपनि हाँसो लाग्छ ।

म कसैको फोटोकपि कि कोही मेरो फोटोकपि ?

मँशिरे चतुर्दशी अर्थात् बाला चतुर्दशीमा गाउँबाट सतबीउ पलबीउ छर्न सतासी धाम अथवा अर्जुनधारा जाने गर्थें र हामी केटाहरु पनि जान्थ्यौं रमाईलोको लागी । रातभरी धाममा किर्तन भजन , नाचगान गरेर बस्दा रमाइलो पनि हुन्थ्यो । सतासी धाम पछि पछि गएर निक्कै बद्नाम भएको थियो । जाँड रक्सीको ब्यापार , सेवन र मारकाटले । त्यसपछि सबै अर्जुनधारा जाने गर्थें । एकपल्ट ( साल याद भएन ) हामी चार पाँचजना केटाहरु गएका थियौं । मन्दिर परिसरमा , किर्तन गर्नलाई बनाई एको विषेश स्थलमा भएको भक्तजनको घुईँचो छिचोलेर आधारात तिर हामी बाहिर निस्कियौं , मन्दिर परिसरभन्दा बाहिर गएर चुरोट तान्न लागेका थियौं हामी ।

एकातिर मन्दिरहरु अनि स सानो पोखरी र पोखरीको अर्को छेउतिर सुपारीका रुखहरु रहेको छ त्याँहा हामी सुपारीको रुखतिर गयौं । त्याँहा ३ जना स्थानिय किशोरहरु झ्यास पराल भेला गरेर आगो बालेर बसेका थिए । चुरोट तानिसकेर तिनै फुच्चेहरुसँग एकछिन बस्ने विचारले हामी त्यतै लाग्यौं । मैले साथीहरुलाई ल यि फुच्चेहरुको दिमाग चाटुँ भनेको थिएँ पहिल्यै त्यसैले उनिहरुको छेउमा पुग्दा मैले यौटालाई , ' ओई बिर्खे ? तँ के गर्दैछस् हँ यहाँ ? सुत्नुपर्दैन घर गएर ? ' अलि हपारेझैं भनें ।

मैलिएर काति भएको सेति शर्ट र निलो पाइन्ट अनि हवाई चप्पल लगाएको उसले स्कूलको युनिफर्म लगाएको हो भन्ने बुझ्न गाह्रो थिएन । उमेरले नौ दश वर्षको लाग्ने त्यो फुच्चेले ङिच्च दाँत देखाउँदै अझ दुईहात पनि जोड्दै भन्यो , ' नमस्ते दीपक दाई , कैले आउनु भ'को ? '

म सँग हुने साथीहरु एकैचोटी डल्लो परिपरि हाँस्न थाले । मैले पनि थाम्नै सकिनँ हाँसो । कहाँको फुच्चेको दिमाग चाट्न गएको म , उल्टै नमस्ते दीपक दाई भनेर उसैले पो मेरो दिमाग चाट्न लागेको हो कि जस्तो । उसले मलाई चिन्दैन म चाँही उसलाई चिनेझैं गरेर , बरु नाम बिर्षेछु तेरो भनेर फुच्चेसँग रमाइलो गर्न मैले आफ्नो दिमागमा बनाएको प्लान एकैतालमा चौपट भयो । त्यसैले नयाँ सिर्जित परिस्थिती अनुशार उसलाई सोधें , ' कसरी चिनिस् तैंले मलाई ? मैले त विर्षिस होला पो भनेको । '

' चिनिहाल्छु नि तपाईंलाई , आज म तपाईँहेर्को घरमा मोई लिन ग'को थें , तपाईँको बुबाले दिनुभएन । '

तिनिहरुले बालेको झ्यासको धुनि ताप्दै केहिबेर कुरा गर्दा थाहा भयो । उसको गाउँमा दीपक भन्ने कोही केटा रहेछ ,काठ्माण्डौमा पढ्ने , उ हेर्दा म झैं देखिन्थ्यो क्यारे र अझ गजबको कुरा त त्यो फुच्चेको नाम पनि विर्ख नै रहेछ । पछि मैले म तेरो दीपक सञ्जेल ( उसले मेरो थर सञ्जेल भनेको थियो ।) होइन भन्दा पनि पत्याएको थिएन उसले ।

हाम्रो खाडीले पनि पश्चिमतिर पानी पार्छ ?

त्यसदिन म 'मन बाढी हो बाढी मन हैन' भन्ने कथा लेख्न बसेको थिएँ । असार बित्दो बेला भएपनि खडेरीले धर्तीमात्र हैन मान्छेकै आत्मा चर्काईसकेको थियो । पानी कैले पर्ला र खेतमा धानको गाभो टाँस्ने हो भनेर सारा गाउँ आकाश हेर्दो थियो । महङ्गो तेल किनेर पम्पसेटको पानीले धान रोपेको खेतपनि मानचित्रमा बिभिन्न राष्ट्र , अञ्चल , जिल्ला ईत्यादीको सिमाना कोरेझैं भएको थियो । दुख त मलाई पनि लाग्थ्यो पानी नपरेकोमा तर दुखि भएर केहि गर्न नसक्ने अवस्था थियो । त्यसैले म धेरै वर्षा भएर बाढीले पिरोलेको कथा लेख्न मस्त थिएँ । घरमा त्यसबेला आमा र म मात्रै थियौं । म आँगनमा भएको रबरको रुखको सिँयालमा मुढामा बसेर बेञ्चमा कपि राखेर लेख्दैथिएँ । आमा तरकारी केलाउँन मेरो छेउमा आउनुभयो र बेञ्चकै एकापट्टी बस्दै सोध्नुभयो , ' भाई यो मनसुन भनेको के हो ? '

लेख्दै गरेको कथाबाट ध्यान हटाएर एकछिन के भनेर सम्झाउने भन्ने सोचें र उल्टै सोधेँ , ' कहाँ सुन्नुभयो मनसुन भनेको ? '

' रेडियोमा सुनेको , बङ्लाको खाडीबाट मनसुन आउँदैछ रे अब पानी पर्छ रे । ' जवाफ दिनुभयो आमाले ।

' मनसुन भनेको यौटा पानी पर्ने प्रक्रिया हो । हाम्रो देशको पुर्वतिर बंगालको खाडी छ , त्यो मनसुन त्यहीँबाट उठेर आएर मात्र यता पानी पर्छ । ' ठ्याक्कै मनसुन भनेको के हो भन्ने सम्झाउन मलाई नै आएन र त्यसै टारेँ ।

आमा एकछिन चुपलाग्नुभयो । मेरो जवाफले चित्त बुझेन क्यार भनेर म आमाको अनुहारमै हेरिरहेको थिएँ ।

' त्यसो भए हाम्रो खाडीले पनि पच्छिमतिर पानी पार्दो हो नि ? ' आमाको जिज्ञासाले मरुञ्जेल हाँस उठ्यो मलाई । म सँगै आमापनि हाँस्न थाल्नुभयो ।

हाम्रो खाडी तिनचार जनाको खेतमा पर्नेगरी फैलेको चारपाँच बिगाहा जतिको पानीको दहलो थियो । हाँसो थामिएपछि मैले सम्झाएँ । बङ्गालको खाडी भनेको हाम्रो जस्तो खाडी हैन ठुलो समुन्द्र हो भनेर ।

Friday, November 07, 2008

कविता : म दीपक र दीपकहरु




म दीपक
तिमीले जलायौ
र जल्दैछु शनै: शनै:
रित्याउँदै आफुलाई
दियालोको तेल जस्तै
छोडेर केहि उज्यालो
तिमीलाई
हेर
मेरा ईच्छाहरुको पच्छ्यौरी
लहराएको छु धुँवासँगै
तरँग फैलाउँदै किरणहरुको
मेटीरहेछु
आफुलाई पल पल
यौटै उज्यालो सत्यको खातिर
सत्य - यहि उज्यालो
जहाँ मैले जलाएर आफुलाई
तिम्रो दृश्यमा
पवित्र निर्मल सोचको
सुन्दर सानो सँसार
पारिरहेको छु
सत्य - यहि उज्यालो
जहाँ मैले रित्याएर आफुलाई
विलिन हुनेछु अँध्यारोमा
छोपिनेछ मेरो निँती
सानो सुन्दर संसार
जव म निभ्नेछु
दियालोमा तेल सकिएर
त्यसैले आउ
यहि उज्यालोमा अहिले नै
जलाईराख
दीपक तिमीभित्रको
र छोड प्रेरणा उज्यालोको
ता कि
प्रकाश छर्दै सुन्दर संसारमा
जलिरहुन् हरदम
लाखौं लाख दीपकहरु ।

अघिल्लो साता माईसंसारमा फोटोमाथी कविता लेख्ने क्रममा लेखेको यो कविता बल्ल आज यहाँ राखेको छु ।