Monday, October 22, 2012

दशैं गफ : दशैं, फेसबुक र कविताहरु

उत्ताउलिनु केहि छैन । दशैं नै त हो आएको जो हरेक वर्ष आउने गर्छ ।

यसपाली दशैंको मेरो एउटा स्टाटस यस्तो थियो फेसबुकमा । भन्नलाई जे भनेपनि दशैं मनाउने परम्परा र संस्कृतिमा हुर्केका हामी मनुख्खेहरुलाई तर दशैंले नछोइ कहाँ छाड्छ ? हो छुने काइदा भने फरक फरक होला बरु; भूगोलको, मनको र ब्यावहारहरुको अवस्थाहरु अनुशार । म प्रशान्त महासागरले वेष्ठित धर्तीकै सूदुर पश्चिममा रहेको हवाईयन द्विपहरु मध्येको यौटामा छु । भाषा, संस्कृति लगायतका सामाजिक गतिविधीहरुको दृष्टिले म अनकण्टारमा छु भने हुन्छ । दशैं आयो है भन्ने सम्म अर्को कुनै नेपालीहरु वरपर छैनन् । त्यसैले दशैंको कुनै खास गतिविधीहरुमा सामेल हुने कुरा पनि छैन । आफ्नो यहि वास्तविकताको आधारमा पनि लेखेको हुँ मैले उपरोक्त फेसबुके स्टाटस । तर भनें नि, दशैंले भने जसरी भए नि छोएरै छाड्ने । जीवनमा आउन नसकेको दशैं यो सातसमुद्र पारीको गुप्तवासमा समेत मनमा भने आएको छ । र मनमा दशैं लिएर आउने माध्ययम चैं फेसबुक बनेको छ ।

सुर्ती, रक्सी जस्ता कुराहरुको महाअम्मलीले बरु अम्मल सेवन गर्न निक्कैबेरलाई छोड्ला तर यो फेसबुकको अम्मलीले छिनको छिनमा फेसबुकमा चिहाउन छोड्दैन । त्यै भएको छ मलाई । घरि पनि घरि पनि फेसबुकमा चिहाउँदै दशैं सम्बन्धि अरुका स्टाटसका विभिन्न कुराहरु पनि हेर्न भ्याएपछि मनभरी दशैंको उज्यालो भरिएको छ । मनभरीको यहि उज्यालोमा आज दिउँसो फुर्सद निकालेर दशैं केलाउन थालें । सानो छँदाको दशैं, अलि ठुलो हुँदाको र हालसालैका दशैंहरु काँसघारीमा कोटेरो जस्तै फित्रिक फित्रिक नाच्न थाले मनमा । सानाका कुरा छोडौं सबैसँग सानओ हुँदाको सम्झनाहरु थानका थान उपन्यास लेख्न पुग्ने गरेर हुन्छन् । हालसालैका दशैंहरुमा भने म बडा मौसमी कवि बन्ने गर्दो रहेछु र प्रायस सालहरुमा लेख्दो रहेछु दशैं शिर्षकमा मौसमी कविता । सम्झेर ल्याउँदा खुशी पनि लाग्यो । मौसमी नै सही, दशैंको मौसमले मलाई कविता लेखाउँदो त रहेछ । यो मौसमको रौनक फेसबुकमा अझ देख्न मिल्छ । दशैं कविता लेख्ने म जस्ता मौसमी कविहरु फेसबुकमा सायदै गनिसाध्य होला । नहोस् पनि किन आँखीर कविता पनि त दशैं जस्तै रमझम न हो । अथवा यसरी भनौं - कवि मनहरुलाई दशैं मौसमी कविता हो भने कविता सँधैंको दशैं हो । यहाँनेर दशैं चाडप्रति कारणवश पूर्वाग्रह राख्नुहुने मनहरुलाई म दशैंको शट्टामा अर्को आफुले मनपराउने वा मान्ने चाड राखेर बुझ्नुहुन सविनय अनुरोध समेत गर्न चाहन्छु । मैले चैं दशैं नै आफुले मान्ने विशेष चाड भएकोले दशैं नै लेखें ।

जे होस् । मैले प्रायस दशैंहरुमा कविता चैं लेखेकै हुँदोरहेछु र यसपाली पनि फूलपाती भन्दा अगाडिनै लेखिसकेछु दशैं कविता ।

शिर्षक छ - यो दशैं हो

भूमिका केहि थिएन
अचानक
खुकुरी सम्झिएँ
निरिह खसीको गर्दन सम्झिएँ
र सम्झिएँ - यो दशैं हो ।
 
    - सायद भूमिका यहि थियो ।

हुनपनि -
अर्थोक केहिले बताओस् नबताओस्
आँगनबाट एकोहोरो आउने
खसीको म्याँ म्याँले बताउँछ - यो दशैं हो
घरमा केटाकेटिहरु भए
तिनकै उज्यालोले बताउँछ - यो दशैं हो
केटाकेटिहरु नभए
घरमूलीको घुँडामा कुहिनो अडिएर
खप्परमा टाँसिएको हातले बताउँछ - यो दशैं हो ।

दशैं न हो
यो रवाफले पनि आउन सक्छ
धेरथोर खुशी पनि ल्याउन सक्छ
सर्लक्क तिम्रो अनुहार पढेर
अदवले तिमीलाई सोध्न सक्छ
'खसीको गिदी जिब्रो भुटेर
कुन रक्सी खाने हो यसपाली?
हात पनि त चिलाउँदै होला कौडा फ्याँक्न
कुन खालमा जाने हो यसपाली?'
छोड नियमले दिँदैन भन्ने कुरा
दशैंले आफैं जन्दछ आफ्नो नियम - यो दशैं हो ।

दशैं नै त हो
तिमी हामीले शरम मानेपनि
यो दशैं नै भएर आउँछ
लाज पचाउँछ
र गाल पारेर जान्छ ।

कहाँ सक्थ्यौ तिमी ढोका थुनेर छेक्न यस्लाई?
साइत पारेर तिम्रो घरको ढोका
निधारले ढक्ढक्याउँछ - यो दशैं हो
तिम्रो गोजी, गल्ला, बाकस, थैली
प्यारले टक्टक्याउँछ - यो दशैं हो ।


मेरा दशैं कविताहरुमा दशैंले गरिवीमा पार्ने प्रभावहरु नै प्रमुखताका साथ लेखिँदा रहेछन् । आफ्नै नयाँ पुराना दशैं कविताहरुमा घोत्लिएपछि थाहा पाएँ । म कि त गरिवीको ब्याथा कि दशैंको विकृतिलाई निशाना बनाउँदो रहेछु । फेसबुकमा थुप्रै अरु दशैं कविताहरुमा पनि देख्न पाइन्छ यहि कुरा । अभाव सायद हामीले भोगेको साझा पीडा भएर हुनसक्छ यसो भएको । र दशैं चाड मनाउनेहरुलाई पनि दशैंमा हुने व्यापक काटमार जस्ता साँस्कृतिक बिकृतिहरु ठीक नलागेकोले चाहिँ दशैंका विकृतिहरु प्रति कवितामा व्यङ्ग्य कोरिएको हुनसक्छ । तर पछिल्ला दशैंहरुले यस्ता जायज व्यङ्ग्य भन्दा अलि धेरै व्यङ्ग्य सहन थालेको छ । प्रहार नै सहन थालेको छ भनुँ न । व्यङ्ग्य र प्रहार दुबै उस्तै लाग्ने कुराहरु भएपनि त्यसमा टड्कारो फरक देखिन थालेको छ आजभोलीको दशैंमा ।

दशैंलाई हिन्दुहरुको मात्र चाड हो भनेर प्रहार गर्ने धेरैसाथीहरु फेसबुकमा भेटिन्छन् । हो दशैं हिन्दु धर्मावलम्बीहरुले नै मनाउने चाड हो तर वर्तमानको हाम्रो समाजमा हिन्दुवादी चाड भएको भनिएरै दशैंमा हिन्दुहरुले कटाक्ष खपिरहनु पर्ने कुरा कतिको युक्तिसंगत देखिन्छ? अझ क्षेत्री बाहूनहरुलाई दशैं चाड मनाउने भएकैले प्रहार गर्नु कति न्यायोचित हुनसक्छ? जबकि अहिन्दुहरुले पनि सामाजिक सद्भाव राख्दै दशैं मनाएको देखेको छु मैले र त्यो सर्वथा सुन्दर देखेको छु । जानीजानी वा नजानेरै लहै लहैमा यसरी यौटा संस्कृतिलाई ढलाउन प्रहार गर्ने फेसबुकका साथीहरुलाई सम्झाउँन त सायदै सकुँला म; किनभने उनिहरु भित्र दशैं पर्व तथा हिन्दु संस्कृति प्रति गहीरो पूर्वाग्रह भरिएको छ तर अनुरोध के गर्न चाहन्छु भने आफ्नै तथा आफ्नै वरिपरीका संस्कृतिमा भएका विकृतिहरुलाई सुधार हुने गरेर प्रहार गरौं । त्यसबाट सबैको भलो होला तर समूल संस्कृतिलाई नै नष्ट गर्न प्रहार नगरौं त्यसले कसैको भलो गर्दैन ।

दशैं सम्बन्धि यो ब्लगको खुराक लेखिरहँदा मैले फेरि अर्को यौटा फुच्चे दशैं कविता लेखेर फेसबुकमा टाँसिसकेको थिएँ ।

दशैं
वनावटी अभावका गतिला कथाहरु
फेसबुकका भित्तामा भित्ताहरुमा
अद्वितिय कविता रुप धारण गरी
फैलंदो छ फैलंदो छ ।

दशैं
सुँगुर, हाँस, खसी, च्याँग्रा, राँगा
केहि नछोड्ने मैखासुरको सेतो दाँत जस्तै
शान्ति प्रियभै फेसबुकको पर्खालमा
टासिंदो छ टासिंदो छ ।

दशैं
चित्रका विचित्र अक्षता जमरा सहित
लाग्ने नलाग्ने, हुँदो नहुँदो आशिष भइ
फेसबुकका झ्यालबाट निधारहरुमा
थापिंदो छ थापिंदो छ ।


अन्त्यमा, दशैं २०६९ को हार्दिक मंगलमय शुभकामना सबै दशैं मनाउने नमनाउने मेरा साथीहरुलाई !

Friday, October 12, 2012

लघुकथा : एकदिन

'आज के भो र किताब नलि' आइस्?' एकदिन उसको कानको जरी उखेल्दै हेडमास्टरले सोधे ।

'हेडसर, हाम्रो भर्‍याङको तीन्टा खुट्किलो भत्केको छ । म किताब लिन माथि जानै सकिंन ।' उसले आत्मविश्वासका साथ कहानी रचेर सुनायो ।

'घरका अरुलाई किताब झिक्देओ भन्नु पर्दैन त?' हेडमास्टरले कानमुन्तिर ठ्याम्का लगाए ।

'आमा पानी लिन ग'कि थि'न्, घरमा अरु क्वैपनि थे'नन् ।' रातो भएको अनुहारले उसले अर्को छोटो कहानी सुनायो ।

हेडमास्टर र उसको बिच भएको यो चलचित्रमय दृश्यले कक्षाकोठामा मनोरन्जनको वातावरण बनाईरहेथ्यो । अरु विद्यार्थीहरु हेडमास्टरको केरकार लम्बिए आफु सजायबाट बच्ने कुरामा मख्ख हुँदै मनोरन्जन लिँदैथिए । हेडमास्टरलाई पनि पढाउनु समेत नपर्ने गरेर मनोरन्जन प्राप्त भैरहेको हुँदो हो । सम्झिएझैं सोधे, 'अनि अस्ति किताब नल्याउँदा तैंले लिस्नो लडो' भनेको हैन? अस्तिको लिस्नो आज कसरी भर्‍याङ भयो?'

उसले पिर्लिक्क आँखा पल्टाएर हेडमास्टरको आँखामा जुधायो । चोर त यसै छँदैथिएँ पक्रा पर्ने भएँ भन्ने लागेको हुँदो हो उसलाई । हेडमास्टरले फेरि जोडले कन्सिरी उखेले ।

'अनि त्यो लिस्नो लडेपछि हाम्रो बाउले भर्‍याङ बनाए नि त ।' किन्चित डर नमानी उसले फेरि कहानी थप्यो ।

'तँलाई लठुवा! ढाँट्छस्? भर्‍याङको खुट्किला भत्केर किताब ल्याउन नसक्नेले त्यो झोला कसरी झिकेर ल्याइस्?' माझ टाउकोमा एक पड्याङ्ग भेट्यो उसले ।

'झोला त मैले हिँजै धो'को थें अनि सुका'को ठाउँमै विर्षेछु राती उठाउन ।' जवाफमा अर्को कथा अघि नै तयार गरेछ उसले फट्ट सुनायो ।

हरेकदिन जसो उ र सरहरु माझ मञ्चन हुने नाटक यस्तै हुन्थ्यो । किताब ल्याउन विर्षिन्थ्यो या जानी जानी ल्याउँदैनथ्यो तर झोला सँधै बोक्थ्यो उ । झोलामा पुराना टर्चलाइट, ब्याट्री, सलाईका डिब्बा ईत्यादि सामानहरु हुन्थे मानौं उ कुनै खुद्रा पसलको सेल्सम्यान हो र सामान बेच्न हिंडेको छ ।

सरहरुको हातको पिटाई नखाएको दिन सायद उसको जिन्दगीको सबसे लोदर दिन हुन्थ्यो । तर पढाईमा उसको तेज कक्षामा मन आँक्न मिल्ने थिएन । उ प्रथम, दोस्रो, तेसो कहिल्यै भएन तर फेल पनि कहिल्यै भएन । त्यहि स्कूलबाट एसएलसी दिउन्जेलसम्म उसको आदत साबिक नै थियो । गृहकार्य नगर्ने, किताब बोकेर नआउने, सामान्य उपध्रो गरिरहने ।

एसएलसीमा मुश्किलले एकाध विद्यार्थी प्रथम श्रेणीमा उतिर्ण गराउने त्यस स्कूलमा दोश्रो श्रेणीमा एसएलसी पास गरेर उ कता गयो कसैले थाहा पाएन ।

वर्षौंपछि एकदिन -

जिल्लाको एउटा साहित्यिक संस्थाले जिल्लाभरीका साहित्यकारहरुलाई बोलाएर अभिनन्दन गर्ने कार्यक्रम बनायो र त्यहि स्कूलको मञ्चलाई कार्यक्रम स्थल छानियो । उनै हेड मास्टरले जिल्लाभरीका कवि, लेखकहरुलाई सम्मानपत्र दिने र खादा पहिर्याउने जिम्मेवारी पाएका थिए ।

कार्यक्रममा सबभन्दा पहिले यसैवर्ष साहित्यमा देशकै सबभन्दा सम्मानित पुरस्कार पाएर चर्चाको शिखरमा रहेका युवा कथाकारलाई बोलाईयो । उनको बारेमा आयोजकका तर्फबाट कसैले मनग्गे चर्चा गरेपछि हेडमास्टरको बाहुलीबाट सम्मान पत्र र खादा अर्पण गरेर उनलाई केहि बोल्न लगाईयो ।

युवा कथाकारले आफ्नो गला अवरुद्ध पार्दै भने, 'म आज मलाई सानैदेखि कथा रच्न बाध्य बनाई प्रेरणा दिनुहुने गुरुवरको हातबाट यो सम्मानपत्र थाप्न पाउँदा भाग्यमानी बनेको छु ।............' कथाकार आफ्नो स्कूलको वाल्यकालका घट्नाहरु बताउँदै गए; हेडमास्टरको आँखा कहिल्यै किताब नल्याउने त्यो लठुवा विद्यार्थी पसेर भरिंदै आयो ।

Wednesday, October 10, 2012

कविता : पुतलीपाखा

सालन्ने आउँथ्यो हूरी
र उडाएर लैजान्थ्यो मेरो घरको छानो ।

ल्यु सूनले जस्तै मैलेपनि
सालन्ने भेला गरेको छु
अलिकति करेसाको रुखबाट
अलिकति छिमेकीको आँगनबाट
अनि अलिकति आफ्नै मकैबारीबाट
आँधीहूरीमा छिरोलिएर भिजेको
मेरो घरधूरीको खरपराल ।

कस्ले निको मान्न सक्छ
मसमसी निदाएर मीठो सपना देख्न चाहँदा
धूरी चुहिएर कानमा पानी पसेको?
कतिञ्जेल थाप्न सकिन्छ
यो कुना र उ कुना ओच्छ्यान पल्टाउँदै
रातभरी जागेर सिह्रानीमा कसौंडी?

घुर्यानमा आउने एकविहानको घाममा
ओल्टाईपल्टाई सुकाएझैं गरेपछि
आफैं चढेर छाएको छु मैले
आँधीको थप्पडले रुँदै गरेको छानो
बाँधेको छु धूरी अलि कसेर
थिचेको छु पुतलीपाखा भाटा थपेर ।

कालान्तरमा -
खर पराल धूरीमा चढाउँनै छाडिए
चोयाबाताहरु काढ्नु परेन
दाँती काट्नु परेन
भाटा खिप्नु परेन ।

कालान्तरमा -
घर छँदैछ तर
छानो छाउँने चिन्ता मेटियो
धूरी हराएर गयो
पुतलीपाखाहरु बाँकि रहेनन् ।

आँधीहूरी आइरह्यो उसैगरी
सालन्ने तर
क्षति फरक पर्दै गयो
उड्दै जानथाले मनका धूरीहरु
बढ्दै जानथाले मनका दुरीहरु ।

पूर्वपश्चिम फर्किएको धूरी भएको
सिङ्गै देशमा म
सालन्ने आँधीले उधारेको धूरी मार्दै
सालन्ने हूरीले झारेको पुतलीपाखा छाउँदै
पूर्वको पुतलीपाखामा हुर्केको थिएँ ।

आज आँधीले मनहरु उडाउँदा
कसैगरे पत्तो पाउँदिंन
कता फर्केको छ मेरो मनको धूरी?
कहाँनेर छ मेरो मनको पुतलीपाखा?