Wednesday, October 10, 2012

कविता : पुतलीपाखा

सालन्ने आउँथ्यो हूरी
र उडाएर लैजान्थ्यो मेरो घरको छानो ।

ल्यु सूनले जस्तै मैलेपनि
सालन्ने भेला गरेको छु
अलिकति करेसाको रुखबाट
अलिकति छिमेकीको आँगनबाट
अनि अलिकति आफ्नै मकैबारीबाट
आँधीहूरीमा छिरोलिएर भिजेको
मेरो घरधूरीको खरपराल ।

कस्ले निको मान्न सक्छ
मसमसी निदाएर मीठो सपना देख्न चाहँदा
धूरी चुहिएर कानमा पानी पसेको?
कतिञ्जेल थाप्न सकिन्छ
यो कुना र उ कुना ओच्छ्यान पल्टाउँदै
रातभरी जागेर सिह्रानीमा कसौंडी?

घुर्यानमा आउने एकविहानको घाममा
ओल्टाईपल्टाई सुकाएझैं गरेपछि
आफैं चढेर छाएको छु मैले
आँधीको थप्पडले रुँदै गरेको छानो
बाँधेको छु धूरी अलि कसेर
थिचेको छु पुतलीपाखा भाटा थपेर ।

कालान्तरमा -
खर पराल धूरीमा चढाउँनै छाडिए
चोयाबाताहरु काढ्नु परेन
दाँती काट्नु परेन
भाटा खिप्नु परेन ।

कालान्तरमा -
घर छँदैछ तर
छानो छाउँने चिन्ता मेटियो
धूरी हराएर गयो
पुतलीपाखाहरु बाँकि रहेनन् ।

आँधीहूरी आइरह्यो उसैगरी
सालन्ने तर
क्षति फरक पर्दै गयो
उड्दै जानथाले मनका धूरीहरु
बढ्दै जानथाले मनका दुरीहरु ।

पूर्वपश्चिम फर्किएको धूरी भएको
सिङ्गै देशमा म
सालन्ने आँधीले उधारेको धूरी मार्दै
सालन्ने हूरीले झारेको पुतलीपाखा छाउँदै
पूर्वको पुतलीपाखामा हुर्केको थिएँ ।

आज आँधीले मनहरु उडाउँदा
कसैगरे पत्तो पाउँदिंन
कता फर्केको छ मेरो मनको धूरी?
कहाँनेर छ मेरो मनको पुतलीपाखा?

No comments: