Friday, November 09, 2007

देवकोटा जयन्तीको कविता : तिहार


देवकोटा जयन्ती एक्लै मनाउंदा कस्तो हुन्छ ? मैले तिहार शिर्षकमा यहि यौटा कविता लेखेर स-सम्मान देवकोटाको सम्झनामा ९८ औं देवकोटा जयन्ती मनाएको छु _______

झिलीमिली अहो ! हेर तिहार आयो फेरी
घर घर चारैतिर उज्यालोले घेरी ।
ढोका झ्याल सजिएको सयपत्री माला
पटाका र झिर्झिरेमा रम्छन लालाबाला ।
लहर लगाई घरैभरी दियोबत्ती बाल्छन
आँगनमा भैलेनीले भाखा मिठो हाल्छन ।
देउसे आई भटट्याउछन कथा मिठो हाल्दै
रात कालो अँध्यारोमा पुल्ठो राँको बाल्दै ।
सेल पाक्यो गाँउघरै वास हरहरी
तयार छ घरघरै पाक थरी थरी ।
सप्तरंगी टिका लामो लाई निधारमा
चेली भेट्दा दाजुभाईको खुशी अधरमा ।
पूजी काग कुकुर पूजी पुजी गोरु गाई
बैनी दिदी कति खुशी पूजा गर्दा भाई ।
डिलैभरी आँगनमा मखमली सरी
फुलाईरहोस तिहारले खुशी सँधैभरी ।

तिहारको शुभकामना



शुभ दीपावली २०६४ को हार्दिक मंगलमय शुभकामना ।

त्यसो त नेपाल छाडेदेखि नै देउसी भैलो , देउसीनाच ईत्यादी तिहारको रमझम छाडेर आ ईसकियो तर पनि कोलोराडोमा रहंदा नेपाली समाज ठुलै भएकोले तिहारमा भाईटिका मनाउन समेत पाईन्थ्यो तर यसपाली भने म हवाईको Maui मा भएकोले तिहारको रमझम भन्दा धेरै टाढा भएको छु । Maui को हावापानी र बनस्पती भने झापाको संग मिल्दोजुल्दो रहेछ । हवाईको सौंदर्य तस्विरमा उतारेर मैले मेरो फोटो ब्लगमा राख्ने विचार गरेको छु । यहि ब्लगमा पनि मेरो फोटो ब्लगमा पस्ने लिंक छ अथवा http://deepakkophoto.blogspot.com/ मा पसेर हेर्न सक्नुहुन्छ ।