Wednesday, September 28, 2011

दसैं गफ र कविता : दसैं आएको छ

आज घटस्थापना । दसैं आइसक्यो कि आउँदैछ त्यो कस्ले कति अवधिलाई दसैं भन्ने भन्नेमा भरपर्ला । जे भएता पनि हामी यतिखेर दसैंको संघारमा छौं । दसैं भित्र छौं भने पनि फरक नपर्ला र हामी एक प्रकार खुसीमा छौं ।

स्वभाविक रुपमा दसैंमा हामी खुसी हुने यौटा पक्ष मार हानिने परम्परा पनि हो । सानोमा यस्मा म पनि खुसी हुन्थें र अलि ठुलो भएर सामेल हुन्थें । परम्परागत यस्ता कुराहरु यो सही हो र यो गलत हो भन्ने लाग्नु एकातिर हुन्थ्यो मेरो लागी । समाजमा अथवा परिवारमा आफुले नचाहँदा नचाहँदै पनि यस्ता थुप्रै कार्यहरुमा सहभागी हुनुपर्ने हुन्छ । गलत लाग्दैमा विरोध भनेर तुरुन्त विरोध गर्ने या वहिस्कार गर्नेतिर लाग्ने हो भने त्यो समाज स्वस्थ्य भएर हुर्कंदैन पक्कै । त्यस्को उदाहरण आजको हाम्रै समाज; अझ पुरा देश नै छ । परम्परागत यस्ता गलत प्रथाहरु त्यागेर नयाँ कुराहरु ग्रहण गर्न कुनै पनि समाजले केहि पुस्ताहरु खर्चिनु पर्ने हुन्छ । मेरो हजुरबाको पालाको परम्परागत कट्टरता मेरो बुबाको पालामा केहि होलो खुकुलो भयो भने मेरो पालोमा र मेरा सन्ततीहरुको पालामा अझ धेरै होलो खुकुलो हुँदै जानेछ । हिँजो दसैंका दिनहरुमा बलि दिइने कार्यहरुमा म आफैं नै सहभागि हुने गरेको भएता पनि आज मलाई त्यसो गर्नु आवश्यक लाग्दैन । यो समयले गराएको वैचारिक परिवर्तन हो ।

दसैंमा मार हान्ने अर्थात पशुबलि दिइने परम्परालाई सहि हो कि गलत भनेर अनेकौं वहसहरु समेत हुने गर्छन् । निर्क्यौलका साथ कुनैपनि परम्पराका कुनैपनि कुरालाई तुरुन्त यो सही हो र यो गलत हो भन्नु बुद्धिमानि होइन र त्यसले तुरुन्त केहि फरक पनि पार्दैन भन्ने लाग्छ मलाई ।

फेरिपनि दसैंको संघारमा आँगन आँगनमा बलिको नाममा हुने पशुबधलाई निरुत्साहित गर्न पेश छ यो कविता -




दसैं आएको छ

लामो दापभित्र
धारिलो खुँडा
छट्पटाईरहेको छ
दाप नभएका
गरीबगुरुवा झैं
नाङ्गा खुकुरीहरु
उत्ताउलिएका छन्
ठुला मान्छेहरु
हँसिला छन्
केटाकेटीहरु
चुल्बुलिएका छन्
खोरमा
भर्खरै दाना खाएको
खसीलाई केहि पत्तो छैन
शान्त, चुपचाप
उ मस्त उघ्राईरहेको छ
हिँजोअस्ति जस्तै
आँगनको एकातिर
ठुलो खड्कुलामा
पानी उम्लिसकेको छ
खुँडा निस्कनेछ दापबाट
पूजिनेछन्
नाङ्गा खुकुरीहरु कर्दसमेत
काटमार चल्नेछ
सँधै शान्ति चाहनेहरुको
सर्वदा शान्त आँगनको एक कुनामा
बग्ने छ आलो रगत
तरपनि घर आफैं
केटाकेटी झैं
उज्यालिएको छ
हो त्यो घरमा
दसैं आएको छ ।


र अन्त्यमा मेरो ब्लगमा पाल्नुहुने सबै मित्रगणहरु लगायत धर्तीभरि छरिएर रहनुभएका सम्पूर्ण नेपालीहरुलाई दसैंको हार्दिक शुभकामना !

Monday, September 26, 2011

गजल : बन्चरो पर्या छ

पर्या छ चोट उसलाई दह्रो पर्या छ ।
उसको आफ्नै खुट्टामा बञ्चरो पर्या छ ।

खस्न लाग्या पहरोको ठिक मुनि छ उ,
उस्को हातमा तान्नै पर्ने लहरो पर्या छ ।

छोप्दैथियो आफ्नो लाज आफ्नै हातले उ,
धन्न उसको शरिरमा धरो पर्या छ ।

विर्षिएछ माथि चढ्दा साथमा पानी लिन,
पुग्नै नपाई शिखरमा उ खरो पर्या छ ।

सार्यो उस्ले बेर्ना तर हुर्काउला कसरी,
ठिक मुसाकै दुलोमाथि जरो पर्या छ ।

छट्पटिंदो छ अझ त्यो मर्यो भन्थे सबै,
किन मर्थ्यो त्यो त खालि अधमरो पर्या छ ।

 

त्यसो त ब्लगमा अर्को यौटा मिती अंकित गर्न उपयुक्त यहि लाग्यो । केहि गफहरु लेख्ने विचार नभएको होइन तर आकारमा ठुला/लामा कुराहरु लेख्ने धैर्यता पनि अब सिलासंगेलो गर्नुपर्ला जस्तो भएको छ ।

त्यसैले अहिलेलाई यहि गजल भयो आगे देखा जाएगा !!

Tuesday, September 20, 2011

गीत : म रुन सकिंन कैले

सबै आँसुहरु मेरो घरैमा छोडें कि मैले
प्रिय रुन्छिन् हरेक साँझ म रुन सकिंन कैले ।

 
यौटै चन्द्रमा एकै समयमा
दुई कुनाबाट उहि धरतीको
हेर्दै टोलाउनु नियति यो हो कि
या त अभिसाप हो यो पिरतीको
दुख्ने मुटु पनि मेरो घरैमा छोडें कि मैले
प्रिय रुन्छिन् हरेक साँझ म रुन सकिंन कैले ।

 
जुन मायाले घरै छोडाएर
ल्यायो अपरिचित संसार माझ
त्यहि मायाले घर सम्झाएर
डाकिरहेको छ पल पल आज
पोल्ने मनै पनि मेरो घरैमा छोडें कि मैले
प्रिय रुन्छिन् हरेक साँझ म रुन सकिंन कैले ।
*******

यो गीत केहि महिना अगाडिनै लेख्न सुरु गरेको या लेखिसकेको हुनुपर्छ मैले तर लेखेर कहाँ थन्क्याएको थिएँ थाहा भएन । यसको स्थाई मात्र मैले फोनको नोटमा राखेको रहेछु ।

त्यो देखेपछि एकै समयमा धर्तीको दुई कुनाबाट यौटै चन्द्रमा हेर्दै छुट्टिनुको गुनासो गर्दै गरेको कुरा यौटा अन्तरामा लेखेको थिएं र मायाले नै परदेश हिंडाएको र मायाले नै घर बोलाएको कुरा अर्को अन्तरामा लेखेको थिएँ भन्ने स्पस्ट सम्झना भयो ।

अनेक खोजेँ; सेलफोनकै नोटहरुको कुनाकानी, कम्प्युटरको कुनाकानी देखि लेख्दै कोठाको कुनाकानीमा छोड्दै गर्ने कागजका टुक्राटाक्री समेतमा खोजें तर अहँ भेटिएन । एकपल्ट पुरा लेखिसकेको कुरालाई फेरि लेख्नु पर्दा साह्रै गाह्रो लाग्छ मलाई त्यसैले लेख्नको सट्टा खोज्नमै लागें म दोहोर्याई तेहेर्याई माथि उल्लेखित कुनाहरुमै तर अन्तत फेला पर्यो किचनको कुनामा कच्याककुचुक परेर केहि अँश च्यातिएर रहेको अवस्थामा ।

१०० डलरको नोट फेला पार्दा पनि म सायद त्यति खुसी हुन्न होला । जति यो आफैंले २/४ हरफ कोरेको कागजको टुक्रा फेला पार्दा भएँ । टुक्रामा स्थाईका दुबै हरफका अघिल्ला एक डेढ शब्दहरुमात्र बाँकिथिए भने अन्तराका प्रत्येक हरफका पछिल्तिरका एकदुई अक्षर थिएनन् । तर मैले खोजेको कुरा प्रयाप्त थियो त्याँहा । मैले त्यसलाई टिपेर त्यसको फोटो पनि खिचेको थिएँ ब्लगमा राख्छु भनेर तर त्यसमा लेखिएका मेरा आफ्नै अक्षर त्यसले किचनको फोहोर सफा गरेको दाग ईत्यादिले गर्दा ब्लगमा राख्न मन भएन ।

जे होस् - यौटा गीतले हराउँदै भेटिएर मलाई ब्लगमा जोडिने यो मौका दिएको छ ।

धन्यवाद त्यो कागजको टुक्रालाई !