Thursday, August 27, 2009

कविता : नौ टुक्राहरु

मैले नछोएको भए
किन पोल्थ्यो र मलाई ?
आत्था !!
तर थाहा पाएँ
पोलाई कम् से कम्
छोएर आगो । १
**
उहि अनुभुती
कत्ति मिठो शैशबको
अज्ञानी हुँदा
तर
नमिठो आज
ज्ञानी भएर । २
**
छ के ज्ञान
भकारीमा
तिम्रो मथिङ्गलको ?
आफैंलाई
के प्रश्न गर्ने ?
शँका लाग्छ । ३
**
धरोधर्म !
जून ओर्लिएन
तिमी आउँदा
मुस्कुराएँ तर म
देखेँ
जून त्यहिँ थियो
तिमी जाँदा । ४
**
काँधमै छ
हतियार
पर्दैन अब
यौटा खुट्टा टेक्न
पखेँटा निकाल्न
भाले जुधाईमा । ५
**
उ त्यही त हो
पख्लास् !
चोर औंला देखाएर
कस्ले कस्लाई भन्ने ?
कृतघ्न मान्छे । ६
**
तिम्रै कुरा फेरी
चल्छ भुमरीझैं
नगरुँ भन्छु
आँखिर
म पनि त मान्छे । ७
**
चिन्न सक्यौ भने
काट्टिकुट्टी
रुप यहि
तर भोलीदेखि
देख्नेछौ
अनुहार अर्कै । ८
**
मान्दै नमानेपछि
चार कोण चारै दिशा
हिँडीरहेछु म
एकनाश
मै तिर क्रमश क्रमश । ९
***
आज बल्ल लेखेको , यो खै के लेखेँ कुन्नि ? अन्तर्गत बिधा कविता नै होला भन्ठानेर कविता भनेको छु ।

Monday, August 10, 2009

१४ थान हाईकुहरुको थोक प्रस्तुती

भन्नलाई त म ब्लगमा फर्किसकेको हुँ तर लेख्न पनि पर्यो नि त ब्लगमा भन्ने सवाल उठ्दा भने म अझै उस्तै हालतमा रहेछु । बितेको साताभरी सोचेँ ब्लगमा कसरी अगाडी बढ्ने भनेर ; कुनै मेसो नपरेको रुखको जरा बञ्चरोले ठुङ्दा चिर्न नसकेको सास्ती भोगेकै जस्तै लाग्यो बितेको साताभरी गम खाँदा ।

के गर्ने ब्लगको यो हौसला यत्तिकै चट्टक्कै छोड्ने कुरा पनि त भएन ; अनि त कोट्याउँन थालेँ कम्प्युटरका कुनाकानी कोचरेर घुसारेका अझ भनौं त रचनाकाल ताका आफ्नै आँखामा निम्छरा ठहरिका रचनाको ढेडीतिर मानौं कि म एक हिउँद र एक बर्खा खाईसकेको परालको ढेडीबाट पराल थुत्दैछु - कतै कुहिएर भ्यात्त भएको पराल निस्किँदैछ त कतै थिचिएर चाम्रो न चाम्रो भएको पराल हातमै आउन मानिरहेको छैन् ।

जे होस् यसपटक ढेडीबाट थुतथात पारेर चौध थान हाईकु भेला पारेर ल्याएको छु - भन्नै पनि १४ थान हाईकुहरुको थोक प्रस्तुती भनेर। हाईकु मैले निक्कै पहिले नेपालमा हुँदै पनि लेख्ने गरेको थिएँ यद्दपि म हाईकु लेख्न जान्दिंन तर यि भने उस्ता पुराना पनि होईनन् न त नयाँ नै हुन् । कस्ता रा'न् चैं तपाईंहरु नै ठम्याउनुस् ।
-------------
हातै बैगुनी
गुलाफ जस्तो मुटु
वैलेर झर्यो । १
---------------
बन्द बोतल
भित्र मलाई थुन्ने
उ विष कन्या । २
...
बन्द बोतल
म भित्र थुनिएको
विष कुमार । २

----------------
ढुँगाका द्यौता
खै पट्टक्कै बोलेनन्
साक्षात् भए नि । ३
--------------------
निशब्द तिम्रा
गुलाबी ओठहरु
कागजी फूल । ४
------------------
टाल्नै सकिँन
छिद्र थियो मुटुमा
मनको बाघ । ५
------------------
पराया मान्छे
निसँकोच कुल्चिन्छ
शिरको टोपी । ६
------------------
नाङ्गै देखिन्थ्यो
पत्पती धुँवा उठ्यो
बन डढेछ । ७
------------------
कालो बादल
भय चट्याङकै छ
बिना अगुल्टो । ८
-----------------
खुशी छल्केको
एक हूल मनमा
चन्द्र र सूर्य । ९
-------------------
त्यो अँगालोमा
चन्द्र सूर्य देखियो
अनन्त हर्ष । १०
----------------------
फेरी बल्झियो
म टाढा भए पनि
आमाको माया । ११
---------------------
आशा आँखामा
कसैले उघार्दैछ
नीलो आकाश । १२
--------------------
अझै उचाल
आकाश छुनै लाग्यो
राष्ट्रिय झण्डा । १३
----------------------
चुकेको चुरा
धुम्मिएछ आकाश
पानी पर्छ रे ! १४
------------------------
यसपटकलाई त जसोतसो ढेडीबाट हाईकु थुतेर काम चलाएँ तर तत्कालै चिन्ता यो छ कि अगाडी के गर्ने होला ? हैन यो दिमाग किन मात्रै खाली शिशी भएको हँ ? पुराना कागज पनि भैदिए तिन्मा केरेको केहि न केहि फेला पर्थ्यो होला नि ?

Saturday, August 01, 2009

म सञ्चै छु - सबैलाई राम ! राम !

सबैभन्दा पहिले सबैलाई राम ! राम !

म सञ्चै छु - सोध्नुहुने सबैलाई हार्दिक धन्यवाद !

यावत कुराहरु प्रति चिन्तित आफु त छँदैछु तर चिन्तित त्यसरी छैन जसरी अघिल्लो पटक लेखेको थिएँ । भनिहालुँ म गुप्तबास बसेको कारण प्रति चिन्तित हुनुभएको मित्रहरु प्रति पो चिन्तित छु बरु । मित्रहरु ( केहि ) चिन्तित नहुनु पनि किन एकमहिना भन्दा अगाडी पछिल्लो टाँसोमा एकातिर डिसेम्बर २१ , २०१२ मा हुनसक्ने भनिएको महाप्रलयको बारेमा 'हाईपरडुम्पशन' भन्दै लेखेर अनि अर्कोतिर जाग्रम बस्दैछु भनेर ' तिमी नहुँदा पनि त खै रोकिएन समय….. ' भन्दै लेखेर ब्लगमा पस्नै छोडेछु । छोड्न पनि यस्तरी चटक्कै छोडेछु कि म ब्लगर पनि हुँ के भने जस्तो सम्म लाग्न थालिसकेछ । अझ अकबर र वीरबलको कथामा कताको जिली कताको गाँठी भनेझैं नै भयो मैले पनि कथा , कविता , गीत , गजल ईत्यादि लेख्छु भन्ने कुरा त ।

मलाई पक्का थाहा भै सक्यो यहाँसम्म पढिसक्दा तपाईंलाई झर्को लागीसक्यो अघिल्लो पटक मैले सुत्न झर्को लाग्छ भनेझैं नलाग्नु पनि किन हौ मैले पछिल्ला प्राय टाँसोहरु सबै ढिलो लेख्दै यस्तो र उस्तो भन्दै लेखेको हुन्छु । त्यसैले यो पल्ट जति भनें भनें म ब्लगमा लेख्न ढिलो भएको बारेमा केहि भन्दिंन , शट्टामा बरु धेरै लामो अन्तराल पछि लेखेको यौटा सानो टुक्रा , यस्लाई गजल भनुँ कि गीत के भनुँ भन्नेमा चैं आफैं दोधार छु है , स्वरुप गजलकै जस्तै भएको भएपनि लामो ( २६ अक्षर ) भएकोले भाँचेर राखेको हुँ , अब यो लौरो न हतियार पो भयो कि त ?

किन पिउनु पर्थ्यो र यो प्याला मैले
त्यो नशालु नजरले मताएपछि ।
भन्नेहरु सबैले मातेकै हो भने
त्यै नजरको नशाले धताएपछि ।

केहि बुझें होला केहि त बुझ्नै बाँकी
भन्न केहि सकेँ केहि बाँकी नै रहयो ,
चुपचाप नै तर बुझे जस्तै धेरै
बोल्दै नबोली आँखैले बताएपछि ।

खोज्दै हिँडिरहें सबै भिँडहरुमा
मिर्मिरे दुई आँखा देखिन्छ कि कतै ,
विर्षन चाहेर कहाँ सकेँ सजिलै
सम्झनामा त्यै आँखाले सताएपछि ।

चाहे झैं भन तिमी जेसुकै मलाई
नाम अरुले पनि मनखुशी दिउन् ,
गर्दिनं उजुर बाजुर , उम्लिएर
विष्फोट हुँदा भित्रै तताएपछि ।

साथै आशा गर्छु अब लामो अन्तराल नबनाई ब्लगमा हाजिर हुन साथै तपाईंहरुको ब्लगमा पनि प्रतिक्रिया लेख्न आउन भ्याउने छु ।