Sunday, June 28, 2009

'Hyperdoomption ! ' / त्यसै त कुन कानमा सुन

त्यसै पनि मलाई सुत्न भनेपछि झर्को लाग्छ । सुत्न मात्र कहाँ हो र ? मलाई त खान पनि झर्को लाग्छ । कैलेकाँहि सोच्छु यो खान र सुत्न नपर्ने भए कति आनन्द हुन्थ्यो होला ? खै किन सोच्छु यस्तो वाहियात कुरा ? तर सोच्छु कैलेकाहिँ ।

अझै पनि खान लाग्दा आमाको त्यहि प्रश्नवाचक चिन्ह भएको अनुहार सम्झना हुन्छ , 'के चैं बित्दो छ हँ भाइ तेरो ? कहिले त अलि सुबिस्ताले खाने गर ।'

'छैन केहि बित्दो पनि । सुबिस्ताले खाने भनेको चैं कसरी हो ? जसरी पनि खानु हो हैन र ? ' आमाकै शब्दमा म जहिले पनि सासले गाँस टिपेर उठ्ने गर्थें । अझै त्यसै गर्छु सायद तर खान्छु खान चैं । खानै छोड्ने गरेर देउता हुन त अलि सक्दिनँ । जे होस् म सुत्न झर्को लाग्ने कुरा गर्दैथिएँ । साँच्चै सुत्न झर्को लाग्छ मलाई त्यसमाथी पनि 'त्यसै त कुन कानमा सुन' भएको छ आजभोली । ठेक्का पाएको छु जाग्रम बस्ने । जस्तो कि म माघ महिनाको अन्त्यतिर सात आठ वर्ष अगाडीको समयमा गाउँमा छु आजभोली र हरेक रात श्री स्वस्थानी ब्रत कथाको समापनको खुशीमा जाग्रम बस्ने गर्छु । ब्रतालुहरु फल प्राप्त गर्न जाग्रम बस्नै पर्ने ति दिनहरुमा फलको आशा बिना नै हामी नाचेर गाएर , केहि नपाए रातभरी स्वस्थानी कथा वाचेर बस्दाको रमाईलो दाँजेर हेर्छु तर म त एक्लै धुम्धुम्ती कम्प्युटरको अगाडी ब्लगर साथी कृष्ण थापाको ब्लगर कविताले ठ्याक्क बयान गरेको मान्छे जस्तै भएको हुँदो रहेछु ।

घरीघरी यस्तो लाग्छ मैले तिन वर्ष जति अगाडी देखि टेण्डर हालेको रहेछु जाग्रम बस्नलाई र भाग्यले यतिबेला टेण्डर परेको छ मलाई जाग्रम बस्नलाई । यो एउटा पाटो हो जाग्रमको ।

यादहोला एकदिन मैले भनेको थिएँ - 'सुत्दा मलाई हात धेरै भएर कहाँ राखुँ कहाँ राखुँ हुन्छ त्यसैले आज राती त मैले हात गोजीमा राखेर ढुक्कसँग सुतेँ ।' त्यसदिन तिमीलाई मैले चुट्किला सुनाएको थिईनँ पक्कै न त साँच्चै त्यसरात मैले गोजीमा हात राखेर सुतेकै थिएँ । यो त यौटा बहाना मात्र थियो तिमीलाई हँसाउने र तिमी हाँस्दा तिम्रो गालामा उठेको पेन्सिलको चुच्चो जस्तो थुम्को हेर्ने ।

हाँस्दा गालामा खाल्डो पर्ने र गालाको खाल्डो मनपराउने कति भाग्यमानीहरु होलान यो दुनियाँमा तर हाँस्दा गालामा थुम्को उठ्ने भाग्यमानी तिमी एउटै होलाउ र गालाको खाल्डो हैन डिल मनपराउने अर्को भाग्यमानी चैं म हुँ । कति भाग्यमानी थियौं त हामी । साँच्चै दुर्लभ ।

...तिमी नहुँदा पनि त खै रोकिएन समय
कसरी भनुँ मेरो मात्र आफ्नो थे'न समय

ठिकै गरेछु भुलेर हिसाब किताब राख्न
सजिलै भा'छ आज काट्न जेनतेन समय....

हो त, यसैगरी त्यही दुर्लभ भाग्यमानी म लोप भएको छु अचेल । तेस्रो जन्मको परिकल्पना तिमीलाई फुर्ती लगाए जस्तो सजिलो पनि छैन र मरिसकेको हुँदा दोश्रो जन्ममा फर्कन नै पनि भनेजस्तो सजिलो त कहाँ होला र ? लेखेछु भने 'तेस्रो जन्म' तिम्रो हातमा दिनेछु पढ्नलाई जहाँ तिम्रो बाक्लो उपस्थिती रहनेछ । जाग्रमको यो पाटो यत्ति नै - यो पनि केवल तिम्रो लागी । कुनैदिन तिमी यो बाटो भएर हिँड्दा सम्झना रहोस भन्नाका खातिर । आँखिर भुलिदिनेलाई सम्झिदिनेलाई माया त माया हो ।

**************************

बाघको मुख खाए पनि रातै नखाए पनि रातै भनेजस्तो हामी ब्लगरहरु यसै ब्यस्त उसै ब्यस्त । केहि गर्नु परे नि ब्यस्त केहि नगर्नु परे नि ब्यस्त । कम्प्युटरको सामुन्ने पर्नुमात्र पर्छ हामी ब्यस्त । हामी भित्रको म त्यस्तै हुँ । सँधै केहि न केहि गर्नु हुन्छ चाहे गरुँ या नगरुँ ।

पछिल्लो समयमा म धर्ती छोडेर माथी आकाश आकाशतिर भौंतारिन थालेको छु । हो यहि नै जाग्रम बस्नुको अर्को पाटो हो । रुचि मलाई खगोलमा पहिले देखि नै हो त्यसो त तर रुचि छ भन्दैमा खगोल सम्बन्धी ठुलै बिटो जानकारी भने होइन मसँग तर पनि यु ट्युबको साथमा धर्ती छोडेर रात रातभरी म तारालोकमा विचरण गर्ने गरेको छु । भन्नलाई यसलाई अर्को पाटो भने पनि पहिलो पाटोसँगै केहि हद सम्म सरोकार राखेको छ यसले त्यता नजाउँ अहिले ।

ब्लगमा हामीहरु माझ अहिलेसम्म हल्ला नचलेको तर सम्भवत हामीले सुनेको विषय २०१२ डिसेम्बर २१ को बारेमा निक्कै कौतुहलता लिएर खोजी गरेँ मैले । ब्लगमा यसको परिचर्चाले बिस्तारै प्रवेश पाउला म भने कुरा कोट्याईरहन चाहन्छु यहाँ । यसबारेमा गहिरिएर भन्न पनि चाहन्न म अहिले । कौतुहलताका साथ मैले प्रत्यक्ष भेट्ने साथीहरुसँग कुरा गर्दा उनिहरुले मलाई पृथ्वीको विनाश हुन्छ भनेर डराएको भने । कतिले वाहियात कुराको पछि लाग्ने भने । मलाई भने कौतुहलता अझै रहेकै छ । के हामी पृथ्वीको विनाश देख्ने अभागीहरु हौं त ? के हामी नै ति भाग्यमानी मान्छे हुन पाउँछौं त पृथ्वीको अन्त्य भएको आँखैले देख्ने ?

मैले यहाँ विस्तारमा भन्नै पर्दैन सायद - Mayan क्यालेण्डर , प्लानेट X , North and South pole Shift , Solar Strom , i chang ईत्यादि ईत्यादिका कुराले बजार तातेको छ । विश्वास गर्ने नगर्ने अधिकार हामीमा छ तर चासो राख्नु पर्ने कुरा हो यो ।

यो हुँदैन भन्नेमा जति छु म , हुन सक्ला भन्नेमा पनि त्यति नै छु । एक हिसाबले म मा निक्कै रोमांचकता छाएको छ कि म सम्भवत पृथ्वीमा मानव सभ्यताको अन्तिम अध्यायमा उभिएको छु । यसरी सोच्दा मैले स्कूलमा पढेको विजय मल्लको अन्तिम भोज कथा सम्झेँ । म पात्र भएर कथाकार भोज छोडेर भोकै दगुरेको भविश्यको कुनै दिनमा आफ्नैं आँखाले देखेको जस्तो पनि महसुस गरेँ र सम्झेँ कता दगुरेका थिए होलान् कथाकार विजय मल्ल ? कस्को मायाले ? के को आशाले ? जव पृथ्वी नै नष्ट हुँदैछ भने ?

हो त्यस्तै कल्पनामा हराउँदा मैले Hyperdoomption को कल्पना गरेको थिएँ । जस्लाई शुरुमा Hypodoomtion भनेर फेसबूकमा लेखेको थिएँ केहिदिन अघि मेरो फोटो ब्लगकि ब्लगर सुजनजीको Status मा । वहाँले Never take life seriously. Nobody gets out alive anyway लेख्नुभएको थियो । जतिबेला मैले वहाँको Status मा यो लेखिएको देखेँ त्यतिबेला म अन्तिम भोजका कथाकार भोज नखाई मेरो प्यारो धर्ती भन्दै भाग्दै गरेको देख्दै थिएँ । मेरो आँखा अगाडी मैले नौ कक्षामा पढ्दा देखेको विजय मल्ल मात्र एक्लै भाग्दै थिएनन् त्यस बखत । म बसेको सहरमा अनेक रँगका , अनेक आकार प्रकारका , अनेक जातका , अनेक थरीका मान्छेहरु भाग्दै थिए । म स्वयँ पनि भाग्दै थिएँ त्यसो त तर हामी भाग्नेहरु सबैलाई थाहा थियो । हामी कोहि बच्ने छैनौं भनेर । त्यो कोलाहलमय वातावरण पृथ्वीभरी थियो । सबैले त्यो महाप्रलयको पिँडा भोग्दैथियौं सामुहिक रुपमा । हो त्यही महाप्रलयको पिँडालाई मैले Hyperdoomption नाम दिएको हुँ । मसंग बाहेक यो शब्दले अहिलेसम्म अन्यत्र कतै उपस्थिती जनाउँदैन । अँग्रेजी शब्दकोषमा अहिलेसम्म समावेश नभएको यो शब्द मैले Doom लाई आधार बनाएर कल्पना गरेको हुँ । Doomsday भनेर पनि जानिने महाप्रलयको त्यसदिनको पिँडा जनाउन मैले कल्पना गरेको यो शब्दले अँग्रेजी भाषामा कुनै स्थान नपाउला त्यो अर्कै कुरा हो तर मेरो दिमागमा उपस्थिती राखिसकेको यो शब्द मलाई चै अस्तित्वमा भएझैं लाग्दैछ र सम्भवत हामी अभागी भनेपनि भाग्यमानी भनेपनि Hyperdoomption भोग्नेछौं जस्तै लाग्दैछ । मेरो हिसाबले यो शब्द अँग्रेजी शब्दकोषमा समावेश भए यसरी हुन्थ्यो होला - Hyperdoomption = A worldwide massive pain that every creature must have to face as the end of the planet earth . A megha pain of doomsday .

सुजनजीले फेसबूकको Status मा किन त्यो लेख्नुभएको थियो मलाई थाहा भएन तर मेरो मनोदशालाई छोएको थियो वहाँको त्यस Status ले । लगभग एकवर्ष नै हुन लागेछ मैले यस्तै एउटा कथा जस्मा UFO र Outer Space को Alien being को कल्पनामा प्लट तयार पारेको थिएँ तर यथेष्ट जानकारी बटुल्न पर्ने देखेर लेख्दा लेख्दै रोकेको थिएँ र अझै फर्केर हेरेको रहेनछु । भोली कुनैदिन त्यो कथा लेख्न बसेछु भने भनौं न आँट आएछ भने कथाको शिर्षक पनि Hyperdoomption नै राख्ने विचार गरेको छु ।

त्यसैले त भनेको म सुत्न झर्को लाग्ने मान्छेलाई अहिले झन कानमा सुन भएको । यु ट्युबमा हेरि भ्याई नसक्ने गरेर भिडियोहरु अनि गूगलमा खोजी भ्याई नसक्ने गरेर साईटहरु छन् यसबारेमा । यहाँ देशको चिन्ता छ तिमी माया माया भन्छौ भनेजस्तै यहाँ पृथ्वीको चिन्ता छ हामी फलानो पार्टी र चिलानो दल , फलानो राज्य र ढिस्कानो प्रदेश भन्दै बसेका छौं । नासालाई पक्कै मलाई भन्दा धेरै थाहा छ । प्लानेट X को कुरा , सोलार स्ट्रोमको कुरा तर अमेरिका कानमा तेल हालेर अझै त्यही कानमा तेल हाल्नै मध्य पुर्वमा हतियार ओसारीरहेछ । पृथ्वीको आयू गन्नेहरुको काउण्ट डाउनमा हेर्ने हो भने अब १२७१ दिन २१ घण्टा १२ मिनेट (सेकेण्ड त के भनिरहनु) बाँकी छ अब हामीसँग समय । हामी Hyperdoomption लाई टार्न सक्दैनौं रे ल मानौं तर त्यतिञ्जेल हाम्रो छेउको अर्को प्राणीलाई प्रेम गर्न त सक्छौं नि । यि महाशक्ती राष्ट्रहरुले भन्लान् त कुनैदिन यस्तो कुरा ?

Saturday, June 20, 2009

लघुकथा : कामना

गाईबस्तुको भकारो फालिसकेर सुकेका स्याउला हालेर थलोको खाल्टो छोप्दै थियो सुखमान । तलतिरबाट केहि मान्छेहरु हल्लाखल्ला गर्दै उसकै घरतिर उकालो आउँदै थिए । हातको स्याउला हातमै लिएर हेर्दा उसले उसकै भाइ सन्तमान र बुहारी एकदुई अरु छिमेकीका साथ उज्यालो अनुहार बनाएर उँचो उँचो स्वरमा बोल्दै आउँदै गरेको देख्यो ।

बुहारी भन्दैथि'न् , 'अब त यो पैसोले घरमा टिन् ठोक्नु पर्छ बुढा । सप्पैका टिनका छाना भैसके ।'

'ठोकुम्ला न । अलिकति बारी पनि जोड्न पर्ला भनेर सम्जे'थेँ मैले त ।' ठुलै भाग्यशाली चिठ्ठा हातपरेको रवाफ थियो सन्तमानको ।

त्यतिञ्जेल सुखमानको करेसामै उक्लिसकेका थिए उनिहरु । छिमेकी बिजुवा बाले थपे , 'यत्रो बिधी पैसो पा'असि जे जे गरे नि भो नि अब । बाह्र वर्षमा त खोलो पनि फिर्छ भनेको ठ्याक्कै पुग्यो सन्तमान भाइ तिमीलाई ।'

'सन्तमानलाई के को गाड्धन मिलेछ त ?' बुझ्ने मन भयो सुखमानलाई तर सोध्न सकेन उसले । उनिहरु दाजुभाइको पानी बाराबार भएको अझै बोलचाल छैन ।

हातको स्याउला अझै हातमै लिएर मुर्ति जस्तै ठिङ्ग उभिएको सुखमानलाई देखेर सन्तमानले उभिएरै भन्यो , ' ए दाजै , सरकारले ३ लाख रुप्पे दिया छ हाम्लाई क्षेतिपुर्ति......... '

सन्तमानले बताईसक्न नभ्याउँदै बुहारीले भनिन् , 'के सुनाउंउछौ नि बुढा ईन्लाई ? उ बेला हाम्रो छोरा मर्दा खुशी हुनेलाई । उन्का छोरा पनि तेई लडाईँमा गा'छन् । हाम्रो छोरा मर्दा चैं खुशी हुने असतीहरु ।'

उनिहरु फटाफट उसको करेसो कटेर उकालिए । सुखमानलाई भन्को छुटेझैं भयो । हातको स्याउला फ्यात्त फालेर उ बस्तुको किलो समाएर घाँसहाल्न तेर्स्याएको ढाटमा बस्यो । उसको भाइ सन्तमानका तिनभाई छोराहरु । ति मध्ये माईलो लडाईंमा परेर मरेको बेला उसले सम्झाएथ्यो , 'ए नरोउ अब । रोएर मरेको मान्छे फर्कँदैन । तिमरका त अरु दुईभाइ ज्युँदै छन् । मेरो यौटै भ'को नि लडाईंमै गा'छ । मरेको त मरिगो बाँचेकाको मुख हेरेर मन बुझाओ ।'

त्यसैबेला चर्केकि थिन् उसकि बुहारी , '......तिम्रा छोरा नि मरेको दिन था'पाउँछौ ?... '

'अझै टेक लिरा'रान् त्यति कुरामा । मैले खुशी भ'र त भनेको थिँन् ।', खुईय! काढ्यो उसले ।

'...यो पैसोले घरमा टिन् ठोक्नु पर्छ... ' बुहारीकै कुरा उसको कानमा फेरी आएर पस्यो । उसले आफ्नो छानो सम्झ्यो । बर्खामास झरीमा सुत्दा ओच्छ्यानमा चुहेको पानी थाप्न भाँडा राखेको सम्झ्यो ।

'थुक्क ! कस्तो जुनी हो दैब मेरो यस्तो । एउटा भ'को छोरो पनि ख्वै कता के खोरमा हो कि शिबिरमा हो राख्या छन् रे । कैले सम्मन् राख्दा हुन् ? छोडीदिए पनि त यो बुढेशकालमा घरमा मलाई काम सघाउँदो हो ? बस्तुको थलोमा यत्रो खाल्डो परेको छ म बुढो एक्लै पुर्न सक्दिँन । छोरो भएर मात्र पनि के गर्ने ? बरु यसै घर थिएन उसै घर थिएन मरेकै भए पैसो त आउने रहेछ ।'

'हैन के भन्छौ ए काजीका बाउ ? तिमीलाई छोरोभन्दा पैसो ठुलो हुने भो अब ?' श्रीमतीको तिखो आवाजले झसङ्ग भयो सुखमान । उसले पुलुक्क हेर्यो काजीकि आमा नजिकै दाउरा झिक्दै थिईन् ।

'हत्तेरिका ! मैले सारै पो बोलेछु कि क्या हो ? थुक्क ! त मलाई , कस्तो कामना गरेको हुँला मैले यस्तो ? गरीब गुरुबा भएपछि यो माया ममता भन्ने कुराको पनि केहि भेल्लु नहुने रहेछ ।' यसपटक भने उसले होसियार भएर मनमनै भन्यो ।

Saturday, June 13, 2009

गजल : न घामझैं छरिन सकेँ (थप गरिएको)

निक्कैदिन अगाडी फेसबुकको झ्यालमा यो गजलको मतला टाँगेको थिएँ । त्यसपछि भने बिर्षेझैं गरेछु यसलाई निक्कै दिनसम्म । हिँजो आएथ्यो सम्झनामा त्यही दुई हरफ मतला साथमा पुरा गर्ने उर्जा लिएर त्यसैले पुरा गरेर ल्याएको छु । ब्लगमा हिँजै राख्ने मूड थियो तर यो गजल पुरा गरेको चिर्कटो लुकिदिएर खोज्दा खोज्दा आज फेला पर्यो ।

न झुल्किएर घामझैं छरिन सकेँ ।
न औंशीको त्यो रातमै दरिन सकें ।

सिकौरे हातको म भट्टीको गिलास ,
न त रित्तो हुन न त भरिन सकेँ ।

मात जिन्दगीको फेरी लाग्यो यस्तरी ,
न ठम्ठम् हिंड्न न धरमरिन सकेँ ।

लछेप्रै थिएँ म रुझुञ्जेल झरीमा ,
ओतिएर पनि खै त तरिन सकेँ ?

ओस कस्तो उठेछ लौ यो जिन्दगीमा ,
आगो ताप्दा पनि कहाँ खरिन सकेँ ?

हो चेप्टिएर यस्तै मनोदशामा म ,
रहस्यमा ज्यूँनुको लहरिन सकेँ ।


आफ्नो लेखाई प्रतिको टिप्पणीले कति धेरै बल मिल्छ भन्ने अर्को उदाहरण आज पनि महसुस गरेँ मैले । पाँच शेर लेखेर निराशाकै भूमरीमा रोकेको मेरो यस गजल-नौकालाई अर्को एक शेर(मकता)थपेर लगभग किनारामा पुर्याएको महसुस गरेको छु आज । यसको लागी ब्लगमा प्रतिक्रिया लेख्नुहुने सबैसँग आभारी छँदैछु अझ धेरै आभारी फेसबूकमा कुराकानी गर्दागर्दै अलि नीरस भयो कि ? भनेर पहिलो टिप्पणी दिनुहुने मित्र रमा गौतम , गजल ग्रुपमा सँधैझैं बाटो देखाउनुहुने दीपक खड्का र बासु श्रेष्ठसँग छु । थप कुरा म पनि प्रतिक्रियामै बोलुँला ।

Wednesday, June 10, 2009

गीत : मैले छुन नसकेको मन

यो मौनता कसरी तोडुँ भनुँ कसरी यो कथा लाचारीको ।
किन पालेँ यति साह्रै डर यो मनभरी दुनियाँदारीको ।


यि नै माथीका दुई हरफहरुले काम गरुन् ब्लगमा ठुल्ठुलै अन्तरालको खाडल बन्नुको अन्तरकथा बुझाउन । मैले नै अघि सरेर केहि नभन्ने विचार गरेँ या भनौं भन्न योग्य देखिँन बरु मैले त यौटा गीत लिएर झुल्केको छु (नअस्ताउँदै) ।

मैले छुन नसकेको मनमा बस्न कहाँ सकुँला
पसिसकेँ तर आँखामा अब खस्न कहाँ सकुँला ।


पुगेर यो कस्तो मोडमा अडियो हेर जिन्दगानी
बदलिएर सम्बन्ध पनि भईदियो आगो र पानी
खुकुलियो , फुक्दै गो प्रेमडोरो कस्न कहाँ सकुँला
पसिसकेँ तर आँखामा अब खस्न कहाँ सकुँला ।


देखेँ कस्तो अधुरो सपना जीवनमा जानीजानी
चर्किगए सारा ति सपना काँच जस्तै फेरीपनि
जोगी भएँ म प्रेममा खरानी घस्न कहाँ सकुँला
पसिसकेँ तर आँखामा अब खस्न कहाँ सकुँला ।


सहेर काँढा जिन्दगीमा लेखिरहेँ फूलको कहानी
झुकिएँ कि आज म आफैँ फूललाई काँढा ठानी
विष देख्दै अरुले म भित्र डस्न कहाँ सकुँला
पसिसकेँ तर आँखामा अब खस्न कहाँ सकुँला ।

Tuesday, June 02, 2009

कविता : मन र जिन्दगी




जसरी सुकै खेलाउ
मनमा जिन्दगीलाई
यो त
बराबरी जिन्दगीले
मन खेलाउने खेल पनि हो


अन्यत्र सहजै
हार स्विकार्ने जिन्दगी
तर खेल
सँधै जित्न चाहन्छ
अनि त
जुटेका छन् मनहरु
केही जित्नको लागी
फुटेका छन् मनहरु
केहि जित्नकै लागी
र हार खपिरहेछन्
परिणाममा
अभागी कुनै मनहरु



यौटै छानो मुन्तिर
मनहरु नफाट्ने भए
किन चिरिन्थ्यो सिङ्गो धर्ती
त्यसको , उसको र यसको भएर



कदाचित् आज
हाम्रो भन्नेहरु पनि
कोरीरहेछन् सिमारेखा
सामुहिक छुट्याएर 'तिनीहरु'को
तब कुन ओठले प्रशँसा गर्ने हो
मेटिसके तिनले भावना
तेरो र मेरोको भनेर ?



त्यही रीतको जञ्जालमा
बेरिएको यौटा मन
रुमलिएको यौटा जिन्दगी
हर्ष विभोर छु म
कुन्नि के जित्नको लागी
प्रतिक्षामा तिम्रो आगमनको



यदाकदा
खेलाईरहँदा
मनमा जिन्दगीलाई
शशँकित हुन्छु
कतै चुकेँ कि हिसाब राख्न
जीवनका संभावित हारहरुको



यस्तो लाग्छ
म सूर्योदयको प्रतिक्षा
सागरको पश्चिम किनारबाट
हरेक साँझ सूर्यलाई
बिदाईको हात हल्लाएर गरिरहेछु


त्यसैले हरेक साँझ
सागरको यो किनारबाट
क्षितिजसँग गुनासो पोख्दा
भन्ने गर्छ जिन्दगी मलाई

........त्यो क्षितिजलाई
ब्यर्थै सराप्दैछौ तिमी
उ त स्वयँ दुखी छ
हरेक पल्ट सूर्यलाई
त्यँहीबाट बिदाई गर्नुपर्दा ....।