Tuesday, June 02, 2009

कविता : मन र जिन्दगी




जसरी सुकै खेलाउ
मनमा जिन्दगीलाई
यो त
बराबरी जिन्दगीले
मन खेलाउने खेल पनि हो


अन्यत्र सहजै
हार स्विकार्ने जिन्दगी
तर खेल
सँधै जित्न चाहन्छ
अनि त
जुटेका छन् मनहरु
केही जित्नको लागी
फुटेका छन् मनहरु
केहि जित्नकै लागी
र हार खपिरहेछन्
परिणाममा
अभागी कुनै मनहरु



यौटै छानो मुन्तिर
मनहरु नफाट्ने भए
किन चिरिन्थ्यो सिङ्गो धर्ती
त्यसको , उसको र यसको भएर



कदाचित् आज
हाम्रो भन्नेहरु पनि
कोरीरहेछन् सिमारेखा
सामुहिक छुट्याएर 'तिनीहरु'को
तब कुन ओठले प्रशँसा गर्ने हो
मेटिसके तिनले भावना
तेरो र मेरोको भनेर ?



त्यही रीतको जञ्जालमा
बेरिएको यौटा मन
रुमलिएको यौटा जिन्दगी
हर्ष विभोर छु म
कुन्नि के जित्नको लागी
प्रतिक्षामा तिम्रो आगमनको



यदाकदा
खेलाईरहँदा
मनमा जिन्दगीलाई
शशँकित हुन्छु
कतै चुकेँ कि हिसाब राख्न
जीवनका संभावित हारहरुको



यस्तो लाग्छ
म सूर्योदयको प्रतिक्षा
सागरको पश्चिम किनारबाट
हरेक साँझ सूर्यलाई
बिदाईको हात हल्लाएर गरिरहेछु


त्यसैले हरेक साँझ
सागरको यो किनारबाट
क्षितिजसँग गुनासो पोख्दा
भन्ने गर्छ जिन्दगी मलाई

........त्यो क्षितिजलाई
ब्यर्थै सराप्दैछौ तिमी
उ त स्वयँ दुखी छ
हरेक पल्ट सूर्यलाई
त्यँहीबाट बिदाई गर्नुपर्दा ....।

12 comments:

Sujan Sharma said...

असाध्यै सुन्दर कबिता लेख्नु भो दीपक जी ।

बि. जे. बान्तवा / भोजपुर said...

कति यथार्थ छन यी कबिता भित्र, कति सटिक रुपमा कोरिएका छन सबै लहरहरु सबैलाई ओगट्दै धेरै नै राम्रो छ। दीपक जी।

chudamani said...

"यौटै छानो मुन्तिर
मनहरु नफाट्ने भए
किन चिरिन्थ्यो सिङ्गो धर्ती
त्यसको , उसको र यसको भएर"

सुन्दर छन् हरफहरू ! आफू हारेर पनि अरूलाई जितेको देखाउने मान्छेको स्वभावमा मनको पक्ष कतातिर होला सोचिरहेछु | जडितजी कविताको लागि धन्यबाद छ |

बेदनाथ पुलामी ( उमेश ) said...

प्रस्तुति अलिक फरक लागे र राम्रो पनी - दीपक जी त साहित्य को एउटा पटो नै रहनु भएको छ |

Prabesh Poudel said...

अलि फरक प्रस्तुति तर एकदमै राम्रो कविता लाग्यो दिपक दाइ !

Milan said...

a perfect poem ... i liked it..

Jotare Dhaiba said...

दर्शन र सन्देशको सन्तुलित भारी बोकेको जडितजीको यो चाहिँ सिर्जना पीडासहित भए पनि पीडामुक्त लाग्यो ।

जस्तो कि कविताकै हरफको चेपोमा पनि आएको छ, यो कविता समुद्रको किनारमा बसेर टोलाउँदाटोलाउँदै फुत्त निस्किएको पनि हुन सक्छ । यसेले समुद्रजत्तिकै विशाल भावना अँटाएको छ । धन्य समुद्र !

अब भने ब्लगमा तपाईवको अल्छिपनाले टोपी फुकाले जस्तो छ :)

बिमल गिरी said...

दीपक जी को यो कबिता
सामुन्द्रिक किनारमा बसी
भित्र हृदयदेखिनै मौलाएको जस्तो लाग्यो।
कबिताभित्र बिशाल भावना बगेकाछन।
मनिसको मन न हो जतापनी जसरी पनि
बगिरहन्छन। यथार्थ झल्किएकाछन मनहरु
कबिता बनेर। धन्यवाद दीपक जी।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

यदाकदा
खेलाईरहँदा
मनमा जिन्दगीलाई
शशँकित हुन्छु
कतै चुकेँ कि हिसाब राख्न
जीवनका संभावित हारहरुको ...


कविता केवल सौंदर्यको क्षितिज प्रतिबिम्बित गर्दै
सागरको लहर जस्तै बगेको मात्र छैन,मन र जीवनका अत्यन्त गहन भावहरु पोखिएका छन । दर्शनको खोजी गरे जस्तो !

दूर्जेय चेतना said...

सुन्दर भाब पोख्नु भयो तपाईंले यो कबितामा फेरी। निस्च्य पनि केहि जित्नकै लागी हार खपिरहेछन् मन हरु

Luna said...

dear! i just feel cry ----
too much nice !
i love to cry on ur words ---

दीपक जडित said...

ह्रदयदेखि नै धन्यवाद र आभार सबैलाई !