Wednesday, April 29, 2009

गजल : खै म त कुन कुनामा छु

के के भयो दुनियाँमा खै म त कुन् कुनामा छु ?
जगत् भुली जिन्दगीले लाउने जादू टुनामा छु ।

सुरक्षाका ब्यूहहरु आफैं रचेँ जिन्दगीमा ,
अभिमन्यु भई आफैं फसेँ र म थुनामा छु ।

कस्तो लोभ भकारीकै डम्म भरिनु नै पर्ने ,
कठै ! अझै चुब्रुक्क म टपरी र दुनामा छु ।

फेदैबाट गिँडिएर ढलेपछि सिङ्गो रुख ,
म ठुटोमा पलाउँदै गरेका ति मुनामा छु ।

उठ् दीपक अब त यो जिन्दगीमा अलिमाथी ,
भन्छु तर सँधै यहि जिन्दगीकै गुनामा छु ।

Monday, April 20, 2009

बरालिँदै डेनाली पुग्दाको फाईदा

यसपटक ( हिँजो आईतबार ) साप्ताहिक बिदामा बरालिएर हिँड्ने सुर चल्यो तर एकदिनको बिदामा कति पो बरालिने र ? बरालिँदै हिंड्नलाई धेरै टाढा आँट्दा पनि फेरी फर्केर आउनुपर्यो भोलीपल्टको कामलाई आराम गर्न भ्याउने गरेर त्यसैले लगभग ३०० माईल जतिको दुरीमा रहेको डेनाली नेशनल पार्कतिर बरालिँदै पुग्ने निधो भएर बिहानै उठेर लागियो । त्यसो त डेनाली नेशनल पार्क अर्को महिना ( मे ) देखि मात्र पर्यटकहरुको निम्ती खुल्छ , यतिबेला मान्छेहरु त्यती जाँदैनन् भन्ने थाहा नभएको पनि होइन तर यतिबेलै जाँदाको आनन्द पछि कहाँ पाईएला र ? फेरी भएन बरालाहरुलाई पर्यटक जाने सिजन र बेसिजनसँग के मतलब ? भन्ने ठानियो ।

थुप्रै कुरा होलान् त्याँहा हेर्न जानलाई तर हामीले चैं भने Mt. McKinley को फोटो सोटो खिचौंला भन्ने सम्म सोचेका थियौं । क्या झुर ! त्यो हिमाल भएतिर त डम्मै बादलले ढाकेर फोटो खिच्न नै पाईएन र पनि त्यतातिरका केहि फोटो खिचेर मैले मेरो फोटो ब्लगमा हालेको छु ।

अर्को कुरा , त्यतातिर बरालिँदा पनि मेरो मनमा भने अघिल्लो पटक ब्लगमा राखेको गीतले पिरोलिरहेको थियो । त्यो गीतको स्थाईको अन्तिम हरफमा 'मैले त बाँच्नु भन्दा मर्नु निको भो ' लेखेको केहि हदसम्म आफैंलाई चित्त बुझिरहेको थिएन । मनमा पिरोलो त्यसलाई हटाउने र अर्थोकै लेख्ने भन्ने थियो र त्यसमा मेरो ब्लगमा सुझाब सहित तपाईंहरुले लेख्नुभएको प्रतिक्रियाले पनि पिरोलिन सघाईरहेको थियो । मैले त्यो गीत उता गजल ग्रुप ( आजभोली गजल ग्रुपमा कस्तो अवस्थामा गजल भन्दा गीत लेख्न उपयुक्त हुन्छ भन्ने पनि छलफल गर्दछौं ।) मा पनि राखेको थिएँ र दीपक खड्काजी ( गजल ग्रुपको लागी पथ प्रदर्शक मान्छु म ।) ले यसरी प्रतिक्रिया लेख्नुभएको थियो । -

दीपकजी,

‘मर्नु निको भो’ मलाई पनि तपाईका अन्य पाठकहरुलाई जस्तै जँचेन । अलि दोहर्‍याई तेहर्‍याई पढ्दा मलाई कस्तो अनुभूति हुन्छ भने ‘मर्नु’ शब्दले तपाईले चाहे जस्तै पीडाको उत्कर्ष बोक्न खोजेको त हो, तर ‘निको भो’ ले त्यसलाई अन्य अर्थमा modify वा dilute गरेको छ । ‘मर्नु निको भो’ भनेर त घोर पश्चातापमा वा घोर frustration मा पनि भनिन सक्छ नि त ।

‘मर्नु’ शब्दमा कुनै कुराको उत्कर्ष व्यक्त गरिएको पंक्ति मलाई सम्झना आईरहेको छ पारिजातको । ‘मर्न मन लाग्छ मायालु’ भन्ने एउटा गीत/कविता हो त्यो । एउटा भावुक प्रसंग पनि छ त्यससंग सम्बन्धित । रामेश र मञ्जुलले पारिजात दिदीको डेरामा त्यो गीत impromptu लय हालेर गाईदिदा पारिजात दिदी कति मिनेट हो घोप्टो परेर रोएकी थिईन् रे । त्यो दृश्यको कल्पना र त्यसको poignancy मेरो मनमा यसरी गढेको छ कि त्यो म कहिले बिर्सन्न । त्यो दृश्यले मलाई खै के के अव्यक्त उर्जा र high दिन्छ । पारिजात र प्रेम (unrequited love) कहिले पनि नछुट्टिने तर कहिले संयोग पनि नहुने त्रिशंकु तैराई (floating) को बिम्ब हो मेरा निम्ति । पारिजात दिदीको जीवनको पुरानो चरण (रोमान्टिक) र नयाँ चरण (प्रगतिवादी) को साँधमा पनि पारिजात दिदीलाई रुवाउन सक्ने त्यो गीतले मेरा निम्ति एउटा आध्यात्मिक अर्थ बोकेको छ भन्दा हुन्छ । प्रेमको सार्वभौमिक सत्ताको manifestation र भजन हुन् ती पंक्ति मेरा निम्ति ।

Back to हाम्रो प्रसंग । मलाई लाग्छ त्यो ‘निको भो’ भन्ने शब्द काफियाको निम्ति अपरिहार्य भएपनि त्यसले ईच्छित अर्थलाई deflect गरेको छ । अन्यथा बडो सुन्दर गीत ।

दीपक खडका


हामी प्रतिक्रिया किन सुन्न चाहन्छौं ? सुध्रिन या सुधार्नलाई नै त हो । यि नै कारणहरुले त्यो यौटा हरफ फेर्न बढेको पिरोलो बरालिँदै डेनाली पुगेको बेला अन्त्य भयो । गुन्गुनाउँदै थिएँ त्यही गीत यसरी फेर्दा होला भन्ने लाग्यो र कागजको यौटा टुक्रामा थपक्क टिपिहालेँ -

तिम्ले पनि छोडी जाँदा
यो मनै तोडी जाँदा
बेहाल मेरो झनै जिन्दगीको भो
घाउ यो दुख्ने साह्रै कलेजीको भो ।


यसो गर्दा मैले पीडाको जुन उत्कर्ष लेख्न खोजेको थिएँ त्यो पुगेन भन्ने लागेको त छ तर मर्नु निको भो भन्ने शब्दले दिन सक्ने गलत संदेश र गलत उक्साहटबाट भने मुक्त भएँ भन्ठानेको छु र अघिल्लो पटकको पोष्टमा पनि फेरीसकेँ । जे होस् बरालिँदै डेनाली पुग्दाको यो यौटा फाईदा भो ।

Friday, April 17, 2009

गीत : तिम्ले पनि छोडी जाँदा

तिम्ले पनि छोडी जाँदा
यो मनै तोडी जाँदा
बेहाल मेरो झनै जिन्दगीको भो
घाउ यो दुख्ने साह्रै कलेजीको भो ।


नसुने'सी बैगुनीले कुरै दोहोर्याई
नदेखे'सी झर्दा आँसु घाउ चहर्याई
छातीमा गड्ने तीर त्यै बोलीको भो
घाउ यो दुख्ने साह्रै कलेजीको भो ।


रेटिए'सी मनभित्रै डोरी विश्वासको
मेटिए'सी बाटोहरु हेर्न सबै आशको
सपना बग्ने पानी झैं खोलीको भो
घाउ यो दुख्ने साह्रै कलेजीको भो ।

Sunday, April 12, 2009

नयाँ वर्षको कुरा

नयाँ वर्ष आयो । यो आउनु थियो - आयो । बित्नु छ - बित्छ । समय हो आफ्नै गतीमा निरन्तर हिँडीरहेको छ । यस्लाई गन्ती गरेर हामी नयाँ र पुरानो भन्दै आईरहेका छौं र भन्दै नै रहने छौं । यसैको उत्सव मनाउँछौं , बाचा बाध्छौं अनि भोलीपल्ट विर्षिदिन्छौं । यि सब स्वभाव हुन् हाम्रा त्यसैले अस्वभाविक केहि हुंदैन । कति कुरा हामी अस्वभाविक भएको देख्छौं तर अस्वभाविक भएका हरेक कुराहरु हाम्रो स्वभावको सरलताले नै गराईरहेको हुन्छ । मैले स्पस्ट भन्न सकिँन होला तर 'सम'ले आकस्मिकतालाई नियमित भनेकै सुत्र जस्तै मैले अस्वभाविकतालाई सरल भनेको हुँ । नियमित आकस्मिकताको गाँठो घटनालाई समाएर उभिन्छ भने सरल अस्वभाविकताको गाँठो घटना गराउने कर्तालाई समाएर उभिन्छ ।

( म यहाँ एकछिन रोकिएँ । घोरिएँ । सोचेँ मैले के लेखेँ भनेर ? )

म नयाँ वर्षको कुरा गर्न गैरहेको हुँ । शुभकामना भन्न आँटेको हुँ तर प्रसँग भन्दा पर कुरा पुर्याएँ भन्ने लाग्यो । माथी लेखेजती कुरा दोहोर्याई तेहेर्याई हेरेँ र मेट्न लागेको थिएँ फेरी लाग्यो कतिपय कुरा सन्दर्भ भन्दा बाहिरै भएपनि प्रासङ्गिक बनिदिन्छन् । अप्रासङ्गिक भन्ने पनि केहि हुँदैन । माथीकै सुत्र प्रयोग गरे सान्दर्भिक अप्रासङ्गिकता भन्न सकिन्छ किनभने हामी सन्दर्भलाई नबुझेरै कतिपय ठाउँमा कतिपय कुराहरुलाई अप्रासङ्गिक ठहर्याउंछौं ।

केहि दिनदेखि म यो पृथ्वीलाई यौटा बडो ठुलो उनको डल्लोको रुपमा हेरीरहेछु । यो घुम्दो छ र निरन्तर यौटा धागो यसबाट बाहिर हुत्तिईरहेछ । उनकै गोला फुस्किएझैँ यो निरन्तर सकिँदैछ तर यति ठुलो छ कि हामी यो सकिईरहेको भेउ पाईरहेका छैनौं र यो पृथ्वीबाट बाहिर हुत्तिईरहेको त्यही धागोको रेखा समय हो । हामी यसलाई गन्न थालेदेखि यति खुस्कियो भनेर लेखा लगाईरहेका छौं । त्यो पनि सानो सानो एकाईको हिसाब राख्ने झमेलाले गर्दा गजमा , अरु कुनै ठुलो परिमाणको एकाईमा भने नि भयो , त्यसै गन्ति अनुशार २०६६ सुरु हुँदैछ । यसपाली नयाँ वर्षको उल्लास पाल्नै सकिंन मनमा र पनि खुसी छु - अर्को यौटा नयाँ दिन त देख्न पाएँ भनेर ।

यसपाली मलाई समय उल्टो फर्केको जस्तो महसुस हुन्छ होला कि भन्ने लागेको छ । के हुन्छ हेरौं ? केहि त नयाँ वर्ष नलाग्दै भैदियो । २००० नभने पनि बुझिन्छ म ३३ सालमा जन्मेको । यतिखेर मलाई ३३ वर्ष आयू ब्यतित गरिसक्न लाग्दा पनि अझै भोली के के हुँदै जांदोहोला अरु ३३ वर्ष अगाडी २०९९ साल कस्तो हुँदो हो ? हाम्रो हिसाबले पनि त्यसबेला अर्को यौटा शताब्दीको बिदाई हुन लागेको हुनेछ । त्यसबेला मेरो देश कस्तो हुँदो हो ? मेरो समाजका मान्छेहरु कस्ता हुँदा हुन ? विज्ञानले अरु के के उपलब्धी दिँदो हो ? ग्लोवल वार्मिङको कस्तो असर पर्दो हो पृथ्वीमा ? भन्ने जस्ता कौतुहल जागीरहेछ । कस्तो अचम्म ! त्यसबेला सम्म म मर्छु होला भन्ने त पट्टक्कै नलाग्ने जबकि जीवनको ठेगान छैन म जतिबेला पनि मर्न सक्छु भन्ने सत्य थाहा हुँदा हुँदै पनि मर्छु होला भन्ने सम्म कल्पना नगर्ने , बाँच्नको लागी कति आशक्त नि मान्छे ? यसपाली म जन्मेको सालको त्यही ३३ अँक फरक्कै फर्केर ६६ भएछ त्यसैले यसपाली मलाई समय उल्टो फर्केको जस्तो महसुस हुन्छ होला कि भन्ने लागेको । मैले नमाने पनि यो साल महत्वपूर्ण छ मेरो लागी । चिन्ता केवल यो महत्वपूर्ण समयको सुरुवातसँगै मैले महत्व दिएको मेरो जीवनको महत्वपूर्ण अँश पछाडी छुट्यो । मैले महत्व दिएको मेरो जीवनको यस महत्वपूर्ण अँशको सम्बन्धमा भने म लेख्न प्रतिबन्ध लगाईएको छु । लेख्ने घनघोर ईच्छा थियो तर नलेख्नु भन्ने आदेशलाई मैले छुटेको त्यही अँशको सम्मानमा पालना गर्नु छ । त्यसैले गर्दा निक्कै दिनदेखि म लेख्न सकिरहेको थिईनँ । केहि लेख्न खोज्दा पनि त्यही कुरा अभिब्यक्त हुन खोज्छ । त्यो बाहेक अर्थोक केहि सुझ्दैन । यौटा बोझ भएर त्यसले मलाई यस्तरी किचिरहयो कि म त्यसबाट त्यसै उम्कन नै नसक्ने भएँ । उम्कनलाई केहि लेख्नै पर्ने भयो त्यस विषयमा । एकातिर आदेश पालना गर्नु छ अर्कातिर दिमागबाट त्यसलाई हटाएर नयाँ कुरा देख्नु छ । नलेखि हटाउन पनि नसकिने र हटाउन लेख्न पनि नसकिने । त्यसैले यहि मध्य मार्ग बन्ने अवसर र मौका ठानेँ र नयाँ वर्षको गन्थनमा मिसाएँ । सम्पुर्ण रहस्य खोल्न नसक्ने यहि अस्वभाविक देखिने र अप्रासङ्गिक लाग्ने कुराकै निमित्त माथी सरल अस्वभाविकता र सान्दर्भिक अप्रासंगिकताको बखेडा झिकेको हुँ त्यो पनि 'सम'को नियमित आकस्मिकताको सुत्र टेकेर ।

मुख्य कुरा चैं नयाँ वर्ष २०६६ लाग्नुकै हो तर त्यही मुख्य कुराको निमित्त लेख्न कुरा छैन । यसपाली नयाँ वर्षलाई गुनासो गर्ने , नयाँ वर्षसँग आश गर्ने काम गरेर गीत , गजल , कविताहरु चैं नलेख्ने नै अठोट गरेँ । कम से कम यसपाली त नयाँ वर्षले मेरो गुनासो सुन्नु नपरोस । कम से कम यसपाली मैले नयाँ वर्षलाई केहि माग्न नपरोस । नयाँ वर्षलाई पनि वर्षैपिच्छे दिक्क लाग्दो हो म देखि त्यसैले मैले केहि लेखिँन । ढुक्क होस न नयाँ वर्षलाई भनेर तर पनि केहि न केहि चैं नलेखि नहुने रे क्या ! कसैले लेख्नु नै पर्छ भनेको त होइन ब्यारे तर पनि लेख्नै पर्ने ।

फेरी लेख्नलाई चैं केहि छैन । सबैलाई पत्तो छ नयाँ वर्ष लागेको र पनि सबैले दोहोर्याउनु छ यसलाई नयाँ वर्ष लाग्यो भनेर - त्यति नै त हो । नयाँ वर्ष लाग्नु नै केहि हुनु हो भन्ने ठान्नु छ तर नयाँ वर्ष लागेको पनि त हो । हो नि त , रोकेर रोकिने कुरै होईन समय त्यसैले नयाँ वर्ष आयो । बरु यसपाली मेरो शुभकामना छ यो नयाँ वर्षलाई । यो वर्षले बितेका वर्षहरुले झैं अनिष्टहरु झेल्न नपरोस भन्ने कामनाका साथ ।

यो मंगल कामना मित्रहरुलाई त सँधैको छँदैछ र पनि मौकामा नयाँ वर्षको पनि मंगल कामना !

Monday, April 06, 2009

कविता : एक छ आकाशमण्डल

हेरीरहेछु म त्यो अगम्य नील नभमा
टेकेर बबुरो पाईला यो प्यारो जगमा । १
सक्दिँन पुगी विचार्न नाघेर त्यो परिधी
जतिछन चन्द्र सुर्य ति चम्किला तारादि । २
देख्छु केवल चन्द्र एक र अनेक तारा
खुलेको छ चन्द्रमा लिई सुर्यको सहारा । ३

*****************
गम्छु , हवुन् उज्याला यसैगरी मानवका मन
एक आपसमा सहयोग र साथ लिईकन । ४
गरुन् कल्पना सबैले चन्द्र ताराको एकसाथ
जूनेली फूलेको आकाशमा तारा हाँसेको रात । ५
आँखिर आउने नै छ रात दिनपछि क्रम त्यो
स्वप्न उज्यालो दिनको मात्रै पनि हुन्छ भ्रम त्यो । ६

******************
नदेखुँ ताराहरु छुटेर आकाश अलग खोजेका
ति सुर्य अनि चन्द्रमाले झन छुट्टै आकाश रोजेका । ७
छ आकाशमण्डल एउटै अनन्त एक नै केवल
विभक्त ठान्नु त्यो ब्यर्थ छ उठाएर पर्खाल देवल । ८
सोचेर अर्थ्यायो कुनै हातले चन्द्रतारा सँगै लेखी
छ सम्बन्ध यिनको आँखिर एकसाथ अनादि देखि । ९

केहि अघि माइसंसारको फोटो हेरी कविता लेख्ने पोष्टमा लेखेको यो कवितालाई आज ब्लगमा ल्याएको हुँ । यौटा बहाना थियो महाभारत कथा त्यो सकियो अब अगाडी केहि लेख्ने मूड चल्छ कि ?