Wednesday, April 29, 2009

गजल : खै म त कुन कुनामा छु

के के भयो दुनियाँमा खै म त कुन् कुनामा छु ?
जगत् भुली जिन्दगीले लाउने जादू टुनामा छु ।

सुरक्षाका ब्यूहहरु आफैं रचेँ जिन्दगीमा ,
अभिमन्यु भई आफैं फसेँ र म थुनामा छु ।

कस्तो लोभ भकारीकै डम्म भरिनु नै पर्ने ,
कठै ! अझै चुब्रुक्क म टपरी र दुनामा छु ।

फेदैबाट गिँडिएर ढलेपछि सिङ्गो रुख ,
म ठुटोमा पलाउँदै गरेका ति मुनामा छु ।

उठ् दीपक अब त यो जिन्दगीमा अलिमाथी ,
भन्छु तर सँधै यहि जिन्दगीकै गुनामा छु ।

11 comments:

आकार said...

खै, आशा का बिच निराशा मिसिएका आवाजहरु छन् जस्तो लाग्दै छ । निरशा तिर मात्रै नहेरी अरुतिर पनि हेर्नुपर्छ । "केही पाउन केही गुमाउनुपर्छ" भन्ने सिध्दान्त यहाँ लागु हुने गर्दछ,हैन र ? दिपकजी !

Dilip Acharya said...

वाह ! वाह!

शुरु देखी अन्तसम्मका सबै शेर एकदमै उत्कृष्ट लागे। तपाईको गजलमा भाव मात्रै हैन शब्दको चयन पनि एकदमै 'नेपाली' हुने गर्छन, जुन मलाई साह्रै मनपर्छ ।

केहि शेरहरुले संकेत गरेका बहु आयामीक अर्थहरुले यसलाई झनै रोचक बनाएको छ ।

प्रबिण थापा said...

मिठो गजल दिपक जि,
यो जिन्दगीको के कुरा गर्नु,धेरै आसाहरु देखाउछ र क्षणभरमै निरास बनाइदिन्छ। के के नै गर्छु भनी भ्याइ नभ्याइ अघी बढ्यो अन्त्यमा प्रतिफल शुन्य पनि हुन्छ धेरै पटक तर के गर्नु जे जस्तो भएपनी आसा गर्न भने छोड्नु भएन होइन र ।

Milan said...

गजल एकदमै उत्कृष्ट छ

>Jotare Dhaiba< said...

ठेट शब्दको प्रचुरता र अलि नछोइएका चोखा काफियाको प्रयोगले गजलमा पोखिएको आजको विसङ्गत यात्रामा रूमल्लिएको जीवनको एकल भावदशालाई सुम्सुम्याउन सफल भएको पाएँ । दीनहीनताको स्थितिमामा पनि सन्तोषको आधारभूमि खोज्ने यो गजल जीवनविडम्वनाको चित्रणसँगै खुसीको पाठशाला जस्तो पनि लाग्यो है मलाई त,
जस्तै:

"फेदैबाट गिँडिएर ढलेपछि जिन्दगीको रूख,
म ठूटोमा पलाउँदै गरेका ती मुनामा छु ।"

महाभारत अध्ययनको क्रममा एकोहोरिएर बसेको नतीजास्वरूप थुनामुक्त भएर उर्लिएको भान हुन्छ यी हरफहरू ।

Sujan Sharma said...

रमाईलो लागे गजल दीपक जी !!
शब्द-संयोजन पनि बेजोडका छन् ।

wordflows said...

दीपक जी तपाइको गजल राम्रो लाग्यो
तर निरासा तिर झुकेको जस्तो लाग्यो

बिमल गिरी said...

दीपक जी
"बाँच्नका लागि"प्रतेक दिन
मरेर आत्मा सन्मान गुमाउदै
गएका स्रस्टाहरुको समुहमा
तपाईंले आफ्नै पहिचन बनाउनु
भएकोछ। गजल अतिनै मार्मिक
र सुन्दरछन। सुकोमल र मनमोहक
शैलिमा लेखिएका यि गजल बेजोडका
छन भन्छु म त।

Luna said...

Nice !
( as always ! )
keep it up !

Prabesh Poudel "उजेली" said...

कस्तो लोभ भकारीकै डम्म भरिनु नै पर्ने ,
कठै ! अझै चुब्रुक्क म टपरी र दुनामा छु ।

यी हरफ चैँ एकदम मौलिक लाग्यो !! गजललाई आफ्नो नामबाट टुङ्ग्याउने शैली साह्रै मनपर्छ दाइको मलाई !!

Basanta Gautam said...

वाह! वाह!! जडितजी, वाह! वाह!! साह्रै सटीक र सुन्दर गजल राख्नुभयो। यो शेर त अतिनै दामी लाग्यो;

सुरक्षाका ब्यूहहरु आफैं रचेँ जिन्दगीमा ,
अभिमन्यु भई आफैं फसेँ र म थुनामा छु।

जिन्दगीलाई दिन सकिने यो भन्दा सटीक परिभाषा अरु हुनै सक्दैन। हामी सुरक्षाको लागि भनेर ब्यूहहरु बनाउँछौं तर तिनैमा फँसेर 'असुरक्षित' बन्छौं।

सलाई छ तपाईँ र तपाईँको सृजनालाई!