Wednesday, February 10, 2010

गफ : घर जाने कुरा

'ए बा! सातसात वर्षसम्म घरै नआई अम्रिकामा बस्नु भै'च, कैले छोर्छोरीको मुख हेरुँ लउन्नथो ?'

द पवनकलि शो कि पवनकलिको प्रशंसक भएको हुनाले यो प्रश्न कल्पना गरें मनमनै र सोचें यतिखेर मलाई सोधिने एकाध प्रश्नहरु यदि पवनकलिले सोध्दीहुन त यसरी नै सोध्थीहोलिन् । हो म तीन महिनालाई नेपाल फर्कने सुरसारमा छु । सन २००३ को जनवरीमा अमेरिका पसेदेखि बेपत्तासँग यतै हराईरहेको मेरो बारेमा धेरथोर जानकारी राख्ने मित्रजनहरु सोध्ने गर्छन, 'यत्रो सात सात वर्षसम्म कहिल्यै घर जाउँ लागेन ? कहिल्यै छोरीलाई भेटुँ लागेन ?' यो प्रश्नको प्रकार हो, यस्तै थुप्रै प्रश्न गरिन्छन् मलाई । जवाफमा म के भनुँ के भनुँ हुन्छु । साँच्चै मसँग जवाफ रहेनछ । यस्तो प्रश्न आउँदा मित्रजनलाई फुत्त जवाफ दिन असमर्थ हुन्छु । त्यसो त केहि न केहि जवाफ दिनै पर्छ त्यसैले कसैलाई, 'किन नलाग्नु लाग्थ्यो नि' भन्छु त कसैलाई, 'लागेन' भनिदिन्छु । जसरी होस् यस्तो प्रकृतिको प्रश्नबाट बँच्ने उपाय तर्फ लाग्छु । सजिलै बँच्छु पनि । यहि प्रश्न अरुले सोध्दा मेरो मनले भन्ठान्दो हो अरे यार यो तेरो निजी मामला हो, जेसुकै जवाफ दिए नि भैहाल्छ नि । तर आफैंले आफैंलाई यहि प्रश्न गर्दा भने झन जवाफहीन भएझैं लाग्दो रहेछ ।

जाने आउने बाटो खुल्ला हुँदाहुँदै पनि सात वर्षसम्म म घर नगएको कुरा अरुलाई सायद आश्चर्यको कुरा भयो होला तर मलाई भने किन गईनँ भन्ने जवाफ नभएपनि उस्तो अनौठो लागेको छैन । एकताका मैले कतै ब्लगमै लेखेको थिएँ कि म जहाँ जोसँग हुन्छु तिनिहरु नै मेरा आफन्त हुन । मलाई मेरो मनले भनेको यो कुरा आत्म ज्ञान हो वा आत्म अज्ञान कुन्नि तर यहि कुराले मलाई कुनैपनि कुराहरु प्रति चाहिने भन्दा अधिक लगाव नराखेर बाँच्ने बल दिएको छ । जे होस म स्वयँले सात वर्षसम्म घर नफिर्नुलाई सामान्य रुपमै लिएको छु ।

भोली हिंड्नु छ घरतिर । घरजाने दिन नजिकिँदै जाँदा खुशीले मन छचल्किँदो हो भन्ने लागेको थियो । मन त्यसै त्यसै फुरुङ्ग पर्दो हो भन्ने लागेको थियो तर यो मनमा त्यस्ता लक्षणहरुपनि नदेखिँदा उल्टै सोध्नु परेको छ 'ओई मन घरजाने कुराले तेरो मन चौ चौ भएको छैन?' तर मन भोली हिंड्नु छ भनेरै ढुक्क छ । हिंड्ने बेलामा मन उत्तेजनाले तरँगित हुने अवस्था काटिएको हो त जिन्दगीमा ? प्रश्न त यस्तो पो बनाउँछ मनले बरु । घर पुगिसकेर कस्तो महसुस गर्ने हो मनले त्यो नपुगि भन्न सकिन्न पक्कै तर केहि पहिले नै मैले यौटा गजलमा लेखेको थिएँ

'वर्षौं पछि फर्किंदा घर काँ'को काँ'को भएछु म,
आफ्नैलाई कोक्याउने बनको बाँको भएछु म ।.....' हुने यस्तै पो हो कि न ? यसपटक पनि मनमा केहि कुरा खेलेको त पक्कै हो त्यसो त । हिंड्न बाँकी नै छ तर हप्ता अगाडी नै घर पुगेर मनले यसरी गजल लेख्न भ्याईसकेको थियो -

सँधै लेखिरहें परदेशबाट यो रित्तो मानोको कथा ।
आफ्नै हातले छाउन नसक्दा चुहिएको छानोको कथा ।

आज फर्किएर घरमा आमाको अघिल्तिर उभिएर,
के लेख्न सकुँला आमालाई ढाट्दा आएको आनोको कथा ?

टाल्दैछु केहि प्वालहरु म आफ्नै घरमाथी दया गरी,
छ उस्तै बगाल छुटाई हिंड्ने माहुरीको रानोको कथा ।

धेरै सम्झनाले लखेटीरहे झन् सपनाले खेदै खने,
कठै! सम्झें यहि आँगनभरी छरिएको सानोको कथा ।

सँधै परदेशकै मात्र जाडो गर्मीको कथा लेख्नेलाई,
लेख्न गाह्रो रहेछ आफ्नो घरले दिएको न्यानोको कथा ।


आगामी उपस्थिती ब्लगमा कसरी हुन्छ यो भन्न सक्दिंन सायद । नेपाल पुगेर ईन्टरनेट र समय पाए नियमित हुने कोशिस भने पक्कै रहनेछ ।

Monday, February 08, 2010

गजल : नसम्झाउ भो साथी

बाँचेको छु मैले यस्तै जिन्दगी ओ साथी ।
सम्झनु केहि छैन नसम्झाउ भो साथी ।

उज्यालो खोज्छौ कति के सूर्य कम्ति छ र?
आदि हो या अन्त्य दुबै छ अँध्यारो साथी ।

पहिले नि भनेकै हुँ दुरी आफैं तोक,
आफैं पनि हुँ कि हैन म त आफ्नो साथी ।

भन्यौ आँसु छैन उस्को मुटु नै ढुँगाको,
चाल पाएनौ घाँटीले हिक्का निलेको साथी ।

के सुनाएँ र के सुन्यौ कथा जिन्दगीको,
बाँकी केहि भन्नु छैन भन्न पुग्यो साथी ।

Monday, February 01, 2010

कविता : अर्को यौटा पागल

सँधै जस्तै नभएर
यौटा मान्छे
आज साँझ स्वयंभूको उकालो चढेन
उ तर्सिएको छ
अघिल्लो पटक
जब भेट्न पुगेको थियो उ
शान्त, स्निग्ध र सुन्दर
बुद्धका अर्धमुदित नयनहरु
साँझ पश्चिम क्षितिजमा
सूर्य विश्राम लिईरहँदा
देखेथ्यो उसले
छट्पटी बुद्धको आँखामा
धेरैपछि खुल्न लाग्दा
प्रेममय मुस्कान
बुद्धको बन्द ओठमा
ठुलो बेचैनी बिसाएथ्यो उसले
स्वयंभूनाथ डाँडामा
र फर्किएथ्यो
ठुलो हौसला उठाएर
स्वयंभूनाथ डाँडाबाट
फेरि तर्सिएको त्यहि मान्छे
आज साँझ स्वयंभूको उकालो चढेन
बरु तर्सिएरै उ पस्यो
सहरको गञ्जागोलभित्र
बर्बराउँदै -
हेर सपनाहरु हेर
फेरि बिग्रन थालेका छन् आजभोली
एकएकले देख्दैछन्
फेरि पनि नाङ्गीएको सपना
हरेकले देख्दैछन्
फेरि पनि लुटिएको सपना
प्रत्येकले देख्दैछन्
फेरि पनि काटिएको सपना
फेरि पनि ढाँटिएको सपना
र देख्दै जानेछन्
च्यातिएको सपना
चिमोटिएको सपना
उखेलिएको सपना
बिथोलिएको सपना
बिग्रिन थालेपछि सपनाहरु
देखि नै रहनेछन्
निचोरिएको सपना
चिथोरीएको सपना
मिचिएको सपना
किचिएको सपना
उ उफ्रिरहयो
उ कराईरहयो
भीडले एकतमास
उसलाई हेरिरहयो
सपनाहरुसँग आजित भीडले
भन्ठान्यो-
आज सहरमा अर्को यौटा पागल देखियो ।