Wednesday, February 10, 2010

गफ : घर जाने कुरा

'ए बा! सातसात वर्षसम्म घरै नआई अम्रिकामा बस्नु भै'च, कैले छोर्छोरीको मुख हेरुँ लउन्नथो ?'

द पवनकलि शो कि पवनकलिको प्रशंसक भएको हुनाले यो प्रश्न कल्पना गरें मनमनै र सोचें यतिखेर मलाई सोधिने एकाध प्रश्नहरु यदि पवनकलिले सोध्दीहुन त यसरी नै सोध्थीहोलिन् । हो म तीन महिनालाई नेपाल फर्कने सुरसारमा छु । सन २००३ को जनवरीमा अमेरिका पसेदेखि बेपत्तासँग यतै हराईरहेको मेरो बारेमा धेरथोर जानकारी राख्ने मित्रजनहरु सोध्ने गर्छन, 'यत्रो सात सात वर्षसम्म कहिल्यै घर जाउँ लागेन ? कहिल्यै छोरीलाई भेटुँ लागेन ?' यो प्रश्नको प्रकार हो, यस्तै थुप्रै प्रश्न गरिन्छन् मलाई । जवाफमा म के भनुँ के भनुँ हुन्छु । साँच्चै मसँग जवाफ रहेनछ । यस्तो प्रश्न आउँदा मित्रजनलाई फुत्त जवाफ दिन असमर्थ हुन्छु । त्यसो त केहि न केहि जवाफ दिनै पर्छ त्यसैले कसैलाई, 'किन नलाग्नु लाग्थ्यो नि' भन्छु त कसैलाई, 'लागेन' भनिदिन्छु । जसरी होस् यस्तो प्रकृतिको प्रश्नबाट बँच्ने उपाय तर्फ लाग्छु । सजिलै बँच्छु पनि । यहि प्रश्न अरुले सोध्दा मेरो मनले भन्ठान्दो हो अरे यार यो तेरो निजी मामला हो, जेसुकै जवाफ दिए नि भैहाल्छ नि । तर आफैंले आफैंलाई यहि प्रश्न गर्दा भने झन जवाफहीन भएझैं लाग्दो रहेछ ।

जाने आउने बाटो खुल्ला हुँदाहुँदै पनि सात वर्षसम्म म घर नगएको कुरा अरुलाई सायद आश्चर्यको कुरा भयो होला तर मलाई भने किन गईनँ भन्ने जवाफ नभएपनि उस्तो अनौठो लागेको छैन । एकताका मैले कतै ब्लगमै लेखेको थिएँ कि म जहाँ जोसँग हुन्छु तिनिहरु नै मेरा आफन्त हुन । मलाई मेरो मनले भनेको यो कुरा आत्म ज्ञान हो वा आत्म अज्ञान कुन्नि तर यहि कुराले मलाई कुनैपनि कुराहरु प्रति चाहिने भन्दा अधिक लगाव नराखेर बाँच्ने बल दिएको छ । जे होस म स्वयँले सात वर्षसम्म घर नफिर्नुलाई सामान्य रुपमै लिएको छु ।

भोली हिंड्नु छ घरतिर । घरजाने दिन नजिकिँदै जाँदा खुशीले मन छचल्किँदो हो भन्ने लागेको थियो । मन त्यसै त्यसै फुरुङ्ग पर्दो हो भन्ने लागेको थियो तर यो मनमा त्यस्ता लक्षणहरुपनि नदेखिँदा उल्टै सोध्नु परेको छ 'ओई मन घरजाने कुराले तेरो मन चौ चौ भएको छैन?' तर मन भोली हिंड्नु छ भनेरै ढुक्क छ । हिंड्ने बेलामा मन उत्तेजनाले तरँगित हुने अवस्था काटिएको हो त जिन्दगीमा ? प्रश्न त यस्तो पो बनाउँछ मनले बरु । घर पुगिसकेर कस्तो महसुस गर्ने हो मनले त्यो नपुगि भन्न सकिन्न पक्कै तर केहि पहिले नै मैले यौटा गजलमा लेखेको थिएँ

'वर्षौं पछि फर्किंदा घर काँ'को काँ'को भएछु म,
आफ्नैलाई कोक्याउने बनको बाँको भएछु म ।.....' हुने यस्तै पो हो कि न ? यसपटक पनि मनमा केहि कुरा खेलेको त पक्कै हो त्यसो त । हिंड्न बाँकी नै छ तर हप्ता अगाडी नै घर पुगेर मनले यसरी गजल लेख्न भ्याईसकेको थियो -

सँधै लेखिरहें परदेशबाट यो रित्तो मानोको कथा ।
आफ्नै हातले छाउन नसक्दा चुहिएको छानोको कथा ।

आज फर्किएर घरमा आमाको अघिल्तिर उभिएर,
के लेख्न सकुँला आमालाई ढाट्दा आएको आनोको कथा ?

टाल्दैछु केहि प्वालहरु म आफ्नै घरमाथी दया गरी,
छ उस्तै बगाल छुटाई हिंड्ने माहुरीको रानोको कथा ।

धेरै सम्झनाले लखेटीरहे झन् सपनाले खेदै खने,
कठै! सम्झें यहि आँगनभरी छरिएको सानोको कथा ।

सँधै परदेशकै मात्र जाडो गर्मीको कथा लेख्नेलाई,
लेख्न गाह्रो रहेछ आफ्नो घरले दिएको न्यानोको कथा ।


आगामी उपस्थिती ब्लगमा कसरी हुन्छ यो भन्न सक्दिंन सायद । नेपाल पुगेर ईन्टरनेट र समय पाए नियमित हुने कोशिस भने पक्कै रहनेछ ।

10 comments:

कैलाश said...

जे भएनि सातवर्ष पछि घर फर्कदै हुनुहुन्छ। तपाईलाई स्वागत छ। तपाईले छाडेर गएको मुलुक आउँदा अवश्य नै फरक भेट्नुहुनेछ। तपाईको यो टाँसो पढेपछि कताकता आफ्नो घरलाई आफैलाई टिठाएको अनि आफ्नै घर बिरानो भएको र आफू साँच्चैको परदेशी भएको भान दिलायो।

Have nice journey and Welcome Back to you Dipak ji

Basanta said...

निकै आत्मीय लाग्यो यो टाँसो! मलाई पनि यस्तै लाग्छ र 'परेदेशी' भन्ने एउटा कवितामा यस्तै-यस्तै भाव पोखेको छु मैले पनि।

गजल झन् मर्मस्पर्शी लाग्यो। मनलाई धेरै बेर तरंगित बनाईरह्यो।

शुभ यात्रा! तपाईँको नेपाल बसाई सुखमय रहोस्!

N K M said...

subha yatra.

Nepal aama lai sodheko chha aani dherai samjhana chha bhani dinu hola hai.

गोकुल ढकाल said...

शुभ-यात्रा । एक हरफ थप्न मन लाग्यो ;

बाबाको आलो घाउबाट कति बगे अरे पिपहरु,
मन कसरी सम्हालुंला अब, सुनेर सुन्तलीको गानोको कथा ।

वसन्त बलामी said...

मन छुने गजल अनि यो टाँसो । शुभयात्रा जडित जी

Jotare Dhaiba said...

हार्दिक स्वागत दीपकज्यू ।

सात वर्षपछि तै तीन महिनाको समय मिल्यो, यही नै वेश भो । धेरै चोटि हुन्छ जीवनमा यस्तो, सामान्य कुरामा पनि आफू नाजवाफ भइन्छ, चाहे त्यो आफ्नै कुरा किन नहोस् । ख्यालै नगरेर छुटिरहेको हुन्छ । मार्मिक लाग्यो यहाँको अनुभूति । हामी गाउँदेखि पर राजाधानीमा टाढा रहेर पनि भक्कानिन्छौँ, परदेशमा त झन् व्यथा पनि उखरमाउलो हुँदो हो ! तै 'कुनै पनि कुराप्रति बढ्ता लगाव नराखी बाँच्ने बल' सँगाल्नुपर्ने अवस्था छ ।
तीन महिनाको नेपाल बसाइ खुसीदायक र सुखद दुवै होस् ।
मेसो मिलेमा भेट पनि होला नै ।

Sunil said...

कुराले मेरो पनि मन छोयो तर कहिले कही माया गर्ने हरु को लागि आती स्वर्थी भये जस्तो लगेन?

Chaitanya said...

सँधै परदेशकै मात्र जाडो गर्मीको कथा लेख्नेलाई,
लेख्न गाह्रो रहेछ आफ्नो घरले दिएको न्यानोको कथा ।
अहो, असाध्यै मनछुने किसिमले लेख्नुभएको रहेछ | माया नमार्नुहोला है, देश फर्केपनि | शुभकामना !

बिमल गिरी said...

मन अब्यबस्थित भएपनि दीपकजी कहिले कहिले यस्तैहुन्छ। मलाई,तपाईंलाई र अन्य साथीहरुलाई। मनका कती पीर र ब्यथाहरुलाई बिर्सिएर अब नयाँ जोस,नया जागरलाई फुलाउनु पर्छ। छिट्टै फर्कनुहोला मनभरी खुशीलिएर। ऐलेलाई शुभयात्रा।

कृष्णपक्ष said...

'ओई मन घरजाने कुराले तेरो मन चौ चौ भएको छैन?' तर मन भोली हिंड्नु छ भनेरै ढुक्क छ । हिंड्ने बेलामा मन उत्तेजनाले तरँगित हुने अवस्था काटिएको हो त जिन्दगीमा ? प्रश्न त यस्तो पो बनाउँछ मनले बरु ।

कति छोयो.. कतै बोलि नै नफुट्ला जस्तो भयो ।