Wednesday, December 12, 2012

लघुकथा : कर

धूलो खेलिरहेको छ सातवर्षे बालकले माटोका डल्लाहरु तीनठाउँमा चाङ्ग लगाएको रहेछ । संयोगले ऊ त्यसदिन मैले काम गर्ने ठाउँमा खेल्दैरहेछ । जब म आफ्नो काममा पुगें । उसले अन्दाज लगाईहाल्यो कि अब उसले खेलमा निर्माण गरेको संसार म त्यसरी नै भत्काईदिन्छु जसरी ऊ वा उसका उमेरका बच्चाहरु कमिलाले दुलो छेउमा  थुपारेको माटोको ढिस्को बिनाकारण भत्काउने गर्छन् ।

जसै म उसको छेउमा पुगें उसले आफ्नो सानो खेलक्षेत्रलाई साना हातहरु फैलाएर छोप्न खोज्दै भन्यो, 'केहि नगर्नु है याँ; अर्काले कस्तो दुख गरेर बना'को छ ।'

म उसलाई लखेटेर आफ्नो काम गर्न चाहन्थें त्यसैले थोरै झर्किएर भनें, 'के बनाइस्, माटाका डल्ला थुपारेर मैले काम गर्ने ठाउँमा?'

तब उसले एक एकवटा डल्लाहरुको चाङ्गलाई पालैपालो हातले देखाउँदै भन्यो, 'यो काठमाण्डुको धररा, यो ईन्ड्याको ताजमहल अनि यो चैं पेरिसको आफल टावर ।'

आफ्नो खेल तन्मयता र आफुसँग भएको ज्ञानका साथ जुन विश्वासले उसले मलाई त्यो कुरो भन्दै थियो - त्यो देखेर मलाई उसको कुरा पत्याउन कर लाग्यो |

Monday, October 22, 2012

दशैं गफ : दशैं, फेसबुक र कविताहरु

उत्ताउलिनु केहि छैन । दशैं नै त हो आएको जो हरेक वर्ष आउने गर्छ ।

यसपाली दशैंको मेरो एउटा स्टाटस यस्तो थियो फेसबुकमा । भन्नलाई जे भनेपनि दशैं मनाउने परम्परा र संस्कृतिमा हुर्केका हामी मनुख्खेहरुलाई तर दशैंले नछोइ कहाँ छाड्छ ? हो छुने काइदा भने फरक फरक होला बरु; भूगोलको, मनको र ब्यावहारहरुको अवस्थाहरु अनुशार । म प्रशान्त महासागरले वेष्ठित धर्तीकै सूदुर पश्चिममा रहेको हवाईयन द्विपहरु मध्येको यौटामा छु । भाषा, संस्कृति लगायतका सामाजिक गतिविधीहरुको दृष्टिले म अनकण्टारमा छु भने हुन्छ । दशैं आयो है भन्ने सम्म अर्को कुनै नेपालीहरु वरपर छैनन् । त्यसैले दशैंको कुनै खास गतिविधीहरुमा सामेल हुने कुरा पनि छैन । आफ्नो यहि वास्तविकताको आधारमा पनि लेखेको हुँ मैले उपरोक्त फेसबुके स्टाटस । तर भनें नि, दशैंले भने जसरी भए नि छोएरै छाड्ने । जीवनमा आउन नसकेको दशैं यो सातसमुद्र पारीको गुप्तवासमा समेत मनमा भने आएको छ । र मनमा दशैं लिएर आउने माध्ययम चैं फेसबुक बनेको छ ।

सुर्ती, रक्सी जस्ता कुराहरुको महाअम्मलीले बरु अम्मल सेवन गर्न निक्कैबेरलाई छोड्ला तर यो फेसबुकको अम्मलीले छिनको छिनमा फेसबुकमा चिहाउन छोड्दैन । त्यै भएको छ मलाई । घरि पनि घरि पनि फेसबुकमा चिहाउँदै दशैं सम्बन्धि अरुका स्टाटसका विभिन्न कुराहरु पनि हेर्न भ्याएपछि मनभरी दशैंको उज्यालो भरिएको छ । मनभरीको यहि उज्यालोमा आज दिउँसो फुर्सद निकालेर दशैं केलाउन थालें । सानो छँदाको दशैं, अलि ठुलो हुँदाको र हालसालैका दशैंहरु काँसघारीमा कोटेरो जस्तै फित्रिक फित्रिक नाच्न थाले मनमा । सानाका कुरा छोडौं सबैसँग सानओ हुँदाको सम्झनाहरु थानका थान उपन्यास लेख्न पुग्ने गरेर हुन्छन् । हालसालैका दशैंहरुमा भने म बडा मौसमी कवि बन्ने गर्दो रहेछु र प्रायस सालहरुमा लेख्दो रहेछु दशैं शिर्षकमा मौसमी कविता । सम्झेर ल्याउँदा खुशी पनि लाग्यो । मौसमी नै सही, दशैंको मौसमले मलाई कविता लेखाउँदो त रहेछ । यो मौसमको रौनक फेसबुकमा अझ देख्न मिल्छ । दशैं कविता लेख्ने म जस्ता मौसमी कविहरु फेसबुकमा सायदै गनिसाध्य होला । नहोस् पनि किन आँखीर कविता पनि त दशैं जस्तै रमझम न हो । अथवा यसरी भनौं - कवि मनहरुलाई दशैं मौसमी कविता हो भने कविता सँधैंको दशैं हो । यहाँनेर दशैं चाडप्रति कारणवश पूर्वाग्रह राख्नुहुने मनहरुलाई म दशैंको शट्टामा अर्को आफुले मनपराउने वा मान्ने चाड राखेर बुझ्नुहुन सविनय अनुरोध समेत गर्न चाहन्छु । मैले चैं दशैं नै आफुले मान्ने विशेष चाड भएकोले दशैं नै लेखें ।

जे होस् । मैले प्रायस दशैंहरुमा कविता चैं लेखेकै हुँदोरहेछु र यसपाली पनि फूलपाती भन्दा अगाडिनै लेखिसकेछु दशैं कविता ।

शिर्षक छ - यो दशैं हो

भूमिका केहि थिएन
अचानक
खुकुरी सम्झिएँ
निरिह खसीको गर्दन सम्झिएँ
र सम्झिएँ - यो दशैं हो ।
 
    - सायद भूमिका यहि थियो ।

हुनपनि -
अर्थोक केहिले बताओस् नबताओस्
आँगनबाट एकोहोरो आउने
खसीको म्याँ म्याँले बताउँछ - यो दशैं हो
घरमा केटाकेटिहरु भए
तिनकै उज्यालोले बताउँछ - यो दशैं हो
केटाकेटिहरु नभए
घरमूलीको घुँडामा कुहिनो अडिएर
खप्परमा टाँसिएको हातले बताउँछ - यो दशैं हो ।

दशैं न हो
यो रवाफले पनि आउन सक्छ
धेरथोर खुशी पनि ल्याउन सक्छ
सर्लक्क तिम्रो अनुहार पढेर
अदवले तिमीलाई सोध्न सक्छ
'खसीको गिदी जिब्रो भुटेर
कुन रक्सी खाने हो यसपाली?
हात पनि त चिलाउँदै होला कौडा फ्याँक्न
कुन खालमा जाने हो यसपाली?'
छोड नियमले दिँदैन भन्ने कुरा
दशैंले आफैं जन्दछ आफ्नो नियम - यो दशैं हो ।

दशैं नै त हो
तिमी हामीले शरम मानेपनि
यो दशैं नै भएर आउँछ
लाज पचाउँछ
र गाल पारेर जान्छ ।

कहाँ सक्थ्यौ तिमी ढोका थुनेर छेक्न यस्लाई?
साइत पारेर तिम्रो घरको ढोका
निधारले ढक्ढक्याउँछ - यो दशैं हो
तिम्रो गोजी, गल्ला, बाकस, थैली
प्यारले टक्टक्याउँछ - यो दशैं हो ।


मेरा दशैं कविताहरुमा दशैंले गरिवीमा पार्ने प्रभावहरु नै प्रमुखताका साथ लेखिँदा रहेछन् । आफ्नै नयाँ पुराना दशैं कविताहरुमा घोत्लिएपछि थाहा पाएँ । म कि त गरिवीको ब्याथा कि दशैंको विकृतिलाई निशाना बनाउँदो रहेछु । फेसबुकमा थुप्रै अरु दशैं कविताहरुमा पनि देख्न पाइन्छ यहि कुरा । अभाव सायद हामीले भोगेको साझा पीडा भएर हुनसक्छ यसो भएको । र दशैं चाड मनाउनेहरुलाई पनि दशैंमा हुने व्यापक काटमार जस्ता साँस्कृतिक बिकृतिहरु ठीक नलागेकोले चाहिँ दशैंका विकृतिहरु प्रति कवितामा व्यङ्ग्य कोरिएको हुनसक्छ । तर पछिल्ला दशैंहरुले यस्ता जायज व्यङ्ग्य भन्दा अलि धेरै व्यङ्ग्य सहन थालेको छ । प्रहार नै सहन थालेको छ भनुँ न । व्यङ्ग्य र प्रहार दुबै उस्तै लाग्ने कुराहरु भएपनि त्यसमा टड्कारो फरक देखिन थालेको छ आजभोलीको दशैंमा ।

दशैंलाई हिन्दुहरुको मात्र चाड हो भनेर प्रहार गर्ने धेरैसाथीहरु फेसबुकमा भेटिन्छन् । हो दशैं हिन्दु धर्मावलम्बीहरुले नै मनाउने चाड हो तर वर्तमानको हाम्रो समाजमा हिन्दुवादी चाड भएको भनिएरै दशैंमा हिन्दुहरुले कटाक्ष खपिरहनु पर्ने कुरा कतिको युक्तिसंगत देखिन्छ? अझ क्षेत्री बाहूनहरुलाई दशैं चाड मनाउने भएकैले प्रहार गर्नु कति न्यायोचित हुनसक्छ? जबकि अहिन्दुहरुले पनि सामाजिक सद्भाव राख्दै दशैं मनाएको देखेको छु मैले र त्यो सर्वथा सुन्दर देखेको छु । जानीजानी वा नजानेरै लहै लहैमा यसरी यौटा संस्कृतिलाई ढलाउन प्रहार गर्ने फेसबुकका साथीहरुलाई सम्झाउँन त सायदै सकुँला म; किनभने उनिहरु भित्र दशैं पर्व तथा हिन्दु संस्कृति प्रति गहीरो पूर्वाग्रह भरिएको छ तर अनुरोध के गर्न चाहन्छु भने आफ्नै तथा आफ्नै वरिपरीका संस्कृतिमा भएका विकृतिहरुलाई सुधार हुने गरेर प्रहार गरौं । त्यसबाट सबैको भलो होला तर समूल संस्कृतिलाई नै नष्ट गर्न प्रहार नगरौं त्यसले कसैको भलो गर्दैन ।

दशैं सम्बन्धि यो ब्लगको खुराक लेखिरहँदा मैले फेरि अर्को यौटा फुच्चे दशैं कविता लेखेर फेसबुकमा टाँसिसकेको थिएँ ।

दशैं
वनावटी अभावका गतिला कथाहरु
फेसबुकका भित्तामा भित्ताहरुमा
अद्वितिय कविता रुप धारण गरी
फैलंदो छ फैलंदो छ ।

दशैं
सुँगुर, हाँस, खसी, च्याँग्रा, राँगा
केहि नछोड्ने मैखासुरको सेतो दाँत जस्तै
शान्ति प्रियभै फेसबुकको पर्खालमा
टासिंदो छ टासिंदो छ ।

दशैं
चित्रका विचित्र अक्षता जमरा सहित
लाग्ने नलाग्ने, हुँदो नहुँदो आशिष भइ
फेसबुकका झ्यालबाट निधारहरुमा
थापिंदो छ थापिंदो छ ।


अन्त्यमा, दशैं २०६९ को हार्दिक मंगलमय शुभकामना सबै दशैं मनाउने नमनाउने मेरा साथीहरुलाई !

Friday, October 12, 2012

लघुकथा : एकदिन

'आज के भो र किताब नलि' आइस्?' एकदिन उसको कानको जरी उखेल्दै हेडमास्टरले सोधे ।

'हेडसर, हाम्रो भर्‍याङको तीन्टा खुट्किलो भत्केको छ । म किताब लिन माथि जानै सकिंन ।' उसले आत्मविश्वासका साथ कहानी रचेर सुनायो ।

'घरका अरुलाई किताब झिक्देओ भन्नु पर्दैन त?' हेडमास्टरले कानमुन्तिर ठ्याम्का लगाए ।

'आमा पानी लिन ग'कि थि'न्, घरमा अरु क्वैपनि थे'नन् ।' रातो भएको अनुहारले उसले अर्को छोटो कहानी सुनायो ।

हेडमास्टर र उसको बिच भएको यो चलचित्रमय दृश्यले कक्षाकोठामा मनोरन्जनको वातावरण बनाईरहेथ्यो । अरु विद्यार्थीहरु हेडमास्टरको केरकार लम्बिए आफु सजायबाट बच्ने कुरामा मख्ख हुँदै मनोरन्जन लिँदैथिए । हेडमास्टरलाई पनि पढाउनु समेत नपर्ने गरेर मनोरन्जन प्राप्त भैरहेको हुँदो हो । सम्झिएझैं सोधे, 'अनि अस्ति किताब नल्याउँदा तैंले लिस्नो लडो' भनेको हैन? अस्तिको लिस्नो आज कसरी भर्‍याङ भयो?'

उसले पिर्लिक्क आँखा पल्टाएर हेडमास्टरको आँखामा जुधायो । चोर त यसै छँदैथिएँ पक्रा पर्ने भएँ भन्ने लागेको हुँदो हो उसलाई । हेडमास्टरले फेरि जोडले कन्सिरी उखेले ।

'अनि त्यो लिस्नो लडेपछि हाम्रो बाउले भर्‍याङ बनाए नि त ।' किन्चित डर नमानी उसले फेरि कहानी थप्यो ।

'तँलाई लठुवा! ढाँट्छस्? भर्‍याङको खुट्किला भत्केर किताब ल्याउन नसक्नेले त्यो झोला कसरी झिकेर ल्याइस्?' माझ टाउकोमा एक पड्याङ्ग भेट्यो उसले ।

'झोला त मैले हिँजै धो'को थें अनि सुका'को ठाउँमै विर्षेछु राती उठाउन ।' जवाफमा अर्को कथा अघि नै तयार गरेछ उसले फट्ट सुनायो ।

हरेकदिन जसो उ र सरहरु माझ मञ्चन हुने नाटक यस्तै हुन्थ्यो । किताब ल्याउन विर्षिन्थ्यो या जानी जानी ल्याउँदैनथ्यो तर झोला सँधै बोक्थ्यो उ । झोलामा पुराना टर्चलाइट, ब्याट्री, सलाईका डिब्बा ईत्यादि सामानहरु हुन्थे मानौं उ कुनै खुद्रा पसलको सेल्सम्यान हो र सामान बेच्न हिंडेको छ ।

सरहरुको हातको पिटाई नखाएको दिन सायद उसको जिन्दगीको सबसे लोदर दिन हुन्थ्यो । तर पढाईमा उसको तेज कक्षामा मन आँक्न मिल्ने थिएन । उ प्रथम, दोस्रो, तेसो कहिल्यै भएन तर फेल पनि कहिल्यै भएन । त्यहि स्कूलबाट एसएलसी दिउन्जेलसम्म उसको आदत साबिक नै थियो । गृहकार्य नगर्ने, किताब बोकेर नआउने, सामान्य उपध्रो गरिरहने ।

एसएलसीमा मुश्किलले एकाध विद्यार्थी प्रथम श्रेणीमा उतिर्ण गराउने त्यस स्कूलमा दोश्रो श्रेणीमा एसएलसी पास गरेर उ कता गयो कसैले थाहा पाएन ।

वर्षौंपछि एकदिन -

जिल्लाको एउटा साहित्यिक संस्थाले जिल्लाभरीका साहित्यकारहरुलाई बोलाएर अभिनन्दन गर्ने कार्यक्रम बनायो र त्यहि स्कूलको मञ्चलाई कार्यक्रम स्थल छानियो । उनै हेड मास्टरले जिल्लाभरीका कवि, लेखकहरुलाई सम्मानपत्र दिने र खादा पहिर्याउने जिम्मेवारी पाएका थिए ।

कार्यक्रममा सबभन्दा पहिले यसैवर्ष साहित्यमा देशकै सबभन्दा सम्मानित पुरस्कार पाएर चर्चाको शिखरमा रहेका युवा कथाकारलाई बोलाईयो । उनको बारेमा आयोजकका तर्फबाट कसैले मनग्गे चर्चा गरेपछि हेडमास्टरको बाहुलीबाट सम्मान पत्र र खादा अर्पण गरेर उनलाई केहि बोल्न लगाईयो ।

युवा कथाकारले आफ्नो गला अवरुद्ध पार्दै भने, 'म आज मलाई सानैदेखि कथा रच्न बाध्य बनाई प्रेरणा दिनुहुने गुरुवरको हातबाट यो सम्मानपत्र थाप्न पाउँदा भाग्यमानी बनेको छु ।............' कथाकार आफ्नो स्कूलको वाल्यकालका घट्नाहरु बताउँदै गए; हेडमास्टरको आँखा कहिल्यै किताब नल्याउने त्यो लठुवा विद्यार्थी पसेर भरिंदै आयो ।

Wednesday, October 10, 2012

कविता : पुतलीपाखा

सालन्ने आउँथ्यो हूरी
र उडाएर लैजान्थ्यो मेरो घरको छानो ।

ल्यु सूनले जस्तै मैलेपनि
सालन्ने भेला गरेको छु
अलिकति करेसाको रुखबाट
अलिकति छिमेकीको आँगनबाट
अनि अलिकति आफ्नै मकैबारीबाट
आँधीहूरीमा छिरोलिएर भिजेको
मेरो घरधूरीको खरपराल ।

कस्ले निको मान्न सक्छ
मसमसी निदाएर मीठो सपना देख्न चाहँदा
धूरी चुहिएर कानमा पानी पसेको?
कतिञ्जेल थाप्न सकिन्छ
यो कुना र उ कुना ओच्छ्यान पल्टाउँदै
रातभरी जागेर सिह्रानीमा कसौंडी?

घुर्यानमा आउने एकविहानको घाममा
ओल्टाईपल्टाई सुकाएझैं गरेपछि
आफैं चढेर छाएको छु मैले
आँधीको थप्पडले रुँदै गरेको छानो
बाँधेको छु धूरी अलि कसेर
थिचेको छु पुतलीपाखा भाटा थपेर ।

कालान्तरमा -
खर पराल धूरीमा चढाउँनै छाडिए
चोयाबाताहरु काढ्नु परेन
दाँती काट्नु परेन
भाटा खिप्नु परेन ।

कालान्तरमा -
घर छँदैछ तर
छानो छाउँने चिन्ता मेटियो
धूरी हराएर गयो
पुतलीपाखाहरु बाँकि रहेनन् ।

आँधीहूरी आइरह्यो उसैगरी
सालन्ने तर
क्षति फरक पर्दै गयो
उड्दै जानथाले मनका धूरीहरु
बढ्दै जानथाले मनका दुरीहरु ।

पूर्वपश्चिम फर्किएको धूरी भएको
सिङ्गै देशमा म
सालन्ने आँधीले उधारेको धूरी मार्दै
सालन्ने हूरीले झारेको पुतलीपाखा छाउँदै
पूर्वको पुतलीपाखामा हुर्केको थिएँ ।

आज आँधीले मनहरु उडाउँदा
कसैगरे पत्तो पाउँदिंन
कता फर्केको छ मेरो मनको धूरी?
कहाँनेर छ मेरो मनको पुतलीपाखा?

Wednesday, September 19, 2012

गजल : अस्ताउँछन् घामझैं उदाउनेहरु

होसियार आकाशमा छाउनेहरु ।
अस्ताउँछन् घामझैं उदाउनेहरु ।

भरिएपछि अवश्य पोखिन्छ भन्ने,
विर्षन्छन् सँधै प्रेम खन्याउनेहरु ।

मेरै सम्मानले झन् झन् बढेर गए,
यो देशमा ऐंजेरु पलाउनेहरु ।

उ आए ति ल हेर हौदामा बसेर,
हात्तीछाप चप्पल लगाउनेहरु ।

पानीझरीमा कहाँ गै ओतिँदा होलान्,
आफ्नै घरको छानो भत्काउनेहरु ।

नामी नामी कथाकार बनिसकेछन्,
मलाई मेरै कथा सुनाउनेहरु ।

अचानोलाई साथी हो भन्थ्यो खुकुरी,
रुँदैथिए सँधै चोट पाउनेहरु ।

भन्दैथिए हामी त हराउँनै सकेनौं,
धेरैपछि फर्केर आउनेहरु।

धेरैजसोले आजै हार मानिसके,
हिँजो मलाई रीस उठाउनेहरु ।

हाम्रोमा त अपवाद भै'गयो अन्त,
थपिथपि खाँदैनन् अघाउनेहरु ।

Wednesday, July 18, 2012

पुस्तक गफ : 'क्यासल रककी अप्सरा'सँग म




सुन्दर जोशीका निक्कै कथाहरु मैले खसखसमा पढिसकेको छु । खसखसमै उनको जादुमय कथाकारिताको टुनामा बाँधिइसकेको पनि छु । फेरिपनि कथाकार सुन्दर जोशीको कथाकृति चाँडै निस्कँदैछ भन्ने जानकारी फेसबुकले दिएको दिन फेसबुकको खुट्टा भए म टुसुक्कै ढोगीदिन्थें भनेजत्तिकै हर्ष भएको थियो । यो जानकारी मैले कथाकृतिको नाम के रहन्छ र कृतिको आवरण कस्तो हुन्छ भन्ने समेत एकसाथ पाएको थिएँ ।

'क्यासल रककी अप्सरा' नाम जुरेको कथाकृतिको आवरण चित्र फेरि मेरा मनपरेका चित्रकार तथा 'अब्स्ट्रयाक्ट बैंकक'(हालै प्रकाशित उपन्यास)का लेखक खगेन्द्र पन्धाक लिम्बूले बनाएका रहेछन् । आवरणकलाको हिसाबले संग्रह स्वस्थ्य देखिएकै छ तरपनि मलाई आवरण चित्रमा भएको रकसँगै अस्पस्ट क्यासलको केहि हिस्सा पनि जोडिएको जस्तो भएको भए अझ राम्रो हुन्थ्यो जस्तो लागिरह्यो । त्यसो त आवरणमा भएको रक रकनै हो कि बोल्डर(Boulder)हो? भन्ने पनि लागेको छ ।

कथाकृति बजारमा आइसक्नु अगाडिनै मैले 'क्यासल रककी अप्सरा'लाई नेपालबाट मगाउने किताबहरुको लिष्टमा चढाइसकेको थिएँ । तर मेरो सौभाग्य एकदिन फेसबुकले कथाकार सुन्दर जोशीको म्यासेज ल्यायो । म्यासेजमा 'क्यासल रककी अप्सरा' मेरो निम्ती आउनु पर्दा कहाँ आउनुपर्ने हो? ठेगाना सोधिएको थियो । (यहाँ फेरि पनि एकपटक सुन्दर दाइलाई हार्दिक धन्यवाद!) यसरी कृतिकारहरुबाटै कृतिहरु सौगात प्राप्त गर्ने थोरैजसो मात्र अवसर पाएको मलाई यो ठुलो खुशीको क्षण थियो । सहर्ष, सधन्यवाद मैले तुरुन्तै आफ्नो ठेगाना लेखिपठाएँ र यता नेपालबाट मगाउने किताबहरुको लिष्टबाट 'क्यासल रककी अप्सरा' झिकें । शट्टामा अर्को एउटा किताब थप्न पाउने खुशी पनि थपियो ।

मेरो दैलोसम्म अप्सरा खुशी लिएर आउन हुलाक सेवालाई धेरैदिन लागेन । सम्भवत तेस्रो वा चौथो दिनमै 'क्यासल रककी अप्सरा' हात परिन् । संग्रहभित्र के के कथाहरु होलान् त? यहि थियो मेरो उत्पात कौतुहल ।  तसर्थ हत्तपत्त कथाक्रम हेरें । संख्यामा ११ वटा तर शिर्षकमा ७ वटा कथाहरु रहेछन् । शिर्षक कथा पढिहाल्ने ईच्छाले तुरुन्तै पेज १५९ मा गएँ र पढ्न थालें ।

दुई भागमा रहेको शिर्षक कथाको पहिलो भाग पढ्दै जाँदा पहिले पनि पढेको हो भन्ने थाहा पाउँदै गएजस्तो हुँदैथियो । लाग्यो पक्का खसखसमै पढेको हुनुपर्छ । शिर्षक कथाका दुबै भागहरु पढिसकेपछि भने यो संग्रह पढ्नलाई बिसाउने पर्ने सोचेको थिएँ मैले । किनभने म अर्कै पढ्दै गरेको किताबको पनि मध्यभागतिर पुगेको थिएँ । पढ्दै गरेको किताब सकेर मात्र पुन 'क्यासल रककी अप्सरा' समाउने विचार थियो मनमा । तर भूमिकाहरु र लेखकका कुरा चैं पढिहालौं न त भने भयो र मञ्जुल र वासु श्रेष्ठको भूमिका खरर सिध्याइहालें ।  वासु श्रेष्ठको भूमिकामा '..यस संग्रहमा समाविष्ट 'क्यासल रककी अप्सरा' बाहेक अन्य कथाहरु खसखस डटकममा प्रकाशन भैसकेका छन्..' भन्ने पढेपछि फेरि मैले 'क्यासल रककी अप्सरा'को पहिलो भाग कहाँ पढें त? भन्ने खुल्दुली उठ्न थाल्यो । कोलोराडोको पृष्ठभूमी बनाएर लेखिएको 'क्यासल रककी अप्सरा' पढ्दा परिचित स्थानहरुको वर्णन आएर कथाले ममा आत्मियताको अनुभुति उमारीरहेको थियो । कथामा वर्णित स्थान र दृश्यहरु मैले कथामै वर्णन गरिएझैं देखेको हुँ कि जस्तो समेत लाग्दैथियो । अमेरिका आएर म आफैं पनि पहिलोचोटी कोलोराडोमै बसेको थिएँ र झण्डै तीनवर्षको कोलोराडो बसाईमा कथामा वर्णित स्थानहरु बारे लगभग ज्ञात थिएँ । अझ मीठो संयोग त कोलोराडोमा मेरो पहिलो बसाई भएको अपार्टमेण्टको नाम समेत 'क्यासल अपार्टमेण्ट' थियो । कथाप्रति एकदम नै आत्मियपना उमार्नु त पक्कै यि नै कारणहरु थिए । कतै यि नै कारणहरुको कारणले गर्दा मलाई यो कथा पहिले कतै पढेको जस्तो लागेको त हैन भन्ने जस्तो पनि लाग्दैथियो । तर केहिपछि वासु श्रेष्ठ दाइसँग फोनमा कुराकानी हुँदा थाहा भयो 'क्यासल रककी अप्सरा'को पहिलो भाग पनि खसखसमा प्रकाशित भैसकेको रहेछ ।

मैले पढ्दै गरेको(आधा पुर्याएको) किताब डा गोविन्दराज भट्टराईको 'सुकरातका पाईला' थियो । अघिल्लो पटक 'सुकरातको डायरी' मगाउँदा भूलवश आएको 'सुकरातको पाईला' पनि मैले पढेको थिएन र पढ्दैथिएँ । डा भट्टराईको रोचक शैलीमा, तत्कालिन अवस्थाको देशको सजीव चित्रण भएको उपन्यास भएपनि एकोहोरो निराशापूर्ण कथानकले म दिक्दारिएको थिएँ । त्यसैले सोचें निराशाजनक कथानकले दिक्दारिएको बेला उत्साह र उमँग भर्ने उल्लासमय कथाहरु भएको जोशीको क्याशल रककी अप्सरा "एब्सोलुट्ली अ गूड ब्रेक विद रिडिङ" हुनेछ । त्यसैले 'सुकरातका पाइला'लाई ब्रेक नै दिने निधो गरें ।

उत्साह र उमँग भर्ने उल्लासमय कथाहरु भएको जोशीको क्याशल रककी अप्सरा भन्दैमा मैले 'क्यासल रककी अप्सरा'भित्र केवल खुशीयाली मात्र लेखिएको छ । केवल उल्लास मात्र बयान छ । कथाकारले संग्रहमा दुख पीडाका नाम निशानै कोरेका छैनन् भन्न खोजेको होइन फेरि । उनले दुख, पीडा, निराशाहरु पनि लेखेका छन् त्यसो त । 'कार्लोस मेरो दर्पणछाया'मा पाठकलाई रुवाउने वा गहीरो चिन्तामा डुबाउने गरि एउटा जीवनको हार लेखेका छन् । 'टर्मिनल थ्री'मा देशको पीडासँगै विश्व व्याथा उतारेका छन् । 'बाह्र लाखको कविता'मा अमेरिकन सपना फुटेर निस्किएको ह्रदय छेड्ने आवाज कोरेका छन् । शिर्षक कथामै पनि 'याङ्की' र कहिल्यै घाम नहेर्ने कसम खाएकि 'वृद्धा आनी' जस्ता पात्रहरुलाई ल्याएर सामान्य जीवनले सहन गर्न नसक्ने प्रकारका दुखका सगर छोएका छन् । तर यि सबै पीडा, ब्याथा, निराशा, हारहरुका बावजुध पनि कथाकारले सबै कथाहरुलाई ठ्याक्क जीवन जस्तो बनाएका छन् । हो, जोशीका कथाहरु ठ्याक्कै जीवन जस्तै लागे मलाई । जसरी जीवनमा अनेक कष्ट र पीडाहरु झेल्दाझेल्दै पनि हामी हर्दम हाँस्ने प्रयत्न गर्दछौं त्यसैगरी कथाकारले यस संग्रहका हरेक पात्रहरुलाई पहाड जत्रो दुखपनि आफ्नो पैंतीस, छत्तिस ईन्चको छातीभित्र लुकाएर हाँस्न र अरुलाई हँसाउँन सक्ने बनाएका छन् । म आफैं पनि कथा लेखिटोपल्ने भएकोले र आफ्ना प्रायस कथाहरुमा थुप्रै निराशाहरु लेखिसकेको हुनाले मलाई सुन्दर जोशीका कथामा भेटिएका जीवन प्रति आशावादि, हँसमुख र ईनर्जेटिक(उर्जाशील) पात्रहरु भेट्दा ईर्ष्या भएर आयो कि किन मेरा कथामा यस्ता रमाईला पात्रहरु आएनन्?

संग्रहभित्रका सबैजसो कथाहरु खसखस डटकमको वेबपेजमा पढिसकेको भएपनि कथाकार जोशीको मनमोहक शैलीले गर्दा संग्रहका हरेक कथाहरु पढ्दा मलाई पहिलोपल्ट पढिरहेछु जत्तिकै ताजापना, रोमान्चकारी र पठनीय लागे । पुस्तकाकारमा कृति पढ्नु र त्यहिकुरा वेबपेज खोलेर कम्प्युटरको स्क्रिनमा पढ्नुमा कत्रो(आकाश पातालको) अन्तर हुनेरहेछ भन्ने पनि महसुस गरें मैले ।

अन्त्यमा, कथाकार सुन्दर जोशीको कथा संग्रह 'क्यासल रककी अप्सरा' नेपाली कथा साहित्यलाई एउटा महत्वपूर्ण उपलब्धी हो । र यो संग्रह कथा साहित्यका अनुरागीहरुलाई निसंदेह पठनीय र संग्रहणीय कृति पनि हो । म एक पाठकको हैसियतले यस कृति र कृतिकारलाई यस कृतिको सफलताको हार्दिक शुभकामना दिन चाहन्छु । र एक भाइको हैसियतले पनि कथाकार दाइ सुन्दर जोशीलाई लेखन यात्रामा निरन्तरता र सफलताको हार्दिक शुभकामना दिन चाहन्छु ।

Keep Rocking Sundar Dai,
Aloha from Hawaii

Tuesday, July 03, 2012

लघुकथा : ढङ्ग


घरमा दुईजना पाहुना आएका थिए । एउटा आफ्नै सालोकेटो अर्को उसको साथी । सानो आयस्ताले काठ्माण्डौको उकुशमुकुश परिवेशमा धरहरा भन्दा अग्लिएको महँगी झेलेर बसेको बेला पाहुनापासालाई सत्कार हैन कोठामै नहुलि दुत्कार गर्न पाए हाइसञ्चो हुँदो हो म जस्ता धेरैलाई ।

एकाविहानै श्रीमतीले भनिन्, 'भाइहरु अहिले नै जाने भन्दैछन् । लौ न अलिकति कुखुराको मासु किनेर ल्याउनुस् । खाना खुवाएर पठाउँछु ।'

'कुखुराको मासु नभए चैं खाना बन्दैन?' सालोकेटो र उसको साथी बाहिरपट्टि हातमुख धुन लागेका थिए । उनिहरुले सुन्दैनन् भन्नेमा ढुक्क हुनाले म झडङ्गिएँ, 'चिया खुवाएर पठाए भै'गो नि ।'

'गाउँमै आवारागर्दी गरेर हिंड्ने सालोकेटो निक्कै भएथ्यो नझुल्किएको । पहिले पहिले आउँदा अनेक बहाना बनाएर दिदीसँग पैसा धुतेर जान्थ्यो । मलाई सालोकेटो देख्दै एलर्जी हुन्छ । कहाँबाट उस्तै साथी पनि लिएर आएछ? हेर्दै गुण्डाकेटाहरु जस्ता । साथी चैं पनि उहि ड्याङको होला नि?' घृणाभावले म गम्दैथिएँ ।

'तपाईं त कस्तो मान्छे हो? मेरो भाइहरु हुन् ।' अँध्यारो रुन्चे मुख लाइन् श्रीमतीले ।

म बाहिर निस्किएँ । सालोकेटो र उसको साथी त्यहि घरमा डेरागरि बस्ने युवतीसँग गफगर्दै हाँस्दैथिए । 'बदमाशहरु! केटि त देख्नै नहुने ए!' आँखातर्दै म हिँडे । आधा केजी कुखुराको मासु पोलिथिन ब्यागमा हलाउँदै म कोठामा आइपुग्दा सालोकेटो र उसको साथीसँग त्यहि आँगनकि युवती पनि चिया पिउँदैथिइन् ।

'हैन यो केटिको पनि के चाला हो? हामीसँग त कहिल्यै बोल्दिन पनि थिइ?' मनमा कुरा खेलाउँदै म पनि बसें चिया पिउँन । उनिहरुको चल्दाचल्दैको गफको माझमा श्रीमतीले त्यो युवतीको परिचय दिइन्, 'यि बैनि त हाम्रै गाउँले पो रैछन् । हामीले कहिल्यै बोलेनौं । भाइहरुसँगै पढेकि रे ।'

'ए हो र?' मैले यत्ति नै भनें ।

कुरा चलिरहँदा मैले आफु बसेको पलङ्गको सिह्रानमुनिबाट हजार हजारका नोटहरु चिहाईरहेको देखें । सम्झें, 'हिँजैसाँझ श्रीमतीलाई तलब बुझाएको थिएँ । उनले त्यहि पैसा त्यसरी जथाभावी राखिछन् ।'

पैसा तानेर गनें । सातसजार रहेछ । मलाई पुगिगयो । श्रीमतीको धतुरो झार्नपट्टि लागें, 'यो पैसा किन यसरी जथाभावी राखेको? घरमा को आउँछ को आउँदैन? हरायो भने के गर्छौ? अहिले आफ्नै मान्छेको पनि भर गर्ने जमाना छैन । पैसा जस्तो कुरो पनि यसरी कागजको चिर्कटो राखेजस्तो राख्ने हो? तिम्रो ढङ्ग कैले आउँछ?'

श्रीमती चुप रहिन् । उनको अनुहारमा अनौठो भाव देखा पर्दैथियो । मलाई त्यो उनले पैसा जथाभावी छोडेकोमा पश्चताप हो जस्तो लाग्यो । म अझै कराउनेवाला थिएँ । वातावरण असहज भैसकेको थियो । तिनै युवती उठिन् र 'दिदी अहिले म जान्छु है, कलेज जानुपर्छ' भन्दै बाहिर निस्किन् । भाइहरु पनि 'लौ दिदीभेना, खाना खान पछि फेरि आउँला अहिले लाग्छौं' भन्दै निस्किए ।

एकछिन कोठाको वातावरण ठुलो घण्ट बजेर रननन थर्किरहेझैं भयो र क्रमश शान्त हुँदै चकमन्नमा पुग्यो ।

'किन आ'रछन् त तिम्रा भाईहरु?' मैले सोधें ।

फुल्लिएकि श्रीमतीले एकछिन टकटकी लाएर मेरो अनुहार हेरिन् र भनिन्, 'हाम्रो भाइलाई पनि उसको साथीले इज्राएल लाने रे सँगै । केयर गिभरको काम गर्छ रे उ । राम्रो कमाई हुन्छ रे ।  आफु गफ गर्नुओर्नु होइन । खाली अरुलाई नराम्रो भन्न बाहेक आउँछ र तपाईंलाई?' उनि विचमा एकछिन केहि बेर रोकिइन् र पुन: ठुलो सास फेर्दै भनिन्, 'केहि कुरा तपाईंले सोचेजस्तो भएन भनेपनि एकछिन चुपलागेर पछि भन्न सक्नुहुन्न थियो? यो पैसा मलाई भाइको साथीले 'दिदीलाई भेट्न आउँदा खालीहात आएँ, यो पैसाले केहि किन्नुहोला' भनेर दिएको । तपाईंले चैं उनिहरुलाई नै चोर जस्तो ठान्नुभयो । ढङ्ग त मेरो हैन तपाईंको पो कहिले नआउने भयो बुझ्नुभो?'

Friday, June 15, 2012

पुस्तक गफ : अब्स्ट्रयाक्ट बैंककको कुरा


अब्स्ट्रयाक्ट ।

अब्स्ट्रयाक्ट बैंकक ।

मैले भर्खरै अर्थात पछिल्लो पटक पढेको उपन्यास 'अब्स्ट्रयाक्ट बैंकक' ।

कृतिहरु पढेर भूस, कनिका, बिँया निफन्दै आमाले सन्ततीको निमित्त भात पकाएर खान योग्य चामल तयार गरेझैं पुस्तक पढ्न ईच्छुक म जस्तै पाठकहरुलाई योग्य निचोड निकाल्न म नसकुँला । सही समालोचकहरुले तर कुनैपनि कृतिमाथि त्यस्तै चामल निचोड निकालिदिउन भन्ने मेरै पनि अपेक्षा हुन्छ उसो त ।

यहाँ म जे भएता पनि 'अब्स्ट्रयाक्ट बैंककको' कुरा गर्न गैरहेछु । र विल्कुल 'अब्स्ट्रयाक्ट बैंकक'को मात्र कुरा नगरेर खगेन्द्र पन्धाक लिम्बूको पनि कुरा गर्न सक्छु । यस सम्बन्धमा मेरो भन्नु तर के रहनेछ भने यो कुनै आलोचना वा समालोचना होइन । न कृतिको न कृतिकारको ।

यदि तपाईं पनि खगेन्द्र पन्धाक लिम्बूको फेसबुक साथी हुनुहुन्छ भने उनको फेसबुक स्टाटसमा तपाईंले बग्रेल्ती अब्स्ट्रयाक्ट कुराहरु पढेको हुनुपर्छ । स्टाटस मात्र हैन उनको वालमा कविताहरु र कलाकृति(पेन्टिङ्ग)हरु पनि अब्स्ट्रयाक्ट भेटिन्छन् । म उनका कविताहरु पनि पढ्न खुब रुचाउँछु तर कतिपय कविताहरु कतिपय ठाउँहरुमा बुझ्न मुश्किल भएर साँच्चै अब्स्ट्रयाक्ट लाग्छन मलाई । उनका पेन्टिङ्गहरुको त प्रसंशक नै हुँ म । पेन्टिङ्गको हकमा चैं अब्स्ट्रयाक्ट भए अझ रमाउँछु क्यार म ।

छोटा कथाका रुपमा मैले पढेका उनका आख्यानहरुले मलाई अत्यन्तै प्रभावित पारेका छन् । 'ज्योतिकथन' मैले पढेको उनको कथाहरु मध्येमा उत्कृष्ट कथा हो । 'ज्योतिकथन' जतिको उत्कृष्ट र मलाई प्रभाव पारेको कथा त मैले फेसबुकमा पाइने साहित्यमा मात्र हैन पुस्तकहरुमै पनि पढेको छैन भन्न सक्छु म । यहाँ 'ज्योतिकथन'को प्रसंग यसकारणले उठाएको हुँ कि मैले उनको फेसबुक नोटमा 'ज्योतिकथन' नपढेको भए नेपालबाट किताबहरु मगाउँदा मेरो लिष्टमा 'अब्स्ट्रयाक्ट बैंकक' नपर्न पनि सक्थ्यो । अर्थात 'ज्योतिकथनले' नै मलाई खगेन्द्र पन्धाक लिम्बूको दर्शनमा आधारित भनिएको उपन्यास 'अब्स्ट्रयाक्ट बैंकक' मगाएर पढ्न प्रेरित गरेको हो ।

अमूर्तबोधी दर्शनका कुराहरु लिएर फेसबुकको वालमा उनले लेख्ने कुराहरु म रुचिका साथ हेर्नेगर्छु । उनका सबैकुराहरु मलाई चित्त बुझ्ने हुन्छन् भन्ने छैन । सहमती र विमतीका कुराहरु आफ्नै ठाउँमा छँदैछन् तर यौटा छुट्टै किसिमको रोचकता भने पक्का हुन्छ उनका कुराहरुमा । मलाई लोभ्याउने अर्को कुरा उनको कलाकृति(पेन्टिङ्ग्स्) हो । कुनै पुस्तकको आवरण ईत्यादिलाई बनाईएको विषयगत पेन्टिङ्ग होस् या स्वतन्त्र रंग पोतिएका पेन्टिङ्ग्स् म सँधै मनपराउँछु उनका पेन्टिङ्ग्स् । अक्सर उनका पेन्टिङ्गमा यौन प्रतिविम्वित भएको पनि पाइन्छ । उनको कला(पेन्टिङ्ग)कर्मको मात्र कुरा उठाउँदा यो यौटा छुट्टै विषय हुनसक्छ उनका कलाकर्मको को अध्ययनको । म त्यता नगएर 'अब्स्ट्रयाक्ट बैंकक'तिर जाउँ । 'अब्स्ट्रयाक्ट बैंकक'मा पनि उनले यौन कर्मीकै संघर्षपूर्ण जीवन कथा रोजेका छन् ।

'अब्स्ट्रयाक्ट बैंकक'को कभरमा भित्रपट्टि उपन्यासका विशेषतागत कुराहरुको जानकारी स्वरुप विभिन्न कुराहरुसँगै 'पाठक स्वयं पनि पात्र एवं प्रयोगात्मक उपन्यास' लेखिएको छ । म अब्स्ट्रयाक्ट बैंककमाथि आफ्नो कुरा त्यहिंबाट गर्न चाहन्छु । त्यसको लागी उपन्यासको अन्तिम पृष्ठ २२८ हेरौं -

अँ, म एउटा पाठक, ठीक एतिबेलासम्म जीवनीमा आधारित नेपाली लेखकको प्रयोगात्मक उपन्यास 'अब्स्ट्रयाक्ट बैंकक' मा अमूर्तबोधी दर्शनसँगै बेनामे पात्रहरुको साक्षात्कारमा मजाले हेलिएको थिएँ । मलाई पनि अर्को इमेल प्राप्त होस् झैं लागीरह्यो ।

मनैमा कामना गर्यो -

'उनको सपना पूर्ण होस् । उनको जस्तो महान आत्मज्ञान सबैले प्राप्त गर्न सकियोस् ।'

पाठक स्वयं पनि पात्र भनिए अनुशार मैले पुस्तक पढिरहँदा यहि अन्तिम पृष्ठ २२८ मा मात्र आफुलाई अलिकति पात्रको रुपमा लिनसक्ने ठाउँ भेटाएको थिएँ । तर त्यो पनि ठाउँको ठाउँ चित खायो जब 'मनैमा कामना गर्यो -' लेखिएको पढें ।

'....मलाई पनि अर्को इमेल प्राप्त होस् झैं लागिरह्यो.....' लेखिएपछि त्यस मुन्तिर म(पाठक पात्र)लाई आफैं कामना गर्न नदिएर हस्तक्षेप गर्दै लेखकले उल्लेख गरेका छन् मेरो(पाठक पात्रको) कामना । पाठकलाई पात्र बनाइटोपलेको मात्र प्रतीत हुन्छ यहाँ । नत्रभने 'मनैमा कामना गरें -' लेखिदिएर पाठकले स्वयं कामना गरेको जस्तो अनुभुत हुन दिनुपर्थ्यो पाठकलाई ।

यदि यो 'मनैमा कामना गरें -' हुनुपर्नेमा मुद्रण त्रुटीको कारण 'मनैमा कामना गर्यो -' भएको हो भने, कभरमै पाठक स्वयं पनि पात्र भनेर महत्वसाथ लिइएको ठाउँमै गल्ति भएपछि भाषागत कुरामा पाठक निराश होलान् ।

अँ, भाषाकै कुरागर्दा, लेखकले यस उपन्यासलाई भाषा विद्रोहको रुपमा लिएको पनि बुझेको छु मैले । तर मैले भाषा विद्रोह छ भन्नुपर्ने कुरा पनि खास केहि देखिंन उपन्यासमा ।

हो, धेरै ठाउँमा आफन्तहरु भन्नलाई 'अरआफन्त' भनिएको छ । यो मेरो लागी नौलो हो । कहिँ कसैले लेखेको देखेको थिएन मैले तर 'सरसामान', 'नरनाता' जस्ता शब्दहरु पढिरहेको हुँदा 'अरआफन्त' सहज नै लाग्यो ।

त्यस्तै पृष्ठ ९९ मा एउटा उखान प्रयोग गरिएको छ - 'धान काट्ने मुसो कुटाइ खाने विरालो ।' बैंककका सडकहरुमा अबैधानिक तवरले यौनकर्म गर्ने विदेशी मूलका यौनकर्मीहरुलाई प्रहरीले छापा मारेर समातेको र बैधानिक मानिएका स्थानिय यौनकर्मीहरुले समातिएकाहरु प्रति टिप्पणी गरिएको प्रसंगको सम्बादमा आएको छ उखान । यो उखान थाई जनजीवनमा प्रयोग हुने र त्यता 'कुटाइ खाने विरालो' नै भनिने हो भने ठीक छ । होइन, नेपाली जनजीवनमा चले अनुशार यो उखान लिइएको हो भने नेपालीमा 'धान खाने मुसा चोट पाउने भ्यागुता' भनेर प्रचलित छ । उखानको प्रयोग गर्दा प्रचलनमा रहेकोलाई फेरबदल गर्नुको तुक देख्दिंन म । अथवा भ्यागुतालाई विरालो बनाउँदा उखान प्रचलनको भन्दा के कति कारणले अझ सान्दर्भिक भयो वा सटिक बन्यो त्यो पनि बुझिंन मैले । भाषा विद्रोहको रुपमा यस्तै कुरालाई लिइएको हो भने म त यस्लाई भाषा विद्रोह हैन भाषामा नासमझ भन्छु । तर यहि र यस्तै कुरा त भाषा विद्रोह पक्कै होइन होला ।

उपन्यासको दह्रो पक्ष भनेको जुनसुकै वा जेसुकै होस् पेशागत कर्म प्रतिको सम्मान हो । उपन्यासले यौनकर्मलाई पेशा बनाएर हिंड्नेहरुले पनि समाजमा असल काम गर्न सक्छन् भन्ने उदाहरण पेश गरेको छ । नेपाल लगायत एसियामै यौन कर्मलाई जसरी हेरिन्छ त्यो दोषपूर्ण छ र त्यसलाई फरक दृष्टिकोणले हेरिनुपर्छ भन्ने कुराको पैरवी गरेको छ उपन्यासले । यसलाई मैले उपन्यासको राम्रो पक्षको रुपमा लिएँ तर व्यावहारिक हिसाबले हेर्दा यो पैरवी केवल पैरवी मात्र रहने कुरा उपन्यासले नै प्रस्ट्याउँछ । जतिसुकै आत्मज्ञान प्राप्त गरेपनि, जतिसुकै स्वबोध भएपनि यौनकर्मलाई पेशा बनाएर हिँडेपछि विश्वका जुनसुनै समाजका मान्छेहरुले पनि केवल दयाको भिखमात्र दिँदा रहेछन्; जीवनमा अपनाएर बराबरीको हैसियत दिँदैन रहेछन् भन्ने कुरा उपन्यासकि मुख्य बेनामे पात्रले पटक पटक धोखा पाउनुले बताउँछ ।

उपन्यासमा मुख्य मैले पढ्न चाहेको र बुझ्न चाहेको अमूर्तबोधी दर्शनको कुरा थियो । उपन्यासमा अमूर्तबोधी दर्शनसँग सम्बन्धित भनिएर जे जति कुराहरु लेखिएका छन् ती सबै कुराहरु कुराका ठाउँमा ठीक छन् तर उपन्यासकि बेनामे मुख्य पात्र जो अमूर्तबोधमा स्वसत्त्व प्राप्त गरेर दर्शनका बुँदागत कुराहरु मन्तव्य(पृष्ठ २१०)मा राख्छिन् । तिनै पात्र पटक पटक आफ्नै स्वसत्त्व प्राप्त गर्दै, पुन हराउँदै गरेझैं विभिन्न मोडहरुमा धोका, छलछाम र झमेलामा फसिरहन्छिन् । उपन्यासको अन्त्यसम्ममा पनि उनलाई स्वसत्त्वबोधताले ध्येयमा सफल तुल्याउँदैन ।

अमूर्तबोधी दर्शनका कुराहरु जान्न आतुर मलाई यो कुरा नमज्जा लाग्यो ।

यौनकर्म गर्न ईच्छित हुन्नन् उपन्यासकि मुख्य बेनामे पात्र तर उनको सामुन्ने एकातिर विकल्पहरु नै नभए जस्तै त्यहि कर्मलाई पेशाको रुपमा अँगाल्न फर्किनुपर्ने बाध्यताहरु खडा भइरहन्छन् भने अर्कातिर दर्शनका ठुला ठुला कुराहरु उनै पात्रले उपन्यासको शुरुदेखिनै गर्दै जान्छिन् । अमूर्तबोधी दर्शनका कुराहरु गर्नलाई उपन्यासकि मुख्य बेनामे पात्र कि त अयोग्य पात्र हुन् कि त अमूर्तबोधी दर्शन नै उपन्यासमा अव्यावहारिक देखिएको हो । संगतीमा कहिं केहि अपुग जस्तो भैरह्यो मलाई दर्शनको सवालमा यो उपन्यास । उपन्यासमा पात्रगत कथावस्तु र दर्शनका कुराहरुलाई अलग्गै अलग्गै अनुभूत गर्दै पढें मैले भने पनि हुन्छ । दर्शनको हिसाबमा सफल प्रयोगात्मकको शट्टा एकोहोरो उपदेशमुखि जस्तो भएको छ उपन्यास ।

कथानक रसिलो छ उपन्यासको । पठनमा पट्यार लाग्दैन बरु हरेक घट्नाक्रम यस्तरी द्रुतताका साथ अघि बढ्छन् कि पाठकहरुलाई यौटा घट्नाक्रमबाट अर्कोमा पुग्दा अघिल्लो घट्नाक्रमको स्मृति दुरुस्तै राख्न मुश्किल हुन्छ । केहि पटक अघिल्लो घट्नाक्रम ताजा गराउनलाई मैले पनि रिभर्समा गएर पढें केहि ठाउँमा । मुख्य पात्रको तर्फबाट अति धेरै वर्णनात्मक भएको छ कथानक । अझै पनि दोश्रो अध्यायमा भएको कुरा उपन्यासकि मुख्य बेनामे पात्रको जीवनको कुन खण्डमा भएको हो वा अर्कै पात्रको कुरा हो द्विविधा जस्तै नै छ । दोहोर्याएर पढेपछि पनि घट्नाक्रमको तादात्म्य नमिलेपछि लाग्यो कदाचित् म स्वयं पो योग्य पाठक हैन कि?

अन्त्यमा, यदि कसैमा 'अब्स्ट्रयाक्ट बैंकक' पढ्न लायक उपन्यास हो कि होइन त?' भन्ने प्रश्न गुजुल्टिरहेको छ भने मेरो भन्नु यहि हुनेछ कि एकपल्ट पढेर नै हेर्नुहोस् । मैले उपन्यासको बथख्वाँईं गरेजत्तिकै गरेर लेखें होला माथि तर त्यसो होइन । उपन्यासका हरेक पृष्ठमा जीवन उपयोगी कुराहरु भेटिन्छन् 'अब्स्ट्रयाक्ट बैंकक'भित्र । फेरि  व्याक्ति व्याक्तिको ग्रहण क्षमता फरक पनि त हुन्छ यसर्थ आफैं नपढि अब्स्ट्रयाक्ट बैंकक कस्तो भनेर तपाईं कसरी थाहा पाउनु होला?




(ब्लगकै सामाग्री स्वरुप लेखेको यो पुस्तक गफलाई मैले फेसबुक नोटमा पनि सेयर गरेको छु ।)

Sunday, June 10, 2012

पुस्तक गफ : 'लू'बारे आफ्नो कुरा






नयनराज पाण्डेको 'लू' पढेर सकें । शुरु गरेपछि यति व्यग्रतासाथ पढेर सकेको अर्को कुन पुस्तक थियो होला?...............त्यहि सोच्दैछु अहिले ।

'लू'बारे आफ्नो कुरा लेख्ने ईच्छा 'लू' पढिसक्नासाथ फेसबुकको स्टाटसमा लेखेको माथिकै कुराबाट शुरु गर्न चाहें । र यो स्मरण गराउन चाहन्छु कि 'लू'बारे आफ्नो कुरा म आफ्नो ब्लगको निमित्त लेख्दैछु । अगाडी जे जति लेख्नेछु त्यो कृति समिक्षा हेतु लेखिएको हुनेछैन । कृति समिक्षा लेख्नलाई म सायद आफुलाई योग्य सम्झन्न र त्यो मेरो रुचि पनि होइन ।

हो, साह्रै व्यग्रतासाथ पढेर सिध्याएँ मैले 'लू' । माथि प्रश्न गरेको छु आफैंलाई कि यति व्यग्रतासाथ पढेर सकेको अर्को कुन पुस्तक थियो होला? तर त्यो प्रश्न जवाफ खोज्नलाई नभएर 'लू' पढ्दाको तन्मयतालाई पुष्टी गर्न थियो ।

जे होस्, 'लू' मलाई चाँडै पढ्ने धोको थियो । 'लू' बजारमा आउनासाथ मैले नेपालबाट मगाएर पढ्ने अठोट गरेको थिएँ र नेपालमा किनेर पठाइदिनुहोला है भनेर उर्दी पनि जारी गरेको थिएँ । फेरिपनि नेपालदेखि यौटा मात्र किताब किनेर यहाँ, हवाईसम्म मगाउनु शिपिङ्ग खर्चको हिसाबले उचित थिएन । शिपिङ्ग खर्च किताब खरीद भन्दा निक्कै धेरै महङ्गो पर्नेथियो । त्यसैले 'लू'को साथमा आओस भन्ने हिसाबले अन्य केहि नयाँ पुराना किताबहरुको पनि लिष्ट बनाएँ र आफ्ना अन्य प्रयोजनका सामानहरु, जो केहि हफ्तापछि मगाउँदैथिएँ, का साथमा मगाउने निश्चय गरें ।

जब नेपालमा मेरो निम्ती 'लू' किनिने दिन आयो तबसम्ममा बजारमा 'लू'को दोश्रो संस्करण आइसकेको थियो । फलत: दोश्रो संस्करणमै मुद्रण भएको 'लू' मेरो हातमा आइपुग्यो ।

नेपालमा मेरो निम्ती 'लू' खरीद हुनु र 'लू' मसम्म आइपुग्नुका बिचमा पनि फेरि नेपालमा जातिय राज्यको माग र विरोध ईत्यादिका कारणले भएका हप्तौंका नेपाल बन्द र अमेरिकामा पालन गर्नुपर्ने भन्सारका प्रक्रियागत कुराहरु आदि ईत्यादिका व्यावधानहरु खडा भए । जस्ले 'लू' प्राप्त गर्ने प्रतिक्षा पनि ठुलो व्यग्रता बन्यो मेरो निमित्त । जति व्यग्र प्रतिक्षाका साथमा 'लू' हात पर्यो । पढ्न शुरु गरेपछि पढेर सक्नलाई पनि उत्तिकै व्यग्रता रहिरह्यो । पढ्न बसेपछि नसकुन्जेल नथन्क्याएको किताबको थोरै लिष्टमा 'लू'ले अर्को एक संख्या पनि थप्यो ।

फेसबुक तथा फेसबुक मार्फत ईन्टरनेट सञ्जालमा 'लू'का बारे अनेकौं समिक्षात्मक टिप्पणीहरु पढिसकेको हुनाले तथा 'लू'भित्र मुद्रण लगायत केलाइएका अन्य कमजोरीहरु पनि थाहा पाईसकेको हुनाले लू'को पठनमा केहो खल्लोपना आउला कि? तिनै कारणले मनमा चतुर पाठक हुँ भन्ने आग्रह उपस्थित गराएर पठनमा नमज्जा होला कि? भन्ने पिरोलो थियो म भित्र 'लू' पढ्न शुरु गर्दा ।

तर अचम्म भयो । नयनराज पाण्डेको कलमले त मलाई ठीक त्यसैगरेर मुग्ध पार्यो जसरी जमिलको घरमा बाल्टीमा पानीलिन आएकि नुसरतलाई देखेर छुल्याहा इलैया मुग्ध बनेको थियो । परन्तु अन्तिममा नुसरत र करिम इलैयाले दिएको साइकल चढेर भाग्छन् भन्ने पहिल्यै थाहा पाइसकेको हुँदा त्यो सस्पेन्स मनमा थिएन । तर नुसरतले थाहा पाउँन गरेको प्रयत्नको प्रस्तुतिले उत्तिकै मजा दियो जति त्यो रहस्य पहिल्यै थाहा नपाएको अवस्थामा हुनसक्थ्यो ।

इलैयालाई अन्त्यमा फरिस्ता भनिएको भएपनि पढुञ्जेल मलाई लेखकले कुनैपनि पात्रहरुलाई नियतवश उचाल्न तथा कुनैलाई दवाउन खोजेको प्रतीत भएन । सबै पात्रहरुको उपस्थिती स्वभाविक रह्यो मेरो निम्ती । बरु मलाई 'लू'भित्र पात्रहरुलाई भन्दा पत्थरपुरवा; स्थानलाई महत्व दिइएको झैं लाग्यो । त्यसैकारणले पनि 'लू'ले म भित्र विशेष स्थान बनायो ।

भर्जिनियाबाट खसखस डटकमका सञ्चालक वासु श्रेष्ठ दाइले 'लू' पढेपछि केहि पात्रहरु, जस्को उपस्थिती गौंण छ, लाई अनाहकमा हास्यास्पद नाम दिइएको र त्यसले लेखक मार्फत पात्रहरु हेपिनलाई मात्र ल्याईएको जस्तो देखिएको टिप्पणी लेख्नु भएको थियो । पुरै पत्थरपुरवाभरी प्राय प्रत्येकले हास्य उपनाम पाउने गरेको औपन्यासिक यथार्थका सामु मलाई भने त्यो पनि अस्वभाविक लागेन । (वासुदाइसँगको निकटताका कारण र वहाँको टिप्पणीमै पनि प्रतिटिप्पणी गरेको कारण यहाँ मैले यो कुरा खुलाएर लेख्न उपयुक्त ठानें ।)

उपन्यासको शुरुवातमा १० वर्षे बच्चाको तर्फबाट भएको प्रस्तुती र १० वर्षकै हाराहारी उमेरको इलैयाको चमत्कारी छुल्याँई भने अस्वभाविक लाग्यो मलाई । कतै कतै छोटा वाक्य गठनको सिलसिलामा अचाक्ली भएको जस्तो पनि मससुस हुँदैथियो पढ्दा । तर हाम्रो साहित्य समाजले छोटा वाक्य गठनलाई राम्रो भन्ने गरेको पाइन्छ । म भने व्याक्तिगत तवरमा पठनियतामा सरल हुनलाई सँधैं वाक्य गठन नितान्त छोटा नै हुनुपर्छ भन्ने मान्दिंन ।

उपन्यासको कथानक सकिइसकेपछिको टुटे पण्डितको चिठ्ठी र चिठ्ठीमा पत्थरपुरवा भारतको उत्तर प्रदेश राज्यमा परेको कुरा दुखपूर्ण रह्यो मेरो लागी । 'लू'ले नेपाल राष्ट्रलाई माया गर्ने एक एक व्याक्ति, एक एक गाउँ समाज र हरेक तह र तप्कामा सरकारी तलव, सुविधा, भत्ता, जागिर ईत्यादि खानेहरुको आँखा खोल्न मद्दत गरोस् र नेपालका कुनैपनि गाउँ वस्तीहरु भविश्यमा भारततर्फ सर्नबाट रोक्न सकोस । मेरो धेरै शुभकामना 'लू' र 'लू'का लेखक नयनराज पाण्डेलाई ।

Friday, May 11, 2012

कविता : चप्पलहरुको देशमा


चप्पलहरुको देशमा
चप्पलहरु केवल सडकलाई देश देख्छन्
घिसारिन्छन् सडकमा
लघारिन्छन् सडकमा
चुट्टिन्छन् सडकमा
गाँसिन्छन् सडकमा
फेरि लतारिन्छन् सडकमा
र सडकमै सेलाउँछन् चप्पल अस्तु ।

सुन ए चप्पलहरु!
यौटा चप्पलको यो सानो आग्रह कविताले बुझेनौ भने
जुत्ता लगाएका ठुला नेताहरुले बुझाउने छैनन् तिमीलाई
कि अवज्ञा, आन्दोलन, हड्ताल होस् वा जुलुस
हरेक पटक सडकमा किन चप्पलहरु मात्र छरिन्छन्?
चप्पलहरुकै हो यो देश
तर किन सडकमा
जुत्ताहरुको ईशारामा चप्पल घिसारिन्छन्?
जुत्ताहरु द्वारा चप्पल मारिन्छन्?

लेख्नै पर्दैन जवाफ
चप्पलको यो सानो आग्रह कवितामा
अब चप्पलहरुले आफैं बुझ्नुपर्छ - चप्पल मर्यादा
अब चप्पलहरुले आफै सिक्नुपर्छ - चप्पल संस्कृति
अब चप्पलहरुले आफैं जान्नुपर्छ - चप्पल सभ्यता
तब चप्पलहरुले
घिसारिनलाई सडकमा
लतारिनलाई सडकमा
खिइँनलाई सडकमा
जुत्ताहरुको आदेश तामेली गर्नु पर्दैन ।

अर्थ नबुझेका नाराहरु कुर्लेर
उपयोगीता नहुने मागहरु तेर्स्याएर
बन्द, हड्ताल, धर्ना र जुलुस हिंड्ने
सडक मात्र हैन चप्पलहरुको देश
जुत्ताहरुको प्रलोभनमा नफसि
जुत्ताहरुको ईशारामा ननाचि
जुत्ताहरुको निशानामा नपरि
चप्पलहरुको गौरव टेकिएर हिँड
चप्पलहरुको सम्मान देखिएर हिँड ।

चप्पलहरुको यो देश
वेवारिस घिसारिनु पर्ने सडक भन्दा कयौं गुणा विशाल छ ।
चप्पलहरुको यो देशमा
चप्पलहरुको स्वाभिमान जुताहरुको भन्दा कयौं गुणा माथि छ ।
***

Tuesday, May 01, 2012

कथा : एकचालीस दिनपछि

'उसले आजपनि केहि लेखेन ।.......'  निक्कै दिनदेखि कम्प्युटर खोल्ने बित्तिकै जब उसको फेसबुक प्रोफाइल शून्य देख्छु म मनमा यहि कुरा दोहोर्याउँछु ।

सँधैंजस्तै आजपनि उ कम्प्युटर अगाडि निर्मिमेष टोलाएर बसेको छ सायद ।

दिमागभरि गन्जागोल हुनसक्छ । जिन्दगी नै गञ्जागोल सिवाय के छ र? यो गञ्जागोल जिन्दगीलाई त्यान्द्रा त्यान्द्रा संगालेर केहि गजब लेख्ने कोसिसमा धेरै रात भैसक्यो रे उ कम्प्युटर अगाडि अबेर अबेर सम्म टोलाएको । तर उसले लेख्न खोजेको के हो? अझै स्वयं अस्पस्ट छु भन्ने उसको स्विकारोक्ती सुनेको छु मैले । त्यसो त स्पस्ट भैसकेका धेरै कुराहरु लेखिसकेको हो उसले । धेरै कुराहरु लेखिरहेको पनि होला र धेरै कुराहरु लेख्न थाँति पनि होला । र पनि उसले केहि गजब लेख्न चाहेको कुरा मसँग ओकलेको एक जमाना भैसक्यो ।

मैले जानेसम्म उ साधारण होइन । साधारण कुराहरु बाहेक उ कहिल्यै सोच्दैन र त्यसैमा असाधारण लेख्न सक्छ । यहि खुबी हो मलाई उसको चासो राख्न मनपर्ने । उसको चियो गर्न मनपर्ने ।

निक्कै पहिले एकदिन दिउँसो मैले उसलाई बबरमहलको बाटोमा भेटेको थिएँ । उ बडेमानको शिरिषको नाङ्गो हाँगाहरुको फोटो खिच्दैथियो ।

मैले सोधें, 'यतिबेला त कसैले पनि यो शिरिषको बोटको फोटो खिच्दैन । फुल्ने सिजन पनि गै सक्यो ।'

उ मुस्कुरायो । त्याहाँ पनि उसले आफ्नो खुबी देखायो मलाई । केवल मुस्कुराउँदा पनि यति अलग्ग र आनन्दपूर्ण ढंगले धेरै कम मान्छेहरु मुस्कुराउँछन् ।

'हाँगामा फूल हुँदा त त्यो फूलेको छँदैछ नि, त्यसै सुन्दर हुन्छ होइन र?' कुनै रहस्यमयि कुरा गोपनियता कायम गर्दै भनेझैं उसले सानो आवाजमा भन्यो ।

'हो त । र फोटो खिच्दा त्यहि सुन्दरतालाई खिच्छन् होइन र फोटोग्राफरहरुले ?' मैले भनें ।

आफ्नो सुन्दर मुस्कुराहट कायम राख्दै भन्यो उसले, 'मलाई कैलेदेखि फोटोग्राफर सम्झियौ तिमीले? मैले त त्यसै खिचेको । फोटोग्राफर होइन म त्यसैले फूल नलागेको शिरिषको हाँगामा फूल लागेको जस्तै निकाल्न सकिन्छ कि सकिंदैन हेर्न खोजेको ।'

मसँग उसलाई भन्न केहि रहेन । फिस्स हाँसेर बाटो लाग्न खोज्दै गर्दा उसले ईशाराले आफुले खिचेको फोटो हेर भन्यो । रुचिसाथ म उसको हातको ठुलो डिजिटल एसएलआर क्यामराको एलसिडी स्क्रिनमा भर्खरै उसले खिचेको शिरिषको नाङ्गो हाँगाको फोटो हेर्न पुगें । हात थर्थर कमाउँदै उसले मलाई भखरै खिचेका तीनवटा तस्वीरहरु देखाउँदै भन्यो, 'हेरत, फूलेको जस्तै देखिएन?'

उसको रक्सी मिश्रित श्वास सिधा मेरो नाकमा ठोकिन आयो । मैले तस्वीर भन्दा पहिले एकपटक पुलुक्क उसलाई हेरें । उ अझै सुन्दर मुस्कुराईरहेकै थियो ।

उसले जूम गरेर नजिक पार्दै खिचेका तीनवटै फोटोहरु साँच्चै फूल भएका शिरिषको हाँगाकै फोटो खिचेको जस्तै देखिन्थ्यो । कता कता त्यो क्यामराले खिचेको नभएर पेण्टिङ्ग बनाएको जस्तै पनि देखिन्थ्यो । अलि ध्यान दिएर हेर्दा क्यामरा हल्लिएर खिचिएको जस्तो पनि देखिन्थ्यो ।

'हो, यो त साँच्चै फूल लागेको बेला खिचेको जस्तै देखियो त । कसरि भयो यस्तो?' मैले जिज्ञासा राखें ।

उसले मलाई ठाडो घाँटि गरेर आकाशतिर त्यहि नाङ्गो शिरिषको हाँगा हेर्न भन्यो । मैले त्यसै गरें ।

'बाक्लो हाँगाहरुबाट मध्यान्ह सूर्यको किरणहरु जो छिरिरहेको छ त्यसैलाई मैले क्यामरा थोरै हल्लाएर फूलजस्तो बनाएको हो ।' स्पस्ट पार्यो उसले ।

भर्खरै मैले उसले मातेको हुनाले फोटो खिच्दा क्यामरा हल्लाएछ भन्ने धारणा बनाएको थिएँ । ठाउँको ठाउँ म गलत साबित भएँ ।

'तर मलाई फोटोग्राफर हो भन्ने गलत धारणा नपाल्नु है?' फेरि उस्तै मिठो मुस्कान पोखेर बाटो लाग्यो उ ।

पुरै दिनभरि उसैलाई सम्झिरहें मैले । कस्तो अनौठो मान्छे, सम्मोहनकारी जस्तो ।

साँझ फेसबुक लग इन हुनेबित्तिकै उसैको प्रोफाइलमा गएँ । केहि लेखेको छैन । फेसबुकमा केहिदिनदेखि नै उसको गतिविधी देखिएको छैन । म निराश भएँ । फेसबुकमा म उसको सुन्दर लेखाईको पनि फ्यान हुँ । जे पनि लेख्छ उसले साह्रै सुन्दर लेख्छ । तर लेख्छ आफ्नै लागिमात्र लेखे जस्तो । मिठा मिठा रचनाहरु लेखेर राख्छ । कसैलाई ट्याग गर्दैन । उसका रचनाहरुमा उति धेरै कमेण्टहरु पनि हुँदैनन् । उ पनि अरुका रचनामा कमेण्ट गर्न हम्मेसी पुग्दैन । मलाई यति धेरै मनपर्ने लेख्ने मान्छेको रचनामा किन प्रतिक्रियाहरु हुँदैनन् भन्ने पिरोलो परेर मैले निक्कै अनुसन्धान पनि गरेको थिएँ एकताका । नतिजामा मेरो दृष्टिकोण यस्तो बनेको थियो कि उ कसैलाई आफ्ना रचना ट्याग गर्दैन त्यसैले उसका रचनामा कमेण्ट हुँदैन पहिलो कुरा । दोश्रोकुरा उ पनि कसैको रचनामा कमेण्ट लेख्दैन । हुनपनि फेसबुकमा लेखिने धेरै प्रतिक्रियाहरु कि त नचाहेर पनि पुरा गरिने रीतिरिवाज जस्तै ट्याग गरेकै कारण गरिएको हुन्छ कि त गाउँघरमा लगाईने अर्मपर्म जस्तै, अरुले आफ्नोमा कमेण्ट गरेको कारण हुन्छ । कि त मनोरञ्जन कै निमित्त लेखेझैं केटिहरुको रचनामा या वालमा लेखिएको हुन्छ ।

सँधै कम्प्युटर खोलेर फेसबुकमा पस्दा सबभन्दा पहिले उसैले केहि लेखेको छ कि भनेर खोज्ने एकप्रकारको आदत बनेको छ मेरो । दिन दिन गरेर महिना बित्यो अहँ उसले केहि लेखेको छैन । उसको वालमा नयाँकुरा केहि नभएपनि म त्यसै उसकै पुराना स्टाटसमा तथा नोटमा भएका कुराहरुमा हरेकपल्ट नजर पुर्याउँन छोड्दिंनथिएँ, मानौ कि यो पनि मेरो दैनिकी मध्ये एक हो ।

एकदिन राती अबेर उ अनलाईन देखियो । देख्नेबित्तिकै झम्टिए जस्तै उसलाई बोलाउँ कि नबोलाउँ म दोधार भएँ । यस अघि पनि कति पटक अनलाईन देखेर बोल्दा उ मरिगए बोलेको थिएन तर उसँग बोल्ने तिब्र ईच्छा भैरहेथ्यो । त्यसो त कैलेकाहिँ बोल्छ पनि । तर बोल्ने के भनेर ?

'अस्तिनैको शिरिषको फोटो राख्नुस् न वालफोटोमा ।' मैले सिधै माग राखें ।

'नमस्कार भाइ', केहिबेर पछि उ औपचारिक तवरले बोल्न थाल्यो, 'त्यो फोटोहरु त मैले डिलिट गरिसकें ।'

म छक्क परें । त्यत्रो मेहनत गरेर खिचेको फोटो कसरि डिलिट गर्यो उसले?

सोधें, 'किन र? राम्रो थियो त, तपाईंलाई मनपरेको थिएन र?'

'होइन, मनपरेको हो । आफुले खिच्न खोजेजस्तै भएको प्रमाण तपाईंले उतिखेरै मनपराएर पाईहालें अनि डिलिट गरेको ।' मैले फेरि भन्ने कुरा हराएँ र वाल्ल परिरहें । कस्तो मान्छे होला । उसले खिचेको फोटो मैले राम्रो भनेर डिलिट गरेको रे ।

'मैले राम्रो भएन भनेको भा'?' सोधें ।

'राख्थें होला । अरुलाई पनि देखाउँथें होला । अथवा फेरि खिच्थें होला ।' उसले तीन किसिमका सम्भावित जवाफ दियो ।

केहिबेर बोलेनौं हामी । फेरि मैले नै सोधें, 'खै अचेल त केहि पनि लेख्नुहुन्न? अनि अचेल त देखिनुपनि हुन्न ?'

'मैले काठ्माण्डु छोडीसकें भाइ, काठ्माण्डुमा साह्रै निसासिएँ म । अनि कैले के लेख्थें र मैले?'  यस्तो जवाफ लेख्यो उसले । एकछिन् त मलाई घमण्ड देखाए जस्तो अथवा मेरो सोधाईले झिँजिए जस्तो महसुस भयो तर उसको स्वभावगत कुराहरुले गर्दा त्यस्तो होइन भन्नेमा ढुक्क भएँ ।

'कथा, कविता, गीत, गजल जे पनि । मलाई साह्रै मनपर्छ तपाईंले लेख्नुभएको । म सँधै तपाईंको वालमा हेर्ने गर्छु केहि लेख्नुभएको छ कि भनेर ।' मैले भनें र सोधें, 'अनि अचेल कहाँ हुनुहुन्छ त?'

'लेख्छु त्यो अर्कै कुरा हो । मैले लेखेको तपाईंलाई मन पर्छ त्यो पनि अर्कै कुरा हो तर मलाई लेखक कै कोटिमा राख्नु चैं भूल हो है तपाईंको ।' उहि दिनकै जस्तै कुरा गर्यो उसले । मलाई फोटोग्राफर नभन्नु भनेझैं मलाई लेखक पनि नसम्झनु भन्नेछ उसले । त्यसैले म केहिबेर बोलिंन । उ त झन कुरा खोतलेर बोल्दैबोल्दैन मलाई थाहा थियो । केहिबेर पछि मैले नै सोधें, 'भनेपछि म जस्तो तपाईंको पाठकले तपाईंलाई के भनेर चिन्ने त?

'अँ, यो डरलाग्दो प्रश्न हो मेरो लागी । डरलाग्दो किनभने म आफ्नै नजरमा दिन का दिन परिचय हराउँदै गैरहेको मान्छे हुँ । त्यसैले जब म आफैं आफुलाई यो हुँ भन्न सक्दिंन भने के खाएर मैले अरुलाई मलाई यो भनेर चिन्नु है भन्न सक्छु?' निक्कैबेर च्याटको कुनामा उसले टाईप गर्दैछ है भनेर देखाएपछि उसको कुरा आयो ।

म उसको कुरामा घोत्लिरहँदा च्याटको कुनामा उसले अझै लेख्दैछ भन्ने देख्दैथिएँ । त्यसैले म उसको बाँकि कुरा पनि सुन्न पर्खेर बसें ।

उसले टाईप गर्दैछ है भनेर च्याटकुनाले जानकारी दिएको अवधिको आधारमा म उसले निक्कै लामै कुरा बताउला भन्नेमा थिएं तर च्याट बक्समा फुत्त छोटो कुरा आयो, 'मलाई सकेसम्म नचिन्ने । म कोहि पनि होइन, केहि पनि होइन ।'

सन्नाटा माझ निक्कैबेर सम्म एउटा गहीरो छाँया आवाज रनन्न भैरह्यो । उ कहाँ, म कहाँ ? फेसबुकको च्याट बक्समा उसले मलाई दिएको जवाफले सायद पृथ्वीलाई नै तुरुन्त एकफन्का मार्यो ।

'यो त हामी, तपाईंको लेखाई मनपराउने माथि अन्याय भएन र?....' पुन प्रश्न सोध्न मैले टाईप गर्दैगर्दा उ अफलाईन भयो । उ गैसकेपछि सोध्नुको के औचित्य? मैले ब्याकस्पेस बटनमा सबै अक्षर मेटिउन्जेल औँला राखिरहें । र थपक्क यौटा चुरोट झिकेर छतमा निस्किएँ । तीनतले घरको सबै भन्दा माथिल्लो तलामा बस्नुको यहि यौटा फाईदा थियो मलाई कि म चुरोट सेवन गर्न चाहँदा जुनसुकै समयमा छतमा उक्लन सक्थें । अझ यो तलामा म एक्लै बस्ने हुँदा आधा रात, अबेर रात अथवा दिनमै कहिल्यै कसैलाई बाधा पुग्ला भन्नेमा चिन्ता थिएन ।

सहर शान्त निदाएको देखिन्थ्यो मानौं कि यो सहरमा कोलाहल कहिल्यै हुँदैन । म चुरोटको सर्कोसँगै छतको उ कुना र यो कुना गर्दैथिएँ । पश्चिमपट्टि नजिकैको स्वयम्भू डाँडा अन्यत्र भन्दा चहकिलो उज्यालोले जगमगाईरहेको थियो । तीनचार महिना अघिसम्म यो घरको छतबाट स्वयम्भू स्तूपा छर्लङ्गै देखिन्थ्यो । कैलेकाहिँ म सम्झन्थें यो सहरमा स्वयम्भू स्तूपामात्र नहुन्थ्यो भने अथवा भएपनि त्यसै गरेर डाँडाको शिरमा नहुन्थ्यो भने म यो सहरमा बस्न सक्दिंन थिएँहुँला । अचेल स्वयम्भूलाई ड्याम्म छेक्ने गरेर बिचमा यौटा अजँगको घर बनेको छ । म छतको कुनै कुनामा गएर पनि स्वयम्भू देख्न सक्दिंन तर स्वयम्भूको उज्यालो कस्तै अजँगको घरले पनि छेक्न सकेको छैन, जो अहिले पनि मसम्म आइरहेकै छ ।

चुरोटको ठुटोलाई छतकै एककुनामा किचिपिचि पारी फर्केर कम्प्युटरमा आइपुग्दा कसैले मेरो फेसबुकको वालमा दुइवटा फोक्सोको चित्र टाँगीदिएको रहेछ । यौटा चुरोट नपिउने ब्यक्तिको सारसौंदो र अर्को चुरोट पिउने ब्याक्तिको कोईलामा पकाएर प्लेटमा राखिएको सेकुवाझैं जलेको । साथमा आफ्नो स्वास्थ्यको निमित चुरोट नपिउनुहोला र यो फोटोलाई सक्दो सेयर गरिदिनुहोला भन्ने अनुरोध पनि थियो ।

फोटोमा केहिबेर घोरिएँ । आफ्नो फोक्सो पनि पोलेको सेकुवाझैं भैसकेको कल्पनाले एकछिन कहालिएँ र त्यसलाई आफ्नो वालबाट हटाएँ । आफु चुरोट सेवन गर्ने ब्याक्ति भएकोले असल कुरा भएर पनि सेयर गर्न चैं नैतिकताले धिक्कार्ला कि? सायद यहि थियो मनको दलील ।

त्यसो त मेरो ध्यानको प्रमुखतामा उहि थियो जो केहि छिन् अघिसम्म च्याटमा मलाई सकेसम्म नचिन्ने भनेर मेरो आशाको विपरित जवाफ दिँदैथियो ।

यतिबेला म आफ्नो गजलहरुको दोश्रो संग्रह प्रकाशनको तयारीमा थिएं । दोश्रो संग्रहको निमित्त भूमिका लेखाउन मनले देखेको एउटा उपयुक्त पात्र थियो उ मेरो आँखामा । उसका पुराना नोटहरुमा संख्यामा कम भएपनि गूणवत्तामा अब्बल गजलहरु र गजलहरुका सम्बन्धमा उसको समालोचकीय धारणा सहितका प्रभावशाली लेखहरु पढेर मैले उसलाई आफ्नो दोश्रो संग्रहमा भूमिका लेखाउन योग्य पात्र ठहर गरेको थिएं । त्यसैले उसलाई म्यासेजमै भएपनि लेखेर आफ्नो ईच्छा राखें । र एकप्रकारले सन्तोषको स्वास लिएँ ।

त्यसपछि अनेकौं दिनसम्म मैले उसको जवाफको बाटो हेरें । हरेकपल्ट कम्प्युटर खोल्दा फेसबुकमा उसको म्यासेज छ कि भन्ने आशा लिन्थें तर महिना बितिसक्दा पनि उ बेपत्ता रह्यो । मेरो गजल संग्रहमा भूमिका नलेख्ने भए लेख्दिन भने पनि भैहल्थ्यो यसरी बेपत्ता नै हुने कारण के होला? म उसको तर्फबाट जवाफ पाउने कुरामै नीराश भैसकेको थिएँ ।

मैले म्यासेज पठाएको ठीक एकचालीस दिनपछि तर मैले उसको म्यासेज पाएँ । म्यासेज के भन्ने यौटा लामो चिठ्ठीनै लेखेको थियो उसले -

प्रिय भाइ,
आज बल्ल मेसो मिलेको छ तपाईंलाई जवाफ लेख्न र म तपाईंको गजल संग्रहमा भूमिका लेख्ने कुरामै केन्द्रित हुन चाहन्छु । मलाई तपाईंले त्यस योग्य सम्झनु मेरो अहो भाग्यको कुरा पक्का हो तर त्यो एकातिरको कुरा भयो अर्कोतिर सायदै तपाईंलाई नमीठो लाग्न सक्छ तर सत्य यो हो कि मलाई कुनै गजलले छुन सकेको छैन भने म त्यसबारेमा के आधारमा र कसरी बोलुँ?

त्यसो त, फेसबुकले नेपाली गजलको विकाशमा योगदान दिइरहेको समय हो यो । गजल लेखनमा थुप्रै नयाँ पुराना गजलकारहरु फेसबुककै सुविधाका कारण समर्पित छन् तर चिन्तनीय कुरा त यो छ कि तुलनात्मक रुपमा ज्यादै थोरैले मात्र गजललाई गहीराईबाट आत्मसात गरेर लेख्ने गरेका छन् । दैनिक आठ दशवटा गजलहरु म आफ्नो प्रोफाईलमा ट्याग भएको पाउँछु । र म्यासेजमा दैनिक चार पाँचवटा अनुरोध मेरो गजलमा केहि कमि कमजोरी छ भने औंल्याईदिनुहोला भनेको पाउँछु तर त्यसरी कमजोरी औंल्याईदिन अनुरोध गरिएको रचनाहरुमा पनि आफुले देखेको कमि बतायो भने यो रचना मेरो फलानो संग्रहबाट लिएको हुँ । मैले धेरै ठाउँमा यो रचना वाचन गरेर सुनाएको छु र फलाना फलाना वरिष्ठहरुबाट वाह! पाएको छु भनेर उल्टो खबर आइपुग्छ ।    

तपाईंको गजलहरु पनि पढेको छु फेसबुकमा । एकाध पटक प्रतिक्रिया पनि लेखेको छु । दोहोर्याएर हेर्नुहोला मैले के लेखेको छु । र दोश्रो संग्रहमा संग्रहीत हुने गजलहरुलाई एकफेर आफैं समीक्षा गर्नुहोला । मेरो सुझाव यहि हुनेछ तपाईंलाई । फेसबुकमा लैबरीको तालमा लेख्दै गजलको संख्या बढाएर संग्रह निकाल्नु पूर्व एकफेर आँखा चिम्लेर आफैंलाई यो सोध्नुस् कि तपाईंले थप्न लाग्नुभएको कृतिले के गजलको साहित्यिक उचाई बढाउला?

मैले भन्नुपर्दा त मैले पढे मध्ये तपाईंको कुनै पनि गजलले मलाई छुन सकेको छैन ।

तब म कसरी अथवा त्यसकारण म तपाईंको संग्रहमा भूमिका लेख्न सक्दिंन । फेरि पनि संग्रह निकाल्ने तपाईंको अठोट हो भने भूमिका लेख्ने हस्तीहरुको लामै लर्को भेट्नुहुन्छ जस्ले ब्याक्तित्वको हिसाबमा मैले भन्दा कयौं गूणा धेरै प्रभाव पार्नेछन् तपाईंको कृतिमा ।

शुभकामना !

हो, यहि एकचालीस दिनपछि म कहिं छाँगाबाट खसे जस्तो भएको छु । कहिँ हिमाली तलाउको एकदम चिसो पानीमा डुबेर निस्के जस्तो भएको छु । कतै बल्ल फुलबाट कोरलिएको चल्लाको आँखा उघ्रिए जस्तो भएको छु । के के भएको छु के के, कि उसलाई ह्रदय पोखेर धन्यवाद भन्न समेत नसक्ने भएको छु ।

Monday, April 23, 2012

गजलका कुरा : तखल्लुसमा दीपक जडित

नेपाली गजल डटकमको बाह्रौं अंकमा सम्पादक नारायण गाउँलेको सम्पादकीय, जो 'मकता' मा केन्द्रित छ, पढिरहँदा मलाई आफुले गजलमा तखल्लुस(चिनो) राख्ने गरेको सम्झना आइरहेथ्यो ।

"....नेपाली गजलमा तखल्लुसको प्रयोगले खासै सघन उपस्थिति कायमा गर्न नसकेको सन्दर्भमा तखल्लुस भएका वा नभएका दुबै समापक शेरलाई 'मकता'का रुपमा लिने गरिएको छ ।...." हो यहि वाक्य पढिरहँदा म सोचिरहेथें, मैले तखल्लुसलाई कतिको जोड दिएको छु आफ्नो गजल लेखनमा? त्यसो त आफ्नो ब्लगहरुमा मैले तखल्लुस प्रयोग गर्ने सम्बन्धमा मिश्रित प्रतिक्रियाहरु पाएको पनि सम्झना छ । कतिले आफ्नो नामलाई तखल्लुसमा गजब प्रयोग गर्ने भनेका छन् त कतिले तखल्लुसको अचाक्ली प्रयोग भयो पनि भनेका छन् । हुनपनि जे जति तखल्लुस मैले प्रयोग गरेको छु मेरा गजलहरुमा त्यो आफ्नो नाम 'दीपक' हुनुकै फाइदा उठाएको हुनसक्छु मैले ।

यि नै कुराहरु सम्झिरहँदा मलाई यहि कुरामा आफ्नो ब्लगमा यौटा पोष्ट लेख्ने विचार उब्जिरहेथ्यो मनमा । र त्यसैलाई विचारमा मात्र सिमित नराखेर ब्लगको लागी यो पोष्ट बनाएको हुँ । यस्लाई फेसबुकको नोटमा पनि सेयर गर्ने हिसाब समेत रहेकोले दुबैतर्फ राखेको छु । मैले आफुले भेटेसम्म कम्प्युटरका कुनाकानीबाट तथा आफ्नो ब्लगबाट तखल्लुस प्रयोग गरिएका शेरहरु मात्र भेला गरेर यस पोष्ट/नोटमा राखेको छु ।

यसलाई शिर्षक दिँदा पहिले 'मकतामा म' लेखेको भएपनि पछि 'तखल्लुसमा दीपक जडित' लेखेको छु त्यो यसकारण कि मैले गजलमा तखल्लुस राख्दा केवल मकता/समापक शेरमा मात्रै राखेको छैन ।


***
भन्लान दीपक बल्दैछ आज ।
नगद् भै हात्हातै चल्दैछ आज ।
(मतला शेरमा ।)
***
मनमा दीपक निभाएछन् आज ।
हरेस सबैले नै खाएछन् आज ।
__
भन्न चाहन्छु म बालेछन् दीपक,
चन्द्रमा पनि त उदाएछन् आज ।
(मतला र मक्ता दुबै शेरमा चिनो राखिएको।)
***
नबलेपछी गरिबलाई दीपक,
अँध्यारै बरु ठिक छ नि का हुन्छन ।
***
निभाएथें दियो सूर्य देखेपछि,
दीपक नहुँदा अन्धकार रहेछ ।
***
नसुना सबैलाई आफ्नो सम्झी कथा,
दीपक तँ विरानो आज पिरतीमा ।
***
तिमीले नै नजलाउँदा अस्तित्वमै कहाँ हुँला,
निभेपनि आफुलाई आफैं दीपक भनेको छु ।
***
त्यसो त पुकारिन्छु दीपक,
खप्नु छँदैछ अँध्यारो मैले ।
***
कोहि उभिन्छन् दीपक बाल्दै अँध्यारो धर्तीमा,
छाडेर धरती आकाश माथि उभिन्छन् कोहि ।
***
प्रहार लगातार देख्दा यहि लाग्छ तिमी,
दीपक सँधै आँसु पुछोस भन्ने चाहन्छौ ।
***
चल्यो मनमौजी दीपक सदा,
अहँ त्रास भएन जिन्दगीमा ।
***
नाममै आगो बोकेको छस् जलाउनु केहि छ भने,
गा' है दीपक तँ सुकेको खर परालको महिमा ।
***
सुनें फिर्छ रे जडित अब त घर ,
त्यहि नै सबैको ठुलो आश भो ।
__
सम्हाल्नु थियो धेरै तैंले ए जडित,
तेरै हररात भट्टीको बास भो ।
(अन्त्यका दुई शेरहरुमा चिनो(तखल्लुस्) राखिएको ।)
***
कि फुक्नेछौ श्वासले कि हातैले छुनेछौ,
आँखीर दीपक हुँ के डर निभ्नु मलाई ।
***

तिनै मध्ये दीपक एक हो, जो-
आफैंलाई विर्षन्छन् झनै धेरै ।
***
दीपक अरुनै होला जो बल्न सक्छ,
म मात्र गजलको तखल्लुस रहेछु ।
***
भाँचियो कसरी करक्क र जोडियो फेरि कसरी,
जडित बबुरो! तँ भै'गो नगर दिलका कुराहरु ।
***
बिउँझिएर रातबिच एक्लो दीपक देख्दा ,
पहिरोले धाँजा फाटेको जमिनझैं धस्किएँ ।
***
धर्म हो वा नियति उस्को जल्छ बस् जल्दछ दीपक,
आफ्नो रंग नै नभएपछि श्यामल के धवल के?
***
हराएथ्यो कतै भीडमा खोजेन कसैले,
हेर आयो दीपक भन्ने मनुवा फेरि आयो ।
***
बल्दिंन; तर खोजी दीपककै भए,
चक्मक र झुलोमा खोज्नु मलाई ।
***
मुखै फोर्यो उसले, 'खै त शेर ए जडित?'
देखाएँ, रद्दी हाल्ने स-सानो बोरा पनि छ ।
***
जा जा जलनमा पछुतो नगर तँ
जल्दै नजलि कोहि दीपक हुँदैन ।
***
व्यर्थ छ भन्छौ भने उज्यालोमा दीपक जलाउनु,
जो तेज म भित्र छ ऐले माचिसमै रहन देउ ।
***
मुद्दा मैले उठाएथें विमति मसँग थियो,
दीपक लेखि काटेर यो सिवायमा मिलौं भन्यौ ।
***
होसियार बसुन् दीपक बाल्नेहरु,
हावाको झोँकामा पर्नु हो जिन्दगानी ।
***
'खबर्दार! ए दिपक तैंले दोष उन्को मात्रै देख्लास्' ,
केलाई कुलाई आफैंलाई आफैंले नै झाँटी राखेँ ।
***
तित्रा जुनि भोग्नु पर्छ दीपक तेरो मुखै वैरी,
नबोलेकै जाती बरु बोल्यो कि दुश्मनी पर्छ ।
***
पग्लिएर तप्प चुहिन्छु आँखाबाट,
दीपक हुँ रे त्यसैले रुन सक्दिँन म ।
***
दिनभरि नै शिकारमा हुन्छ जडित,
साँझमा एउटा शेर लिएर आउँछ ।
***
दीपक न हो भनेर आगो लगायौ म मा,
अचम्म तर धुवाँ तिमीले साझा निकाल्यौ ।
***
दियालो चैं के थियो खै बुझ्नै सकिएन,
बलिर'को दीपक म छु तेल त तिमी छौ ।
***
यो बिकाउ दुनियाँमा दीपक नि छ लिलामीमा,
खरिददारी गर्नेहरु आएर लाउ मोल यहाँ ।
***
समयलाई मुठ्ठीभित्र राख्न खोज्ने दीपक आज,
दुनिँयासँग हारेर सँधै तल पर्ने हात भएं ।
***
समय नै उल्टो भए दीपकको भन्नु केही छैन,
तर तल गिर्नेले नै शिखर छुँदो रै'छ हजुर ।
***
हिमालझैं ललाट चुम्यो जब तिम्रो,
दीपकको त सपना साकार भयो ।
***
आँधी हुरी वैरिएर पानीझरी परे पनि,
आशाको दीपक जला'को भएर यस्तो भएं ।
***
पग्लिएर तप्प तप्प तिम्रै मायामा म चुहिरहें,
किन टाल्थ्यौ दीपकको मुटु चुहाउ कति चुहाउंछौ ?
***
दीपकले फाट्नुपर्ने कारण बुझ्दा,
उल्टै उस्को मगज नै चाटेर गए ।
***
कहाँबाट आयो जडित बाठो भन्नुहोला,
नबोलेपछि गुरु हामी चेला के को लागी ?
***
मनुवा प्राणी दीपक पनि ठान्दछ सब बराबरी,
नउ'म्रोस जिलोबुटो अहँको विशिष्ठता नआवोस ।
***
गोप्य सम्झौता लेखेर आँखिर,
सुवर्ण जडित खाम चढाए ।
***
एक्लो यस्तरी भईछस् ए! दीपक तँ त सडक जस्तै,
त्यहीं टेकीहिंड्ने यहाँ अनेकौं सुहागका हुल छन ।
***
तिम्रा मनको दीपक आँखिर बालिदियौं हाम्ले,
भन्दै संधै भेटमा तिन्ले छाडेनन् खोक्न मलाई ।
***
भन्नलाई ह्रदयमा दीपक बाली,
माहात्माको जस्तै जीवन सादा बाँचें ।
***
चन्द्रै किन छुनुपर्यो हाँस्न सकुँ भुईँमै तर,
चाहंदैन दीपक फेरि भाग्य उसकै खोटो होस् ।
***
दुरी भुगोलको टाढा हुँदा नि गजलले आएर छोई,
आँखिर पियारी दीपकलाई घोप्ट्याई 'पएर'मा रुवायौ ।
***
एक्लिएर दीपक पग्लिँदा तापमा,
शितल तिम्रो प्रेमको सिँयाल आयो ।
***
भन्दैथिए जलाउंछौं शान्तीको दीपक घरघर सर्बत्र,
सल्काएर राँको निर्धा झोपडी ति आगोमा अँचिटे ठुलाले ।
***
जोडेर आफैंले दिएथें दीपकलाई जडित,
अर्थ्याईएको देखेर राख न साटको भईयो ।
***
फूल रुँदा दुखिदिने यै दीपकको नजरले,
हेर्दै लाँदा संसार यो आधासरै भोको देखेँ ।
***
छाडेथें अन्तिम चिठ्ठी लेखेर दीपक 'जडित' भई,
हल्ला मचाई भनेछन सबैले जात फालेर गयो ।
***
जिन्दगीले तैंलाई बनायो खसी के ढाल्थिस् ए दीपक?
ढाल्छस् नै भने तँ भित्रको राक्षस लडा, दशैं आयो ।
***
न त बोलीचाली एकै न त ल्वाईख्वाई एकै,
दीपक समावेशी हुँदै रम्झम् बनाउँ भन्छन् ।
***
जलाएर मात्रै कहाँ हुँदो रहेछ र दीपक मनमा,
छरेर उज्यालो त्यो दीपक सुखदायक हुन नसक्दा ।
***
ऐया! कहाँ भन्न सक्छ टोकेर आफैंलाई दीपकले ,
पिईरहेछ आफ्नै रगत बनेर डाँस जिन्दगीमा ।
***
उठ् दीपक अब त यो जिन्दगीमा अलिमाथी,
भन्छु तर सँधै यहि जिन्दगीकै गुनामा छु ।
***
दिनमा मात्र हुन्छ सूर्य अँध्यारो छ रात सारा,
मेरो साथ चाहिएमा दिलको दीपक बालीहेर ।
(यहाँ भए मध्येमा सबैभन्दा पुरानो शेर ।)
***
र अन्त्यमा यो पाँचवटै शेरहरुमा चिनो(तखल्लुस्) राखिएको गजल ।

आफैं जल्दैछ जल्न जाने पुतली भएन दीपक
फूल्ने, क्षणमै वैलिने फूल अलि भएन दीपक

फेरियो निश्चय पनि बदलेर नयाँ समयले,
मान्यता केहि अटल; पूर्ण कलि भएन दीपक

तेलै जीवनको सक्ला बरु जलेर नै यसैगरी,
निचोरेर हातैले मुटु बलि भएन दीपक

भएर पार्वती आजकी गुहारेथ्यौ त्रासले तर,
विष्णु जस्तै योगि स्वरुपमा छलि भएन दीपक

हो जलेको छ अझै जलिनै रहेको छ निरन्तर,
अफसोस् जलिरहे पनि झल्झली भएन दीपक । 
**    ***    **



Friday, April 20, 2012

लघुकथा : आमाको मुख

आफ्नो गच्छे अनुशार उसले एकझुत्ता अँगुर, चार दाना स्याउ, केहि केरा र सुन्तला किन्यो र सोच्यो अरु के के लानुपर्ला? आफुले अलि अलि कमाई धमाई गर्न थालेदेखि नै बिहे गरेर अन्यत्रै बस्न थालेको उसले एकबाजी आमाको झुत्रेझाम्रे कपडामा लपेटिएको देह सम्झियो । 'आजै हो दिए जस्तो पनि हुने, दिएको गाउँलेले पनि देख्ने' भनेर यौटा धोती पनि किनेर लगिदिनलाई कपडा पसलतिर लाग्यो ।

तर कपडा पसलको सामने पुग्दा उसको विचार यसरी बदलियो कि, 'कपडा उपडामा खर्च गर्न थाल्यो भने त आफ्नो पैसा सब चट् हुन्छ । आफ्ना पनि स्वास्नी, बच्चाहरु छन् ।' अत संगैको किराना पसलबाट यौटा पेप्सीकोलाको बोतल किनेर फलफुलको थैलामा हालेर बाटो लाग्यो ।

बाटोमा धेरै मान्छेहरु हातहातमा ताजा फलफूल तथा मिठाईहरु बोकेर चम्किलो अनुहार लिएर हिँडीरहेका थिए ।

आमा बस्ने घर पुग्नुभदा अलि वर दोबाटोमा उसले यौटा नाङ्गे भुतुङ्गे फुच्चे केटो झण्डै उ जत्रै धैलीमैली उसकि दिदीसँग टुक्रुक्क बसेर रुँदै गरेको देख्यो । त्यस्तै तीनचार महिना अघिमात्र ति बच्चाहरुकि आमालाई बोक्सीको आरोपमा गाउँलेहरुले यहि दोबाटोमा मट्टितेल छिड्केर आगो लगाई मारेका थिए ।

बडो सकसले उ दोबाटो कटेर गयो । घर पुगुञ्जेल उसका गोडाहरु लुला भएझैं भैरहेथ्यो । घर पुगेर आमालाई  आफुले ल्याएको तुलफुल दिँदा पनि उ आमाको मुखतिर नहेरी पछाडी फर्केर हेर्दैथियो ।

कतै,  'हाम्री आमालाई जलाउने मान्छेहरुमा यौटा यो पनि थियो भन्दै ति केटाकेटीहरु उसलाई पच्छ्याउँदै त आइरहेका छैनन्?' उसलाई यस्तै लागीरह्यो ।

                                                  *************

(बोक्सीको आरोपमा आमाहरु अझै जल्नुपर्ने देशमा मातातिर्थ औँसी आइरहन्छ ईमान्दार भएर । यो लघुकथा जिउँदा मरेका ती सबै आमाहरुलाई समर्पण! ज-जस्ले बोक्सीको आरोपमा मरेतुल्य बेइज्जत हुनुपरेको छ, घोर यातना सहनु परेको छ अथवा जीवन नै त्याग्नु परेको छ ।)

(यो लघुकथा फेसबुकको नोटमा र फेसबुककै ग्रुप लघुकथा कुनोमा पनि सेयर गरेको छु ।)

साथमा-
ब्लगबाट जोडिनुहुने सबैलाई मातातिर्थ औँसीको शुभकामना! 

धरती माता लगायत धरतीमा माताको अस्तित्वमा रहने सबै माताहरुलाई प्रणाम ।

Saturday, April 14, 2012

कविता : अचानक उर्लेको यो याद


नजान्दा हिंड्न हो
अथवा
भर्खर जान्दा हिंड्न
बुर्कुशी मार्छ
कैली गाईको दुधे बाछो
कुनै बुढो मान्छेको
पैंजडे परेकाझैं
आफ्ना भर्खर भर्खर तङ्रिएका
खुट्टाहरु लर्बराउँदै ।


बेवास्ता गर्छ
अफ्नी आमाले
घोक्रो थर्काउँदै गर्ने
फाँ फाँ र फूँ फूँ गाली
पुग्छ
गोठ भन्दा परसम्म
क्षणमै नाघ्छ बड्किंदै
 गोठ छेउको ठुलो गह्रा
त्यहि गह्रा
जस्लाई
आँतर आँतर घुमेर
सियो सियो छिचोलेर
 पार गर्न
उसको बाबु समान
पुँडे गोरुलाईे
एक बिहान पुरा लाग्छ ।


बाछोको यो उपद्रो देखेर
सोच्दो हो पुँडे
कि अब उसलाई
त्यसरी बड्किएर बुर्कुशी मार्ने
छुट कहिल्यै हुने छैन
उ मात्र हेरिरहन्छ
दाम्लोबाट ।


र दाम्लोबाटै
सोच्दी हो कैली
कि उसको छोरा अब
फर्केर आउने छैन फेरि
आफ्नो फाँचोभरि पग्रिएको दुध चुस्न
कैली अतालिन्छे 
कैली छिनाउँलाझैं गर्छे
आफ्नो गलाको दोहोरो दाम्लो
के जान्ने
उ उखेल्न पनि सक्छे
बल गरेर आफु बाँधिएको दुबै किला ।


बेस्मारी बड्किँदा
दुधे बाछोलाई जुका पर्न सक्छ
उस्लाई के थाहा
उ जुका परेर मर्न सक्छ ।


चिन्तित गोठ मालिक
एक गर्जनमा भेला गर्छ
परिवारका एक एक सदस्य
र आज्ञा दिन्छ
बाछो समातेर थलोमा ल्याउन ।


दिदी, दाजु, म र मेरी बैनि लगायतले
दुधे बाछो
छेकिन्छ तीनचारतिरबाट
छेक्नेहरु मध्येको
एकातिरबाट
म उम्किन दिन्छु उसलाई
र तयार हुन्छु गोठ मालिकको गाली सुन्न
उ बड्किएर अझ पर पुग्छ
र मैले गाली सुन्न भ्याईसक्दा
बड्किएरै
फर्कन्छ गोठमा आफ्नी आमासँग ।


आहा! कति मीठो, कति प्यारो
अचानक उर्लेको यो याद ।

Friday, March 23, 2012

कविता : एक थुप्रो लाज

खुब उकालो चढेका छन्
आजभोली कविताहरु ।

हो
यो राम्रो संकेत हो
हाम्रो आकाशमा कविताहरु अग्लिन ।

कविताहरु
हामीले खाने अन्नजस्तै
माटोमा उम्रनु पर्थ्यो
जराहरुले माटो नछोडी
उँभो उँभो उकालिनु पर्थ्यो ।


निकानोर,
तिमीले पनि यस्तै चाहेको थियौ भने
कहिँ न कहिँ कैफियत अवश्य छ
र त्यसैले फरक पारेको छ कवितामा
कि आज कवितामा माटोको महक छैन ।

केहि छ भने
बस् गोबरझैं छ
एक थुप्रो लाज
एकरास घिन
र हामी कलम समाउने हात धोइरहेछौं
बग्न नसक्ने नदिको जलमा ।

सुन निकानोर पारा,
माटो नछोडी उकालिएको भए
यतिखेर हाम्रो सगरमाथा हुनेथियो
विश्वमा सर्वोच्व सुन्दर कविता ।

तर अफसोस्
कवितामा आउन हरेक कुरालाई अनुमति दिएपनि
सादा कागजको पेज सुधार्न नसकेर
झनझन नाङ्गेझार हुँदैछन् कविताहरु ।


बरु
लाजको वावजुद पनि
म यो भन्न सक्छु कि
हामीसँग पनि छैन
पुलमुनिबाट बगेको रगतको हिसाब ।

**********

यस कविताका बारेमा-

धेरै पहिले निकानोर पाराको 'तरुण कविहरु' भन्ने नेपालीमा अनुवादित कविता पढेको थिएँ -

जसरी मन लाग्छ त्यसरी नै लेख
जुन शैली तिमीलाई मनपर्छ त्यसैमा
एउटै मात्र बाटो ठीक हो भन्ने
विश्वास दीगो राख्न अब
नसकिने गरी प्रशस्त रगत पुलमुनिबाट बगिसक्यो ।

कवितामा आउन हरेक कुरालाई अनुमति छ ।

तर खालि एउटै मात्र शर्त के छ भने:
सादा कागजको पेजलाई तिमीले सुधार्नुपर्छ ।

र यो कविताले यस्तरी प्रभाव छोडेको छ कि, कविता जसरी पनि लेख्न सकिन्छ भन्ने मान्दा मान्दै पनि हरेक पटक कविता लेख्दा सादा कागजको पेज सुधार्नु पर्ने शर्तले डर उमार्छ ।

त्यसो त धेरै कविताहरु लेखेको छु मैले र ति सबैले सादा कागजको पेज सुधारेका छन् भन्ने होइन बरु सादा कागजका पेज सुध्रिएनन् भन्ने हो पिरोलो र पछिल्लो समयमा त मैले कविता लेख्नै छोडिसकें भने हुन्छ ।

यो कविता विश्व कविता दिवसको दिन अर्थात मार्च २१ को दिन उनै चिलीका कवि निकानोर पारा र फेसबुकका मेरा समकालिन नेपाली कविहरु र कविताहरुलाई सम्झिएर लेखेको हुँ ।

दुर्भाग्य! त्यसैदिन फेसबुकमा र ब्लगमा राख्न असमर्थ भएँ ।

निकानोर पाराको बारे कविता सहित जानकारी सुत्र ।

Monday, February 13, 2012

गजल : अन्धकार हो कृष्ण


***
सिधा अर्थले अन्धकार हो कृष्ण !
जगतको एकमात्र सार हो कृष्ण !

जो जस्तो बुझ्दछ उसलाई उस्तै,
बुझ्न सकेजति अवतार हो कृष्ण !

चुँडिने गाँसिने जीवात्मामा नित्य,
प्राणको सुविधा सञ्चार हो कृष्ण !

सबै जिन्दगीको रचयिता प्रति,
सदा अभिव्यक्त आभार हो कृष्ण !

कठिनाइ माथि असाध्य बनेका,
जीवनको मोक्षको द्वार हो कृष्ण !
***

Friday, February 10, 2012

कविता : आँसुको उपहारले


स्केच : Tabish Shafi

मन उडेर फुङ्ग छ
खुइलिएर रंग उडेझैं
कि धोयौ रातदिन
चोबलेर आँसुमा
छुप्छुपाउँदै हिक्काहरुसँगै?

म अनुहारमा तिम्रो
नखोजेरै
भेटिरहेछु आफुलाई
भदै बगिरहेको अविरल
के वर्षात के शिशिर
जुनसुकै मौसममा ।

झरीले यहाँ
मनसुन पर्खिएन कहिल्यै
उल्टो सँकेत गर्यो
विश्व तापमान वृद्धिको
र वर्षिरह्यो प्रेम पग्लिएर
तप्प! तप्प!
सपनाको थोपाहरु चुहिँदै ।

कुनैदिन
जोर आँखाका कालो दहभरी
त्रासका कालै सर्पहरु गुँडुल्किँदा
हामीपनि
जोर सर्पहरु भएर
दिउँसैमास टाँगिएका थियौं
सप्तरंगी हुँदै
जोडी इन्द्रधनुष ।

इन्द्रधनुष,
कतिञ्जेल लच्किन सक्छौ
एकजोडी वैंश
घाम पानीको दिन रोजेर
तिमीले जोडेको पूलबाट
को हिँडेको छ
धरतीदेखि स्वर्गसम्म ?

पातलो बादलले
एकसरो सूर्य छलेको दिन
धेरैले गरेथे तिम्रो
अँध्यारो मुहारको चर्चा
तर मैले आँखाभरी
सप्तरंगी फुलेको देखें
त्यसो त त्यसबेला
मेरो आँखाभरी सजिएको थियो
उपहारमा
तिमीले दिएको आँसु ।

अझै पनि छ
आँसुको उपहार मसँग
सायद त्यसैले फरक पार्यो कि
यतिखेर देखिरहेछु
मन उडेर फुङ्ग छ
खुइलिएर रंग उडेझैं
कि धोयौ रातदिन
चोबलेर आँसुमा
छुप्छुपाउँदै हिक्काहरुसँगै?

Sunday, February 05, 2012

गजल : मुस्कान ओठमा छर्नु हो जिन्दगानी



कि त फुल्नु कि त झर्नु हो जिन्दगानी ।
या उमेरको नदि तर्नु हो जिन्दगानी ।

के के छौ सोचेको यो जिन्दगीमा गर्न,
धेरै नसोचेकै गर्नु हो जिन्दगानी ।

छोड्छ एकदिन जिन्दगी अघि बढ्न,
तब अतित सुमर्नु हो जिन्दगानी ।

कैले बुझ्ने हुन् रुने र रुवाउनेले,
मुस्कान ओठमा छर्नु हो जिन्दगानी ।

खुसीमा उम्लेर पोखिनेहरुलाई,
सुर्ताले गाला मुसर्नु हो जिन्दगानी ।

होसियार बसुन् दीपक बाल्नेहरु,
हावाको झोँकामा पर्नु हो जिन्दगानी ।

Saturday, January 28, 2012

पर्व : सरस्वती आमाको जय!!

आज सरस्वती पूजा !

सरस्वती आमाको जय!!


सरस्वती पूजाका दिनका यादहरु पनि अरु ऐन मौकाका दिनहरु जस्तै वाल्यकालका नै प्रिय हुँदारहेछन् ।


उमेरका खुड्किलाहरु जतिधेरै उक्लिंदै गइन्छ उतिधेरै यस्ता विषेश मौका पर्वका दिनहरुको रमाईलो र महत्ताबाट विमुख हुँदै गइने रहेछ ।


आफु ब्लगर भएको नाताले अथवा आफ्नो पनि ब्लग भएको नाताले मैले यसपाली सरस्वती पूजाको दिनको टाँसोलाई आफैंले कमसेकम एउटा ब्लग लेखें भन्न सक्ने हिसाबले संस्मरणहरु जोडेर लेख्नेछु भन्ने सोचेको थिएँ तर........ तर अब सरस्वती पूजा जस्तो अक्षर प्रेमीहरुको महत्वको दिन पनि ब्लग लेख्नलाई अवसर हुन छोडेको अवस्थामा पुगिएछ ।


यो सत्य थाहा पाउँदा भित्र दुखेर आएझैं भयो मलाई । तसर्थ यसपाली पनि ब्लगमा सरस्वती पूजाको दिनको मिती सम्म अंकित गर्ने जमर्कोमा पुग्नसकें ।


यसपाली सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा सरस्वती पूजाको चहलपहल  पढ्न लेख्न पाउँदा निक्कै हर्क लाग्यो मलाई । धेरै अक्षर प्रेमीहरुले सरस्वती पूजाको अवसरलाई फेसबुकमा उल्लेख गर्नुभएको छ । साँझ काममा छँदै मैले पनि सेलफोनबाटै सरस्वती पूजाको संदर्भमा यो स्टाटस लेखेको थिएँ फेसबुकमा
सरस्वती माताको जय !
(हामीलाई सानोमा स्कूलबाट सरस्वती सेलाउन जाँदा सरहरुले 'सरस्वती माताकी जय !' भन्न सिकाउनुहुन्थ्यो । त्यसैले हो कि अहिले '..माताको..' भन्दा अप्ठ्यारो लाग्दोरहेछ ।)



यो भन्दा पाँच वर्ष अगाडी मैले कोलोराडोबाट ब्लगर भएर पहिलो पटक सरस्वती पूजाको ब्लग लेखेको रहेछु । सरस्वती पूजाको चकमन्नता मैले कसरी महसुस गरेको थिएँ त्यो बेला यहाँ त्यस ब्लगको केहि अँश साभार गर्दछु -

हिंजो कान्तिपुर लगायत निक्कै अनलाईन नेपाली पत्रीकाहरु हेरें तर कतै पनि सरस्वती पूजाको बारेमा 'स' पनि लेखेको नभेट्दा अझ दुख लाग्यो । सबैमा त पसिंन तर पसेजति ब्लगहरुमा पनि कुनै ब्लगरले सरस्वती पूजाको बारेमा लेख्नु भएको छैन । सायद सरस्वती पूजाको कसैलाई महत्व छैन अब । कि देशको बर्तमान परिस्थितीले सबैलाई बिर्सायो कि? कि धर्मनिरपेक्षताको कुराले भुलायो? जे होस , धेरै अर्थमा मान्छेहरुले बिर्षिदै गए होलान । अनि राजनैतिक गज्याङमजाङले पनि यस्तो कुराहरुलाई ओझेल पार्यो होला । ........


पाँच वर्ष अगाडि सन् २००७ को मेरो उक्त ब्लग यहाँ गएर पढ्न सक्नुहुनेछ । त्यसपछि आफ्नो पनि उहि ताल देखिएको छ । दोश्रो पल्ट सन् २००९ मा अलास्काबाट छोटो ब्लग लेखेको रहेछु सरस्वती पूजाको । त्यहाँ पनि सरस्वती पूजाको चालचुल नभएको गुनासो नै रहेछ ।


आफ्नो पर्व संस्कृतिका यस्ता महत्वपूर्ण दिनहरुको महत्व चुलिँदै जाँदा हामीलाई घाटा हुन्न । सरस्वती पूजाको महिमा बढ्दै जाओस् ।




माता सरस्वतीले अक्षर प्रेमी हामी सबैलाई थप लगन प्रदान गरुन्  हामीलाई त्यहि उनको आशिर्वाद हुनेछ ।


अक्षर चिन्नबाट वञ्चित वालवालिकाहरुले कुनै हिसाबले अक्षर चिन्ने(स्कूल जाने) अवसर पाउन् - यो मेरो कामना छ ।
अन्त्यमा सरस्वती पूजा/श्रीपञ्चमी/वसन्त पञ्चमीको शुभकामना सबैलाई ।

आमा सरस्वतीको जय होस् !! जय होस् !! जय होस् !!

Saturday, January 21, 2012

कविता : समुद्र किनारमा एउटा प्रश्न



समुद्र किनारमा एकरात म कालो छायाँ बनेर खसें
छप्लङ्ग छप्लङ्ग मेरा अनगिन्ति छायाँहरु
बगरमा त्यहिँ शब्द गर्दै ओहोर दोहोर गरिरहे
जहाँ बालुवामा रत्ति प्यास थिएन
अघि नै भिजेको बालुवा कठै!
लगातार बलात्कृत भइरहयो
म कालो छायाँ खसिरहें लगातार
निशब्द उत्तानो पल्टिएको चिसो बालुवा माथि ।

 

परबाट विमानस्थलतिर ओर्लन हिँडेको हवाईजहाजले
उज्यालोको एकमुस्लो धून मेरो सामुन्ने खसायो
तिर्मिर तिर्मिर लहराएको समुद्र
एकैछिनको उज्यालोमा पनि मीठो मुस्कुरायो
अहो! चन्द्रमा हराएको यो कालरात्रीमा पनि
समुद्र कसरी हाँस्न सकेको?
उज्यालोमा नरमाउने कोहि होला के सायद?

 

छालले नभेटेका फुर्फुर शुष्क बालुवाहरुले साउती मारेर सोधे
'ए वैरागी, म पो गतिहीन त
प्यास बोकेर अर्को सुनामीको कामना गर्दैछु
गतिशील तिमी किन मसँगै सुनामीको सपना देख्छौ?
सुनामीले पुरिएर समुद्रको गहिराईमा डुबेपनि
सुनामीसँगै सोहोरिएर पानी भन्दा टाढा मरुस्थलमा पुगेपनि
म आफ्नो गतिहीन वालुवा अस्तित्व ज्युँ का त्युँ राख्न सक्छु
के तिमी सुनामी पछि तिम्रो गतिशील मनुवा अस्तित्व जोगाउन सक्लाउ ?

 

एक धर्सो उज्यालो साथै लिएर विमान अलप भैसकेपछि
जतिबेला लाजले मेरो शिर शुष्क बालुवा सामु झुक्यो
त्यतिबेला समुद्र किनारमा एउटा प्रश्न झर्यो
कति चैं अँध्यारोको मारले मेरो नाम 'दीपक' जुर्यो होला?
त्यसपछिका दिनमा त्यहि प्रश्नले क्रमश उमारीरहेछन
अनेक अनेक अमिवा प्रश्नहरु जीवनभरीको निमित्त ।

***
२१ जनवरी २०१२
किहे, हवाई
 ***

Monday, January 16, 2012

कथा : चरिअमिलो

सँधैं झैं त्यो बिहान पनि एउटा नियमित बिहान थियो । उसैगरी घाम झलमल्ल लागेको । पश्चिमतिरबाट मन्द तर बाफिलो समुद्री हावा चलिरहेको । बाह्रै महिना एकै मौसम रहने हवाईमा हरेक दिन नै बोटवृक्षहरु एकैतमाशले हरियापरिया भएर हाँसिरहेका हुन्छन् । फूलबुट्यानहरु सँधै उसैगरि खिल्खिलाईरहेका हुन्छन् । चराचुरुङ्गीहरु सँधै आफ्नै आफ्नै लयमा मग्नमस्त चिर्बिर गाईरहेका हुन्छन् । अन्यत्र विविध परिवर्तित मौसममा रमाएर आउनेहरुलाई सुरुसुरुमा हवाई मनोरम र उत्तम स्थल लागेपनि रहँदै बस्दै जाँदा यहाँको एकतमासको वातावरण कटु हुँदै जानेरहेछ । कदाचित् म यस्तै महसुस गर्न थालिसकेको थिएँ ।

बाह्रै महिना फुलिरहने रातो शिरिषले, बाह्रै महिना फलिरहने आँपले, बाह्रै महिना उपलब्ध भईरहने भुईँकटहरले, बाह्रै महिना पाईरहिने नरिवलले र बाह्रै महिना रहिरहने हरियालीले मात्र मान्छेको तिर्सना कहाँ मेटिंदो रहेछ र? कताकति दिग्दारीले मेरो मन पनि भुट्भुटिन थालेको थियो ।

एकोहोरो दिनचर्याको दिग्दारीबाट उन्मुक्त भई त्यसदिन विहान शर्मिलासँग टाढा कतै जंगल पर्वततिर गएर ताजा स्फुर्ति प्राप्त गर्ने ध्येय थियो मेरो । आँङ्ग चिर्चिराउने गरि चरक्क घाम लागेको बाहिरफेर भर्खर उठेको आँखाले हेर्न नसकिने गरि धपक्क थियो ।

'कस्तो होला, आज त थोपो छिटो हावा पनि नचलेको ।' पार्किङ्ग लटमा नपुग्दै शर्मिलाले वातावरण प्रति गुनासो पोखिन् ।

'हावाको न थोपो हुन्छ न छिटो, अनि कसरी चल्छ त थोपोछिटो हावा?' मैले मनमनमा मात्र भनें प्रकटमा केहि बोलिनं । म स्वयं वातावरणको एकोहोरोपनाले दिग्दारिएको थिएँ ।

स्फूर्ति विहिन मैले गाडी स्टार्ट गरें । पार्किङ्ग लटबाट निस्कँदा स-सानो सभाकै निमित्त भेला भएझैं पार्किङ्ग लटभरि जम्मा भएका केहि बथान ढुकुरहरु केहि उडेर तितरबितर भए केहि हिँडेरै छेउ लागे ।

हाईवे समातिसकेपछि शर्मिलाले सोधिन्, 'आजको हाम्रो गन्तब्य चैं कहाँ हो?'

मैले पुलुक्क उनलाई हेरें । उनि पर पर सम्म फैलिएको भुईँकटहरको खेतलाई एकतमाश हेर्दै थिइन् ।

'हामी हाना जाँदैछौं । भनिनं र मैले?' संक्षिप्त जवाफ दिएर सोधें ।

एक अफसोस् पूर्ण नजर टेकाईन् उनले म माथि । बोलिनन् केहि तर मैले उनको मुहारको भावाब्यक्ति पढ्न सकें 'कहिले के कुरा भैसक्नु भन्दा अघि नै भन्नुहुन्छ र मलाई?'

'सही हो । म सँगै रहनुबस्नु पर्दा जो कोहि सहयात्रीलाई पनि अप्ठ्यारो छु । म भित्रको यस प्रकृतिको घानमा सबै भन्दा धेरै पर्ने त पक्का तिमी नै हौ । सरी है ।' मनैमनमा आफ्नो आलोचना गरें र माफी पनि मागें । तर प्रकटमा फेरि पनि सरी सम्म भनिंन । म धेरैसँग यसरी नै मनले सरी भनेर माफि मागिरहेको हुन्छु तर सम्बन्धितले बुझ्छन् कि बुझ्दैनन् खै?

उनका दृष्टिहरु अझै पनि भुँईकटहरको खेतमै एकोहोरिएका थिए । 'मैले पाईनापलको यत्रो ठुलो खेति कैले पनि देखेको थिईंन ।' झ्यालबाट उसैगरि परपर हेर्दै उनले भनिन् ।

'हो कि? मैले पनि देखेको थिएन ।' सहमती थपें मैले ।

'त्यसो त हामीले संसार नै कति देखेका छौं र?' एकछिन बिसाएर फेरि भनें मैले ।

'हो नि है?' यता उनको सहमती आयो ।

मावि टापूको पूर्वी खण्डमा पर्ने हाना रोड प्रविष्ट भैसकेका थियौं हामी । अनन्त फैलिएको प्रशान्त महासागरलाई देब्रे पारेर भीमकाय पहाडको पेटैपेट हिँडेको हाना रोडमा ड्राइभ गर्नु मात्रै पनि यात्राको भरपूर आनन्द उठाउनु सिद्ध हुन्थ्यो । एकै थेग्लो बादल समेत नभएको सफा नीलो आकाश, उस्तै गहीरो नीलो समुद्र, हरियालीले भरिपूर्ण पहाड र घना जंगलको संगतमा पुग्दा मलाई संसारमा कतै छल, कपट, ईर्ष्या, ईवि भन्नै कुरानै छैन झैं अपूर्व मंगलको अनुभुति हुँदैथियो । धेरै घुमाउरा घुम्तिहरु र एउटा मात्र गाडी छिर्न सक्ने थुप्रै साँघुरा पूलहरु पार गर्दै हामी सम्भव भएसम्म दृश्यावलोकनको निम्ति उपयुक्त तय गरिएर सडक छेउमा चिन्ह राखिएका हरेक स्थलमा रोकिंदै अघि बढ्दै गयौं ।

नयाँ स्फूर्ति प्राप्त गरिसकेको शरिरले प्रकृतिको मनोरम छटासँग खेल्दै हामी वाईलुवा फल्स पुगेका थियौं । खास केहि थिएन वाईलुवा फल्स । सडक भन्दा केहि भित्र निक्कै अग्लो डाँडाबाट झरेको पातलो झरना र फेदमा सानो तलाउ । नेपालमा भएको भए यसको नाउँ पक्का पात्ले छाँगो हुन्थ्यो होला । यस्तै विचार आयो मनमा त्याहाँ पुग्दा । तर अरु ठाउँहरु भन्दा निक्कै धेरै मानिसहरु थिए त्याहाँ । झरनासँग तस्वीर खिचाईरहेका धेरै हँसिला मान्छेहरुको समुहमा हामी पनि उसैगरि सामेल थियौं । तस्वीर खिचाउने र आँखाले झरनाको सुन्दरता पिउने कर्म सकेर गाडीतर्फ फर्किने क्रममा हामी हिँडिरहेको गोरेटोको पारीपट्टी भएको आकर्षक गलैंचा बिच्छ्याईएझैं पाखोले मेरो ध्यान खिच्यो । आउने जानेलाई बाटो छोडिने हिसाबले गोरेटोमा छेउ लाग्दै उभिएर मैले भनें, 'हेरत उ त्यो पारी, गलैंचा ओच्छ्याएजस्तै कति राम्रो पाखो रहेछ । जाउँ है त्यतातिर । मलाई त्यो झार चिनेजस्तै लाग्यो ।'

त्यो हरियो पाखोले मलाई यस्तरी आकर्षित गरिरहेको थियो कि मानौ त्यो पाखो ठुलो चुम्बक हो र म सानो टुक्रा फलाम । साँच्चै नै पनि प्रकृति मेरो लागी चुम्बक हो र म प्रकृतिको लागी चुम्बकिय धातु ।

'रुख, बुट्टा, झार, ढुँगा सबै तपाईंलाई चिनेजस्तै त लाग्छन् । त्यो झार पनि तपाईंको सानोको साथी हो ल । तर त्यता नजाउँ । कोहि ग'का छैनन् ।' शर्मिला मलाई पारीपट्टी जान मनाहि गर्दै थिइन् ।

'कोहि जाउन कि नजाउन, कोहिसँग के सरोकार? मलाई जाउँ लाग्यो नि । जाउँ न प्लिज ।' अनुरोध गर्दागर्दै म गोरेटोबाट केहि तल झरिसकेको थिएँ । तल त्यहि वाईलुवा फल्सबाट तलाउमा झरेको पानी निकाश हुने सानो खोल्सो तर्नुपर्थ्यो तर खोल्सोभरि यमान यमानका ढुँगाहरु हुनाले फट्किंदै पानी नछोई पारी पुग्न सकिन्थ्यो ।

पारीपट्टी पुग्दाको आनन्द अवर्णनिय थियो । पाखोभरी हरियो बाक्लो गलैंचा बनेर बिच्छिएको झार मैले चिनेको मात्र हैन शर्मिलाले भनेजस्तै मेरो बच्चाको साथीझार नै थियो वास्तवमा ।

'ए! यो त चरिअमिलो हो नि, मेरो पो सानोको साथी रहेछ ।' खोल्सोपारी ससानो डीलमाथि उक्लँदै बोलिन शर्मिला ।

'हो र? खोल्सो तरेर यतापट्टी आएको सार्थक भयो उसोभए ।' शर्मिलाले पनि चरिअमिलोलाई आफ्नो सानोको साथी मान्नु मेरो लागि खुसीको कुरा बन्यो त्यो क्षण ।

'हाम्रोतिर तामाका भाँडाहरु टल्काउन यो झारले मस्काउने गरिन्थ्यो म सानो हुँदा ।' मलाई चरिअमिलोको थप परिचय दिँदै थिइन् शर्मिला । म भने चरि अमिलोसँगको आफ्नो बाल्यकालका प्रियपलहरु स्मरण गर्दैथिएँ । तर स्मरणमा आउने पलहरु सबै कहाँ प्रिय हुन्छन् र? चरिअमिलोसँग पनि मेरो एउटा भयानक दर्दनाक स्मृति गाँसिएको थियो । अनेक पटक अनेक कुराहरुले उघार्न खोजिरहने मेरो यस भयानक दुखको क्षणलाई अनेक पटक मैले सम्झन नचाहेर मानसपटलमा ताल्चा ठोकेको थिएँ तर आज चरिअमिलोले मलाई यस्तरी गलाईछाड्यो कि म चाहेर पनि त्यस दुखपूर्ण पललाई स्मरण नगरि नसक्ने भएँ ।

.....................................।

अहो! त्यो दिन, आज सम्झँदा पनि मेरो मुटु ढक्क जमेझैं हुन्छ एकक्षणलाई ।

त्यसदिन म चारआलीको डाक्टरको भुमिकामा थिएँ । उपचारमा मलाई सहयोग गर्न नर्सको भुमिकामा गंगा थिइन् । जेसुकै खेल्दा पनि म गँगालाई आफ्नो पट्टि नै राख्थेँ ।  मसँग मिल्ने मात्र नभएर मैले जे भन्यो त्यो खुरुक्क मान्ने भएकोले गँगालाई अर्कोपट्टि पारेर म कहिल्यै खेल्न मान्दिनथिएँ । खास गरेर बिहेगरि खेल्नुपर्दा म आफु बेहुला र गँगालाई बेहुली बनाएर मात्र खेल्न राजी हुन्थेँ । अरु बेहुला बेहुली हुनेभए भने म खेलमै सामेल नहुने धम्किदिन्थेँ । कुनैदिन क्यै गरेर मेरो दाल गलेन भने पनि म आफु दुलाहा नबनेको बखत गँगालाई दुलही बन्न दिदैनथिएँ । एकहिसाबले त्यसबखत गँगामाथी म आफ्नो सम्पुर्ण अधिन भएको सम्झन्थेँ ।

गँगा र  म त्यसदिन चारआलीमा थियौं । दुईवटा बाँसझ्याङ्गको बिचमा रहेको केहि खाली ठाउँमा यौटा जुटको बोरा बिरामी सुताउने बेड बनाएर हालेका थियौं । गँगाको र मेरो आ-आफ्नै खोसेलाको पिह्रा थियो डाक्टर र नर्स बस्ने कुर्शीको रुपमा । डाक्टर र नर्सको लगाउने लुगा सेतो हुन्छ भनेर त्यसदिन हामी दुबैले स्कूलको सेतो शर्ट लगाएका थियौं । मसँग हजुर आमाले आँखामा लगाउने गर्नुभएको झोल औषधीको साना साना निक्कै खाली सिसीहरु र त्यसको कागजको बट्टाहरु प्रसस्त थिए । सिसीहरुमा पानी भरेर गँगाले एक लहर मिलाईसकेकि थिइन् भने अर्को लहर कागजका बट्टाहरु मिलाईएको थियो । अरुपनि साना साना टिनका बट्टाहरुमा धुलोमुलो लगायतका औषधीहरु भरेर लहर मिलाएर राखिएको थियो । चारआलीको भनिएको बाँसझ्याङ्गको हाम्रो अस्पताल हेर्दा साँच्चै नै स-सानो औषधी पसल जस्तै लाग्थ्यो ।

अर्कोपट्टी खेल्ने अरु साथीहरु आँखाले नदेखिने तर बोलाउँदा सुनिने दुरीमा परालको ढेडी नजिकै सितापुरी भनिएको ठाउँमा थिए । त्यसदिनको खेलमा सितापुरीको एकजनालाई विषालु सर्पले डस्ने र उपचारको निमित्त चारआली ल्याउने अनि चारआलीमा म आफैं भएको डाक्टर र गँगा नर्सले उपचार गरेर सर्पले डसेको विरामी ठीक पार्ने तय भएको थियो ।

त्यसताका साँच्चै पनि हाम्रो गौरादह क्षेत्रमा कसैलाई सर्पले डस्यो भने उपचारको निमित्त चारआली पुर्याउनु पर्थ्यो । हामीले थुप्रै पटक रातबिरात सर्पले डसेको विरामीलाई उपचारको निम्ती चारआली लगिएको, कति बचेर फर्केको त कति पुर्याउँन नपाई शरिरमा विष फैलेर मरेको देखेसुनेका थियौं । त्यसैको प्रभाव हुनसक्छ हामीले त्यसदिनको खेल पनि त्यसै अनुरुप खेल्ने नीधो गरेका थियौं ।

गँगा र मैले हाम्रो अस्पतालमा आवश्यक कुराहरु जुटाउँदा जुटाउँदै अर्कोपट्टी खेल्ने साथीहरु मध्ये केसुले कराएर सोध्यो, 'ओई दीपक, तिमर्को रेडी भयो? हामी आउने है अब बिमारी ल्या'र ।'

'नाईं नाईँ एकछिन् पर्ख, हाम्रो सबै रेडी भ'को छैन ।' गँगाले कराएरै जवाफ दिईन् ।

'भयो भयो, अब के चाहिन्छ र?' म, घाँटीमा सानो जुटको डोरीको स्टेथेस्कोप हालेर डाक्टरको कुर्शी भनिएको खोसेलाको पिह्रामा बसिसकेको थिएं, गँगाले मात्र सुन्ने गरेर बोलें ।

'अँ होला? याँ मैले सर्पले टोकेको दबाई नै ल्याउन बाँकी छ । ल्या'र तेल्लाई पिन्नु परो, अनिमात्र रेडी हुन्छ ।' गँगाको जवाफ मलाई थियो ।

त्यसबेला खेल्दा चरिअमिलोलाई हामी सर्पको दबाई बनाउंथ्यौं । सर्पले टोकेको ठाउँमा चरिअमिलोको लेप लाएर त्यसमाथि घोटेर कौडा आकारमा ढालिएको अँगार राखेर सर्पको विष निको पार्ने गर्थ्यौं हामी । कालो अँगारलाई चैं हामी झारमौरो भन्थ्यौं ।

चारआलीका डाक्टर र नर्स बनेर खेले पनि उपचार गर्दा भने गाउँ गाउँमा सपेराले सर्पको विष झार्ने जडीऔषधी भन्दै डुलाउँदै बेच्ने झारमौरोको काईदालाई अपनाएका थियौं । हुनपनि हामीले त्यसबेला चारआलीमा सर्पले डसेको विरामी लगेको थाहा पाएका थियौं तर त्याँहा डाक्टरहरुले कस्तो विधीले उपचार गर्छन् भन्ने त हामीलाई थाहा थिएन ।

अर्कोपट्टी खेल्ने साथीहरु कराउन थाले, 'छिट्टो गर, हाम्रो विरामीलाई सर्पले टोकिसक्यो । अब छिट्टो ल्याएन भने बाटैमा मर्छ।'

अर्कोपाटीले अत्याउन थालेपछि मैले आफ्नोपट्टी तयार नहुनुको झोँक गँगामाथि निकालें, 'यो त नर्स भ'कि पनि के गर्छे गर्छे, यत्रो बेरसम्म सर्पको दबाई पनि ल्या'कि छैन र'छे । जा छिट्टो ले'र आइज ।'

मेरो आदेश पालन गर्दै गँगा फाल तोडेर दौडिन् । सर्पको दबाई भनिएको चरिअमिलो लिन हामीले खेल्दै गरेको स्थानबाट केहि पर धान खेतको डीलसम्म जानुपर्थ्यो । त्याँहा निक्कै झाडी र डीलैमा यौटा पाडारीको रुख थियो ।

'पाडारीको रुख भा'ठाउँमा गएर छिट्टो ले है ।' गँगा दौडीसकेकि भएपनि मैले फेरि अह्राएँ ।

यता म डाक्टरको कुर्शीमा पलेँटी मारेर बसिराखेको बखत अर्को पट्टीका साथीहरुले सर्पले डसेको विरामी ल्याईपुर्याए ।
उनिहरुले विष्टको ज्ञानेलाई सर्पले टोकेको विरामी बनाएका थिए । उसको एउटा नली खुट्टामा रातो रगत जस्तै थोरै रंग लगाएर सर्पले टोकेको ठाउँ बनाएका थिए र सर्पले टोकेको ठाउँदेखि माथी पारेर पाँसुलामा र तिघ्रामा गरेर तीन ठाउँमा पटासीले टन्टनी कसेर बाँधेका पनि थिए ।

केसु विरामीको बाउ बनेको थियो । थोत्रे ढाकाको टोपी लगाएर उ घरी घरी खुइय खुइय गर्दै थियो । गाउँले बनेर दुर्गे, भन्डारीकि विना, चन्द्री माईला आदि आएका थिए । उनिहरुले डाक्टरको टेवल भनिएको जुटको बोरामाथि विरामीलाई लम्पसार सुताए र 'छिट्टो दबाई गर्नुपरो डाक्टर सा'ब, नत्र हाम्रो बिमारी मर्छ' भन्न थाले ।

विरामी बनेको ज्ञाने पनि साँच्चै सर्पले नै डसेको हो कि कै भाँती पारेर आलसतालस भएको, ओईलिएर लल्याकलुलुक भएको अभिनय गर्दैथियो ।

म भने सर्पको विष झार्ने दबाई लिन गएकि गँगा नफर्किएकिले रीसले आँखा देख्नै छोडिसकेको थिएँ । तर त्यसबेला खेलमा अर्को पट्टीका साथीहरुलाई रीस देखाउन पनि मिल्ने थिएन मैले । रीस देखाउन मिल्ने आफ्नो पट्टीकि गँगा अझै फर्केकि थिईनन् त्यसैले उपाय रचेर मैले भनें, 'लु बिमारीलाई फड्को भैसकेछ । पैले शीतल पार्ने दबाई गर्नुपर्छ ।'

यौटा भाँडोमा पानी राखेर सानो टालो भिजाएर राखेको थिएँ मैले । त्यहि टालो निचोरेर विरामीको निधारमा राखिदिएँ र विरामीका आफन्तलाई पँखा हम्कन अह्राएँ । विरामीको बाबु बनेको केसु बाँसको खबडाको पँखा बनाएर विरामीलाई हम्कन थाल्यो  । म उपचारको अरु प्रक्रिया तयार गर्न थालेँ ।

'मलाई त साँच्चै सर्पले टोक्यो कि क्या हो?' हातमा एकमुठो चरिअमिलोको लहरो बोकेर गँगा आईपुगीन् ।

'टोक्छ टोक्छ तँलाई सर्पले, याँ बिमारी मर्न आँटीस'को । कति ढिलो गरेकि । खै ले यता त्यो दबाई, आज पिन्नु पर्दैन एत्तिकै लगाउने ।' मैले गँगाको हातबाट चरिअमिलो झम्टेर लिएँ र हातैमा माड्न थालेँ ।

'हो भनेको के । यी याँ हेर त, कस्तो पोल्दैछ ।' उसले खुट्टाको त्यहि भागमा सानो खोस्रिएको जस्तो दाग देखाई जहाँ ज्ञानेलाई सर्पले टोकेको बनाएर रंग लगाइएको थियो ।

चरिअमिलो हातमा माड्दै मैले गँगाको खुट्टामा नियाँलेर हरेँ त्याँहा थोरै रगत पनि निस्किएको जस्तै देखिन्थ्यो ।

'ए, तँलाई सीरुको टुसाले घोचेछ । पर्खी, पैले यो बिमारी जाती परेर तेरो पनि दबाई गर्छु म ।' गँगालाई पर्खन लगाएर मैले ज्ञानेको सर्पले टोकेको नक्कली घाउमा चरिअमिलो राखेँ र अँगारको झारमौरो पनि राखें र भनेँ, 'अब पाँच मिनेटमै सर्पको बिख झर्छ र जाती हुन्छ ।'

यता गँगा साँच्चीकै आलसतालस भईन् र तिर्खा लाग्यो भन्न थालीन् । मैले खेल्ने ठाउँमा पिउन मिल्ने पानी पनि राखेको थिएँ यौटा सिसाको बोतलमा । गँगालाई त्यहि दिएँ । उनले जन्म जन्म देखिको प्यास मेटाउन पिए जस्तै बोतलको पानी घट्घटी पिएर रित्याईन् ।

'साँच्चै टोकेको हो कि क्या हो दीपक? ठुलो मान्छेलाई बोलाउनु पर्छ होला ।' केसुले गँगालाई साँच्चै सर्पले डसेको हुनसक्ने अनुमानमा भन्यो ।

'होइन होइन, एल्लाई तिर्खा लागेर त्यस्तो भ'को । अब म दबाई गर्छु यस्को ।' मैले विश्वस्त पारें ।

ज्ञानेको शरिरबाट सर्पको विष झरिसकेको थियो । मैले उसको खुट्टामा कसेर बाँधिएको पटासी खोलिदिएँ । उ उठ्यो । तर विरामी ल्याउनेले उपचार गराएको पैसा तिर्न नपाई गँगा लम्पसार परेर सुतिन् र पेट पोल्यो भनेर छट्पटाउन थालीन् । केसु ठुला मान्छे बोलाउन जान तम्सिंदैथियो ।

'ए यस्ता मुला सर्पले नै टोकेको भएपनि म सर्पकै डाक्टर त हो आज । जाती पारिहाल्छु नि अब । बोलाउनु पर्दैन ।' मैले रोकेँ । केसु र म भएर गँगालाई जुटको बोरापट्टी सार्यौं र मैले घाँटीमा स्टेथेस्कोप बनाउन झुण्ड्याएको डोरीले गँगाको खुट्टामा बाँधे ।

'मलाई साँच्चै सल्पले तोकेको होला । अब मलेँ भने के गल्ने?' बोरामा लम्पसार परेकि गँगा एकाएक तत्याङ्ग्रिएर बोल्न थालीन् । उनको जिब्रो लट्पटिसकेको रहेछ । तर म भने साँच्चैको डाक्टर नै भए जस्तै केहि हुँदैन, म जाती पार्छु भन्दै चरिअमिलो माडेर उनको खुट्टाको घाउमा राख्न थालेँ ।

गँगाले फेरि पानी मागिन् । हामीसँग त्याँहा अरु पिउन मिल्ने पानी थिएन त्यसैले मैले ज्ञानेलाई अघिकै बोतल दिएर अह्राएँ, 'जा यस्मा पानी लिएर आइज ।'

ज्ञाने बोतल लिएर पानीलिन घरतिर गयो । यता गँगा झन छट्पटाउन थालीन् । उनको अनुहारको रंग नै अर्कै हुँदै जाँदैथियो । म भने आफ्नै हिसाबले उनलाई उपचार गर्न अझै जुटिरहेको थिएँ । गँगा आँखा हेर्नै छाडेर नबुझिने गरि लर्बराएको स्वरले बर्बराउँदै थिईन् ।

पानीलिन गएको ज्ञानेसँग हस्याङ्ग फस्याङ्ग गर्दै उसको ठुल्दाजु पनि आउनुभयो । ज्ञानेले गँगाको बारेमा सबै बताईसकेको रहेछ उसको ठुल्दाजुलाई । गँगालाई देख्ने बित्तिकै आत्तिएर भन्नुभयो, 'कतिबेला टोकेको? किन अघि नै तिमर्ले ठुलामान्छे नबोला'को?'

'मैले बोलाउन खोजेको यै दीपकले म दबाई गर्छु केहि हुँदैन भनो र नबोला'को ।' केसुले यथार्थ बतायो तर मलाई उसले पोल लगाएको जस्तै महसुस भयो । अब खेलको स्वादमा गर्याम् गर्याम् बालुवा मुक्याएझैं भैसकेको थियो मलाई । खेल खेल नरहेर ठुलो दुर्घटनामा रुपान्तरित भैसकेको थियो ।

'तेरिमा साले तँ खुब डाक्टर हुने? पख्लास् तँलाई यस्लाई केहि भयो भने पुलिस् बोला'र तँलाई झ्यालखाना नपठाई त....' ज्ञानेका ठुल्दाजुले मेरो गालामा एक झाप्पु कस्नुभयो र गँगालाई बोकेर दौडिनुभयो ।

केसु, ज्ञाने र अरुहरु पनि पछि पछि दगुरे । म केहिबेर तिरिमिरी झ्याँई तोरीको फूल देखेर रन्थनिईरहें र केहिबेरमा लुसुलुसु उतै लागें ।

वरपर निक्कै हाईहुई, हल्लीखल्ली भयो । राईकि गँगालाई सर्पले टोक्यो रे भन्दै मान्छेहरु गँगाको घरतिर दगुर्न थाले ।

गँगाको घरको आँगनमा झुरुम्म मान्छेहरु भेला भैसकेका थिए । गँगालाई आँगनमा लडाईएको थियो । भेला भएका मान्छेहरुले शरिरभरी सर्पको विष फैलिसकेको र प्राण पखेरु उडिसकेको ठहर गरिसकेका थिए । गँगाकि आमा 'मेरि रानी, मेरि पुतली जस्ति छोरी यो तिमीलाई के भयो? हे दैब.....' ईत्यादि भन्दै छाति पिट्दै, मजेत्रोले अनुहार पुछ्दै रुँदै थिइन् । म आँगनमा निस्कन डराएर करेसोमा भएको सिंवीको झालमा छलिएर अपराधिझैं सबै दृश्य हेरिरहेको थिएँ ।

भेलाभएका मान्छेहरु केसु, ज्ञाने र अरु खेलका साथीहरुलाई के भयो कसरी भयो भनेर सोधिखोजी गर्दैथिए । उनिहरु पालैसँग यस्तो यस्तो भयो भन्दै परि लाउँदै मलाई दोषी देखाउँदैथिए । सिंवीको झालमा लुकेको म भने अब पुलिस आउनेछ र मलाई बाँधेर झ्यालखानमा थुन्न लानेछ भन्ने भयले श्वास दबाएर थाँक्रो हालेको कुनै रुखको लाथ्रोझैं खडा थिएँ । त्यसबखत मेरो आँखा र कान बाहेक शरिरका अरु सबै अँग निश्क्रिय बनेझैं भएको थियो । म अपराध गरेको र अब उम्कने बाटो पनि नरहेको स्थितीमा थिएँ त्याहाँ । आँखाले पनि पुलिस आएको र सिंवीको झालभित्रैबाट समातिएको दृश्य देख्न थालिसकेको थियो ।

अचानक गँगाको बाउको धोद्रे स्वर मेरो कानमा पर्यो, '....त्यो बरा बालखलाई अब के दोष लाईर'नु? केटाकेटिलाई के थाहा हुन्छ के भ'को हो भन्ने? हाम्री छोरीको लेखान्त नै यत्ति नै रहेछ । .....एकछिन् छुट्टिदैनथे उसंगै खेल्दाखेल्दै जानु र'छ एल्लाई.... ।'

गँगाको बाउको स्वर सुनेपछि मेरो शरिरमा रक्तसञ्चार हुनथालेझैं भएथ्यो मलाई । पुलिस लाएर पकडाउने रहेनछन् भन्ने कुराले ढुक्क भएर लामो श्वास फेरेको थिएँ मैले । एकाएक आँखाबाट तरर आँसु चुहिएर आए । भित्रैदेखि भक्कानो फुटेर आयो । म डाँको छाडेर रुनथालेँ भने मेरो उपस्थिती सबैले थाहा पाउनेछन् र मलाई गाली गर्नेछन् भन्ने भयले त्याँहाबाट धाईफल तोडेर घरतिर दगुरें म ।

घरपुगेर अघाउँजी रोएँ । धेरैदिनसम्म रोएँ । यदाकदा गाउँका ठुला मान्छेहरुले गँगाको मृत्युको दोष मलाई लगाउँदा पनि झन् साह्रो रोएँ म । म ठुलो भैसकेपछि सायदै सबैले यो दुर्घटना विर्षिए तर मैले गँगालाई सम्झिँदा अझैपनि रुन आउँछ मलाई । अझैपनि मैले गर्दा नै गँगा मरेकि हो भन्ने लागिरहन्छ ।

......................................।

'साँच्ची त हामी छ नि, सानोमा चारवटा पत्ता भएको चरिअमिलो खोज्थ्यौ, लक्कि हुन्छ भनेर । हेर्नुस् त यो सबैमा तीन तीन पत्ता भएको मात्र हुन्छ । चारपत्ता हुँदैन है?' अघिदेखि निहुरिएर केहि अनुसन्धान नै गरेझैं गरिरहेकि शर्मिलाले तीनपत्ते चरिअमिलोको टुक्रा म तिर बढाउँदै आउँदा म झसँग भएँ ।

                                                      **********

यो कथा खसखस डटकम मा प्रकाशित भएको छ ।

Tuesday, January 10, 2012

गीत : तिम्रो आँखाको गहिरो पीडा


तिम्रो आँखाको गहिरो पीडा
जो म देखिरहेछु त्यो नहुन सक्छ
आँखा न हो आफ्नै मनलाई छल्ने
मनको दुखमा यो नरुन सक्छ


सँधै हाँस्न खोज्ने ती ओठमा तिम्रा
कोहि साथ हुँदा झन मुस्कान मेटिन्छन्
किन मोड आउँछ जिन्दगीमा यस्तो
जहाँ खुसी सबै ओईलेको भेटिन्छन्


म किनार भएर नदी झेलिरहेछु
तिमी धार बनेर झनै काटिरहन्छौ
जति फूल्न खोज्छन् खुसी मेरा सबै
तिमी दुखहरुसँग साटिरहन्छौ