Tuesday, January 23, 2007
बसन्त पञ्चमी , बयर र सरस्वती पूजा ।
" या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवै सदा वन्दिता
सा मां पा तु सरस्वती भगवती नि:शेषजाड्यापहा ।। "
आज बसन्त पञ्चमी या नि कि श्रीपञ्चमी अर्थात सरस्वती पूजा । सरस्वती पूजा नमनाएको पनि ५ बर्ष लागिसक्यो । नेपालमा छँदा स्कूलमा अनि गाउँमा सरस्वती पूजा मनाएको झलझली आँखैमा छ । गाउँमा हामी भब्यताका साथ सरस्वती पूजा मनाउने गर्थ्यौं । केटाहरु र केटीहरुको २०/२५ जनाको हुल भएर हामी पनि सरस्वती पूजाको लागी चन्दा उठाउन घर घर अनि पसल पसल जान्थ्यौं तर हाम्रो चन्दा माग्ने प्रकृयामा दादागिरी हुंदैनथ्यो त्यसैले हामी आशा अनुशार नै चन्दा रकम संकलन गर्थ्यौं अनि त्यसलाई पूजाको निंती र बिभिन्न कार्यक्रमको निंती खर्च गर्थ्यौं ।
पूजा गर्नको लागी सरस्वतीको मुर्ती म आफैं बनाउने गर्थें । झण्डै दुई साता अगाडी देखि परालको लुँडो बाटेर त्यसमाथी खोलाबाट ल्याईएको लिसाईलो माटोले लिपेर सुकाउदै पोल्दै म सरस्वतीको सुन्दर मुर्ती तयार पार्थें । सरस्वतीलाई लगाईदिने कपडा साडी चोलो बनाउने जिम्मा गाउंका बैनीहरुको हुन्थ्यो ।
गाउँको बिचभागमा पर्ने खुल्ला खेतमा ( मैदान त कहाँ बाँकी थियो र? ) अस्थाई मन्दिर बनाएर पूजा स्थल बनाइन्थ्यो । दिनभर केटाकेटीहरुलाई दौड , हिसाब दौड , चम्चा दौड , हाजिरी जवाफ अनि गाउँमा आमा दिदीहरुको लागी कुर्शी दौड र सबैको लागी घ्याम्पो ( घैला ) फोर्ने जस्ता प्रतियोगिताहरु गराईन्थ्यो । साँझमा पनि अलि ठुला समुहका बिध्यार्थीहरुको हाजिरिजवाफ प्रतियोगिता , गायन प्रतियोगिता , नृत्य प्रतियोगिता गराउंथ्यौ । यस्ता सबै कार्यक्रमहरुमा हामीलाइ गाउँका ठुलाबडाले पनि साथ दिनुहुन्थ्यो । पूजाको प्रसाद अनि अन्य खानेकुराहरु बनाउन समेत हामीलाई गाउँका ठुलाबडाले सहयोग गर्नुहुन्थ्यो । ठुलाबडाहरु मध्ये नै एकजनालाई हामी सभापती बनाउंथ्यौ र सबै प्रतियोगितामा हुने विजयीहरुलाई सभापतीकै हातबाट पुरस्कार प्रदान गर्थ्यौं । कुनै कुनै पुरस्कारहरु पैसाको कमीले गर्दा राम्ररी पोको पारेको थैलोमा बुनिया (खानेकुरा) पनि हुन्थ्यो । त्यो पुरस्कार प्रदान गर्दा राम्रो हँस्यौली पनि हुन्थ्यो अनि अर्को साल हामी अलि धेरै चन्दा दिन्छौं भनेर ठुलाबडाले वचन पनि दिनु हुन्थ्यो ।
सबै प्रतियोगिता सकिएपछि पनि हामी रातभर नाचगान गरेर अथवा अन्ताक्षरी खेलेर रमाईलो गर्दै रात काट्थ्यौं र बिहान खोलामा पुर्याएर सरस्वतीको मुर्ती सेलाएपछि भने सरस्वती पूजा बिधीवत समाप्त हुन्थ्यो ।
आजभोली गाउँमा सरस्वती पूजा मनाउन छाडिएछ । गाउँमा यस्ता कार्यहरुमा उत्साहित भएर लाग्ने हामी युवाहरु सबै बाहिर बाहिर छौं । गाउँमा त मनाईदैन मनाईदैन स्कूलहरुमा पनि सरस्वती पूजा मनाउने वातावरण नभएको सुन्दा दुख लाग्छ । मैले भने यो ब्लगमा ई नै कुराहरु लेखेर एक्लै सरस्वती पूजा मनाएको ठानेको छु ।
नेपालमा हिंजै थियो सरस्वती पूजा । म समयले नेपाल भन्दा एकदिन(१२ घण्टा) पछाडी छु । हिंजो कान्तिपुर लगायत निक्कै अनलाईन नेपाली पत्रीकाहरु हेरें तर कतै पनि सरस्वती पूजाको बारेमा 'स' पनि लेखेको नभेट्दा अझ दुख लाग्यो । सबैमा त पसिंन तर पसेजति ब्लगहरुमा पनि कुनै ब्लगरले सरस्वती पूजाको बारेमा लेख्नु भएको छैन । सायद सरस्वती पूजाको कसैलाई महत्व छैन अब । कि देशको बर्तमान परिस्थितीले सबैलाई बिर्सायो कि? कि धर्मनिरपेक्षताको कुराले भुलायो? जे होस , धेरै अर्थमा मान्छेहरुले बिर्षिदै गए होलान । अनि राजनैतिक गज्याङमजाङले पनि यस्तो कुराहरुलाई ओझेल पार्यो होला ।
मैले यो दिनलाई सबै भन्दा पहिले सरस्वती पूजा भनेरै चिनेको थिएं । सानो हुँदा स्कूलमा सरस्वती पूजा हुने दिन साह्रै रमाईलो लाग्थ्यो । त्यसपछि श्री पञ्चमी भनेर जानें । गाउँघर तिर केटाकेटीको नाक कान छेडिदिने अनि बहर गोरुलाई पहिलो पल्ट दाउने ( जोत्न सिकाउने ) चलन हुन्थ्यो । यो दिनलाइ मैले बसन्त पञ्चमी भनेर सबै भन्दा पछि बुझें तर आजभोली यो दिनलाई बसन्त पञ्चमी भन्ननै अलि राम्रो लाग्छ ।
मैले माथी शिर्षकमा बयरको पनि जिकिर गरेको छु । यो समयमा गाउँभरी , घरघरै लटरम्म बयर फलेका हुन्छन । कतै पाक्न लागेका त कतै कट्मेरो अवस्थाका बयरहरु चोरी चोरी खाँदै हिंडेको दिन पनि अझै ताजा छ । कैलेकाहिँ त बयर धेरै खाएर ज्वरो पनि आउंथ्यो । सिजनमा सर्बत्र पाइने बयर मेरो विचारमा केटाकेटीहरुको निंती भगवानले श्रीजना गरेको फल हो । खानको लागी त ठुलामान्छेहरुले पनि रुचिका साथ खान्छन बयर तर महत्व भने कम दिन्छन । बयरको अचार बनाएर खाने चलन पनि छ । कतै गुँणमा डुबाएर गुलियो पारेर त कतै अमिलो बनाएर बयरको अचार बनाईन्छ ।
मैले स्कूलमा हुंदा पनि सानैमा बयरको बिषयमा दुईवटा पाठहरु पढेको सम्झना छ । एउटा भुण्टे र बयर भन्ने कथा जस्तो पाठ थियो जस्मा भुण्टेले भाँडाभित्रको बयर मुठ्याएर हात अड्काएको कुरा स चित्र थियो । उक्त चित्रको भुण्टे तँ होस भनेर दाजुले मलाई जिस्क्याउनु भएको पनि मलाई याद छ । अर्को पाठको भने शिर्षक याद छैन त्यसमा माईत हिंडेकि दुई दिदी बहिनी मध्ये बहिनीले बाटोमा भेटेको बयरको बोटलाइ वरपरीका झारपातहरु उखेलेर गोडेर हिंडेको र माइतबाट फर्कंदा बयरले फल दिएको अनि दिदीले केहि नगरी माइत गएर फर्कंदा बयरको बोटले घोचेको कुरा लेखिएको थियो । त्यो पाठ पढेर मैले डाढे भन्ने शब्द चिनेको सम्झना छ । उक्त कथामा दिदी पात्रलाई डाढे चरित्रमा देखाईएको थियो । ति दुई ठाउँबाहेक अन्य कतै पनि किताबहरुमा मैले बयरको बारेमा चर्चा गरेको देखेको छैन बरु शँभुजित बाँस्कोटाको कुनै यौटा फिल्मी गीतमा भने ए माया खाउं भने खाउं त नि काँचो बयर भनेको सुनेको छु । बयरको गुदी(बिंया)ले निमोनिया जाती पार्छ भन्ने पनि सुनेको छु मैले तर सत्य हो कि हैन त्यो त थाहा छैन ।
मैले भने गाउँमा सरस्वती पूजा गर्ने चलन थालेदेखि सरस्वती पूजाको दिन सरस्वतीलाई नचढाई बयर खाँदिनथें ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment