Wednesday, December 15, 2010

गजल : खर परालको महिमा

केहि अघि लेखेको यो गजललाई उसबेलै हो सायद यौटा सेर फेसबुकमा बाँढेर अलपत्रै छाडेको रहेछु । आज फर्किएर हेर्दा माया लागेर यता ब्लगमा चारो हाल्दै नयाँ लेख्न नसक्नुको झारो टारेको छु ।


गाउछ किन जिन्दगीले भात दालको महिमा
अझ त्यसकै अभावले ल्याउने कालको महिमा

जवान वृद्ध या बालखै होस् उमेरको मजा ,
चीना खोली गाउनु किन महिना सालको महिमा

सबले देख्छन सुकिलो मैलो, पानीमा चोबलिँदा,
किन हो गाउनै पर्ने आफ्नो आहालको महिमा

यहिँ यो चम्किलो दिन यहिँ नै ग्रहण पनि,
किन छोड्थे भाग्यवादी , गर्छन् कपालको महिमा

नाममै आगो बोकेको छस् जलाउनु केहि भने,
गा' है दीपक तँ सुकेको खर परालको महिमा

Sunday, December 05, 2010

कविता : प्रश्न

लेख्न लगभग विर्षीसकेको अवस्था हरेक दिन नयाँ नयाँ धून बजाउने गरेको सारंगीको तार छिनेपछि गाँस्न या फेर्न अल्छि मानेर कोठाको एकापट्टी भित्तामा झुण्ड्याएझैं पाउँछु आफुलाई आजभोली यो आजभोली एकदिन भए नि हो भन्नु दुईदिन भए नि लौ भन्नु आजभोली नै लम्बिएर सग्लो निष्कृय यूग बन्ने भएपछि छट्पटी बढेको तर भोली फर्किएर हेर्दा देखिने ईतिहास सुधार्नलाई उर्जा कहाँबाट आयात गर्ने हो आत्तोपत्तो छैन यहि अवस्था, यहि अकर्मण्यतालाई देखेर हाल्सालै यौटा कविता लेखेको थिएँ 'प्रश्न' शिर्षकमा उर्जाको कमीले हो या अभ्यासको कमीले लेखिसकेका हरेक कुराहरु आजभोली आफैंलाई चित्त बुझ्दैन हरेक कुराहरुको अलि बड्ता बोध भएर पो यसो भएको हो कि भनेजस्तो पनि लाग्छ जे होस् ब्लगमा खाली ठाउँ भर्न यो पल्ट यहि कविताको सहारा भो


मात चढेको जुनेली रात
जब डिसेम्बरको हिउँमा कक्रिन्छ
म चर्चको ठुलो क्रस मास्तिर हाँस्ने
चन्द्रमालाई हेर्दै
सोच्ने गर्छु कि
मैले सल्काईरहेको सिग्रेटभित्रको तमाखु
कहाँ उत्पादन गरियो होला ???
यो प्रश्न हो
आज जिन्दगीको
यहि त प्रश्न हो
आज अवस्थाको
अझ यहि नै त प्रश्न हो
आज अकर्मण्यताको
कि म खडा गरिरहेछु
तील तुल्य प्रश्नहरु
र चढिरहेछु पहाड प्रश्नहरुको
जहाँ न आरोहणमा छ जवाफ
न अवरोहणमा
जब भोली विहान
यहि चर्चको छानामाथी
एकहुल काला रोविन चराहरु
चिसो हिउँदले जमेको कण्ठबाट
बदलिएको आवाज निकाली कराउन थाल्छन्
जानीजानी म भन्नेछु
कि कागहरुले आजभोली
आफ्नो बोली विर्षीसकेछन्
र सल्काउनेछु अर्को खिल्ली सिग्रेट
बिना जवाफ अर्को प्रश्नसंगै ।

Sunday, November 28, 2010

गजल : मन उघारेर प्यारी

आज अठोट लिएको थिएँ ब्लगमा केहि त लेख्छु लेख्छु भनेर । कम्प्युटरमा बसेको २ घण्टा बित्दा पनि लेख्ने कुरा केहि नभेटेपछि लाग्यो । ब्लगमा मलाई ब्युँझन अझै समय लाग्ने रहेछ । खै किन हो, लेख्ने कुरा सोच्यो भने मनमश्तिष्क भरी डम्म कुहिरोले ढाकेझैं हुनथालेको छ त्यसैले त हेर्नुस् न मेरो ब्लग घाम नलागेर ओसिएको विस्कुन भएको । लेखेर हैन लेखिसकेको कुरा राखेर भएपनि ब्लगमा लेखें भन्ने यौटा मिती अँकित गरेर ब्लग जगतबाट हराईगा'को चैं छैन है भन्नलाई यो गजल राख्दैछु -

पत्र-पत्र ति मोतिदानाझैं शीत झारेर प्यारी
सक्दिनं टिप्न गुलाफको यौवन मारेर प्यारी

नसम्झ रित्तै छु उभिएको तिम्रो सामुन्ने आज,
हेर फूलै हाँसेको होला मन उघारेर प्यारी

यो फूल बरु वैलाईजाला टाँसेपनि छातिमा,
वैलन्न प्रिती टाँस मुटुमा गाढा पारेर प्यारी

प्रेम मिलनको दिनमा हामी हाँसीरँ'दा ईत्रेर,
नरोओस् गुलाफ हाम्रो सामुन्ने बैंश हारेर प्यारी

गुलाफ हाँस्ने बगैंचामाझ बस्छु पर्खिएर,
आउनु तिमी नलिई फूल त्यो मन खारेर प्यारी

यो गजल गत भ्यालेण्टाईन डेको बेला खसखस डटकमको निमित्त लेखेको थिएं ।

Thursday, September 23, 2010

गीत : जीवन र मन


यसरी पनि निमोठिंदो रै' यो मन चियाको पालुवा जस्तै
फुस्किंदै जाने जति कसेपनि जीवन मुठ्ठीको वालुवा जस्तै

मन कहिँ न्यानै रहन्छ सम्बन्धहरु चिसिए पनि
जीवन नदि यो बगिरहन्छ हरक्षण सागरमा मिसिए पनि
उडि हिंड्दछ बरालिएर यो मन सिमलको भूवा जस्तै
फुस्किंदै जाने जति कसेपनि जीवन मुठ्ठीको वालुवा जस्तै

उज्यालो थोरै पोतेर मनमा ओठ खोलेर हाँस्दछ जीवन
घेरिएर पनि अँध्यारोहरु माझ एकै आशामा नाच्दछ मन
सल्किएर आफैं आगो जीवनमा यो मन उडेको धुँवा जस्तै
फुस्किंदै जाने जति कसेपनि जीवन मुठ्ठीको वालुवा जस्तै

*********


ब्लगमा नियमित हुने अनेक प्रयास गर्दापनि सकिराखिएको छैन । अनावश्यक ब्यस्तताले गर्दा मनमा उर्लेका भावनाहरुलाई तह लगाउन पनि सकिएको छैन । यसपटक पनि ब्लगलाई माया मारेकै चैं छैन भन्ने जनाउन लामो समयपछि लेखेको यो गीत लिएर आएको हुं । आसा छ समय अनुकुल पर्ने छ र अगाडीका दिनमा अलि लगनले ब्लग लेखिनेछ ।

Wednesday, September 01, 2010

कविता : आकाश अनि ऐंठन


फेरी
खसिरहेछ आकाश
चोक्टा चोक्टा भएर
मेरो छातीमाथि
र थिचिरहेछ मलाई
रातैभरी ऐंठन पार्ने गरेर
उकुच पल्टिएको
असारे पैतालाले
बज्र धर्ती टेकेर
मेरी आमा अझै
धारे हात लगाउँदैछिन्
त्यहि आकाशलाई
'जेमराज' राते लागेको हैन
खडेरीले डढेका हुन
उनको गर्भमा राखिएका ब्याडहरु
किनकि
खसिरहेछ आकाश
चोक्टा चोक्टा भएर
मेरो छातीमाथि क्रमश
र थिचिरहेछ मलाई
रातैभरी ऐंठन पार्ने गरेर ।

Monday, August 30, 2010

यो... पुनरागमन...

आफ्नै मनको आज्ञाले हुन सक्छ अथवा हुनसक्छ आफ्नै मनको अवज्ञाले म बितेका २ महिना देखि ब्लगमा देखा परिंन ।

यसको कारण यतिखेर ब्लगमा लेख्न खोज्ने हो भने सत्य भन्दा अलिपर पुगिएला त्यसैले सम्भावित कारणबाटै थालनी गरें दुई महिने विश्राम पछिको यो ब्लग ।

आजदेखि पुन ब्लगमा फर्किन्छु, यौटा नियमिततामा ब्लग लेख्छु भन्ने अठोट बाहेक अर्थोक त केहि रहेनछ फेरी यहि ब्लगलाई पनि जो ब्लगमा पस्नुहुने पाठकहरुलाई केहि महत्वको देखियोस् । त्यसो त केहि न केहि बनाएको भए नहुने कुरापनि थिएन तर यो पुनरागमन यस्तै नै होस्, यत्ति नै होस् ...............

सबै ब्लगर साथीहरुलाई नमस्कार !!

Friday, June 04, 2010

कथा : मन बाढी हो बाढी मन हैन

मनेकि आमा चिच्याउँदैथिई, 'ए मनेका बा, उठन भन्या । बाख्राको कटेरो त बगाईसक्न ला'गो । हन कति सुत्न सकेका हौ तिमी त?', र छाप्राको यौटा प्वालबाट बाख्राको कटेरोतिर पनि चियाउँदैथिई जो उनिहरुको झुप्रो देखि अलि मुन्तिर दक्षिणतिर थियो । त्यसदेखि दक्षिणतिर पूर्वबाट पश्चिमतिर बगेको जोगीखोला थियो । त्यसो त अरु जस्तै यो खोलापनि उत्तरबाट आएर दक्षिणतिर नै गएको थियो, केवल मनेको घर मुनिमात्र झण्डै तीनसय मीटर जति पूर्व पश्चिम बगेको थियो ।

यहि जोगीखोलाको किनारैमा उत्तरपट्टि मनेको बाउले आफ्नो बारीको सबैभन्दा अग्लो थुम्को परेको साँघुरो भागमा बाँसका खाँवाखुट्टी गाढेर सानो चिटिक्क परेको प्राचिन ऋषिमुनिहरुको कुटी जस्तो छाप्रो उभ्याएको थियो ।

उसको घरदेखि मुन्तिरको अर्को पाखामा मनेकि आमाले साह्रै कचकच गरेकिले उसले बाख्रा पाल्न मिल्ने सानो कटेरो उभ्याएर त्यसभित्र यौटा टाट्नो पनि गाडेको थियो । त्यहि कटेरो भएको पाखामा मनेकि आमाले स-साना ड्याङहरु बनाएर कसैमा सुठुनी, पीँडालु, कसैमा भिण्डी, घिरौंला, कसैमा तरुल ईत्यादि रोपेकि थिई । त्यसदेखि तल क्रमश होचो हुँदै खोलाकै बगरसम्म तीनचार तह अरु जमिन थियो जहाँ यसपाली आकाशबाट प्रसस्त पानी परेकोले बेलैमा धान रोपेर रहर लाग्दो पारेका थिए उनिहरुले । सालको मुश्किलले पाँच सात मन धान भित्र्याउने उनिहरुले यो साल कम्तिमा पनि बाह्र पन्ध्र मन धान भित्रिने आशा राखेका थिए ।

झण्डै दुईहप्ता जति अगाडी करेसोमा सुठुनी रोप्दा मनेकि आमाले उँधो धानबारीतिर आशापूर्ण नजर लगाउँदै भनेकि थिई, 'अब एस्पाली चैं धान काट्ने बेलाँ हाजिराले चारानी सम्मको झुमुक बनाउनु पर्ला ।'

सुठुनीका बेला टुक्र्याईदिँदै गरेको मनेको बाउले स्वास्नी तर्फ हेर्दै नहेरी भनेथ्यो, 'त्यसोभए यो ट्याक्रो चैं किन बनाउन ला'कि नि? कि तैं बस्छेस याँ छुट्टेर?' मनेको बाउले बाख्राको कटेरोलाई सम्बोधन गरेकोथियो ट्याक्रो भनेर । त्यहाँ जसरी भएपनि यसपाली हिउँदमा एकमाउ बाख्रा किनेर पाल्छु भनेकि थिई मनेकि आमाले कुनैदिन ।

लोग्नेलाई जवाफ दिँदै उसले भनिथि, 'तेसो त तिम्ले पनि गर्देलाउ नि अलि अलि थै'थाप त ।'

मनेको बाउ केहि नबोली सुठुनीको बेला टुक्र्याईसकेर रोप्दैगरेको ड्याङ्गमाथी राखिदिएर हिंडेथ्यो । मनेकि आमाले मनमनै सोचिथि, 'नथप्देर त काँ मान्छु र म? कत्ति भो कानमा लाउने रहर गरेको । ब्ये गर्दा नि ईसङ भाग्ने भ'र लाउँन पाईंन । एस्पाली चैं जसरी भए नि लाउँछु ।'

तर तीनचार दिनदेखि अविरल भैरहेको वर्षाले उनिहरुको सपना क्रमश जोगीखोलाको भेलसँगै बगाउँदैथियो । उनिहरुको धानबारी आधाउधो त बाढि शुरु हुँदै धाद्रो लागिसकेकोथियो यतिखेर खोला बढेर घरैसम्म आउला जस्तो भैरहेथ्यो ।

'ईन्लाई त केई को चिन्ता छैन गाँठे!, ऐले त्यो कटेरो सटेरो बगाउँछ अनि था'पाउँछन् ।' लोग्नेलाई उठाउने प्रयत्नमा लागीरहि मनेकि आमा ।

'कति कराउँदिर'छे यो आइमाई । तेत्रो खेत जम्मै धाद्रोले लग्यो, भएन पानीले डुबेको छ त्यो जाबो कटेरो जोगार के गर्नु? त्यो कटेरोले भात ख्वाउने हैन चुपलाग ।' ओच्छ्यानबाटै फतफतायो मनेको बाउ ।

'खेत धाद्रोले लग्यो, पानीले डुब्यो भनेर चुपलागीर'नु त? खेत त फेरी आघुँ बिराउँला न, त्यै खोलाको बगर त हो नि त्यो खेत । तर यो कटेरो त जोगाउन सकिन्थ्यो । बिर्ष्यौ यो कटेरो बनाउन बाँस माग्न जाँदा नेउपान्नीले बचन ला'कि ?' मनेकि आमा कराउन पनि छोडिन छाप्राको दुलोबाट बाहिर हेर्न पनि छोडिन । लोग्ने उठ्ला र केहि गर्ला भन्दै निक्कै बेर मुख ताक्दा पनि हल न चल भएर सुतिरहेपछि उसले आफैं निस्केर कटेरोतिर जाने विचार गरी र छाप्रोको ढोका खोली ।

लुँडिएर पानीको बाछिटा सहितको एक झट्का स्याँठ घरभित्र पस्यो र मने र मनेको बाउलाई उठायो । पहिलेनै ब्युँझेपनि डरले थरहरी भएर गुँडुल्किरहेको मने उठेर कुनातिर घुस्रियो ।

'हैन तँलाई कालले धजो हालेर काँ'लान खोजेको हो राती र हुँदो?' मनेको बाउ उठिसक्दा मनेकि आमा फरिया सुर्केर अलि दह्रोसँग बाँधिवरी बाहिर निस्किसकेकि थिई । बाहिरबाटै बोली उ, 'तिमीलाई भनेको लागेन त । म कटेरामा भ'को एउटा गुन्द्री भा'नि झिक्छु नि अब ।'

'तँ धेरै बा'दुरनी हुन नखोज है । ऐले बालुवा खाँद्छ खोलाले अनि था'पाउँछेस् ।' मनेको बाउ स्वास्नीलाई हपार्दै छाप्रोको दैलोमा पुगेर अलिकति खोलेर बाहिर चिहाउन थाल्यो ।

घनघोर वर्षाले निष्पट्ट अँध्यारो पारेको थियो बाहिर । उसले अनुमान लगायो रातको त्यस्तै नौ, साँढे नौ बजेको होला । घरिघरि मेघको गड्याङगुडुङ गर्जनसँगै विजुली चम्कँदाको उज्यालोले एकैपल सबै कुराहरु देखिने र फेरी अन्धकारमा सबै लुप्त हुने क्रम चल्दैथियो ।

त्यसैगरी झिलिक्क विजुली चम्केको उज्यालोमा मनेको बाउले देख्यो उसकि स्वास्नी कटेरोमा पुगेर घुँडामाथीसम्म पानीमा डुबेर गुन्द्री तान्दैथिई । उसले फेरी हपार्यो, 'हैन तँ किन मुण्टेकि होस् त्याँ? भोलीबिहानसम्म यो घरै नछोडी सुख छैन । फर्की छिट्टो ।'

त्यो अन्धकार रातमा मनेकि आमालाई वास्तवमै कालले कुत्कुत्याएर त्याँहा लगेको थियो । आकाश गर्जिदैं दर्किरहेथ्यो । त्यसमाथी जोगीखोलाको गर्जनाले त्यो कालो रातलाई अझ डरलाग्दो बनाएको थियो । काखीमा गुन्द्री च्यापेकि मनेकि आमा कटेरोबाट निस्किँदै गर्दा 'आमा!' भन्दै चिच्याएर पानीमा उत्तानो पल्टिएको पनि मनेको बाउले अर्कोपटक मिलिक्क विजुली चम्कँदा देख्यो ।

अँध्यारोमै फेरी उ करायो, 'तँलाई भनेको थेँ नि मैले । उठ् उठ्, उठेर एता आईज ।' तर तेज रफ्तारमा बगिरहेको जोगीखोलाले मनेकि आमालाई उठ्ने मौका नदिई डुबाउँदै उतार्दै अलि तल पुर्याईसकेको हुँदो हो । यता मनेको बाउले भने स्वास्नी बोल्ली, उठेर आउली भनेर निक्कैबेर बाटो हेर्यो । यसबिचमा पनि निक्कैचोटी विजुली चम्कियो । प्रत्येक पटक विजुली चम्किँदाको उज्यालोमा उसले स्वस्नीलाई देख्ने प्रयत्नमा आँखा तिखार्यो । दुईचार पटक उसले स्वास्नीलाई बोलायो पनि तर खोलामा बगिसकेकि मनेकि आमा किन बोल्थि र?

विजुली चम्केकै उज्यालोमा कटेरोको छानो बग्दै गरेको देखेपछि भने उसलाई उसकी स्वास्नीलाई खोलाले लगिसक्यो भन्नेमा द्विविधा रहेन । उसको आङ्ग जिरिङ्ग भएर आयो । कुनताको अन्धकार त्यसमाथीपनि झन अन्धकार थपिएझैं भयो उसलाई । उसको आँखामा अँध्यारो जगत फन्फन्ति घुम्न लाग्यो ।

अँध्यारो कुनामा चुपचाप परिस्थिती नियाँलीरहेको मने लुसुक्क बाउको छेउमा पुगेर सोध्यो, 'ए बाउ, आमा खै नि?' लगभग उसले पनि अन्दाज लगाईसकेको थियो आमालाई खोलाले बगायो होला भनेर । छोराको प्रश्नले निन्द्राबाट ब्युँझेझैं झसँग भएर मनेको बाउले भन्यो, 'नजा भन्दा मानिन, लग्यो तेरी आमालाई खोलाले । हामीलाई पनि लान्छ आजै राती भागेन भने ।' मने डाँको छोडेर रुँदै आमालाई बोलाउन थाल्यो । मनेको बाउले पनि आफुलाई सम्हाल्न सकेन । दुबै अँध्यारोमा रुँदै चिच्याउँदै गाउँलेलाई गुहार्न थाले ।

त्यो निष्पट्ट अन्धकारमा खोला र आकाशको गर्जना चिर्दै उनिहरुको आर्तनाद गाउँसम्म पुगेपछि केहि गाउँलेहरु हातहातमा टर्चलाईट बोकेर आइपुगे मनेको घरसम्म । मनेको बाउले रुँदै आफ्नी स्वास्नी खोलाले बगाएको बिलौना सुनायो । केहि गाउँलेहरु हातमा टर्च लाईट बोकेर जोगीखोलाको किनारै किनार अलि तलसम्म कुदेर गए पनि । छेउछाउका रुखविरुवा, खेत, बाली केहि नभनि सबै सोहोर्दै काल नै बनेर बगेको त्यो भयंकर बाढिमा मनेकि आमा फेलापर्ने त रत्तिभर गुञ्जायस थिएन ।

गाउँलेले मने र मनेको बाउलाई बेलैमा घर छोडेको भए स्वास्नी बाँच्ने थिई भन्दै कराउँदै राति नै घर छोडाए । उसका बचेखुचेका झिटिगुन्टा पनि गाउँलेले नै ओसारीदिए । घर छोडेर गाउँमा शरण लिन पुग्नु मनेको बाउको लागी ठुलो कुरा थिएन । उसले जानेदेखि नै यस्तै जिन्दगी भोग्दै आएको हो तर यसपटक मनेकि आमा साथमा नहुनु ठुलो कुरा भएको थियो उसलाई ।

भोलीपल्ट बिहान पनि गाउँलेहरु मनेकि आमालाई कतै खोलाले किनारतिर मिल्काएको छ कि भनेर खोज्न निस्के । निक्कै तलसम्म खोज्दापनि मनेकि आमा फेला परिन । मने र मनेको बाउ मणी हराएको सर्पझैं बनेका थिए । यौटा पत्निवियोगमा अर्को मातृ वियोगमा परेर बेसुरा बनेका उनिहरुलाई कसैले कर गरेर केहि खुवाउन समेत सकेनन् । त्यसैदिन गाबिस अध्यक्ष आएर उनलाई सान्तवना दिँदै घरबासको जसरी भएपनि बन्दोवस्त मिलाईदिने वचन दिएर गए । गाबिस अध्यक्षले गाँसबासको चाँजो मिलाईदिने कुरा गरेको बेला मनेको बाउ ग्लानीले फतक्क गलेको थियो । चुनावताका उसले तिनै अध्यक्षलाई विपक्षि उमेद्वारले दिएको दुईचारसयको प्रलोभनमा परेर तथानाम गाली गरेको थियो । भोट माग्न आउँदा उसले तिनलाई आफ्नो आँगनमा टेक्नधरी दिएको थिएन ।

त्यसैबेला उसले चुनावमा आफुले सघाएको उमेद्वारलाई भेट्ने अठोट गरेको थियो । गाउँको अध्यक्षमा उनले हारेका भएपनि उसले भोट दिएको उनकै पार्टीका अर्का झन ठुला नेता यसबेला मंत्री बनेका थिए । चुनावताका तिन्ले उसलाई अर्थोक केहि गर्न नसके पनि जितेँ भने सरकारको तर्फबाट बैदेशिक रोजगारीमा पठाईदिन्छु भनेर वचन दिएका थिए ।

एकातिर गाउँमा धमाधम जोगीखोलाले बगाएकि मनेकि आमाको खोजी भैरहेथ्यो र कतै फेला परिरहेकि थिइन अर्कातिर मनेको बाउ भित्रभित्रै छट्पटीईरहेको थियो कि सारा गाउँको अघिल्तिर गाली बेईजत गर्दै हुर्मत काढेको अध्यक्षको दयापात्र भएर उसैले जुटाईदिएको गाँसबासमा कसरी बस्नु ? गाउँलेले भोली के भन्लान भन्ने तापले भित्रभित्रै जलेको मनेको बाउ लुरुलुरु तिनै उमेद्वारको घरमा पुग्यो जस्ले सिकाएर उसले हालका अध्यक्षलाई तथानाम भनेको थियो ।

बाटोभरी उसले भोलीको सपना देख्दै गयो । यदि उसले चुनावमा सघाएका नेताले उसलाई विदेश पठाउन मद्दत गरेभने उसले पनि गाउँको अरबे बस्नेतले जस्तै खोलाले नलग्ने ठाउँमा खेतबारी किन्नेछ । अझ कतारे साईंलोले जस्तै एकतले पक्काको घर बनाउनेछ । उसको मनेपनि स्कूल पढ्ने हुन्छ । 'जे भएपनि मैले भोट हालेको मान्छे पो हुन् त केहि त पक्कै पनि गर्छन्', दह्रो विश्वास बोकेर पुग्यो उ नेताको घरमा र आफ्नो दुखेसो पोख्यो ।

मनेको बाउको कुरा सुनिसकेपछि अध्यक्षमा पराजित नेताले भने, 'अहिले दुख परेका बेला सम्झियौ मलाई ? भोट हाल्ने बेलामा सम्झेनौ, मलाई भोट दिएका भए हार्थें र म? भोट चैं अरुलाई नै हालेर जितायौ । खुब मन्त्रीलाई भन्दिनु पर्ने तिम्रा कुरा । मन्त्री त देशको समस्या पो हेर्छन् तिम्रो घरको समस्या पनि कहिँ मन्त्रीले हेर्छन्? जाउ न तिमीले भोट हालेर जिता'को अध्यक्षकोमा । भोट त उसैलाई हालेका थियौ होला त हैन?' आफ्नो ठानेको नेताको कुरा सुनेर मनेको बाउको मन त्यसैगरी करक्कै भाँचियो जसरी खाडीमा पाकेको तितेपाटा धुँदा किसानले फेद भाँच्छ ।

एकछिन अघिसम्म उसले देखेको सपना पनि हुरीबतासले रुखको हाँगो भाँचेझैं भाँचियो । उसको मन उडेर धेरै टाढाको रमाईलो संसारमा पुगेको थियो तर नेताको घरबाट खिस्रिक्क परेर फर्किंदाको यथार्थ साह्रै तितो भयो उसलाई ।

उसलाई लाग्यो 'एकैछिनमा कहाँ कहाँ पुग्ने मान्छेको मन त बाढी पो रहेछ !' बाढी सम्झंदा फेरी उ भित्रको बेदना सग्लो भएर आयो । 'मन जसरी बाढी हो बाढी पनि त्यसैगरी मन भैदिए ?' उ सोच्दै गयो, 'बाढी पनि पनि यदि मन हुँदो हो त मन टाढा टाढा पुगेर फर्किएजस्तै अस्ति रातीको बाढी पनि फर्केर आउँथ्यो होला अनि मनेकि आमापनि फर्किन्थि होली । त्यसो भैदिए उसले आफ्नो ठानेको नेताको वचन पनि सुन्नु पर्ने थिएन । आफुले तथानाम भनेको अध्यक्षको दयापात्र पनि बन्नुपर्ने थिएन तर बाढी त मन होइन रहेछ । अब उसकि मनेकि आमा फर्केर आउँदिन आईछे नै भनेपनि लाश बनेर आउनेछे ।' अझ सोच्दै गयो उ, 'मन चैं भने पक्कै बाढी नै रहेछ उर्लिएर जहाँ पुगेपनि क्षणमै फर्केर आफ्नै हालतमा आईपुग्ने । जसरी उसको मन बाढीझैं उर्लेर कहाँ कहाँ पुगेर फेरी तुरुन्तै फर्किंदैथियो उसकै हालतमा । आफुले तथानाम गाली बेईजती गरेको अध्यक्षको दयापात्र बन्न ।'

उसलाई त्यतैबाट नौ डाँडा काटेर कसैले नदेख्ने गरी मुग्लान भासिने विचार पनि उठ्यो मनमा तर बाढी घटेपछि कतै बगरमा पुरिएकि उसकि स्वास्नी फेलापरि भने । त्यसको काजक्रिया पनि त उसैले गर्नुपर्छ । उसलाई स्वास्नीको नभेटिएको लाशको मायाले गाउँतिरै डोहोर्याउँदै लग्यो । मनमा भने उसको लागी यो गाउँको मानो सकिएको पक्कपक्की थियो ।

***

भदौ २०५५
झापा, गौरादहबाट

Sunday, May 30, 2010

गजल : बन्द हुन्छ

बाटो धेरैजसो जब बन्द हुन्छ ।
विद्धता पनि मान्छेको मन्द हुन्छ ।

सुन्दैन उ कसैको कथा पूराण,
आफ्नै जीवनपूराण स्कन्द हुन्छ ।

वाचिरहन्छ उ कथा आफ्नोमात्र,
र मान्छ कथामा पनि छन्द हुन्छ ।

अनियन्त्रित भएपछि भोगाई,
ठान्छ बहुलठ्ठीमै आनन्द हुन्छ ।

निख्रिंदै जाँदा उ बजारभरी नै,
चर्चाको जरुरी मसलन्द हुन्छ ।

Monday, May 24, 2010

गफ : केहि नभएको कुरा

आज जन्मदिन परेको हुँदा केहिदिन अघिदेखि नै सोचेको थिएँ जन्मदिनकै मौकामा यौटा ताजा पोष्ट राख्नेछु ब्लगमा । तर आज अचम्मको चकमन्नमा दिन बिताएँ मैले । अनेक कुराहरु आए र गए मगजभरी तर आएका केहि कुराहरुले पनि यौटा सग्लो स्वरुप लिन सकेनन् जस्लाई ब्लगमा प्रस्तुत गर्न सकुँ । साँझतिर त एक हिसाबले आजको मिती चुपचाप पन्साईदिउँ पनि लागेको थियो तर फेरी सोचें, केहि नभएको कुरा नै पनि त ब्लगमा एकपल्टलाई मिती अँकित गर्ने कुरा हुन्छ त्यसैले सोचें केहि त पक्कै लेख्छु र दिउँसो आमालाई सम्झेर कोरेको दुई टुक्रा तर अझै अधुरो कविता पनि राख्छु र ल्याएँ यो केहि नभएको कुरा ।

अरु वर्षहरु भन्दा भिन्दै हिसाबले सोचें मैले यो वर्षको आजको दिन अर्थात आफ्नो जन्म दिन । दिनभरी आमालाई सम्झिएँ मैले आज र त्यहि मेसोमा कोरेको थिएँ यो दुई टुक्राहरु -

,
आमा
यौटा ओथारो वात्सल्यको
ओथारिएँ
ममताको न्यानोमा
तङ्ग्रिएँ, हुर्किएँ
बाटो लागेँ
ठुलो भएर

,
आमा
यौटा भकारी मायाको
झिकें
चाहिए जति माया
लाडिएँ, प्याउलिएँ
बाटो लागें
ठुलो भएर

फेसबुकमा लिपिसकेको थिएँ यि दुई टुक्राहरु र यो तस्विरपनि -

नभन्दै ब्लग सुरु गर्दा भएको स्थानको हाल बसिरहेको स्थानको समयान्तरले गर्दा मितीले पनि एकदिनको फड्को हानिसकेछ

Wednesday, May 19, 2010

कविता : बाँसुरी रोईरहेछ


आजभोलि हरेक साँझ
जब अनन्त ईच्छाले तानिएर
तीनजोडा समान उल्टा औँलाहरु
बाँसुरीको छ अलग डोबहरुमा बिसाएर
मधुर राग अलाप्न उत्सुक ओठलाई
सातौं डोबमा छुवाउने गर्छु
प्रफुल्लित मन त्यसै त्यसै
अनन्त फाँटहरुमा बयेली खेल्दै
बाँसुरीको धून खोज्दै
मिथ्या तरंगमा तरंगित हुन्छ
अफसोस! श्वास प्रश्वासले धोका दिन्छ
मन रुन्छ अनि म रुन्छु
बाँसुरी कुनै सुर फुटाउन सक्दैन
त्यसैले आफैंलाई धिक्कारेर
बाँसुरी रोईरहेछ ।

रचनाकाल:-
असार, २०५४ साल
झापा, गौरादह

Monday, May 17, 2010

कथा : रोगी घाम

कत्रो मुर्खता! कत्ति न बिधी माया गर्छे मलाई भनेर मख्ख परेको रहेछु म । आज सम्झन्छु, कता कता सपनामा पो भेट भएको थियो कि अथवा कथामा पो पढेको थिएँ कि जस्तो लाग्छ । साँच्चै मान्छे त मैले माया पाएको छु भन्ने भ्रम पालेर पो बाँच्दो रहेछ । अझ मैले माया गरेको छु भन्ने भ्रम फैलाउन त झन खप्पिस हुँदो रहेछ ।

आज बुझ्दा मान्छेले माया पाएको अनि माया दिएको त मैले कहिँ पनि देखिंन, आफ्नै जिन्दगीमा पनि ।

एकदिन, एकझर दर्के पानी परेर आकाश सफा भएको थियो । साँझको बेला पहेँलो घाम टिलिली लागेर रमाईलो पारेको वातावरणमा असारे फूलको फूलैसँग लत्रेको हाँगो सम्हालेर तह लाउँदैथिई उ । उसको खुट्टाभरी माथी पिँडौलादेखि नै पहिले पानीले निथ्रुक्क भिजेका असारे फूलहरु पोखिएका थिए अनि त्यसमाथी पहेँलो घाम पोतिएको थियो । मैले उसको खुट्टाहरुमा मन लठ्ठै पार्ने तर मेसो नबुझिने कुनै अमुर्त चित्रकारी देखें र ट्याप्पै समातेर चुमिदिएं उसको खुट्टा । उ छक्क परेर मलाई हेर्न थाली । वाक्यमा उसले चुँ! सम्म उच्चारण गर्न सकिन तर आँखाले मसँग यतिविघ्न बातमारे जस्तो गरी कि, केके भनी केके; मैले परि लाउंनै सकिंन । अनि मैले नै भनिदिएँ, 'तेरो यो घिनलाग्दो खुट्टाभरी यसरी नै फूलहरु सजिईरहुन् अनि म सँधैं चुम्न पाईरहुँ ।'

उ अझै अवाक् उभिएर मलाई हेरिरहेकि थिई । उसको मुहारभरी पनि पहेँलो घाम छताछुल्लपोतिएको थियो र उसलाई सुवर्णको प्रतिमाझैं टलक्क पारेको थियो । न उसका आँखाका पुतलीहरु नै चले, न उ नै चल्मलाई । यहाँसम्म कि ठिक त्यतिबेला उसको कपालको यौटा केशसम्म पनि हल्लाईदिन त्यहाँ बतास धरी आईदिएन ।

त्यसबेलासम्म उसले मलाई कम से कम मुस्कानले स्वागत गर्नुपर्थ्यो । तर अहँ, उ त प्रस्तर मुर्तिझैं ठिङ्ग उभिई मात्र । मान्छेहरुलाई कसरी जङ्ग चल्छ कुन्नि मलाई भने त्यसबेलासम्म जङ्ग चलिसकेको थियो । यो आदत मलाई सँधैभरी बिझाईरहन्छ । यस्तोबेलामा म केहि न केहि बिगार गरिहाल्छु । मैले नजिकै भएको गमलालाई कस्सेर लात्तले हानिदिएँ । उ नराम्रो गरी झस्की । उसको मुहारमा यौटा गमला फुटेर जानुको पीडा भरिएर आयो र पोखिएर गयो पनि । रुन्चे आँखाले मलाई हेरेर उसले बल्ल भनि, ' नाईँ के, तपाईं त जहिले पनि यस्तै गर्नुहुन्छ ।'
उ गमलानेर आई । फुटेर छरिएको गमलालाई छोई र उठेर भनि,' धन्न! यस्मा भएको फूल अर्को गमलामा पनि छ ।'

यसो भनेर उ मैले गरेको गल्तिलाई गल्ति नै हैन भने झैं पार्न खोजिरहेकि थिई । मलाई थाहा थियो जति चित्त दुखेपनि उ मेरो गल्ति प्रति चित्त नदुखेजस्तो ब्यावहार गर्थी । उ मेरो छेवैमा आई र काननेर मधुरो बोली, 'चिसो पानी ल्याईदिउँ?'

म राम्रै सेलाईसकेको थिएँ । मलाई लाज लागीसकेको थियो । भर्खरै गरेको उपध्रो पचाउने बहानामा मैले थेतरिँदै भनें, 'अहँ मलाई त मोई चाहिन्छ ।'

'मोई?' झट्ट म तिर नजर फर्काएर सोधी उसले ।

मैले चोर औंलाले उसको दुबै ओठहरुलाई छोएर त्यहि औंला चुम्दै भनें, 'अँ मोई ।'

उसले मेरो अघिल्लो चाल बुझि सायद स-साना फूलिरहेका तिउरी फूलहरु फट्किएर नाघ्दै फूलबारीको पल्लो छेउमा पुगेर भनि, 'मोई त भा'पो । आज पारेकै थे'न ।'

यसरी बित्थे हाम्रा रमाईला दिनहरु । कैले नदि जस्तै सलल बग्थ्यो त कैले बगर जस्तै स्थिर पनि रहन्थ्यो । म आफ्नै मनको क्यानभासमा कल्पनाको कुचि चलाएर बिभिन्न रंगहरुले आफ्नै भविश्यको चित्र कोरिबस्थें । साँच्चै पनि चित्रहरु कोर्दा म आफ्नै भविश्यको दिनहरुको कथा कोर्न खोज्थें । चित्रमा म आफुलाई मनपर्ने पँहेलो रंगलाई सकेसम्म सामेल गराउन खोज्थें र त्यसले जहिले पनि मेरो भविश्यको चित्रलाई रोगी बनाईदिएझैं लाग्थ्यो ।

अर्कोदिन म आफुले बनाएको यौटा चित्र लिएर उसलाई देखाउन गएँ । चित्रमा सानो यौटा पराले झुपडी, आँगनको कुनामा यौटी नारी भाँडा माझीरहेकि, उसका वरिपरी तीनवटा भाल्टाङ भुल्टुङ कोहि खेल्दै गरेका, कोहि रुँदै गरेका र आँगनको अर्को छेउमा यौटा पुरुष भैंसीको पाडो तान्दै गरेको देखिन्थ्यो । पक्का नेपाली गाउँको कुनै घर परिवारको सजीव चित्रण गर्ने सक्दो मेहनत गरेको त्यो चित्र उसलाई देखाउँदै मैले भनेको थिएँ, 'ल हेर हाम्रो भविश्यको चित्र ।'

मेरो चित्र हेरेर उसले हाँस्दै प्रश्न गरेकि थिई, 'बस् यस्तै? के हामी यो भन्दा माथी जाँदैनौ?'

प्रत्युत्तरमा मैले भनेको थिएँ। 'यो वातावरणको सुख हेर न, यहाँ भन्दा माथी गएपछि यो सुख कहाँ रहन्छ?'

'लु भयो यस्तो संसार तपाईंको कल्पनामा मात्र हुन्छ मेरो कल्पनामा यो भन्दा अर्कै हुन्छ ।' त्यसदिन उसको फुर्सद नभएर वहस अगाडी बढेन । तर उसको कल्पनामा सँधै भौतिक सुबिधाले सम्पन्न भविश्यको चित्र हुन्थ्यो भने मेरो कल्पनाले सँधै सुबिधालाई भन्दा सुखलाई जोड दिन्थ्यो । भौतिक सुबिधा प्राप्त गर्नु नै सुख हो भन्ने उसको गलत धारणालाई मैले सच्याउन बाँकी थियो । त्यो बाँकि नै रहयो ।

मलाई दिनहुँ उसँग नभेटि हुदैनथियो । प्रायजसो म साँझतिर नै उसलाई भेट्न जान्थें । खाडीको पिपलको रुख, गाउँ नजिकैको चउर र खोला किनारको समिको फेद ईत्यादि हाम्रा खास खास ठाउँहरु थिए साँझमा टहल्ने । उमेरले म भन्दा केहि सानी उ शारिरिक बनावटले अझै सानी थिई । उसको कोमल मन र छरितो सानो शरिरमा प्रसस्तै संयम र साहस थियो ।

एकोहोरो सान्निध्यताले हाम्रो माया साँच्चै हो को भ्रम सम्म आईपुगेछ । अहिले हेर्दा त्यो भ्रम रहेछ भन्ने ज्ञान छ म भित्र तर उ बेला मेरो लागी पनि यथार्थ थियो । त्यहि भ्रमले हामीलाई एकाकार बनायो । भ्रमले नै हामी माझ समझदारी र सामाञ्जस्यता स्थापना गरायो । तब हामीले केहि कुरामा टाउको दुखाईरहनु पर्ने भएन र केहि कुरामा नदुखेको टाउको पनि दुखाउनु पर्ने भयो । हामीले आ-आफ्नो मनबाट आपसमा नमिलेका केहि रहरहरु च्यातेर मिल्कायौं अनि आपसमा मिलेका थप केहि रहरहरु सजायौं ।

हामी क्रमश दुबैलाई मनपर्ने रंगहरु घोलेर भविश्यको साझा चित्र तन्मयताका साथ कोर्न थाल्यौं ।

अर्को एकदिन, साँझकै बेला उ आँगनमा बसेर सब्जीको लागी फर्सीको मुन्टा केलाउँदैथिई । मैले देखेँ उसको सारा शरिरलाई पँहेलो घामले अँगालो हालेको थियो । पँहेलो म्याक्सी भित्रबाट निस्किएको उसको खिरिलो पाखुरा, दुब्लाएको जस्तै देखिने उसको अनुहार, अलिकति देखिएको उसको छातिको माथिल्लो भागको हाड सबैमा पँहेलो घाम पोतिएर उसलाई रोगी जस्तै देखेँ मैले ।

दृष्टि फेर्नलाई मैले आँगन वरिपरी नजर दौडाएँ । रबरको विरुवा, अशोकको सुरिलो बोट, घण्टी फूलको बुट्टा, आँगनवरिपरी फुलिरहेका अरु साना फूलहरु सबैकुराहरु एकनाससँग पँहेलो घामले लिपिएका थिए र सबै सबै नै रोगी देखिएका थिए । मैले फेरी उसलाई हेरेँ । उ झनै रोगी देखिई ।

एकाएक मलाई त्यो बातावरणको पँहेलोपना बिझाउन थाल्यो । बिझाउनु मात्र हैन सबै सबै पँहेलो देखेर मलाई बान्ता हुन लागेझैं भाउन्न छुट्यो । मेरो मुखबाट अचानक निस्किएछ, 'छि! आज कस्तो रोगी घाम लागेको ।'

'किन नि, तपाईंलाई त यस्तै पँहेलो घाम मनपर्थ्यो त?' आश्चर्यमा परेर उसले भनी ।

'हो हुनत, तर खै किन आज सबै कुरा यो पँहेलो घामले रोगी देख्दैछु । तँलाई पनि ।' मैले मनमनै भनेँ, 'बरु तँ भित्रै बसेर तरकारी केला न ।'

प्रकटमा म केहिपनि बोलिँन । उ त्यहि रोगी घाममा बसेर फर्सीको मुन्टा केलाउन तल्लिन थिई । म भने पुरै वातावरणलाई र उसलाई झनझन रोगी देख्दैथिएँ ।

निक्कै लामो तिथीमिती पचाईसक्यो समयले । आज समय लगायत धेरै कुराहरुले मलाई पछि छोडेको छ । मेरी उसले पनि मलाई छोडेर गैसकी तर यो रोगी घामले भने मलाई अझै छोडेको छैन । अझैसम्म लखेटिरहेको छ यो रोगी घामले मलाई ।

म भागीरहेँ यो रोगीघाम देखि । अझै भागीरहेकै रहेछु । आज सोच्दैछु म किन ब्यर्थै तर्सेर भागीरहेछु यो पँहेलो रोगी घामदेखि ? म नभागे के हुन्छ? पहिले पहिले मलाई साँझको पँहेलो घाम साह्रै प्रिय लाग्थ्यो । एक्कासी किन म पँहेलो घामलाई रोगी देख्न थालेँ ? के भ्रम हो यि दुईवटामा ? पहिले पहिले पँहेलो घाम प्रिय लाग्नु भ्रम हो कि? पँहेलो घामलाई रोगी देख्नु भ्रम हो ? म सोचाईहरुको भूमरीमा पस्न थालेँ । यस्तो पनि लाग्यो कि म यो रोगी घामदेखि भागेरै त आजसम्म आएको छु नत्र उहिल्यै मलाई यो रोगी घामले उम्कनै नसक्ने गरेर अँठ्याउंने थियो ।

हैन त्यस्तो नहुन पनि त सक्छ । मैले साँझको घामसँग आमनेसामने भएर भलाकुशारी गर्न थालेँ भने त्यो घामलाई म रोगी नदेख्न पनि त सक्छु । त्यहि पँहेलो घाम मलाई फेरी प्रिय लाग्न पनि त सक्छ । ओच्छ्यानमा पल्टिएको थिएँ म । पल्टि पल्टि मैले आफ्नो गाला मुसारें । हात पाखुरा छामें । लाग्यो म रोगी घामदेखि भागेको भाग्यै पो बरु रोगी भएँ कि? अवश्यै म उबेला फर्सीको मुन्टा केलाउँदै गरेकि उ जस्तै रोगी देखिएको छु होला । आजभोली सबैले मलाई दुब्लाएर झिट्टी भैसकिस भनेर दया पोख्छन् । मलाई आफ्नो अनुहार ऐनामा हेर्न मन भयो । आज यो कोठामा ऐना छैन । ऐनाको आवश्यकता नरहेपछि यो कोठाको ऐना हटाईसकिएको छ । मलाई उठेर ऐनासम्म पुग्ने जाँगर आएन तर सम्झिएँ कि यौटा सानो ऐना टेबल मुन्तिरको सन्दुकमा उसको सामानहरुसँग छ । सुतिसुति अलि लम्किएर मैले सन्दुकबाट ऐना निकालेँ । ऐनासँग यौटा सानो फोटो अल्बम पनि बाहिर निस्कियो । त्यसमा सबै उसका तस्विरहरु छन भन्ने थाहा थियो । सबै तस्विरहरु मैले पहिले सयौं पल्ट हेरेको पनि छु फेरिपनि मलाई ऐना हैन फोटो अल्बम नै हेर्न मन लाग्यो । पल्टाएँ उसको पहिलो तस्विरमा उसले मलाई छोडीसकेपछिको कुनैदिन मैले आफैंले लेखेको रहेछु ।

तँ छैनस् अब एक स्थलमा सर्वत्र ब्याप्त छेस्
देख्न दिमागमा र छुन दिलमा प्रयाप्त छेस् ।

अझै पनि दुख्छु म उ छैन भन्ने कुराले । यो दुई लाईन कविता लेख्दा कति दुख्दै लेखेँ होला ? त्यत्रो दुख्दा पनि उसलाई मैले यहि दिलमा छामेर सञ्चो भएँ कि ? फेरी दिलमा छामेर हेरेँ र सोचें कसरी आयो खै त्यत्रो ठुलो वियोगमा यत्रो आत्मज्ञान ? मलाई अल्बमको थप पाना पल्टाउन मन भएन । ऐना र अल्बम छोडेर म बाहिर निस्किएँ । उसैगरी आज पनि साँझ नै थियो । उसैगरी आजपनि पँहेलो घाम नै सर्वत्र पोखिएको थियो । मलाई यो घामलाई रोगी भन्न मन लागेन र यो पँहेलो घाम त्यति प्रिय पनि लागेन । यो पँहेलो घाम पहिले प्रिय लाग्नु त्यसपछि रोगी देख्नु सबै भ्रम रहेछन्, सबै सत्य रहेछन् । पहिले उ हुनु र अहिले उ नहुनु पनि भ्रम र सत्य दुबैकुरा रहेछन् । केहि पनि सत्य होईन रहेछ । केहि पनि भ्रम होइन रहेछ । मलाई आफु बराबरी सत्य र बराबरी भ्रमको माझमा उभिएको महसुस भयो र त्यहि माझैमाझ बरु सजिलो हिँड्ने बाटो भेटेको महसुस भयो ।

सबै प्रकारका कुलतहरुबाट टाढा बसेको थिएँ म तर आज मेरो खल्तिबाट मेरै हातहरुले चुरोट झिकेर ओठलाई च्याप्न अह्राए र सलाई कोरेर सल्काईदिए । म रोगी घामसँग अब देखि भाग्दिंन भन्ने अठोट गर्दै पँहेलो घाम अनुहारमा पारेर चुरोट फुक्न थालेँ बेफिक्री ।

(खसखस डटकम तथा आफ्नै फेसबुक नोटमा प्रकाशित।)
रचना काल -
१२ असार २०५८
गौरादह, झापा

Friday, May 14, 2010

गजल : दिलको दीपक बालीहेर

यसपाली घर पुगेर आउँदा साथमा आएका पहिले लेखेका केहि कुराहरु मध्ये यो गजल पनि यौटा हो । यो लेखिएको मिती ठ्याक्कै सम्झना छैन तर २०५३ सालतिर सुन्दरपुर मोरङबाट निस्कने फूलबारी पत्रिकामा यो छापिएको रहेछ, त्यसैले यो गजल २०५२,५३ सालतिर लेखिएको हुन सक्छ । मैले त्यहि पत्रिकाको टुक्रा भेटेर ल्याएको हुँ यसलाई र जस्ताको तस्तै राखेको छु । अहिले हेर्दा यसमा मात्रामा निक्कै कमबेसी देखेपनि यो ब्लगमा राख्नैको लागी भने सच्याईरहनु उपयुक्त ठानिंन ।

यो गजल देखेपछि मलाई सम्झना आयो कि त्यो बेला म मधुपर्क खुब पढ्थें र मधुपर्ककै कुनै अँकमा लेखिएको यौटा गजल -

ह्रदयको अँगेनोमा फेरी आगो बालीहेर
हुन्छ साथी अझ धेरै मट्टितेल हालीहेर ।
..............
हेरेर त्यसैको संरचनाको नक्कल गर्दै लेखेको थिएँ । मधुपर्कको त्यो गजल बुँद रानाको थियो कि जस्तो लागेको छ मलाई तर हो नै भन्न सक्दिंन ।

आफ्नो सम्झे तिम्रै हुँ म मित्रता सम्हाली हेर ।
जे सम्झन्छौ त्यहि हुँ म नत्र यो मन चालीहेर ।

मेरा उपर तिमीभित्र अविश्वासका तुष भए,
खेद छैन मलाई लगि रछ्यानमै फालीहेर ।

ईच्छा भए हामीबिचको मित्रतालाई प्रगाढ पार्ने,
भएजति सन्देहका प्वालहरु टालीहेर ।

अनायासै कुनै क्षण मलाई छाम्ने रहर जागे,
कति कोमल हुनेछु म मुटुभित्र हालीहेर ।

दिनमा मात्र हुन्छ सूर्य अँध्यारो छ रात सारा,
मेरो साथ चाहिएमा दिलको दीपक बालीहेर ।

Wednesday, May 12, 2010

गफ : फर्केपछिको कुरा

फर्किनु छँदैथियो आँखिर, फर्किएँ म ।

प्यारी छोरी, परिवारजन, ईष्टमित्र, नातागोता, घर, समाज, देश सबै छोड्छु नै भन्ने थियो ।

छोडें ।

बिस्मात कत्ति लागेन । तर समयसँग निक्कै दुखमन रहयो । माथी उल्लेखितहरु बाहेकका, भाषा र देशको सिमानाले नाता जोडेका केहिहरुसँग भने बिस्मात पनि लाग्यो । तिनीहरु थिए म पछिल्लो पटक काठ्माण्डौ छिरेको दिनदेखि काठ्माण्डौ बसुञ्जेल बन्द हड्ताल ईत्यादि गरेर मेरो समयलाई अस्तब्यस्त बनाउने राजनीतिक प्राणीहरु र तिन्को लहै लहैमा लैबरी गाउँने सोझासिधाहरु ।

त्यसो त आक्रोस पनि उस्तो बचेको छैन । बचाईराखेर आक्रोसले मलाई केहि दिंदैन त्यति त म बुझ्छु । जे हुनु थियो त्यति त भएको हो । अरु के हो र ? काठ्माण्डौ छोड्नेबेला केहि असल मनहरुलाई भेट्ने हार्दिक ईच्छा पुरा भएन । यो अलिकति खल्लो लागेको हो तर समय फेरी अवश्य आउला ती असल मनहरुसँग भेट्ने ।

आशावादी छु ।

काठ्माण्डौ छोड्ने अघिल्लो दिन फेसबुकमा लेखेको थिएँ, 'धेरै शब्दहरु चपाएर भोली लुसुक्क नेपाल/काठ्माण्डौ छोड्दैछु । भेट्न नसकेका थुप्रै असल मनहरुले मलाई माफ दिउन ।'

कस्तो दह्रो विश्वास छ भने मैले माफी पाईसके जस्तै लागेको छ ।

साथमा यसपाली पहिले पहिलेका निक्कै कुराहरु बोकेर ल्याएको छु । अझै धेरै कुराहरु त मगजमा कोचेर पनि ल्याएको छु । ब्लगमा बाँड्नलाई अब धेरै कुराहरु एकैसाथ छन् मसँग - बाँड्दै जानेछु । तीन महिना भयो आफ्नो ब्लगमा झुक्किएर लेखे बाहेक अरुको ब्लगमा पसेर स-रुचि सामाग्रीहरु नपढेको । नपढेपछि प्रतिक्रिया लेख्ने कुरा पनि भएन । अब पढ्छु अनि प्रतिक्रियाहरु लेख्छु पनि । समय फालाफाल छ । मित्रब्लगहरुमा प्रतिक्रिया लेखिनँ भनेर माफी माग्नुपर्छ कि पर्दैन थाहा छैन । मित्र ब्लगहरुमा प्रतिक्रिया नलेख्नु अपराध हो भन्ने घोषणा नहुञ्जेल माफी माग्नु नपर्ला भन्ने सम्झन्छु । भैगो माग्दिन तर मैले मित्र ब्लगको ढोका नखोल्दा पनि मित्र ब्लगरहरुले मेरो ब्लगमा प्रतिक्रिया लेख्नुभएको प्रति मैले हार्दिक आभार प्रकट गर्नैपर्छ ।

गरें ।

ब्लगरहरुको सुचीबाट म हराईहाल्दिंन अहिले नै त्यसैले यो कविता ल्याएको छु । २०५७ सालको भदौ २५ गते कुपण्डोलबाट लेखेको यो कविताको मैले शिर्षक राखेको रहेनछु । शिर्षक आफैं राख्नुहोला र कविताको अन्त्यको 'छ' यतिखेर थियो भैसकेको छ त्यसैले त्यसपछिको कविता आफैं लेखेर पढ्नुहोला ।

पेश गरें -

खुट्टा तन्काएर तनक्क
डङ्ग्रङ्ग पल्टिएको घोडालाई
मरेको ठानेर तिनीहरुले
अत्यन्तै परिश्रम पूर्वक
गहिरो खाडल खनेर
जब तम्तयार भए पुर्नलाई
यसैबीच त्यो आयो
हप्काएर तिनीहरुलाई
त्यहि घोडा चढेर
खाडल नाघेर गयो
विचरा तिनीहरु
हिस्स परे
जिल्ल परे
त्यो गयो
खाडल नाघेर गै गयो
तर तिनीहरुले अझसम्म
खाडल पुर्न सके
खाडल तर्न सके
यस्तैमा दृश्य सकियो
पर्दा खस्यो
यो नाटक रहेछ
धारावाहिक हो क्यारे
त्यसैले
बाँकी दृश्य हेर्न
पर्खनै पर्ने भएको

Friday, April 16, 2010

गफ निबन्ध : मेरी छोरीको कुरा

निक्कै भयो, आजभोली मायालु छोरीसँग भएर होला मलाई कलम समाउन मनै लाग्दैन । फाट्टफुट्ट केहि लेखिरहने, नलेखे पनि केहि लेख्ने विषय बोकेर हिँडीरहने मलाई यतिबेला त्यो पनि गर्न मन छैन । छोरीसँगको पुनर्मिलनलाई एकएक पल, एकएक क्षण जीवन्त बनाएर बिताउँन रहर छ । र बिताउँदैछु पनि ।

आज कलम समाएँ । छोरी निदाएकि छिन् । हुनसक्छ उनि सपनामा परीहरुको देशमा डुल्दैछिन् । म लेख्न बसेको छु । मलाई छोरीकै कुरा लेख्न मन छ ।

दिउँसो एघार वर्षकि छोरीलाई उनकै अनुरोधमा हिन्दी सिनेमा हेराउंन दार्जिलिङ मोड, सिलिगुडीको सविन किङडम भनिने प्लाजा भित्रको सिनेम्याक्स लिएर गएको थिएँ । सिनेमा घरहरु यतापनि पश्चिमा स्तरकै सुविधायुक्त बनेका रहेछन् । उस्तै महङ्गा पनि ।

सिनेमा छोरीकै रोजाईमा हेरेको हुँदा मैले यहाँ सिनेमाको कमेण्ट लेखिरहनु पर्दैन । यत्ति भने भयो कि मैले छोरीलाई कम्पनी मात्र दिएको थिएँ । सिनेमा हलबाट बाहिरिँदा छोरीकै प्रतिक्रिया पनि सिनेमा राम्रो लागेन भन्ने थियो ।

सिनेमा पछि त्यहिँ रहेको एम्युजमण्ट पार्कभित्र छिरेका मात्र के थियौं धूमधामले हावाहुरी चलेर मुसलधारे पानी पर्न थाल्यो । यो भेगमा यसपाली पानी परेकै रहेनछ । म ठुलै कष्टले सिलिगुडीको उखुम गर्मी खपिरहेको यसरी हात्तीसुँढे वर्षात् हुँदा साह्रै प्रफुल्ल थिएँ ।

अहा! अब बाहिरफेर हिँड्दा धुलो नउड्ने भयो!
अहा! अब यो भत्भती पोल्ने गर्मीमा केहि शितल हुनेभयो!

देखेँ, उता छोरी उत्तिकै दुखी भैरहेकि थिइन् । मौसमले उनको पार्कभित्र खेल्ने सपनामा हात्तीसुँढे पानी खन्याईरहेको थियो ।

स्काई ट्रेन, ब्रेक डान्स, बम्पिङ कार, रक क्लाइम्ब....... अनेकओली खेलहरु थिए जो उनि मसँग खेल्न चाहन्थिन् । तर मौसमले ठुलै शत्रु बनेर भाँजो हालेको थियो ।

म उनको निन्याँउरो अनुहार नियाँलिरहेको थिएँ । त्याहाँ केहि उज्यालो भर्ने हेतुले उनलाई अँगालोमा हालेर भनें -

जो बेला जो ब्यावस्था प्रकृती नियमले प्राप्त भो त्यो छ राम्रो
जो मान्दैन त्यो राम्रो समझ अबुझ हो त्यो त्यसैको नराम्रो

केहिदिन अघिमात्र मैले छोरीलाई लेखनाथ पौड्यालको यो काव्यश्लोक स-व्याख्या सुनएको थिएँ । छोरी मुसुक्क हाँसिन् । म उनको मुस्कानसँगै मुहारमा कोरिएको ज्ञानको रेखा देखेर, त्यो रेखा देखाई मेरो कल्पना मात्र थियो भने कल्पनै सहि, सन्तुष्ट बनें ।

पानी थामिएन । थामिने लक्षण पनि देखिएन । पार्क जलमग्न हुँदै गयो ।

म जलमग्न पार्कमा वर्षातका थोप्लाले उठाउंदै फुटाउंदै गरेका पानीफोका हेरेर आनन्दित भैरहेको थिएँ ।
सानोमा यसरी नै बलेँसी झरेर उठेका पानीफोकालाई हामी यो मेरो, त्यो तेरो भन्थ्यौं र कस्को ठुलो बन्ने अनि कस्को धेरैबेर नफुटी टिक्ने खेल खेल्थ्यौ । म पार्कमा छोरीसँग बसेर बाल्यकालको घरको बलेंसीमा हराउँदो थिएँ ।

'बाबा हेर्नुहोस् त कत्ति धेरै पानी जमेको? अब हामी कसरी घर जाने?' फेरी अर्को चिन्ताको लहर देखेँ छोरीको मुहारमा । केटाकेटीहरु चिन्ता रहित हुन्छन् भनेको पनि साँचो होइन रहेछ बरु केटाकेटिहरु पो पाइला पाइलामा चिन्तित बन्दा रहेछन् भलै उनिहरुको चिन्ताको विषय सानो किन नहोस् ।

'खै छोरी पानी कहाँ जम्यो ? मैले त पानी जमेको देखिँन ।' मैले यत्तिकै भनेँ । भनुन्जेल मैले पानी जमेको नभएर बगिरहेको छ भन्ने हिसाबले मात्र सोचेको थिएँ तर भनाईमा त हिसाब अरुपनि देखिन आयो ।

थप ज्ञानको सानो दैलो घरक्क उघ्रिएझैं भयो आफैंलाई । हामी त पानी जम्मा भएकोलाई पो जम्यो भन्दारहेछौं । विज्ञानले तरल जम्यो भने ठोस हुन्छ भने अनुशार पानी जम्यो भने त आइस पो हुनुपर्छ । यसअर्थले हेर्दा आकाशबाट परेको पानी खाल्डाखुल्डीमा जम्यो भन्नु त गलत रहेछ । हामी पोखरीको पानी जमेको भन्छौं जवकि त्यो तरल अवस्थामै हुन्छ । पोखरीको पानी त जम्मा भएको अवस्थामा मात्र हुने रहेछ । यस्ता धेरै गलत कुरालाई हामीले भन्दा भन्दा एकोहोरै लागेर सत्यको नजिक पुर्याएका हुँदारहेछौं र सत्य नै भन्ठान्दा रहेछौं ।

निक्कैबेर यसै विषयमा छोरीसँग कुरा गरेँ । उनको अनुहारमा नयाँ कुरा जानेको जस्तै चमक देखियो । मलाई लाग्यो उनि पक्का यो कुरा आफ्ना साथीलाई सुनाउनेछिन् ।

पानी थामिएपछि बासस्थानतिर फर्कियौं हामी । बाटोमा ठुलै मानिने बालासन नदि अटोरिक्सामा पश्चिम फर्किएर तर्दा ईन्द्र बहादुर राईको सम्झना आयो । धेरैपल्ट बालासन नदि तर्दा ईन्द्र बहादुर राईलाई सम्झेको छु मैले । कतै पढेको छु ईन्द्र बहादुर राईको बाल्यस्मृति बालासन नदिसँग जोडिएको कथा । तर उनको कथा स्पस्ट सम्झन वा भन्न सक्दिंन यतिबेला ।

पुलमाथीबाट उत्तरतिर बालासन नदिको बगर हेरेँ । एक प्रकारको जात्रा छ त्याँहा । ट्रकहरु, ट्र्याक्टरहरु बगरमा ठाउंठावै खडा छन् । भर्खरैको मुसलधारे पानीले निथ्रुक्क भिजेका ज्यानहरु भर्दैछन् तिन्मा बालुवा गिटी । बालुवा गिटी झिकिएर बगर खाल्डो खाल्डो देखिन्छ अनेक ठाउँमा । अनेक ठाउँमा बालुवा गिटी थुपारिएको ढिम्का ढिम्की देखिन्छन् ।

नदि दिँदैछ ।

मान्छेहरु लिँदैछन् ।

नदिबाट लगेर मान्छेहरु ठड्याउने छन् कतैतिर साना, ठुला, धेरै ठुला घरहरु, महलहरु । र त्यो सहर बन्ने छ । यसरी ट्रकका ट्रक नदि दिनदिनै सहर पस्ने गर्छ । साँच्ची सहर भन्नु नदि नै त हो । नदिले नै त सालन्ने बढाउँछ, अग्ल्याउँछ सहरहरु । सहरको भीडभाड, कोलाहल, गाडीको घुईंचो आदिको बहाव पनि त नदिकै जस्तै त हुन्छ । सहर नदि हो भन्न सकिने रहेछ । तर नदिलाई ? अहँ नदिलाई चैं सहर भन्न नसकिने । कत्रो अन्याय!

त्यसैले त बेलाबखत सहरले नदि बढारेर अन्यायको बदला लिएको समाचार पढ्नु पर्छ । जो एकोहोरो दिएको दियै र लिएको लियैको परिणति हुन्छ । नदिले यत्रो दिन्छ यस्लाई पनि केहि दिउँ, यसो छेउछाउ रुखविरुवा रोपुँ, अलि गतिलो तटबन्ध हालिदिउँ भन्ने त हाम्रोतिरका मान्छेले सोचे पो ?

एकैछिनमा सम्झिइएका ईन्द्र बहादुर ओझेल परे मगजबाट । नपरुन् पनि किन जबकि न मैले उनलाई कहिल्यै भेटेको, न उनले लेखे / भनेका सबै कुरा पढेको । किन बस्थे र ईन्द्र बहादुर मेरो मगजमा ? तर ईन्द्र बहादुर राई कहिल्यै हराउने पनि त छैनन् मेरो मगजबाट । उनको बारेमा जति पढे / सुनेको छु त्यति काफि छ उनि मेरो मगजमा बास बस्न, यत्ति हो कि उनि कैले सम्झनामा उदाउँछन् कैले अस्ताउँछन् ।

बालासन नदि तरेर निक्कै अगाडी आईपुगेछौं । बुढि बालासन खोला काटेर ओर्लियौं अटोरिक्साबाट । यहि बुढि बालासन खोला नजिकै दक्षिणपट्टि बस्छिन् मेरी छोरी । उनकि फुपु(मेरी दिदी)को घरमा बसेर बागडोग्रा बजारको हेब्रोन अँग्रेजी स्कुलमा हाल कक्षा ६ मा पढ्दै गरेकी छोरीले घरमा आइपुगेर यौटा पेण्टिङ देखाइन् र भनिन्, 'बाबा यो कस्तो लाग्यो भन्नुहोस् त? मैले तपाईंले पढ्दैगर्नुभएको किताबमा हेरेर बनाएको ।'

म युवराज नयाँघरेको २०६५ सालको मदन पुरस्कार प्राप्त निवन्ध कृति 'एकहातको ताली' पढ्दै थिएँ । त्यसैको आवरण चित्रको नक्कल गरेकी थिइन् छोरीले तर नक्कलमा यौटा ईनार थपेर आफ्नो काल्पनिकीको परिचय पनि राखेकि थिइन् ।

'हौसला र अवसर पाइन् भने मेरी छोरीले रङ्गहरुसँग पनि राम्रै खेल्ने रहिछन्....... 'मनमनै सोचेँ र भनेँ, 'वाह! क्या गजब! स्याबास छोरी!'

मैले उक्त किताबभित्रका कुराहरुमात्र पढेछु र छोरीले त्यसको आवरण कला मात्र पढिछन् ।

छोरीले पेण्टिङ्ग देखाएपछि सकसक जाग्यो म मा कस्ले बनाएको रहेछ एकहातको तालीमा भएको आवरण कला ? हेरेँ, श्यामलाल श्रेष्ठको कुचि रहेछ । छोरीलाई भनें यो कुरा र भनें 'तिमीले आफैं एउटा विषय छानेर त्यसैमाथी विल्कुल आफ्नो भन्न सक्ने पेण्टिङ्ग बनाउनु है छोरी अबदेखि । यो त जति राम्रो भएपनि यसको तारिफ म मात्र गर्न सक्छु । अरुले त यो चोरी गरेको भन्छन् । चोरीको आरोप लाग्नु त राम्रो होइन ।'

'हवस्!' उनले टाउको हल्लाइन् । मेरी बुझकि छोरीमाथी मैले विश्वास राखेको छु कि अबदेखि उनले अरुको कला नक्कल नगरेर मौलिक कलामा कुचि चलाउनेछिन् ।

उनको आँखामा यो पेण्टिङ्ग बनाएर मैले कुनै ठुलो काम गरेनछु भन्ने पछुतो जस्तै केहि झल्किएको देखें मैले र हौसलाको निमित्त केहि नेपाली साहित्यकारहरुको टेकविर मुखियाको कुचिले बनाएको पेण्टिङ्गको पोष्टरहरु निकालेर दिँदै भनें, ' यि योहरु बनाउ । यो जस्को पेण्टिङ्ग भएपनि, तिमीले नक्कल गरेर नै बनाएपनि, तिमीले बनाएकोमा तिम्रै नाम हुन्छ ।'

उनले बडो रुचिले भएका आठदशवटा पोष्टरहरु क्रमश हेरिन् र पारिजातको पोष्टर छुट्याएर राख्दै भनिन्, 'बाबा, सबभन्दा पहिले म यो बनाउँछु ।'

ति पोष्टरहरु मैले २०५६ (मेरी छोरी जन्मेकै) सालमा भ्रिकुटी मण्डपको पुस्तक प्रदर्शनी डुल्दा किनेको थिएँ ।

छोरी पारिजातको पोष्टरलाई गहिरिएर हेर्दैथिइन् । म भने उनले बनाएको एकहातको तालीको आवरणको नक्कल पेण्टिङ्गलाई आफ्नो क्यामरामा खिच्न थालेँ ।

मलाई यो ब्लगको निम्ती यौटा खुराक बन्छ भन्ने थियो मनमा ।

Sunday, March 14, 2010

गफ : ब्लगलेखनको 'लेट', ब्लगरहरुसँगको भेट

कुनताको समय, सुलुत्त चिप्लेर जाने त्यसमाथी एक महिना, यो अवधिलाई कत्ति छिट्टो बित्यो भन्नुपनि भन्नु मात्रै हो । रफ्तार समयको उहि हो तरपनि बुझ पचाएर वा आफु ढिलो भएर समय कत्ति छिट्टो बितेछ गाँठे! भन्नेहरुमा म पनि पर्छु ।

मान्छेले आयूको प्रतिशत भागहरु जति धेरै बिताउँदै जान्छ उति उस्लाई समय छिट्टो चिप्लेजस्तो लाग्छ । बच्चा हुँदा दशैँ तिहार जस्ता चाडबाडहरु कहिल्यै नआईपुगे जस्तो लाग्ने मान्छेलाई जति धेरै दशैँ तिहार ईत्यादि चाडबाड भोग्दै जान्छ उति धेरै भन्दै जान्छ, 'कति छिट्टो आउन सकेको हो यो चाडबाड पनि।'

यसलाई हामी आर्थिक बोझ उठाउनुपर्ने भयको कारणले यस्तो लागेको भन्ठान्छौं तर आयूको प्रतिशत भागहरु धेरै बिताउँदै जाँदा अभ्यस्त भएर यस्तो लागेको भन्दारहेछन् पश्चिमाहरु । कुरा दुईवटै उस्तै हो हुनत तर सोचाईमा सकारात्मकता देखिन्छ उनिहरुको भने हामीहरु आफैंलाई अनावश्यक चिन्ता दिन्छौं ।

कुरा समयकै आयो ।

बहाना छिट्टो बित्यो भन्ने पर्यो ।

चिन्ता ब्लगमा एक महिना लेख्न नसक्नु भयो ।

उसो त पहिल्यै अनुमान थियो मलाई ब्लगमा उपस्थिती उस्तो सहज हुनेछैन भन्ने । त्यसैले अघिल्लो पोष्टमा लेखेको पनि थिएँ भन्न सक्दिनं ब्लगको उपस्थिती कस्तो हुने हो भनेर । आज भन्न सक्छु ई यस्तै भयो ।

फेब्रुवरी १४ मा काठ्माण्डौ झरेको मैले आज मार्च १४ भैसक्दासम्म ब्लगको दैलो ढप्क्याई राखेको थिएँ । आज खोल्ने मौका जुर्यो । जुर्यो के, जुराएँ भनुँ न; यसबिचमा पनि ब्लगको दैलो उघार्न आएको भए हुन्थ्यो कसैले ब्लगिङ्गमा बन्द हड्तालको कार्यक्रम राखेका त थिएनन् । तर घरपरिवार, ईष्टमित्र, नरनाताहरुसँगको भेटघाटमै रमाईलो मानेर हो मैले ब्लगमा लेख्ने कामलाई जय भोली! भन्दैरहेँ ।

फेब्रुवरी १५ मै पूर्वतिर हान्निएको म मार्च आठमा पुन काठ्माण्डौ फर्किएँ । घरतिरको बसाईमा एकप्रकारको रमाईलो भएपनि छट्पटी पनि उत्तिकै भैरह्यो । के गरौं? कता जाउँ? यो समय म त्यसै नष्ट गर्दैछु भन्ने उखरमाउलोलाई शान्त पार्नकै लागी काठ्माण्डौ फर्किएको थिएँ म । खासगरी छोरीको परिक्षा चलिरहेकोले म घरमा हुँदा उनलाई अध्ययनमा बाधा परिरहेको महसुस गरेको थिएँ मैले । काठ्माण्डौ फर्केपछि काठ्माण्डौ भित्रै रहनुहुने केहि ब्लगर साथीहरुलाई भेट्ने निश्चयले सम्पर्क गर्नतिर लागेँ म ।

पहिलोपल्ट क्याफे मंगलमका ब्लगर मित्र जोतारे धाइबाजीलाई फोन सम्पर्क गरेँ र भेटेँ । धाइबाजीसँग पहिलो पल्टको भेट मलाई बिल्कुलै पहिलो पल्टको भेट जस्तो नलागेर लामो समयसम्म घनिष्टता रहेको साथीलाई केहि समयान्तरमा भेटेको जस्तै सहज र आत्मिय लाग्यो । वागबजारको कुनै कुनातिर प्रविष्ट भै मिठो चिया पिउँदै धाइबाजीसँग ब्लगका, अन्य ब्लगर मित्रहरुका लगायत अरु विषयहरु माथिपनि केहिबेर गरिएको मिठो कुराकानी सहितको त्यो आत्मिय भेट मेरो सम्झनामा सँधै मिठो भएर रहनेछ । साथमा अन्नपूर्ण पोष्टकि स्तम्भ लेखिका नारायणी देवकोटाजी सँग भेट्न पाउँदा पनि हर्षित थिएँ म ।

अर्कोदिन अर्को ब्लगर मित्र कुटीकि कैलाश राईजीसँग फोन सम्बाद गर्न सफल भएँ र लागेँ भेट्नलाई थापाथली स्थित मार्टिन चौतारीमा । कैलाशजी मार्टिन चौतारीकि अनुसन्धानकर्ता हुनुहुन्छ भन्ने थाहा पाएको भएपनि मेरो परिचयमा ब्लगर नै धेरै हुनुहुन्थ्यो । मार्टिन चौतारी पुगेर कैलाशजी कहाँ के गर्नुहुन्छ भन्ने कुरामा अलि थप चिनेँ । धाइबाजीसँगकै जस्तो सहज र आत्मिय लाग्यो कैलाशजीसँगको पहिलो भेटघाट पनि । कति स्नेहमयि भने पहिलोपल्ट भेट्दैछौं भन्ने त ठ्याम्मै लागेन । कैलाशजीसँगको छोटो भेटघाटमा मार्टिन चौतारीको कार्यालय भित्रको पुस्तकालय, अध्ययन कक्ष आदि सर्सर्ती हेर्ने अवसर पनि जुर्यो । समसामयिक विषयवस्तुहरुमाथी छलफल गर्ने गराउने, अनुसन्धान गर्ने तथा तत्सम्बन्धि पुस्तकहरु प्रकाशन गर्ने मार्टिन चौतारीका सबै साथीहरु, कैलाशजी समेत, लाई चौतारीका कार्यहरु सफल र प्रभावकारी बनुन् भन्ने मेरो शुभकामना त्यतिबेलै मनमनै चुहाएँ जतिबेला कैलाशजीले विद कम्प्लिमेट मार्टिन चौतारी भन्ने छाप ठोकेर मलाई दुईवटा पुस्तकहरु उपहार थमाउनुभयो ।

दुबै ब्लगरहरु धाइबाजी र कैलाशजीसँग भेट हुँदा अरु दुईजना ब्लगरहरु मेरो विचार र अभिब्यक्तिको साझा चौतारी चलाउनुहुने ब्लग गुरु दिलिप आचार्य र मेरो फोटो ब्लग नामको ब्लग चलाउनुहुने फोटो ब्लगर सुजन शर्मासँग भेट्न जाने सल्लाह गरेको थिएँ । यहाँ भने हामीलाई चिठ्ठा पर्नेवाला थियो । एकजना ब्लगरलाई भेट्न जाँदा दुबैलाई भेटिने । वहाँहरु दम्पति नै ब्लगर हुनुको क्या मिठो फाईदा! अर्कोदिन हामी; धाइबाजी, कैलाशजी, म र मेरो एक झापादेखि साथै आएको मित्र साँझतिर पुग्यौं गहना पोखरी स्थित दिलिपजी र सुजनजीको निवासस्थान । वहाँहरु दुबैजना हाम्रो ब्यग्र प्रतिक्षामा हुनुहुन्थ्यो । हामीले खुत्रुक्कै यहि समयमा आउँछौं भन्न नसकेको र अलि बेलैमा पुग्न नसकेको शरम अलिअलि उदाएथ्यो मेरो मनमा वहाँहरुलाई कुरायौं भनेर तर वहाँहरुसँगको पहिलो भेटको सहजताले त्यो शरम कहाँ बिलायो कहाँ ? तेस्रोपल्ट पनि ब्लगको साईनो लिएर ब्लगर मित्रहरु भेट्न जाँदा स्थिती अन्यन्तै सहज र आत्मिय पाएपछि मलाई लाग्यो ब्लगले परोक्ष रुपमा जोडेको नाता त प्रत्यक्ष भेटघाट भै रहने नाता भन्दा पनि धेरै प्रगाढ पो हुने रहेछ । सुजनजी र दिलिपजीको हार्दिकतापूर्ण न्यानो आतिथ्यमा रमाउँदै, वहाँहरुको मायालु छोरीलाई पनि भेटेर अनि केहिबेर विविध कुराकानी गरेर फर्कियौं हामी ।

जम्माजम्मी ३ महिनाको बसाईमा अब बचेको २ महिनामा नेपालभित्र रहनुहुने अरु ब्लगरहरुसँग भेट्ने मेसो जुर्ला कि नजुर्ला ? दिलिपजीले अरु ब्लगरहरुसँग पनि भेट्ने हिसाबले ससानो बनभोज आयोजना गर्न पाए हुन्थ्यो भन्ने चाहना राख्नुभएको थियो साँच्चै त्यसरी यौटा कार्यक्रम बनिदिए कति रमाईलो हुन्थ्यो होला !

काठ्माण्डौको धुँवाधुलो, घचम्घच्ची भीडभाड र कोलाहलबाट म भने चारजना ब्लगरसाथीहरुसँगको आत्मिय भेटको न्यानो बोकेर हिँजो १३ तारिख बिराटनगर फर्किएँ । आज अझै पूर्व पुग्नुथियो तर पूर्वमा भएको बन्दले विराटनगरमा थन्क्याईदियो । र थन्किनै पर्दाको समयलाई उपयोग गर्दै ब्लगको दैलो खोल्ने साईत पनि जुर्यो । जाँदाजाँदै यसपटक नेपाल आएर लेखेको (नेपालमै देखेको) यो गजल छोड्न चाहन्छु तपाईंहरुलाई ।

मान्छेहरु अझै यो बस्तिमा हाँसेकै रा'न् ।
दुखाईमा होस् या होस् मस्तिमा हाँसेकै रा'न् ।

सुनिन्थ्यो मुर्कुट्टाहरु हिंड्छन् राती राती,

पुलिसहरु तर गस्तिमा हाँसेकै रा'न् ।

गिराएर आफ्नै मूल्य कौढीबाट तल,

ढुक्कले अरुको प्रसस्तिमा हाँसेकै रा'न् ।

यहि 'आज' पो सुखद हुन्छ कि मान्छेको,

सम्झेर आफ्नै हिँजो अस्तिमा हाँसेकै रा'न् ।

हाँस्नु छ मान्छेलाई अकारण नै हाँस्नु,

देखियो मान्छे जबर्जस्तिमा हाँसेकै रा'न् ।

Wednesday, February 10, 2010

गफ : घर जाने कुरा

'ए बा! सातसात वर्षसम्म घरै नआई अम्रिकामा बस्नु भै'च, कैले छोर्छोरीको मुख हेरुँ लउन्नथो ?'

द पवनकलि शो कि पवनकलिको प्रशंसक भएको हुनाले यो प्रश्न कल्पना गरें मनमनै र सोचें यतिखेर मलाई सोधिने एकाध प्रश्नहरु यदि पवनकलिले सोध्दीहुन त यसरी नै सोध्थीहोलिन् । हो म तीन महिनालाई नेपाल फर्कने सुरसारमा छु । सन २००३ को जनवरीमा अमेरिका पसेदेखि बेपत्तासँग यतै हराईरहेको मेरो बारेमा धेरथोर जानकारी राख्ने मित्रजनहरु सोध्ने गर्छन, 'यत्रो सात सात वर्षसम्म कहिल्यै घर जाउँ लागेन ? कहिल्यै छोरीलाई भेटुँ लागेन ?' यो प्रश्नको प्रकार हो, यस्तै थुप्रै प्रश्न गरिन्छन् मलाई । जवाफमा म के भनुँ के भनुँ हुन्छु । साँच्चै मसँग जवाफ रहेनछ । यस्तो प्रश्न आउँदा मित्रजनलाई फुत्त जवाफ दिन असमर्थ हुन्छु । त्यसो त केहि न केहि जवाफ दिनै पर्छ त्यसैले कसैलाई, 'किन नलाग्नु लाग्थ्यो नि' भन्छु त कसैलाई, 'लागेन' भनिदिन्छु । जसरी होस् यस्तो प्रकृतिको प्रश्नबाट बँच्ने उपाय तर्फ लाग्छु । सजिलै बँच्छु पनि । यहि प्रश्न अरुले सोध्दा मेरो मनले भन्ठान्दो हो अरे यार यो तेरो निजी मामला हो, जेसुकै जवाफ दिए नि भैहाल्छ नि । तर आफैंले आफैंलाई यहि प्रश्न गर्दा भने झन जवाफहीन भएझैं लाग्दो रहेछ ।

जाने आउने बाटो खुल्ला हुँदाहुँदै पनि सात वर्षसम्म म घर नगएको कुरा अरुलाई सायद आश्चर्यको कुरा भयो होला तर मलाई भने किन गईनँ भन्ने जवाफ नभएपनि उस्तो अनौठो लागेको छैन । एकताका मैले कतै ब्लगमै लेखेको थिएँ कि म जहाँ जोसँग हुन्छु तिनिहरु नै मेरा आफन्त हुन । मलाई मेरो मनले भनेको यो कुरा आत्म ज्ञान हो वा आत्म अज्ञान कुन्नि तर यहि कुराले मलाई कुनैपनि कुराहरु प्रति चाहिने भन्दा अधिक लगाव नराखेर बाँच्ने बल दिएको छ । जे होस म स्वयँले सात वर्षसम्म घर नफिर्नुलाई सामान्य रुपमै लिएको छु ।

भोली हिंड्नु छ घरतिर । घरजाने दिन नजिकिँदै जाँदा खुशीले मन छचल्किँदो हो भन्ने लागेको थियो । मन त्यसै त्यसै फुरुङ्ग पर्दो हो भन्ने लागेको थियो तर यो मनमा त्यस्ता लक्षणहरुपनि नदेखिँदा उल्टै सोध्नु परेको छ 'ओई मन घरजाने कुराले तेरो मन चौ चौ भएको छैन?' तर मन भोली हिंड्नु छ भनेरै ढुक्क छ । हिंड्ने बेलामा मन उत्तेजनाले तरँगित हुने अवस्था काटिएको हो त जिन्दगीमा ? प्रश्न त यस्तो पो बनाउँछ मनले बरु । घर पुगिसकेर कस्तो महसुस गर्ने हो मनले त्यो नपुगि भन्न सकिन्न पक्कै तर केहि पहिले नै मैले यौटा गजलमा लेखेको थिएँ

'वर्षौं पछि फर्किंदा घर काँ'को काँ'को भएछु म,
आफ्नैलाई कोक्याउने बनको बाँको भएछु म ।.....' हुने यस्तै पो हो कि न ? यसपटक पनि मनमा केहि कुरा खेलेको त पक्कै हो त्यसो त । हिंड्न बाँकी नै छ तर हप्ता अगाडी नै घर पुगेर मनले यसरी गजल लेख्न भ्याईसकेको थियो -

सँधै लेखिरहें परदेशबाट यो रित्तो मानोको कथा ।
आफ्नै हातले छाउन नसक्दा चुहिएको छानोको कथा ।

आज फर्किएर घरमा आमाको अघिल्तिर उभिएर,
के लेख्न सकुँला आमालाई ढाट्दा आएको आनोको कथा ?

टाल्दैछु केहि प्वालहरु म आफ्नै घरमाथी दया गरी,
छ उस्तै बगाल छुटाई हिंड्ने माहुरीको रानोको कथा ।

धेरै सम्झनाले लखेटीरहे झन् सपनाले खेदै खने,
कठै! सम्झें यहि आँगनभरी छरिएको सानोको कथा ।

सँधै परदेशकै मात्र जाडो गर्मीको कथा लेख्नेलाई,
लेख्न गाह्रो रहेछ आफ्नो घरले दिएको न्यानोको कथा ।


आगामी उपस्थिती ब्लगमा कसरी हुन्छ यो भन्न सक्दिंन सायद । नेपाल पुगेर ईन्टरनेट र समय पाए नियमित हुने कोशिस भने पक्कै रहनेछ ।

Monday, February 08, 2010

गजल : नसम्झाउ भो साथी

बाँचेको छु मैले यस्तै जिन्दगी ओ साथी ।
सम्झनु केहि छैन नसम्झाउ भो साथी ।

उज्यालो खोज्छौ कति के सूर्य कम्ति छ र?
आदि हो या अन्त्य दुबै छ अँध्यारो साथी ।

पहिले नि भनेकै हुँ दुरी आफैं तोक,
आफैं पनि हुँ कि हैन म त आफ्नो साथी ।

भन्यौ आँसु छैन उस्को मुटु नै ढुँगाको,
चाल पाएनौ घाँटीले हिक्का निलेको साथी ।

के सुनाएँ र के सुन्यौ कथा जिन्दगीको,
बाँकी केहि भन्नु छैन भन्न पुग्यो साथी ।

Monday, February 01, 2010

कविता : अर्को यौटा पागल

सँधै जस्तै नभएर
यौटा मान्छे
आज साँझ स्वयंभूको उकालो चढेन
उ तर्सिएको छ
अघिल्लो पटक
जब भेट्न पुगेको थियो उ
शान्त, स्निग्ध र सुन्दर
बुद्धका अर्धमुदित नयनहरु
साँझ पश्चिम क्षितिजमा
सूर्य विश्राम लिईरहँदा
देखेथ्यो उसले
छट्पटी बुद्धको आँखामा
धेरैपछि खुल्न लाग्दा
प्रेममय मुस्कान
बुद्धको बन्द ओठमा
ठुलो बेचैनी बिसाएथ्यो उसले
स्वयंभूनाथ डाँडामा
र फर्किएथ्यो
ठुलो हौसला उठाएर
स्वयंभूनाथ डाँडाबाट
फेरि तर्सिएको त्यहि मान्छे
आज साँझ स्वयंभूको उकालो चढेन
बरु तर्सिएरै उ पस्यो
सहरको गञ्जागोलभित्र
बर्बराउँदै -
हेर सपनाहरु हेर
फेरि बिग्रन थालेका छन् आजभोली
एकएकले देख्दैछन्
फेरि पनि नाङ्गीएको सपना
हरेकले देख्दैछन्
फेरि पनि लुटिएको सपना
प्रत्येकले देख्दैछन्
फेरि पनि काटिएको सपना
फेरि पनि ढाँटिएको सपना
र देख्दै जानेछन्
च्यातिएको सपना
चिमोटिएको सपना
उखेलिएको सपना
बिथोलिएको सपना
बिग्रिन थालेपछि सपनाहरु
देखि नै रहनेछन्
निचोरिएको सपना
चिथोरीएको सपना
मिचिएको सपना
किचिएको सपना
उ उफ्रिरहयो
उ कराईरहयो
भीडले एकतमास
उसलाई हेरिरहयो
सपनाहरुसँग आजित भीडले
भन्ठान्यो-
आज सहरमा अर्को यौटा पागल देखियो ।

Sunday, January 31, 2010

लघुकथा : निरुत्तर

यसपटकलाई मैले आफ्नै कथाहरु मात्र राख्ने गरेको अर्को ब्लगबाट यो लघुकथा यता घिसारेको छु । यसो नगर्दा पनि नहुने हैन तर यस ब्लगलाई मैले आफ्नो मूल ब्लग मान्ने भएकोले र प्राय अन्य ब्लगका सामाग्रीहरु सबै यस ब्लगमा समेत राख्ने भएकोले यसो गरेको हुँ । यो लघुकथा मैले साहित्यानुराग द्वैमासिकका सम्पादक सूर्यराज गिरीको अनुरोधमा नेदरल्याण्डबाट प्रकाशित हुने सोहि पत्रिकाको निमित्त लेखेको थिएं । यसकथामा मेरो कथाहरुको ब्लगमै पुगेर वसन्तजीले र ओजोनजीले प्रतिक्रिया लेख्नुभएको थियो त्यसलाई पनि मैले कथा सँगै यता तानेर ब्लगको पुछारमा राखेको छु ।

****************

लामो समयको परदेश बसाईपछि म केहि दिनलाई घर फर्केको थिएँ । म आएको थाहा पाएकै दिनदेखि मेरा एक मित्रले खाना खाने निम्तो गर्दै मलाई बारम्बार फोन गर्ने गर्दथे । एक त आफ्नै ब्यस्तता त्यसमाथि छिरिक्क कतै निस्कन नसकिने गरेर मौलाएको बन्द संस्कारको वावजुध एक साँझ मित्रलाई फोन गरेर उनको घर पुगें म ।

म पुग्दा मेरा मित्र रीसले चुरचुर भएर लगभग काम्न लागेको अवस्थामा थिए । उनको आँखा हेर्दा लाग्थ्यो आँखैमा उनले आगोको खेती गरेका छन् । उनको सामुन्ने उनकि श्रीमती र कामगर्ने बाह्र/चौध वर्षे केटो सातोपुत्लो उडेझैं थर्कमान अवस्थामा थिए । स्थिती नियाँलेर मैले मित्रलाई शान्त बनाउने प्रयास गर्दै के भएको हो जान्न चाहें ।

मित्रले बिस्तार लगाए अनुशार त्यो बाह्र/चौध वर्षे केटोलाई बजारबाट केहि विदेशी रक्सी किन्ने जिम्मा लगाईएको रहेछ जो बन्दको कारणले उसले पुरा गर्न सकेन । त्यस्तै उनकी श्रीमतीलाई खसीको मासु बनाउन सुझाईएको रहेछ त्यो पनि बन्दकै कारण उनले पुरा गर्न सकिनछन् र त्यति कारणले मेरा मित्र दुर्वाशा बनेका रहेछन् । मैले 'त्यो सब कुराहरु नभए पनि यतिका वर्षपछिको भेटमा हामी त्यसै रमाईलो मान्न सकिहाल्छौं नि । आँखिर मित्रतामा हार्दिकता भन्दा ठुलो अर्थोक के हुन्छ र?' भनेर सम्झाएपछि मेरा मित्र राम्रै सेलाए र हामीले जे भएको खानपान गर्यौं र त्यो साँझलाई निक्कै आत्मिय बनायौं ।

निक्कै सौहार्दपूर्ण बातचित, खानपान सकेर म विदा हुँदैथिएं, मेरा मित्रले फेरि एकपल्ट मलाई खसीको मासु खुवाउन र विदेशी रक्सी पियाउन नसकेको प्रति खुनखुन गर्दै एक एक मेलो कामगर्ने केटोलाई र श्रीमतीलाई हपारे र म तिर मुखरित हुँदै 'यो देशमा कहिल्यै शान्ती नआउने भयो बुझ्नुभयो ?' भन्दै मलाई विदा गरे ।

फर्कंदा बाटोभरी मेरो मनमा कुरा उठिरहयो, 'के शान्ती कुनै मिति हो र यो यसबेला आउनुपर्छ भन्नलाई ? र शान्ती कुनै स्थान पनि त होईन जो यात्रामा हिंड्दा फलानो ठाउँपछि आउँछ भन्न सकियोस् । जाबो खसीको मासु र रक्सी नजुट्दैमा आफ्नै घरको शान्ती त्यस्तरी खल्बल्याउने मेरा मित्रले कस्तो शान्तीको प्रतिक्षा गरेका होलान् ?' मेरो मगजमा यो प्रश्न निरुत्तर रहिरहयो ।

***************

Basanta Said

देशको राजनीतिको प्रसंगलाई मिसाएर नेपाली पुरुष मानसिकतालाई कठोर ब्यंग्य गर्नुभएको रहेछ। ठिक गर्नुभयो! हाम्रो समाजको दुर्गतिको मूल कारण यहि मानसिकता हो।



***************

ओजोन said...

तपाईका कथाहरुमा जीवन भोगाई र समाजिक संरचनाका विविध भेदको विचित्र संमिश्रण छ । एकै कथा भित्र विविध विषयको संदेश र परिवर्तनवादी विषय बस्तुले पक्कै पनि गतिशिल सन्देश बोकेका छन् ।
तपाईका कथामा पात्रले यर्थाथ बकेको छ । बास्तवमै प्रश्न निरुत्तर छ । समस्या गम्भिर छ ।


Wednesday, January 27, 2010

गजल : कतै अड्ने डाली छैन

क्रम फेरी उहि पहिले नै लेखिएका तर ब्लगमा नराखिएका मध्येको अर्को यौटा गजलको परेको छ । समयान्तर र अवस्थाको समेत अन्तरले यसको मतला शेर मेटाएको छु । मेटाएको के भनुँ हाललाई लुकाएको हुँ ।


......................................
......................................
लाग्छ हुँ त्यो बगैंचा म उजाडिंदै गैरहेको,
फेरी हरियाली भर्ने जस्को कुनै माली छैन ।

भेट्नो जस्तै छुट्टिएँ कि हाँगापात दुबैतिर,
ईच्छा अडिने'थ्यो तर कतै अड्ने डाली छैन ।

बाध्य छु म हत्केलामै मुटुलिई खोजीगर्न,
भेट्दा तर स्वागतार्थ आरतीको थाली छैन ।

भन्थें चाल्नो भएको छ मुटु घोच्दा वचनले,
वचन् चाल्न खोज्दा तर त्यै मुटुमा जाली छैन ।

Monday, January 25, 2010

कविता : प्रेमीहरुलाई

यतिखेर कुनै निश्चित समय लिएर कुनै निश्चित कुरा लेख्न सक्ने एकाग्रता नभएको अवस्थामा छु म । एक त यात्रावधीमा त्यसमाथी सजिला अप्ठ्यारा अनेक कुराहरुसँग जुधिरहँदा मनमा आएका अनेक तर्कनाहरुले कुनै आकार लिन सकिरहेका छैनन् । अक्सर हुन्छ यस्तो हुनत जस्तो कि लाग्छ म भित्र निक्कै गतिलै विषयमा मन्मथ भैरहेछ र निक्कै ठुलै नौनी मथेर निकाल्ने छ यो मनले तर पानी मथ्छ क्यार घरीघरी यो मनले नौनी निस्क्ने बेलामा त फुस्सा पो हुन्छ । यस्तै मथाई पछिको यो फुस्सा नौनी, अत्यन्तै ब्यस्तताका वावजुध टिनियान टापूबाट ब्लगमा पोष्टिङको एक अंक थप्नै सहि यो कविता -


नबाँध्नु मनलाई बाँध्नै परेपछि
मनकै डोरीले बाँध प्रेमीहरु हो
नफुस्किने गरी मनहरु
कसिलो गरेर
छट्पटाउनु नपरोस
ति मनहरु
मनकै बन्धनभित्र कैद भएर
फुस्काउनु नपरोस
ति मनहरु
मनकै घेराभित्र टाढा भएर
अन्यथा
मन बाँध्ने र फुकाउने
यो खेलमा
भोलीसम्म
रहनेछैन तिम्रै पनि मन
ए प्रेमीहरु हो
धेरै धेरै किन देखिरहेछु
हारजीत आज
फगत मन बाँध्ने र फुकाउने
यो खेलमा
नबाँध्नु मनलाई बाँध्नै परेपछि
मनकै डोरीले बाँध प्रेमीहरु हो
नफुस्किने गरी मनहरु
कसिलो गरेर ।

Thursday, January 14, 2010

कविता : यो बँचाई


भन्न सक्दिंन
तिम्रो लागी बाँचे कि बाँचिन म ?
यत्ति थाहा छ तर
आफ्नो लागी
आजसम्म बाँचेको रहेनछु म
यो बँचाई भन्ठानेथें
मेरै लागी मात्र बाँचेको छु मैले
यतिखेर
ध्वारध्वारी च्यातिएर
भ्रमको पर्दा
नाङ्गिएपछि तिम्रैसामु
छोप्न खोजेँ हत्केलाहरुले
आफ्नो लागी कहिल्यै नबाँच्नुको लाज
कठै !
यतिञ्जेल आफुले
आफैंलाई खुवाएको ढाढस
उल्टै छाद्नुपर्दा मुखबाट
थाहा पाएको छु
कति नमिठो रहेछु म
बौरिएझैं मुर्छाबाट
बल्ल बल्ल
आफ्नो लागी बाँच्न खोज्दै गर्दा
थाहा पाएको छु
आफ्नै प्रिय रहेनछु म
त्यसैले त अझै
दह्रो छु दह्रो म
तिम्रो खोजखबरहरुमा
नपरेर पनि आफु
सम्झिरहेछु तिमीलाई
तिम्रो लागी बाँचे कि बाँचिन म ?
यत्ति थाहा छ तर
आफ्नो लागी
आजसम्म बाँचेको रहेनछु म ।

Tuesday, January 12, 2010

गफ : कनेक्सनहरु केलाउँदा

केहि समय अगाडी मैले दौंतरीमा यौटा लेख पढेको थिएँ, सगरमाथा, माउण्ट एभरेष्ट कि नौबन्धन शिर्षकमा । ज्योतिर्गमय : A movement toward east ब्लगका ब्लगर, जस्लाई म आध्यात्मका यूवा चिन्तक भनेर चिन्ने गर्दछु, निर्मलमणि अधिकारी -आयोदधौम्यले लेख्नुभएको उक्त लेख वहाँकै ब्लगमा पनि पढ्न सकिन्छ । लेख सगरमाथाको पौराणिक नाम के थियो र कसरी राखिएको थियो भन्ने जानकारी गराउँदै हामीले सगरमाथाको आफ्नै नाम प्रयोगमा ल्याउनु पर्ने तथा विदेशीहरुले राखिदिएको नाम त्याग्नुपर्ने आसयमा लम्किएको छ । म आफु वर्षौं देखि बिदेशमा भासिएको ब्याक्ति भएकोले राष्ट्रवादका नारा उचाल्दै हो सगरमाथाको नाम नौबन्धन नै हुनुपर्छ भन्ने पैरवी गर्न चाहन्न । अर्कोतिर हामीसँग 'सगरमाथा' नाम नै आफ्नो भाषामा उपयुक्त र प्रचलित छँदैछ । यसको पौराणिक नाम नौबन्धन हो भनेर उल्लेख गरिनु अर्थात पौराणिक नाम नौबन्धन हो भनेर प्रचारमा ल्याईनु सम्म अर्को कुरा हो । ईतिहासविदहरु तथा सम्बन्धित निकायको ध्यान त्यता जावोस् र सगरमाथाको पौराणिक नाम नौबन्धन हो भन्ने आधिकारिक अभिलेख बनोस् । त्यतिको निम्ती मेरो पनि कामना रहनेछ ।

लेखको आसय जता भएपनि लेख पढिरहंदा मेरो ध्यान भने सगरमाथाको नाम नौबन्धन रहन जानु पछाडीको कथाले तान्यो । यसबारेमा पहिले कुनै जानकारी थिएन मसँग कि महाभारतको वन पर्व अन्तर्गत आउने मत्स्यावतारको कथा अनुसार माछोको वचन सुनेर हिमालको चुचुरोमा नाउ बाँधियो र सगरमाथा, उ बेला व्योमकूट पर्वत पनि भनिन्थ्यो, को नाम नौबन्धन रहन गयो । महाभारतको कथामा आफुले थाहा नपाएको कुरा भएकोले मैले निर्मलमणिजीलाई ईमेल मार्फत यसबारेमा सोधेको थिएँ कि किन हिमालको चुचुरोमा नाउँ बाँध्नु भनियो ? मलाई 'के त्यसबेला पृथ्वीमा महाप्रलय हुने सम्भावना भएर त्यसो भनिएको थियो होला' भन्ने कुरा जान्नु थियो । निर्मलजीले मलाई यसबारेमा जान्न पहिले मदनमणि दिक्षित ज्यूको 'त्यो यूग' भन्ने पुस्तक पढ्न अनि यसबारेमा वहस गर्न सल्लाह दिनुभयो । यतिखेर मैले भनेजस्तै सजिलो गरेर दिक्षित ज्यूको किताब फेला पार्न सक्दिंन बरु नेपाल गएको बेला पढ्ने किताबहरुको लिष्टमा 'त्यो यूग'लाई पनि राखेको छु । हार्दिक धन्यवाद निर्मलमणिजीलाई यौटा पुस्तक पढ्ने सल्लाह दिनुभएकोमा ।

लेखमा हिमालको चुचुरोमा नाउ बाँधियो भन्ने कुरा पढिरहँदा म मा किन हिमालमा नाउ बाँध्नु भनियो भन्ने कुराको स्वभाविक जिज्ञासा उठेको थियो । जवाफ खोज्न आफुसँग सामाग्रीहरु नभएपछि मैले स्वभाविक जवाफ निकालें कि निश्चय नै मत्स्यावतारको त्यो समयमा पृथ्वीमा महाप्रलय हुने सम्भावना थियो होला र त्यो प्रलय पृथ्वी पानीमा डुबेर हुने सम्भावना थियो होला । आँखिर तीन खण्ड पानी र एक खण्ड मात्र जमिन भएको यो पृथ्वी पानीले डुब्न नसक्ने भन्ने पनि त छैन र प्रलय कालमा डुब्नुको अर्थ डुबि नै रहनु भन्ने पनि त हुँदैन । एकपटक डुबेर फेरि निस्किए पनि डुबिसक्दा प्रलयमा हुने विनाश त भैसकेको हुन्छ । त्यसैले नै त्यस किसिमको सम्भावित महाप्रलयबाट हुनजाने श्रृष्टीको विनाशबाट मान्छे लगायतका प्राणीहरुलाई बचाउन सकिने एकमात्र साधन नाउ हुनसक्ने हुनाले नाउ बाँध्नु भनियो होला । नत्रभने समुद्र, नदि, ताल, तलैया, खोला ईत्यादिमा मात्र प्रयोगमा आउने नाउलाई हिमालको चुचुरोमा लगेर बाँध्नु वा बनाउनु किन भनिन्थ्यो होला र ?

मलाई अचम्म लागेको कुरा - यहि कुराको कनेक्सन केहि समय अगाडी बजारमा आएको अंग्रेजी चलचित्र २०१२ सँग पनि छ । त्यसमा पनि सन २०१२ मा हुने भनिएको प्रलय पछिको विनाशबाट श्रृष्टीलाई सुचारु राख्नको लागी ठुला ठुला तिनवटा 'आर्क'हरु बनाईएको देखाईएको छ । के महाभारतको कथामा हिमालको चुचुरोमा नाउ बाँध्नु भनिनु र आजको समयमा बनाईने अंग्रेजी चलचित्रमा 'आर्क' बनाईएको देखाईनुमा कुनै कनेक्सन छैन होला त ? वा यो संयोग नै मात्र हो त ? 'नाउ' र 'आर्क' दुबै उस्तै कुराहरु हुन । समय अनुशार यसको सक्षमतामा फरक हुनु अर्कै कुरा । अझ त्यसमाथी पौराणिक कालमा नाउलाई हिमालको चुचुरोमा लगेर बाँध्नु भनिनु बाँधिनु, त्यो हिमाल सगरमाथा हुनु र आधुनिक समयको चलचित्रमा बनाईएको अत्याधुनिक 'आर्क' पनि त्यहि हिमालय पर्वततिरै (चाईनामा) बनाईएको देखाईनुमा पनि कुनै कनेक्सन छैन होला ? संयोग नै मात्र होला ?

मैले केहि साथीहरुसँग यसबारेमा कुरा गरेको थिएँ । किन त्यो चलचित्रमा बनाईएको 'आर्क'हरु हिमालय पर्वतमालातिरै बनाईयो भनेर । केहिले 'चाईनामा भएको ब्यापक जनशक्तिको कारणले त्याँहा बनाईएको हो' भने त केहिले 'ह्या... फिल्ममा भएको यस्तो वाहियात कुराहरुको पछि लाग्ने काम छैन' भने । तर मलाई भने वाहियात नै सहि ठुलै खुल्दुली उठिरहयो यो विषयमा ।


मलाई २०१२ चलचित्रमा हिमालय पर्वतमाला क्षेत्रतिरै आर्क बनाईनु चाईनाको अपार जनशक्तिकै कारणले हो भन्ने लागेन । किनभने पृथ्वीकै विनाश हुन गैरहेको बेलामा त्यसबाट बच्नलाई संसारभरका एलिटहरुले मिलेर बनाउन लागेको उक्त आर्कहरु अरु कुनै सुरक्षित स्थानमा बनाउँदा पनि हुन्थ्यो भने चाईनाको त के जहाँसुकैको पनि दक्ष र प्रयाप्त जनशक्ति लानलाई समस्या हुने कुरै थिएन । पक्कै पनि हिमालय क्षेत्र नै महाप्रलयको बेला बच्न सकिने उपयुक्त स्थान छानिएको हुनुपर्छ । त्यसमा पनि दुई कारणहरु हुन सक्छन् - पहिलो कारण संसारमा भएजति पर्वतमालाहरु मध्ये सबै भन्दा कम ज्वालामुखिको केन्द्रहरु रहेको पर्वतमाला हिमालय पर्वतमाला हो र दोश्रो पृथ्वीमा भएका सात महाद्विपहरु मध्ये सबै भन्दा ठुलो महाद्विप एसिया हो र हिमालय पर्वतमाला यसैमा पर्छ । यि दुई कारणहरु हुन सक्छन् उक्त चलचित्रमा 'आर्क'हरु हिमालय पर्वतमाला क्षेत्रमा बनाईएको देखाईनु ।

थप कुरा के पनि छ भने हामी(पूर्विय दर्शन मान्ने)ले हिमालय क्षेत्रलाई देव भूमी, तपोभूमी मान्ने गर्छौं । त्यसै त हिमालय क्षेत्रलाई देव भूमी भनिएको पक्कै होईन होला । केहि त रहस्य पक्कै नै छ होला यसको पछाडी जस्लाई हामीले पत्ता लगाएर प्रमाणित गर्न नसकेका हौंला । अझ अर्को कुरा श्रृष्टीको स्थिती कायम रहन हिमालहरुको भूमिका सबैभन्दा ज्यादा हुन्छ भन्ने त मानिएकै छ । त्यसैले ग्लोवल वार्मिङको कुराले, हिमालमा हिउँ नहुनुको कुराले र ठुला ठुला ग्लेसियरहरु पग्लँदै गएको कुराले हामी चिन्तित छौं ।

श्रृष्टी, स्थिती र संहारको अवस्थालाई हाम्रो पौराणिक ग्रन्थहरुले तीन अलग अलग देवताहरुले प्रतिनिधित्व गर्ने भनिएको छ । जस्तै कि श्रृष्टीकर्ता ब्रह्मा, स्थितीकर्ता विष्णु र संहारकर्ता रुद्र(महेश्वर/शिव) मानिन्छन् । यि तीन एलिट देवताहरु मध्ये ब्रह्मा आकाशमा बस्छन् क्यार , विष्णु समुद्रमा बस्छन् भने संहारकर्ता रुद्र त्यहि हिमालय पर्वतमाला अन्तर्गतको कैलाश पर्वतमा बस्छन् । कतै हिमालको चुचुरोमा नाउ बाँध्नु भनिएको कुरा र हिमालय क्षेत्रमा 'आर्क' बनाईएको कुरा साँकेतिक रुपमा उनै संहारकर्ता रुद्रको शरणमा गएको त हैन ?

यि कुराहरु खासगरी महाभारतको कथामा भनिएको हिमालको चुचुरोमा नाउ बाँधिएको कुरा र अंग्रेजी चलचित्र २०१२ मा हिमालय पर्वतमाला क्षेत्रमा आर्क बनाईएको कुरामा कुनै पनि कनेक्सन छैन होला, यो संयोग नै मात्र होला तर पनि मलाई केहि न केहि कनेक्सन छ कि त ? भन्ने लागीरहन्छ अझै त्यसैले यो वाहियात गफ तपाईंहरुलाई सुनाउन ब्लगमा लिएर आएको हुँ कि पृथ्वीमा महाप्रलयको घडी यदि कुनैदिन आएछ भने पक्कै हामीले देव भूमी भन्ने गरेको हिमालय पर्वतमाला क्षेत्र नै श्रृष्टीलाई पुन सुचारु राख्नको लागी मान्छे लगायतका जीवहरु बचाउन सकिने पवित्र स्थल हुन सक्छ । अस्तु!

Sunday, January 10, 2010

गजल : नाङ्गिएको हेर

यसपटक पनि थपक्कै पहिले लेखिएका र ब्लगमा नराखिएका मध्ये यौटा गजल राखेको छु । यसबारे पहिले नै भनिसकेको छु धेरै केहि भन्नु नपर्ला तर गजल माथी गजल खप्नुको पीडा तपाईंहरुमाथी पार्न गएकोमा क्षमा चाहन्छु ।

तमाशा अहो! मान्छे बडा नाङ्गिएको हेर ।
हेर यो जुग शताब्दी नै बाङ्गिएको हेर ।

छैन मूल्य शिरटोपीको शरिर् परै रह्यो,
संस्कार नाङ्गो बाटोबाटै झाङ्गिएको हेर ।

हुद्दा हुद्दा ज्यामी कर्मी फेरिए पालैपालो ,
बाह्रहातै कामको मेलो टाङ्गिएको हेर ।

सर्यो अघि सरल मान्छे छिर्यो जुग फेर्न,
भव्य भो त्यै मान्छे फिर्दा उदाङ्गिएको हेर ।

किन लाग्थ्यो दैलोझ्याल काठका पो हुन् ति ता,
ढुङ्गे किल्ला सिमानामै पसाङ्गिएको हेर ।

Monday, January 04, 2010

गजल : तिम्रै लाग्छ भर प्रिय

पहिले लेखिएका तर ब्लगमा चढाउन नभ्याएका या भनौं पालो कुरेर बसेका गजलहरुको स-सानो चाङबाट यसपटकलाई पनि यौटा गजल ल्याएको छु । गजल ग्रुपमा यस गजललाई बाँड्दा अहिले भएको मतलाको एक(पहिलो)मिसरा(हरफ)मात्र एक शेर हुने हिसाबले प्रस्तुत गरेको थिएँ । त्यसबेला मलाई कुनै शेरहरु स्वायत्त भएनन् भन्ने चिन्ता छँदैथियो । त्यसैले अहिले यस गजललाई दुई तरिकाले प्रस्तुत गर्न सकिने हिसाबले बनाएर दुई तरिकाले नै राखेको पनि छु ।

पहिलेको तरिकाले -

जे मन लाग्छ गर प्रिय ।
मान्दिनं म डर प्रिय ।

तिम्रै छ आश र प्रिय,
तिम्रै लाग्छ भर प्रिय ।

हावा हूरी छेक्ने न्यानो,
खोजीरँ'दा घर प्रिय,

भन्यौ 'आउ सँगै बसौं,
मेरो को पो छ र' प्रिय ।

समाजले सानो भनि,
पार्दा पर-पर प्रिय ।

चाहिएन तिमीलाई,
मेरो गोत्र थर प्रिय ।

जैले देखि तिमीतिर,
आएँ वर-वर प्रिय,

जून जस्तै फूल जस्तै,
फुल्यो यो अधर प्रिय ।

बसाउँला वस्ती यौटा,
सानो नै होस् तर प्रिय ।

नसके'नि बसाउंन,
मायाको सहर प्रिय ।

सम्झनामा चलोस् हाम्रो,
हावा सर-सर प्रिय ।

रोपौं चिनो चौतारीमा,
पिपलु र बर प्रिय ।

छोडी धर्ती जानु नै छ,
हुँदैनौं अजर प्रिय ।

बनोस् यूगौं यूग हाम्रो,
पिरती अमर प्रिय ।
***

अहिलेको तरिकाले -

जे मन लाग्छ गर प्रिय मान्दिनं म डर प्रिय ।
तिम्रै छ आश र प्रिय तिम्रै लाग्छ भर प्रिय ।

हावा हूरी छेक्ने न्यानो खोजीरँ'दा घर प्रिय,
भन्यौ 'आउ सँगै बसौं मेरो को पो छ र' प्रिय ।

समाजले सानो भनि पार्दा पर-पर प्रिय,
चाहिएन तिमीलाई मेरो गोत्र थर प्रिय ।

जैले देखि तिमीतिर आएँ वर-वर प्रिय,
जून जस्तै फूल जस्तै फुल्यो यो अधर प्रिय ।

बसाउँला वस्ती यौटा सानो नै होस् तर प्रिय,
नसके'नि बसाउंन मायाको सहर प्रिय ।

सम्झनामा चलोस् हाम्रो हावा सर-सर प्रिय,
रोपौं चिनो चौतारीमा पिपलु र बर प्रिय ।

छोडी धर्ती जानु नै छ हुँदैनौं अजर प्रिय,
बनोस् यूगौं यूग हाम्रो पिरती अमर प्रिय ।
******

त्यसो त काफिया अक्षरहरु दोहोरिएका गजलहरु प्रसस्तै नभेटिने होइनन् र पनि मैले नदोहोर्याउने गरी लेख्ने कोसिस गरेको हुन्छु प्राय। यसमा भने 'स' र 'श' लेखाईमा अलग तर ध्वनीको हिसाबले एकै हुने दोहोरिएको छ । आफ्नो दर अनुशार औसतमा दरिएको हुनाले जानीजानी छोडेको हुँ यसलाई ।

Friday, January 01, 2010

गफ : कुरा उहि, पारा उहि तर नयाँ वर्ष

मैले भनिगएं नि मेरो त कहिल्यै केहि 'प्लान' बन्दैन । जे हुन्छ त्यो हुन्छ, हुन्न भने हुन्न, चिन्ता पनि लाग्दैन किन भएन भनेर । बिन्दास!!, अलि फिल्मी शैली भयो यो त, बेपर्वाह चैं भनुँ क्यार ।

हिँजो (पोहोर नै भने हुने हो हामीले गर्ने गरेको समयको हिसाबकिताब अनुशार त । यतिबेला सन २०१० को शुभ प्रभात भै सकेको छ।) दिउँसोसम्म छरछिमेकका ब्लगहरुमा पसेर नयाँ वर्षको टाँसो पढ्दै कतै कमेण्ट पनि लेख्दै हिंड्दा सन २००९ कै अन्तिम रात्रीभरमा आफ्नो ब्लगको निम्ती पनि यौटा नक्सा कोर्छु भन्ने थियो र सन २०१० लागिसक्न नपाई ब्लगमा टाँसुला भन्ने थियो तर आफ्नो चलन योजना मुताविक नचल्ने भएरै होला त्यसो हुन सकेन । सन २००९ को अन्तिम दिनको काम सिध्याउन पाएको छैन हिँडियो बरालिएर । आँखिर चमेरे जुनी जो पाईएको छ - निशाचर । दिनभरी साङ्ग्लोमा बाँधिने अनि राती फुक्ने गाउँघरको भोटे कुकुर जस्तो । फरक यति नै हो कि कुकुर साँच्चैको साङ्ग्लोले बाँधिन्छ आफुभने कामको साङ्ग्लोले ।

रातैभरी बेपत्तासंग अन्मरिएर अहो! मैले त ब्लगमा यौटा टाँसो पनि पो लेख्नुथियो भन्ने होस् खुल्दा बिहानको ५ बजिसकेको थियो । र पनि जे होस ब्लगमा लेख्नु छ भन्ने होस त खुल्यो भनेर गदगद हुँदै लेख्न सुरु गरें । यतिबेला लेख्न सुरु गरेर, कतिबेला लेखिसकेर, कतिबेला ब्लगमा टाँसेर सुत्ने अनि एकछिन पछि १० बजे बिहानको काम गर्न पुग्ने भन्ने चिन्ता भित्र कतै भएपनि त्यो चिन्ता मैले गर्ने हैन भनेर मस्त बनें । आँखिर १५ दिनको लागी मात्र बाँकी रहेको कामको कस्ले टेन्सन लिईराखोस् ? म त लिन्न ।

यसपालीको नयाँ वर्षलाई त्यसो त केहि जुगाड थिएन, अझै भएन पनि नत्रभने प्राय नयाँ वर्षको लागी कविता या गजल यस्तै केहि लेख्थें पहिले पहिलेका नयाँ वर्षहरुमा । यसपाली भने पक्का नयाँ वर्ष हुने भयो मलाई त । न नयाँ वर्षको कविता लेखेको छु, न गजल, न गीत । 'सँधै लेखेर नयाँ भएको महसुस गर्थें यसपाली नलेखेर नयाँ भएको महसुस गरुँला..' मन यसरी नै बुझाएँ । मन त हो आँखिर त्यो पनि आफ्नै, यस्लाई जसरी बुझाए नि बुझिहाल्छ नि । मुर्ख मन ।

'नयाँ वर्ष नामको या नयाँ वर्ष भन्न मिल्ने कुनै प्रकारको उम्दा रचना नभएपछि ब्लगमा यस्तै 'गफ' हानेर भएपनि झोलझाल त गर्नैपर्यो ।' कैलेकाहिँ त खुराफाती आईडिया निकाल्छ यो दिमागले पनि । आँखिर यो दुनियाँमा सबभन्दा सजिलो कुरा हो 'गफ' दिन भलै त्यही गफ बिकाउन सबभन्दा मुश्किल कुरा किन नहोस् । आफुलाई 'गफ' बिकाउने चिन्ता पनि त होईन, यो ब्यापार हो र थोडै ? त्यसैले म त 'गफ' हान्ने हो आज । त्यो पनि आजको 'गफ' हान्ने । न हिँजोको न भोलीको । हिँजो त बितिसक्यो, भोली के हो के हो ? त्यसैले मलाई गफ आजकै गर्नु ठिक लाग्छ । म आज बाँच्ने प्रकारको मान्छे भएर पनि होला । हुनपनि भोली को बाँचेको छ र ? आज ठिकसँग बाँच्न पाए सबै ठिक हुन्छ तर प्रत्येक आज भने ठिकसंग ठिक हुनुपर्यो । यत्तिनै सोच्छु म त । हिँजो, आज र भोली या ने कि भूत, वर्तमान र भविश्यको कुरा गर्दा आज(वर्तमान)लाई अलिकति 'चेन्ज' गर्न मन लागेको थियो मलाई । तर मैले एक्लैले गरेर नहुने । काल भनेर समयलाई छुट्याएका छौं हामीले । भूत, बर्तमान र भविश्य । यि तीनमा मलाई भूत र भविश्यको फिक्री छैन । यो बेफिक्री मेरो आफ्नै जिन्दगीको भूत र भविश्यको पनि हो र शब्दहरु 'भूत' र 'भविश्य'को पनि हो । यि दुईसंग म ढुक्क छु तर 'वर्तमान'को भने चिन्ता छ मलाई । आफ्नै जिन्दगीको 'वर्तमान'को पनि र शब्द 'वर्तमान'को पनि ।

यो 'वर्तमान'लाई म 'उपहार' भन्न चाहन्छु । जस्तै कि यसरी - भूतकाल, उपहारकाल र भविश्यकाल । अँग्रेजहरु 'वर्तमान'लाई कति मजाले प्रेजेन्ट भन्छन् । जति जे भने पनि अँग्रेजहरुले यो कुरा चैं सोचेकै हुन् वर्तमानलाई प्रेजेन्ट भन्न । प्रेजेन्ट अर्थात उपहार । अहा! कति रमाईलो! हुनपनि यो वर्तमान नै हाम्रो लागी उपहार जत्तिकै सर्वोत्तम समय हो जतिबेला हामी चाहे अनुशार गर्न सक्छौं । वर्तमानमा हामी जे गर्न सक्छौं त्यो न भूतमा फर्केर गएर गर्न सक्छौं न भविश्यमा पुगेर गर्न सक्छौं । 'वर्तमान' भन्दा सुन्दर उपहार हाम्रो लागी अरु के होला र ? '..................', केहि छैन भने वर्तमानलाई 'उपहार' किन नभन्ने ? तर समस्या मैले एक्लैले भनेर हुँदैन । किन पहिले नै वर्तमानलाई उपहार भनिएन होला ? चिन्ता यत्तिनै हो मेरो वर्तमान शब्द प्रतिको कि यसलाई उपहार भनिनु पर्थ्यो या पर्छ । किनभने मूल्यको हिसाबले जतिसुकै निम्नकोटीको किन नहोस् उपहार भन्ने बित्तिकै त्यसको महत्व अर्कै हुन्छ त्यसैले वर्तमानकाललाई उपहारकाल भन्न सके त्यसको महत्व अहिले जति छ त्यो भन्दा अझै हुन्थ्यो कि ? यहि कुराको कतै न कतै सम्बन्ध होला कि म आज बाँच्न चाहने प्रकारको मान्छे हुँ ।

त्यसैपनि योजना बनाएर बाँच्ने सामर्थ्य छैन होला म मा र बाँच्नुको नाममा कुनै योजना बन्दैन पनि मेरो जीवन उद्योगमा । परन्तु कैलेकाँहि लाग्छ कि जीवनलाई अलि ब्यवस्थित पारुँ । नेपालका राजनैतिक दलहरुकै जस्तै किन नहोस् जिन्दगेको रोड म्याप बनाएर त्यस अनुशार हिडुँ तर हुँदैन । अहँ पटक्कै हुँदैन । त्यसो गर्नको लागी पहिलो शर्त समयमा सुत्ने र समयमा उठ्ने हुनुपर्छ । अरु पनि शर्तहरु प्रसस्तै होलान तर सबै मध्ये यो समयलाई ब्यवस्थित गर्नुपर्ने शर्त पहिलो नम्बरमा आउँछ र मेरो समस्या भनेको नै यहि समयलाई नियन्त्रण गर्न नसक्नु हो । त्यसो त समयलाई कसैले वसमा राख्न सक्दैन तर कतिपयले समयलाई आफ्नो दैनिकीको लागी भने ब्यवस्थित पारेकै हुन्छन् त्यसैले त सायद तिनीहरु अगाडी निस्कन्छन् । आफुलाई भने जता परे पनि बाल!, अलि सडकछाप शैली भयो यो त, पर्वाह छैन चैं भनुँ क्यार ।

हो, आफ्नो त अझै कुरा उहि पारा पनि उहि तर नयाँ पनि छ है - नयाँ वर्ष । अर्थोक केहि होस् नहोस् आजको दिन कम्तिमा नयाँ वर्ष छ(हरदिनको नयाँ हिसाब राख्ने ठेक्का कस्ले लिएको छ र? त्यसैले प्रत्येक पलको नयाँ भन्ने कुरालाई छोडिदिएको)। र तपाईंहरु सबैलाई त्यहि यहि नयाँ वर्षको मंगल कामना त छँदैछ ।

अन्त्यमा बरालिएर हिँडेर घर(आफ्नो)बाहिर बाहिरै भएको बेला पनि यति कुरा लेख्नलाई कम्प्युटर उपलब्ध गराउने भाइ/साथी शैलेन्द्रराज जोशीलाई धन्यवाद!

Happy New Year 2010 !!