Monday, May 17, 2010

कथा : रोगी घाम

कत्रो मुर्खता! कत्ति न बिधी माया गर्छे मलाई भनेर मख्ख परेको रहेछु म । आज सम्झन्छु, कता कता सपनामा पो भेट भएको थियो कि अथवा कथामा पो पढेको थिएँ कि जस्तो लाग्छ । साँच्चै मान्छे त मैले माया पाएको छु भन्ने भ्रम पालेर पो बाँच्दो रहेछ । अझ मैले माया गरेको छु भन्ने भ्रम फैलाउन त झन खप्पिस हुँदो रहेछ ।

आज बुझ्दा मान्छेले माया पाएको अनि माया दिएको त मैले कहिँ पनि देखिंन, आफ्नै जिन्दगीमा पनि ।

एकदिन, एकझर दर्के पानी परेर आकाश सफा भएको थियो । साँझको बेला पहेँलो घाम टिलिली लागेर रमाईलो पारेको वातावरणमा असारे फूलको फूलैसँग लत्रेको हाँगो सम्हालेर तह लाउँदैथिई उ । उसको खुट्टाभरी माथी पिँडौलादेखि नै पहिले पानीले निथ्रुक्क भिजेका असारे फूलहरु पोखिएका थिए अनि त्यसमाथी पहेँलो घाम पोतिएको थियो । मैले उसको खुट्टाहरुमा मन लठ्ठै पार्ने तर मेसो नबुझिने कुनै अमुर्त चित्रकारी देखें र ट्याप्पै समातेर चुमिदिएं उसको खुट्टा । उ छक्क परेर मलाई हेर्न थाली । वाक्यमा उसले चुँ! सम्म उच्चारण गर्न सकिन तर आँखाले मसँग यतिविघ्न बातमारे जस्तो गरी कि, केके भनी केके; मैले परि लाउंनै सकिंन । अनि मैले नै भनिदिएँ, 'तेरो यो घिनलाग्दो खुट्टाभरी यसरी नै फूलहरु सजिईरहुन् अनि म सँधैं चुम्न पाईरहुँ ।'

उ अझै अवाक् उभिएर मलाई हेरिरहेकि थिई । उसको मुहारभरी पनि पहेँलो घाम छताछुल्लपोतिएको थियो र उसलाई सुवर्णको प्रतिमाझैं टलक्क पारेको थियो । न उसका आँखाका पुतलीहरु नै चले, न उ नै चल्मलाई । यहाँसम्म कि ठिक त्यतिबेला उसको कपालको यौटा केशसम्म पनि हल्लाईदिन त्यहाँ बतास धरी आईदिएन ।

त्यसबेलासम्म उसले मलाई कम से कम मुस्कानले स्वागत गर्नुपर्थ्यो । तर अहँ, उ त प्रस्तर मुर्तिझैं ठिङ्ग उभिई मात्र । मान्छेहरुलाई कसरी जङ्ग चल्छ कुन्नि मलाई भने त्यसबेलासम्म जङ्ग चलिसकेको थियो । यो आदत मलाई सँधैभरी बिझाईरहन्छ । यस्तोबेलामा म केहि न केहि बिगार गरिहाल्छु । मैले नजिकै भएको गमलालाई कस्सेर लात्तले हानिदिएँ । उ नराम्रो गरी झस्की । उसको मुहारमा यौटा गमला फुटेर जानुको पीडा भरिएर आयो र पोखिएर गयो पनि । रुन्चे आँखाले मलाई हेरेर उसले बल्ल भनि, ' नाईँ के, तपाईं त जहिले पनि यस्तै गर्नुहुन्छ ।'
उ गमलानेर आई । फुटेर छरिएको गमलालाई छोई र उठेर भनि,' धन्न! यस्मा भएको फूल अर्को गमलामा पनि छ ।'

यसो भनेर उ मैले गरेको गल्तिलाई गल्ति नै हैन भने झैं पार्न खोजिरहेकि थिई । मलाई थाहा थियो जति चित्त दुखेपनि उ मेरो गल्ति प्रति चित्त नदुखेजस्तो ब्यावहार गर्थी । उ मेरो छेवैमा आई र काननेर मधुरो बोली, 'चिसो पानी ल्याईदिउँ?'

म राम्रै सेलाईसकेको थिएँ । मलाई लाज लागीसकेको थियो । भर्खरै गरेको उपध्रो पचाउने बहानामा मैले थेतरिँदै भनें, 'अहँ मलाई त मोई चाहिन्छ ।'

'मोई?' झट्ट म तिर नजर फर्काएर सोधी उसले ।

मैले चोर औंलाले उसको दुबै ओठहरुलाई छोएर त्यहि औंला चुम्दै भनें, 'अँ मोई ।'

उसले मेरो अघिल्लो चाल बुझि सायद स-साना फूलिरहेका तिउरी फूलहरु फट्किएर नाघ्दै फूलबारीको पल्लो छेउमा पुगेर भनि, 'मोई त भा'पो । आज पारेकै थे'न ।'

यसरी बित्थे हाम्रा रमाईला दिनहरु । कैले नदि जस्तै सलल बग्थ्यो त कैले बगर जस्तै स्थिर पनि रहन्थ्यो । म आफ्नै मनको क्यानभासमा कल्पनाको कुचि चलाएर बिभिन्न रंगहरुले आफ्नै भविश्यको चित्र कोरिबस्थें । साँच्चै पनि चित्रहरु कोर्दा म आफ्नै भविश्यको दिनहरुको कथा कोर्न खोज्थें । चित्रमा म आफुलाई मनपर्ने पँहेलो रंगलाई सकेसम्म सामेल गराउन खोज्थें र त्यसले जहिले पनि मेरो भविश्यको चित्रलाई रोगी बनाईदिएझैं लाग्थ्यो ।

अर्कोदिन म आफुले बनाएको यौटा चित्र लिएर उसलाई देखाउन गएँ । चित्रमा सानो यौटा पराले झुपडी, आँगनको कुनामा यौटी नारी भाँडा माझीरहेकि, उसका वरिपरी तीनवटा भाल्टाङ भुल्टुङ कोहि खेल्दै गरेका, कोहि रुँदै गरेका र आँगनको अर्को छेउमा यौटा पुरुष भैंसीको पाडो तान्दै गरेको देखिन्थ्यो । पक्का नेपाली गाउँको कुनै घर परिवारको सजीव चित्रण गर्ने सक्दो मेहनत गरेको त्यो चित्र उसलाई देखाउँदै मैले भनेको थिएँ, 'ल हेर हाम्रो भविश्यको चित्र ।'

मेरो चित्र हेरेर उसले हाँस्दै प्रश्न गरेकि थिई, 'बस् यस्तै? के हामी यो भन्दा माथी जाँदैनौ?'

प्रत्युत्तरमा मैले भनेको थिएँ। 'यो वातावरणको सुख हेर न, यहाँ भन्दा माथी गएपछि यो सुख कहाँ रहन्छ?'

'लु भयो यस्तो संसार तपाईंको कल्पनामा मात्र हुन्छ मेरो कल्पनामा यो भन्दा अर्कै हुन्छ ।' त्यसदिन उसको फुर्सद नभएर वहस अगाडी बढेन । तर उसको कल्पनामा सँधै भौतिक सुबिधाले सम्पन्न भविश्यको चित्र हुन्थ्यो भने मेरो कल्पनाले सँधै सुबिधालाई भन्दा सुखलाई जोड दिन्थ्यो । भौतिक सुबिधा प्राप्त गर्नु नै सुख हो भन्ने उसको गलत धारणालाई मैले सच्याउन बाँकी थियो । त्यो बाँकि नै रहयो ।

मलाई दिनहुँ उसँग नभेटि हुदैनथियो । प्रायजसो म साँझतिर नै उसलाई भेट्न जान्थें । खाडीको पिपलको रुख, गाउँ नजिकैको चउर र खोला किनारको समिको फेद ईत्यादि हाम्रा खास खास ठाउँहरु थिए साँझमा टहल्ने । उमेरले म भन्दा केहि सानी उ शारिरिक बनावटले अझै सानी थिई । उसको कोमल मन र छरितो सानो शरिरमा प्रसस्तै संयम र साहस थियो ।

एकोहोरो सान्निध्यताले हाम्रो माया साँच्चै हो को भ्रम सम्म आईपुगेछ । अहिले हेर्दा त्यो भ्रम रहेछ भन्ने ज्ञान छ म भित्र तर उ बेला मेरो लागी पनि यथार्थ थियो । त्यहि भ्रमले हामीलाई एकाकार बनायो । भ्रमले नै हामी माझ समझदारी र सामाञ्जस्यता स्थापना गरायो । तब हामीले केहि कुरामा टाउको दुखाईरहनु पर्ने भएन र केहि कुरामा नदुखेको टाउको पनि दुखाउनु पर्ने भयो । हामीले आ-आफ्नो मनबाट आपसमा नमिलेका केहि रहरहरु च्यातेर मिल्कायौं अनि आपसमा मिलेका थप केहि रहरहरु सजायौं ।

हामी क्रमश दुबैलाई मनपर्ने रंगहरु घोलेर भविश्यको साझा चित्र तन्मयताका साथ कोर्न थाल्यौं ।

अर्को एकदिन, साँझकै बेला उ आँगनमा बसेर सब्जीको लागी फर्सीको मुन्टा केलाउँदैथिई । मैले देखेँ उसको सारा शरिरलाई पँहेलो घामले अँगालो हालेको थियो । पँहेलो म्याक्सी भित्रबाट निस्किएको उसको खिरिलो पाखुरा, दुब्लाएको जस्तै देखिने उसको अनुहार, अलिकति देखिएको उसको छातिको माथिल्लो भागको हाड सबैमा पँहेलो घाम पोतिएर उसलाई रोगी जस्तै देखेँ मैले ।

दृष्टि फेर्नलाई मैले आँगन वरिपरी नजर दौडाएँ । रबरको विरुवा, अशोकको सुरिलो बोट, घण्टी फूलको बुट्टा, आँगनवरिपरी फुलिरहेका अरु साना फूलहरु सबैकुराहरु एकनाससँग पँहेलो घामले लिपिएका थिए र सबै सबै नै रोगी देखिएका थिए । मैले फेरी उसलाई हेरेँ । उ झनै रोगी देखिई ।

एकाएक मलाई त्यो बातावरणको पँहेलोपना बिझाउन थाल्यो । बिझाउनु मात्र हैन सबै सबै पँहेलो देखेर मलाई बान्ता हुन लागेझैं भाउन्न छुट्यो । मेरो मुखबाट अचानक निस्किएछ, 'छि! आज कस्तो रोगी घाम लागेको ।'

'किन नि, तपाईंलाई त यस्तै पँहेलो घाम मनपर्थ्यो त?' आश्चर्यमा परेर उसले भनी ।

'हो हुनत, तर खै किन आज सबै कुरा यो पँहेलो घामले रोगी देख्दैछु । तँलाई पनि ।' मैले मनमनै भनेँ, 'बरु तँ भित्रै बसेर तरकारी केला न ।'

प्रकटमा म केहिपनि बोलिँन । उ त्यहि रोगी घाममा बसेर फर्सीको मुन्टा केलाउन तल्लिन थिई । म भने पुरै वातावरणलाई र उसलाई झनझन रोगी देख्दैथिएँ ।

निक्कै लामो तिथीमिती पचाईसक्यो समयले । आज समय लगायत धेरै कुराहरुले मलाई पछि छोडेको छ । मेरी उसले पनि मलाई छोडेर गैसकी तर यो रोगी घामले भने मलाई अझै छोडेको छैन । अझैसम्म लखेटिरहेको छ यो रोगी घामले मलाई ।

म भागीरहेँ यो रोगीघाम देखि । अझै भागीरहेकै रहेछु । आज सोच्दैछु म किन ब्यर्थै तर्सेर भागीरहेछु यो पँहेलो रोगी घामदेखि ? म नभागे के हुन्छ? पहिले पहिले मलाई साँझको पँहेलो घाम साह्रै प्रिय लाग्थ्यो । एक्कासी किन म पँहेलो घामलाई रोगी देख्न थालेँ ? के भ्रम हो यि दुईवटामा ? पहिले पहिले पँहेलो घाम प्रिय लाग्नु भ्रम हो कि? पँहेलो घामलाई रोगी देख्नु भ्रम हो ? म सोचाईहरुको भूमरीमा पस्न थालेँ । यस्तो पनि लाग्यो कि म यो रोगी घामदेखि भागेरै त आजसम्म आएको छु नत्र उहिल्यै मलाई यो रोगी घामले उम्कनै नसक्ने गरेर अँठ्याउंने थियो ।

हैन त्यस्तो नहुन पनि त सक्छ । मैले साँझको घामसँग आमनेसामने भएर भलाकुशारी गर्न थालेँ भने त्यो घामलाई म रोगी नदेख्न पनि त सक्छु । त्यहि पँहेलो घाम मलाई फेरी प्रिय लाग्न पनि त सक्छ । ओच्छ्यानमा पल्टिएको थिएँ म । पल्टि पल्टि मैले आफ्नो गाला मुसारें । हात पाखुरा छामें । लाग्यो म रोगी घामदेखि भागेको भाग्यै पो बरु रोगी भएँ कि? अवश्यै म उबेला फर्सीको मुन्टा केलाउँदै गरेकि उ जस्तै रोगी देखिएको छु होला । आजभोली सबैले मलाई दुब्लाएर झिट्टी भैसकिस भनेर दया पोख्छन् । मलाई आफ्नो अनुहार ऐनामा हेर्न मन भयो । आज यो कोठामा ऐना छैन । ऐनाको आवश्यकता नरहेपछि यो कोठाको ऐना हटाईसकिएको छ । मलाई उठेर ऐनासम्म पुग्ने जाँगर आएन तर सम्झिएँ कि यौटा सानो ऐना टेबल मुन्तिरको सन्दुकमा उसको सामानहरुसँग छ । सुतिसुति अलि लम्किएर मैले सन्दुकबाट ऐना निकालेँ । ऐनासँग यौटा सानो फोटो अल्बम पनि बाहिर निस्कियो । त्यसमा सबै उसका तस्विरहरु छन भन्ने थाहा थियो । सबै तस्विरहरु मैले पहिले सयौं पल्ट हेरेको पनि छु फेरिपनि मलाई ऐना हैन फोटो अल्बम नै हेर्न मन लाग्यो । पल्टाएँ उसको पहिलो तस्विरमा उसले मलाई छोडीसकेपछिको कुनैदिन मैले आफैंले लेखेको रहेछु ।

तँ छैनस् अब एक स्थलमा सर्वत्र ब्याप्त छेस्
देख्न दिमागमा र छुन दिलमा प्रयाप्त छेस् ।

अझै पनि दुख्छु म उ छैन भन्ने कुराले । यो दुई लाईन कविता लेख्दा कति दुख्दै लेखेँ होला ? त्यत्रो दुख्दा पनि उसलाई मैले यहि दिलमा छामेर सञ्चो भएँ कि ? फेरी दिलमा छामेर हेरेँ र सोचें कसरी आयो खै त्यत्रो ठुलो वियोगमा यत्रो आत्मज्ञान ? मलाई अल्बमको थप पाना पल्टाउन मन भएन । ऐना र अल्बम छोडेर म बाहिर निस्किएँ । उसैगरी आज पनि साँझ नै थियो । उसैगरी आजपनि पँहेलो घाम नै सर्वत्र पोखिएको थियो । मलाई यो घामलाई रोगी भन्न मन लागेन र यो पँहेलो घाम त्यति प्रिय पनि लागेन । यो पँहेलो घाम पहिले प्रिय लाग्नु त्यसपछि रोगी देख्नु सबै भ्रम रहेछन्, सबै सत्य रहेछन् । पहिले उ हुनु र अहिले उ नहुनु पनि भ्रम र सत्य दुबैकुरा रहेछन् । केहि पनि सत्य होईन रहेछ । केहि पनि भ्रम होइन रहेछ । मलाई आफु बराबरी सत्य र बराबरी भ्रमको माझमा उभिएको महसुस भयो र त्यहि माझैमाझ बरु सजिलो हिँड्ने बाटो भेटेको महसुस भयो ।

सबै प्रकारका कुलतहरुबाट टाढा बसेको थिएँ म तर आज मेरो खल्तिबाट मेरै हातहरुले चुरोट झिकेर ओठलाई च्याप्न अह्राए र सलाई कोरेर सल्काईदिए । म रोगी घामसँग अब देखि भाग्दिंन भन्ने अठोट गर्दै पँहेलो घाम अनुहारमा पारेर चुरोट फुक्न थालेँ बेफिक्री ।

(खसखस डटकम तथा आफ्नै फेसबुक नोटमा प्रकाशित।)
रचना काल -
१२ असार २०५८
गौरादह, झापा

2 comments:

कैलाश said...

रोगी घाममा एउटा परिबन्धमा परेको मन मस्तिष्क र मानसिकताको एक खालको रुप र प्रकृति देखे मैले । सरल भाषा र शैलीमा कथा पढ्नुको मज्जै बेग्लै। भ्रम अनि सत्य, प्रिय अनि अप्रिय यी कुरा सधै नभएपनि धेरैजसो सन्दर्भ र परिवेशअनुरुप हुँदा हुन् भन्ने लाग्छ मलाई, दिपकजी ।

Yumesh Pulami said...

दिपक दाइ रोगि घाम होइन रोगि त ..मन हो !

"तँ छैनस् अब एक स्थलमा सर्वत्र ब्याप्त छेस्
देख्न दिमागमा र छुन दिलमा प्रयाप्त छेस् ।"

बबाल नै हान्दिनु भएको रहेछ नि ... निकै झ्वाक चल्या थियो कि क्या हो ? अनि के हो एउटा समस्याको सबाधन गर्न अर्को समया रोज्नु भएछ नि ( निस्फ्रिक्री चुरोट फुक्नु ) भएर !

- शैली राम्रो रहेको छ अनि शब्दहरु नि !