Wednesday, May 12, 2010

गफ : फर्केपछिको कुरा

फर्किनु छँदैथियो आँखिर, फर्किएँ म ।

प्यारी छोरी, परिवारजन, ईष्टमित्र, नातागोता, घर, समाज, देश सबै छोड्छु नै भन्ने थियो ।

छोडें ।

बिस्मात कत्ति लागेन । तर समयसँग निक्कै दुखमन रहयो । माथी उल्लेखितहरु बाहेकका, भाषा र देशको सिमानाले नाता जोडेका केहिहरुसँग भने बिस्मात पनि लाग्यो । तिनीहरु थिए म पछिल्लो पटक काठ्माण्डौ छिरेको दिनदेखि काठ्माण्डौ बसुञ्जेल बन्द हड्ताल ईत्यादि गरेर मेरो समयलाई अस्तब्यस्त बनाउने राजनीतिक प्राणीहरु र तिन्को लहै लहैमा लैबरी गाउँने सोझासिधाहरु ।

त्यसो त आक्रोस पनि उस्तो बचेको छैन । बचाईराखेर आक्रोसले मलाई केहि दिंदैन त्यति त म बुझ्छु । जे हुनु थियो त्यति त भएको हो । अरु के हो र ? काठ्माण्डौ छोड्नेबेला केहि असल मनहरुलाई भेट्ने हार्दिक ईच्छा पुरा भएन । यो अलिकति खल्लो लागेको हो तर समय फेरी अवश्य आउला ती असल मनहरुसँग भेट्ने ।

आशावादी छु ।

काठ्माण्डौ छोड्ने अघिल्लो दिन फेसबुकमा लेखेको थिएँ, 'धेरै शब्दहरु चपाएर भोली लुसुक्क नेपाल/काठ्माण्डौ छोड्दैछु । भेट्न नसकेका थुप्रै असल मनहरुले मलाई माफ दिउन ।'

कस्तो दह्रो विश्वास छ भने मैले माफी पाईसके जस्तै लागेको छ ।

साथमा यसपाली पहिले पहिलेका निक्कै कुराहरु बोकेर ल्याएको छु । अझै धेरै कुराहरु त मगजमा कोचेर पनि ल्याएको छु । ब्लगमा बाँड्नलाई अब धेरै कुराहरु एकैसाथ छन् मसँग - बाँड्दै जानेछु । तीन महिना भयो आफ्नो ब्लगमा झुक्किएर लेखे बाहेक अरुको ब्लगमा पसेर स-रुचि सामाग्रीहरु नपढेको । नपढेपछि प्रतिक्रिया लेख्ने कुरा पनि भएन । अब पढ्छु अनि प्रतिक्रियाहरु लेख्छु पनि । समय फालाफाल छ । मित्रब्लगहरुमा प्रतिक्रिया लेखिनँ भनेर माफी माग्नुपर्छ कि पर्दैन थाहा छैन । मित्र ब्लगहरुमा प्रतिक्रिया नलेख्नु अपराध हो भन्ने घोषणा नहुञ्जेल माफी माग्नु नपर्ला भन्ने सम्झन्छु । भैगो माग्दिन तर मैले मित्र ब्लगको ढोका नखोल्दा पनि मित्र ब्लगरहरुले मेरो ब्लगमा प्रतिक्रिया लेख्नुभएको प्रति मैले हार्दिक आभार प्रकट गर्नैपर्छ ।

गरें ।

ब्लगरहरुको सुचीबाट म हराईहाल्दिंन अहिले नै त्यसैले यो कविता ल्याएको छु । २०५७ सालको भदौ २५ गते कुपण्डोलबाट लेखेको यो कविताको मैले शिर्षक राखेको रहेनछु । शिर्षक आफैं राख्नुहोला र कविताको अन्त्यको 'छ' यतिखेर थियो भैसकेको छ त्यसैले त्यसपछिको कविता आफैं लेखेर पढ्नुहोला ।

पेश गरें -

खुट्टा तन्काएर तनक्क
डङ्ग्रङ्ग पल्टिएको घोडालाई
मरेको ठानेर तिनीहरुले
अत्यन्तै परिश्रम पूर्वक
गहिरो खाडल खनेर
जब तम्तयार भए पुर्नलाई
यसैबीच त्यो आयो
हप्काएर तिनीहरुलाई
त्यहि घोडा चढेर
खाडल नाघेर गयो
विचरा तिनीहरु
हिस्स परे
जिल्ल परे
त्यो गयो
खाडल नाघेर गै गयो
तर तिनीहरुले अझसम्म
खाडल पुर्न सके
खाडल तर्न सके
यस्तैमा दृश्य सकियो
पर्दा खस्यो
यो नाटक रहेछ
धारावाहिक हो क्यारे
त्यसैले
बाँकी दृश्य हेर्न
पर्खनै पर्ने भएको

6 comments:

Aakar said...

ओहो ! नेपाल आएर फर्किसक्नुभएछ है ! केही छैन, अब त ब्लग रेगुलर होला नि ! यो बन्द र हड्ताल बाहेक अरु सबै त राम्रो छ नि है, नेपाल को !!!
:)

Basanta said...

गज्जबको कविता यार! यो कविता पढेपछि मैले त तपाईँसंग भलाकुसारी नगरेको धेरै भएको भन्ने कुरानै बिर्सिएँ। अरु कोसेलीको प्रतीक्षामा मुख बाएर बसेको छु है:)

यो सटीक-सुन्दर कविताको शीर्षक 'समय' कसो होला?

Jotare Dhaiba said...

नेपालको 'हावापानी' त यस्तै हो भनेर तयारी सोच लिएर आउनुभएको भए वेश हुनेथ्यो शायद । यस्तै हो यहाँ भन्ने चित्त बुझ्ने बाटो हुन्थ्यो । आउँदा बाजा बजाएर आउनुभयो, जाँदा सुटुक्क हराउनुभयो । शायद कसैलाई वियोगको चपेटा दिन रुचाउनुभएन वा परिस्थीति नै त्यस्तै थियो ।
ब्लग लेखनको कुरा त सुयोग मिल्दा जीवनबोध गर्ने कुरा भयो, प्रतिकूलतामा वा आत्मीयजनसँगको संलाप छाडेर यसैमा हराउने कुरै आउँदैन । अब फेरि ब्लग-पुल मार्फतको नाता डोरिने नै छ ।

कविता २०५७ सालको भए पनि ६७ सलसम्मै अझ यो भन्दा बढ्ताको आयु बोकेर आएको झलक मिल्यो ।

डीआर न्यौपाने'सूर्य' said...

बिदाका रमाइला खुराकहरुको पोको बिस्तारै खुल्नेछ भन्दा निकै खुसि लाग्यो दीपक जी। मिलन बिछोडको जिन्दगीमा भाग्यको डोरोमा कसिनु नै हाम्रो दायित्व रहेछ।
करिब दशक पार गरेको कविता भएपनि शताब्दीयौ बाचिरहने खालको लाग्यो मलाई।

वेद नाथ पुलामी said...

न खाडल पुर्न सके
न खाडल तर्न सके
यस्तैमा दृश्य सकियो
पर्दा खस्यो
यो त नाटक रहेछ
धारावाहिक हो क्यारे ..............

दिपक दाइ थोरै शब्द द्रारा पनि ठुलो ठेस दिन सक्नु भा'छ ! निकै गजब को लाग्यो !

Dilip Acharya said...

आउन पनि गज्जबको साईतमा आइपुग्नु भएछ यसपाला। जाँदा आउँदा दुवै वेलामा देशको 'हावापानी' विग्रेको थियो ।

म सोच्दैथिए जाने बेलामा एक पटक भेटसम्म गरौंला भनेर तर यसपाला यस्तै रह्‍यो ...।

अनि कविताको भने माथी साथीहरुले भनिसक्नु भयो । नेपालको ईतिहास हैन वर्तमान र भविष्य पनि छ त्यसैमा ।