Wednesday, June 13, 2007

गीत : तिमी बिना...

तिमी बिना तिमी बिना ...
तिमी बिना यो जीवन अधुरो
दिनको उज्यालो भयो मधुरो
तिमी बिना तिमी बिना ...

जुनेली रातमा चन्द्र मुहार तिम्रो कल्पिन्छु
एक्लै तिमी बिना
तारा माझमा हराउंदा तिमीलाई झस्किन्छु
एक्लै तिमी बिना ...

चिसो बतासले मेरो मुटु छुँदा तर्सिन्छु
एक्लै तिमी बिना
मिलनको आशमा मेरो मन रुँदा तड्पिन्छु
एक्लै तिमी बिना...

Tuesday, June 12, 2007

कविता : फरक

समय एउटै थियो
तिमीलाई पनि मलाई पनि
फरक थियो केवल हाम्रो गति
एकै काण्डबाट छुटेका
हामी दुई शाखा
संगै हुर्किरहंदा
तिमी अगाडी भयौ
द्रुत तिम्रो गतिले
मेरो गतिसंग
बिस्तारै यौटा अन्तराल बनायो
समानान्तर अगाडी बढिरहंदा
हामी दुईको बैचारिक उचाईमा
गतिलै खाडल देखापर्यो
खाडलको गहिराई मेरो विचार
सतह तिम्रो विचार
द्रुत समयमा
द्रुत तिम्रो गतिको तारिफ
मन्द मेरो गतिको आलोचना
आँखिर द्रुत समय संगै सबै सबै
तिम्रै गति समाउन चाहन्थे
मलाई दुनियांको पर्वाह थिएन
तिनको गतिसंग झण्झट थिएन
फगत म चाहन्थें
तिमी आफ्नो गतिसंगै
साँसारिक बुझाईमा
कुनै तुष नछाडी अघि बढ
संधै मैले तिमीलाई
आफुसंगै दुनियाँदारी बुझ भन्ने चाहें
मेरो कामना
दुनियाँले बुझ्ने आशै थिएन
जब तिमीले नै बुझेनौ
म अझै गहिराईमा खसिरहें
तिमी सतहबाट पनि
माथी उठिरह्यौ
निरन्तर
यो निरन्तरता
यौटा क्रममा चलिरहयो
हामीविचको खाडलमा
मलाई अझै गहिराईमा डुबाउन
तिमीलाई झनै सतहमाथी उठाउन
यहि क्रमले निशुल्क मदत गरिरहयो
द्रुत समय संगै
द्रुत गतिमा
तिमी मलाई गहिराईमै छाडेर
सतह भन्दा माथी
धेरै माथी उडिरहयौ
तिम्रो उडानको बेग
भनेकै थिएं मैले
एकदिन समाप्त हुनेछ
खस्नेछ उहि खाडलभित्र
जहाँ समानान्तर हामीबिच
खनेको थियो विचारले खाडल
आँखिर सकेन थाम्न समयले
तिम्रो बेगलाई र झर्दैछौ तिमी
जब आईपुग्नेछौ म सगै
झरेर तल तल
र थाहा पाउनेछौ
अन्तरालले समयको
तिमी र म बिच दुरी हाल्दा
के के भाँजो हाल्यो विचारमा
र छुट्यो बुझाईहरु जीवनको
आज जीवन बुझ्दा
थाहा पायौ तिमीले
हामीबिचको खाडलमा
गहिराई र सतहको अन्तर के थियो ?
को माथी र को तल थियो ?
र यहि नै हामीबिचको फरक थियो ।
नेपालीपोष्ट डट कममा प्रकाशित ।

Saturday, June 09, 2007

क्रमभंगताको क्रम ।

मे ७ तारिख मैले मेरो ब्लगमा पछिल्लो पटक यौटा गजल राखेको थिएं । आज जुन ९ तारिख भै सकेछ । यो एक महिनाको अवधीभर मैले के के गरें ? अब त म आफैंलाई याद रहेन । म कहाँ हराएं ? किन हराएं ? मैले अप्रिल टुर भनेर अप्रिल महिना तिर घुम्न गएको ठाउंहरुको बारेमा ब्लग राख्दैथिएं त्यो क्रम पनि त्यसै भंग भयो । यौटा क्रममा चलिरहेको मेरो जीवनमा क्रमभंगताको क्रम शुरु भयो । गरिरहेको काम बन्द भयो । काम खोज्ने क्रम शुरु भयो । बसिरहेको ठाउं छोडें , नयाँ ठाउं पुगिरहने क्रम शुरु भयो । लेखिरहने क्रम भंग भएर २ महिना बित्यो नयाँ लेख्ने वातावरण बनाउने क्रम शुरु भयो । ऐजन ऐजन प्रकारले के के भयो भयो । यो अवधीमा केहि नयाँ सोचहरु मानसमा टुसाईसकेका छन जस्लाई लेख्ने क्रम शुरु गर्नुपर्ने भएको छ । जीवनमा चलिरहेको क्रम अचानक भंग भएर क्रमभंगताको क्रम शुरु हुंदा मैले आफु संक्रमणकालिन स्थितीमा रहेको महसुस गरेको छु । बल्ल आजदेखि मैले नयाँ शुरु हुंदै गरेका क्रमहरुलाई ब्लगमा राख्ने क्रमको शुरु गरेको छु । तथापी यो क्रम लाई शुरुवात नभनेर निरन्तरता नै भन्नु मुनासिव होला ।

यो क्रमभंगताको क्रमले निरन्तरताको नयाँ क्रम शुरु गरेपनि या नयाँ क्रमको निरन्तरता कायम राखेपनि मेरो लागी त्यहि नै उपलब्धी हुनेछ ।