समय एउटै थियो
तिमीलाई पनि मलाई पनि
फरक थियो केवल हाम्रो गति
एकै काण्डबाट छुटेका
हामी दुई शाखा
संगै हुर्किरहंदा
तिमी अगाडी भयौ
द्रुत तिम्रो गतिले
मेरो गतिसंग
बिस्तारै यौटा अन्तराल बनायो
समानान्तर अगाडी बढिरहंदा
हामी दुईको बैचारिक उचाईमा
गतिलै खाडल देखापर्यो
खाडलको गहिराई मेरो विचार
सतह तिम्रो विचार
द्रुत समयमा
द्रुत तिम्रो गतिको तारिफ
मन्द मेरो गतिको आलोचना
आँखिर द्रुत समय संगै सबै सबै
तिम्रै गति समाउन चाहन्थे
मलाई दुनियांको पर्वाह थिएन
तिनको गतिसंग झण्झट थिएन
फगत म चाहन्थें
तिमी आफ्नो गतिसंगै
साँसारिक बुझाईमा
कुनै तुष नछाडी अघि बढ
संधै मैले तिमीलाई
आफुसंगै दुनियाँदारी बुझ भन्ने चाहें
मेरो कामना
दुनियाँले बुझ्ने आशै थिएन
जब तिमीले नै बुझेनौ
म अझै गहिराईमा खसिरहें
तिमी सतहबाट पनि
माथी उठिरह्यौ
निरन्तर
यो निरन्तरता
यौटा क्रममा चलिरहयो
हामीविचको खाडलमा
मलाई अझै गहिराईमा डुबाउन
तिमीलाई झनै सतहमाथी उठाउन
यहि क्रमले निशुल्क मदत गरिरहयो
द्रुत समय संगै
द्रुत गतिमा
तिमी मलाई गहिराईमै छाडेर
सतह भन्दा माथी
धेरै माथी उडिरहयौ
तिम्रो उडानको बेग
भनेकै थिएं मैले
एकदिन समाप्त हुनेछ
खस्नेछ उहि खाडलभित्र
जहाँ समानान्तर हामीबिच
खनेको थियो विचारले खाडल
आँखिर सकेन थाम्न समयले
तिम्रो बेगलाई र झर्दैछौ तिमी
जब आईपुग्नेछौ म सगै
झरेर तल तल
र थाहा पाउनेछौ
अन्तरालले समयको
तिमी र म बिच दुरी हाल्दा
के के भाँजो हाल्यो विचारमा
र छुट्यो बुझाईहरु जीवनको
आज जीवन बुझ्दा
थाहा पायौ तिमीले
हामीबिचको खाडलमा
गहिराई र सतहको अन्तर के थियो ?
को माथी र को तल थियो ?
र यहि नै हामीबिचको फरक थियो ।
नेपालीपोष्ट डट कममा प्रकाशित ।
No comments:
Post a Comment