Sunday, July 30, 2006

अर्को आगलागी ।


कोलोराडो राज्यको दक्षिण भेगमा अवस्थित सानो , सुन्दर र प्रसिद्द पर्यटकिय नगरी डुराङ्गोको मुटुमा पर्ने एलरान्चो नामको सन १८९२ मा निर्मित , ११० बर्ष भन्दा पुरानो चार तल्ले भवनमा हिजो जुलाई २९ को अपरान्ह १ बजे भन्दा केही अगाडी सुरु भएको आगलागी ३.३० बजे तिर मात्र नियन्त्रणमा आउन सकेको थियो । झन्डै ५० अग्नी नियन्त्रकहरु खटिएको बताउने डुराङ्गो आगजनी तथा उद्दार नामक सरकारी सँस्थाका अधिकारी डेभले बिगत ३१ बर्ष यता ब्यावशायिक भवनमा यो ठुलो आगलागी भएको जानकारी दिदै मैले देखे मद्धेमा यो पनि एक डर लाग्दो आगलागी हो भने ।

चार तल्ले उक्त भवनको भुईं तल्लामा पूल हाउस सहितको बार सन्चालित थियो भने तेस्रो तल्ला अपार्टमेन्टको रुपमा प्रयोग गरिएको थियो । डुराङ्गो हेराल्डका अनुशार उक्त अपार्टमेन्टमा झन्डै २४ ब्याक्तिहरु भाडामा बसेका थिए । तेस्रो तल्लाबाट सुरु भएको आगो एकदम चाँडो तेस्रो र चौथो तल्लामा फैलिएको थियो । आगो कसरी सुरु भएको थियो भन्ने बारेमा पुलिश तथा अग्नि नियन्त्रण सङ सम्बद्द ब्यक्तिले अनुसन्धान पश्चातमात्र थाहा हुने बताएका भए पनि डेभले यो आगलागी ज्यादै सँकास्पद भएको बताएका थिए ।

उक्त भवनका मालिक चिप लिले भन्छन "के भै रहेको छ भन्ने थाहा लग्दा म बार भित्र थिएँ । यो ज्यादै नराम्रो भयो । अब अगडी के हुने हो मलाई थाहा छैन । " उनि आफु र आफ्नो घर भन्दा पनि उक्त घरमा बस्नेहरु र छिमेकिहरु प्रति चिन्तित देखिएका थिए ।

अग्नि नियन्त्रकहरुले उक्त जलिरहेको घरको तेस्रो तल्लाबाट ६ जनालाई उद्दार गरेका थिए भने एक जना उक्त घरको तेस्रो तल्लाबाट उक्त घर सङै जोडिएको अर्को घरको छतमा फाल हानेका थिए जस्को खुट्टामा चोट लागेको भएपनि अवस्था सामान्यनै थियो । उक्त घरमा बस्ने ४ ब्यक्ति र २ अग्नि नियन्त्रकहरु पनि सामान्य घाईते भएको उक्त आगलागीमा मानबिय क्षति भने भएन ।

Saturday, July 29, 2006

कविता : भत्सर्ना

भत्सर्ना

दीपक जडित

खै कुन मर्यादालाई
पालना गर्‍यो उस्ले
र मात्रै मैले मौन बस्नु?
पर्दा भित्र सत्य
देखि देखि पनि
पर्दा बाहिर जालो
पन्छाउन नसक्ने तिनीहरुलाई
कसरी मात्रै मैले समर्थन गर्नु?
फूलको गुच्छा भित्र आज
बिषालु सर्प लुक्न सक्छ भने
अबोध मुटु भित्र आज
समस्त राष्ट्र दुख्न सक्छ भने
म पनि अब मौन बस्ने छैन
बिषालु सर्प लुकाई हिंड्ने
सपेराका हुलहरुको
सम्पूर्ण राष्ट्र दुखाई हिंड्ने
राक्षसका कुलहरुको
मैले घोर भत्सर्ना गरेको छु ।

Thursday, July 20, 2006

आमा मैले दौरा सुरुवाल नलाउँदा के हुन्छ ?

कविता

दीपक जडित

आमा मैले दौरा सुरुवाल नलाउँदा के हुन्छ?

आमा ,
मलाई आशिर्बाद नदेउ
म त्यहाँ जानु नपरोस्
जहाँ गएर कुर्शी माथी बसे पनि
कुर्शीको भारले थिचिनु पर्छ
जहाँ गएर अधिकार लिएर बसे पनि
अरुकै अधिकारमा दबिनु पर्छ
मलाई हिमालमा जन्माएर तिमीले
तिमीहरु सबै सबै
एकै सन्तान हौ भनेकी थियौ
मलाई मधेशमा हुर्काएर तिमीले
तिमीहरु सबै सबैको
समान हक अधिकार छ भनेकी थियौ
आमा
तर आज म हेपिएको छु?
सबैकी तिमी यौटै आमा भएपनि
फरक फरक दुस्ट बाउहरुको कारण
अधिकारको अँशमा ठगिएको छु
तिम्रो पुष्ट यौवन सँग खेल्ने
मेरा दुष्ट बाउहरुले
कहिल्यै तिम्रो सम्मान गर्न जानेनन
अझै पनि किन आमा
तिनिहरु कै नाउँमा सिउंदो रँगाउछौ तिमी ?
तोडिदेउ नाता अब ति दुष्टहरु सँग
जस्ले तिम्रो जवानी सँग खेलबाड मात्रै गरे
छाडिदेउ अब ति पापिहरुको सेवा गर्न
जस्ले तिम्रो नारीत्वको सम्मान गरेनन
आमा ,
आज म मधेश देखि हिमाल सम्म
तिम्रो पाउमा बाँधिएको दाशताको
साङ्लो फुकाउन जुर्मुराएर उठेको छु
मेची देखि काली सम्म
आफ्नो अधिकार खोसेर लिन
मुठ्ठी कसेर उठेको छु
हिमालको चिसो सिरेटोमा
दोचा र बख्खु लगाएर उठेको मैले
पहाडको न्यानो हावापानीमा
भोटो र कछाड लगाएर उठेको मैले
मधेशको प्रचन्ड गर्मीमा
कुर्ता र धोती लगाएर उठेको मैले
त्यहाँ गएर फेरी
दुष्ट बाउहरुको दबाबमा
दौरा सुरुवाल नै लगाउनु पर्छ भने
मैले जात , जाती र भाषा , सँस्कृतीको
निमित्त आवाज उठाएको के अर्थ हुन्छ ?
त्यसैले मलाई आशिर्बाद नदेउ
आमा म त्यहाँ जानु नपरोस
मलाई त्यहाँ गएर
दुष्ट बाउहरुको गोडा छुन मन्जुर छैन
मलाई त्यहाँ गएर
दौरा सुरुवाल लाउन मन्जुर छैन
तिमीनै भनन आमा
मैले दौरा सुरुवाल नलाउंदा के हुन्छ ???

Published on nepalikavita.com

Wednesday, July 19, 2006

कथा : आमाको विवाह

आमाको विवाह

तृष्णा राज्यश्री कुवंर

आज मेरी आमाको विवाह रे घरमा पाहुनाहरूको भीडभाड छ । आमाका साथीहरू आएका छन्, सानीमा, ठूलीआमा र हजुरआमाहरू आउनुभएको छ । सबैले आमालाई सिंगार्दैछन्, आमा राम्रा नाना र चाचाहरू लगाई दङ्ग परेर बस्नुभएको छ । आज आमाले मलाई एकपटक पनि बोक्नुभएन, गाला टोकेर माया गर्नुभएन । मलाई देखे पनि नदेखेझैं गरिरहनुभएको छ । आज म आमाको काखमा बस्न पनि पाएकी छैन । उता जान खोज्दा सबैले रोक्छन्, आमाले पनि बोलाउनुहुन्न 'आमा एकपटक हात फैलाउनु न, मलाई अंगालोमा लिनू' आमाको ढोकासम्म पुगंे, तर भन्न सकिन । हिँजोदेखि मलाई आमासँग सुत्न नदिई हजुरआमासँग सुताउन थालेका छन् । अब आमासँग अर्कै मान्छे सुत्ने रे । आमाले विवाह गरेर त्यो मान्छेलाई मेरो ठाउँमा सुताउनुहुन्छ रे ।
मलाई आमाले विवाह गरेको पटक्कै मन परेको छैन, त्यो मान्छेले गर्दा म एक्लै हुनुपरेको छ । त्यो मान्छे र उसका साथीहरू धेरै पटक हाम्रो घरमा आए, आमाका साथीहरूले मलाई आफ्नै छोरीजस्तै गरी राख्नुपर्ने कुरा गरेको मात्रै मैले बुझें । म साथी हुँदाहुँदै आमा कसरी एक्ली हुनुभयो ? हो हाम्रो घर छैन, मेरा बाबा हुनुहुन्न, तर आमा एक्ली कहाँ हुनुहुन्छ र ? म साथी छँदैछु नि । मैले आमालाई 'आमा' घर कसले बनाउँछ ?' भनेर सोध्दा इन्जिनियरले' भन्नुहुन्छ । इन्जिनियरले अरू के-के बनाउँछ आमा ? मैले फेरि सोधें, भनंे- 'पुल, सडक' भन्नुहुन्छ' आमा म ठूली भएपछि धेरै पढेर इन्जिनियर बन्छु, अनि पुल, सडक केही नबनाई घर यस्तै बनाउँछु है अनि हामीजस्तै घर नभएकालाई दिन्छु नि ।' मैले यसो भन्दा आमाले आँखाभरि आँसु लिएर मलाई माया गरेको सम्झन्छु । जहिले पनि आमाको आँखा भरियो कि मलाई तानेर माया गर्न थाल्नुहुन्छ । मलाई हेर्दाहेर्दै आमाका आँखाको आँसु त्यहीँ सुक्छ । आमा रुँदा गालासम्म आएको आँसु पुछिदिन्छु अनि मेरा मसिना औंलाहरूलाई आमाले ओठमा टाँसिराख्नुहुन्छ ।
मलाई आमाको अंगालोमा मात्रै निद्रा लाग्छ । आमाको न्यानो छातीमा टाँसिन नपाएर हिँजो मलाई निदैै्र लागेन । आमा आएर मलाई आफ्नै कोठामा लानुहुन्छ कि ? आफ्नै छातीभित्र लुकाउनुहुन्छ कि जस्तो लागिरह्यो । अब मैले एक्लै सुत्ने बानी पार्नुपर्छ रे । हजुरआमा पनि २-४ दिनमा गाउँ जानुहुन्छ अनि म त झन् एक्लै हुन्छु । त्यो मान्छेले मेरी आमा खोस्यो हुन त ऊ जहिले आउँदा पनि मलाई नाना, चाचा र पापाहरू ल्याइदिन्छ, मलाई माया गरेर बोक्छ तर किन-किन त्यो मान्छे मलाई पटक्कै मन पर्दैन । उसले आमालाई र आमाले उसलाई माया गरेको त म झन् देख्नै सक्दिन । उनीहरू धेरैबेर कुरा गरेर बस्छन्, त्यो मान्छे आएपछि आमाले मलाई माया गर्न बिर्सिएजस्तो लाग्छ । घरीघरी चकचक नगर भनेर गाली मात्रै गर्नुहुन्छ । उनीहरूले कुरा गरेको सुनेको- 'जहाँ बसे पनि डेरैमा बस्नुपर्ने हो, विवाहपछि पनि हामी यही घरमा बस्ने है ।' अब त्यो मान्छे आज यहीँ आउँछ, आमासँगै सुत्छ, उठ्छ, आमासँगै खान्छ, अफिस जान्छ, घुम्न जान्छ । अब आमाले मलाई घुमाउन पनि लानुहुन्न कि ? ऊसँग मात्रै जानुहुन्छ होला । 'आमा आमा आमा मलाई सधै घुमाउन लानुहोस् है ।' म दौडदै बैठक कोठामा गएर आमाको रातो साडी तान्दै भन्छु । हुन्छ नानु तिमी, म र बाबा भोलि नै घुम्न जाने है' आमा मलाई म्वाई खाँदै भन्नुहुन्छ । 'नाईं त्यो नयाँ बाबासँग नजाने । हजुर र म मात्रै जाने है आमा ।' मलाई आमाले त्यो मान्छेलाई बाबा भन्न लगाएको मनै परेन । 'त्यसो भन्नुहुन्न, नयाँ बाबाले नानुलाई माया गर्नुहुन्छ, पापा-नाना ल्याइदिनुहुन्छ, पढाउनु- लेखाउनुहुन्छ, घुमाउनुहुन्छ ।' सानीआमाले फकाएर मलाई बोक्नुभयो ।
'नाईं त्यो नयाँ बाबालाई म मारिदिन्छु ।' म आमाको काखमा लुक्न खोजें । 'मेकअप बिग्रन्छ' ठूलीआमाले च्याप्प पाखुरा समाएर तान्नुभयो 'यसले पाउन त उदार मन भएको विशालजस्तो केटा पाई तर बच्चीले समस्या खडा गर्छे जस्तो छ, केटाले त माया गर्छ नि यसलाई त्यो केटी मोरी आफै अभागिनी छे, कुकुरलाई घिउ नपचेको ।' ठूलीआमाले मलाई त्यो कोठाबाट निकाल्न खोज्नुभयो । 'त्यै त नि, अहिलेदेखि नै परपर हुन खोज्छे । नजिक-नजिक भए पो माया लाग्छ । यसले यस्तै बेहोरा देखाई भने आफै दुःख पाउँछे' संज्ञा मामुले पनि यस्तै भन्नुभयो ।
'सुरुसुरुमा बच्चालाई आफ्नो भाग खोसिएझैं लाग्नु स्वाभाविक हो । लोग्नेमान्छेका बारेमा सधै नकारात्मक कुरा सुनेर पनि उसलाई यस्तो भएको हो, विस्तारै सबै ठीक हुन्छ ।' सिना मामुले भनेको कुरा के हो ? मैले बुझ्न सकिन । उहाँको काखबाट फुत्केर आमाछेउ जान मन लागेको छ । 'यसले रातदिन यस्तै गरी भने विशालसँग यसैका कारणले मनमुटाव हुने होला ।' आमाको कुरा सुनेर हजुरआमा पनि भित्र आउनुभयो । यसलाई होस्टलमा राख्नुपर्छ, हामी राखौं भने हाम्रा आफ्नै बच्चा छन्, फेरि तैंले एक्लै......राखेकी केटी साह्रै चकचके छ । सानीमाले मलाई बदमास भन्नुभयो ।
होस्टल राख्न त अझै सानै छ, भरर्खरै ५ वर्ष पुगी, पाप लाग्छ वा बरु मै पाल्छु, धर्म पनि हुन्छ ।' हजुरआमाले मलाई तान्नुभयो ।'हुन त हुन्थ्यो तर गाउँमा राम्रो स्कुल छैन, त्यो झन् बिग्रन्छे । आमाको आँखामा विवशताको आँसु छल्कियो ।
सबैले मलाई दोषी र अपराधीका रूपमा हेर्दैछन्, यसमा मेरो के दोष ? आफ्नी आमाको माया पाउन खोज्नु मेरो दोष हो ? आमालाई अरूसँग बाँड्न नखोज्नु मेरो गल्ती हो ? आज मलाई आमासँग खुब रिस उठेको छ । सबैले मलाई गाली गर्दा पनि केही नबोली बस्नुभएको छ । मैले आमालाई कति भन्नु त्यो मान्छे मलाई मनपर्दैन मनपर्दैन मनपर्दैन मैले यही कुरा एउटा पानामा लेखेर आमाको व्यागमा हालिदिएँ, आमा हिँड्ने बेलामा भुइँमा चिठीजस्तो बनाएर खसालें, काम गर्ने दिदीले त्यो पाना भेटेर दिँदा रुनुभयो तर विवाह गर्दिन भन्नुभएन । पूजाकोठामा भगवान्ले सुन्ने गरी चिच्याएर भनें, आमाले देख्ने गरी भगवान्को फोटोअगाडि यही कुरा लेखेर राखें । होमवर्क चेक गर्दा मिसले कपीमा लेखेको कुरा आमालाई स्कुलमै बोलाएर देखाउनुभयो, एउटा केटा मान्छेमाथि क्रस चिन्ह बनाएको, सानी केटीको आँखाबाट बगेको आँसुको ड्रइङ पनि आमाले बुझ्नुभएन ।'
दिउँसो त्यो मान्छे बसेर गएको बेडमा सुत्न नमान्दा आमाले एक दिन तन्ना फेर्नुभएको कुरा पनि बिर्सनुभयो । त्यो मान्छे घरमा आएपछि मलाई कौसीमा बादल उडेको हेरेर बस्न मन लाग्छ । कत्ति बोलाउँदा पनि भित्र जानै मन लाग्दैन, आमाले यो कुरा खोइ बुझेको ? जहिले पनि तिमीलाई आमा मात्रै भएर हुँदैन । बाबा पनि चाहिन्छ' भन्नुहुन्छ । चाहिएको छैन मलाई बाबासाबा । आमा मात्रै भए पुग्छ, बाबाले त आमा खोस्छ, त्यस्तो बाबा के काम ? त्यो मान्छेको अंगालोमा आमा रोएको मैले देखेकी छु । किन रोएको होला ? सानो मान्छे पो रुन्छन् । त्यति ठूली आमा पनि रुनुहुन्छ काहीँ ? त्यो मान्छेलाई आमाले निकै रुचाउनुहुन्छ । आमाले मात्रै रुचाएर भयो ? हामीसँगै बस्ने भनेपछि मैले पनि त रुचाउनुपर्‍यो । आमाले त्यो मान्छेलाई मलाई भन्दा धेरै माया गर्नुहुन्छ । आमाले किस गरेको त्यो मान्छेको फोटो च्यातिदिँदा मेरो गाला चड्किने डर लागेको थियो 'नानु त्यो मान्छे भगवान् हो' आमाले मलाई काखमा लिएर धेरै कुरा सम्झाउन खोज्नुभयो तर मैले केही बुझिन । मलाई त्यो मान्छेले आमालाई छोएको पनि मन पर्दैन । रेस्टुराँमा आमासँग मात्रै जाँदा मःम, आइसक्रिम खान अति मनपर्छ तर त्यो मान्छेसँगै जान थालेदेखि मलाई केही खानै मन लाग्दैन । दुवैजना कुरा मात्रै गरेर बस्छन्, मेरो कुरा सुन्ने आमाले अब अर्कैको कुरा सुन्नुहुन्छ ।
मेरी आमा आज सिंगारिएर राम्री भएर बस्नुभएको छ । मेरा सबै साथीकी आमाभन्दा मेरी आमा कति राम्री हुनुहुन्छ । आमा अझ राम्री देखिँदा पनि मलाई खुसी लागेको छैन । आज आमा मेरा लागि होइन त्यो मान्छेका लागि सिंगारिनुभएको हो । अब सबैले आमालाई मन्दिरमा लिएर जान्छन् । बेलुका भोज छ रे कता हो तर मलाई लानुहुँदैन भन्छन् । आमाको विवाह हेर्नुहुँदैन रे । आमाका साथीहरूको विवाहमा, पिकनिक पार्टीमा जहाँ पनि आमाले मलाई चिटिक्क पारेर लानुहुन्छ तर आज आफ्नै विवाहमा भने घरमै छाडेर जाने रे । उता विवाहमा कति रमाइलो होला यता म भने काम गर्ने दिदीसँग एक्लै बस्नुपर्ने भयो । आमाको मनले मलाई एक्लै छोड्न कसरी मानेको होला ? हिँड्ने बेलामा आमा मलाई अंगालेर रुनुभयो 'मेरी आमा निष्ठुरी ।' मैले हिँजो राति पनि भनेको 'आमा त्यो मान्छेसँग विवाह नगर्नुहोस् बरु मसँगै विवाह गर्नुहोस्, त्यो मान्छेसँग नसुत्नुहोस् बरु मैसँग सुत्नुहोस् ।' म आमाका साथीहरूले खुब सजाएर मगमग पारेको कोठाको भित्ताभरि त्यही कुरा लेख्दैछु । काम गर्ने दिदीको थुप्रै काम छ उनी भान्सातिरै छन् । मैले मौका पाएको बेलामा आमाको ड्रइङ पनि भित्तामा बनाएर आइ लभ यु मम लेखंे । त्यो मान्छेको भूतको जस्तो अनुहार पनि बनाएँ । मेरो कुरा कसैले सुनेन । आमाले पनि सुन्नुभएन । कसैले पनि आफ्नो कुरा नसुनेपछि फिलिममा कालो कोट लगाउने मान्छेले 'जज साब' भन्दै कराउँछ अब म पनि एउटा बूढोबूढो मान्छे भित्तामा बनाउँछु । जब साब त्यो मान्छेलाई पनि फाँसी दिनुहोस् है ।' एकपटक होइन । त्यसलाई तीनपटक फाँसी दिने है 'जज साब'-'जज साब' । मेरो कुरा सुन्नुहोस् है' म भित्ताभरि कोर्दैछु ।

नारी पत्रीकाबाट साभार यो कथा मलाई धेरै मन परेर राखेको हुँ मलाई थाहा छैन यो कथालाई मैले मेरो ब्लगमा राख्न पाउंथे कि पाउंनेथिईन तर मैले नारी पत्रीका बाट साभार हो भनेको छु ।

Tuesday, July 18, 2006

गजल

गजल

दीपक जडित

कति मरुँ मनहरु सँगै आयु थपिमागेको छु ।
साँच्चै बाँच्नु पर्‍यो अब नयाँ योजनामा लागेको छु ।१

आफ्नै मनको डाँडा काँढा खोंचहरुमा हराको'थेँ ,
कोसिस् गरी आजै मनको पहाड पनि नाघेको छु ।२

सँधै भरी रुवाईरहने कुन्नी कस्तो मोह सँग ,
जम्का भेट पो होला कि भनि परपरै भागेको छु ।३

आशाहरु यती छन कि भोली पाउने खुशी अनि ,
उमंग भर्न मनको झोला खाली पारी राखेको छु ।४

भोली नयाँ घाम सँगै सुनौलो यात्रामा अघि बढ्न ,
आतुर छन पाईलाहरु कहाँ पो म थाकेको छु ।५

Sunday, July 16, 2006

गीत

गीत

दीपक जडित

तिम्रो लागी धेरै धेरै खुशीहरु साँचेकी थेँ
दुई दिन मात्रै भए पनि तिम्रै लागी बाँचेकी थेँ ।

तिमी सँग हिड्दा हिंड्दै बाटो मैले हराई गएं
पापीनी नभन मलाई नचाहेरै टाढा भएं
टाढाबाट पनि अझै तिम्रै माया साँचेकी छु
छामीहेर म त तिम्रै मुटु भित्र बाँचेकी छु ।

धेरै आँशु झारी सक्यौ अब अरु नझारीदेउ
यती ठुलो संसारमा आफुलाई एक्लो नपारीदेउ
सबै खुशी जित तिमी जस्लाई मैले हारेकी छु
तिम्रो सबै दु:ख मैले आफुतिर सारेकी छु ।

हुनत मेरो एक अन्जुली माया अझै बजारमा आईसकेको छैन शायद अगस्ट्को दोस्रो साता सम्ममा बिमोचनको लागि तयार भएर त्यसपछी बजारमा आउछ होला । त्यस् पछीको अर्को अल्बम अबोध परेलीहरु हुनेछ जस्को म प्रस्तोता र १ , २ वटा गीतको गीतकार मात्र हुनेछु र त्यो अल्बम मेरो छोरी दीन्जुश्री र सुधा शर्मा ( भान्जी) को हुनेछ । त्यसपछी मैले पुन्: एक अन्जुली माया को दोस्रो भाग निकाल्ने बिचार गरेको छु । अहिले एक अन्जुली मायामा ९ जना गायक र १ जना मात्र गायिका हरु हुनुहुन्छ भने भाग २ निकाल्दा ९ जना गायिकाहरु र १ जना गायक राख्ने बिचार गरेको छु र माथिको यो गीत शायद एक अन्जुली माया भाग २ को लागी हुनेछ ।

उच्च हिमाली भु-भागमा पाईने फूलहरु ।

अमेरिकाको कोलोराडो राज्यमा पर्ने उच्च हिमाली भु-भाग मा पाईने केही जङ्गली फूलहरुको फोटो खिचेको थिएं केही अगाडी । ति नै फोटोहरु म यहाँ शेयर गर्दै छु । Corn Lily नाम गरेको यो फूल फुल्ने बेलानै भएको रहेनछ ।


यो फूलको नाम अहिले याद रहेन फेरी सोधेर लेख्ने छु ।


pasque भनिने यो फूल हाम्रो तराईको पोखरीहरुमा पाईने एक प्रकारको फूल (नाम थाहा भएन) जस्तै लाग्यो ।
Kings crown भनिने फूल ।


Indian paint brushभनिने फूल,यो सबैभन्दा राम्रो लाग्यो मलाई । this post is under construction.

Saturday, July 15, 2006

LAMENTATION

LAMENTATION

Deepak Jadit

Listen , dear!
You are already got
Erased by time
For the world
And so for me
Gradually.
Still I am
Trying to hold you
Up in my chest
Those days often
I do recall
To refersh you
In my memory
Being tight
In your arms
Sitll I warmed up
Getting wet with
salted sweat
I can't forget
Your lovely kiss yet
sometime
I catch you
In to my suitcase
Where you are
Kept harmoniously
Layer by layer
With your photos
With your letters
With your clothes
Now , There is
No more smells
In your clothes
But when
I touch them
I can smell you
In my mind
Where you are
Alive forever
It halts me
And my life
For a moment
But life
must go on
My dear!

Friday, July 14, 2006

कविता : धेरै पहिले , अस्ती भर्खरै र आज ।

धेरै पहिले ,
एक रात
हाम्रो अँध्यारो बस्तीमा
तिनीहरु चोर झैं लुसुक्क आए
र रात अबेर सम्म
हामीलाई जागा बसाएर
भने
हामी तपाँईहरुको
बस्तीमाथी मडारिएको
कालो बादललाई
हटाएर छाड्ने छौं
हाम्रो साथ दिनुहोस्
भोली झुल्किने घाम
तपाँईहरुकै हुनेछ
तिनीहरुको
गुलियो बचनको मोहमा
हामीले तुरुन्तै साथ दियौं
र भोली झुल्किने घाम हेर्न
के सुतेका थियौं
अबेर सम्म भुसुक्कै निदाएछौं
जब बिउंझियौं
रेडियो बाट
मौसम सफा रहेको
जानकारी गराईदै थियो
तर हाम्रो बस्तीमा
बर्षौं देखि रहेको झरि बादल
जस्ताको तस्तै थियो ।
अस्ती भर्खरै फेरी
तिनिहरु तेसैगरी आए
र सपना देख्न बिर्षीसकेको
हाम्रो आँखाहरुमा
नयाँ सपनाको खेती गर्दै
न्यानो घामको कुरा गरे
नयाँ बिहानीको कुरा गरे
बर्षौं देखि भोग्दै आएको
च्यार च्यारे झरि सँग आजित
हामीले फेरी
तिनिहरुको साथ दियौं
र काँध हालेर उचालिउँ
आज जब
भुक्भुके उज्यालो छिचोलेर
मिर्मिरे बिहानी देखा पर्‍यो
तब तिनिहरु स्वयम
मध्यान्हको प्रचण्ड
घामसँग डराएर
हाम्रै बस्तीमाथि
कालो बादलको खेती गर्न थाले ।

नेपाली कविता डट कममा प्रकाशित ।

गीत : मैले लाएको माया

गीत

दीपक जडित

मैले लाएको माया झुठो ठानेउ कि तिमीले
भुलेउ कि सँगै बाँच्ने कसम खाएको हामीले
र एक्लो भएँ म आज आउन्नौ तिमी म सँग
सपनाको हाम्रो संसार बनायौ भताभुङ्ग ।

दुनियाँ हाँस्छ म देखि हाँसोस् म रोईदिउँला
तिम्रो नाम लिएरै बरु सनकी म होईदिउँला
श्रीष्टीमा जब सम्म रहला यो आकाश र धरती
राख्ने छु साँचेर चोखै तिम्रो मेरो पिरती ।

बर्षन्छ तिम्रो माया जलका प्रतेक कणमा
बसेउकी गएर तिमी नभका सितारा गणमा
प्रलय भएर बरु भत्केला मेरो धरातल
भत्कन्न कहिले पनि तिम्रो मायाको सत्तल ।

रमाईलो गर्ने हैन ?

क्या है यार ? तुम जो भि कहो । हुँ तो मै सलमान खान अपने भारत कि सान । यो फोटो सुधा शर्मा बाट पाएको हो ।
यो बाटो तिमीहरुको मात्रै हैन यार , म पनि छोराछोरी सँग बाटो पारी जान पाँउछु कि?

The living Laughing god with laughing god. (हाँस्ने देउता सँग जिउँदो हाँस्ने देउता । ) फोटोहरु नेपाली मन ब्लग बाट लिएको हो ।

Thursday, July 13, 2006

THE PARALYSED DREAMS

The paralysed dreams

Deepak Jadit

Yes . Of course ,
I had no dreams
Back in there
Where I
Used to be afraid
To have dreams
I didn't make
Any slogan like
No dreams no cry .
Althlugh I cried lot
I took every flight
Of a pigeon
I enjoied each happiness
Of all season
I had no boundary
Of my happiness
That was a life
satisfied dreamlessly
Now . In every aspects of life
I have dreams
I am covered completly
With these infected dreams
Can be said it-
A trapped spider
In to his own web .
Ha ! Ha !! Ha !!!
How can a spider
Be trapped in to his web ?
Silly !! Yes and so am I
Trapped in to own
paralysed dreams
On which I
Even can't step forward.

Tuesday, July 11, 2006

बधाई : नव दम्पतीलाई ।


गत असार २१ गते बैबाहिक बन्धनमा बाँधिएर दाम्पत्य जीवनमा प्रवेश गर्नुहुने मेरा परम स्नेही मित्रद्वय गणेश गौली र कुसुम बस्नेत प्रती हार्दिक बधाई अनि शुभ कामना ।

गत असार २२ गते बैबाहिक बन्धनमा बाँधिनु भएका मेरो आदरणिय दाजु डेगेन्द्र कार्की र लक्ष्मी बस्नेत (भाउजु ) प्रती मेरो हार्दिक बधाई र शुभ कामना ।

Monday, July 10, 2006

गीत


कोपिला फुल्छ किन फुलेर भुईँमा झर्न
मन तडपिन्छ किन मायाको जालामा पर्न ।

निराशा छ आँखाहरुमा खुशी तिमी भरीदेउ
सुस्केरा छ ओठ हरुमा मुस्कान छरीदेउ
मायाको तिर्खा मेट्न माया मलाई गरीदेउ
बसेर आँखमा फेरी आँशु भई नझरी देउ ।

पर्खाईमा बिताईदिएँ प्रतिक्षाको लामो घडी
रोईदिउँ कि बालख झैं गर्दै भुईंमा लडिबडी
तड्पेर म बसुँ कति सँधै एक्लो रात दिन
कसरी म सक्छु भन तिमीलाई भुलिदिन ।

दीपक जडित

जात्रै जात्रामा हराएको मेरो देश

दीपक जडित

जात्रै जात्रामा हराएको मेरो देश

भोटो जात्रा
डढेर चर्को घामले
कालो नांगो ढाड लिएर
पटपटी फुटेका पैतालाले टेकी
चिरचिरा भएको हत्केलाहरुले
बडा महाराजाधिराजलाई
बर्षेनी भोटो देखाउने मेरो देश
ए ! महाराज ,
यतीका बर्षसम्म तिमीले
भोटो मात्र देखीरहयौ
भोटो देखाउनेहरुलाई
र तिनिहरुको नांगो ढाडलाई
कहिल्यै देखेनौ
अब नयां संस्कृतीको निर्माण गरेर
तिनीहरु आफैं हेर्ने छन भोटो जात्रा
र नांगो ढाड छोप्नेछन ।

गाई जात्रा
चरम गरीबीको परिचय दिंदै
खाली खुट्टा, फाटेको सुरुवाल
र थोत्रे बोरा ओढेर
अनुहारमा पशुको मुखुण्डो लगाई
छाती भरी आ आफ्नो पिंडा लुकाएर
तिमी राजाहरुको सस्तो मनोरञ्जन बनि
फाटेको छाता ओढी
खुर्सानीको माला लगाएर
हुंदै नभएको तिम्रो पिंडा भुलाउन
बर्षोनी तिमीलाई हंसाउने मेरो देश
ए ! महाराज ,
यतीका बर्षसम्म तिमीले
जात्राको तमाशा मात्रै हेरीरह्यौ
जात्रा देखाउनेहरुको
जीवनको छट्पटी कहिल्यै हेरेनौ
अब नयां परम्पराको थालनी गरेर
तिनीहरु आफैंलाई देखाउनेछन गाईजात्रा
र आफ्नै पिंडा भुलाउने छन ।

घोडे जात्रा
दासताको नमुना पेश गर्दै
चार हात पाउ टेकेर
मुखमा लगाम लगाई
बोल्दै नबोली
आंखामा पट्टी बांधेर
दांया बांया सम्म नहेरी
पिठ्यूंमा अनावश्यक श्री धारी
तिमी महाराजाहरुको सवारी चढाएर
आ आफ्नो आवश्यकता बिर्षेर
बर्षोनी तिम्रो सेवा गर्ने मेरो देश
ए ! महाराज ,
यतीका बर्षसम्म तिमीले
जनताको पिठ्यूंमा चढेर
मात्रै हट् हट् घोडाको आनन्द लिईरह्यौ
पिठ्यूंमा तिमीलाई बोक्नेहरुको
जीवनका दैनिक आवश्यकताहरु
कहिल्यै महशुस गरेनौ
अब नयां रितीरिवाज बसालेर
तिनीहरु आफैं मनाउनेछन घोडे जात्रा
र आफ्ना दैनिक आवश्यकता पुरा गर्नेछन ।

कुमारी जात्रा
तेतिस कोटी देवताको बास भएको
पशुपतीको रक्षणमा
सिद्धार्थले रामबहादुर बम्जन जन्माएको
पवित्र भुमीमा
शक्ती प्राप्तीको निंती
पशु मात्रै कहां र ?
हजारौं नर बली चढाउंदै
जीवित देवी कुमारीको
गोडा ढोग्ने ढोंग रचेर तिमीले
लाखौं अरु देवीहरुको
बर्षोनी अस्मिता लुटेको मेरो देश
ए ! महाराज ,
एतिका बर्षसम्म तिमीले
देवताहरुको ब्यापार अनि
देवीहरुको लाजहरण मात्रै गरीरह्यौ
तिमीलाई रक्षा गर्ने
देवी देवताहरुको पुजन
कहिल्यै गरेनौ
अब नयां संसारमा टेकेर
तिनीहरु आफैं मनाउनेछन कुमारी जात्रा
र आफैं पुज्नेछन देवी देवतालाई ।

यसरी नै
जात्रै जात्रामा हराएको मेरो देश
बल्ल बिउंझिएको छ
बल्ल आंखा खोलेको छ
बल्ल उठेको छ
यौटा नयां युगमा प्रवेश गर्न
बल्ल पाईला चालेको छ ।

खडेरीको खेती बाट लिईएको यो कविता नेपाली कविता डट कममा प्रकाशित भएको छ ।

Sunday, July 09, 2006

ईटाली : बिश्वकप २००६ बिजेता



भलै मैले फूटबल महा-सँग्राम सम्बन्धी मेरो ब्लगमा कुनै कुरा अहिले सम्म लेखेको थिईनँ तर पनि मैले अठारौँ फूट्बल महा-सँग्राम प्रति चासो त राखेकै थिएँ । म यसपाली पोर्चुगलले फाईनल जितोस् भन्ने चाहन्थें तर त्यसो भएन फाईनलको लागी आज भिडेका ईटाली र फ्रान्स बिचमा ९० मिनेटसम्मको खेलमा दूबै पक्षबाट १-१ गोलले बराबरीमा टुंगिएपछि थप गरिएको अतिरिक्त समय ३० मिनेटमा पनि हारजित हुन सकेन । त्यसपछी पेनाल्टी किकमा इटालीले ५ र फ़्रान्सले ३ गोल गर्न सफल भएका थिए । यसरी यसपालीको फूट्बल बिश्वकपको बिजेता ईटाली हुन सफल भएको छ ।

नेपाल सरकारको ठगी जारी : जनता आँफै ठगिन चाहन्छन ।


माथिको फोटो कान्तिपुर अनलाईन बाट लिएको हुँ । फोटोमा प्री पेड मोबाईल फोनको सिमकार्ड फारम दर्ता गराउन महोत्तरीको जलेश्वर स्थित नेपाल टेलिकमको कार्यलय बाहिर मानिस् हरुको लाम देखिन्छ । कार्यालयले १५०० सिमकार्ड मात्र बितरण गर्ने भनेर दिन भरमा ३ हजार ३ सय ४१ फारम दर्ता गराएछ । जब १५०० सिमकार्ड मात्र बितरण गरिन्थ्यो भने किन नेपाल सरकारले त्यत्रो बिधी फारम दर्ता गराएर आफ्नो अनि जनताको समय नष्ट गरेको होला ? कतै फारम भरे बापत लिईने दस्तुरको लागी त हैन ? त्यसो त नेपाल सरकारको जनता ठग्ने मध्धेको एक परम्परा हो यो तर जनता ? ? ? जनता पनि किन जानी जानी अझै ठगिन जान्छन ? १५०० सिम कार्ड त टेलिकमका कर्मचारीका आफन्तलाई नै पुग्दैन नि ।

Saturday, July 08, 2006

एक अन्जुली माया : दश गीतहरु

दीपक जडित (म आँफै) को शब्दहरु र टिका भण्डारीको सँगीत रहेको गीती अल्बम एक अन्जुली माया , आधुनिक गीतहरुको सँगालो , भित्र रहेका दश गीतहरुका शब्दहरु म यहाँ राख्न गै रहेछु । जो यस अनुशार छन -


संसार अटाउने तिम्रो मुटु भित्र मेरो
एक अन्जुली माया अटाईदेउ
भन्थ्यौ माग्दिन अरु तिम्रो केही म
केवल यही नै कसम देउ ।

तोडेर कसमको बन्धन तिमीले मात्रै मलाई बन्दी बनायौ
लुटेर बसन्त मेरो जीवनको फेरी किन आगो सल्कायौ
डढेलो बोकेर छातीभित्र मेरो साँचेकै छु एक अन्जुली माया ।

तिम्रो कसमको परिधी भित्र अझै पनि त्यहीँ डुल्दैछु
सजाय यो कठोर सहेरै पनि मैले तिमीलाई नै सम्झेकै छु
सम्झना ओझेल परे तर तिम्रै लागी सांचेकै छु एक अन्जुली माया ।
शिर्शक गीत / स्वर : कर्ण दाश


खुशी त कहाँ जित्न सकिन्छ जिन्दगी हारेर
मनको सँघार नाघेर गयौ मन रित्तै पारेर ।

उजाड मनमा चल्दछ आँधी सपना उडाउछ
छाती भित्र नि बल्दछ आगो कलेजो डढाउछ
निर्मोही माया बिलाई कहाँ सम्झना छोडेर
मर्नु न बाँच्नु बनाई मनमा भाला नै रोपेर ।

बिर्षन पनि सकिन उसलाई सम्झिँदा रुवाउने
भिजेको चुल्हो झैँ भयो यो जीवन सधैं नै धुवाउने
निस्ठुरी गई छाडेर मलाई भुत्तुक्कै पारेर
आँशुको होली खेल्दै छु म त जिन्दगी हारेर ।
स्वर : दीप श्रेष्ठ

श्रीष्टी कै नियम रहेछ मर्नु मर्ने त गै जान्छन
सम्झेर बाँच्ने ले अरु के गर्नु आँशु बगाईरन्छन ।

भन्देउ न दाजु भन्देउ न दिदी अब त नरोए
मुस्काई बाँच्ने जिन्दगीलाई आँशुले नधोए
खै कस्ले पायो मरीजाने लाई बि र्ष नै पर्दछ
आँशुको प्रतेक थोपामा बुझ जिन्दगी झर्दछ ।

पूर्णेको जून तिम्रै लागी हो अँध्यारो नरोज
खुशीलाई पनि समेट्ने गर बेदना नखोज
टाढा छ तिम्रो मुटुको मान्छे बादल पारी देशमा
भेट्दै छौ होला सपनामा अझै मायालु भेषमा ।
स्वर : जगदिश समाल


आँधी आई त्यो रात मेरो सपना उडाईदियो
भेलबाढी आई त्यही रात मेरो जिन्दगी बगाईदियो ।

बगेर जीवन बगरभरी छरिएछ जताततै
माया गरेर यस्लाई बटुल्न कस्ले सघाईदियो
कुल्चेर सयौँ पाईलाहरुले दुखेको मेरो जीवनमा
कस्को मायालु हातहरुले मल्हम लगाई दियो ।

अनिंदो बितेका धेरै रातपछी अचानक आजै राती
आँखामा बसेर सपनाको कस्ले महल सजाईदियो
छिनेथ्यो हृदयका सारा तारहरु मनको मेरो सारङ्गी
मर्मत गरेर कस्ले अपूर्व यो धून बजाईदियो ।
स्वर : रबिन शर्मा


भन्थ्यौ तिमी फूल हो जीवन बल्ल आज मैले मानें
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।

दुई दिनको जिन्दगीलाई ब्यर्थै नष्ट गरी गयौ
मुटु भित्र छीया पारी वीरह गीत भरी गयौ
हिउँ जस्तै रै'छ जीवन घाम लागे पग्लिजाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।

पिर भोली रुँला भन्थ्यौ आज बरु हाँस्नु पर्छ
के थाहा र भोली कस्तो कर्म झेल्दै बाँच्नु पर्छ
सम्झनानै सँधै सँधै हिमाल झैँ अग्लिजाने
पारीजात रै'छ जीवन बिहान त झरीजाने ।
स्वर : रामकृष्ण ढकाल


बाटो कुर्दै देउरालीमा साँझ नपार्नु है
ढिलो चाँडो फर्की आउँला माया नमार्नु है ।

पाखाभरि ढकमक गुराँस् फुल्यो होला
मेरै गीत सुसाउछकी अझै पुवा खोला
पच्छौरिले चिया बारीमा ओझेल नपार्नु है
ढिलो चाँडो फर्की आउँला माया नमार्नु है ।

अन्तु डाँडा बाट झुल्के घाम हेर्दै छौ कि
फुकायौ कि मेरो माया अझै बेर्दै छौ कि
एक्लो पर्दा देउरालीमा हिम्मत नहार्नु है
ढिलो चाँडो फर्की आउँला माया नमार्नु है ।
स्वर : यम बराल


त्यो रातको कथा मेरो तिमीलाई सुनाउँदिन
भागी भागी टाढा भएँ तिमी सामु आउँदिन ।

ईन्द्रेणी परेको आकाशमा तिमीलाई ब्यर्थै खोजेँ
हजारौं फूलहरु छाडेर भिरकै फूल किन रोजें
यि आँखामा फेरी अब सपना सजाउँदिन
त्यो रातको कथा मेरो तिमी लाई सुनाउँदिन ।

निर्दोश मेरा यि आँखाहरुमा तिम्रो तस्वीर सजाएथें
कोमल मेरो यो हृदयमा तिम्रै संगीत बजाएथें
यो मुटु मा फेरी अब धून बजाउँदिन
त्यो रातको कथा मेरो तिमी लाई सुनाउँदिन ।
स्वर : आनन्द कार्की


सातै समुन्द्र तरेर गयौ चिट्ठी त लेख है
म पनि देख्छु सपनीमा तिमी मलाई देख है ।

बाँसुरी रुन्छ अँधेरी रातमा तिमी पो रोयौ कि
चस्केर दुख्छ बिदिर्ण मेरो मुटु पो छोयौ कि
उडाईदेला सम्झना मेरो त्यो हुरी छेक है
म पनि देख्छु सप नीमा तिमी मलाई देख है ।

फर्केर आउनु सफलता बोकी म कुरी बस्ने छु
प्रितीको माला लिएर तिम्रो मुटुमा पस्ने छु
नखेलाउ तिमी मनमा ब्यर्थै कुरा अनेक है
म पनि देख्छु सप नीमा तिमी मलाई देख है ।
स्वर : कुन्ती मोक्तान


नछेकि देउ ए ! बादल उनलाई मेरी मायालु आकाशमा छिन
बिहानीको कलिलो घामको मलिन न्यानो प्रकाशमा छिन ।

मेरी मायालु आकाशको त्यो चम्किलो तारामा बसेकी छिन
फूलका हरेक पातहरुमा शीत बनेर खसेकी छिन
नछोईदेउ ए ! भमरा उनलाई मेरी मायालु फूलमा छिन
खुशीका पँख खोलेर नाच्ने पुतलीको हुलमा छिन ।

मेरी मायालु बगिरहेकी पवित्र गँगाको पानीमा छिन
थाहै नपाई बैँश फुलेको बन कुशुमको जवानीमा छिन
नमेटिदेउ ए ! समय उनलाई मेरी मायालु कहानीमा छिन
सुनौलो सपना सजिएको मेरै आँखाको नानीमा छिन ।
स्वर : रुबी जोशी

१०
हुरुक्कै बनाई छाड्यो पापीनीको मायाले
गिज्याउछ एक्लो मलाई आफ्नै छाँयाले
बरै त्यसकै मायाले ।

बसन्तका पातहरु झरेकै थिएन
जिन्दगीमा रात पनि परेकै थिएन
उठिबास लाई छाड्यो त्यै मोरीको मायाले
गिज्याउछ एक्लो मलाई आफ्नै छाँयाले
बरै त्यसकै मायाले ।

त्यसको माया नदी जस्तै बग्थ्यो सलसली
आँखा भरि त्यसकै मुहार आउछ झलझली
रित्तो पर्‍यो मनको घर निर्मोहीको मायाले
गिज्याउछ एक्लो मलाई आफ्नै छाँयाले
बरै त्यसकै मायाले ।
स्वर : प्रदीप राज पाण्डे

एक अन्जुली माया मेरो ८६ वटा गीतहरुको सँगालो हो । माथिका १० गीतहरु मैले त्यही सँगालो बाट लिएको हुँ र एक अन्जुली माया नै नामाकरण गरेर गीती अल्बमको रुपमा प्रस्तुत गर्न गै रहेको छु । एक अन्जुली माया , गीती सँगालो अनि गीती अल्बम दुबैलाई मैले मेरी स्व. पत्नी मन्जु प्रती स-प्रेम समर्पण गरेको छु ।

गजल : भाँडो

गजल : भाँडो

दीपक जडित

देशभरीको बिचार पकाउने भाँडो चाहिएको छ ।
ढिलो किन हो ? देशमा गणतन्त्र चाँडो चाहिएको छ । १

जनताले आदेश दिईसके गणतन्त्र घोषणा गर्ने ,
नेताहरुलाई अझै राजतन्त्रको ठाँडो चाहिएको छ । २

नेताहरु हो तिमीले अझै कानमा तेल हालेका छौ कि ? ,
जनता आँफै उक्लेर बोल्ने अग्लो डाँडो चाहिएको छ । ३

तिमी त पसेउ दरबार फेरि सुबिधा भोगी होलाउ ,
भोका नाँगा तिम्रा जनतालाई खोले फाँडो चाहिएको छ । ४

हातमा लाठी लिएर बाहिर जनता भन्दैछन है ,
राजतन्त्रको खिल् घोच्नलाई तिखो काँडो चाहिएको छ । ५

भाँडो शिर्षकमा यो गजल मैले त्यतिबेला लेखेको थिएँ जतिबेला जन आन्दोलन भाग -२ उत्कर्समा थियो अनि देशभरीका सडकहरुमा गणतन्त्रका नाराहरु घन्किरहेका थिए । मैले यो गजल मार्फत नेताहरुलाई जन आन्दोलनको मर्म बिपरित नजान खबर्दारी गर्दै नेपाली कविता डट कममा पनि पठाएर छापिएको थियो तर अहिले नेताहरुको तामझाम र नचाईंदो फुर्ति देख्दा लाग्छ नेपालमा अझै पनि कलमद्वारा शान्तिको भाषा बोलेर केहि हुनेवाला छैन। वास्तबमै नेपालमा जनताहरु उक्लेर बोल्ने अग्लो डाँडो चाहिएको छ अनि नेताहरुले जोगाउने लाख प्रयत्न गरिरहेको राजतन्त्रको खिल् घोच्नलाई तिखो काँडो चाहिएको छ । यो गजल मैले नेपालमा गणतन्त्र स्थापनाको निम्ती आफैँले लेखेको आन्दोलन सम्बन्धि कविता , गीत , गजलहरुको अप्रकाशित सँग्रह खडेरीको खेती बाट लिएको हुँ ।

Friday, July 07, 2006

कविता : म ज्ञानेन्द्र शाह

म ज्ञानेन्द्र शाह

दीपक जडित

म ज्ञानेन्द्र शाह,
मावली गोता गएको छु
त्यसैले आफ्नै दाजुको बँशनास गरेर
नेपालको राजा भएको छु ।

नाथे भुस्याहाहरु कराउछन
कराएर केही लछार्दैनन
मुसाहरु करोढौं नै आए पनि
तीनले सिँह लाई पछार्दैनन
म जङ्गलको राजा सिँह हुँ
र मेरो देश नेपाल
पौने तीन करोढ पशुहरु बस्ने
एउटा शान्त जङ्गल
मेरो जङ्गल देशको
जङ्गली राजमा
जसरी जहिले जो मरे पनि
म राजालाई त हुन्छ मँगल ।
शाशनमा प्रत्यक्ष्य उभिएर
दिग्दारी मेटाउन बिसाएको बेला
भुक्नेहरु धेरै भुक्न थालेछन
"माहाराजाको जय होस् !! " भन्दै
साष्टङ्ग गरेर मेरो गोडामा ढोग्नेहरु
कन्ना पछाडी मलाई थुक्न थालेछन
मलाई हार्यो भन्छौ पाजी हो ?
त्यती सजिलै म कहाँ हार्ने छु ?
उठनु पर्‍यो भने मेरो नेपाल खेतमा
डेढ करोढ हल गोरु नार्ने छु
मेरो नेपाल खेतको धनी पुर्जा
आँखिर मेरै नाँउमा त छ
जती उफ्रेपनि तिमी भुस्याहाहरुको शिर
आँखिर मेरै पाउमा त छ ।

म ज्ञानेन्द्र शाह,
मावली गोता गएको छु
त्यसैले आफ्नै दाजुको बँशनास गरेर
नेपालको राजा भएको छु ।

नेपालमा राजतन्त्रको आवस्यकता छैन । नेपाली जनताको अहिलेको चाहना भनेको गणतन्त्र या लोकतान्त्रीक गणतन्त्र हो भन्ने सन्देश साथ मैले यो कविता लेखेको हुँ । यस कवितालाई मैले उमेशजीको माईसंसारडटकममा कमेन्ट को ठाँउमा पठाएको थिएँ र निस्किएको थियो । यो कविता मैले नेपालमा गणतन्त्र स्थापनाको निम्ती आफैँले लेखेको आन्दोलन सम्बन्धि कविता , गीत , गजलहरुको अप्रकाशित सँग्रह खडेरीको खेती बाट लिएको हुँ ।

wow !! what an art.


This is an art object of Red Indians . The picture has been taken in Santa Fe , New Mexico . While Taking this picture I was trying to figure out what it can be ? but I got no clues about this art . There I saw nothing in this art but people were taking picture of it and watching it. I asked somebody "what is this thing indeed ??" He answered me ,"I have no idea." and took his way. Still I was thinking abt it if I can find there what exactly is it ? One stranger came to near me and asked , "what is it?" I wanted to laugh at him but I didnot, instead I answered him , "It's an art. " He shouted , "Wow!! what an art????" and warmed his way up. I couldnot stop laughing at him thinking that what he saw on it at a glance and told wow!! what an art .

Thursday, July 06, 2006

गीत

गीत

दीपक जडित

त्यो गाँउ त्यो गल्ली त्यो गोरेटो अनि त्यो खोला
मैले त सम्झीराछु तर तिमीले भुलेउहोला ।

जहाँ हिंड्दा सँधै तिमी रिसाउदा पनि तिमी
सुख बाँड्दा पनि तिमी आँशु झार्दा पनि तिमी
तिमी बिना म हुन्थें रित्तो सकिएझैं खाली खाली
तिमी आउँथ्यौ हर पाईलामा उमँगको दियो बाली ।

एक अर्काको हात समाई छुट्ने बेला दुबै रोई
त्यो खोलाको किनारमा बसी कसम खा'थ्यौँ पानी छोई
म कसरी भुल्न सक्छु तिम्रो मेरो बाचा बन्धन
बिछोडिदा पनि आज तिम्रै याद आउँछ झन झन ।

LIFE : BY MIND AND HEART

Life: By Mind And Heart

Deepak Jadit

By mind, at the past vision
Far in remote dusty horizon
She is waving to me
And telling," Go further-
I failed the life
It's a game be winner
Flower are further the way over
Select the one withers never
Already I stepped down the throne
Your life might be re-evergreen."

By heart, visioning the past
Nearer then at the chest
She is still tears falling
Then to me further telling
"Life is no more grace
Vainly why you call peace
For tears you've cost no
Don't stop, let it spoil so
The endless peace is here on cloud
Come have it and be more glad."

This poem is dedicated to the loving memory of my late beloved MANJU . I can't dare to say poetry is in my blood but I do write poems in NEPALI , ENGLISH and HINDI . This poem was published in poetry.com and was selected for the summer contest - 2004 .

Wednesday, July 05, 2006

अमेरिकामा आगलागी ।


गत जुनको ११ तारिख हामी ४ जना ( म , राजेन्द्र अधिकारी दाई , पासाङ शेर्पा साथी र भिम बहादुर मगर दाई )कोलोराडो को डुराङ्गो बाट न्यु मेक्सिको राज्यको राजधानी शहर सान्टा फे घुम्न गएका थियौं । म पहिले पनि सान्टा फे गै सकेको थिएँ त्यसैले जाँदा पहिले गएको ५५० राजमार्ग लाई छाडेर नयाँ बाटो (लामो भएपनि) हुँदै नयाँ र रमाईलो दृस्य हेर्दै गयौ । सान्टा फे पुगेर त्यहाँको मुख्य बजार ( डाउन टाउन ) घुम्यौं । नेपालको बजारमा झैं यो बजारमा पनि फुटपाथ मा पसलहरु हुँदा रहेछन । यसरी फुटपाथमा पसल गर्नेहरु सबै रेड ईन्डियनहरु हुँदा रहेछन । नेपालमा पनि त फुटपाथमा पसल गर्नेहरु भारतीयहरु या भारतीय मूलका नेपालीहरु हुन्छन । ति बाहेक का नेपालीलाई त्यस्तो पसल गर्न लाज हुँदो हो तेसै गरी यहाँ पनि अमेरिकनहरु लाई यस्तो पसल गर्न लाज नै हुँदो हो । तेसो त अमेरिकन हरु खल्तिमा ४ सेन्ट नहुँदा पनि सानो तिनो काम गर्दैनन बरु उनिहरु एकछाक मात्र खाएर बस्न पनि सक्छन । सान्टा फे लाई कलाकारहरु को शहर भनिंदो रहेछ । थुप्रै कलात्मक बस्तुहरु हेर्न पाइने रहेछ यहाँ । मलाई बिशेष यहाँको घरहरु नै रमाईलो लाग्यो । हेर्दा छाना नभए जस्ता मुण्डा घर हरु हुँदा रहेछन सबै । यो शहरको बिशेषतालाई जोगाउनको लागी नयाँ बनाइने घरहरु पनि मुण्डानै बनाउनु पर्दो रहेछ । आधुनिक शैलीका घरहरु भए पनि शहरको बाहिरी भागमा मात्र हुँदा रहेछन । फेरी पनि यो शहरको मुख्य भागमा पुग्दा नेपालको ठमेलमा पुगे झैं लाग्दो रहेछ । त्याँहा नेपालीहरु को पनि २ वटा क्युरियो पसल र एउटा गलैइचा पसल रहेछ । सान्टा फे बाट फर्कदा भने सजिलो बाटो ५५० राजमार्ग हुँदै आयौ । आउँदै गर्दा बाटोमा एउटा सानो गाउँमा आगो लागेको देखियो । हामीले हेर्दा हेर्दै २ घरहरु जलेर खरानी भए र पनि त्यहाँ आगो निभाउन दमकल (फायर फाईटर्) आएन । अमेरिका जस्तो शक्तिशाली र सम्पन्न मुलुकमा पनि नेपालको दुर्गम गाँउमा झैँ घर जलेर खरानी भएको देख्दा अचम्म लाग्यो मलाई । घरको इन्स्योरेन्सको पैसा पाउनलाई आगो लगाएको हुन सक्ने अनुमान साथीहरु गर्दैथिए ।

असार २२ : दाजुको बिहे

आज असार २२ गते , गाउँ घरमा एतीबेला बिहेको लगन निक्कै हुन्छ । असारको झरीमा रुझ्दै र भिज्दै जन्ती जाँदा कम्ती रमाईलो हुँदैनथ्यो । एकताका जन्ती जाँदा बिचबाटोमा पर्ने खोलाले बाटो छेकेर सारा जन्ती बेहुला सहित कुनै अपरिचित मान्छेको घरमा बास बस्नु परेको थियो र भोली पल्ट मात्र बेहुली को घरमा पुगिएको थियो । ठट्टै ठट्टामा झन्डै बास बसेको घरधनी कि छोरी सङग हाम्रो बेहुला को बिहे नभएको । त्यो बेलामा प्राय गरि रातीको बिहे हुन्थ्यो रातभरी जन्ती भएर उपध्रो गर्दा पनि सारै रमाईलो हुन्थ्यो । पछि पछि गएर दिउसोको बिहे हुने चलन बस्न थाल्यो सायद जन्तीको उपध्रो अनि झगडाको कारणले नै तेसो भयो होला । आजभोली को बिहे त झन २ घन्टा भित्र सकिन्छ । जे होस समय अनुसार सबै कुरा बदलिदैजानु नै त परिवर्तन हो ।

आज नेपालमा मेरो दाजुको बिहे छ । दाजुको बिहेमा उपस्थित हुन नसकेकोमा सारै खिन्नता भएको छ । तेस्तै गरी मेरो धेरै मिल्ने साथी गणेशको पनि हिजो २१ गते बिहे भयो । हिजो र आजको ई दुई बिहेहरु सायद म जीवन भर मिस गर्ने छु ।

बाल गीत : शान्तीको निम्ती

स्कुल जान देउ मलाई

मेरा साना हातहरुमा कापी र कलम देख
स्कुल जाने मेरो बाटो बन्दुक देखाई नछेक
स्कुल जान देउ मलाई पढ्न लेख्न देउ ।

जङगल , पहाड , बाटो , बजारमा लाशको खेती लगाउदै
झर्ना , खोला , छाँगाहरुमा रगतको भेल बगाउदै
कहाँ पुग्नु पर्ने तिमीलाई सबैको शान्ती भगाउँदै ।

मन्दिरमा बन्दुक लगेर देउताको ईज्जत फाल्दैछौ
स्कुलमा आगो लगाएर बिद्या र बुद्धी बाल्दैछौ
लाशहरुमा टेकेर तिमी कस्तो यात्रा थाल्दैछौ ?

मैले नगरकोट हत्याकाण्ड भएको बेलामा लेखेको यो गीत लाई अहिले संगीतकार टिका भण्डारीको संगीत अनि बाल गायिका दीन्जुश्रीको स्वरमा बजारमा निकल्दैछु । यो गीतको बिषयमा मलाई समयअनुकुल नभएको टिप्पणी आएको थियो । शायद देश शान्तीबार्ताको प्रकृयामा भएको ले होला तर मेरो यती सानो गीतले शान्तीबार्तालाई नबिथोल्ला , बरु उर्जा प्रदान गर्ला भन्ने आशा गरेको छु ।

जुलाई ४ : अमेरिकी स्वतन्त्रता दिबश


मैले अमेरिकामा चौथो पटक स्वतन्त्रता दिबश मनाएको देखें । पहिलो , तेस्रो र चौथो पटक म कोलोराडोमा नै थिएँ र छु भने दोस्रो पटक भने म वासिङ्टन राज्यको सियाटलमा थिएँ । हरेक बर्ष जुलाई ४ तारिखमा स्वतन्त्रता दिबस अमेरिकाभरि पटाका पड्काएर र दिपावलि गरेर मनाउने चलन् छ । रमित लाग्दो गरि कुनै स्थान बिशेशमा असँख्य पटाकाहरु आकाशनै फुटाउन खोजिएको हो कि झैँ गरी फुटाईन्छन । नजीकमा ठुलो झील या समुद्र छ भने त्यसैको बिचमा ठुलो जहाजबाट पटाका फुटाईदो रहेछ जुन मैले सियाटलमा एक हफ्ता छुट्टी मनाउन जाँदा देखेको थिएँ । भनिन्छ न्यू योर्कमा सबैभन्दा रमाईलो गरी स्वतन्त्रता दिबस मनाईन्छ रे । त्यहाँ नै त अमेरिकाको स्वतन्त्रताको प्रतिमा पनि छ तर त्याँहा गएर हेर्ने मौका मैले पाएको छैन । अरु मुलुकको स्वतन्त्रतामा कुल्चेर अरु मुलुकमा बम फुटाउने , महाशक्ति भनेर कहलिएको अमेरिकाले जुलाई ४ तारिख हरेक पटक भब्यताका साथ मनाउने गर्छ ।

Tuesday, July 04, 2006

ए ! राजन , तिमी त मरी सक्यौ

कविता

ए ! राजन् तिमी त मरी सक्यौ

दीपक जडित

ए ! राजन
तिमीले जितेकै कैले थियौ र?
तिमीले त हारी सक्यौ
राजाहरुको जीत त
जनताको मन जितेर पो हुन्छ
तिमीले त जनताहरु माथि
सदियौं दमनको जाँतो चलाई रहयौ
र हामी राजाहरु ले नै
सदियौं नेपाल र नेपालीहरु
जोगएर रखेका हौं भन्ने
भ्रमको घान हाली रहयौ
तर यो भ्रम त
तिमी भित्र पो थियो राजन
जोगाएका त तिमी राजाहरुलाई थिए
निर्धा सोझा जनताले
फेरी पनि तिमीले बद्लामा
निरँकुशताको ओखलमा हालिरहयौ
ति नै जनताहरु लाई
र अत्याचारको मुशल बर्षइरहयौ
तिमीले ओखल मा कुटेका
अलग अलग जनताहरु
तिम्रै निर्मम पिसाई बाट
पिठो भएर
आज एक जुट भएका छन
र उठेर एकै बोली बोल्दै
तिमीलाई हरएका छन
ए ! राजन ,
तिमीले हरेका मात्रै कहाँ हौ र?
तिमी त मरी सक्यौ
राजाहरु जिउँदो त
जनताको मन भित्र बाँचेर पो हुन्छन
तिमीलाई त जनताहरुले
मुर्दा सम्झेर फालिसके मन भित्र बाट
अब ईतिहासले तिमीलाई
श्री पेच पहिरिएको मुर्दा राजा
भनेर लेख्न मात्र बाँकी छ
यदि तिमी जिउँदो छौ भने
हे राजन
कि त फुकाल श्री पेच
र राखिदेउ सङ्राहलयमा
कि त निस्क बाहिर
म तिम्रै घर अगाडीको मुल बाटोमा
छाती खोलेर तिमीलाई मुर्दाबाद भन्दैछु
मेरो आवाज दबाउन सक्छौ भने
ठोक गोली मेरो छातीमा
म राजा मुर्दाबाद भन्दै
तिम्रै घर अगाडीको मुलबाटोमा
आफुलाई बलिदान दिएर
तथाकथित दरबारमार्ग भनिने
तिम्रो घर अगाडीको मूल बाटोलाई
बलिदान मार्ग बनाउन तैयार छु ।

यो कविता मेरो गणतान्त्रीक गीत , कविता , गजलहरुको सँग्रह खडेरीको खेती बाट लिएको हुँ ।

मेरी माया

कविता

मेरी माया

दीपक जडित

निर्दोश मेरा यि आँखा भरी
सगोल तिम्रो त्यो हँसिलो अधर
आईदिन्छ जब झल ल
चाँदनी झैँ छ रेर ज्योती समग्र
अनि म चाहन्छु बन्द गरेर परेलीहरु
तिमीलाई आँखाको नानी भित्रै कैद गर्न ।

मेरी माया ,
कसरी देखा उँ तिमीलाई
तिम्रो प्रेम मा पागल मेरो मन
एकै बचन तिमी सँग बोल्न सकेको छैन
चाहना यो हृदयको खोल्न सकेको छैन
फेरी पनि किन मलाई
पूर्वजन्म मै हाम्रो भेट भए झैं लाग्छ
थर्थराएका तिम्रा ति ओठ हरुले
अनि लजाएका तिम्रा ति आँखाहरुले
निशब्द बात मारेझैं लाग्छ म सँग
खुशीहरु हारे झैं लाग्छ मैले झैं ।

घायल मेरो यो हृदय छोई
हलुका तिम्रो त्यो सम्झनाको छायाँले
बजीदिन्छ जब झनन
बिणा झैं मधुर संगीत तरङग
अनि म चाहन्छु रोकेर स्पन्दनहरु
तिमीलाई कोमल मुटु भित्रै कैद गर्न ।

Monday, July 03, 2006

मेरो पहिलो शिखर आरोहण : ईन्जिनियर

गत महिना जुनको ४ तारिख आईतबार अमेरिकाको कोलोराडो राज्यमा अवस्थित ईन्जिनियर हिमाल को शिखरमा पुगेर मैले जीवनकै पहिलो पल्ट हिमाल चढ्ने रहर पुरा गरें । म सगरमाथाको देशमा जन्मेर हुर्केको भए पनि मैले अमेरिकामा आएर मात्र हिउँ देख्न र छुन पाएको हुँ भन्नु पर्दा लाज मर्नु नै हुन्छ । लगभ ग 13००० फीट उचाई भएको उक्त हिमाल चढन हामी जम्मा ६ जना गएका थियौँ जसमा म र पासाङ शेर्पा भन्ने साथी नेपाली थियौ । अरु अमेरिकन साथीहरुमा पल र टेरी को नाम याद छ अरु २ जनाको त नाम पनि भुलिसकेछु । पासाङ जी ले यो हिमाल र नेपालको काला पथ्थर भन्ने हिमाल उस्तै रहेछ भन्नु हुँदै थियो । वहाँ नेपाल को प्रख्यात गाईड हुनुहुदो रहेछ । चढ्ने क्रममा सबै भन्दा पछाडी पर्ने चै म थिएँ अनि मलाई पर्खने भएर पासाङ जी पनि पछी पर्नु भयो । शिखरमा पुगीसकेर तपाईं ले गर्दा आज शेर्पाको नाक गयो यार भनेर ठट्टा गर्नुहुँदैथियो पासाङ साथी ।

मैले हिमाल चढेको फोटो राख्न खोजेको थिएँ तर अपलोड नै भएन ।

Sunday, July 02, 2006

यसरी हराउछन कविताहरु

यसरी हराउछन कविताहरु

- दीपक जडित

आजभोलीका प्रत्येक रात
भाडाघरको साँघुरो भूंइतल्ले कोठामा
जब यौटा अभाव निदाउने कोसिश गर्छु
मनभरी उम्लिन थाल्छन
खरो बिद्रोहका लामा लामा कविताहर
मानौं कि मनको कसौंडीमा
छड्किरहेछ कविताको भात
तातिएर खाली पेटको चम्काहरुबाट निस्किएको आँचले
अँध्यारोमै छाम्छु सिरानमुनिको खाली पन्ना
लेख्ने मन हुन्छ कविता
एक रातको भोक मेटाउनलाई
त्यतिखेर सुन्छु
पल्लो खाटमा धुसा फालेर खाटमुनी
बेफिक्रि सुतेको छ साथी
बत्ति बाल्लास् ? को खबर्दारी घुर्दै
अभाव पोल्दैन कि त्यसको छातीमा ?
देश दुख्दैन कि त्यसको मनमा ?
म किन निदाउन सक्दिन त्यहि कोठामा ?
मेरो मनमा आविष्कारको आँधी चल्छ
दुलहीको रातो टिका जस्तै निधारमा टाँस्दा
सबै सोचाईहरु लिपीबद्ध हुने
नयाँ यन्त्रको रुपरेखा कोरेर
पठाईदिन्छु नाशाका बैज्ञानिकहरुलाई
रातारात निर्माण हुन्छ मेरो आविष्कार
र उपलब्ध हुन्छ सर्बत्र बजारमा
तर निरिह, निर्धन म आफैंसंग
खरिद गर्ने क्षमता हुँदैन
अनि भोली उठेर लेख्ने संकल्प गर्दै
बिद्रोहको कवितालाई
बल्ल तल्ल निदाउछु म
बिहान उठेर हत्तार छाम्छु
खस्रा औंलाहरुले आफ्नो निधार
र फिस्स हाँसीदिन्छु आफैंलाई
नभेटेर आफु आविस्कृत यन्त्र
जब सम्झन्छु म
गए रातीको कविता बिद्रोहको
त्यहाँ सपनाले बिस्थापित गरीदिएर
मेरो कविताहरुलाई
अंगेरी र भातीपाते घारी,
जूरेली को गुँड
भत्किएको लालपैनी बाँध....हरुको उपस्थिति हुन्छ
यसरी नै हरेक बिहान
हराउने गर्छन मेरा कविताहरु
मानौं कि मेरा कविताहरु
सानोमा संगै गोठालो गरेकी
सिरानघर कि कविता हो जो
आँखा भरी सुनबुट्टे सपनाहरु बोकेर
भर्खरै हराएकी छे रत्नपार्क तिर ।

यो कविता समुद्रपारी डट कममा प्रकाशित भएको थियो ।

राजाको गाउँमा जनताको कन्तबिजोग ।


मेरो नेपाल को राजधानी शहर । २३७ बर्ष देखि आफुलाई भगवान बिष्णुको अव तार भनेर देशलाई खोक्रो बनाएर अनि सारा जनताको रगत पसिनाले होली खेलेर बस्ने राजाको गाउँ हो यो काठमाडौं , जहाँ बाडीले यस्तो तान्डब प्रस्तुत गर्छ भने अनुमान गर्नुहोस् मेरो नेपालको गाउँ बस्ती हरुको के हबिगत होला ? फोटो कान्तिपुर अनलाई न बाट लिएको हो ।

उ अझै मरेकी छैन

कविता
दीपक जडित

मेरी उ अझै मरेकी छैन

आफ्नो हरित अस्तिव नै छोपेर
बारीभरी पहेँलपुर फुलेका
तोरिका बोट हरु सँग
सँधै आफ्ना सपनाहरु साट्ने गर्थी उ
तोरीका पँहेला पुष्पपुन्जनै
मेरा सुखद सपनहरु हुन भनेर
मुस्कुराउने गर्थी उ
आफुलाई हरियो बोट सँग दाँजेर
मलाई माटोको उपमा दिँदै
तिमी भित्रै मेरा जराहरु फैलीएकाछन भनेर
हर्षतिरेक भएर मस्किन्थी उ
श्रीष्टीका सम्पूर्ण सुखहरु भरेर
अङगालो भरी मलाई कस्दै
प्रकृती का अनुपम खुशीहरु
मेरै निम्ती पस्किन्थी उ
सारा सपनाहरु उस्ले
म भित्र जिउदै छाडेर
आज उ टाढा गए पनि
अजर मेरी उ मेरो लागी मरेकी छैन
सँधै सँधै फाँट हरुमा तोरी सँगै
मेरो मन भरी फुलिरहनेछे उ
उसले छाडेको म भित्रको
सपनाको सजिब फूलबारीमा
सँधैभरी डुलीरहनेछे उ ।

यो कविता मैले केहि बर्ष अगाडी नै लेखेको हो । यस कवितालाई मैले मेरो यौटा कविता सङगालो को मुख्य कविता बनाएको छु । उ अझै मरेकी छैन मेरो उक्त सङ्रहको नाम हो । जस्मा मेरा ६३ कविताहरु सङ्रहीत् छन ।

एक अन्जुली माया

एक अन्जुली माया मेरो चाँडै बजारमा आउन लागेको गीती अल्बम हो । यो अल्बम मा नेपालका दश प्रख्यात गायक गायिका हरुले स्वर दिनु भएको छ । अल्बम को मुख्य गीत मा कर्ण दाश ले आफ्नो कर्णप्रिय स्वर प्रदान गर्नु भएको छ भने साथमा रबिन शर्मा , दीप श्रेष्ठ , रुबी जोशी , प्रदीप राज पाण्डे , रामकृष्ण ढकाल , यम बराल , जगदीश समाल , आनन्द कार्की र कुन्ती मोक्तान ले आ आफ्नो स्वर प्रदान गर्नु भएको छ । एक अन्जुली माया को लागि १० वटै गीत हरुमा टीका भण्डारी ले संगीत दिनु भएको छ । एक अन्जुली मायाले भोली बजारमा कस्तो प्रभाब छोड्ला त्यो त भोली कै दिनमा थाहा होला आशा त लगानी अनुसार थोरै धेरै ब्यापार पनि गर्ने छ भन्ने नै छ म सँग । एक अन्जुली माया को मुख्य गीत लाई म यहाँ अपलोड गर्ने प्रयास गर्ने छु तपाईं को लागी ।

शुभारम्भ।

आज जुलाई २ तारिख आइतबार २००६ । मैले आजबाट मेरो साहित्य सँसार र विविध नाम राखेर ब्याक्तिगत ब्लग शुरु गरेको छु र म सम्पुर्ण साहित्यानुरागी महानुभावहरुलाई ( जो मेरो ब्लगको पाठक बन्न सक्नुहुन्छ )मेरो ब्लगमा स्वागत गर्न चाहन्छु । म सकेसम्म मेरो ब्लगलाई रोचक बनाउने कोसिस गर्ने छु । हुनत म सँग सबैलाई प्रभाब पार्न सक्ने र सबैलाई रमाईलो दिन सक्ने किसिमको कुराहरु त नहोला फेरि पनि म कोसिस गर्नेछु । अर्कोकुरा मेरो ब्याक्तिगत कुरहरु पनि यो ब्लगमा पस्किन सक्छु जुनकुराको लागी म सायद कुनै प्रतिकृयाको आशा गर्ने छैन । फेरी एकपटक सबै लाई मेरो साहित्य सँसार र विविधमा स्वागत गर्दै अर्को पोष्टमा भेट्ने बाचागर्दै बिदा चाहन्छु । नमस्कार । --- दीपक जडित-- ।