Friday, July 14, 2006

कविता : धेरै पहिले , अस्ती भर्खरै र आज ।

धेरै पहिले ,
एक रात
हाम्रो अँध्यारो बस्तीमा
तिनीहरु चोर झैं लुसुक्क आए
र रात अबेर सम्म
हामीलाई जागा बसाएर
भने
हामी तपाँईहरुको
बस्तीमाथी मडारिएको
कालो बादललाई
हटाएर छाड्ने छौं
हाम्रो साथ दिनुहोस्
भोली झुल्किने घाम
तपाँईहरुकै हुनेछ
तिनीहरुको
गुलियो बचनको मोहमा
हामीले तुरुन्तै साथ दियौं
र भोली झुल्किने घाम हेर्न
के सुतेका थियौं
अबेर सम्म भुसुक्कै निदाएछौं
जब बिउंझियौं
रेडियो बाट
मौसम सफा रहेको
जानकारी गराईदै थियो
तर हाम्रो बस्तीमा
बर्षौं देखि रहेको झरि बादल
जस्ताको तस्तै थियो ।
अस्ती भर्खरै फेरी
तिनिहरु तेसैगरी आए
र सपना देख्न बिर्षीसकेको
हाम्रो आँखाहरुमा
नयाँ सपनाको खेती गर्दै
न्यानो घामको कुरा गरे
नयाँ बिहानीको कुरा गरे
बर्षौं देखि भोग्दै आएको
च्यार च्यारे झरि सँग आजित
हामीले फेरी
तिनिहरुको साथ दियौं
र काँध हालेर उचालिउँ
आज जब
भुक्भुके उज्यालो छिचोलेर
मिर्मिरे बिहानी देखा पर्‍यो
तब तिनिहरु स्वयम
मध्यान्हको प्रचण्ड
घामसँग डराएर
हाम्रै बस्तीमाथि
कालो बादलको खेती गर्न थाले ।

नेपाली कविता डट कममा प्रकाशित ।

No comments: