Wednesday, July 19, 2006

कथा : आमाको विवाह

आमाको विवाह

तृष्णा राज्यश्री कुवंर

आज मेरी आमाको विवाह रे घरमा पाहुनाहरूको भीडभाड छ । आमाका साथीहरू आएका छन्, सानीमा, ठूलीआमा र हजुरआमाहरू आउनुभएको छ । सबैले आमालाई सिंगार्दैछन्, आमा राम्रा नाना र चाचाहरू लगाई दङ्ग परेर बस्नुभएको छ । आज आमाले मलाई एकपटक पनि बोक्नुभएन, गाला टोकेर माया गर्नुभएन । मलाई देखे पनि नदेखेझैं गरिरहनुभएको छ । आज म आमाको काखमा बस्न पनि पाएकी छैन । उता जान खोज्दा सबैले रोक्छन्, आमाले पनि बोलाउनुहुन्न 'आमा एकपटक हात फैलाउनु न, मलाई अंगालोमा लिनू' आमाको ढोकासम्म पुगंे, तर भन्न सकिन । हिँजोदेखि मलाई आमासँग सुत्न नदिई हजुरआमासँग सुताउन थालेका छन् । अब आमासँग अर्कै मान्छे सुत्ने रे । आमाले विवाह गरेर त्यो मान्छेलाई मेरो ठाउँमा सुताउनुहुन्छ रे ।
मलाई आमाले विवाह गरेको पटक्कै मन परेको छैन, त्यो मान्छेले गर्दा म एक्लै हुनुपरेको छ । त्यो मान्छे र उसका साथीहरू धेरै पटक हाम्रो घरमा आए, आमाका साथीहरूले मलाई आफ्नै छोरीजस्तै गरी राख्नुपर्ने कुरा गरेको मात्रै मैले बुझें । म साथी हुँदाहुँदै आमा कसरी एक्ली हुनुभयो ? हो हाम्रो घर छैन, मेरा बाबा हुनुहुन्न, तर आमा एक्ली कहाँ हुनुहुन्छ र ? म साथी छँदैछु नि । मैले आमालाई 'आमा' घर कसले बनाउँछ ?' भनेर सोध्दा इन्जिनियरले' भन्नुहुन्छ । इन्जिनियरले अरू के-के बनाउँछ आमा ? मैले फेरि सोधें, भनंे- 'पुल, सडक' भन्नुहुन्छ' आमा म ठूली भएपछि धेरै पढेर इन्जिनियर बन्छु, अनि पुल, सडक केही नबनाई घर यस्तै बनाउँछु है अनि हामीजस्तै घर नभएकालाई दिन्छु नि ।' मैले यसो भन्दा आमाले आँखाभरि आँसु लिएर मलाई माया गरेको सम्झन्छु । जहिले पनि आमाको आँखा भरियो कि मलाई तानेर माया गर्न थाल्नुहुन्छ । मलाई हेर्दाहेर्दै आमाका आँखाको आँसु त्यहीँ सुक्छ । आमा रुँदा गालासम्म आएको आँसु पुछिदिन्छु अनि मेरा मसिना औंलाहरूलाई आमाले ओठमा टाँसिराख्नुहुन्छ ।
मलाई आमाको अंगालोमा मात्रै निद्रा लाग्छ । आमाको न्यानो छातीमा टाँसिन नपाएर हिँजो मलाई निदैै्र लागेन । आमा आएर मलाई आफ्नै कोठामा लानुहुन्छ कि ? आफ्नै छातीभित्र लुकाउनुहुन्छ कि जस्तो लागिरह्यो । अब मैले एक्लै सुत्ने बानी पार्नुपर्छ रे । हजुरआमा पनि २-४ दिनमा गाउँ जानुहुन्छ अनि म त झन् एक्लै हुन्छु । त्यो मान्छेले मेरी आमा खोस्यो हुन त ऊ जहिले आउँदा पनि मलाई नाना, चाचा र पापाहरू ल्याइदिन्छ, मलाई माया गरेर बोक्छ तर किन-किन त्यो मान्छे मलाई पटक्कै मन पर्दैन । उसले आमालाई र आमाले उसलाई माया गरेको त म झन् देख्नै सक्दिन । उनीहरू धेरैबेर कुरा गरेर बस्छन्, त्यो मान्छे आएपछि आमाले मलाई माया गर्न बिर्सिएजस्तो लाग्छ । घरीघरी चकचक नगर भनेर गाली मात्रै गर्नुहुन्छ । उनीहरूले कुरा गरेको सुनेको- 'जहाँ बसे पनि डेरैमा बस्नुपर्ने हो, विवाहपछि पनि हामी यही घरमा बस्ने है ।' अब त्यो मान्छे आज यहीँ आउँछ, आमासँगै सुत्छ, उठ्छ, आमासँगै खान्छ, अफिस जान्छ, घुम्न जान्छ । अब आमाले मलाई घुमाउन पनि लानुहुन्न कि ? ऊसँग मात्रै जानुहुन्छ होला । 'आमा आमा आमा मलाई सधै घुमाउन लानुहोस् है ।' म दौडदै बैठक कोठामा गएर आमाको रातो साडी तान्दै भन्छु । हुन्छ नानु तिमी, म र बाबा भोलि नै घुम्न जाने है' आमा मलाई म्वाई खाँदै भन्नुहुन्छ । 'नाईं त्यो नयाँ बाबासँग नजाने । हजुर र म मात्रै जाने है आमा ।' मलाई आमाले त्यो मान्छेलाई बाबा भन्न लगाएको मनै परेन । 'त्यसो भन्नुहुन्न, नयाँ बाबाले नानुलाई माया गर्नुहुन्छ, पापा-नाना ल्याइदिनुहुन्छ, पढाउनु- लेखाउनुहुन्छ, घुमाउनुहुन्छ ।' सानीआमाले फकाएर मलाई बोक्नुभयो ।
'नाईं त्यो नयाँ बाबालाई म मारिदिन्छु ।' म आमाको काखमा लुक्न खोजें । 'मेकअप बिग्रन्छ' ठूलीआमाले च्याप्प पाखुरा समाएर तान्नुभयो 'यसले पाउन त उदार मन भएको विशालजस्तो केटा पाई तर बच्चीले समस्या खडा गर्छे जस्तो छ, केटाले त माया गर्छ नि यसलाई त्यो केटी मोरी आफै अभागिनी छे, कुकुरलाई घिउ नपचेको ।' ठूलीआमाले मलाई त्यो कोठाबाट निकाल्न खोज्नुभयो । 'त्यै त नि, अहिलेदेखि नै परपर हुन खोज्छे । नजिक-नजिक भए पो माया लाग्छ । यसले यस्तै बेहोरा देखाई भने आफै दुःख पाउँछे' संज्ञा मामुले पनि यस्तै भन्नुभयो ।
'सुरुसुरुमा बच्चालाई आफ्नो भाग खोसिएझैं लाग्नु स्वाभाविक हो । लोग्नेमान्छेका बारेमा सधै नकारात्मक कुरा सुनेर पनि उसलाई यस्तो भएको हो, विस्तारै सबै ठीक हुन्छ ।' सिना मामुले भनेको कुरा के हो ? मैले बुझ्न सकिन । उहाँको काखबाट फुत्केर आमाछेउ जान मन लागेको छ । 'यसले रातदिन यस्तै गरी भने विशालसँग यसैका कारणले मनमुटाव हुने होला ।' आमाको कुरा सुनेर हजुरआमा पनि भित्र आउनुभयो । यसलाई होस्टलमा राख्नुपर्छ, हामी राखौं भने हाम्रा आफ्नै बच्चा छन्, फेरि तैंले एक्लै......राखेकी केटी साह्रै चकचके छ । सानीमाले मलाई बदमास भन्नुभयो ।
होस्टल राख्न त अझै सानै छ, भरर्खरै ५ वर्ष पुगी, पाप लाग्छ वा बरु मै पाल्छु, धर्म पनि हुन्छ ।' हजुरआमाले मलाई तान्नुभयो ।'हुन त हुन्थ्यो तर गाउँमा राम्रो स्कुल छैन, त्यो झन् बिग्रन्छे । आमाको आँखामा विवशताको आँसु छल्कियो ।
सबैले मलाई दोषी र अपराधीका रूपमा हेर्दैछन्, यसमा मेरो के दोष ? आफ्नी आमाको माया पाउन खोज्नु मेरो दोष हो ? आमालाई अरूसँग बाँड्न नखोज्नु मेरो गल्ती हो ? आज मलाई आमासँग खुब रिस उठेको छ । सबैले मलाई गाली गर्दा पनि केही नबोली बस्नुभएको छ । मैले आमालाई कति भन्नु त्यो मान्छे मलाई मनपर्दैन मनपर्दैन मनपर्दैन मैले यही कुरा एउटा पानामा लेखेर आमाको व्यागमा हालिदिएँ, आमा हिँड्ने बेलामा भुइँमा चिठीजस्तो बनाएर खसालें, काम गर्ने दिदीले त्यो पाना भेटेर दिँदा रुनुभयो तर विवाह गर्दिन भन्नुभएन । पूजाकोठामा भगवान्ले सुन्ने गरी चिच्याएर भनें, आमाले देख्ने गरी भगवान्को फोटोअगाडि यही कुरा लेखेर राखें । होमवर्क चेक गर्दा मिसले कपीमा लेखेको कुरा आमालाई स्कुलमै बोलाएर देखाउनुभयो, एउटा केटा मान्छेमाथि क्रस चिन्ह बनाएको, सानी केटीको आँखाबाट बगेको आँसुको ड्रइङ पनि आमाले बुझ्नुभएन ।'
दिउँसो त्यो मान्छे बसेर गएको बेडमा सुत्न नमान्दा आमाले एक दिन तन्ना फेर्नुभएको कुरा पनि बिर्सनुभयो । त्यो मान्छे घरमा आएपछि मलाई कौसीमा बादल उडेको हेरेर बस्न मन लाग्छ । कत्ति बोलाउँदा पनि भित्र जानै मन लाग्दैन, आमाले यो कुरा खोइ बुझेको ? जहिले पनि तिमीलाई आमा मात्रै भएर हुँदैन । बाबा पनि चाहिन्छ' भन्नुहुन्छ । चाहिएको छैन मलाई बाबासाबा । आमा मात्रै भए पुग्छ, बाबाले त आमा खोस्छ, त्यस्तो बाबा के काम ? त्यो मान्छेको अंगालोमा आमा रोएको मैले देखेकी छु । किन रोएको होला ? सानो मान्छे पो रुन्छन् । त्यति ठूली आमा पनि रुनुहुन्छ काहीँ ? त्यो मान्छेलाई आमाले निकै रुचाउनुहुन्छ । आमाले मात्रै रुचाएर भयो ? हामीसँगै बस्ने भनेपछि मैले पनि त रुचाउनुपर्‍यो । आमाले त्यो मान्छेलाई मलाई भन्दा धेरै माया गर्नुहुन्छ । आमाले किस गरेको त्यो मान्छेको फोटो च्यातिदिँदा मेरो गाला चड्किने डर लागेको थियो 'नानु त्यो मान्छे भगवान् हो' आमाले मलाई काखमा लिएर धेरै कुरा सम्झाउन खोज्नुभयो तर मैले केही बुझिन । मलाई त्यो मान्छेले आमालाई छोएको पनि मन पर्दैन । रेस्टुराँमा आमासँग मात्रै जाँदा मःम, आइसक्रिम खान अति मनपर्छ तर त्यो मान्छेसँगै जान थालेदेखि मलाई केही खानै मन लाग्दैन । दुवैजना कुरा मात्रै गरेर बस्छन्, मेरो कुरा सुन्ने आमाले अब अर्कैको कुरा सुन्नुहुन्छ ।
मेरी आमा आज सिंगारिएर राम्री भएर बस्नुभएको छ । मेरा सबै साथीकी आमाभन्दा मेरी आमा कति राम्री हुनुहुन्छ । आमा अझ राम्री देखिँदा पनि मलाई खुसी लागेको छैन । आज आमा मेरा लागि होइन त्यो मान्छेका लागि सिंगारिनुभएको हो । अब सबैले आमालाई मन्दिरमा लिएर जान्छन् । बेलुका भोज छ रे कता हो तर मलाई लानुहुँदैन भन्छन् । आमाको विवाह हेर्नुहुँदैन रे । आमाका साथीहरूको विवाहमा, पिकनिक पार्टीमा जहाँ पनि आमाले मलाई चिटिक्क पारेर लानुहुन्छ तर आज आफ्नै विवाहमा भने घरमै छाडेर जाने रे । उता विवाहमा कति रमाइलो होला यता म भने काम गर्ने दिदीसँग एक्लै बस्नुपर्ने भयो । आमाको मनले मलाई एक्लै छोड्न कसरी मानेको होला ? हिँड्ने बेलामा आमा मलाई अंगालेर रुनुभयो 'मेरी आमा निष्ठुरी ।' मैले हिँजो राति पनि भनेको 'आमा त्यो मान्छेसँग विवाह नगर्नुहोस् बरु मसँगै विवाह गर्नुहोस्, त्यो मान्छेसँग नसुत्नुहोस् बरु मैसँग सुत्नुहोस् ।' म आमाका साथीहरूले खुब सजाएर मगमग पारेको कोठाको भित्ताभरि त्यही कुरा लेख्दैछु । काम गर्ने दिदीको थुप्रै काम छ उनी भान्सातिरै छन् । मैले मौका पाएको बेलामा आमाको ड्रइङ पनि भित्तामा बनाएर आइ लभ यु मम लेखंे । त्यो मान्छेको भूतको जस्तो अनुहार पनि बनाएँ । मेरो कुरा कसैले सुनेन । आमाले पनि सुन्नुभएन । कसैले पनि आफ्नो कुरा नसुनेपछि फिलिममा कालो कोट लगाउने मान्छेले 'जज साब' भन्दै कराउँछ अब म पनि एउटा बूढोबूढो मान्छे भित्तामा बनाउँछु । जब साब त्यो मान्छेलाई पनि फाँसी दिनुहोस् है ।' एकपटक होइन । त्यसलाई तीनपटक फाँसी दिने है 'जज साब'-'जज साब' । मेरो कुरा सुन्नुहोस् है' म भित्ताभरि कोर्दैछु ।

नारी पत्रीकाबाट साभार यो कथा मलाई धेरै मन परेर राखेको हुँ मलाई थाहा छैन यो कथालाई मैले मेरो ब्लगमा राख्न पाउंथे कि पाउंनेथिईन तर मैले नारी पत्रीका बाट साभार हो भनेको छु ।

No comments: