Thursday, November 30, 2006

हाम्रो राष्ट्रिय गीत ।

अब त ईन्टरनेटमा बस्यो कि सबैभन्दा पहिले उमेशजी को माई संसार खोल्न पुगिहालिन्छ । नखोलियोस पनि किन तरोताजा समाचार हेर्न पाईने भएपछि । त्यस्तै ताजा मध्येमा आज नेपालको राष्ट्रिय गीत राखिएको रहेछ । यस राष्ट्रिय गीतका रचयिता ब्याकुल माईला रहेछन । राष्ट्रिय गीत भएपछि त्यो सबैको साझा सम्पतीमा गनिने हुँदा मैले पनि अधिकार जमाएर उक्त गीत यहाँ राखेको छु । भाग्यमानी रहेछन माईला जस्को कलमले आज देशको राष्ट्रिय गीत रचना गर्ने सौभाग्य पाएको छ ।

----------
----------

सयौं थुङ्गा फूलका हामी यौटै माला नेपाली ,
सार्भभौम भई फैलीएका मेची महाकाली
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल ,
वीरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल ,
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
वहूल जाति भाषा धर्म संस्कृति छन् विशाल ,
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल ।
___________________________
___________________________

Tuesday, November 28, 2006

कविता को जवाफमा कविता ।

मैले गत नोभेम्बर २५ मा भन्दैछ रे नेपाल शिर्षकमा यौटा गजल लेखेको थिएं जुन आफ्नो ब्लगमा राख्नुको साथै चहल सयपत्रीजीको सयपत्री ब्लगमा पनि पठाएको थिएं । आज त्यहाँ मेरो उक्त गजलले स्थान पाएछ कि पाएनछ भनेर हेरेको थिएं । मेरो गजलले स्थान पाएनछ - सायद योग्य ठहरीएन क्यार तर त्याहाँ विजयसिंह थापा ज्यु ले लेख्नु भएको सहु सहु कविता देखेर भने मलाई नमज्जा लाग्यो । समको आवाज सहु सहु सहु बाबु सहनै नसके पनि लाई अहिले त्यसरी अर्थलगाएर कविता लेख्नु कती उचित हो कती अनुचित थापाजी लाई नै थाहा होला तर मलाई भने त्यसरी अर्थ लगाएर अहिलेको घडीमा त्यो कविता लेखेको अलि चित्त बुझेन त्यसैले के गर्छौ बाबु ......सहनै नसके पछि ? भन्ने शिर्शकमा तुरुन्त जवाफ कविता लेखेर चहल जी लाई ईमेल गरिदिएको छु र अनुरोध गरेको छु राखिदिनुहुन । सायद राखिदिनुहुन्छ होला । तपाईंको लागी भने अहिल्यै हेर्नको लागी उक्त दुबै कविता यहाँ राख्दैछु ।

पहिले विजयसिँह थापा जी को कविता हेर्नुहोस ----

सहु सहु ....

तिमी
तुरुन्त भीरबाट
हामफालेर मर
घर नजिकको गिजेरी रूखमा
झुन्डिएर मर
तर
चिन्ता लिएर नबाँच
प्लिज् ।
तिनीहरू
राष्ट्र लुछ्न नै जन्मिएका हुन्
त्यसै किन रिसाउँछौ ?
हामीलाई सताउन नै जन्मिएका हुन्
व्यर्थ किन विरोध गर्र्छौ ?
सहु
सहु
सहु बाबु सहनै नसके पनि ।


जवाफमा मैले लेखेको कविता यस्तो छ ---

के गर्छौ बाबु ?...... सहनै नसके पछि ।

म पनि सहन सक्छु
थाहा छ तिमीपनि सहन सक्छौ
तर सहनुको पनि हद हुन्छ
कती सहने अझै
सहेरै हामीले
दुईसय सैंतिस बर्ष बित्यो ।
सहेरै प्रत्येक बर्ष
म हरु गिजेरी रुखमा
झुण्डिएर मरिरहयौं
सहेरै प्रत्येक बर्ष
तिमीहरु भिरबाट
हामफालेर मरिरहयौ
अब झुण्डिनु नपरोस
म हरु गिजेरी रुखमा फेरी
अब हामफाल्नु नपरोस
तिमीहरु भिरबाट फेरी
त्यसैले सोच एकपटक
के गर्छौ बाबु ?...... सहनै नसके पछि ।

Monday, November 27, 2006

गजल : फेरी पनि ढाँट्न सक्छन ।

ढाँटेकै हुन पहिले पनि फेरी पनि ढाँट्न सक्छन ।
आज मिले झैं गर्नेहरु भोली फेरी फाट्न सक्छन । १

आफ्नो टाउको जोगाउन परेवा उडाई हिंड्नेले ,
के भर छ र ? भोली फेरी हाम्रो घाँटी काट्न सक्छन । २

आफ्नो शालिग घोडामाथी चढाई यिनीहरुले नि ,
शहिद गेट्मा शहिदको फेरी हात छाँट्न सक्छन । ३

आज जस्लाई नङ्ग्याएर तह लाउने किर्या खा'छन् ,
भोली फेरी यिन्ले उस्कै तलुवा धरी चाट्न सक्छन । ४

झुप्रै पिच्छे पुगी यिन्ले यो त्यो गर्ने वचन त दिए ,
दर्बार भित्र कुर्शी देखी त्यो वचन् नि साट्न सक्छन । ५

दाशताको साङ्लो खोल्ने नाटक रचेर यिन्ले भोली ,
फेरी हाम्लाई झुण्ड्याउने लठारो नि बाट्न सक्छन । ६

यो गजल मैले नेपाली पोष्ट डटकमलाई र नेपाली कविता डट कमलाई पठाएको थिएं सायद त्यहाँ योग्य ठहरिएन क्यार - अथवा कुनै ठाँउमा प्रकाशित भै सकेको गजललाई आफ्नो पत्रीकामा नराख्ने मानसिकताले राखिएन होला , तर हाम्रोदेश ब्लग चलाउनुहुने मित्र संकल्प जी ले बडो स्नेह पुर्बक हाम्रो ब्लगमा राखिदिनु भएको छ । संकल्प जी प्रति आभारी छु ।

Sunday, November 26, 2006

गीत : मनमा राखे मनका कुरा ।

मनमा राखे मनका कुरा मनै हजुर कुपित हुन्छ
ओठमा ल्याई बोलीदिए त्यही मिठो प्रीत बन्छ ।

मनमा सबको घाउ हुन्छ
सबैलाई दुख्छ पोल्छ
त्यही हाँस्न सक्छ जस्ले
मनका सबै कुरा खोल्छ
मिठो बचन बोल्ने को त बोली हजुर गीत हुन्छ
मनमा राखे मनका कुरा मनै हजुर कुपित हुन्छ ।


आँखा सबको रसाउंछ
आँशु पनि झर्न सक्छ
आँशु झेल्न सक्छ जस्ले
मनको दुख तर्न सक्छ
मनको मैलो धुन सके आँशु हजुर मित हुन्छ
मनमा राखे मनका कुरा मनै हजुर कुपित हुन्छ ।

Saturday, November 25, 2006

गजल : बन्दैछ रे नेपाल ।

बल्ल ब्युँझिएं मुर्छाबाट भन्दैछ रे नेपाल ।
अब आफ्नै हातले स्वर्ग बन्दैछ रे नेपाल । १

विकट गाउँ , वस्ती , सहर , बजार चारैतिर ,
सबै हिंड्ने उस्तै बाटो खन्दैछ रे नेपाल । २

बर्षौं सम्म उठ्नै नदिई कुल्चिनेहरुलाई ,
छानी छानी सबको टाउको गन्दैछ रे नेपाल । ३

हिंजो सम्म लुकी भागी हिंड्नेहरुलाई पनि ,
हाँस्दै खेल्दै हिंड्न सक्ने आनन्दै छ रे नेपाल । ४

पटक पटक ब्युँझिंदा नि उठ्न नसकेको ,
अब उठ्ने अठोटमा बुलन्दै छ रे नेपाल । ५

नेपालीपोष्ट डट कममा प्रकाशित ।

Friday, November 24, 2006

प्रश्नहरु अझै अनुत्तरित छन ।

ब्यस्तताको कारण तिनचार दिनसम्म ईन्टरनेटमा बस्न नपाएको मलाई आफु निक्कै पछि परेछु जस्तो लागीरहेछ । नेपालमा शान्ती सम्झौता भै सकेर पनि दीपावली मनाउने , शान्तीको ड्रम बजाउने ईत्यादी काम भै सकिसकेछ , राजाले समेत शान्ती सम्झौता भएकोमा आफु प्रसन्न भएको बक्तब्य निकालीसकेछन । कस्तो अचम्म !!! ति नै राजालाई हटाउनको लागी शान्ती सम्झौता गरेर सम्बिधान सभाको चुनाब गर्ने भन्दैछन राजाचाहिँ त्यसैमा प्रसन्न भए रे । कतै गड्बडी त हुन लागेको छैन ? शान्ती सम्झौताको ३.३ (बुँदा नै त होला नि) मा भनिए अनुशार राजसँस्था कायम राख्ने या नराख्ने भन्नेबारेमा संबिधान सभाको पहिलो बैठकद्वारा साधारण बहुमतले टुंगो लगाउने रे । भनेपछि सम्बिधान सभाको पहिलो बैठकमा राजा राख्ने भन्नेहरु २ जना बढि निस्किए भनेपनि राजालाई राख्ने हो त ?? अनि राजा हटाउनु पर्छ भन्नेहरु २ जना बढि हुंदै राजा हटाईदिने त ? खै यो राजा राख्ने र हटाउने पनि केटाकेटीको खेल हो कि क्या हो ? यदि जन आन्दोलन - २ को मर्मलाई आत्मसात गरेर नेपाली जनताको चाहना र ईच्छा बमोजिम देशलाई अगाडी लैजाने हो भने - यति भै सके पछि त संबिधान सभाको पहिलो बैठकले बिना शर्त राजसँस्थाको खारेजी गर्नु पर्ने हैन र ? जन आन्दोलन - २ का सहिदहरुको सम्मान पनि त त्यसैमा हुन्थ्यो होला नि तर खै त यहाँ अझै पनि जनताको इच्छा र चाहना बमोजिम काम गर्ने नेताहरु छन होला र ? म त शँकामा पो छु । यदि त्यसरी बिना शर्त राजतन्त्रको खारेजी गर्न मिल्दैन भने , ( हुनत नेपालमा नमिल्ने कुरा नै के छ र ? राजा र काँग्रेस मिल्न सक्छन , काँग्रेस र एमाले मिल्न सक्छन , राजा र एमाले मिल्न सक्छन , हुंदा हुंदा भोलि राजा र माओवादी पनि मिल्न सक्लान - झण्डै मिलेका पनि थिए तर दुखको कुरा राजा हटाउने सवालमा एक स्वरमा एक भएर हाम्रा नेताहरु मिल्न सक्दैनन । ) राजतन्त्रलाई बोक्नै पर्छ भने किन लोकतन्त्रको डिँग हाँकी हिंड्ने हो हाम्रा नेताहरुले ? आफ्नो आफ्नो स्वार्थ सिद्ध गर्न बाहेक देश र जनताको निँती काम गर्ने नेता हामीले कहिले पाउने होला ?

बर्तमानमा देशको मुल समस्या राजतन्त्र हो र मुल आवश्यकता शान्ती हो भनेर सबै नेताहरुलाई ज्ञात नै छ तर पनि खै त मुल समस्याको मुल जरो उखेल्न किन यस्तरी हिच्किचाएका हुन ? राजालाई स्पेस दिनु पर्छ भन्ने प्रधानमंत्रीको पछाडी र राजा राख्ने नेपाली काँग्रेसका सभापतीका पछाडी (दुबै यौटै भए पनि ) थोरै सहयोगी नहोलान भन्न सकिन्न जस्ले बिभिन्न प्रभोलनमा परेर राजा राख्नु पर्छ भन्न सक्छन । राजतन्त्र राख्ने र हटाउने भन्ने प्रश्नमा आमजनताले आफ्नो धारणा राख्न पाउने कि नपाउने ? पाउने हो भने कसरी पाउने ? नपाउने हो भने किन नपाउने ? कि सम्बिधानसभामा बस्ने सदस्यहरुले मात्रै त्यस्को छिनोफानो गर्ने ? सम्बिधान सभामा सहभागी हुनेहरुले भोली राजतन्त्रको बिषयमा गरेको फैसला मान्यनहुनेले मुद्दा हाल्न पाउने कि नपाउने ( मेरो भन्नुको आसय फेरी त्यसै बिषयमा अर्को पटक बहस गरेर अर्को फैसला निकाल्न पाउने कि नपाउने ? ) कि फेरी चित्त नबुझ्नेले भोली बन्दुक बोकेर जँगल तिर जाने ? आउदै गरेको शान्ती साँच्चिकै हो कि भ्रम मात्रै हो ? प्रश्नहरु अझै अनुत्तरित छन ।

Friday, November 17, 2006

गीत : तिम्रो माया बल्छि रैछ ।

तिम्रो माया बल्छि रैछ मुस्कानको चारो थाप्यौ
लोभिएर उनिएछु म
जालहारीको जाल जस्तो तिम्रो त्यो जाली मायामा
थाहै नपाई थुनिएछु म ।

दुनियां भरको सुखहरु तिमी भनी लत्याई दिएं
आफ्नै मनको केही खुशीहरु पनि हुत्याईदिएं
सबै छोडें तिम्रो निम्ती आंखिरी म रित्तो भएं
भित्र भित्रै धमीराले मक्काएको भित्तो भएं ।

दुखिरन्छ मुटु , आँशु आँखाबाट बर्षिरन्छ
बुझाउं कसरी यो मन झस्किरन्छ तर्सिरन्छ
बिहान पनि मेरो निंती सुर्य अस्ताएझैं भयो
मैले खाँदा कसम पनि हरिताल खाएझैं भयो ।

Thursday, November 16, 2006

श्रदाञ्जली सम्झनाको ।

शाको यौटा दिप जलायौ
श्वर भाकी दिलमा आई
हर दिलको सागरमा उठायौ
रेर पिरतीको गीत गाई
न्मा तिमिले घर बसायौ
जुनी जुनी सम्मलाई ।

यहि नै थियो मेरो प्रेमको पहिलो सम्बोधन । प्रत्येक हरफको पहिलो अक्षर लिएर ठाडो लहर मार्फत आफ्नो अभिब्यक्ती पोख्ने प्रयास । किशोरावस्थाको यौटा लहड जुन पछि गएर वाष्तविक प्रेममा परिणत भयो र अझै पछि गएर यौटा मिठो पिंडा बन्यो । यसरी -

मायाको सिङ्गै आकाश दिएथें
मायालुलाई त्यहि थोरै भयो
नसकेर दिन जून ताराहरु
यो अभागीको जीवन उजाड भयो

आज नोभेम्बर १६ तारिख सन २००६ तदअनुशार २०६३ साल मंशीर ०१ गते (नेपालमा) , बिर्षन्छु भन्दा पनि नसकेको आफ्नो ब्याथा फेरी एकपटक सम्झंदैछु । कैयौं पटक मैले प्रण गरें भयो अब म यो विषयलाई सम्झन्न भनेर तर यो विषय नै यौटा घाउ रहेछ । घाउ जती पुरानो भयो त्यतीनै डरलाग्दो हुंदो रहेछ जबसम्म त्यो घाउ रहन्छ ; निको भैसक्ने हो यदि भने त घाउ नै भनिंदैन । मंशीर १ गतेलाई मैले मेरो जीवनको कालो दिन घोषणा गरेको छु किनकी यो मेरो प्रेमको अवशान भएको दिन हो । मेरो मन खाली भएको दिन हो । मेरो मनको सँघारबाट मायालुको पाईला हटेको दिन हो । घोषणा गर्दै गर्दा सायद म यो दिनलाई कहिल्यै नसम्झने प्रण गर्दै थिएं होला तर आज आएर लाग्दैछ त्यही कालो दिनको पनि मेरो जीवनमा महत्व रहिरहने रहेछ । त्यसैले त आज फेरी म सम्झीरहेछु त्यो दिनलाई अनि मेरी मायालुलाई । हुनत अब केवल सम्झनु मात्रै नै हो तर मैले गरीरहेको यो सम्झना उस्लाई श्रदाञ्जली बनोस । जती हार्नु मैले हारी सकेको छु कुनै खुशी सायद अब फेरी जित्न सक्दिन म जिन्दगीमा त्यसैले त भनेकै छु -

खुशी त कहाँ जित्न सकिन्छ जिन्दगी हारेर
मनको सँघार नाघेर गयौ मन रित्तै पारेर ..... अनि बसेको छु रित्तो मनको घर कुरेर । यो बाँच्ने जीजिविषा हो जिन्दगीको त्यसैले हार स्विकारेरै बाँचेको छु म । यो ब्यंग जो जिन्दगीको त्यसैले आफुलाई भन्दा धेरै माया गर्छु भनेर पनि उ बिना नै हाँसेको छु म । त्यसो त परिवार संग समाज संग आबद्द यौटा मान्छे झ्याङ्ग भित्रको वाँस हो जस्को फेद छिनेर पनि झ्याङ्ग बाट आफै अलग हुन सक्दैन अलग गर्नको लागी झ्याङ्ग भित्रका अरु वाँसहरुको पनि हाँगा बिंगा काट्नु पर्ने हुन्छ त्यसैले त होला भए जती आफ्नाहरु लाई दुखाउन नसकेर फेदै छिनेर , सिङ्गै सुकेर पनि मान्छेले समाजको झ्याङ्ग भित्रै रहनु पर्छ । म सानै छंदादेखि गाउंघरमा मान्छेहेरुले कुनै काम सोचेको भन्दा बिपरित भै दिंदा या कुनै काममा असफलता हात लाग्दा मरेकै दिन भयो भन्ने गरेको सुन्थें यहाँ सम्म कि बिस्कुन सुकाउनु पर्दा घाम लागिदिएन भने अथवा कतै हिंड्ने दिनमा झरी परिदियो भने पनि मरेकै दिन भयो भनेको सुन्थें । त्यसबेला त्यहि भनिएको दिन नै मरेको हो कि जस्तो लाग्थ्यो । पछि बुझ्दै जान थालें घाम लाग्ने , हावाहुरी चल्ने , झरी पर्ने ईत्यादी त दिनको कर्म नै हो रहेछ त्यसैले दिनलाई मरेको त भन्न सकिन्न । आफु (भन्ने ब्याक्ती) मरेको दिन त झन हुनै सक्दैन । मरेको दिन कस्लाई थाहा हुन्छ र ? मरेपछी त सकिईगयो । त्यसैले मरेको दिन भयो भन्नु त आफ्नो कोही पृयजन मरेको दिन पो हो रहेछ । सुन्दै खेरि बुझे जस्तो लाग्ने यस्ता साना कुराहरु फेरी जीवनमा स्पस्ट रुपमा बुझ्ने दिन पनि आउदो रहेछ । भोगाईमा मरेको दिनको अर्थ मैले पनि त्यसदिन मात्र बुझें जुनदिन मैले आफ्नो सबभन्दा नजिकको मान्छे गुमाएं र त्यसको तिक्तता महसुस गरें । जती बिर्षन्छु भन्थें उती धेरै सम्झंदो रहेछु म उस्लाई । मैले उस्को स्मृतीमा धेरै कुराहरु लेखेको रहेछु । सयौं गीतहरु , अनेकन कविताहरु र अन्य धेरै गन्थनहरु पनि । गन्थनहरु लेख्ने क्रममा बादल पारीकी मायालुलाई मेरो चिठ्ठी शिर्षक दिएर शोक पत्रहरुको संकलन भन्दै मैले लगातार १९० वटा चिठ्ठीहरु लेखेको रहेछु । त्यही पत्र यदी कुनै जिउंदै भएकि प्रेमिकालाई लेखेको भए प्रेम पत्र हुन्थ्यो तर मैले त मरीसकेकी प्रेमिकालाई लेखेको हुनाले शोक पत्र भनिदिएं । त्यस मध्येका कुनै कुनै पत्रहरु त बिसौं पृष्ठ लामो पनि लेखेको रहेछु । उसकै सम्झनामा लेखेका गीतहरु बाट १० वटा गीतहरुको संगालो एक अञ्जुली माया क्यासेट र सिडीमा हालसालै बजारमा पनि निकालेको छु । यसरी उस्ले मलाई जती रुवाएकी छे त्यतीनै बाँच्ने साहस पनि दिएकी छे । जब म उस्लाई बिर्षन नै नसक्ने रहेछु भने अब भन्दिन म उस्लाई बिर्षन्छु भनेर त्यसैले मैले समयलाई पनि अनुरोध गरेको छु -

.....नमेटी देउ ए ! समय उनलाई मेरी मायालु कहानीमा छिन
सुनौलो सपना सजिएको मेरै आँखाको नानीमा छिन .........। र आज पनि फेरी उसैको सम्झनामा श्रदाञ्जली स्वरुप यौटा अर्को गीत थप्दैछु ।
___
______
_________
तिमी त बाँच्यौ मेरै गीतमा
म त मरीसकेछु तिम्रै प्रीतमा
सागरमा छौ तिमी अनन्त अथाह
म त सुकें थोपा थोपा शीतमा ।


जित्नेहरु भन्छन यो हार हो मेरो
म भन्छु यहि त प्यार हो मेरो
मैले जित्नै पर्ने यो कुनै खेल हैन
चोखो माया हो यो जाल झेल हैन ।


जब लाग्छ आफु भित्र तिमी बाँचे जस्तै
खुशी फूल्छ पहरामा फूल हाँसे जस्तै
एक्लो यदि छु भने दुनियाँ म भुल्छु
कसैले नटिप्ने म पलाँसमा फुल्छु ।
----------

Wednesday, November 15, 2006

गीत : बटुवा दाई ।

सुन ए ! बटुवा दाई ,
एकैछिन त बिसाएर जाउ
मेरो गीतमा तिम्रो दुख
अनि खुशी मिसाएर जाउ ।


हिंड्दै जाँदा बाटोभरी घाउ धेरै भेटिनेछ
आजका यि खुशीहरु भोली सबै मेटिनेछ
सुन ए ! बटुवा दाई ,
यौटा गीत गाएर जाउ
मेरो गीतले च्यातिएको
तिम्रो मन सिलाएर जाउ ।


लामो बाटो जिन्दगीको हाँसी हाँसी काट्नु पर्छ
केहि खुशी केहि दुख सबै सँग साट्नु पर्छ
सुन ए ! बटुवा दाई ,
थोरै प्रीत लाएर जाउ
मेरो गीतको अधुरो सुर
तिमी पुरा बनाएर जाउ ।

Tuesday, November 14, 2006

कविता : निश्प्राण वैलाएछ यौटा कोपिला र अर्को ।

सँगै सँगै हिउंदको चिसो शीत खपेर
एकै साथ बसन्तमा ओठ खोल्दै गरेका
एक जोडा कोपिलाहरु
फूल बनेर फक्रीने रहर गर्दै गर्दा
निर्दोश भँवराले चुसिदिएर त्यही रहर
निश्प्राण वैलाएछ यौटा कोपिला र अर्को
आफुलाई एक्लिनुको पिंडाले
कति नछुवाई मस्त संसारमा
सुगन्ध छरेर फक्रीरहेको छ
निर्दोश भवँराहरु घुम्दै
आउनेछन कुनै दिन तिमी सम्म
चुस्नसक्छन तिम्रा पनि रहरहरु
भवँराहरु निर्दोश हुँदाहुँदै
पापी पनि हुन सक्छन
होसियार तिमी फूल हौ
भवँरा सामु तिमी कहिल्यै
आत्मसमर्पण गरी झुक्नु हुँदैन
सौंन्दर्य फक्रीनु तिम्रो अस्तित्व
निस्पाप भवँराको स्पर्शबाट बच्न
काँढे झ्याङ्गहरु बिच लुक्नु हुदैन
फूलको कोमल मुटुभित्र तिमिसँग
भवँराहरु झेल्न सक्ने साहस हुनै पर्छ ।

२० असार २०५८

Wednesday, November 08, 2006

गीत : बेहिसाब नै बितिसक्यो ।

बेहिसाब नै बितिसक्यो अब जीवनको हिसाब नखोज
जति दुख्नु दुखीसकें म , कती दुख्छौ? भनेर नसोध ।

सुनबुट्टे रहरहरु आँखैमा फुटेर रगतको आँशु झारीरहें
पाईला पाईलामा टेकेर आफैंले फूलाएको सपना मारीरहें
खाली खाली भै रित्तिसकें , कती बाँकी छु ? अब नखोज
जति दुख्नु दुखीसकें म , कती दुख्छौ ? भनेर नसोध ।

आफ्नै नियतीको भुमरीमा परेर बालुवाको अक्षर झैं मेटिईगएं
कण कण भै उडेर धुलो संगै आफ्नै भाग्य संगै रेटिईरहें
टुक्रा टुक्रा भै बांडिईसकें , कहाँ सिङ्गो छु ? भै गो नखोज
जति दुख्नु दुखीसकें म , कती दुख्छौ ? भनेर नसोध ।

Monday, November 06, 2006

A short write up about "Ek Anjuli Maya" by fursad.com

Ek Anjuli Maya
An album 'Ek Anjuli Maya' was formally released a month back by Dhaulagiri Cassette Centre but the album has not hit the music stores yet. According to Ganesh Gauli, the producer of this album, 'Ek Anjuli Maya' will be available in the market within this week.
The entire songs in the album has been composed by Tika Bhandari and written by Deepak Jadit who is currently living in the United States.
The highlight of the album are singers like Ruby Joshi, Deep Shrestha, Rabin Sharma, Pradeep Raj Pandey, Kunti Moktan, Ram Krishna Dhakal, Yam Baral, Karna Das, Ananda Karki and Samal Jagdis. As of now, one of the music videos "Kushi Ta Kaha Jitna" from the album has already been premiered. The track is sung by Deep Shrestha.
Ganesh shares, "The songs in the album have a flavor of semi-classical and sentimental patterns. The numbers in the album may not be very popular at the moment but in the years to come they are going to do wonders." An amount of three Lakhs has been invested in the making of this album.

This short write up has been written by http://fursad.com and now we can request and listen some of the songs of Ek Anjuli Maya online at Radio Jhatka , live from Nepal .

Friday, November 03, 2006

आफ्नै गीतको म्युजिक भिडियो हेर्दा ।

" गीती अल्बम तयार पारेर मात्र कहाँ हुन्छ र ? गीत चलाउनलाई त म्युजिक भिडियो पनि बनाउनु पर्यो नि ? " संगीतकार टिका भण्डारी जी को अनुरोधात्मक दबाव थियो यो । हो पनि आज भोली गीतहरुको भिडियो बनाउने प्रचलन नै छ नत्र भने गीतहरु राम्रो भएपनि ओझेल पर्न सक्छ । एक अन्जुली माया गीती अल्बम तयार हुने बेलातिर कुन गीतको भिडियो बनाउने भन्ने द्विविदा भयो । गणेश गौली जी ले - " दीप दाईको गीतलाई गर्नु पर्छ । दीप दाईको क्रेज युवामाझ पनि छ फेरी दीप श्रेष्ठ भनेको नेपाली गीत संगीत क्षेत्रको ऐतिहासिक धरोहर हो । " भन्नु भयो । गौली जी को कुरामा संगीतकार टिका भण्डारी जी र म सहमत भयौ र काम सुरु भयो । ईमेज च्यानलका दीपक श्रीको निर्देशनमा दीप दाई स्वयं पनि छायाँकित हुनु भएको भिडियो केही अगाडी नै तयार भै सकेको थियो तर मैले भने अझै सम्म हेर्न भ्याएको थिइनं । मैले नेपालबाट सम्पर्कमा भएकाहरु र भिडियो हेरीसकेकाहरु सबैलाई सोधेको थिएं कस्तो भएको छ भनेर सबैले औसतमा राम्रो भएको छ भनेका थिए । आज बल्ल फुर्सद डट कममा उक्त भिडियो लाई राख्न लगाएर हेरें । मलाई भने औधी नै मन पर्यो । आफ्नो शब्दहरुको गीत त्यसमा दीप दाईको स्वर अनि टिका दाईको संगीत , मनपर्ने त भै हाल्यो अझ त्यसमाथी दीपक श्रीले राम्रो प्रस्तुती दिनु भएको छ । भिडियो बनाईदिनुहुने दीपक श्री जी लाई साथै अभिनय गरिदिनुहुने दुबै मोडेलहरुलाई मेरो धन्यवाद । मलाई मनपर्नुको अर्को मुख्य कारण पनि भनुँ है - उक्त भिडियोमा बनाईएको पेण्टिङ्ग मेरी स्व. पत्नि मन्जुको हो । मैले गीती अल्बम नै उसैको नाममा समर्पण गरेको छु र म्युजिक भिडियोमा पनि उक्त कुरा दर्शाईएको रहेछ । भिडियो अपलोड गरेर साईटमा राखिदिएकोमा फुर्सद डट कमलाई मेरो हृदयदेखी नै धन्यवाद । तपाईलाई पनि एक पटक http://fursad.com मा गएर हेरिदिनुहुन अनुरोध गर्दछु । प्रतिकृया दिनैपर्छ भन्ने त छैन तर यदि प्रतिकृया लेख्ने मन भयो भने हेरेर मलाई यहिं प्रतिकृया दिन सक्नुहुनेछ नत्र deepakjadit@gmail.com मा लेख्नुहोला ।

खुशी त कहाँ जित्न सकिन्छ जिन्दगी हारेर
मनको सँघार नाघेर गयौ मन रित्तै पारेर ..........................।

Thursday, November 02, 2006

गीत : कस्लाई नजिक सार्यौ ।

कस्लाई नजिक सार्यौ भन मलाई टाढा पार्यौ
फुल्दै गर्दा मायाको फूल हाँगाबाट झार्यौ ।

बगरको ढुङ्गालाई देवता सम्झिएछु
चोखो मनले पुजागर्दै मुटु नै दिएछु
त्यै मुटु निचार्यौ भन किन माया मार्यौ
सिमा कोरी पिरतीमा काँढे तारले बार्यौ ।

सँगै थियौ हिजो सम्म मेरै वरपर
बनाउछु भन्दै थियौ मेरो मनमा घर
खै त किन टार्यौ भन किन माया मार्यौ
मेरो चोखो पिरतीलाई भुईंमा लछार्यौ ।

Wednesday, November 01, 2006

गीत : आज जिउँदै डढ्दैछु म ।

विश्वास गरी तिमीलाई
मैले त धोका खाएं
दुखाई नै रहयौ मलाई
रै पनि माया लाएं ।


म त थिएं माया गर्ने
मायाकै निम्ती मर्ने
तिमी त रैछौ खुशी सोर्ने
मायामा मुटु फोर्ने ।


अँध्यारोमै सड्दैछु म
पाईलै पिच्छे लड्दैछु म
सुताईदियौ चितामाथी
आज जिउँदै डढ्दैछु म ।