Friday, November 03, 2006

आफ्नै गीतको म्युजिक भिडियो हेर्दा ।

" गीती अल्बम तयार पारेर मात्र कहाँ हुन्छ र ? गीत चलाउनलाई त म्युजिक भिडियो पनि बनाउनु पर्यो नि ? " संगीतकार टिका भण्डारी जी को अनुरोधात्मक दबाव थियो यो । हो पनि आज भोली गीतहरुको भिडियो बनाउने प्रचलन नै छ नत्र भने गीतहरु राम्रो भएपनि ओझेल पर्न सक्छ । एक अन्जुली माया गीती अल्बम तयार हुने बेलातिर कुन गीतको भिडियो बनाउने भन्ने द्विविदा भयो । गणेश गौली जी ले - " दीप दाईको गीतलाई गर्नु पर्छ । दीप दाईको क्रेज युवामाझ पनि छ फेरी दीप श्रेष्ठ भनेको नेपाली गीत संगीत क्षेत्रको ऐतिहासिक धरोहर हो । " भन्नु भयो । गौली जी को कुरामा संगीतकार टिका भण्डारी जी र म सहमत भयौ र काम सुरु भयो । ईमेज च्यानलका दीपक श्रीको निर्देशनमा दीप दाई स्वयं पनि छायाँकित हुनु भएको भिडियो केही अगाडी नै तयार भै सकेको थियो तर मैले भने अझै सम्म हेर्न भ्याएको थिइनं । मैले नेपालबाट सम्पर्कमा भएकाहरु र भिडियो हेरीसकेकाहरु सबैलाई सोधेको थिएं कस्तो भएको छ भनेर सबैले औसतमा राम्रो भएको छ भनेका थिए । आज बल्ल फुर्सद डट कममा उक्त भिडियो लाई राख्न लगाएर हेरें । मलाई भने औधी नै मन पर्यो । आफ्नो शब्दहरुको गीत त्यसमा दीप दाईको स्वर अनि टिका दाईको संगीत , मनपर्ने त भै हाल्यो अझ त्यसमाथी दीपक श्रीले राम्रो प्रस्तुती दिनु भएको छ । भिडियो बनाईदिनुहुने दीपक श्री जी लाई साथै अभिनय गरिदिनुहुने दुबै मोडेलहरुलाई मेरो धन्यवाद । मलाई मनपर्नुको अर्को मुख्य कारण पनि भनुँ है - उक्त भिडियोमा बनाईएको पेण्टिङ्ग मेरी स्व. पत्नि मन्जुको हो । मैले गीती अल्बम नै उसैको नाममा समर्पण गरेको छु र म्युजिक भिडियोमा पनि उक्त कुरा दर्शाईएको रहेछ । भिडियो अपलोड गरेर साईटमा राखिदिएकोमा फुर्सद डट कमलाई मेरो हृदयदेखी नै धन्यवाद । तपाईलाई पनि एक पटक http://fursad.com मा गएर हेरिदिनुहुन अनुरोध गर्दछु । प्रतिकृया दिनैपर्छ भन्ने त छैन तर यदि प्रतिकृया लेख्ने मन भयो भने हेरेर मलाई यहिं प्रतिकृया दिन सक्नुहुनेछ नत्र deepakjadit@gmail.com मा लेख्नुहोला ।

खुशी त कहाँ जित्न सकिन्छ जिन्दगी हारेर
मनको सँघार नाघेर गयौ मन रित्तै पारेर ..........................।

No comments: