Thursday, November 16, 2006

श्रदाञ्जली सम्झनाको ।

शाको यौटा दिप जलायौ
श्वर भाकी दिलमा आई
हर दिलको सागरमा उठायौ
रेर पिरतीको गीत गाई
न्मा तिमिले घर बसायौ
जुनी जुनी सम्मलाई ।

यहि नै थियो मेरो प्रेमको पहिलो सम्बोधन । प्रत्येक हरफको पहिलो अक्षर लिएर ठाडो लहर मार्फत आफ्नो अभिब्यक्ती पोख्ने प्रयास । किशोरावस्थाको यौटा लहड जुन पछि गएर वाष्तविक प्रेममा परिणत भयो र अझै पछि गएर यौटा मिठो पिंडा बन्यो । यसरी -

मायाको सिङ्गै आकाश दिएथें
मायालुलाई त्यहि थोरै भयो
नसकेर दिन जून ताराहरु
यो अभागीको जीवन उजाड भयो

आज नोभेम्बर १६ तारिख सन २००६ तदअनुशार २०६३ साल मंशीर ०१ गते (नेपालमा) , बिर्षन्छु भन्दा पनि नसकेको आफ्नो ब्याथा फेरी एकपटक सम्झंदैछु । कैयौं पटक मैले प्रण गरें भयो अब म यो विषयलाई सम्झन्न भनेर तर यो विषय नै यौटा घाउ रहेछ । घाउ जती पुरानो भयो त्यतीनै डरलाग्दो हुंदो रहेछ जबसम्म त्यो घाउ रहन्छ ; निको भैसक्ने हो यदि भने त घाउ नै भनिंदैन । मंशीर १ गतेलाई मैले मेरो जीवनको कालो दिन घोषणा गरेको छु किनकी यो मेरो प्रेमको अवशान भएको दिन हो । मेरो मन खाली भएको दिन हो । मेरो मनको सँघारबाट मायालुको पाईला हटेको दिन हो । घोषणा गर्दै गर्दा सायद म यो दिनलाई कहिल्यै नसम्झने प्रण गर्दै थिएं होला तर आज आएर लाग्दैछ त्यही कालो दिनको पनि मेरो जीवनमा महत्व रहिरहने रहेछ । त्यसैले त आज फेरी म सम्झीरहेछु त्यो दिनलाई अनि मेरी मायालुलाई । हुनत अब केवल सम्झनु मात्रै नै हो तर मैले गरीरहेको यो सम्झना उस्लाई श्रदाञ्जली बनोस । जती हार्नु मैले हारी सकेको छु कुनै खुशी सायद अब फेरी जित्न सक्दिन म जिन्दगीमा त्यसैले त भनेकै छु -

खुशी त कहाँ जित्न सकिन्छ जिन्दगी हारेर
मनको सँघार नाघेर गयौ मन रित्तै पारेर ..... अनि बसेको छु रित्तो मनको घर कुरेर । यो बाँच्ने जीजिविषा हो जिन्दगीको त्यसैले हार स्विकारेरै बाँचेको छु म । यो ब्यंग जो जिन्दगीको त्यसैले आफुलाई भन्दा धेरै माया गर्छु भनेर पनि उ बिना नै हाँसेको छु म । त्यसो त परिवार संग समाज संग आबद्द यौटा मान्छे झ्याङ्ग भित्रको वाँस हो जस्को फेद छिनेर पनि झ्याङ्ग बाट आफै अलग हुन सक्दैन अलग गर्नको लागी झ्याङ्ग भित्रका अरु वाँसहरुको पनि हाँगा बिंगा काट्नु पर्ने हुन्छ त्यसैले त होला भए जती आफ्नाहरु लाई दुखाउन नसकेर फेदै छिनेर , सिङ्गै सुकेर पनि मान्छेले समाजको झ्याङ्ग भित्रै रहनु पर्छ । म सानै छंदादेखि गाउंघरमा मान्छेहेरुले कुनै काम सोचेको भन्दा बिपरित भै दिंदा या कुनै काममा असफलता हात लाग्दा मरेकै दिन भयो भन्ने गरेको सुन्थें यहाँ सम्म कि बिस्कुन सुकाउनु पर्दा घाम लागिदिएन भने अथवा कतै हिंड्ने दिनमा झरी परिदियो भने पनि मरेकै दिन भयो भनेको सुन्थें । त्यसबेला त्यहि भनिएको दिन नै मरेको हो कि जस्तो लाग्थ्यो । पछि बुझ्दै जान थालें घाम लाग्ने , हावाहुरी चल्ने , झरी पर्ने ईत्यादी त दिनको कर्म नै हो रहेछ त्यसैले दिनलाई मरेको त भन्न सकिन्न । आफु (भन्ने ब्याक्ती) मरेको दिन त झन हुनै सक्दैन । मरेको दिन कस्लाई थाहा हुन्छ र ? मरेपछी त सकिईगयो । त्यसैले मरेको दिन भयो भन्नु त आफ्नो कोही पृयजन मरेको दिन पो हो रहेछ । सुन्दै खेरि बुझे जस्तो लाग्ने यस्ता साना कुराहरु फेरी जीवनमा स्पस्ट रुपमा बुझ्ने दिन पनि आउदो रहेछ । भोगाईमा मरेको दिनको अर्थ मैले पनि त्यसदिन मात्र बुझें जुनदिन मैले आफ्नो सबभन्दा नजिकको मान्छे गुमाएं र त्यसको तिक्तता महसुस गरें । जती बिर्षन्छु भन्थें उती धेरै सम्झंदो रहेछु म उस्लाई । मैले उस्को स्मृतीमा धेरै कुराहरु लेखेको रहेछु । सयौं गीतहरु , अनेकन कविताहरु र अन्य धेरै गन्थनहरु पनि । गन्थनहरु लेख्ने क्रममा बादल पारीकी मायालुलाई मेरो चिठ्ठी शिर्षक दिएर शोक पत्रहरुको संकलन भन्दै मैले लगातार १९० वटा चिठ्ठीहरु लेखेको रहेछु । त्यही पत्र यदी कुनै जिउंदै भएकि प्रेमिकालाई लेखेको भए प्रेम पत्र हुन्थ्यो तर मैले त मरीसकेकी प्रेमिकालाई लेखेको हुनाले शोक पत्र भनिदिएं । त्यस मध्येका कुनै कुनै पत्रहरु त बिसौं पृष्ठ लामो पनि लेखेको रहेछु । उसकै सम्झनामा लेखेका गीतहरु बाट १० वटा गीतहरुको संगालो एक अञ्जुली माया क्यासेट र सिडीमा हालसालै बजारमा पनि निकालेको छु । यसरी उस्ले मलाई जती रुवाएकी छे त्यतीनै बाँच्ने साहस पनि दिएकी छे । जब म उस्लाई बिर्षन नै नसक्ने रहेछु भने अब भन्दिन म उस्लाई बिर्षन्छु भनेर त्यसैले मैले समयलाई पनि अनुरोध गरेको छु -

.....नमेटी देउ ए ! समय उनलाई मेरी मायालु कहानीमा छिन
सुनौलो सपना सजिएको मेरै आँखाको नानीमा छिन .........। र आज पनि फेरी उसैको सम्झनामा श्रदाञ्जली स्वरुप यौटा अर्को गीत थप्दैछु ।
___
______
_________
तिमी त बाँच्यौ मेरै गीतमा
म त मरीसकेछु तिम्रै प्रीतमा
सागरमा छौ तिमी अनन्त अथाह
म त सुकें थोपा थोपा शीतमा ।


जित्नेहरु भन्छन यो हार हो मेरो
म भन्छु यहि त प्यार हो मेरो
मैले जित्नै पर्ने यो कुनै खेल हैन
चोखो माया हो यो जाल झेल हैन ।


जब लाग्छ आफु भित्र तिमी बाँचे जस्तै
खुशी फूल्छ पहरामा फूल हाँसे जस्तै
एक्लो यदि छु भने दुनियाँ म भुल्छु
कसैले नटिप्ने म पलाँसमा फुल्छु ।
----------

No comments: