Sunday, April 29, 2007

कविता : ठिक पार्दै गर ।

ए ! आमा ,
हिजो अस्ती भर्खरै
तिमीले डाडु पन्यु लिएर
भाँडोमा डढेको कालो खुर्केर फाल्दै
देशमा डढेर बसेकाहरुको
विरोध गरेकि हैनौ ?
किन अझै पनि
भाँडै बिगार्ने माम्रीहरु
देशैभरी कालै देख्छु म ?

ए ! दिदी ,
तिमीले हिजो मात्रै
हातमा खरेटो लिएर
चोक चोकमा थुप्रिएको फोहोर बढार्दै
देशका कसिंगरहरुको
विरोध गरेकि हैनौ ?
किन अझै पनि
सहर , बजार , गाउँ , गल्ली
देशैभरी कसिंगर देख्छु म ?

ए ! दाजु ,
हिजो अस्ती भर्खरै
तिमीले छाडा राँगोलाई दाम्लोले बाँधेर
सडक सडक घुमाउदै
देशका छाडा राँगोहरुको
विरोध गरेका हैनौ ?
किन अझै पनि
बन्दीछाडा राँगोहरु
देशैभरी बड्किएको देख्छु म ?

ए ! भाई ,
तिमीले हिजो मात्रै
किताबभित्रका धमिराहरु
सडकमा लगेर टक्ट्क्याउंदै
देशका धमिराहरुको
विरोध गरेका हैनौ ?
किन अझै पनि
देश खोक्रो पार्ने
धमिराहरु
देशैभरी सल्बलाएको देख्छु म ?

ए , आमा
नयाँ डाडु पन्यु ठिक पार्दै गर
फेरी भाँडोमा बचेखुचेका
माम्रीहरु खुर्केर फाल्नुपर्छ ।
ए ! दिदी ,
नयाँ खरेटो बाँध्दै गर
फेरी चोकमा छरिएका
कसिंगर बढारेर फाल्नुपर्छ ।
ए ! दाजु ,
नयाँ दाम्लो बाट्दै गर
फेरी बन्दी छाडा राँगोलाई
बाँधेर गोठमा हाल्नुपर्छ ।
ए ! भाई ,
नयाँ झोला ठिक पार्दै गर
फेरी धमिरा नलाग्ने किताब
नयां झोलामा राख्नुपर्छ ।
यो कविता मैले गत बर्षको जुन ५ मा लेखेको रहेछु र जुन ७ मा नेपाली पोष्टमा प्रकाशित भएको रहेछ । यस्लाई मैले आफ्नो ब्लगमा भने राखेको रहेनछु त्यसैले आज थोरै थपघट गरेर यहाँ राख्दैछु । आज फेरी देश जुर्मुराएर उठ्नु पर्ने भएको छ र यो कविता समय सापेक्ष भएको छ ।

Wednesday, April 25, 2007

अप्रिल टुर : मेसा भर्दे नेशनल पार्क ।

खाली समय तह लगाउनको लागी हामी डेन्भरबाट फर्केको लगत्तै अप्रिल ७ तारिख दिउंसो मेसा भर्दे नेशनल पार्क घुम्न गयौं । यो पाली हामीसंग ओखलढुँगाको भिम मगर दाई पनि सामेल हुनुहुन्थ्यो ।

डुराङ्गोबाट 160 Highway लिएर पश्चिम लागेपछि झन्डै डेढ घण्टाको ड्राईभमा मेसा भर्दे नेशनल पार्क पुगिने रहेछ र नेशनल पार्कको हेर्नुपर्ने कुराहरु भएको ठाउंमा पुग्न भने अरु थप आधा घण्टाको ड्राईभ रहेछ । झण्डै डेढ बर्षको डुराङ्गो बसाईमा म यहाँ गएको थिईनं ।
सन १९०६ को जुन २९ मा यो नेशनल पार्क स्थापना भएको रहेछ । रेड ईण्डियन ( अमेरिकाका आदिबासी ) हरुको बारेमा रहेछ यो नेशनल पार्क । रेड ईण्डियनहरुले प्रयोग गर्ने सामानहरुको निक्कै ठुलो संग्राहलय पनि रहेछ तर यहाँको आकर्षण भनेको चाहिं रेड ईन्डियनहरुको बस्ने ठाउँ रहेछ । ठुलो पहराको तल ओढार जस्तो ठाउँमा उनिहरुको बस्ती रहेछ । हेर्दा ढुँगे युगको सहर जस्तो लाग्ने ।

सन ६०० देखि सन १३०० सम्म ७०० बर्ष सम्म रेड ईण्डियनहरु यो ठाउँमा बसेका रहेछन र त्यसपछि दक्षिण तर्फ पर्ने न्यु मेक्सिको र एरिजोना राज्य तर्फ सरेर गएका रहेछन । त्यसो त कोलोराडोको दक्षिणी भेगमा अझै पनि बस्छन यिनिहरु , हेर्दा हामी नेपाली , जनजाती नेपाली , जस्तै देखिन्छन ।

मेसा भर्देमा मैले खिचेको केहि फोटोहरु (ठुलो पारेर हेर्न फोटोमा क्लिक गर्नुहोला)
:-

जाँदाजाँदै बाटोमा खिचेको सुन्दर View .तस्विरमा निक्कै पर तल कर्टेज भन्ने सानो सहर पर्छ ।
यो ठुला ठुला चट्टानका पहाडहरु नभएर सानो यौटा चट्टानमा निस्किएका साना चुच्चाहरु हुन । यहाँ पाईला राख्दा फोटोमा देखिए जति भाग एकै पाईलाले ओगट्छ ।
यो कुनै पहाड या हिमाललाई उल्टो पारेर खिचेको फोटो हैन । ओढारको माथिपट्टी छेउको चट्टान हो ।
ओढार भित्रका घरहरु : हेर्दै ढुँगे युगको स्मरण दिलाउने , सानो सहर जस्तै पनि लाग्ने ।
ओढार भित्रका घरहरु ।

ओढार भित्रका घरहरु ।

तल पस्ने दुलोमा पस्दै : यो दुलोको पस्ने मुख यौटा मान्छे मुश्किलले छिर्ने बर्गाकार रहेछ र त्यहाँ भर्याङ्ग हालेको रहेछ ।

तल पस्ने दुलोमा पस्दै ।

तल पस्ने दुलोमा पस्दै ।

दुलो भित्र पसेर माथि पस्ने मुख तिर खिचेको ।

दुलो भित्र त ३० जना मान्छे अटाउने ठाउं रहेछ । सायद जाडोमा बस्ने ठाउं होला ।

फर्किंदा पारी पट्टीबाट खिचेको तस्विरमा रेड ईण्डियनहरुको बस्ती ।

मेसा भर्दे नेशनल पार्क को बारेमा साथै अमेरिका भित्रका सबै नेशनल पार्कहरुको बारेमा जानकारी लिनको लागी वेभ साईट www.nps.com हो । यहि साईट भित्र मेसा भर्दे नेशनल पार्कमा गएर कपि गरेका केहि तस्विरहरु :-

SPRUCE TREE :


CLIFF PALACE :






BALCONY HOUSE :




LONG HOUSE :






STEP HOUSE :



Tuesday, April 24, 2007

फुर्सद र म ।

फुर्सद छ आजभोली , अझै १५/२० दिनको लागी । फुर्सद पाए यो गर्छु र त्यो गर्छु भन्थें । लेख्दालेख्दै अधुरा रहेका केहि कुराहरु पुरा गर्ने दाउमा पनि थिएं फुर्सद पाउंदा तर फुर्सद पाएपछि म फुर्सद मै ब्यस्त भएं । यत्रो फुर्सदमा अलिकति फुर्सद निकालेर फेरी लेख्ने क्रम शुरुगर्न सकेको छैन । आफ्नै संतुष्टीको लागी MANJUSMRITI लेख्दैथिएं , खण्डकाब्यको रुपदिने सोचाई छ तर लेखेको छैन । अरु पनि केहि त्यस्तै कुराहरु छन जो पुन लेख्न थाल्नु पर्ने हो तर लेख्न थालेको छैन ।

केहि दिन अगाडी घुम्ने क्रममा कोलोराडोकै मेसा भर्दे नेशनल पार्क घुम्न गएको थिएं त्याँहा खिचेको फोटोहरु आज राख्न खोजेको फोटो नै अपलोड भएन । मेरो ईन्टरनेट पनि ढिलो हुंदै गैरहेछ । Verizon को Wireless Internet चलाउंछु म । त्यस्लाई प्रतिमहिना $ 59.99 तिर्छु । पहिले मसंग T Mobile को Cell Phone हुंदा Internet लाई प्रतिमहिना $ 79.99 तिर्ने गर्थें तर अहिले Cell Phone पनि Verizon कै लिएको छु त्यसैले Internet लाई कम परेको छ । कैलेकाहिं Internet ढिलो भैदिंदा दिक्क लाग्छ । मेरो कम्प्युटर पनि ईन्टरनेट ढिलो हुनुको कारण हुनसक्छ । कम्प्युटरमा पोख्त नहुदाँ अनेकौं स साना समस्याले पनि सताउने गर्छ । अहिले मैले चलाईरहेको कम्प्युटर Sony को Vaio (LapTop) हो । यो भन्दा अगाडी म hp को LapTop चलाउंथें । $1500 मा यो ल्यापटप किनेको १५ महिना पनि भएको छैन । फेर्ने बेला हुन लागे जस्तो छ । यसैलाई बनाउन सके त हुन्थ्यो तर आफुले नजाने पछि बनाउने खर्च र नयाँ किन्ने खर्च उस्तै उस्तै हुन आउने रहेछ तर यो ल्यापटपलाई मैले अत्याधिक प्रयोग गरेको छु । हेर्दै पुरानो देखिन लागेको छ अब फेर्नु पर्दा पनि गुनासो हुंदैन । पैसा परे अनुशारको उपभोग गरेको छु ।

अस्तीको दिनहोला http://bloggers.com.np/ मा मैले मेरो यो ब्लग पनि समावेश गरें र त्यसदिन देखि त्याँहा भएका अन्य ब्लगहरु हेर्दा हेर्दै पनि समय बित्ने गरेको छ । त्यहाँ जम्मा २४२ वटा , पछिल्लो पटक मेरो ब्लग समावेश भएपछि , नेपाली ब्लगहरु छन । धेरैजसो नेपाली ब्लगहरु राजनीतिक बिषयमा नै लेखिएका छन त्यसो त ब्लगरको खुशी हो ब्लगमा केलाई बिषय बनाउने भन्ने । कतिपय साहित्यप्रधान ब्लगहरु पनि छन त्यस्तै मध्येमा यौटा मेरो पनि हो तर मैले आफ्नै मात्र रचनाहरु राख्ने गर्छु । आफ्नो ठाउँको परिचय सहित मैले हाम्रो गौरादह ब्लग पनि शुरु गरेको छु तर विविध कारणहरुले गर्दा त्यसलाई अघि बढाउन सकेको छैन । धेरैपछि अनामिकाको ब्लग से ना समथिङ्ग पनि पढ्न पाईने भएको छ । मलाई नेपाली ब्लगहरु मध्येमा सबै भन्दा मन पर्ने ब्लग हो त्यो जुन कुरा मैले पहिले पनि उल्लेख गरिसकेको छु । पछिल्लो पटक अनामिकाको ब्लगमा भएको जिन्दावाद ! जिन्दावाद !! भन्ने पोष्टमा मैले कमेण्ट लेखें । नेपालमा लोकतन्त्र दिवस मनाईएको छ । पोष्ट त्यही बिषयमा नै थियो । राजा हुँदाहुँदै लोकतन्त्र दिवस कसरी मनाउने ? यदी राजा हुँदा हुँदै लोकतन्त्र दिवस मनाउने हो भने गणतन्त्र दिवस नै मनाए भै हाल्यो नि । पोहोरसाल यतिखेर म भित्र खुबै जोस थियो । नयाँ नेपालको सपना थियो । रगत उमालेर मैले निक्कै कथा , गीत , गजल र कविता लेखें । तर यो एकबर्ष भित्रका राजनीतिक घटनाक्रमले म भित्रका हौसलाहरु निक्कै सेलाईसकेको छ । देशले नयाँ दिशामा गति लेला भन्ने आश मरिसकेको छ । अर्को आन्दोलनको आवश्यकता दिनदिनै हुंदैछ । माई संसारमा भर्खरै हेरेर थाहा पाएको , नेताहरुलाई खबर्दारी गर्न उपस्थित भएको नागरिक भेलाले पनि यो कुरा पुष्टी गरेको छ ।

फुर्सदले गर्दा आजभोलीको मेरो दिनचर्या पनि बदलिएको छ । कुनै कुरा पनि नियमित हुन छाडेको छ आजभोली । खाने , सुत्ने , उठ्ने आदी कुराहरु टुंगोमा हुन छाडेको छ । निश्चित समयमा निश्चित काम गर्नु पर्ने नभए पछि यसो भएको हुन सक्छ । यौटा नयाँ क्रम पनि थपिएको छ आजभोली मेरो दिन चर्यामा । हरेक दिन दिउँसो अढाई तिन बजेतिर Guam बाट फोन आउंछ । फोन गर्ने मेरै काली हुन्छे । मैले दिएको नाम काली , त्यसबेला उसको बिहान हुन्छ र उसले ब्युँझने बित्तिकै बेडबाटै कल गरेकि हुन्छे । फोन उठाएर मैले हरेक पटक एकै तरिकाले ' हजुर काली ' भन्न नभ्याउंदै " देव मैले तपाईंलाई आज पनि सपनामा देखिंन , मलाई मिस गर्नु भएन ? " भन्छे । देव मलाई मेरो फुपुको छोरा जो दार्जीलिङमा हुनुहुन्छ ले दिनुभएको नाम हो । प्रेममा यस्तो हुन्छ भन्ने थाहा थियो तर हाम्रो ( काली र मेरो ) प्रेममै यस्तो होला जस्तो लाग्दैनथियो । म कालीसंग बिहे गर्ने कुरामा ढुक्क भएको छु त्यसैले पनि म धेरै कुरै सोच्दिंन अनि अर्को कुरा सुतेर देख्ने सपना र बिपना ( भोग्नुपर्ने जीवन ) को भेद मैले निक्कै बुझिसकेको छु जस्तो पनि लाग्छ । अझ उमेरले पनि मलाई अब अल्लारे हुन दिंदैन । जे होस कालीले मलाई त्यसो भन्दा उसले मलाई अनन्त प्रेम गर्छे भन्ने कुरामा पनि म निश्चिन्त हुन्छु ।

फुर्सद छ । त्यसैले म साँच्चिकै फुर्सदमै ब्यस्त छु । कोलोराडोको आकाशमा काला सेता बादलहरु पनि हेर्न भ्याउंछु म । बादलमा बिभिन्न बस्तुहरुको आकार खोज्दा मलाई सानोको याद आउंछ । सानोमा बर्षातकै बेलातिर कुनै कुनै दिन खुला चौरमा गुन्द्रीमाथी फिंजाईएको बिष्कुन रुङ्नु पर्थ्यो । त्यसरी बिष्कुन रुङ्दा म आफु पनि बिष्कुनझैं झारमाथी लमतन्न परेर आकाशमा कुदीरहेका बादलहरु हेरिरहन्थें । बादलमा बिभिन्न बस्तुहरुको आकार खोजिरहन्थें ।

यस्तै छ फुर्सद र मेरो सम्बन्ध । म संग फुर्सदै फुर्सद छ र म त्यही फुर्सदमा ब्यस्त छु ।

Monday, April 23, 2007

गीत : आजभोली तिम्रै चर्चा ।

आजभोली तिम्रै चर्चा सुन्छु हर ओठमा
भन्छन सबै छौ रे तिमी एक करोढमा ।


ढलिसकेछन मेरा दिनहरु उज्यालो म कहाँ खोजुँ
जलिसकेछन सम्बन्धका पाना तिमीलाई कसरी रोजुँ
मलाई एक्लै छाडी तिमी गयौ कुन दौडमा
भन्छन सबै छौ रे तिमी एक करोढमा ।


सुनेर तिम्रो सफलताको चर्चा खुशी म भएको छु
गर्दिन गुनासो तर अझै मैले तिरस्कार सहेको छु
जाउ तिमी सबैलाई जिती जीवनका सब होडमा
भन्छन सबै छौ रे तिमी एक करोढमा ।

Sunday, April 22, 2007

अप्रिल टुर : भगवानको दर्शन ।

गत अप्रिल ४ तारिख हामीले अप्रिल टुर जाने फैसला गर्यौं । हामीहरु संगै काम गर्ने ३ जना थियौं बिरगञ्जको भाई मनोज अधिकारी र ईटहरीको अर्को भाई हेमन्त दंगाल र म । । नेपालमा ३ थरीको ३ टाउके यात्रामा निस्कनु हुंदैन भन्ने मान्यता थियो त्यसैले हामीले अर्को एकजना दाईलाई पनि यात्रामा सामेल गराउने उध्येश्यले वहाँको घर गयौं तर वहाँको कामबाट छुट्टी नमिलेकोले हामी तिनजना मात्रै हिंड्यौ । डुराङ्गो ( कोलोराडोको दक्षिण पश्चिममा पर्ने सानो सहर ) बाट हामीले दिउंसो ११ बजे शुरु गरेको यात्रा त्यो दिन सांझ ७ बजे डेन्भर पुगेर रोकियो । अलि हतारिएर हिंड्दा झण्डै ६ घण्टामा तय गरिने दुरी हामीले बिस्तारै गरेर पुरा ८ घण्टा लगायौं । त्यसो त रमाईलो भिउ हेर्दै जाने बिचारले हामीले अलि लामो र हिमाली बाटो रोजेका थियौं ।

यात्रामा सहभागी हामी ३ जना : बाँयाबाट क्रमश म (दीपक जडित) , मनोज अधिकारी र हेमन्त दंगाल ।

भोलीपल्ट अप्रिल ५ का दिन फेरी ११ बजेतिर हामी डेन्भरबाट पश्चिममा पर्ने अर्को सानो पर्यटकिय सहर निदरल्याण्ड तर्फ लाग्यौं जहाँ मलाई गौरादहकै मेरो साथी लिला कार्की ( नातामा मेरो काका ) भेट्नु थियो । साँढेबाह्र तिर हामी निदरल्याण्ड पुग्यौं र लिलासंग भेटघाट गरेर त्याँहाबाट नजिक पर्ने मन्दिर गयौं पहिले पनि दुई तिन पटक म निदरल्याण्ड गएको थिएं तर मन्दिर भने गएको थिईंन ।

अमेरिका जस्तो बिकशित मुलुकमा पनि भगवानलाई दुर्गम ठाउंमै बस्नु पर्ने रहेछ ; मन्दिर जाने कच्चिबाटो झन्डै ५ माईल थियो । हामीले सानो गाडी लगेका थियौं मन्दिर सम्म पुर्याउन निक्कै मुश्किल भयो खाल्टाखुल्टीले गर्दा ।

मन्दिर परिसर छिर्ने बेलामा देखिएको यो बोर्ड : SHOSHONI भनेको के हो मलाई थाहा भएन ।

त्याँहा भित्र मन्दिर घुमाउने मान्छेको पनि ब्यवस्था रहेछ । मेक्सिको बाट अमेरिका आएर ६ बर्षदेखि यस्तै मन्दिरहरुमा सरसफाईको काम गर्ने र धार्मिक पर्यटकलाई मन्दिर घुमाउने हुवाङ्ग नामका ब्याक्ती जो हाम्रो लागी सरस्वतीको मन्दिरको ढोका खोल्दै थिए । मैले उनको तस्विर खिच्न बिर्सेछु । मन्दिर भित्रपनि तस्विर लिन मनाहि रहेछ । यो मन्दिरमा सरस्वतीको ठुलो ( निक्कै ठुलो / यत्रो भन्न चाहिं सकिनं )
मुर्ती र ध्यान गरेर बस्ने ठाउं रहेछ ।

चिनियाँ पाराको घर भएको यो मन्दिर भित्र ठुला ठुला गणेश , शिव , हनुमान , राम आदीका मुर्तीहरु थिए र यहाँ भित्र भजन किर्तन गर्ने हल पनि रहेछ ।
अनि प्रवचनको लागी पनि छुट्टै हल बनाईएको रहेछ ।

यहाँभित्र चाहिं ठुलो हवन कुण्ड रहेछ र शिवलिंग अनि शिवको मुर्ती आदी पनि थियो ।
यहाँ भित्र मलाई तस्विर लिन मन थियो तर हुवाङ्गले पट्टकै अनुमति दिएनन ।

र यो चाँही मन्दिर परिसरमै बनाईएको यौटा मुर्ती बिष्णुको जस्तो छ । भएका मुर्तीमध्ये यसैको मात्र तस्विर खिच्न पाईयो ।त्यसदिन मन्दिरबाट फर्केर आएपछि बोल्डर र डेन्भरमा साथीभाईसंग भेटघाटमा मस्त हुंदै बिहान ३ बजाईएछ । ६ तारिख फेरी बिहान ११.३० तिर हामी डुराङ्गो फर्कियौं ।

Sunday, April 15, 2007

नयाँ बर्षको शुभकामना ।


नयाँ बर्ष २०६४ सालको हार्दिक मंगलमय शुभकामना ।

Monday, April 09, 2007

गीत : मरेको म मान्छे ।

उड्दा उड्दै अकाशिएर धेरै उचाईमा पुगेको म मान्छे
जटायु झैं पँख जलेर फेरि भुँईमै झरेको म मान्छे
विश्वास तिमीलाई सायदै नहोला तर हुँ त साँच्चै मरेको म मान्छे ।

अञ्जुलीमा पानी उठाएर हेर्छु त्याँहा तिम्रै माया पोखिएर जान्छ
ओभानो यो नयन नियालेर हेर्छु तिम्रो यादमा फेरी रुन लाज मान्छ
धिक्कार्छु आफुलाई सरापेर हेर्छु मरेको मन जिउंदो हुन चाहन्छ ।

गोधुलीमा आँखा चिम्लिएर हेर्छु तिमी मलाई फेरी अंगालेर रुन्छ्यौ
म भेटेर तिमीलाई आँखा खोलीदिन्छु पलमै अदृश्य तिमी भईदिन्छ्यौ
रेटेर मलाई तिम्रो सम्झनाले धुकधुकी छाड्छ्यौ न त प्राण लिन्छ्यौ ।

Wednesday, April 04, 2007

कविता : जीवन र मन ।

जीवन सधैंभरी
यौटा परिक्षणको प्रकृया हो
र मन
जीवनको प्रयोगशाला
उठ अहिल्यै
र मनलाई
विचारको टेष्ट ट्युवमा हालीहेर
हिमशिला भै जमेको जीवन
पानी बनाएर पगालीहेर
बग्न सक्छ जीवन
सलल नदि भएर
आकार देउ यस्लाई
लाग्न सक्छ अर्थ
फेरी जीवन भएर
धुँवा गुम्सिएको छाती
विचारको तापमा गालीहेर
पग्लिन सक्छ जीवन
चुहिएला फेरी टालीहेर
खन्याउ फेरी जीवनलाई
विचारकै टेष्ट ट्युवमा
घोल ईच्छा शक्तीको मिश्रणसंग
मात्रा थपिन सक्छ
अग्लिन सक्छ जीवन
सगरमाथा भएर ।

Tuesday, April 03, 2007

कविता :: ईन्द्रेणी , आमा र म : प्रश्नोत्तर ।



'ईन्द्रेणी किन लाग्छ आमा ?'
-एकैछिन तिम्रो भोक तिर्खा मेटाउन
म सोध्छु
आमा जवाफ दिन्छिन

'ईन्द्रेणीमा कतिवटा रंग हुन्छ ?'
-जतिपनि हुन सक्छ
यसपाली आठवटा छ
म बुझ्दिंन
आमाले बुझेकि छिन सायद

'ईन्द्रेणी किन राम्रो हुन्छ ?'
-किनकी गरिबको सपना नराम्रो हुन्छ
ईन्द्रेणी , सपना
र गरिबको सपना
आमाले सबै बुझेकि छिनहोला

'ईन्द्रेणीमा हामी किन जान सक्दैनौ ?'
-किनकी हामी धर्तीमा बाँच्न आएका हौं
'ईन्द्रेणीमा को हुन्छन त आमा ?'
-मान्छेहरु नै
जो यहि धर्तीमा हामीलाई टेकेर बाँचेका छन
मलाई कसैले टेकेको थाहा छैन
आमालाई कसैले टेक्यो होला सायद

'ईन्द्रेणी कसरी लागेको आमा ?'
-गरिबको आँखाहरुमा सपना फुलाउन
जो ईन्द्रेणी संगै एकै छिनमा बिलाएर जान्छ
सधैं ब्युंझिएर बिलाउने मेरो सपना
र आमाले भनेको सपना भिन्दै होला सायद

'आमा ईन्द्रेणी किन आधामात्र लागेको ?'
-किनकि ईन्द्रेणी यौटा भ्रम हो
यहाँबाट हेर्दा छ जस्तो लाग्ने ईन्द्रेणी
त्यहाँ जाँदा हुंदैन
यहाँबाट हेर्दा भएको ईन्द्रेणी
त्याँहा पनि हुनु पर्ने हो
तर किन हुंदैन
आमालाई नै थाहा होला

'ईन्द्रेणी किन पर पर क्षितिजमा लाग्छ आमा ?'
-यहाँ पनि लागेको हुन्छ ईन्द्रेणी
तर हामी देख्न सक्दैनौ
पर पर देखिने ईन्द्रेणी
यहाँ पनि देखिनु पर्ने
आमाले बुझेकि होलिन किन देखिदैन

-आमा म ठुलो भएर ईन्द्रेणी छुन जान्छु
-हुंदैन बाबु
गरिबले ईन्द्रेणी छुन हुंदैन
ईन्द्रेणीको सपना पनि देख्न हुंदैन
गरिबले त यहि धर्ती छुनु पर्छ
यहि धर्ती कोतर्नु पर्छ
यहि धर्तीमा मर्नु पर्छ
बरु उ त्यो ऐंसेलु घारी छोउ बाबु
त्यो सिस्नुघारी छोउ
त्याँहा तिम्रो जीवन फुलेको हुन्छ
ईन्द्रेणीमा गरिबको केहि पनि हुंदैन ।
नेपाली कविता डटकममा प्रकाशित ।

Monday, April 02, 2007

फोटो कविता : तिमी जून आयौ ।



हटाई काला बादल सबै
मेरो जिन्दगीमा तिमी जुन आयौ ।
बनेर शुभ्र चन्द्रमा सरी
दिब्य ज्योतिले मलाई छुन आयौ ।। १

सुकेर नदी बगर हुँदा
रसाउंन घाँटी मरुद्यान आयौ ।
मेटेर श्राप शिरको सबै
मेरो जिन्दगीमा बरदान आयौ ।। २



बा बा फुटाई प्रथम बोली तोते
अलौकिक आनन्दले मन भरिदियौ ।
खित्खिताई मिठो त्यो अबोध हाँसो
कष्ट जीवनमा जति छन हरिदियौ ।। ३

फुलें खुशीमा फक्रिएर उमंग
अपूर्ब त्यो प्रेमले सिंचन गरिदियौ ।
टेकि हात पाउ चार बामे सर्दै
यो जीवनमा सुवास झन छरिदियौ ।। ४



उभिएर टेक्यौ पाईला पहिलो माग्दै मेरो सहारा ।
बर्षियो मानौं बसन्त जीवनमा भएं म हराभरा ।। ५

ताते भन्दै हिडाउंदा आँगनमा साना हात समाती ।
चिन्यौ पूतली र फूल बसेर डुलाउंदा काँधमाथी ।। ६



हिड्न थाल्यौ टुकुटुकु वरपर उज्यालो पार्दै घर ।
दगुर्दै नौ रंगी पूतलीको पछि नमानी केहि डर ।। ७

रोईदिंदा फुल्याउन तिमीलाई बनें म घोडा हाथी ।
दियौ खुशी अनन्त तोते बोलेर बनेर मेरो साथी ।। ८



सर्दैनन पाईला स्कूल जानलाई
त्यो झोला ठुलो बोकेर ।
सुंक्क सुंक्क गर्दै जानै पर्यो आँखाभरी
आँशुहरु रोकेर ।। ९

सुनाउन थाल्यौ मलाई कखहरा
सकेसम्मै लौ घोकेर ।
भन्थ्यौ भाँचियो ढाकिछोपी बदमाशी
पेन्सिल त्यो टोकेर ।। १०

साँवा अक्षर चिनाई तिमीलाई आफु
जिन्दगी म बुझ्दैछु ।
बटुलेर अकल्पनिय आनन्द म पितृ
स्नेहमा रुझ्दैछु ।। ११



फूलिरहोस मुस्कान तिम्रो अधरमा
यसैगरी हराएर जून तारालाई ।
लागीरहोस शुभाशिष तिम्रो शिरमा
हँसाउ तिमी आफु झैं जग सारालाई ।। १२

बाँचिरहनेछु म मेरो जीवन संधै
तिम्रो अधरको त्यही खुशीमा फूलेर ।
हाँसीरहनेछु म तिम्रै मुस्कान संधै
आफु भित्रको सबै छटपटी भुलेर ।। १३



शुक्लपक्षको चन्द्रमा उदाई
मेरो जिन्दगीमा तिमी जून आयौ ।
गाईरहनेछु म तिमीलाई
मेरो हृदयमा तिमी धून आयौ ।। १४

यो कविता ( फोटो कविता ) मैले मेरी प्यारी छोरीको निंती लेखेको हुं ।