Tuesday, April 03, 2007
कविता :: ईन्द्रेणी , आमा र म : प्रश्नोत्तर ।
'ईन्द्रेणी किन लाग्छ आमा ?'
-एकैछिन तिम्रो भोक तिर्खा मेटाउन
म सोध्छु
आमा जवाफ दिन्छिन
'ईन्द्रेणीमा कतिवटा रंग हुन्छ ?'
-जतिपनि हुन सक्छ
यसपाली आठवटा छ
म बुझ्दिंन
आमाले बुझेकि छिन सायद
'ईन्द्रेणी किन राम्रो हुन्छ ?'
-किनकी गरिबको सपना नराम्रो हुन्छ
ईन्द्रेणी , सपना
र गरिबको सपना
आमाले सबै बुझेकि छिनहोला
'ईन्द्रेणीमा हामी किन जान सक्दैनौ ?'
-किनकी हामी धर्तीमा बाँच्न आएका हौं
'ईन्द्रेणीमा को हुन्छन त आमा ?'
-मान्छेहरु नै
जो यहि धर्तीमा हामीलाई टेकेर बाँचेका छन
मलाई कसैले टेकेको थाहा छैन
आमालाई कसैले टेक्यो होला सायद
'ईन्द्रेणी कसरी लागेको आमा ?'
-गरिबको आँखाहरुमा सपना फुलाउन
जो ईन्द्रेणी संगै एकै छिनमा बिलाएर जान्छ
सधैं ब्युंझिएर बिलाउने मेरो सपना
र आमाले भनेको सपना भिन्दै होला सायद
'आमा ईन्द्रेणी किन आधामात्र लागेको ?'
-किनकि ईन्द्रेणी यौटा भ्रम हो
यहाँबाट हेर्दा छ जस्तो लाग्ने ईन्द्रेणी
त्यहाँ जाँदा हुंदैन
यहाँबाट हेर्दा भएको ईन्द्रेणी
त्याँहा पनि हुनु पर्ने हो
तर किन हुंदैन
आमालाई नै थाहा होला
'ईन्द्रेणी किन पर पर क्षितिजमा लाग्छ आमा ?'
-यहाँ पनि लागेको हुन्छ ईन्द्रेणी
तर हामी देख्न सक्दैनौ
पर पर देखिने ईन्द्रेणी
यहाँ पनि देखिनु पर्ने
आमाले बुझेकि होलिन किन देखिदैन
-आमा म ठुलो भएर ईन्द्रेणी छुन जान्छु
-हुंदैन बाबु
गरिबले ईन्द्रेणी छुन हुंदैन
ईन्द्रेणीको सपना पनि देख्न हुंदैन
गरिबले त यहि धर्ती छुनु पर्छ
यहि धर्ती कोतर्नु पर्छ
यहि धर्तीमा मर्नु पर्छ
बरु उ त्यो ऐंसेलु घारी छोउ बाबु
त्यो सिस्नुघारी छोउ
त्याँहा तिम्रो जीवन फुलेको हुन्छ
ईन्द्रेणीमा गरिबको केहि पनि हुंदैन ।
नेपाली कविता डटकममा प्रकाशित ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment