Tuesday, October 31, 2006

कविता : कुन्नि कता गई ।

सपनाको मेरो जिन्दगीमा
एकदिन त्यो आई
साथमा समस्त सुख र खुशीहरु
समेटेर ल्याई
निरर्थक म भित्र
नयाँ अन्दाज भरेर
धुमधामले सजाई
निर्मल पबित्र औंलाहरुको
मिठो स्पर्सले
मेरो मनको सारँगी रेटेर
यौटा अपुर्व धून बजाई
अकल्पनिय आनन्दले
मेरो आकाश मुस्कुराईरहेको बेला
अफसोस !!
मनका सारा तारहरु छिनालेर
मेरो बेसुरो जिन्दगीलाई
धून रहित त्यसै छाडेर
आज फेरी उ
कुन्नि कता गई ।

१५ पौष २०५७

Monday, October 30, 2006

हार्दिक धन्यवाद ।

मेरो ब्लग ( मेरो साहित्य संसार र विविध ) मा भएका मेरा रचनाहरु प्रति सर्बप्रथम लिखित रुपमा प्रतिकृया जनाउनुहुने संकल्प पोख्रेल ज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छु साथै संकल्प जी को सकारात्मक प्रतिकृया मलाई आगामी दिनहरुमा गहकिला रचनाहरु सृजना गर्नको निम्ती उर्जा बन्ने छ भन्ने कुरामा म बिश्वस्त छु ।

Sunday, October 29, 2006

गीत : मुटु घोच्ने काँढा ।

दैब तिम्ले साथ छाड्यौ सारा संसार टाढा भयो
फूल पनि छातीमा राख्दा मुटु घोच्ने काँढा भयो ।


राखेको थें संसार नै मुटु भित्र अटाएर
एक्लै पारी छोडे सबले मलाई मात्रै हटाएर
पुराना ति घाउहरु झनै आज गाढा भयो
फूल पनि छातीमा राख्दा मुटु घोच्ने काँढा भयो ।


खुशीहरु खोजीरहें कतै पनि भेटिएन
मेटाउन खोजें तर जिन्दगी यो मेटिएन
बल्झिएका घाउहरु झनै अग्लो डाँडा भयो
फूल पनि छातीमा राख्दा मुटु घोच्ने काँढा भयो ।

Saturday, October 28, 2006

कविता : म मृत्युको गीत गाउँदै थिएं ।

अन्धकार थियो त्यो रात
जूनकिरिको टिलपिले प्रकाशमा
धुईंधुईंती तिमिलाई खोजिरहें
तर खै तिमी त
साँच्चै नै मलाई छाडेर गईछौ
म भित्र अथाह ब्याथाहरु
अनि खुर्किखार्की बचेका खुशीहरु
कति कति तिमिलाई सुनाउनु थियो
त्यसैले ठिहिर्याउने बिहानीमा पनि
कान्लै कान्ला शीतहरु सहँदै
तिमीलाई भेट्न दौडीरहें
तर खै तिमी त
मेरा खुशी अनि ब्याथाहरु
सुन्नै नसक्ने गरी टाढा भईछौ
यसैगरी कयौं पटक
तिमीलाई छुने प्रयत्नमा
मैले न्यानो स्पर्सको महसुस
गुमाईसकेर बाँचेको छु
यसैगरी धेरैचोटी
तिमीलाई देख्ने प्रयत्नमा
मैले प्यारो दृष्टीको आभाष
हराईसकेर बाँचेको छु
मेरा पछिल्ला दिनहरुमा
मैले तिमीलाइ बिर्षिएर
फेरी नयां सपनाहरु पाल्दै
तिमीलाई गुमाउनुको पिँडा हाँसेर
नयां दिनहरु सँग
बाँच्न थालेको छु म
तर अचानक
आज फेरी
तिमी मेरो सपनामा
मलाई बिथोल्न आईदियौ
मैले मेटाईसकें
तिमीलाई छुने मेरा रहर
मैले छाडीसकें
तिमीलाई देख्ने त्यो गाउँ सहर
अब त
तिमीलाई सुनाउने
म सँग केही बाँकी छैन
फेरी पनि
तिमीले सुन्यौ कि सुनिनौ
म मृत्युको गीत गाउदै थिएं
गाँस्ता गाँस्तै अधुरो रहेको पिरती
पुरा गर्न माया लाउँदै थिएं ।

३ भाद्र २०६०

Saturday, October 21, 2006

लक्ष्मीपूजा र महाकवि देबकोटा ।

शुभ-दिपावली २०६३ को शुभकामना ।


आज लक्ष्मी पूजा , धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा आरधना गरेर लक्ष्मीलाई खुशी गरेर धन सम्पती र सुख समृद्दी प्राप्त गर्ने दिन । मैले आज सम्म लक्ष्मीपूजा गरेको छैन । घरमा हुँदा देउशी नाचमा हिँड्दै फुर्सद हुंदैनथ्यो । यता आएपछि त झन कामले नै फुर्सद हुंदैन । हुनत महाकवि लक्ष्मीप्रसाद देबकोटाले भनेकै छन , ......चुम्दछ ईश्वर काम सुनौलो गरिरहेका हात
छुन्छ तिलस्मी करले उसले सेवकहरुको माथ........ वास्तबमै यो सहि कुरा हो पूजा अर्चना गरेर भन्दा काम गरेर नै लक्ष्मी खुशी हुन्छिन तर पनि म नेपालमा हुँदा त्यसरी सोचेर काम गर्दिनथें । यहाँ भने चाहिँ काम नगरी बस्न र खानलाई बाउको सम्पती छैन । म र म जस्ता बिदेशबाट आउनेहरुलाई त बाउको सम्पती छैन र काम गर्नु पर्छ तर यहिँनै हुर्केकाहरु पनि बाउआमाको सम्पतीमा मोज गर्ने चान्स छैन धेरैजसो त १८ बर्षनै नपुगी बाउआमाको घर छाडेर अलग्गै बस्छन र आफैं कमाउन थाल्छन , बाउआमा सँगै बस्नेहरु पनि आफ्नो खर्चको लागी आफैं काम गर्छन । सायद त्यसैले पनि होला यो देश अमेरिका (सम्पन्न) भएको र हाम्रो देश नेपाल (बिपन्न) भएको । यो देशमा लक्ष्मीपूजा हुँदैन , धनसम्पती प्राप्तीको लागी कर्मलाई नै जोड दिइन्छ यो देशमा । यसो भनेर मैले हाम्रो सँस्कृती र परम्पराको खिल्लि उडाउन खोजेको हैन । मलाई हाम्रो चाडपर्बहरु मध्धेमा तिहारनै रमाईलो लाग्छ ।

यस्पाली न तिहारको कुनै कार्यक्रम बन्न सक्यो न देबकोटा जयन्तीको अवसरमा कुनै कार्यक्रममा सरिक हुन नै सकियो । केहिनै गर्न नसके पछि मैले गर्न सक्ने काम , देबकोटा जयन्तीको अवसरमा कविता लेखेर , गर्दैछु । यो कविता महाकविको बिषयमा नभएको भए पनि महाकवि प्रति स-श्रदाञ्जली यहाँ राख्दैछु ।

__फेरी यादमा रोएको छु ।

ईच्छाहरु धेरै थिए
संधै संधै संगै हाँस्ने
मृत्यु आए संगै मर्ने
जीवन भरी सँगै बांच्ने । १

खुशीहरु बाँडीचुंडी
दुख पिंडा संगै खप्ने
पिरतीको ईतिहासमा
यौटा अलग आयाम थप्ने । २

बसन्तमा उनि फूल्दा
म त हुन्थें उन्कै सुवास
शिशिरमा मुर्झाएको
कहाँ थ्यो र हाम्लाई आभाष ? ३

जीन्दगीको सावन भदौ
आँखाबाट संगै झार्यौं
चैते हुरी छेल्नलाई
मनको भित्ता संगै बार्यौं । ४

बिहानीको घाम जस्तै
न्यानो उन्को माया थियो
अकस्मात कुन दैबले
आज ग्रहण लाईदियो । ५

एकै बचन नसोधेर
उनी धेरै टाढा गईन
कस्लाई सोधुँ मैले हरे !
कसरी निष्ठुरी भईन ? ६

आज एक्लै बाँचेको छु
मृत्यु मेरो निश्चय छ
पर्खी बस्नु कतै भए
तिमीलाई भेट्ने ईच्छा जो छ । ७

पुकार कती गरुं यहाँ
सुनिदिने तिमी छैनौ
आँशु कती झारुँ यहाँ
पुछिदिने तिमि छैनौ । ८

तिमी नै त एक थियौ
सहारा भन्नु यो जीवनमा
बस्यौ केवल यो जीवनमा
याद बनि दुखी मनमा । ९

तिम्रो यादमै बाँचेको छु
बाँच्ने मनै कहाँ छ र ?
उखेलिएको बृक्षझैं छु
लिनु अब कस्को भर ? १०

अझै तिमी बाँचेकै छौ
चिच्याएर भन्छु तर
सत्य स्विकार गरेको छु
देखिकन रित्तो घर । ११

अश्रुधार यो बेदनाको
कठिन हुन्छ पिउँनलाई
अवशान भो यो मनको
कठिन भै गो जिउनलाई । १२

एक्लै बसी धेरै चोटी
मनलाई धोएको छु
आँखिर आज पनि तिम्रै
फेरी यादमा रोएको छु । १३

Sunday, October 15, 2006

देउसीनाच र तिहारको रमझम ।

" ए ! दीपक , यस्पाली तिहारमा हामी देउसी नाच हिंडाउदैछौ यौटा आषिश गीत लेखेर इमेल गरिदेन है । "

च्याटमा कुरा गर्दा गर्दै एकजना गाउँले साथीले यो अनुरोध गर्दा म खुशीले गदगद भएं । मलाई देउसी नाचको तयारी गर्न तुरुन्तै गाउँ पुगुँ जस्तो भयो तर अब समय कहाँ मेरो बसमा छ र ? म जिन्दगी भोग्दै जाने क्रममा काँधमाथी धेरै जिम्मेवारीहरु बोकेर आफ्नो घर परिवार र गाँउ समाजबाट धेरै टाढा परदेशमा समय र नियतीको कैदी भएर निरिह जीवन बाँचिरहेको छु ।

मादल बजाउदै साथमा गिटार , हार्मोनियम ईत्यादी बाजागाजा सहित देउसी नाच कागतिहार कै दिन देखि सुरु हुन्थ्यो र भाईटिकाको भोलिपल्ट सम्म हामीलाई तिहारले छाड्दैनथ्यो । मैले गाँउ छाडेको चार बर्ष मात्र हुंदैछ तर नाच हिंडाउने वातावरण भने त्यो भन्दा पहिले देखिनै हराईसकेको थियो । देशमा भएको माओवादी स-सस्त्र आन्दोलनले गर्दा यस्ता रमाईला पर्वहरु खल्लो भएको थियो तर अहिले आएर देशमा शान्तीको नयाँ लहर देखापरेको छ । बिद्रोहीहरु युद्ध छाडेर वार्ताबाट समस्याको निकास निकाल्न लागिपरेका छन । वार्ताबाटै समस्याको हल निस्कियोस र देशमा स्थाई शान्ती छावोस मेरो शुभकामना छ मेरो देशलाई । देशमा अझैपनि माओवादीलाई समस्याको रुपमा लिईन्छ माओवादीहरु स्वयँ पनि धेरै अर्थमा समस्याकै रुपमा देखापरेका छन तर माओवादीहरु समस्याको रुपमा हैन सुधारको रुपमा स्थापित हुन सकुन र राज्यले पनि सुधारकै रुपमा ग्रहण गर्न सकोस माओवादीहरुलाई मेरो कामना यति हो र यसो भएको खण्डमा देशमा स्थाई शान्ती हुनेछ भन्ने मेरो मान्यता पनि छ ।

म अमेरिकाको कोलोराडोबाट तिहार सम्झंदैछु र देउसी नाचको लागी आषिशगीत लेख्ने प्रयासमा छु । पहिले पहिले पनि तिहारमा देउसी नाच हिंडाउनु पर्दा म आषिशगीतहरु आफैं लेख्ने गर्थें । यौटा देउसी गीत हुन्थ्यो कुनै घरमा पुगेर नाच सुरु गर्दा गाउनलाई त्यो पनि म आफै बनाउने गर्थें । त्यो बाहेकका अरु गीतहरु पनि कुनै कुनै म आफैं बनाउने गर्थें ।

रिङ रिङ रिङ जाडो लाग्यो झापाली वेदरले
झण्डै ढाड त खुस्कायो कान्छीको फादरले --- ।
भनेर २०४९ सालको तिहारमा बनाएको प्यारोडी गीतले त निक्कै हँगामा मचाएको थियो जस्को घरमा पुग्दा पनि त्यो गीत कम्तीमा २ पटक गाएर नचाउनै पर्थ्यो ।

त्यो बेला हाम्रो यौटा क्लब थियो । युवादय क्लब भनेर सन्चालन गरिएको त्यो क्लबले सामाजिक हितको काम गर्ने अठोट गरेको भएपनि केहि साथीहरुको लापर्वाहीले गर्दा त्यसलाई धेरै समय सम्म टिकाउन सकिएन । अहिले सम्झंदा लाग्छ त्यो समयमा सायद हामीहरु मध्धे धेरैलाई क्लबको महत्व थाहा थिएन यदि सबैलाई क्लबको महत्व बोध हुँदो हो त अहिले सम्म समाजले अर्कै रुप लिईसक्ने थियो । त्यसपछिका बर्षहरुमा पनि हामीले देउसी नाच सँचालन गर्यौं । कुनै क्लबको सकृयता बिना सँचालन गरिएको देउसीनाचबाट सँकलित रकमलाई पनि हामीले सामाजिक कार्यमै खर्च गर्ने गर्थ्यौं ।

यसपाली गाँउमा नव ज्योती समुहले देउशीनाच हिंडाउने तयारी गर्दै रहेछ । म गाँउमा हुंदै देखि गाँउ विकाश समितिको पहलमा हरेक गाँउमा सँचालन हुँदै आएका यस्ता समुहहरुले समाजमा एकता जुटाउने र एकताले समाजको उन्नती हुने कुरामा शँकै नगरे हुन्छ । नव ज्योती समुहले साप्ताहिक रुपमा अत्यन्तै न्युनतम रकम सँकलन गर्ने गरेको थियो जस्ले गर्दा समाज भित्रका अति बिपन्न परिवारहरु पनि समेटिन सक्थे । यो प्रकृया अझै जारीनै होला , जारी रहोस र नव ज्योती समुहले हाम्रो समाजलाई प्रगतीको शिखरमा टेकाएर छाडोस मेरो शुभ कामना साथै यस्पाली तिहारमा नव ज्योती समुहले हिंडाउन लगेको देउसी नाच सफलता पुर्वक सम्पन्न होस ।

म आफु सहभागी हुन नसके पनि उक्त देउसी नाचको लागी उक्त समुह भित्रकै केहि श्रजनशील साथीहरुको अनुरोधमा मैले यौटा आषिश गीत लेखेको छु । आषिश दिईंदा रामचन्द्र जस्ता छोरा होउन , सिता जस्ती छोरी होउन , लक्ष्मीले बास गरुन भन्ने परम्परागत प्रकृयालाई छाडेर देशभरीका हरेक आँगनमा हत्या हिँसा र रक्तपात को शट्टामा शान्ती स्थापना होस भन्ने कामना गर्दै शान्तीकै आषिश गीत लेखेको छु भलै यती बेला देशमा माओवादीहरु शान्तीबार्ताबाट बिथोलिन खोजेको र राजावादीहरुले ससस्त्र आन्दोलनको घोषणा गरेको समाचारहरु आईरहेको छ र राजनीतिक बजारमा तिहार पछिनै रक्तपात हुन सक्ने हल्ला मचिन थालिसकेको छ । जे होस शान्ती होस भन्ने हाम्रो कामना हो । मेरो शान्तीको आषिश गीत लाई पनि यहाँ राख्दैछु ।

--------------------
--------------------

यस्पाली त नाच्दै र गाउदै आयौं हजुरको घरैमा
अब बिताउनु नपरोस चाड हामीले कसैको डरैमा
शान्ती छावोस सँधैलाई हजुरको घरैमा
आशिष हाम्रो यहि छ हजुर
यो सालको तिहारैमा ।

यो घरको आँगनैमा गौतम बुद्धको बास होस
अशान्ती र झगडाहरु आजै देखी नास होस
शान्ती छावोस सँधैलाई हजुरको घरैमा
आशिष हाम्रो यहि छ हजुर
यो सालको तिहारैमा ।


शान्तीले नै यो आँगनमा सुख पनि आउनेछ
धन धान्य र प्रगती पनि शान्तीलेनै ल्याउनेछ
शान्ती छावोस सँधैलाई हजुरको घरैमा
आशिष हाम्रो यहि छ हजुर
यो सालको तिहारैमा ।

Monday, October 09, 2006

गीत ।

चर्किएको ऐना हेर्दा आफ्नै हजार छाँया देखें ।
ऐना दिलको फेर्न खोज्दा त्याँहा तिम्रो माया देखें ।

बर्षौं पछि सम्झिँदा नि तिम्रो रूप सग्लो थियो
तिम्रै माया छातीभित्र अर्थोक भन्दा अग्लो थियो
आज फेरी तिमीलाई आफ्नै दाँया बाँया देखें
ऐना दिलको फेर्न खोज्दा त्याँहा तिम्रो माया देखें ।

झुल्के घामले सँधै मलाई उज्यालोको आश दियो
तर मुटु भित्र अझै अध्याँरोकै बास थियो
हरेक दिन सँगै मैले आशा नयाँ नयाँ देखें
ऐना दिलको फेर्न खोज्दा त्याँहा तिम्रै माया देखें ।

मैले यो गीतको स्थाईका दुई हरफ कैले लेखेको थिएँ म आफैंलाई थाहा छैन कति सम्झन खोजें कुन बेला कस्तो मूडमा लेखें होला भनेर तर सकिंन , यस्को स्थाईको स्वरूप हेर्दा मैले गजल लेख्न खोजेको थिएँ कि जस्तो लाग्यो र गजलनै बनाएर पुरा गर्न खोजिहेरें , बनाएं पनि तर आफैंलाई चित्त बुझेन र अन्त्यमा गीतकै स्वरूपमा आज पुरा गरेर ब्लगमा राख्दैछु ।

Saturday, October 07, 2006

गीत ?? --- कविता ????

२०५७ साल को पौष १७ गते शिक्षात्मक जागरण गीत भनेर मैले यो सानो कविता जस्तो देखिने गीत ( अन्यौलमा छु म यो गीत भन्न सुहाउछ कि कविता भन्न ) लेखेको रहेछु । आज पुरानो डायरीको पन्नामा यस्लाई भेटेर यहाँ राख्दैछु ।

---------------

घामको उज्यालो पुग्दैन जहाँ
शिक्षाको उज्यालो सक्दछ पुग्न
शिक्षाले सिँगारे सब जनलाई
पर्दैन कहिं कतै नि झुक्न ।

भुलिईरहेका भाईबैनीहरु
भेंडा र बाख्रासँग बन जँगल डुल्दै
ज्ञानको नयाँ विहानी दिउँ
गाँउबस्ती सारा पाठशाला खोल्दै ।

ढिकी र जाँतो दाउरा घाँस सँगै
अल्मलिएका दिदीबैनीलाई
उज्यालो बाटोमा पाईला टेकाउँ
चौतर्फी नयाँ जागरण ल्याई ।

जीवनको हिसाब किताब भुलेर
ठगीईरहेका आमा बाहरु
सक्दछन बुझ्न जीवनको अर्थ
केहि त नयाँ उद्दोग गरुँ ।

Thursday, October 05, 2006

कविता : अनन्त गुनासो ।

ओहोर दोहोर
दोहोरीलत्त
मेरो मनको मुलसडकमा
सजिएर अलौकिक श्रीँगारले
अझै पनि त हिंड्दछौ तिमी ।

तिम्रो पदको
पहिलो आहट सुनेर
मनको सडक किनाराभरी
रोपिदिएथें मैले
अनेकन मौसमी फूलहरु
र चाहेको थिएं
भुलाउन तिमीलाई
त्यतै कतै
मेरो मनको बिसौनीमा ।

मग मग
मनमोहक
सुवासहरु छरेर
अझै पनि त फूलेकै छन
थरी थरीका फूलहरु
सोचेको थिएं
कुनै दिन त तिमी
हिंड्दा हिंड्दै थाकेर
एक निश्वास छाड्दै
सुकाउन थकित पसिनाहरु
बिसाउने छौ
मेरो मनको फलैंचामा ।

अल्झिएर आशामा
बर्षौं त्यसै बितीसक्यो
हरेक आउने बर्ष सँगै
प्रतिकुलता बढ्दै जाँदा
मौसममा
लोपोन्मुख भै रहेछन
एक एक आशाका
मौसमी फूलहरु
मक्किएर दिनदिनै
कलेजीका तख्ताहरु
भत्किँदो छ
मेरो मनको फलैंचा ।

अब त लाग्छ
लोभ्याउने छैन
तिमीलाई
मेरो मनको फूलबारीले
जस्ले एक दिर्घ
खडेरीको मारमा
आफ्नो सौँदर्य गुमाईसक्यो
न त बहन नै गर्नेछ
तिम्रो वजनलाई
मेरो मनको फलैंचाले
जस्ले एक दुष्ट
धमीराको सारमा
आफ्नो अस्तित्व मेटाईसक्यो ।

बस्
बाँकी छ अब
छताछुल्ल पोखिएको
गुनासो अनन्त
मेरो मनको अवयव भरी ।

Tuesday, October 03, 2006

गीत : आज फेरी पिएर आएं ।


आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा
अपबित्र भएं त के भयो यस्तै लेखिदिईस तगदिरमा ।

निहुराउंदिन यो शिर मेरो भगवान तेरो त्यो पाउमा
आएको हैन म तेरो आश्थाको हंस्सी उडाउने दाउमा
हिंजोको मेरो विश्वासको ईश्वर बदलियो आज पत्थरमा
आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा ।


पुजेर सँधै पत्थरको मुर्ती भएछु मान्छे म ढुँगाको
कृपाले तेरो यात्री भएं म डुब्नै लागेको डुँगाको
मरौं कि बाँचौ भएर आज बेरिएको छु म जंजीरमा
आज फेरी पिएर आएं भगवान म तेरो मन्दिरमा ।

मैले पहिलो पटक पशुपतीनाथको मन्दिर गएको बेलामा लेखेको यो गीत नाष्तिक भएपनि म भने नाष्तिक हैन । धर्ममा अन्धभक्ती राख्दिन तर पनि भगवानको अस्तित्वलाई मान्ने गर्छु म ।