Wednesday, October 26, 2011

कविता : चाँदनी कहिँ त पक्कै होलीन्

(फोटो गूगलको सापट)

चाँदनी कहिँ पक्कै होलीन्
यो अँध्यारो रातमा तर
लुकेकि देखि किन होलिन् ?

आली आली राँको बोकेर
हेर एकहुल देउसे आए
गाउँ देखि पर
निर्जन
एकान्त त्यो मेरो घरमा

बनका माझमा
मेरा आँगनमा
जूनकिरी-जूनकिरी
दीपावली ल्याउँछन्
फेरेर चोली फरिया पातका
झ्याउँकिरी चेली
भैलो गाउँछन्

देउसे टोली नाना ओली
फलाक्छन् फोहोरी गाली बोली
गुहार! गुहार!
डरले भागेँ
उल्टै ज्यानको सिदा मागें
राँको बोक्ने ती देउसे हैनन्
तीनको टाउको मुखै छैनन्
देउसे सँग मादल छैन
कथा छैन गाथा छैन

ती
हुन् देश खाने धमिरा
डस्न आएका ती लामकिरा
चिन्नु तिनको जिब्रो गन्नु
कात्तिक हो यो सर्प नभन्नु
डस्न दिएर आफैं मर्नु
मंशिरमा देखेर गति पर्नु

हार
गुहार छर-छिमेकी
सबलाई देउसेकै टोलीमा देखि
नाङ्गो खुकुरी चम् चम् चम् चम्
मेरो आँगनमा देउसीको रमझम्
गर्दन छाम्दै भाग्दैछु

चाँदनी कहिँ पक्कै होलीन्
यो अँध्यारो रातमा तर
लुकेकि देखि किन होलिन् ?

ठुलाठालु ती मान्ने गुन्ने
आफैंलाई समाजको अगुवा चुन्ने
जुनेली रातमा शिकारी झैं
अँग निचोरी स्खलित भै
चाँदनीसँग सुति रुखमुनि
कति मरेर शुक्र-जूनि
फिर्छन् घरमा साखुल्ले बन्छन्
मेरी चाँदनीलाई रण्डी भन्छन्

डुबेर चन्द्रमा नदिको जलमा
लुकेकि छन् कि घोर पातालमा
खोज्ने अनेकौं पाईलाहरु
टेकेर बगरका बाटुला ढुङ्गा
तंछाड मछाड जानु पारी
जुधेरै डुब्यो एक्लो डुङ्गा
सिँग कसैको हान्छन् कोहि
पुच्छर कसैको हल्लिन्छन् कोहि
डर सबैको आँखीर एउटै
सबलाई निल्न तयार गोहि

खोज्दैछु कराई रोई
डराएर मेरि चाँदनी खोई?

चाँदनी
कहिँ पक्कै होलीन्
यो अँध्यारो रातमा तर
लुकेकि देखि किन होलिन् ?
***
महाकवि प्रति श्रद्धाञ्जली यत्ति लेख्न सकें

Tuesday, October 25, 2011

गजल : नजलि कोहि दीपक हुँदैन

यहाँ आफ्नै वस्तुमा हक हुँदैन
कहानी त्यत्तिकै रोचक हुँदैन


नसोध्नु कसैले ओजन मलाई,
मेरो पल्लामा कहिल्यै ढक हुँदैन


काटिनु अघि नै बुझ्नु पर्ने थियो,
सबै हतियारमा चमक हुँदैन


अर्ति नै दिनुपरे यहि भन्नेछु ,
अटेरीले सिक्ने कुनै सबक हुँदैन


जा जा जलनमा पछुतो नगर तँ
जल्दै नजलि कोहि 'दीपक' हुँदैन

Thursday, October 06, 2011

दशैं गफ : दशैं अनुभूति

दशैं अनुभूति
अरु केहि छैन
तर टहटह जुन छ
ठीक्कै
सानो छँदाको दशैंकै जस्तै
परपर सम्म देखिरहेछु
प्यारो प्यारो उज्यालो
महसुस यस्तो गरिरहेछु
कि
दशैंमन आल्हादित हुन
बस् यहि जुनेली काफि हुनेरहेछ
अहँ
अरु केहि चाहिन्न रहेछ
प्यारो
जुनेलीमा नुहाएपछि
यहि पल प्रिय पल बनेपछि
धन्यवाद!
टाढाकि चन्द्रमा तिमीलाई
धन्यवाद
दशैंकि जुनेली तिमीलाई ।
****

कविता आकारमा कोरिएका यी हरफहरु हिँजोराती अर्थात महानवमी २०६८ को रातीको अनुभूतिहरु हुन् ।

हिँजै मैले यो सानो टुक्रालाई फेसबुकको पर्खालमा टाँगिसकेको पनि छु ।

आफ्नो देशभन्दा पर, आफ्नो महादेश भन्दा पनि पर, अझै अरुपनि केहि महादेशहरु नाघेर म २०६८ सालको दशैं अनुभूति प्रसान्त महासागरको मध्यभागमा अवस्थित हवाई नाम गरेको टापूहरुमध्येको पनि एउटा मावि नाम गरेको टापूबाट गरिरहेको छु ।

बिदेशमै भएपनि यस अघिका दशैंहरुको माहौल अगल अनुभूत भएको हुन्थ्यो मलाई । केहि दशैंहरु मैले कोलोराडोमा मनाएको छु । केहि नेभाडामा मनाएको छु भने केहि दशैं अलास्कामा समेत मनाएको छु ।

बिदेशका ती प्राय दशैंहरुमा माहौल तताउने या भनौं रौनक ल्याउने कुरा भनेकै खानपिन र नाचगान हुने हो । सबै दशैंका त्यस्ता अवसरहरुमा म बेस्सरी रमाएर खानपानमा सहभागि भएको छु । बेस्सरी उफ्रि उफ्रि नाचेको पनि छु फेरिपनि हरेक साल दशैंले मन चिमोटिरहन्थ्यो कि घरमा मनाए जस्तो, अझ सानोमा मनाए जस्तो दशैं यो बिदेशमा कहाँ मिल्नु?

खै निधारमा आमा, हजुरआमाले लगाईदिएको अक्षता र जमरा? खै शिरमा आमाको आशिर्वाद? खै लिङ्गे पिङ्ग ? खै त्यो? खै उ? यस्तै यस्तै थुप्रै कुराहरु हराईरहेको हुन्थ्यो हरेक साल दशैं मनमा ।

पछिल्ला केहि दशैंहरु अलास्कामा मनाउँदा भने मैले फेरि अलि भिन्न महसुस गरेको थिएँ । अमेरिकाको म पुगेजति ठाउँहरुमा भएजति नेपाली मनहरु मध्येमा धेरै आत्मिय, धेरै पारिवारिक र धेरै मायालु नेपाली मनहरु राखेको छ अलास्काले । भएजति सबै नेपालीहरु एकै घर एकै परिवार जस्तै भएर सौहार्द बसेका छन् अलास्काका नेपालीहरु । त्याँहा दशैं मनाउँदा मात्र हो मलाई म आफु घरमै दशैं मनाईरहेछु जस्तो महसुस भएको ।

यस वर्षको भने कुरा अर्कै छ मेरो । उता घरमा पनि यस वर्ष दशैंको जमरा राखिएन, टिका चलाईएन । जुठो परेको घरमा दशैंको रौनक छरछिमेक सम्म मात्र आएर त्यसै रह्यो उता । यता त झन दशैंले प्रसान्त महासागर तर्नै सकेन ।

१८८३ वर्गकिलोमिटर क्षेत्रफल भएको र एकलाख चवालिसहजार चारसय चवालिस जनसंख्या(सन २०१० को आँकडा अनुशार) भएको मावि नाम गरेको यस टापूमा दशैं सम्झेर आनन्दित हुने, दशैं सम्झेर निस्ताउने नेपाली मन हामी दुईजना मात्र छौं । दुईवटा मात्र दशैं मनको लागि त्यसैपनि त्यत्रो समुद्र तरेर आउन दशैंलाई के कर लाग्दो हो र ? त्यसो त यहि टापूमा बास भएको अर्को एउटा नेपाली मन पनि छ भन्ने सम्म सुनेको भएपनि आजसम्म भेटघाट छैन ।

त्यसैले त दशैंमा फुर्सदिला हामी दुई दशैं मनहरु जुनेलीमा नुहाउन समुद्र किनारमा पुग्यौं । सुरिलो, अग्लो नरिवलको फेदमा बसेर जुनेली तापिरहँदा मलाई सानोमा दशैंका रातहरुमा लाग्ने चहचह जुनेली याद आयो । चहचह जुनेलीमा रातभरि लिङ्गे पिङ्गमा हामी केहि दौंतरीहरु पिङ्ग खेल्दै, उट्पट्याङ्ग गर्दै बसेको याद आयो ।

'ए लिला हेरत, उ त्यो केराको बोटमा ठुलो चमेरो आएर बस्यो । एउटा घोचो ल्याएर त्यसलाई घोचुँ न?' उपद्रो यस्तै हुन्थे ।

मनले लिलालाई बोलायो । लिला कोलोराडोमा दशैं मनाउँदैछ यसपाली ।

'ए गणेश, कस्तो बोर भयो हौ? भण्डारी दाइको बरण्डामा सुकाउन राखेको अचार ल्याएर खाने?' अर्को उपध्रो यसरी फुर्थ्यो ।

मनले गणेश सम्झियो । गणेश पनि कनेक्टिकटमा दशैंको टिका लाउँदैछ यसपाली ।

....ऐजन.... ऐजन.....चेतन, भिमे, चन्द्रिमाइला, गोपाल, टंके, दीवस, ज्ञाने, ईन्द्रे, कुले, रोहिते, कान्छा....... थुप्रै हुन्थे उपद्रोमा ठीक्कै, रमाईलोमा ठीक्कै सहभागिहरु ।

अब कोहि छैनन् गाउँमा । सबै बिदेशमा, सबै परदेशमा ।

अस्ति भर्खर गाउँमा बैनि(फुपुदिकि छोरि)संग कुरा हुँदा गाउँको 'समुह'को बारेमा सोधेको थिएँ । म आफैं हुँदा स्थापना गरेको 'नवज्योति समुह' पुरुषको र 'नवज्योति महिला समुह' महिलाको थियो । बैनिले भनेकि थिईन्, 'तपाईंहरु पढेलेखेका जति सबै बिदेशतिरै हराउनुभयो र तपाईंहरुको पुरुष समुह त हिसाबकिताब थेग्ने मान्छे नै नभएर बिघटन भयो । हाम्रो महिलाको समुह भने हामी चलाउँदैछौं ।'

त्यो सुन्दा मन साह्रै खिन्न भएको थियो ।

नरिवलको फेदमा हिँजोपनि केहिबेर खिन्न भएँ । कोहि भएनन् होला सायद गाउँमा दशैंको लिङ्गे पिङ हाल्ने केटाहरु । आफ्नो पनि यहाँ दशैंको केहि नै छैन तर जुनेली देखेर एकातिर त्यसै त्यसै रमाएको थिएँ म । चन्द्रमाले जुनेलीमा मेरो पहिले पहिलेको दशैंको सम्झनाका किरणहरु खसाईरहेझैं भएर मन त्यसै त्यसै फुर्कियो । र मनमा लेखें माथिमा कविता आकारका हरफहरु ।

****

(बिजया दशमी र बाँकि बक्यौता बडादशैंको शुभकामना फेरि एकपल्ट सबै दशैं मनहरुलाई!)