
चाँदनी कहिँ त पक्कै होलीन्
यो अँध्यारो रातमा तर
लुकेकि म देखि किन होलिन् ?
आली आली राँको बोकेर
उ हेर एकहुल देउसे आए
गाउँ देखि पर
निर्जन र
एकान्त त्यो मेरो घरमा
बनका माझमा
मेरा आँगनमा
जूनकिरी-जूनकिरी
दीपावली ल्याउँछन्
फेरेर चोली फरिया पातका
झ्याउँकिरी चेली
भैलो गाउँछन्
देउसे टोली नाना ओली
फलाक्छन् फोहोरी गाली बोली
गुहार! गुहार!
म डरले भागेँ
उल्टै ज्यानको सिदा मागें
राँको बोक्ने ती देउसे हैनन्
तीनको टाउको मुखै छैनन्
देउसे सँग मादल छैन
कथा छैन गाथा छैन
ती हुन् देश खाने धमिरा
डस्न आएका ती लामकिरा
चिन्नु तिनको जिब्रो गन्नु
कात्तिक हो यो सर्प नभन्नु
डस्न दिएर आफैं मर्नु
मंशिरमा देखेर गति पर्नु
हार गुहार छर-छिमेकी
सबलाई देउसेकै टोलीमा देखि
नाङ्गो खुकुरी चम् चम् चम् चम्
मेरो आँगनमा देउसीको रमझम्
गर्दन छाम्दै भाग्दैछु म
चाँदनी कहिँ त पक्कै होलीन्
यो अँध्यारो रातमा तर
लुकेकि म देखि किन होलिन् ?
ठुलाठालु ती मान्ने गुन्ने
आफैंलाई समाजको अगुवा चुन्ने
जुनेली रातमा शिकारी झैं
अँग निचोरी स्खलित भै
चाँदनीसँग सुति रुखमुनि
कति मरेर शुक्र-जूनि
फिर्छन् घरमा साखुल्ले बन्छन्
मेरी चाँदनीलाई रण्डी भन्छन्
डुबेर चन्द्रमा नदिको जलमा
लुकेकि छन् कि घोर पातालमा
खोज्ने अनेकौं पाईलाहरु
टेकेर बगरका बाटुला ढुङ्गा
तंछाड मछाड जानु छ पारी
जुधेरै डुब्यो एक्लो डुङ्गा
सिँग कसैको हान्छन् कोहि
पुच्छर कसैको हल्लिन्छन् कोहि
डर सबैको आँखीर एउटै
सबलाई निल्न तयार गोहि
म खोज्दैछु कराई रोई
डराएर मेरि चाँदनी खोई?
चाँदनी कहिँ त पक्कै होलीन्
यो अँध्यारो रातमा तर
लुकेकि म देखि किन होलिन् ?
***
महाकवि प्रति श्रद्धाञ्जली यत्ति लेख्न सकें ।
No comments:
Post a Comment