Wednesday, September 30, 2009

गजल : मैले आफ्नो घाँटी राखेँ

म भित्रै छ सुख पनि अठोट मनमा खाँटी राखेँ ।
दुखे पनि सञ्चै नै छु भन्दै आफुलाई ढाँटी राखेँ ।

सहनु त छँदैछ यो दुखाई चर्कंदो छातीभित्र,
बानी पारेर राख्न बरु मुटुमा किलाकाँटी राखेँ ।

अप्राप्य ति ईच्छाहरु अनेक अनेक आजसम्म,
सहजै पुर्ति गर्छु भनेर मनमनै आँटी राखेँ ।

सम्बन्ध धारि(ई)यो झन्झनै खुकुरीको स्वरुपमा ,
थामिन् उनले बिँड हातमा मैले आफ्नो घाँटी राखेँ ।

'खबर्दार ! ए दिपक तैंले दोष उन्को मात्रै देख्लास्' ,
केलाइकुलाई आफैंलाई आफैंले नै झाँटी राखेँ ।


निक्कै अघि यस गजलको चौथो शेर फेसबूकमा राखेको थिएँ । त्यतिबेला यो गजल पुरा थिएन तर त्यसको लगत्तै पुरा गरेर त्यसै छोडेको थिएँ । अस्ति भर्खरै फेला पारेर गजल ग्रुपमा राखें तर ब्लगमा भने त्योबेला अर्को गजल नै भएकोले राख्न मन भएन अत आज राखेको हुँ ।

Tuesday, September 22, 2009

दशैंको कुरा

'दशैं पनि आइहाल्यो है ?' फोनमा कुरा गर्दा एउटा भाइले भन्यो ।

'अँ त दशैं गै हाल्यो ।' मैले भनें ।

'गै हाल्यो ? के भन्नुहुन्छ ? आएकै छैन ।' उ जिल खायो ।

'ल, अहिले आइहाल्यो भन्दैथियौ । अहिले आएकै छैन भन्न थाल्यौ । तिमी ठिक त छौ ?' म उसलाई जिस्क्याउन लागेँ ।

'होइन दशैं आउन लागेको छ नि त । त्यसैले भनेको...' उ स्पस्ट पार्न खोज्दैथियो ।

'त्यसो भए आउन लागेको छ अथवा आउन लाग्यो भनन त । आइहाल्यो भन्छौ ।' मैले खेदें उसलाई ।

'अनि आउन लागेकोलाई आइहाल्यो त भनिन्छ नि । मैले गल्ति गरें र ? बरु तपाईं पो आइनसकेकोलाई गै हाल्यो भन्नुहुँदैछ । तपाईं गलत हुनुहुन्छ बरु । '

'तिमीले गल्ति गर्यौ त कहाँ भनेको छु र मैले ? गलत मै छु होला तर...' सम्झाउन खोज्दैथिएँ म उसलाई ।

'अनि के त ? आउनै नपाएको दशैं कसरी गै हाल्यो ?' दिक्क लागेछ क्यार उसलाई उ झम्टियो म माथी ।

'दशैंको कस्तो हिसाब छ हँ तिम्रो ? दशैं त सकिन लागिसक्यो नि । केटाकेटीले झैं टिका लगाउने दिनलाई मात्र दशैं त भन्दैनौ होला तिमी ।' म उसैगरी पछि लागेँ उसको ।

'मैले त टिकाकै दिनलाई भनेको । त्यै दिन त यसो रमाईलो गरिन्छ । छुट्टि हुन्छ । अरु दिनको त के कुरा ?' ईमान्दारी देखायो उसले ।

'त्यसो भए टिका भनन त ।' मैले नै बेईमान बन्ने निधो गरें, रमाईलो जो गर्नुथियो उसँग, 'दशैंको बिचमा घरि दशैं आइहाल्यो भन्छौ, घरि आउन लागेको छ भन्छौ । मलाई अलमल्ल पार्यौ नि त ।'

'ल ल, टिका नि त टिका । टिका आइहाल्यो , भयो अब ? तपाईंकै कुरा माथी ।' उ दिग्दारियो ।

'मैले मेरो कुरा माथी तिम्रो कुरा तल भन्न खोजेको पनि हैन ।' म हाँस्न थालिसकेको थिएँ , 'मैले त खाली दशैं गैहाल्यो मात्र भनेको । तिमि नै त हो घरी आइहाल्यो भन्ने , घरी आएकै छैन भन्ने ।'

'ल दाइ ल , जे सुकै होस् । तपाईंलाई दशैंको शुभकामना ! पछि कुरा गरुँला ।' उ पन्छिन चाह्यो ।

'आइहाल्यो दशैंको कि गैहाल्यो दशैंको शुभकामना हो ?' मैले अल्झाउन चाहेँ ।

'भयो बाबा भयो । कान समातें मैले । आइहाल्योको भन्नुस् कि गैहाल्योको भन्नुस् । दशैंको हो शुभकामना । मैले फोन राखेँ ।' भाइले भन्यो ।

फेरी हासेँ म, 'तिमीलाई पनि शुभकामना दशैंको ।' मैले चाहेर किन अल्झिन्थ्यो उ, मैले भनिसक्न नभ्याउंदै उसले फोन राख्यो । म आफ्नै तालमा मुस्कुराउँदै उ झिँजिएको कल्पना गर्न थालेँ । उसले भन्यो होला, 'पागल भएछ यो दाइ त । के दिनमा फोन गरेछु ।' मलाई भने रमाईलो लागिरहयो । निक्कैबेर मुस्कुराईरहेँ म ।

त्यसो त म उसँग जिस्किरहेको मात्र थिएँ तरपनि सोचें - 'दशैंको माझबाट दशैं गैहाल्यो भन्दा चैं गल्ति हुने रे दशैं आइहाल्यो भन्दा चैं नहुने रे ! किन होला ?' दशैंलाई अस्तिनै घटस्थापनाका दिनदेखि पछि टिका जाने पूर्णिमासम्म मान्ने हो भने यतिबेला भन्दा दशैं आएको छ भन्नुपर्ने । आइहाल्यो भनेर आउन लागेको अवस्थालाई भन्ने गरिन्छ र त्यही अवस्था जानलागेको पनि त हुन्छ तर गैहाल्यो चैं भन्न नमिल्ने रे । दशमीका दिनमा टिका टाँसीसकेपछि चैं दशैं गैहाल्यो भन्न थालिन्छ मानौं टिका टाँस्न मात्रै आएको थियो दशैं । दशैंको माझबाट दशैं आइहाल्यो, त्यो पनि आउन लागेको अवस्थालाई मानेर, भनिन्छ - कति अप्ठ्यारो ? तर कति सजिलै बुझ्दा रहेछौं हामी ।

खासमा यतिबेला दशैं आएको छ नै भन्नुपर्ने (जस्तो लाग्यो मलाई) अथवा आइहाल्यो भनिनु आउन लागेको अवस्थालाई नभएर आएर नसकिइसकेको अवस्थालाई जनाउन भनिनु पर्ने । अझ 'दशैं पनि आईगयो है' समेत भनिन्छ त्यो पनि आउन लागेको अवस्थालाई नै बुझाउने गरेर । आइगयो चैं अझ आएर गै सकेको अवस्थालाई भनिनुपर्ने । केहिबेर म आफैं रन्थनिएँ । यि सामान्य कुराहरु हामी सजिलै बुझ्छौं । भनिएको कुरा सहि छ कि गलत छ तिर हामी ध्यान दिंदैनौं । लाग्यो - 'यहि नै रहेछ हाम्रो जिउने कला । एक अर्कालाई बुझ्ने र स्विकार्ने कला जहाँ धेरै असंगतीहरुलाई बेवास्ता गरेरै हामी जीवनको सौंदर्य अंगालीरहेका हुँदारहेछौं ।'

जे होस् - यो माथापच्ची बिसाउँदै तपाईंहरु सबैलाई बडा दशैंको हार्दिक मंगलमय शुभकामना !

Wednesday, September 09, 2009

गजल : रोकिएन समय

तिमी नहुँदा पनि त खै रोकिएन समय ।
कसरी भनुँ मेरो मात्र आफ्नो थे'न समय ।

ठिकै गरेछु भुलेर हिसाब किताब राख्न ,
सजिलै भा'छ आज काट्न जेनतेन समय ।

अप्ठ्यारो थियो यद्दपि खुल्ला थिए बाटोहरु ,
हिंड्न निर्धक्क भएर उस्तै रहेन समय ।

अविच्छिन्न कुँदेपनि अनेक रुप आकारमा ,
सोचेजति कलात्मक बन्दै बनेन समय ।

अघि सारेँ भण्डार गर्न हिम्मतिलो हात मेरै ,
न गोजीमा , न मुठ्ठीमा कहिँ अँटेन समय ।

सुलुसुलु चिप्लिएर त्यति टाढा पुगेपछि ,
उल्टो तिमीले नै भन्यौ बग्दै बगेन समय ।

केहि अघि (जुन महिनाको २८ तारिख रहेछ।) यसका दुई वटा शेर (पहिलो र दोश्रो) पछारिसकेको थिएँ यसै ब्लगमा र अर्को शेर (तेस्रो) पनि त्यसैको आसपास मितीमा तयार गरेको थिएँ । त्यसपछि अड्किएको आज बल्ल थप तीन शेर ताछतुछ पारेर उभ्याउन भ्याएँ र लिएर आएको हुँ ।

Saturday, September 05, 2009

कविता : सातो उडेका वैंशहरु

रात ओढेर अँध्यारो
कसरी निदाउने हुन् खै
यि सुकुमार वैंशहरु ?
हेर त निष्ठुरी समय
उल्टो फर्किरहेछ
फिँजाएर क्रुर हत्केलाहरु ।

के ठेगान्
कहाँ कतिबेला
निमोठ्ने हो यस्ले
किशोर रहरहरुको घाँटी
चुक भरेर रात जस्तै
ह्रदयको मानोभरी
फैलिइरहेको छ कालो समय
सम्साँझै जुठेल्नामा प्रेम घोप्ट्याएर ।

धेरै भयो दर्फर्याएको
झिकेर सुकिला वैँशहरुको सातो
यहि पापी समयले
हत्केलाको ढुँगे सिलौटोमा
हत्केलाकै ढुँगे लोहोरोले
अब त
जति मन्साए पनि दोबाटोमा
सिँदुर छर्किएर दोखलाई
फर्किएर आउने गरेको छ
रात पर्नासाथ
उल्टो फर्किएको समयसँगै
त्यै र त हेरन
बिथोलिएर निद्रा आधारातमा
कहालिएर रुँदैछन्
सातो उडेका वैंशहरु ।

गाह्रो छ गाह्रो अब
जुठेल्नामा घोप्ट्याइएको प्रेम उघाएर
ह्रदयको मानो भर्दै
बदल्न कालो समयलाई
कठिन छ कठिन अब
जतनले स्याहारेर
आफ्नै हातले मलजल गर्दै
करेसोमा प्रिती फुलाउन ।

ए ! सातो उडेका वैंशहरु हो
आजैदेखि राखिछोड
ह्रदयको धुपौरोमा
भर्भराउँदो कोइला
दुस्वप्नसँग तर्सिएर
रातबिरात ब्युँझनासाथ
प्रेमको भूतकेश डढाउनुपर्छ
यो कालो समय विरुद्ध
तितेपाती र नौनीसंगै
प्रेमको सालधूप हाल्नुपर्छ
प्रेमकै सोक्पाधूप बाल्नुपर्छ
हो तिमीले नै एकदिन
उल्टो फर्किएको
यो कालो समयलाई
सही बाटो हिंडाउनु पर्छ ।

{निक्कैपछि आज जङ चल्यो माइसंसारमा फोटो कविता लेख्न र यहि शनिबारको फोटो हेर्नुस् कविता लेख्नुस् स्तम्भमा लेखेँ यो कविता । माइसंसारमै तात्तातो पोष्ट भएकोले फोटो घिसारेर यता ल्याउने काम चैं गर्न मन लागेन ।}