Saturday, September 05, 2009

कविता : सातो उडेका वैंशहरु

रात ओढेर अँध्यारो
कसरी निदाउने हुन् खै
यि सुकुमार वैंशहरु ?
हेर त निष्ठुरी समय
उल्टो फर्किरहेछ
फिँजाएर क्रुर हत्केलाहरु ।

के ठेगान्
कहाँ कतिबेला
निमोठ्ने हो यस्ले
किशोर रहरहरुको घाँटी
चुक भरेर रात जस्तै
ह्रदयको मानोभरी
फैलिइरहेको छ कालो समय
सम्साँझै जुठेल्नामा प्रेम घोप्ट्याएर ।

धेरै भयो दर्फर्याएको
झिकेर सुकिला वैँशहरुको सातो
यहि पापी समयले
हत्केलाको ढुँगे सिलौटोमा
हत्केलाकै ढुँगे लोहोरोले
अब त
जति मन्साए पनि दोबाटोमा
सिँदुर छर्किएर दोखलाई
फर्किएर आउने गरेको छ
रात पर्नासाथ
उल्टो फर्किएको समयसँगै
त्यै र त हेरन
बिथोलिएर निद्रा आधारातमा
कहालिएर रुँदैछन्
सातो उडेका वैंशहरु ।

गाह्रो छ गाह्रो अब
जुठेल्नामा घोप्ट्याइएको प्रेम उघाएर
ह्रदयको मानो भर्दै
बदल्न कालो समयलाई
कठिन छ कठिन अब
जतनले स्याहारेर
आफ्नै हातले मलजल गर्दै
करेसोमा प्रिती फुलाउन ।

ए ! सातो उडेका वैंशहरु हो
आजैदेखि राखिछोड
ह्रदयको धुपौरोमा
भर्भराउँदो कोइला
दुस्वप्नसँग तर्सिएर
रातबिरात ब्युँझनासाथ
प्रेमको भूतकेश डढाउनुपर्छ
यो कालो समय विरुद्ध
तितेपाती र नौनीसंगै
प्रेमको सालधूप हाल्नुपर्छ
प्रेमकै सोक्पाधूप बाल्नुपर्छ
हो तिमीले नै एकदिन
उल्टो फर्किएको
यो कालो समयलाई
सही बाटो हिंडाउनु पर्छ ।

{निक्कैपछि आज जङ चल्यो माइसंसारमा फोटो कविता लेख्न र यहि शनिबारको फोटो हेर्नुस् कविता लेख्नुस् स्तम्भमा लेखेँ यो कविता । माइसंसारमै तात्तातो पोष्ट भएकोले फोटो घिसारेर यता ल्याउने काम चैं गर्न मन लागेन ।}

5 comments:

सूर्य/सिकारु said...

मज्जाले मनन गरियो दीपक जी सातो उडेका बैशहरुमा छचल्किएका घनघोर भावमा बगेका घनिष्ट शब्दहरुको समायोजन । धेरै माथि ।

बिमल गिरी said...

दीपक जी का यि कबिता पढिरहदा
म ता कता कता बेग मारीरहे जस्तोलाग्यो।
स्रस्टा हुन को अर्थ आफु भित्र संसार नै
अन्तरभुत गर्नु पनि हो। चेतना र बिम्बको प्रतिक
प्रणय हो। एकाकार हुने अध्यत्म हो।।

Jotare Dhaiba said...

शीर्षक खुब रुच्यो ।
निकै अल्झीअल्झी पढेँ, कविता अल्झिएरै पढेको वेश भन्ने लाग्यो र स्वाद बटुलेँ ।

"ह्रदयको मानोभरि
फैलिइरहेको छ कालो समय
सम्साँझै जुठेल्नामा प्रेम घोप्ट्याएर"

शीर्षक खुब रुच्यो । निकै अल्झीअल्झी पढेँ, कविता अल्झिएरै पढेको वेश भन्ने लाग्यो र स्वाद बटुलेँ ।
यो प्रतीक पनि व्याख्या गरिनसक्नुको लाग्यो, आजको पुस्ताको कर्तुत कहेको छ भन्ने बुझेँ ।
तल भने सालधूप र सोक्पाधूप भनेको चाही अलि बुझिनँ ।

क्वेश्चन आउट गरेको ठहरिन्छ कि कुन्नी, यसपालीको फोटो कविताको विजेतामा भने यहाँलाई नै देखेँ, अरुहरुको कविता नपढे पनि ।

Sujan Sharma said...

तपाईंको कबिताको भाव ले एकदम मन छोयो।सुन्दर कबिता!!!

chudamani said...

ए ! सातो उडेका वैंशहरु हो
आजैदेखि राखिछोड
ह्रदयको धुपौरोमा
भर्भराउँदो कोइला
दुस्वप्नसँग तर्सिएर
रातबिरात ब्युँझनासाथ
प्रेमको भूतकेश डढाउनुपर्छ | यहीं नेर नै ज्यादा मनपर्यो | बिम्बको हिसाबले पनि कविता ज्यादै उच्च कोटीको लाग्यो |
यो कालो समय विरुद्ध
तितेपाती र नौनीसंगै
प्रेमको सालधूप हाल्नुपर्छ
प्रेमकै सोक्पाधूप बाल्नुपर्छ
हो तिमीले नै एकदिन
उल्टो फर्किएको
यो कालो समयलाई
सही बाटो हिंडाउनु पर्छ ।
नेपाली सच्चा लोकजीवनका बिम्बहरूको प्रयोगले कविता पढीरहंदा पाँचथर नै पो पुगियो त बा ! हृदय छोयो यो कविताले |