Sunday, September 28, 2008

कविता लेख्न नसकेपछि

निक्कै उत्साहित भएको छु म माईसंसारमा साताको एकपटक कविता लेख्ने चुनौति सहितको फोटो राखिन थालेपछि । पछिल्ला केहि साता देखि उत्साहित हुँदै लेख्दैपनि आईरहेको थिएँ । त्यस्तै आजपनि शनिबार साहित्य अन्तर्गतको फोटो माईसंसारमा कतिखेर आउंछ भनेर प्रतिक्षामै थिएँ । जब चुनौति बोकेर फोटो आयो तब बसें कविता लेख्न । निक्कैबेर सम्म घोरिएँ । फोटोमा लटाई बिनाको चङ्गा ( कुनै धागो छिनेर खसेको झैं ) उडाउने प्रयास गरिरहेको बालक देख्दा मेरो मगजभरी अनेकौं प्रश्नोत्तरको हलचल भै रहयो परन्तु त्यस हलचललाई टुँगोमा पुर्याएर कविता लेख्न सकिनं । अनेकौं कोसिस गर्दापनि पट्टक्कै नसकेपछि कविता लेख्दिनँ भन्ने निचोडमा ओर्लिएँ म र यौटा हाईकु लेखेर छाडिदिएं माईसंसारमा । हाईकु , जापानिज भाषाबाट लेख्न शुरु गरिएको तिन हरफे कविता , लाई म नेपालीमा तिहक (तिन हरफे कविता) भन्दा उपयुक्त हुने ठान्छु । हिन्दीमा र नेपालीमा नै पनि दुईहरफका कविता लेखेर दोहक भनिने भएकोले तिहक त्यसैको नक्कल जस्तो देखिएला तर दोहक पनि नेपालीमा लेखियो भने त्यो त्यसैपनि नक्कल नै हुन्छ त्यसैले यसै नक्कल उसै नक्कल हाईकुलाई तिहक नै भन्दिउँ कि क्या हो ? तर मैले भनेर हुन्छ र ? सबैले हाईकुलाई हाईकु नै भन्छन् त्यसैले ल हाईकु नै भो । आउनुस् यौटा हाईकु सुनाउनलाई के को यत्रो महाभारत रचिराखेको होला मैले सुनाईदिन्छु ।




सँघारको दशैं
मनहरु उडेछन्
चङ्गा र बालक ।


माईसंसारमा हाईकु लेखिसकेर यता ब्लगमा यो गन्थन कोरुन्जेल सम्म १८ वटा कविताहरु जम्मा भएका थिए जसमध्ये माईसंसार मार्फत परिचित तथा आत्मिय मित्रहरु लुना र मनीषको कवितामा मैले लेख्न खोजेको तर नसकेको कुराहरु पाएँ । लुनाजी माईसंसार हुँदै मेरो यो ब्लगमा साथै मेरो ब्लगमा लिँक भएका अन्य ब्लगमा समेत परिचित भै सक्नुभएको छ । निक्कै सुन्दर सुन्दर कविता लेख्नुहुने लुनाजीलाई म करुणाकि प्रतिविम्ब उपमा दिंदै यौटा आफ्नै ब्लग लिएर आउन यहाँबाट पनि अनुरोध गर्छु ।

Wednesday, September 24, 2008

दुई गजलहरु : हिंड्दा घरबाट र फर्किंदा घर

मैले पछिल्लो पटक लेखेका दुई गजलहरु आज पस्किने विचार गरें । हुनत यि गजलहरुको कुरा मैले पहिले नै ब्लगमा कोट्याईसकेको पनि छु , यौटाको 'बाँको ' ले शब्दपागल बनायो भनेर र अर्कोको त मतलानै लेखेको थिएँ । यि गजलहरुमा पहिलोमा मैले घर छाड्दाको अनुभुति र दोश्रोमा लामो अन्तराल पछि घर फिर्दाको अनुभुतिलाई उतार्न खोजेको हुँ ।
-------


हिंड्दा घरबाट भनेथे कसैले भात फालेर गयो ।
कसैले भनेथे लोसे'थ्यो साह्रै , क्या बात ! फालेर गयो ।

अवसरवादी बनाई मलाई भने कसैले चाँही ,
यतिञ्जेल थामेथ्यो जस्ले उसैको हात फालेर गयो ।

शुभेच्छा भनेर गुच्छा गुच्छा ति फूल जजस्ले दिएथे ,
भनेछन् जानेबेलामा सबै फूलपात फालेर गयो ।

उज्यालो साथै लिएर गएछ भनेछन , निष्ठुरीले
हामे'र्का भागमा निष्पट्ट कालो यो रात फालेर गयो ।

छाडेथें अन्तिम चिठ्ठी लेखेर दीपक 'जडित ' भई ,
हल्ला मचाई भनेछन सबैले जात फालेर गयो ।

-----------


फर्किंदा घर वर्षौंपछि काँ'को काँ'को भएछु म ।
आफ्नैलाई कोक्याउने बनको बाँको भएछु म ।

सबको निंती छेलोखेलो खुशी ल्याएं भन्ठानेथें ,
बाँड्दै जाँदा पो पत्तो पाएँ एकै फाँको भएछु म ।

दिन नसकेको खुशी अरुको ओठ्मा खोजीहेर्दा ,
नभेटेर मुस्कान आफुचाँही डाँको भएछु म ।

लाग्थ्यो फुर्ती बेग्लै हुन्छ प्रवासबाट फर्कँदाको ,
छिमेकीका सामु तर झरेको झाँको भएछु म ।

चिरिएका ति घाउहरु धागो भई तुनुँ लाग्थ्यो ,
पुरिँदैको त्यै घाउमा फुस्केको टाँको भएछु म ।

Monday, September 22, 2008

कथा : चार सौ विस उत्सव

केहिदिन अघि मैले यौटा कथा सुनाउने जिकिर गर्दै चार सौ विस उत्सव भुमिका लेखेको थिएँ र कथा लेख्दैथिएँ आज त्यसलाई पुरा गरेर ल्याएको छु आशा छ रमाईलो लाग्नेछ तपाईँहरुलाई । लामो लाग्यो भने चैं माफी चाहन्छु है अहिले नै नेपालीमा कथाहरु छोटो छोटो लेख्ने चलन चलेकोले लामो लाग्न पनि सक्ला तर हिँदीकै कहानीहरु पढ्ने गर्नुभएको छ भने त लामो नलाग्न नि सक्छ ।
____________________

' जसो गर जे भन जतासुकै लैजाउ मलाई यो मन त मेरो .... ' उसको सेलफोनमा रिँगटोन बज्यो यो गीत ।
' Hello ' , उसले फोन उठायो ।
' Hey D , are you ready yet ? ' , लट्पटिएर बोलेझैं स्वरमा पाउलाले सोधी ।
' I don wanna wake up in vain on my dayoff ' बब मार्लीको गीत गाएझैं गर्दै जवाफ दियो उसले ।
' What the hell D ? get up , we're gettin' late .' उताबाट प्याटको आवाज सुन्यो उसले । उनिहरु फोनको स्पिकर अन गरेर कुरा गर्दैछन , लख काट्यो उसले ।
' Don worry about a thing , every little thing gonna be alright ' फेरी उसले बब मार्लीकै अर्कै गीत एक टुक्रा गाएझैं गर्यो र सोध्यो , ' Where are you guys ? '
' Come on D , hurry up . We are waiting you in your parking lot .' , डेजा चिच्याई यो पल्ट ।
' What the hell you guys doing in parking lot ? Come on in guys , have some coffee and let me get ready . ' , उसले उनिहरुलाई भित्र आउन भन्यो र उठेर कफि मेकर अन गर्यो । सँधै राती सुत्नु अगाडी कफि बनाउनलाई फिल्टरमा कफि हालेर पानी पनि हालिओरी राख्थ्यो उ ताकि राती अबेर सम्म बसेर बिहान अबेर उठेपनि कफि पिउन कुनै हतार नहोस ।
भुईं तल्लामा भएको उसको स्टुडियो रूमको ठिक्कै अगाडी पार्किङ लट थियो त्यसैले उ बाथरूम जान टावल उठाउंदै गर्दा उसका सबै साथीहरु हुरुरु भित्र छिरे । प्याटले उ संग हात मिलायो भने बाँकी केटीहरुले गम्लङ्ग अँगालो हालेर हग गरे ।
' You guys had to come one hour later . I'm still sleepy . ' हाई काढ्दै उसले भन्यो , ' Damn it '
' We know you are time sick D , thats why we're early here . ' कुनै दिन उसले ढिलो हुँदा नेपालीहरुको ढिलोहुने समय रोगको बारेमा कुरा गरेर एक्स्क्युज पाएको थियो आज पाउलाले तोते बोल्दै त्यसैको झटारो हानी । अर्जेन्टिनाबाट समर भ्याकेसन पनि मनाईने पैसा पनि बनाईने हिसाबले तिन महिनाको लागी आएकि फर्स्याईली पाउला अनुहार हेर्दा नेपाली केटी झैं देखिन्थी । उसको भाषा स्पानिस भएकोले अंग्रेजी बोल्दा अस्पस्ट र लट्याँङ्ग्रो सुनिन्थ्यो ।
पाउला , प्याट , डेजा र मारिया चारजना आएका थिए उसलाई लिन । बिभिन्न ठाउँबाट भेलाभएका उनिहरुमा प्याट सियाटलबाट , डेजा क्यालिफोर्नियाबाट र मारिया मेक्सिकोबाट थिए ।' Okay guys , coffee is almost ready , cups are here . Enjoy coffee okay ? I'm going to take a quick shower .' उठेर बाथरूम तिर लाग्यो उ ।
' Wait a minute D , I got to go pee . ' उसलाई उछिन्दै डेजा बाथरूम छिरी ।
' Okay . ' उसले फर्किएर सबैलाई कप कपमा कफि हालेर दियो । यतिञ्जेल चुपचाप झैं बसेकि मारिया उसला गोला गोला आँखा ठुल्ठुला पार्दै निधार खुम्च्याएर उसको अस्तब्यस्त कोठा तर्फ संकेत गर्दै बोली , ' Jesus D ? what a mess ? '
' Oh yeah baby , it's my way of living . I just don care to manage things . ' उसले भन्यो ।
' Yeah dude , it's kind of hippys way of living . ' सहमति जनाउंदै प्याट उसको एयर बेडमाथी गएर बस्यो ।
' Hey watch out my computer man . ' बेडमाथी भएको काखे कम्प्युटरमा प्याट बस्ला भनेर उसले सजग गरायो ।
बाथरूमबाट डेजा निस्किई उ पस्यो । सकेसम्म छिट्टो नुहाएर उ निस्कँदा तिनैजना केटीहरु अनुहारको अलग अलग मुद्रा बनाएर बसेका थिए र प्याट चैं उनिहरुको फोटो खिच्दैथियो । उसले सिह्रानेमाथी पर्ने गरेर भित्तामा टाँगेको नेपालको झण्डा मुनि उनिहरु फोटो खिचाउँदैथिए ।
उसलाई देख्नेबित्तिकै डेजाले भनि , ' Your national flag is so cute D . '
' I know it is cute .' आफ्नै तालमा उसले जवाफ दियो र लुगा लगाउँदै भन्यो , ' Excuse me guys . ' उसले एक्सक्युज मागेकैले सायद सबैको ध्यान उ तिरै गयो । त्याँहा भए मध्ये धेरै बोल्ने डेजाले भनी , ' You looks like geico guy D . ' सबै गलल हाँसे । उसको छातीको बाक्ला लामा रौं देखेर गाईको भन्ने ईन्स्योरेन्स कम्पनीको विज्ञापनमा देखाईने भुत्लै भुत्ला भएको केभ म्यान झैं भनेकी थिई उसले ।
उसले स्वाट्ट यौटा जिन्स पाईन्ट लगायो र यौटा पातलो टि शर्ट भिर्यो र त्यहीँ भुईँमा एकतिर अलपत्र परेको वालेट उठाएर गोजीमा हाल्दै भन्यो , ' Okay guys , I'm ready . what's the plan ? '
' It's surprise D , we can't tell you . ' , डेजाले भनि ।
' Okay then , let's go . ' , उनिहरु निस्किए । प्याटको सानो गाडीमा पछिल्तिर सिटमा तिनजना केटीहरु बसे । प्याट चालक सिटमा र उ अघिल्तिर बस्यो । समुद्रको किनारैकिनारको बाटो लागे उनिहरु ।
' Guys ? call millisa and tell her we are heading ahead now . ' प्याटले अह्रायो । पछिल्तिर पाउला आज्ञा पालन गर्न थाली । समुद्र किनारभरी मान्छेहरुको मेला जस्तै देखिन्थ्यो । कोही भलिबल खेल्दैथिए , कोही नाच्दै थिए , कोही बुगिबोट बोकेर यताउता गर्दैथिए , कोही मासु पोल्दै खाँदैथिए , सबै आ आफ्नै पार्टीमा मस्त । लाग्थ्यो उनिहरुलाई संसारको कुनै मतलब छैन । डी एकोहोरो झ्यालबाट बाहिर हेर्दैथियो । प्याटले सोध्यो , ' Are you okay D ? '
' Yeah yeah I'm okay man . Just reading those people . ' गला सफा गर्दै उसले भन्यो ।
' What did you read ? ' प्याटले फेरी सोध्यो ।
' Nothing . ' , उसले बताउन नचाहेझैं गर्यो । मनमनै उ सोचिरहेको थियो , ' साला हामी कहाँ कहाँ देखि आएर यिनिहरुको काम गरिदिने छँदैछौं यिनिहरुलाई मोज गर्न के छ ? '
सडकको नियम अनुशार मन्द गतिमा प्याटको गाडी चलिरहेको थियो । दाँया पट्टी नजिकै समुद्रको सुन्दर किनार बाँयापट्टी कहीँ फाँट कहीँ ढिस्का ढिस्की । सडक किनाराभरी शिरिष पुरै वाताबरणलाई आफ्नो रातो रंगले पोतेर मुस्कुराईरहेको । सबैथोक एकैछिनलाई भुलेर घुम्न निस्कँदा यो ठाउँ स्वर्गकै एक टुक्रा हो कि झैं लाग्थ्यो । ठाउँ ठाउँमा सुन्दर परिकल्पनाका साथ बनाईएका ओसन भिउ भएका रिसोर्ट , होटल र कतै अपार्टमेण्टहरु पनि । किन मान्छेहरु यो ठाउँलाई आफ्नो भ्रमणको लिष्टमा राख्छन भन्ने बुझ्न यो सुन्दरता हेरे पुग्थ्यो । अघि बढ्दै उनिहरु स सानो बस्ति , बजारहरु छाड्दै जंगल पर्वत भएको ठाउँतिर पुगे । अलिपर बाँयापट्टी दश हजार फिटको उचाईमा ठडिएको हालियाकाला पर्वत ठिँग उभिएको थियो ।
' D , make a poem on that mountain ? . ' उसले कविता लेख्छ भन्ने पनि थाहा पाउने डेजाले ब्यँग गरी । मारियाले पछिल्तिरै डेजालाई अलि सानो स्वरले सोधी , ' Does he writes poem ? Wow ! I love poetry . '
' Yes he writes poem but we don know what the hell he writes . He writes in hindu . ' , डेजाले ब्यँगमै बुझाई । फेरी सबै हाँसे ।
' Shut up Deja , I don't write in hindu , I write in nepali . Hindu is a fu***** religion baby , not a freakin' language ' प्रतिवाद जनायो उसले ।
' Whatever D , just tell us a poem . ' , कविता सुनाउन अझै जोड दिई उसले ।
' Okay Listen , ' जे मुखमा आयो त्यही भन्दै कविता शुरु गर्यो उसले ,
" Who the hell said that is a mountain ?
Who said that mountain is hell
That mountain is not a mountin baby
That is your daddy
Standing like a daddy
To yell on you .
Listen your daddy mountain
You'll see the right track in your life . " कविता सकेर डेजा तर्फ फर्केर मुसुमुसु हाँस्न थाल्यो उ ।
' Superb !! '
' Wonderful ! ' थप्पडी बजाउंदै सबैले उसको तारिफ गरे , ' You are such a great poet D .'
' Yeah I am but only for you guys . Anyway thank you guys . ' सानोसानो कुरामा पनि झर्को नमानी धन्यवाद भन्ने उनिहरुको रीत पुरा गर्यो उसले । त्यस ठाउँको चर्चित समुद्री तट 'बिग बिच' मा पस्ने ठाउँको पार्किङमा गाडी रोक्यो प्याटले । मिलिसा पहिले नै त्याँहा पुगिसकेकि थिई । सबै भेट भएर उनिहरु सुमुद्री किनार तिर लागे । डी ले खल्तिबाट चुरोट झिक्यो र सल्कायो । त्यसपछि सबैलाई दिन खोज्दै हात बढायो डेजा र प्याटले लिए मिलिसा चुरोट पिउंदिनथि भने मारिया र पाउलाले पनि लिएनन् । उसले यो ठाउँमा पहिले नै एकाध पटक आईसकेको त्यसैले अर्कै नयाँ ठाउँमा जाउँ भनेर प्रस्ताव राख्यो तर नयाँ ठाउँमै जान लागेको हो हामी यो बिग बिच त बाटो मात्रै हो भनेर सम्झाए उनिहरुले उसलाई ।
बिग बिचको बालुवामा पाइताला धसाउँदै हिँड्दा उसको नजर चारैतिर दौडीरहेथ्यो । त्याँहा पनि धेरै मान्छेहरु समुद्री किनारको आनन्दमा मग्न मस्त थिए । उसले अलि पर्तिर बिकनी लगाएर घाम ताप्दै कुनै किताब पढिरहेकि युवती तर्फ ईशारा गर्दै भन्यो , ' Look at her guys , she is D hot . ' उसले भन्न खोजेको कसैले बुझेनन् । एकै मुखले सोधे उसलाई , ' What is D hot ? '
उ आफैं एकपटक हाँस्यो र भन्यो , ' D hot means D hot . ' यसो भनिरहँदा उसले औंलाले आफैंलाई देखाईरहेको थियो , ' You know hot like D . '
उसको यहि खुबी थियो सबैलाई आफुसंग रत्याउने । उ आफ्नै हिसाबले कुनैकुरा बनाएर भनिदिन्थ्यो र त्यसलाई तत्कालै यौटा अर्थ पनि दिन्थ्यो । सबै हाँसे फेरी त्यसो त जतिबेला पनि उनिहरु हाँस्न सक्छन ।
' What's funny guys ? D hot doesnot means only D hot , it's also damn hot , deadly hot , dangerous hot . ' अझै अर्थ्यायो उसले ।
'Yeah Yeah , D hot means duplicate hot too , right ? ' मिलिसाले मानौं त्यही कुरालाई यौटा चुट्किला बनाई , सबै बगर नै थर्काउने गरेर हाँस्न थाले । हिँड्दै उनिहरु त्यो विशाल बगरको अर्को कुनातिर पुगे जहाँबाट पहाड शुरु भएको थियो र मुक्तिनाथकै उकालोझैं लाग्ने कोप्चो परेको उकालो चढ्न थाले । उसले अलिमाथी पुगेर पछाडी फर्केर हेर्यो । अनन्त फैलिएको निलो समुद्र र किनारतिर उठेर आईरहेका विशाल विशाल छालहरु साँच्चै मन हर्ने दृश्य थियो त्याँहा , मान्छेहरु पानीमा हाँसहरु खेलेझैं समुद्रको छालसंग खेलीरहेका थिए । उसले छोटो उच्छवास लिँदै सोच्यो ' कास ! उसको नेपालमा पनि समुद्र भए । ' फेरी उसले त्यो अभाब युक्त उच्छवासलाई मेटेर सोच्यो ,' नभएको भनेको यहि यौटा समुद्र त हो नि उसको देशमा , अरु के छैन ? ' आफ्नो देश सम्झेर घमण्ड गर्यो उसले । फेरी उसलाई आफ्नै कुरा चित्त नबुझेझैं सच्यायो , ' सबथोक भएर के गर्ने ? केहि कुराको सहि सदुपयोग हुन नसकेर संसारमै पछि पर्नु परेको छ । ' यो तितो यथार्थ भित्र उसले आफुलाई पनि दोषी पायो , ' देश बनाउने जिम्मा काँधमा लिनु पर्ने म जस्ता युवा यसरी बिदेश पलायन भएपछि कहाँबाट देश उँभो लागोस् ? '
' What's wrong D ? come on . ' साथीहरुको आवाजले उसको एकैक्षणको एकाग्रता भँगभयो । साथीहरु निक्कै माथी पुगिसकेछन् । उ फेरी उकालो चढ्न थाल्यो । पर्वत नै भन्न मिल्ने त्यो डाँडाको उचाईमा पुगेपछि मान्छे हिंड्ने गोरेटोबाट यसो ओल्टेकोल्टे परेर उनिहरु एक ठाउँमा बिसाए । सबै बसिसक्न नभ्याउँदै चिर्बिरे चरीझैँ धेरै बोलीरहनु पर्ने डेजाले उसलाई सम्झाउने हिसाबले भनी , ' Well D , it's four twenty today and we are here to celebrate four twenty . We are going to smoke pot in this celebration .'
डेजाको कुराको छेउ टुप्पै नबुझेर उसले सोध्यो , ' What four twenty ? what pot ? what the hell you talking about ? '
' Are you kidding D ? you don know nothing about pot ? '
' Four twenty means 20th April man . '
' Have you ever smoke pot , D ? '
' I think he knows about marijuana . '
' Do people smoke marijuana in nepal ? '
' I heard it is legal in nepal . '
' I heard there are lots of street dogs in nepal . '
एकोहोरो लागेर खनिए सबै उ माथी । ' Stop guys ' , उ चिच्यायो , ' Stop freaking me out okay ? Is this a sin if I don know about Fu***** four twenty and about Fu***** pot ? I never heard about four twenty before okay ? And pot , what I learn in my school is pot is a pot , just a pot to make rice , not even to make curry okay ? अझै एकपटक सबैलाई गलल हँसायो उसले । वास्तवमै पि ओ टि पट पट माने भाँडो भनेर प्राथमिक स्कुलमा पढ्दा उसले भात पकाउने भाँडो मात्रै पट हो भनेर बुझेको थियो । पट भन्दा कराई पनि बुझ्नु पर्छ भनेर सम्म स्कुलमा सरले पनि कहिल्यै सम्झाएनन उसलाई ।
' Hey D , look at this .This is pipe and smoke marijuana in this pipe is called pot smoking . ' मरियाले आफ्नो ह्याण्ड ब्यागबाट सानो सप्तरंगी सिसाको चिलिम निकालेर देखाउंदै भनि र त्यसमा गाँजा भर्न थाली । उसले आफु गाँजासंग परिचित भएको , नेपालमा पनि मान्छेहरुले गाँजा पिउंने गरेको , खास गरेर जोगी बनेर मन्दिरमा बस्नेहरुले गाँजाको अत्याधिक सेवन गर्ने गरेको लगायत अमेरिकामा झैं नेपालमा पनि गाँजा उत्पादन तथा सेवन ईल्लिगल भएको जानकारी गरायो उनिहरुलाई । नेपालमै हुँदा उसले एकाध पटक गाँजा नपिएको पनि होईन तर उनिहरुलाई मैले कहिले पनि गाँजा पिएको छैन भनेर ढाँटीदियो । त्यसो गर्दा उ उनिहरुकै रफ्तारमा गाँजा पिउनुपर्ने बाध्यताबाट बच्न सक्थ्यो । नेपालका गँजडीले झैं गाँजालाई खैनिझैं माडेर , अझ चक्कुले मसिनो धुलो पारेर काटेर , सुल्फामा खाँद्ने अनि माथीबाट जुटको सानो गुजुल्टो राखेर आगो लगाएर सल्काउने जस्ता कठिन उपक्रम अमेरिकाका गँजडीहरुलाई गरिरहनै नपर्ने । आधुनिक सुल्फामा गाँजा हाल्ने र लाईटर बालेर तान्ने बस् काम तमाम । एकैछिनमा उनिहरु पालैपालो चिलिम घुमाउंदै तान्न थाले ।
पहिलो राउण्डमा उसलाई कसैले केहि सोधेन दोश्रो राउण्ड पछि भने पाउलाले सोध्न भ्याई , ' Are you stoned D ? '
लाईटर बालेर तान्ने टेक्निक नजानेर होला उसले अरुले झैं पिउंनै सकेको थिएन । जवाफ दियो , ' Not yet . '
मारियाको सानो सुल्फाको गाँजाले सबैलाई तिन राउण्ड पनि पुगेन । नेपालका गँजडीहरु भए एकै बसाईमा ठुलै चिलिम चार पाँच पटक तुर्दै भर्दै गर्थे होलान उनीहरु उठे । १७ /१८ वर्षको उमेर देखि आमा बाउ छाडेर आफ्नै पौरखमा बस्ने यिनिहरुलाई यस्तो कुरामा कसैको मतलब नहुने हुँदा पनि होला आफैं सजग भएर पिउने गर्छन यिनिहरु ।
उनिहरु उठेर फेरी अगाडी बढे । त्यो डाँडोमा उक्लिन जति उकालो चढेका थिए त्यति नै ओरालो झरेर उनिहरु अर्को स सानो बगरमा पुगे । तिनतिरबाट पहाडले छेकिएको र एक तिर समुद्र भएको यो सानो हिडन बिचलाई न्युड बिच पनि भनिन्छ भनेर डी ले थाहा पायो । नभन्दै त्यो बिचभरी जति मान्छेहरु थिए तिनीहरु मध्ये धेरै सर्वाङ्गै नाङ्गै थिए । पहिलो पल्ट उसले यसरी मान्छेहरु सामुहिक रुपमा नाङ्गा नाङ्गै भएको देख्दा उसलाई त्यो बगर कुनै गौचरण र त्याँहाका मान्छेहरु चरिरहेका , खर्कीरहेका पशुहरु झैं लाग्यो । उसले सोच्यो जंगली अवस्थामा हुँदा असभ्य हुनाले यसैगरी समुदायमै नाङ्गो बसेको मान्छे आज सभ्यताको चरम स्थितीमा आईपुगेर पो नाङ्गीएको हो कि ?
नाङ्गा नाङ्गै मान्छेहरुको माझबाट बगरै बगर हिंड्दै जाँदा उसले देख्यो बगरको कुनामा छ सात वर्ष उमेरका दुई नाङ्गा भुतुङ्गा बच्चाहरुसंग उसका आमा बाउ पनि नाङ्गा नाङ्गै खेलीरहीका थिए त्यो देख्दा उसलाई मान्छे अझै पशु नै रहेछ भन्ने लाग्यो । एकातिर नेपालजस्तो मुलुकको समाजमा यौन विषयका कुराहरु पनि बच्चासंग गर्ने मानसिकता बनिसकेको छैन भने अमेरिकामा यसरी बच्चाहरुसंग बाउआमा नै नाङ्गा नाङ्गै खेलीरहेको देख्दा उसलाई अचम्म मात्रै लागेन कि यो सहि हो कि गलत भनेर ठम्याउन सम्म सकेन उसले ।
उनिहरु एकैछिनमा त्यो सानो बगर पार गरेर अर्कोकुनातिर पुगे । अगाडी धेरै पहिले ज्वालामुखि बिस्फोटन हुँदा बनेको कालो पहाड उभिएको थियो । कालो पहाडको काखमा निलो समुद्रको सेतो सेतो छाल आउंदै जाँदै गर्दाको दृश्यमा त्याँहा फेरी अर्कै रमाईलो लाग्थ्यो । उनिहरु त्यही कालो चट्टानमाथी केही फराकिलो परेको खण्डमा गएर बसे । अलि तल पानीमा ठुल्ठुला कछुवाहरु छालसंगै तैरिंदै चट्टान सम्म आउने र छाल संगै फर्कने गरिरहेका थिए ।
' Why don we go and sit near by those turtle ? ' , उसलाई ति समुद्री कछुवाहरु नजिकैबाट हेर्ने ईच्छा जाग्यो ।
' No D , they are playing . We don't have to disturb them . ' , मिलिसाले रोकी । उसलाई आफ्नो सोचमा र उनिहरुको सोचमा भएको भिन्नता देखेर अलि लाज पनि लाग्यो त्यसैले उ चुपचाप त्यहीँ अरुसँगै बस्यो ।
प्याट , मिलिसा र डेजा यसपटक राजनीतिका कुरा गर्दैथिए । मारिया यदाकदा सहभागी बन्दैथिई भने पाउला र डी चुपचाप सुन्दैथिए । अर्काको देशको मामलामा जान्ने भएर बोल्नु नहुने धारणा थियो सायद दुबैको । उनिहरु यसपाली बाराक ओबामाले जित्नुपर्छ । यो परिवर्तन हुनुपर्ने समय हो भन्दैथिए । डीको पत्रपत्रिकामा पढेसुने अनुशार अमेरिकामा युवाहरु राजनीतिमा खासै चासो राख्दैनन भन्ने धारणा बनेको थियो तर उनिहरुको कुरा सुनेर त्यो पनि हैन रहेछ भन्ने लाग्यो ।
यो पल्ट डेजा भर्न थाली पाइपमा गाँजा । डेजाको पाईप मारियाको भन्दा निक्कै ठुलो थियो अत गाँजा पनि निक्कै भर्ली र मताउली भनेर चनाखो भयो डी । उसले मनमनै अठोट गरिसकेको थियो तिन राउण्ड तान्छु त्यसपछि माते नि नमाते नि तान्दिनँ भनेर तर डेजाले पाईप र लाईटर उ तिरै बढाएर यसपटकको नयाँ रुल अनुशार खुरुखुरु तिन फेर तान्ने त्यसपछि तान्न नपाउने कुरा सुनाई । जसरी भएपनि उसले तिन राउण्ड तान्ने अठोट त गरेकै थियो । हातमा पाइप र लाईटर लिएर मन्द मुस्कायो उ । उसको मुस्कानमा त्रास देखि क्यार डेजाले भनि , ' Just feel comfortable okay , we are here . '
केहि नबोली उसले खुरु खुरु तिनफेर तान्यो र लाईटर र पाईप छेउमा बसेकि मारियालाई दियो । यसपटक धुँवा निल्दाको स्वाद न चुरोटको जस्तो न गाँजाको जस्तो पहिले कहिल्यै थाहा नपाएको स्वादमा थियो । लाईटर र पाईप हस्तान्तरण गर्न नभ्याउँदै उसले आँखा अगाडी अनेकौं रंगीन आकृतिहरु सल्बलाउन थालेको देख्दैथियो , टाढा कतैबाट उसलाई डेजाले ' Lay down ' भनेको जस्तो लाग्यो र आज्ञाकारी बालकझै उ त्यँही चट्टानमा पसारियो ।
उसले आफ्नो शरिरका सानासाना कोसिकाहरु एकार्कामा छुट्टिएर धुवाँ जस्तै उडेको देख्यो । उसलाई लाग्यो उसको अस्तित्व नै छैन । सबै समाप्त भयो । उ धुवाँ जस्तै उडेर एकैछिनमा सगरमाथाको शिखरमा पुग्यो र पुन उनको गोला झैं गुजुल्टो परेर खडा भयो । उसले तत्काल कैलाश सम्झ्यो र उनको गुजुल्टाबाट उ फेरी अनौठो चरामा परिणत भएर उड्दै कैलाशमा पुग्यो । महादेव देख्यो त्याँहा महादेव पनि मातेर चुर भएका आँखारातो पारेर बसेका थिए । झट्ट उसलाई यमराज सम्झना आयो र तुरुन्तै ठुलो बाँध फुटेर बाढी उर्लीएझैं बगेर उ नर्क सम्म गयो । चित्रगुप्तले उसलाई देख्यो तर नदेखे झैं गर्यो । यमराज उसले बच्चामा पौडीखेल्ने खोलामा भैंसी नुहाईदिंदैथियो । उसलाई घर सम्झना आयो तुरुन्तै उ एक टुक्रा कागज भएर घर पुग्यो । कागजको टुक्रामा उसको शरिर लेखिएको थियो अक्षरमा । सबै आफन्तको अगाडी उ कागज भएर पुग्दा कसैले उसलाई वास्ता गरेनन , उसलाई परिचय दिनै गाह्रोभयो , लाग्यो म त परदेशी भएछु क्यार भुलेछन सबैले मलाई , उसले आवाज निकाल्ने चेष्टा गरेर कराउन खोज्यो तर आवाज निस्किएन हावा मात्र सुईँय गर्यो । आँधी सम्झ्यो उसले र मडारिएर रुख , पात , घर , जँगल , पर्वत बाटोमा जे पर्छ त्यसैमा ठोकिँदै आँधीकै बेगमा बग्न थाल्यो उ । यति बेग साथ बग्यो कि उसले पृथ्वीलाई एकैछिनमा चक्कर लगायो । पृथ्वी गोलो छ उसले याद गर्यो र तत्काल उ भकुण्डोमा परिणत भयो र बढेको बढ्यै पृथ्वी जत्रै भयो उसलाई लाग्यो अब ब्रम्हाण्डमा उसलाई अट्न स्थान पो छ कि छैन ?
तत्काल उ पृथ्वीझैं घुम्न थाल्यो र अनेकौं ग्रह उपग्रहहरुबाट बच्दै बिशाल ब्रम्हाण्डमा आफ्नो स्थान खोज्दै उड्न थाल्यो । ग्रहहरुसंग छलिँदै उ यति स्पिडमा उड्दैथियो तर कतै उसले आफ्नो सुरक्षित स्थान देखेन , कहाँ सम्म पुग्ने ? त्यो अनन्त , अपरिमेय ब्रम्हाण्डमा उसले आफुलाई तुच्छ ठान्यो । बडेमानको भएर फैलेको उसको भकुण्डे आकारलाई उसले ब्रम्हाण्डको सम्मुख धुलोको मसिनो भन्दा पनि एक्दमै मसिनो माईक्रोस्कोपले धरी देख्न नसक्ने प्रकारको कणमा पायो । उसलाई आफु शुन्य भएको महसुस भयो यस्तो शुन्य जस्लाई जति ठुलो आकारमा लेखेपनि त्यो शुन्य नै हुन्छ त्यसमा केहि नै हुँदैन जस्तै लाग्यो ।
उसलाई आफ्नो मश्तिष्क याद आयो , मश्तिष्क भरी उसले छिर्केमिर्के दागहरु देख्यो । पानी तातेको हिलोमा उसिनिएको गँड्यौला जस्तो लाग्यो उसलाई आफ्नो मश्तिष्क जो दुङ्दुङ्ती गनायो उसैलाई । नाकमा गन्ध आएको थाहा पायो उसले त तुरुन्तै अनेकौं मरेका मान्छेहरुको लाशको वाकवाक आउने दुर्गन्ध भएर उ आफ्नै नाकभित्र छिर्यो । आफ्नै नाकभित्र आफैं दुर्गन्ध भएर छिरेको उसले भित्र कतै अडिने ठाउँ पाएन , बस्ने ठाउँ देखेन निस्किनलाई उसका सामु जताततै ढोकाहरु थिए । हरेक रौं पलाएका ठाउँमा बाहिर निस्कनलाई ठुला ठुला ढोका देख्यो र आफ्नो शरिरबाट एकैचोटी सबै रौंहरु उम्रेको प्वालहरु साथै नाक , मुख , कान , आँखा , नाईटो , मुत्रद्वार , मलद्वार हुँदै निस्कियो ।
उ मर्यो । मरेपछि यसरी दुर्गन्ध भएर बाहिरिनेरहेछु यो शरिरबाट झैं लाग्यो । मरेपछि उसले स्वर्ग जाने रहर गर्यो । शरिरबाट बाहिरिएको उसले स्वर्ग देख्ने चेष्टा गर्यो तर कति गरे स्वर्ग देख्न सकेन , घरीपनि घरिपनि उसलाई स्वर्गको ठाउँमा दुखसँग बिताएको गाउँले छल गरिरहयो । उसले त्यो दुख पाएको गाउँ नदेखेर स्वर्ग देख्ने र त्यतै जाने अनेक चेष्टा गर्यो तर अहँ सकेन , उड्न खोज्यो सकेन , बग्न खोज्यो सकेन । केहि गरे उसले स्वर्ग देख्नै सकेन स्वर्गको ठाउँमा खाली उसले बाल्यकालमा दुख पाएको गाउँ मात्र देखिरहयो । उसले स्वर्ग जसरी पनि देख्ने अठोट गर्यो । उसलाई लाग्यो मैले मेरो छ्यान्द्रा छ्यान्द्रा भएको , भर्खरै छाडेको शरिरमा आँखा छोडेछु क्यार । आँखालिन फेरी उ शरिर तर्फ फर्कियो र पहिले जहाँ जहाँबाट निस्केको थियो त्याँहा त्याँहाबाट पस्यो । अब स्वर्ग देख्नलाई उ उड्न खोज्यो तर अहिले पनि सकेन । उसले थाहा पायो उ वास्तबमा जे थियो त्याँहा फर्किसकेको छ । उ यौटा मान्छे थियो र अहिले आँखा लिन आउँदा फेरी उ यौटा मान्छे भयो त्यही अघिको मान्छे जो रातै फुलेको शिरिषको बोट मुनीबाट कतै घुम्न जाँदै थियो । शिरिष सम्झँदा उसले पारिजातलाई सम्झ्यो । पारिजातले ' तिमीले टेकेको दुई पाईला धर्ती तिम्रो हो त्यो कसैले खोस्न सक्दैन ' भनेझैं लाग्यो उसलाई । उसले आफ्नो पाईलाले धर्ती टेकेको देखेन । उ त लम्पसार पल्टिएको पो रहेछ । उसलाई लाग्यो म यसरी मरेझैँ पल्टिएँ भने मेरो दुई पाईला धर्ती अरुले खोसिदेलान गाँठे ! उसले खुट्टा टेक्न बल गर्दै शरिर चल्मलायो । तब उ झसँग भयो । अहो ! मलाई के भयो ? म को हुँ ? अहिले कहाँ कहाँ गएको थिएँ ? के के भएको थिएँ ? हत्पताएर उ उठ्यो । उसका सबै साथीहरु उ जस्तै लम्पसार परेका थिए । मारिया चल्मलाई र एकैछिनमा उठी । न हाँस्नु न रुनु जस्ति भएर मारियाले उसलाई एक टकले हेरी । क्रमश सबै चल्मलाउँदै उठ्दै गए । केहिबेर कोही कसैसँग बोलेनन ।
उसले सबैलाई निँयाल्यो । कोही गाँजाको नशामा भएजस्ता थिएनन । उ आफैँपनि थिएन । उसलाई पत्यारै लागेन उसले अहिले भर्खरै गाँजा पिएको थिएँ भनेर । उसले मुख फोरेर सोध्यो , ' Hey Deja ? What the hell was it ? '
यो पल्ट डेजा मुस्कुराई र बिस्तारै भनी , ' Did you enjoy it ? '
डेजाको प्रश्नले उसलाई साँच्चै आनन्द लिएँ भन्ने हेक्का भयो र भन्यो , ' Yeah ! I did . But what was it ? '
' DMT ' डेजाले उ तिर नहेरी जवाफ दिई ।
' Guys , what the hell is DMT now ? ' सबैले उसलाई चुप रहन ईशारा गरे । मिलिसाले फुस्फुसाउँदै भनि , ' You can find out in google or in you tube about DMT , okay ? '
' Okay .' उ पनि अरु जस्तै चुपलाग्यो ।

Sunday, September 21, 2008

कविता : मान्छे

आज अन्तराष्ट्रिय शान्ती दिवस । कान्तिपुरको होमपेजमा माईतिघर मण्डलामा मैनबत्ति जलाउँदै गरेको तस्विरले सम्झाईदियो नत्र भने अशान्त यो दुनियाँमा आफु एक्लै शान्त बस्न रुचाउने धेरै मान्छेहरु जस्तै म पनि आजै साप्ताहिक बिदा पनि भएकोले कोठामै एक प्रकारको शान्ती निर्माण गरेर बसेको थिएँ । दिमागभरी लेख्न मनलागेका धेरै कुराहरु खेलीराखेका थिए , हात लेख्दै गरेको कुरा पुरा गर्न लालायित थियो त्यस्तैमा आज अन्तराष्ट्रिय शान्ती दिवस भन्ने थाहा हुनासाथै सबै कुरा छाडेर आजलाई ब्लगमा टाँसो के हालौं त भन्ने सोच आयो र रोजेँ यो कविता , हिँजो माईसंसारको शनिबार साहित्य अन्तर्गत फोटोमाथी कविता लेख्ने दुई साता अघिदेखि शुरुभएको स्तम्भ ( पोष्ट ) मा लेखेको कविता ।




राम हो या अल्ला
के बुद्ध बोल्ला ?
शिवको खरानी
मुड्की सिरानी
सानो यो धर्ती
किन भो बिरानी ?
न मान्छेले छोयो
मान्छेको घाउ
आउँदैन देवता
तेल्लाई के बोलाउँ ?
टेकी मान्छेकै
लौरि ट्याक्क ट्याक्क
पार्दैछ मान्छेकै
टाउको दुई फ्याक
खोतल टाउको
बन्दागोभी हो आउ
झिकेर गिदी त्यो
कुपुकुपु खाउ
भस्म बनाई
डढाएको गाउँ
पानीले हरे !
लगायो यो घाउ
बौलाहा भन
म बौलाएँ सहि
लछार्यौ तिमीले
के सज्जन भई ?
क्राईष्ट अल्ला
राम र बुद्ध
भनेर हामी
गर्दैछौं युद्ध
यो घाउ कस्को
यो गाउँ कस्को
फूल च्यातिदिने
यो दाउ कस्को ?
त्यो आँखा हेर
नुर झुकेको
देख्यौ के टाउकोमा
गिदी सुकेको ?
फूल छ त्याँहा
ओठमा हेर
देखिन्छ कलेँटी
तर ओईलाएर
मान्छे देख्दैन
मान्छे नजिकै
भगवान मान्छेलाई
प्यारो छ निकै
मान्छे मान्छे बिच
परेर चिरा
सहन्छ मान्छे
घाउ खटिरा
बनायो मान्छेले
औसधी मुलो
मान्छे नै घाउमा
दल्दैछ धुलो
मान्छेले गाउने
यौटा गीत बनोस
नहराई मान्छेलाई
मान्छेको जीत बनोस
मान्छे भित्रको
जब मान्छे मर्दैन
अर्को स्वर्ग मान्छेले
खोज्नु पर्दैन ।

Saturday, September 20, 2008

अरुको लागी कैले हुने ?

सयौं देशप्रेमी मनहरुका केहि सहयोगी हातहरु आँखिर जुटे । माई संसार माध्ययम बन्यो र आफ्नो दैनिकी छाडेर कोसी पीडितहरु सम्म माई संसार टिम पुग्यो । कोसी भत्किएको दिन सर्वहारा नेता प्रधानमंत्रिको सपथ लिँदैथिए । कसैले त्यसलाई अपसगुन भने । आकस्मिकता कसरी नियमित हुन्छ भन्ने कुरा बुझ्नलाई समले उहिल्यै लेखिदिएको नियमित आकस्मिकता पढेर मात्र हुँदैन रहेछ । नबुझेसम्म अथवा बुझेर पनि बुझ पचाउन नछाडेसम्म जस्ले जे लेखे पनि त्यसको औचित्य के र ? मलाई यस्तै ज्ञान पलायो । कति साथीहरु संग कुरा हुँदा सुनाउंछन् मैले यति पढि सिध्याएँ , तिमी पढ्दैछौ कि नाईँ ? पढाई स्कुलमा मात्र हुँदैन भन्नलाई पनि यो डाईलग थोत्रो भईसकेको समय नै थोत्रो भईसक्यो । समय नयाँ आईसक्यो तर जस्ले यो नयाँ समय हो भनेर बुझाउनु पर्छ उनिहरु अझै पुरानै समयमा खाएको अन्नदाना शौच गर्दैछन ।

तिनचार दिन देखि रुचिका साथ कान्तिपुर लगायतका प्रभावशाली , शक्तिशाली पत्रिकाहरु हेरें । उनिहरुको आँखामा सानोसानो कुरा पर्दैनरहेछ । आकारले नेपाल खबर शिर्षकमा लेखेका थिए हाम्रो पत्रपत्रिकामा हत्या, मृत्यु , अपहरण, झडप, चन्दा, दुर्घटना भन्दा पर अर्को समाचार पढ्न पाउन मुश्किल हुन्छ भनेर । त्यस्तै भयो माई संसारले गरेको सहयोग ठुल्ठुला मिडियाको आँखामा पर्नै सकेनछ । पुर्वतिरका केहि सानातिना पत्रपत्रिकाले ह्रदय खोलेर लेखे ।

' Collective Effort भन्ने कुरा जीवनका हरेक समस्या समाधान गर्न चाहिने कुरा हो तर त्यसलाई बेवास्ता गरेर हामी आफू र आफ्ना वरिपरिका मान्छेहरुको जीवनमा पनि गन्हाउने ढल बगाइरहेका छौं । '
ब्रजेश खनालको खेस्रामा पढेको यो कुरा पनि सम्झें मैले । ' हामी सँधै आफ्नै लागी मात्र हुन्छौं कहिल्यै अर्काको लागी हुन सक्दैनौं भने हामीले स्वर्गको कल्पना गर्नु नै बेकार हो ' र यस्तो बुझेँ । कोसीको समस्या बिदेशमा बस्ने केहि नेपाली हातहरुले सुम्सुम्याउन खोजेर निमिट्यान्नै हुन सक्दैन तर माई संसारमा कोसी भत्केदेखि नै समाचार किन राखिएन ? माई संसार मार्फत राहत संकलन गर्न सके र पीडित सम्म पुर्याउन सके गुट गुटमा बाँधिएर सँधै फुटेको हाम्रो समाजमा बिना गुटपनि हामी केहि गर्न सक्छौ भन्ने यौटा संदेश पुर्याउन सकिन्थ्यो भन्ने शुभेच्छा राख्थें म ।

जोतारे धाईबाको CaFe मङ्गलम् मा मनबहादुर बस्नेतले लेखेको बिद्यालय बाहिरको कक्षा भन्ने लेख सम्झना आयो । त्याँहा लेखिएका विजय बज्राचार्य मात्र केवल एकजना हैनन् जस्ले त्यस्तो काम गर्न सकुन गर्न चाहे भने त्यस्ता धेरै मान्छेहरु छन हाम्रो वरीपरी तर तर विजय बज्राचार्यको जस्तो भावना पलाउन हाम्रो वरीपरीको अरुअरु मनलाई के ले रोकेको छ कुन्नि , अरुको सोच्न किन सक्दैनौं हामी ?

हामी खाली वरीपरीको नकारात्मक कुरालाई मात्र गिजोलेर हिंड्छौं भने त्यसको छिटाले भएको सकारात्मक पाटोलाई पनि मैलो बनाउंछ नै । म आफैंपनि नकारात्मक हुन्छु , कैलेकाँही त हदैसम्म तर सकारात्मकतालाई सकेसम्म आत्मसात गर्न प्रयास गर्छु म । यो राहत थाप्नुपर्ने गरेर कसैलाई बिपत नपरोस भन्छु म तर कहिँ कसैलाई परेको खण्डमा सहयोग गर्न हामी सबै तयार हुन सकुँ पनि भन्छु । बिपत परेको ठाउँमा आवश्यकता कस्तो हुन्छ र हचुवा राहतले आवश्यकतालाई छुन्छ कि चर्चा पछि लाएर उड्किँदै हिंड्छ भन्ने पनि देखेको छु ।

यसपाली पनि कोसी पीडितहरुको निंती राहत संकलनका धेरै प्रयासहरु भए , प्रधानमंत्रि राहत कोशको रकम त सायदै आवश्यक परेन कोसी पीडितलाई त्यसैले त्यसको एकछेउ मात्र खर्च भयो रे भन्ने पनि सुनें तर मैले राखेको शुभेच्छा अनुरुप माई संसारले उदाहरणिय काम गरेर देखायो - जो मैले देखें तर ज जस्ले देखेर हेर यस्तो पो गर्नुपर्ने क्या बात ! भन्नुपर्ने हो तिनीहरुले देखेनन । हो नेपालमा ठुला मिडियालाई त्यो समाचार समाचार नै हुन सकेन , कतै ब्याक्तिगत रिस ईविमा दुईजना काटाकाट गरेका भए हामी भँगेराका टाउका जत्रा अक्षरमा वाई स्याल र भाई स्यालको झडप यति घाईते यतिको अवस्था चिन्ताजनक भनेर पक्कै पढ्न पाउँथ्यौं ।

यो धर्तीलाई सुन्दर स्वर्गसरी कल्पना गर्ने हामी आफ्नो लागी त हुन्न भन्दा पनि छौं तर अरुको लागी कैले हुने ?

Thursday, September 18, 2008

चार सौ विस उत्सव : भुमिका

कुरा बिग्रिँदाको हो ।

( यसरी स्पस्ट हुन्न क्यार )

भन्न खोजेको कुरा बिग्रिँदाको हैन ।

यहाँ पनि मैले 'कुरा' लाई जोड दिएर भनेझैं पार्न खोजेको हुँ । त्यसो त 'कुरा'लाई म मोटो अक्षरमा लेख्न पनि सक्थें तर त्यसले स्पस्ट पार्छ नै भन्ने ग्यारेण्टी होला जस्तो लागेन त्यसैले यसरी कुराले नै माथीको कुरालाई स्पस्ट पारुँ लाग्यो । यसो गर्दाको यौटा फाईदा कुरा एकातिर भएपनि कुरा अर्कोतिर लगेर कुरा एकातिर हुँदा कुरा अर्कोतिर गएर अस्पस्ट हुनेकुरालाई स्पस्ट पार्नेकुरामा अक्सर मलाई उलझन हुनेकुरा लेख्न सक्छु भन्ने हो । भन्न खोजेको कतिपटक कुनैकुरा लेख्दा मलाई बोल्दा प्रस्ट बुझाउन सकिने ( स्वरलाई जोड दिएर अथवा स्वरमै भाव देखाएर ) कुरा लेख्दा कति गरे स्पस्ट पार्न नसकेको झैं लाग्छ । जस्तै माथी 'कुरा बिग्रिँदाको हो' पनि त्यतिकै हेर्दा स्पस्ट छ जस्तो लाग्दैन मलाई र कतिपटक कुनैकुरा बोल्दा लेखेझैं स्पस्ट पार्न नसकेको झैं लाग्छ । कतिपल्ट त एक पटक बोलिसकेपछि बोल्दा कमा , ब्राकेट ईत्यादी पनि बोल्न किन नसकिएको होला जस्तै लाग्छ ।

त्यस्तै कुरा चल्दा अर्को कुरा पनि थपुँ जस्तो लाग्यो । कतिपटक शब्द पागल पनि हुनेगर्छु म । अंग्रेजीमा यसलाई word psycho भनुँ क्यार - आजभोली कतिपय हामीलाई नेपाली ( आफ्नो भाषा ) को अर्थ अँग्रेजी ( अर्काको भाषा ) मा बुझाउनु पर्ने हुन्छ । यसको यौटा उदाहरण पनि यहाँ पेश गरुँ । पछिल्लो पटक मैले लेखेको गजललाई गजल ग्रुप ( हाम्रो यौटा गजल ग्रुप छ मबि सिँ ले शुरु गर्नुभएको ) मा पेश गरेको थिएँ । त्यो गजल मैले यता ब्लगमा राखेको छैन । कति गजल राख्ने ? झर्को पनि लाग्दो होला मेरो ब्लगमा पस्नेलाई भनेर । यहाँ त्यसको पहिलो शेर , मतला सुनाउँ र नेपालीको अर्थ अँग्रेजीमा बुझाउनु पर्ने उदाहरण पनि देखाउँ है त । दीपक खड्काजी ले त्यो कष्ट उठाउनु भएको छ ।

हिंड्दा घरबाट भनेथे कसैले भात फालेर गयो ।
कसैले भनेथे लोसे थ्यो' साह्रै , क्या बात ! फालेर गयो ।


अहा ! यस्तो मौलिक र उक्तिवैचित्र्यसम्पन्न शेरमा पनि के modest बनेको नि ! घाघडान शेर !
अनि सबैलाई बुझ्न कठीनाई नहोस् भनेर यो शब्दार्थ पनि,
लोसे (a laggard, sluggish)
क्याबात (bravo)
Deepak Khadka

अँ म शब्द पागल भएको कुरा गर्दैथिएँ । त्यो कसरी भने कुनैकुनै बेला मलाई लेख्न लागेको शब्द शब्द नै हैन , यो शब्द त अस्तित्व मै छैन क्यार म त जे पायो तेहि सम्झँदैछु जस्तो हुन्छ । पछिल्लोपटक मलाई 'बाँको' शब्द संग त्यस्तो भयो । लेख्दै जाँदा 'बाँको' लेखें तर लेखिसक्ने बित्तिकै यो 'बाँको' शब्द हो र गाँठे , म जे पयो तेहि लेख्दै त छैन जस्तो भयो । एक्लै थिएं , सोध्नलाई कोहि छैन , के गरुँ गरुँ ? 'बाँको' शब्द अस्तित्वमा छ कि छैन भन्ने कुरामा नि यकिन हुन सकिनँ । शब्दकोश छैन आफुसंग । अनलाईनमा समकालिन नेपाली शब्दकोशमा खोजिहेरेँ त्याँहा छैन रे संपादक मंडलमा पठाईयो भन्ने संदेश पाएँ । झन छैन क्यार यो शब्द भन्ने लाग्यो । आँखिर आमालाई फोन गरेर सोधेँ , ' आमा बाँको भनेको के हो ? '

' किन के गर्न आँटिस् बाँको को ? के छ कसो छ सोध्नु त हैन २ महिनामा एकपल्ट फोन गर्छस् त्यै पनि बाँको पो सोध्छस् ? ' आमाको जवाफ ।

भयो अब ? आफुलाई कत्रो चिन्ता छ शब्द पागल भएर । तै पनि आमालाई सम्झाएँ , ' तपाईंलाई विर्सेर हो त फोन नगरेको ? फोन गर्नै विर्षिन्छु त के गर्नु ? नरिसाउनु न , तपाईंलाई जति आई लभ यु अरु कस्लाई छ र ? ' सम्झाईबुझाई गरेपछि आमाले बाँको भनेको जंगली तरुल जस्तै हो , खाँदा कोक्याउँछ , मरिन्छ पनि भन्छन भनिदिनु भयो र शान्त भएँ । कम से कम बाँको भन्ने हो त रहेछ । मैले बाँको कोक्याउँने प्रसंगमै लेख्न खोज्दैथिएं , लेख्दैछु भनुँ न त्यसैले बाँकोको बारेमा थाहा हुनेले बताईदिनुभयो भने अझै ढुक्क हुन्छु है । हुनत जगजित सिँह ले ' मुझको यकिँ है सच केहेती थि जो भि अँमि केहेती थि ' भनेर गाए झैं पढालिखा नभए पनि आमाले मलाई ठुलो सहयोग गर्नुहुन्छ यस्तो कुरामा ।

अब बिग्रिँदाको कुरामा फर्कौं । मैले बिग्रिँदाको भनेर कुरा बिग्रिँदाको हैन म बिग्रिँदाको कुरा गर्न खोजेको । यो बिग्रिँदाको कुरा भने नि कुरा बिग्रिँदाको भने नि उस्तै हो जस्तो लाग्छ एकैछिन र एकैछिनमा त्याँहा फरक छ जस्तो पनि लाग्छ । जे होस तपाईंलाई सुनाउँदै गरेको कुरालाई चार सौ विस उत्सव शिर्षक दिएको छु र अहिले चैं त्यसको भुमिकामा मात्र छु । हामी ४२० लाई कसरी बुझ्छौं त्यो त मैले भनिरहनु नपर्ला र पनि भनुँ है । कोही मननपरेको मान्छे अलि बाठो भयो भने ए त्यो त कम्ति को छ ? चार सौ विस छ भनिदिन्छौ । चरित्रले बदनामी भएकालाई चार सौ विस भन्ने चलन छ हाम्रोमा तर यता भने चार सौ विसलाई एक प्रकारको उत्सव मानिंदो रहेछ । खास गरेर यहाँका युवाहरु माझ त्यसो त बुढाखाडा पनि के छाड्थे यस्तो उत्सव मनाउन । ' के निहुँ पाउँ कनिका बुक्याउँ' भनेझैं हुँदोरहेछ यो चार सौ विस यहाँका मान्छेलाई । अमेरिकामा ४२० थाहा पाउनेले अनुमान लाईसक्नुभयो होला ए यो बदमाशले बदमाशी गरेर यहाँ के के गरेँ भनेझैं फुर्ती देखाउँदै रहेछ भनेर थाहा नहुनेलाई भनिहालुँ न । यो चार सौ विसलाई यहाँकाहरु फोर ट्वाण्टी भन्छन । अप्रिल महिनाको २० तारिख का दिन । संयोगले गएको अप्रिल २० तारिख मेरो छुट्टि थियो । अनियमित हुने साप्ताहिक बिदा अप्रिल विसकै दिन परेको हुनाले त्यो दिनलाई म बिग्रिएको थिएँ , त्यसो त म सप्रिएकै कहाँ छु र ? बिग्रिएकै माथी थप एकदिन बिग्रिएको यौटा कथा छ म संग चार सौ विस उत्सव र त्यो कथा तपाईंलाई म अहिले सुनाउँदिन। धाराबाहिक बनाउन खोजेको पनि हैन , अलिकति अहिले नै सबै लेख्ने मूड नभएर हो भने अलिकति सबै एकै ठाउँमा लेख्दा पोष्ट लामो हुने भएर हो । जे होस चार सौ विस मा म चार सौं विस भएको कुरा सुनाउन चैं पक्कै सुनाउंछु ।

Sunday, September 14, 2008

गजल : फूल घोप्टिएर रो'को देखेँ

बोटै मुनि मैले फूल घोप्टिएर रो'को देखेँ ।
हाँगामा हाँस्ने फूलले पनि भुईँ छो'को देखेँ ।

बिना डर खित्खित् गर्ने सुकुमार कोपिलाको ,
शिशिरको जाडो पनि झेल्दै फूल्ने धोको देखेँ ।

उभिएर बोट छेउ जगत् लाई गमिहेर्दा ,
फुकाउनै नसकिने अनेक् अनेक् पोको देखेँ ।

गोडीमेली त्यही फूल पानी सिँचि फूलाउने ,
मालीको हत्केलाभरी ठेउलाझैं फोको देखेँ ।

सुस्त बच्चा आँगनमा बोल्दैथियो ईशाराले ,
गोठ्मा नाम्ले गाई अनि थोत्रो रित्तो डोको देखेँ ।

मालीको आँङ्नामा सुस्त बच्चा थियो घस्रिरा'को ,
गोठ्मा नाम्ले गाई अनि थोत्रो रित्तो डोको देखेँ ।

फूल रुँदा दुखिदिने यै 'दीपक'को नजरले ,
हेर्दैलाँदा संसार यो आधासरै भोको देखेँ ।

आज जन्मदिन परेको भाई विज्ञानलाई जन्मदिनको शुभकामनाका साथ । यो गजल आजको मिती सम्म पुरा गर्न र आजकै मितीमा ब्लगमा राख्न अनुरोध सम्म गर्ने विज्ञान भाईलाई जन्मदिनको उपहार यो गजल ।



साथै यो गजल पुरा गर्न उत्साह थपिदिनुहुने र सुझाब सम्म दिनुहुने सबै ब्लगर मित्रहरुलाई पुर्ण गजलमा अपेक्षा अनुशार वजन दिन सकिनं भने क्षमा चाहन्छु - निक्कै सकस नै भयो मलाई यो पुरा गर्न ।

Saturday, September 13, 2008

फोटो कविता : अबोध हत्केलामा शुभ प्रभात

भोली आईतबार यौटा गजल राख्नैपर्ने छ । त्यसैले पोष्टहरुमा गजल पछि गजल नै नकोच्याउँ भनेर यो कविता राख्दैछु । मैले पहिले पहिले नेपालमा छँदै फोटोहरु हेरेर गजल , कविता लेख्ने गर्थें ति कुनैपनि अहिले म संग छैनन् , नेपालमा पनि छन कि छैनन् थाहा छैन , सुनेको थिएँ मैले लेखेका कपिहरु कता हो बाँस झ्याँङमा थिए रे । साह्रै दुखि भएको थिएँ त्यो क्षण म - सायद मैले लेखेका शुरुवातका धेरैकुराहरु नेपाल फर्कँदा फेलापार्न सक्दिनं म । जे होस पछि आएर मैले यौटा फोटो कविता यहि ब्लगमा राखेको थिएँ , आफ्नै छोरीको फोटोहरु माथी लेखेर तिमी जुन आयौ भन्ने । त्यसपछि माई संसारमा अनौपचारिक रुपमा यौटा खाली होर्डिङ बोर्डको फोटो राखेर कविता लेख्ने चुनैति दिईएको बेला लेखें जुन मेरो कविता यात्रा भन्ने कविता ब्लगमा छ । त्यसपछि माई संसारले औपचारिक रुपमा शनिबार साहित्य अन्तर्गत फोटोमाथी कविता लेख्नको लागी कदम नै चालेको छ । यसरी माई संसारमा औपचारिक रुपमा शुरु भएको पहिलो फोटो माथी मैले यो कविता लेखेको हुँ ।

यस्लाई पनि मैले मेरो कविताको ब्लगमा राखेको छु ।




न सपनाको थुप्रो छ कतै
बोक्नु पर्ने
न चाहनाको पोकापन्तुरा
बिसाउनु पर्ने
सतह देख्न सकिने
सङ्लो पानी जस्तै
अबोध मुहारको मुस्कान
मान्छेहरुले कहाँ पढ्न सके खै ?
हत्केला फिँजाएर आँखा अगाडी
हस्तरेखा पढिरहेका मान्छेहरु
निचोरेर मानवताको मुटुकलेजो
हत्केला रंगाउन अभ्यस्त मान्छेहरु
आउ
आज यौटा अबोध हत्केलामा
मेहन्दीले खिचिएको
शुभ प्रभात पढेर जाउ
तिम्रा सबल हातहरुले
भोली यौटा अबोध मुहारमा
छचल्किने मुस्कान
सुम्सुम्याउन सक्छ कि ?

Thursday, September 11, 2008

गजल : तिम्रो आवाजले झस्किएँ



मस्त निद्रामै पनि तिम्रो आवाजले झस्किएँ ।
ईशारा दियौ तिमीले म सपनामै मस्किएँ ।


खन्यायौ रंग प्रेमको अनेक तिमीले पनि ,
मैले पनि त अनुपम प्रेम रंग पस्किएँ ।


बनावटी राग रिसको जो देखायौ तिमीले ,
म झनै के कम थें क्षणभरलाई ठस्किएँ ।


बिउँझिएर रातबिच एक्लो 'दीपक' देख्दा ,
पहिरोले धाँजा फाटेको जमिनझैं धस्किएँ ।


जगाए पँक्षिले प्रभातसंगै दुरदेशमा ,
तिम्रै यादले दिनभर छातिभित्र चस्किएँ ।

Monday, September 08, 2008

एक हप्ता हराएर आउँदा

' हैन के भो आजभोली ? ब्लग खै अपडेट गरेको ? '

'खै खै । '

' सुन्नु न ? तपाईंलाई के भयो भन्नु न ? ब्लग किन नलेख्नु भएको ? '

' खै किन किन । '

' ओ जडित आउँदैन गणित , खै त्यो कविता लेखेको ?'

' कुन कविता ? '

' त्यो के फूलको '

' कुन फूलको ? '
'
हेरन अब थाहै नपाए जस्तो गरेको । त्यो फूलको के , बोटको छेउमा पुगेर मलाई २ लाईन सुनाको थ्यो नि , हो त्यो । खै त्यो फूलको कविता ? '

' फूलनै ओईलाईसक्यो अब के को कविता । '

' लेख्नु न यार दाई मैले मेरो साथीहरुलाई कस्तो गफ लगा'को छु , त्यो कविताको बारेमा । '

' ल ल अलिपछि लेख्छु । '

बितेको साताका पछिल्ला दिनमा फोनमा यस्तै सम्बादहरु भए केहि नजिकका मित्रहरुसंग । ब्लग किन नलेखेको भन्ने प्रश्न र किन किन भन्ने उत्तर । पहिले पहिले अरु नै कारणले ब्लग लेख्न अन्तराल हुनेगरेपनि यो पाली भने मैले एक साता मर्ने विचार गरेको थिएं । जे सुकै होस १ साता लेख्दिनं भन्ने अठोट गरेको थिएँ र पट्टक्कै लेखिनं पनि । यताउता समाचारहरु पढें , साथीभाईको ब्लगमा नजर लगाएं तर न कतै प्रतिक्रिया लेखें न कुनै रचना गर्छु भनेर एक अक्षर कोरें । ब्लग लेख्ने त कुरै भएन । लेख्ने कुरा नभएको पनि हैन , अल्छि लागेको पनि हैन , त्यसै आफैंसंग सन्केर नलेख्ने भनेर बसेको , लेखिएन आज बल्ल कैलाशको कुटीमा पसेर यौटा छोटो प्रतिक्रिया लेखें ।

माथीका सम्बादहरु मध्ये फूलको कविता खै ? भन्ने सम्बाद हु-बहु नभए पनि आज फेरी दोहोरियो । हवाईमा बस्ने भाई विज्ञानले सोधेको थियो , ' त्यो फूलको कविता कस्तो आउँछ भनेर म प्रतिक्षामा छु , कैले आउँछ ? ' बारम्बार यसरी झक्झक्याउने भाई पाउने म मान्छे त भाग्यमानी नै हुँ तर हुस्सु कहाँसम्म भएछु भने त्यो फूलको कविता २ लाईन उस्लाई के सुनाएको थिएं भनेर चैं भुसुक्कै बिर्षेछु ।
कौतुहल भयो कस्तो रहेछ त फूलको कविता भनेर र उसैलाई सोधें , ' के सुनाको थें त मैले ? सम्झाउ त । '

' ल जडितलाई गणित त आउँदैन आउँदैन अब कविता पनि आउन छाडेछ ' गतिलो ब्यंग कस्यो भाईले । कुन्नि के गर्दा उस्लाई मैले गणित नजानेर त जडित भ'को नत्र म पनि डाक्टर , ईन्जिनियर भै हाल्थें नि भनेको थिएं उस्को खेति नै भा'को छ यो कुरा ।

' बिर्षिन त पाउँछु नि यार , सम्झाउ न त के सुनाको रहेछु अनि अगाडी लेख्छु । ' केहि त सुत्र बताउला भनेर मैले जोड गरें ।

"बोटै मुनि मैले फूल घोप्टिएर रोएको देखें
हाँगामा हाँस्ने फूलले पनि भुईँ छोएको देखें ।" उसलाई याद रहेछ । तुरुन्तै सुनायो । तब मलाई त्यो रात याद आयो जुनदिन मैले उसलाई यो दुईलाईन सुनाएको थिएँ । रातको लगभग एघार बजेको बेला हामी सडक किनारामा बरालिएर हिंड्दैथियौं । हिंड्दै जाँदा चुवाफूलको बोटमुनि पाँच छ वटा फूलहरु झरेर घोप्टिएको देखेथ्यौं हामीले । सडक बत्तिको प्रकाशमा मलाई ति फूलहरु घोप्टो परेर रोईरहेको प्रतित भएथ्यो । म एकैछिन टोलाएर उभिएं । चञ्चले स्वभावको त्यो भाईले मलाई धकेल्दै अघि बढ्न भन्दैथियो । त्यसैबेला मैले ए पर्खि पर्खि , मलाई यहाँ कविता फुर्दैछ भनेर सुनाएको थिएँ त्यो दुई लाईन । सबैकुरा यसरी सम्झनामा आएपछि लाग्यो मैले त्यो दुई लाईन बिर्षेको रहेनछु बल्कि सम्झनामा ओझेल मात्र परेको रहेछ ।आज यसलाई पुरा लेख्नुपर्यो भनेर निक्कैबेर घोरिएँ तर यो अन्तरालमा मेरो मस्तिष्कभरी अरुनै अनेकौं कुराहरु गुजुल्टिएछन क्यार यो गुजुल्टो फुकाएर त्यो दुई लाईनमा अरु थप्न सकिनं र पछिलाई थाँति राखेँ । लेखुँला ता नि कुनै दिन ।

त्यसपछि अघिल्लो सातातिर बनाउंदै गरेको अनलाईन कविता संग्रहमा आज पनि केहि काम गरें । अझै पुर्ण भई नसकेको भएपनि एक साता हराएर देखापर्दा साथमा यो पनि लिएर निस्किउँ न भन्ने हिसाबले तपाईंहरुको निंती कोसेली स्वरुप ल्याएको छु मेरो कविता यात्रा । यसभित्रका धेरै कविताहरु त यहि ब्लगमा पस्किसकेको छु त्यसैले यो संग्रह चैं मैले कविता भनेर लेखेसम्म सबैलाई एकै ठाउँ भेला गर्ने मेलो मात्र हो । यसको लिँक मैले मेरा अन्य ब्लगहरु भन्ने ठाउँमा पनि राखेको छु । आशा छ मेरो कोसेली तपाईँहरुले स्विकार्नुहुनेछ ।