Saturday, September 13, 2008

फोटो कविता : अबोध हत्केलामा शुभ प्रभात

भोली आईतबार यौटा गजल राख्नैपर्ने छ । त्यसैले पोष्टहरुमा गजल पछि गजल नै नकोच्याउँ भनेर यो कविता राख्दैछु । मैले पहिले पहिले नेपालमा छँदै फोटोहरु हेरेर गजल , कविता लेख्ने गर्थें ति कुनैपनि अहिले म संग छैनन् , नेपालमा पनि छन कि छैनन् थाहा छैन , सुनेको थिएँ मैले लेखेका कपिहरु कता हो बाँस झ्याँङमा थिए रे । साह्रै दुखि भएको थिएँ त्यो क्षण म - सायद मैले लेखेका शुरुवातका धेरैकुराहरु नेपाल फर्कँदा फेलापार्न सक्दिनं म । जे होस पछि आएर मैले यौटा फोटो कविता यहि ब्लगमा राखेको थिएँ , आफ्नै छोरीको फोटोहरु माथी लेखेर तिमी जुन आयौ भन्ने । त्यसपछि माई संसारमा अनौपचारिक रुपमा यौटा खाली होर्डिङ बोर्डको फोटो राखेर कविता लेख्ने चुनैति दिईएको बेला लेखें जुन मेरो कविता यात्रा भन्ने कविता ब्लगमा छ । त्यसपछि माई संसारले औपचारिक रुपमा शनिबार साहित्य अन्तर्गत फोटोमाथी कविता लेख्नको लागी कदम नै चालेको छ । यसरी माई संसारमा औपचारिक रुपमा शुरु भएको पहिलो फोटो माथी मैले यो कविता लेखेको हुँ ।

यस्लाई पनि मैले मेरो कविताको ब्लगमा राखेको छु ।




न सपनाको थुप्रो छ कतै
बोक्नु पर्ने
न चाहनाको पोकापन्तुरा
बिसाउनु पर्ने
सतह देख्न सकिने
सङ्लो पानी जस्तै
अबोध मुहारको मुस्कान
मान्छेहरुले कहाँ पढ्न सके खै ?
हत्केला फिँजाएर आँखा अगाडी
हस्तरेखा पढिरहेका मान्छेहरु
निचोरेर मानवताको मुटुकलेजो
हत्केला रंगाउन अभ्यस्त मान्छेहरु
आउ
आज यौटा अबोध हत्केलामा
मेहन्दीले खिचिएको
शुभ प्रभात पढेर जाउ
तिम्रा सबल हातहरुले
भोली यौटा अबोध मुहारमा
छचल्किने मुस्कान
सुम्सुम्याउन सक्छ कि ?

No comments: